दुई महिनामा १३९ जनामा स्क्रबटाइफस, सबै कोरोनाको पछाडी यता कसको ध्यान ?

दिनहुँ । कोरोना सङ्क्रमित बढिरहेका समयमा जिल्लामा स्क्रबटाइफस र डेङ्गुको सङ्क्रमित पनि बढिरहेका छन् । साउन १ गतेदेखि हालसम्म १३९ जनामा स्क्रबटाईफस र ३१ जनामा डेङ्गु सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो अवधिमा भरतपुर अस्पतालमा उपचार गराएका ३९ महिला र २९ पुरुष गरी ६८, चितवन मेडिकल कलेजमा ३९ महिला र २३ पुरुष गरी ६२ र कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ६ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी मनकामना अस्पतालमा उपचार गराएका एक पुरुष, नारायणी सामुदायिक र नेशनल सिटी अस्पतालमा एक÷एक महिलामा सङ्क्रमण पुष्टि भएको कार्यालयका किट नियन्त्रण निरीक्षक गीता आचार्यले जानकारी दिए । यस्तै भरतपुर अस्पतालमा उपचार गराएका सात महिला र २० पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा दुई पुरुष र नेशनल सिटी अस्पतालमा दुई महिलामा पनि यही अवधिमा डेङ्गु देखिएको छ ।

मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रबटाईफस हुने भरतपुर अस्पतालका फिजिसियन डा. महेन्द्र अग्रहरिले जानकारी दिए । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने र पेट दुख्ने अग्रहरिले बताए ।

यसैगरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेङ्गु हो । यसको सङ्क्रमणमा शुरूआती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा बढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्ष्यण देखा पर्ने डा. अग्रहरिको भनाइ छ । गत हप्ता परेको निरन्तर वर्षाले जिल्लाका शहरी क्षेत्र डुवानमा परेको थियो । अझै पनि ती ठाउँहरुमा पानी जमेको छ । जमेको पानीका कारण यस्ता रोगहरुको सङ्क्रमण अझै बढ्न सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।

बडादशैँमा भीडभाड र बोकाबलि निषेध

धनुषा । यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सो निर्णय गरिएको हो ।

कार्यालयद्वारा जारी सूचनामा परम्परा धान्न संक्षिप्त क्षमा पूजा मात्र गर्न पाउने निर्णय गरिएको उल्लेख छ । बैठकमा प्रदेशसभा सदस्य, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नगरपालिका, गुठी संस्थान र स्थानीय विभिन्न क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो ।

धुलिखेल–काठमाडौँ विद्युतीय बस सञ्चालनमा

काठमाडौँ । काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म आजबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेल–काठमाडौँ सेवा दिन थालेको हो ।

नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताए । उनले भने, “अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा आउने छन् ।” प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन । यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताए ।

२ हजार ३०० भन्दा बढी सेना मारिएको अजरबैजानको दाबी

काठमाडौँ । नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा दुई हजार ३०० भन्दा बढी सैनिकहरु हताहत भएको अजरबैजानको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख छ । साथै १३० वटा ट्याँक र अन्य बख्तरबन्द गाडी, २०० भन्दा बढी आर्टिलरी, क्षेप्यास्त्र र मोर्टार लन्चर, झण्डै २५ वटा हवाई प्रतिरक्षा प्रणाली, छ वटा कमान्ड पोस्ट, पाँच वटा हातहतियार भण्डार समेतका सैनिक बन्तोबस्तीका सामानमा क्षति पुगेको रक्षा मन्त्रालयले जनाएको छ ।

आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको सङ्घर्षमा आफ्ना ३९ जनाभन्दा बढी लडाकू मारिएको बताएका छन् । आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले केही दिनदेखि भिषण सैनिक कारबाही शुरु गरेको छ ।

विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीबीच जारी लडाइँ रोक्न आग्रह गरेका छन् । यो सङ्घर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्तिमै असर पार्ने अनुमान गरिएको छ । यहाँ मध्यस्थता गराउन रुस र टर्कीले विशेष भूमिका खेल्न सक्ने बताइएको छ ।

पूर्व सोभियत आर्मेनिया र अजरबैजानबीच सन् १९९० को दशकको शुरुदेखि नै आर्मेनिया–समर्थित पृथकतावादीसँग नागोर्नी काराबाखको विषयलाई लिएर सङ्घर्ष हुँदै आएको छ । यस वर्षको शुरुमा र सन् २०१६ मा पनि लडाइँ भएको थियो ।

अजरबैजानको रक्षा मन्त्रालयले भनेको छ, “अजरबैजानी सेनाले रकेट–आर्टिलरी र लडाकू विमान प्रयोग गरेर आर्मेनियाली क्षेत्रमा हमला गरिहेको छ र टालेश गाउँको वरिपरिका धेरै रणनीतिक क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।”

आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजान सेनाले भारी तोपको प्रयोग गरेर विद्रोहीका ठेगानाहरुमा आक्रमण गरिरहेको जनाएका छन्, जबकि अजरबैजानको रक्षा मन्त्रालयले टार्टर शहरमा पृथकतावादी विद्रोहीहरुले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ ।

गत साता आइतबारदेखि लडाइँ शुरु हुनुमा दुवै पक्षले एक अर्कामाथि दोष देखाएका छन् ।

मुस्लिम–बहुल अजरबैजान र ईसाई–बहुल आर्मेनियाबीचको लडाईले रुस र टर्कीबीच मतभेद निम्त्याउने सम्भावना पनि छ । आर्मेनियासँग रुसको सैन्य गठबन्धन रहँदै आएको छ भने मुस्लिम–बहुल अजरबैजानलाई टर्कीले समर्थन गरेको छ ।

आर्मेनियाले हिंसात्मक द्वन्द्व बढाउन टर्कीले भूमिका खेलिरहेको र सैन्य सल्लाहकार पठाएको आरोप लगाएको छ ।

फ्रान्स, जर्मनी, इटली, संयुक्तराज्य अमेरिका, युरोपियन युनियन र रसियाले दुबै पक्षलाई युद्धविरामका लागि आग्रह गरेका छन् । आर्मेनिया र काराबाखले आइतबार सैनिक कानून र सैनिक परिचालन घोषणा गरेका छन् भने अजरबैजानले ठूला शहरहरूमा सैन्य शासन र कफ्र्यू लगाइएको घोषणा गरेको छ ।

आर्मेनियाका जातीय अल्पसंख्यक पृथकतावादी समूहले सन् १९९० को दशकको शुरुमा अजरबैजानबाट नागोर्नी काराबाख क्षेत्रलाई स्वतन्त्र बनाएका थिए । यसक्रममा करिब ३० हजारको ज्यान समेत गएको थियो ।

दुबै पक्षबीच सन् १९९४ मा युद्धविराम भएको थियो । फ्रान्स, रसिया र संयुक्तराज्य अमेरिकाले “मिन्स्क समूह” बैठकबाट स्थायी शान्तिका लागि मध्यस्थता प्रयास गरेका थिए तर शान्ति सम्झौतामा सन् २०१० मा धक्का लाग्यो । नागोर्नी काराबाख क्षेत्रमा अजरबैजान र आर्मेनियाले आआफ्नो बर्चश्व कायम राख्न प्रयास गरिरहेका छन् ।

सबै शैक्षिक संस्थाहरु खुल्ला

काठमाडौँ । कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् ।

सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस सङ्क्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् ।

सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको जनाइएको छ ।

सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ गरिएको छ ।

त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय शिक्षा मन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताए ।

कोरोनाभाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।

पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख १२ हजार २६३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये ७४७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको पनि राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा थप पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै कूल मृतकको सङ्ख्या छ हजार ४७९ जना पुगेको छ ।

पाकिस्तानमा अहिले पनि कोरोनाभाइरसको सङ्क्रमणका कारण ४६७ जना गम्भीर अवस्थामा रहेका छन् ।

मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ९६ हजार ८८१ जना अहिले पूर्णरुपमा सङ्क्रमणमुक्त भइसकेका छन् ।

सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा ३२ हजार ३१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका छन् । पाकिस्तानमा अहिलेसम्म ३५ लाख १४ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ ।

थप ७ जनाको मृत्यु, मृतकको संख्या ४९८

काठमाडौँ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।

उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि छ । काठमाडौमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा संक्रमण पष्टि भएको हो ।

थप १५५९ जनामा संक्रमण पुष्टि

काठमाडौँ । बुधबार थप १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला ५सय ८२ र पुरुष ९ सय ७७ गरी १ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार लिटर अवैध घरेलु मदिरा नष्ट

बागलुङ । जिल्ला प्रहरी कार्यालयलय बागलुङले पछिल्लो तीन दिनमा बरामद गरेको १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सोमबार चार हजार र मङ्गलबार छ हजार ५०० गरी हालसम्म १० हजार ५०० अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय र यसअन्तर्गतका प्रहरी चौकी तथा युनिटहरुले बरामद गरेको उक्त मदिरा पत्रकार तथा सरकोकारवाला निकायको रोहवरमा नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले बढाएको सक्रियतासँगै पछिल्लो तीन दिनमा मात्रै उक्त मदिरा र कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार केही मदिरा बिक्रीका लागि तयारी र केही मदिरा उतपादनमा प्रयोग हुने कच्चा सामग्री जाँड, मरचालगायत केही अखाद्य सामग्री बरामदपश्चात नष्ट गरिएको हो ।

प्रहरी चौकी निसीखोला, प्रहरी चौकी ग्वालीचौर, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी, प्रहरी चौकी कुडुले र पञ्चकोट, प्रहरी चौकी मालढुङ्गा, इलाका प्रहरी ताराखोला, प्रहरी चौकी हटिया, प्रहरी चौकी नरेठाँटी, इलाका प्रहरी भिमगिठे, इलाका प्रहरी झिवाखोला, प्रहरी चौकी बोङ्गादोभान र प्रहरी चौकी ग्वालीचौरले हालसम्म १० हजार ५०० लिटर अवैध घरेलु मदिरा बरामद गरेको थियो । यो अभियान निरन्तर सञ्चालन हुनेछ ।

यस्तै प्रहरीले मङ्गलबारदेखि अवैध रहेको गाँजाका बोट फडानीसमेत शुरु गरेको छ । प्रहरीले जिल्लाको तमानखोला गाउँपालिका–२ र बागलुङ नगरपालिका १२ अमलाचौरमा ३०० गाँजाको बोट फडानी गरेको छ ।

औषधि व्यवस्था लिमिटेडद्धारा उत्पादित स्यनिटाइजरको माग बढ्दो

काठमाडौँ । औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका निमित्त महानिर्देशक विजयश्री रत्न बज्राचार्यले अहिले दैनिक झण्डै रु तीन लाख हाराहारीको स्यानिटाइजर बिक्री भइरहेको जानकारी दिए ।

लिमिटेडले एलोपेथिक औषधि उत्पादन गर्दै आएको छ । मुख्यगरी सिटामोल, सिटाप्लस, दुई प्रकारको जीवनजल, स्यानिटाइजर, ग्लिसिरिन, डिस्टिल्ड वाटर यहाँ उत्पादन हुन्छ । स्यानिटाइजर भने गत चैतबाट बजारको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन शुरु गरिएको बज्राचार्यले जानकारी दिए । चैतमा स्यानिटाइजर र मास्कको हाहाकार थियो । सरकारले कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि चैत ११ बाट बन्दाबन्दीको आदेश जारी गरेको थियो ।

“हामीले बन्दाबन्दी हुनुभन्दा केही अघि नै बजारको आवश्यकतालाई ध्यान दिएर उत्पादन थालेका थियौँ, अहिले दैनिक २० हजार लिटरसम्म उत्पादन गर्न सक्छौँ”, उनले भने, “बजारको मापदण्डविपरीत पाइएकाले उपभोक्तामा अहिले हाम्रो उत्पादनको माग बढी छ ।”

उनका अनुसार अहिले ६०, १००, २०० एमएल र आधा लिटरको बोतलमा स्यानिटाइजर उप्पादन हुँदै आएको छ । यसको औषधि व्यवस्था विभागले तोकेको बजार मूल्य ६० एमएलको रु ७८, १०० एमएलको रु १२५, २०० एमएलको रु २५० र आधा लिटरको रु ४५० रहेको छ । मागअनुसार पाँच लिटरको पनि बिक्री हुँदै आएको छ । त्यसको भने रु तीन हजार मूल्य तोकिएको छ । बजारमा पाइने कतिपय स्यानिटाइजरको अल्कोहल ७० प्रतिशतको हाराहारीमा हुने भए पनि यहाँ भने ८० प्रतिशत नै राख्ने गरिएकाले केही उडेर गए पनि किटाणु मार्न पर्याप्त हुने जनाइएको छ । मापदण्डअनुसार ७० देखि ८० प्रतिशत अल्कोहल हुनुपर्ने हुन्छ ।

शुरुमा १००, २०० एमएलको माग बढी भए पनि अहिले भने पाँच लिटरको माग बढिरहेको र सोहीअनुसार उत्पादन भइरहेको उनले बताए । “अहिले बन्दाबन्दी र निशेषाज्ञा खुलेपछि अझै माग बढ्दो छ, हामीले अहिलेसम्म माग धानिरहेका छौँ”, बज्राचार्यले भने । उनका अनुसार एक दिनमा २० हजार लिटरसम्म बिक्री भएको छ ।

कोभिड–१९ को महामारी शुरु भएपछि शुरुमा घरेलु उद्योगका स्यानिटाइजर आउन थालेको थियो । त्यसमा झण्डै ६५ प्रतिशत मात्रै अल्कोहल रहेकाले किटाणु मार्न पर्याप्त थिएन । त्यसैले औषधि व्यवस्था लिमिटेडले अनुमतिप्राप्त गर्नुअघिबाटै उत्पादनको प्रक्रिया थालेको थियो । औषधि व्यवस्था विभागले अनुमति लिनका लागि सूचना जारी गर्ने बित्तिकै कागजात बुझाई लाइसेन्स लिएर तत्कालै काम थालेको हो ।

विभागले पछिल्लोपटक गरेको अनुगमनमा काठमाडौँ र भक्तपुरका विभिन्न कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्डविपरीत विषाक्त रसायन (मिथानोल) पाइएको समाचार सार्वजनिक भएपछि माग अझै बढेको औषधि व्यवस्था लिमिटेडले जनाएको छ । उक्त स्यानिटाइजरको प्रयोगले मानव स्वास्थ्यमा असर गर्न सक्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरिसकेको छ ।

काठमाडौँको हाइजनिक सोप एण्ड केमिकल प्रालिद्वारा उत्पादित इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फुड इण्डष्ट्री प्रालिको एड्भान्स ह्याण्ड स्यानिटाइजर, सर्च केमकम हर्वल प्रोडक्टको इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसमेन्ट जेल, सूर्यमुखी हर्वल प्रोडक्ट कम्पनीद्वारा उत्पादित सूर्यमुखी ह्याण्ड स्यानिटाइजरलगायतमा मापदण्डविपरीत विषाक्त रसायन भेटिएको हो ।

यस्तै भक्तपुरको नेपाल कायाकल्प उद्योगद्वारा उत्पादित इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा समेत विषाक्त रसायन (मिथानोल) भेटिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । पछि अन्य केही कम्पनीले उत्पादन गरेको स्यानिटाइजरसमेत कैफियत भएको पाइएको थियो ।

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा.पौडेल नियुक्त

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सहप्राध्यापक डा नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो ।

दरखास्ता आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुको आवश्यक मापदण्डका आधारमा डा. पौडेललाई छनोट गरेको थियो ।

उन्नाइस जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह प्रा डा पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि मप विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको र प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गरेको उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिए । “यसरी खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयहरुको इतिहासमा पहिलो घटना हो”, उनले भने, “जुन काम यतिबेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पन्न गरेको छ ।”

उपकुलपति प्रा डा सिंहले यसअघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने प्रणाली पूर्णरूपले तोडिएको जिकिर गरे। यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी रिक्त चारवटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ । आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई डिनमा नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ ।

अयोध्याधामका लागि १०० बिघा जग्गा

चितवन। चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए ।

उनले भने, “सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ । यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको ढकालले बताउनुभयो । अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उहाँले डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) निर्माण छिट्टै अघि बढ्ने बताउनुभयो । “प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको छ”, उहाँले भन्नुभयो । काम तीव्रताका साथ अघि बढाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने उहाँले बताए ।

माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले निजी जग्गाहरु उपलब्ध गराउन स्थानीय सबैजना तत्पर रहेको बताउनुभयो । अयोध्याधाम निर्माण हुने भएपछि सबै माडीवासी उत्साहित भएको उहाँको भनाइ छ । माडी–७ का केही स्थानीयवासीले धाम निर्माणका लागि करिब १५ बिघा जमिन निःशुल्क दिने घोषणा गरिसकेका छन् । अयोध्याधाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताए । जमिनको टुङ्गो नलागेका कारण काममा अवरोध हुने अवस्थामा कार्यपालिकाको निर्णयले काम अगाडि बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्याधामको निर्माण थाल्न निर्देशनसमेत दिएका थिए ।

सजाय तोकिएका १० फरार प्रतिवादी पक्राउ

प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा चोरी मुद्दाका फरार ढोरपाटन नगरपालिकाका ३२ वर्षीय प्रकाश थापा छन्त्याल, लागुऔषध मुद्दामा निसीखोला गाउँपालिकाका दिलकुमारी घर्ती, सार्वजनिक अपराध मुद्दामा बोहोरागाउँका ३२ वर्षीय यामबहादुर घर्ती र सवारी ज्यान मुद्दामा दर्लिङका ३३ वर्षीय बलिराम गुरुङ रहेका छन् ।

यस्तै सवारी ज्यान मुद्दामा बागलुङ नगरपालिका–१३ का ४२ वर्षीय गणेश रिजाल, सार्वजनिक अपराधमा वडा नं ७ का ३५ वर्षीय यामबहादुर क्षेत्री, काठेखोला गाउँपालिकाका २२ वर्षीय सुजन थापा, २५ वर्षीय सौरभ राना र चोरी मुद्दामा काठेखोलाकै १७ वर्षीय दुई जना पक्राउ परेका हुन् ।

चोरी मुद्दामा पक्राउ परेका प्रतिवादी ढोरपाटन नगरपालिकाका छन्त्याललाई अदालतले विसं २०६७ भदौ १३ गते दुई महिना सात दिन कैद फैसला गरेको थियो । सवारी ज्यान मुद्दाका फरार बानपा–१३ का रिजाललाई अदालतले विसं २०६६ असार ३१ गते चार महिना १७ दिनको कैद सुनाएको थियो । यस्तै ज्यान मुद्दामा पक्राउ परेका दर्लिङका ३३ वर्षीय गुरुङलाई भने विसं २०७६ पुस २२ गते रु दुई हजार जरिवानासहित जम्मा पाँच दिन कैद फैसला गरेको थियो । अन्य प्रतिवादी भने न्यूनतम रु ८०० देखि बढीमा सात हजार ५७५ सम्म जरिवानाको सजाय पाएका छन् ।

अदालतले कैद÷जरिवाना तोके पनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए । कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको उनको भनाइ छ ।

“अदालतबाट फरार सूचीमा रहेका ४२५ जनालाई पक्राउ गर्नू भनी पत्र आएको छ, हामीले खोजतलास तीव्र पारेका छौँ”, प्रनाउ रेग्मीले भने । पहिले धरौटीमा छुटे पनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआई लुकीछिपी बस्ने गरेको उनले बताए ।

बाँकि रहेका सेवा क्षेत्र प्रस्ताव आएपछि निर्णय हुने

काठमाडौँ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञापछि अहिलेसम्म पनि सञ्चालनमा नआएका सेवा सञ्चालन गर्न सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ ।

सीसीएमसी निर्देशक समितिको मंगलबार बसेको बैठकले बाँकी रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको बताए ।

उनले भने, ‘खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि लिएर आउने र फेरि त्यसमा पुनस् छलफल गरेर निर्णयमा पुग्ने भन्ने निर्णय भएको छ ।’

बैठकले तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा उद्धार कार्यलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ । सचिव गुरागाईंले भने, ‘तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा थप व्यवस्थित गरी थप उडानको व्यवस्था गरेर शीघ्र उद्धार गर्न बाँकी नेपाली नागरिकहरुको उद्धार गर्ने भन्ने निर्णय भएको छ ।’

बैठकले संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णयसमेत गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामूलक सन्देशहरु तयार गरेर विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने व्यवस्था गर्ने सम्बन्धमा समेत निर्णय भएको सचिव गुरागाईंले बताए ।

“परदेशीको समाचार” सार्वजनीक

नेपालीको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत परदेशिको समाचार सार्वजनिक भएको छ ।

गीतकार नवीन पन्तको शब्द रहेको उक्त गीतमा शान्ती श्री परियार , रमन रायमाझीको स्वरमा भरेका छन् । “परदेशिको समाचार गीत दशैँ तिहारलाई मध्यनजर गरि सार्वजनिक गरिएको गीतमा सिद्धान्त परियारले लय भरेका छन् ।

गीतको म्यजिक भिडिया पि।के इन्टरटेनमेन्टको प्रस्तुतीमा रहेकोको सोमबार सार्वजनिक गरिएको हो ।नरेश सिंह चैरिसको छायांकन र मनिस कार्कीको सम्पादनमा तयार भएको यस गीतमा चाडपर्वमा आफ्नो गाउँ घर र परिवार सम्झेर परदेशमा आफ्नो जीवन बिताउने परदेशीहरुको पीडालाई दर्शाइएको छ ।

गीतमा लक्ष्मण चौलागाईं, नवीन पन्त,कसिस दाहाल, सुनिता गौतम, करण,अनिसको उत्कृष्ट अभिनय देख्न सकिन्छ । रोनिस तामाङले ड्रोन खिचेका हुन् भने उर्मिला लामाले मेकअपमा साथ दिएकि छिन् । भिडियो लाई फुर्सद टाइम नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । शब्द संगीत अनुसार भिडियोलाई निकै मेहनत गरेको देखिन्छ ।

यस्तो छ हेर्नुहोस भिडियोः

https://youtu.be/cPUQvpzQgLw