‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा समस्त नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता कर्म गरिरहँदा सहादत प्राप्त गरेका पत्रकार सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

“विभिन्न राजनीतिक सङ्घर्ष र जनआन्दोलनको बलमा नेपालमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । देशमा निरङ्कुशतन्त्रलाई हटाएर लोकतन्त्र स्थापनामा प्रेसजगत्ले निर्वाह गरेको भूमिका उच्च रहेको छ । नेपाली जनताले संविधानसभाबाट निर्माण गरेको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता व्यक्त गरिएको छ”, सन्देशमा राष्ट्रियसभाका अध्यक्षले भनेका छन्। ।

राज्यले सञ्चार क्षेत्रको संरक्षण, संवर्द्धन एवं विकासका निम्ति आवश्यक नीति तथा ऐन कानुन निर्माण गर्न जरुरी भएको तथा प्रेस स्वतन्त्रता दिवस सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको सम्मानको प्रतिबद्धता स्मरण गराउने र सञ्चारमाध्यम एवं सञ्चारकर्मीहरूले व्यावसायिक आचारसंहिता पालनामा प्रतिबद्ध रहने दिनका रूपमा लिनुपर्ने उनले बताए।

प्रेस स्वतन्त्रताबिना सुदृढ र उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन भन्ने विषयलाई मनन गर्दै विश्व प्रेस स्वतन्त्रता दिवसले हामी सबैलाई नागरिक अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहन एवं नेपाल र नेपाली जनताको हितमा काम गर्न प्रेरणा मिल्ने विश्वास अध्यक्ष दाहालले सन्देशमा व्यक्त गरेका छन्।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : रेखा शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन भनेकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले उक्त कुरा बताएकी हुन् ।

मन्त्री शर्माले आज शुभकामना सन्देश जारी गरी सञ्चारजगत्लगायत सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गरेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गरेकाहरूप्रति सम्मान प्रकट गरेकी छन् ।

सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारण सभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । यसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा कार्यक्रम तय गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।

“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुन सक्दैन । संविधानको प्रस्तावनामै राखिएको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता थप सुनिश्चित गर्ने गरी विगत एक वर्षदेखि सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको छ । सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको राय–सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आम नागरिकको राय–सुझावसमेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ,” सन्देशमा भनिएको छ । उनले आमसञ्चार क्षेत्रको स्वनियमन प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसद्मा दर्ता भएको छ भने आमसञ्चार विधेयक पूर्वविधायिकी चरण पूरा गर्ने प्रक्रियामा रहेको बताएकी छन् ।

प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानुनको कार्यान्वयनमा सरकार दृढ रहेको, प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका ‘डिजिटल’लगायतका चुनौती कम गर्न ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ जारी गरिएको, नागरिकले सत्य सूचना जान्न पाउने अधिकार स्थापित गर्न साइबर सचेतनाका कार्यक्रममा जोड दिइएको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूको चासोलाई सरकारले नजिकबाट हेरिरहेको बताएकी छन् ।

“पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग कुनै सम्झौता गर्ने छैन । विभिन्न सञ्चारगृहमा देखिने श्रम समस्या समाधानका लागि सहजीकरण गर्न र कानुनी प्रक्रियाअनुसार श्रमजीवी पत्रकारका हक स्थापित गर्न सरकार प्रतिबद्ध छ”, शुभकामना सन्देशमा मन्त्री शर्माले भनेकी छन् ।

यस्ताे छ आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया २६ पैसा र बिक्री दर १३३ रुपैया ८६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४२ रुपैयाँ २३ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ ७१ पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४५ रुपैयाँ १५ पैसा र बिक्री दर १४६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९७ पैसा र बिक्री दर ८६ रुपैयाँ ७० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ १८ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ४४ पैसा र बिक्री दर ८ रुपैयाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

संघीय संसद्को बजेट अधिवेशन वैशाख २८ बाट सुरू हुने

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले  यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गरेकाे राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । 

“नेपालको संविधानको धारा ९३ ९१० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० गते (आज) को सिफारिसमा वैशाख २८ गते शुक्रबारका दिन २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ”, राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदित छ भन्दै राष्ट्रपतिले आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो भन्दै उनले नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको बताए ।

“प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुन्छ । यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्नेछ भन्ने मलाई लाग्दछ । यो समग्र समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष पनि हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले सन्देशमा भनिएको छ ।

प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने तथा त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी भएको बताउँदै राष्ट्रपतिले नेपाली प्रेसको यही महत्त्वपूर्ण भूमिकाका कारण हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको उल्लेख गरे ।

सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्बाध रूपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो भन्दै उनले बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरूमाथि सबै नागरिकको सहज पहुँच स्थापित गर्दछ र सञ्चारमाध्यमबाट सबै वर्ग–समुदायको आवाज मुखरित हुने बताए ।

“समाजमा विभिन्न कालखण्डहरूमा अनेक खालका अफवाहहरू फैलन सक्छन् । यस्ता अफवाहले नागरिकलाई दिग्भ्रमित गर्ने र सही विचार निर्माण गर्नमा समस्यासमेत उत्पन्न गर्ने गर्दछन् । त्यस अवस्थामा स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मेहनत गर्नुपर्दछ भन्ने पनि म ठान्दछु”, सन्देशमा भनिएको छ ।

बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती हाम्रोसामु रहेको वास्तविकता औँल्याउँदै राष्ट्रपति पौडेलले यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गरे ।

“जनताको ठूलो त्याग, सङ्घर्ष र बलिदानबाट हामीले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । हाम्रो लामो राजनीतिक सङ्घर्ष पूरा भएर अब मुलुक आर्थिक रूपान्तरणमार्फत समृद्धिको बाटोमा अघि बढेको छ । मुलुकको यो आवश्यकतालाई ध्यानमा राखेर नेपाली प्रेस त्यसैतर्फ केन्द्रित हुँदै जानेछ भन्ने अपेक्षा गरेको छु”, सन्देशमा राष्ट्रपतिले भनेका छन्।

युनेस्कोले तय गरेको ‘पृथ्वीका लागि प्रेस: वातावरणीय सङ्कटको युगमा पत्रकारिता’ नाराले वातावरणीय सङ्कट निवारणमा प्रेसको भूमिका अपेक्षा गरेको देखिन्छ भन्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले पारेको असरको समीक्षा गर्दै त्यसबाट नागरिकलाई सचेत बनाएर यो सङ्कट निवारणमा सबैको भूमिकाको खोजी गर्न यो नाराले प्रेरित गर्ने विश्वास सन्देशमा व्यक्त गरेका छन् ।

नेपाली सञ्चारजगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ भन्ने पूर्ण विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्यसम्पादन गर्न र आम नागरिकलाई सत्य सूचना सम्प्रेषण गर्न प्रेस जगत्लाई सफलता प्राप्त होस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेका छन् ।

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरुले ‘ब्याण्डविथ’ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवाअवरुद्ध भएको प्रकाशित समाचाप्रति गम्भीर ध्यानाआर्कषण भएको जनाएको छ ।

मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको हो । आम उपभोक्ताबाट अग्रिमरूपमा सङ्कलन गरेको महशुलबाट कानुनबमोजिम राज्यलाई तिर्न बुझाउनपर्ने ग्रामीण दूरसञ्चार विकास शुल्क तथा रोयल्टी रकम समयमा नबुझाइ अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कोही कसैले कुनै कार्य नगर्न र नगराउन आग्रह गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका एक सय २२ वटा इन्टरनेट सेवा प्रदायकहरू र २३ वटा नेटवर्क सेवा प्रदायकमध्ये केही इन्टरनेट सेवा प्रदायकबाहेक अन्य दूरसञ्चार सेवा प्रदायकले नियमअनुसार तिर्नु बुझाउनुपर्ने शुल्क बुझाएका सेवा प्रदायकहरूको विदेशी मुद्रा सट्टा सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानुनी व्यवस्थाबमोजिम नियमित सिफारिस भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेवापत ग्राहकबाट अग्रिम रूपमा महशुल लिने गरेको, यसरी लिएको महशुलबाट वार्षिक आयको दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कूल आम्दानीको चार प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्थाबारे पनि मन्त्रालयले पुनः स्मरण गराएको छ ।

“इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेवापत ग्राहकबाट अग्रिम रूपमा महशुल लिने गरेको, यसरी लिएको महशुलबाट वार्षिक आयको दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कूल आम्दानीको चार प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था दूरसञ्चार ऐन, २०५३ को दफा ३० र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा रहेको छ ।

नियमावलीको नियम २६ मा (१) नियम १० को उपनियम (५) र (६) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले गरेको वार्षिक कूल आम्दानीको चार प्रतिशतले हुने रकम प्रत्येक वर्ष रोयल्टीको रूपमा नेपाल सरकारलाई बुझाउनु पर्नेछ र सो अवधिभित्र नबुझाएमा बुझाउन बाँकी रहेको रकमको दुई प्रतिशतका दरले प्रत्येक महिना थप दस्तुर लाग्नेछ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो व्यवस्थाअनुसारको शुल्क बुझाउन नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई पटक पटक अनुरोध गरिसकेको पनि विज्ञप्तिमा जनाइएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि

काठमाडाै । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ ।

महाधिवेशनकाे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएकाे छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन् ।

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ ।

स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सुजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।

आजकाे माैसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना

काठमाडौ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम , कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सामाजिक सञ्जालमा भाइरल भेलुबाजेको मृत्यु

काठमाडाै‌ । सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढाको मृत्यु भएको छ । प्युठान अस्पतालमा उनको विहीबार उपचारका क्रममा मृत्यु भएको हो ।

पारिवारिक स्राेतका अनुसार आज अत्यधिक मदिरा सेवनकाे कारण निधन भएकाे हाे । हिजाे बेलुकी साढे ६ बजेतिर उनकाे निधन भएकाे बताइएको छ ।

६ महिना अगाडि मात्रै भेलुवाजेले श्रीमती गुमाएका थिए ।

अडियो उपलब्ध गराउने तिमिल्सिनालाई सर्वोच्चले बयानका लागि बोलायो

काठमाडौ । सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिएका छन् ।

न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको आजको संयुक्त इजलासले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बयान लिएपछि अडियो उपलब्ध गराउने तिमिल्सिनालाई पनि सबुद प्रमाणसहित यही वैशाख २३ गते बयानका लागि बोलाउन आदेश गरेको हो । 

आदेशमा भनिएको छ, “प्रसारित अडियोसामग्री सम्बन्धमा अदालतको अवहेलनामा किन कारवाही र सजाय गर्नुनपर्ने हो । त्यसरी कारवाही गर्नुनपर्ने आधार र कारण भए शब्द प्रमाणसहित बयानका लागि मिति २०८१ वैशाख २३ गते बिहान १० बजे अदालतमा उपस्थित हुनु ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो ।

सो विषयमा सो अनलाइनका प्रकाशक कँडेलसँग बयानलिने काम आज सम्पन्न भएको छ भने सम्पादक नवीन ढुङ्गानालाई शुक्रबार १० बजे बयानका बोलाइएको छ ।

 अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो-भिडियोसामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गरेका थिए । सोहीआधारमा  यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सोसामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

यस्तो छ तपाईंको  २० बैशाख २०८१, बिहीबार आजको राशिफल

मेष : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व समेत बढ्नेछ। आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

वृष : समाजमा प्रतिष्ठा बढ्नेछ। दिउँसो नसुत्नु राम्रो हुन्छ। दिउँसो सुतेमा ठुलो घाटा हुनेछ। शिक्षामा प्रगति हुनेछ। ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ रहनेछ।

मिथुन : शेयरमा लगानी भए फाइदा हुनेछ। चिट्ठा पर्ने दिन हो। मान्यजनबाट सम्मान प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीको अवसर आए हिम्मत गर्दा हुन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सुधार हुनेछ। प्रेम सम्बन्ध भए खुशीको खबर प्राप्त हुनेछ।

कर्कट : साधनमा चढ्ने भए सचेत हुनुपर्ने दिन छ। यात्रामा जोखिम बढ्ने भएकाले सुरक्षित ढंगले साधन चलाउनु राम्रो हुन्छ। तपाईंका गल्ती खोज्ने सक्रिय रहेकाले सचेत हुनु राम्रो हुन्छ। सुरा–सुन्दरीको आकर्षणमा नपर्नु राम्रो हुन्छ। कमाउने भन्दा जोगाउने दिन भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। परिवारको सुझाव लिएर गरेको काम सफल बन्नेछ।

सिंह : साथीले प्रशंसा गर्नेछन्। शिक्षाको लगानीमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीले आर्थिक क्षेत्रमा उत्साह थप्नेछ। पश्चिमको लामो यात्रामा नजानुहोला।

कन्या : मनमा उत्साह बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। सामाजिक क्षेत्रमा नाम र दाम रहनेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ। पूर्वको यात्रामा दुर्घटनाको जोखिम भएकाले पारिवारिक यात्रा नगर्नु राम्रो हुन्छ।

तुला : महत्त्वपूर्ण निर्णय गर्ने समय आएको छ। विवेकपूर्ण निर्णय गर्नुपर्ने दिन छ। तपाईंको महत्त्वपूर्ण निर्णयले समाजमा सम्मान मिल्नेछ। परिवारको चाहनालाई वेवास्था गरेमा खटपटी हुनेछ। तपाईंको लगानीको उचित मूल्यांकन हुनेछ।

वृश्चिक : सत्य कुरालाई गलत भन्ने साथीसँग सचेत हुनु राम्रो हुन्छ। मनको कुरा ढिलागरी बोल्दा पछुतो हुने जोखिम हुन्छ। स्वास्थ्य र शिक्षाका क्षेत्र सामान्य छन्। राजनीतिमा सफलता मिल्नेछ। श्रमको उचित मूल्यांकन हुने समय आएको छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आफ्नो बोलीको प्रभावले राम्रो काम बन्नेछ। आफ्नो हित भन्दा परोपकारमा समय खर्चिने छ। राजनीतिक र सामाजिक क्षेत्रमा लफडा हुनसक्छ। परिवारको सम्बन्धमा समस्या हुने योग छ। स्वदेशको भन्दा विदेशको लगानी सफल हुनेछ। रमाइलो वातावरणले मन तान्नेछ।

मकर : अचानक धन खर्च हुनेछ। झुटा आरोप लाग्नसक्छ। गलत तर्क गर्नेसँगको भेटले मन अशान्त हुनेछ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ। परिवारको सहयोग राम्रो रहेको छ।

कुम्भ : शनिदेवको छाया योग छ। शनि नाकारात्मक भए पीडाले घेर्नेछ। शनि सकारात्मक भए बढुवा र सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। जन्मकुण्डली ज्योतिषलाई देखाएर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : शनिको सुरुवात भएकाले शनिको नकारात्मक फल भोग्नुपर्ने हुनसक्छ। शाहकारी खानपान ग्रहण गर्नु राम्रो हुन्छ। शनिकै कारण ढिलासुस्तीले सताउने जोखिम रहन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा सबै काम सफल बन्नेछन्।

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन


काठमाडौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।


मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएका हुन् । छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाए । पुँजिगत खर्च बढाउनुपर्ने र साधारण खर्च घटाउन, आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनको नीति अख्तियार गर्न, प्रदेश र स्थानीय तहको क्षेत्रमा पर्ने साना आयोजनामा बजेट विनियोजन नगर्न, सहकारी समस्या समाधान गर्न, बजेट खर्च गर्ने निकायको संरचनागत सुधार गर्न, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन, चालु ठूला आयोजनाका काम सम्पन्न गर्न, वैदेशिक सहायता वृद्धि गर्न, तथा कर्मचारी संयन्त्रको मनोबल उकास्न सुझाव दिए । छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. पुष्पराज कँडेल, डा. दिनेशचन्द्र देवकोटा, दीपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकाल, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वअर्थसचिवहरु कृष्णहरि बाँसकोटा, सुमन शर्मा, शंकर अधिकारी, राजन खनाल, रामशरण पुडासैनीलगायत सहभागी थिए ।

जोखिम मोल्नुपर्ने अवस्था आयो
पूर्वप्रशासक र विज्ञको सुझाव लिएपछि अर्थमन्त्री पुनले आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्नेबारे सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरु क्रियाशिल र चिन्तित भएको रहेको बताए ।
‘आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्ने विषयमा सिंगो देश नै एक ढिक्का छ र चिन्तित पनि छ । यो धेरै सकारात्मक कुरा हो’, मन्त्री पुनले भने । उले गत वर्षको तुलनामा अर्थतन्त्रका धेरै सूचकमा सुधार देखिए पनि केही क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताए ।


उनले सरकारको वित्तीय नीति र राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा तालमेल मिलाएर काम गर्नुपर्ने उल्लेख गेर । अर्थतन्त्रमा संकट हुँदा गरिएका कडाइहरुमा विस्तारै खुकुलो जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्रबैंकसँग छलफल भइरहेको जानकारी पनि दिए ।
निजी क्षेत्र र प्रशासन संयन्त्रको कमजोर मनोबल उठाउने गरी सरकार अघि बढेको उनको भनाइ थियो । ‘निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ’, उनले भने, ‘राजनीतिक नेतृत्वले मुलुकको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको छ ।’
मन्त्री पुनले काम गर्नेले सबैतिर जवाफ दिनुपर्ने र कामै गर्नेहरु लोकप्रिय हुने अवस्था आउनु चिन्ताजनक भएको बताए । काम गर्दा असल नियत राखेको होला वा विकेका प्रयोग गरेको होला भन्नेबाट भन्दा फट्याईं गरेको होला भन्ने कोणबाट सोच्ने प्रवृत्ति समाजमा संस्थागत हुन खोजेको उनले औंल्याए । ‘कसैले न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैन । राजनीतिक वा प्रशासनिक नेतृत्वमा बस्नेहरु जसले काम गर्दैन त्यो ठीक र लोकप्रिय जसले काम ग¥यो त्यसले जवाफ दिनुपर्ने जस्तो सोच समाजमा हाबी हुन थालेको छ’, उनले भने, ‘काम गर्दा मानिसले विवेक प्रयोग गर्छ, असल नियतले गर्छ भन्ने पनि सोच्नुपर्छ । सबैतिर अविश्वासको वातावरण छ । सबै लोक रिझ्याइँको पछि लागेर हुँदैन । मुलुक बनाउने हो भने यो अवस्था हटाउनुपर्छ ।’


राजनीतिक र प्रशासनिक नेतृवले कामका लागि आँट गर्नुपर्ने र त्यसमा समाजका अरु पक्षले साथ दिनुपर्ने उनले बताए । ‘सबैले एकपटक आँट गर्नुपर्ने भएको छ । राजनीतिक कोर्षभित्रै रहेर काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने भएको छ । सबैले सबैलाई शंका गर्ने र कसैले केही पनि गर्नुनपर्ने जस्तो भइरहेको छ’, उनले भने । फरक प्रसंगमा मन्त्री पुनले विकासका संरचना बनाउँदा आर्थिक क्षेत्र, कृषि र बजारको व्यवस्थासमेत गर्नुपर्ने महसुस गरिएको बताए । ‘हामीले मध्यपहाडी राजमार्ग बनायौं तर बजार र आर्थिक कार्यक्रम बनाएनौं । उत्पादनको क्षेत्र बनाएनौं । पूर्वपश्चिम हुलाकी राजमार्ग छ, तर सबैभन्दा गरिबी त्यसकै आसपासमा छ’, उनले भेन, ‘विकासका संरचना निर्माण गर्दा आर्थिक कार्यक्रम नबनाउँदा त्यस्तो भयो ।’ मन्त्री पुनले उच्चस्तरीय कर सुधार सुझाव आयोगको प्रतिवेदन अध्ययन क्रममा रहेको र आयोगका सुझावका आधारमा बजेटमार्फत सुधारका कार्यक्रम ल्याउने पनि उल्लेख गरे । सरकारले लगानी सम्मेलनमा अध्यादेशमार्फत ऐन संशोधन गरेर लगानी वातावरण बनाएको चर्चा गर्दै उनले अर्थतन्त्रको ९० प्रतिशत हिस्सा धान्दै आएको निजी क्षेत्रको मनोबल उठाउन सरकार प्रयासरत हरेको बताए । ‘लगानी गर्ने, रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो’, उनले भने, ‘सरकारले त सहजीकरण गर्ने, नीतिगत सुधार गर्ने र प्लाटफर्म दिने हो ।’

राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं। क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

ओटावामा बुधबार आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेको ओटावास्थित नेपाली राजदूतावासले आज जनाएको छ।

राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिएका थिए।

सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोधरहित रूपमा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नत हुन भएका प्रयासबारे पनि उनले जानकारी दिएका थिए।

नेपालको सामाजिक-आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गनै क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए।

उक्त दूतावासका अनुसार गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रशन्नता व्यक्त गरिन्। साथै उनले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताइन्।

त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीका साथै उक्त दूतावासका कर्मचारीको उपस्थिति थियो।

सशस्त्र प्रहरी बलका १६ जना डिआइजी र १८ एसएसपीको सरुवा

काठमाडौं। सशस्त्र प्रहरी बलका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) र १८ जना वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजी र एसएसपीहरुको सरुवा गरेका हुन्।

डिआइजी सरुवामा तीन बाहिनीका प्रमुख फेरिएका छन् । कोशीमा बंशी सुवेदी, उपत्यकाका किशोर प्रधान र मधेसको बाहिनीमा कालीदास धौबजीको सरुवा भएको छ । त्यस्तै, प्रहरी एकेडेमीमा कमल गिरी तथा स्टाफ कलेजमा अञ्जनीकुमार पोखरेलको सरुवा भएको छ ।

त्यस्तै, १८ एसएसपीको सरुवा हुँदा केही तालिम केन्द्रका प्रमुखहरू फेरिएका छन् । ककनी तालिम केन्द्रमा राजेन्द्र खड्का तथा कुरिनटारमा माधव प्रसाद पौडेलको सरुवा भएको छ । सुधीरजंग थाापाको लामापाटन, रवीनराज कर्णजीतको मनाङस्थित पर्वतीय उद्दार शिक्षालयमा सरुवा भएको छ ।