सत्ता पक्षबाट जिम्मेवारपूर्ण कुरा आएन, झारा टार्ने समिति मानिन्न

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन् ।सहकारीको रकम हिनामिनामा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्नेमा विवाद हुँदा संसदीय छानबिन समिति गठनको टीओआरमा सत्तापक्ष र विपक्षीबीच विमति देखिएको छ । 

सुप्रिम, सूर्यदर्शनसहितका सहकारीमा रकम अपचलनमा रविको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिन समितिमा उनको नाम उल्लेख गर्नुपर्ने अडान लिएको छ । 

‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ । त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्नेकुरा भइरहेको छ । सत्तापक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो । संघीय संसदमा देशभरमा जे विषय उठेको छ । त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन’ लेखकले भने । उनले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने भन्ने कुरा उल्लेख गरेर जानुपर्ने आफूहरूको धारणा रहेको बताए ।

प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

काठमाडौं । दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक ४ : ३० बजे बस्ने गरी बोलाइएको छ। यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठकसमेत स्थगित भएको थियो।

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसकेकाले सदन अन्योल भएको हो ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप र त्यसमा लगानी भएको रकम निकालिएका सहकारीको बारेमा संसदीय छानबिन आवश्यक भएको भन्दै त्यसबाहेक अरुमा सहमति हुन नसक्ने अडान लिएको छ ।

कानून मन्त्रालयमा दिनभर भएको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशमा यही विषय राख्नेमा कुरा नमिलेको हो । कांग्रेसले गृहमन्त्रीलाई मातहत निकायले अनुसन्धान र बयान गराउन नसक्ने भएकैले संसदीय छानबिन आवश्यक रहेको प्रष्ट पारेको छ ।

सत्ता पक्ष भने सहकारीको नाम उल्लेख गरेपनि रविको नाम उल्लेख गरेर कार्यादेश नबन्ने अडानमा छन् ।

विश्वास मतमा सहभागी नगराउन माग गर्दै उपेन्द्रले दिए सर्वोच्चमा रिट

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन्। जसपा नेपालबाट विभाजित भई अशोक राई नेतृत्वमा गठित जनता समाजवादीका ७ जना प्रतिनिधि सभा सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै रिट दिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारको प्रतिनिधि सभामा विश्वास मतको प्रस्ताव राख्ने तयारी गरेका छन्। यसका लागि संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर प्रधानमन्त्री कार्यालयले पत्राचारसमेत गरेको छ।

उनले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए। नयाँ पार्टी अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छथियाे ।

गत जेठ २ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले जसपा नेपाल र जसपालाई छलफलका लागि बोलाएको थियो। जेठ ८ गते छलफलमा आउन भनिएको थियो।

राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितिमा राख्‍न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश पनि दिएको थियो।

भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईलीसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नायब सुब्बा अग्नी बहादुर शाही र नायब सुब्बा अग्नी बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० तथा दफा २२ को प्रतिवन्धात्मक व्यवस्थाबमोजिम उनीहरूविरूद्ध २४ करोड ६ लाख ६९ हजार बिगो माग दाबी गरेको छ ।

उनीहरूले कैलालीको साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरिदिएको अख्तियारको छ ।

४५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि ५ अर्ब नाघ्याे

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २.२६ प्रतिशत बढेको छ । आइतबार नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंक बढेको छ।

यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ । जीवन र निर्जीवन बीमा  सबैभन्दा धेरै बढे ।

दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमालयन लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको माण्डु हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन फस्ट माइक्रोफाइनान्सको साढे ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड नाघेको छ।

ट्राफिक प्रहरीको हत्यामा संलग्नलाई समात्न हवाई फायर, ७ जना आरोपी सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको हो ।

जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर रजौरेले भने, ‘विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेका छौं ।’

उनका अनुसार पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् । गएको शुक्रबार तारकेश्वर नगरपालिका—९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । बयान र सोधपुछपछि संलग्नता देखिएका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो । खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए । अनलाईन खबरबाट

सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार छ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार दुई सय निर्धारण भएको छ ।

शुक्रबार तोलामा १८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर १९१० रुपैयाँ पुगेको हो । जसअनुसार चाँदीको मूल्य तोलामा ११० रुपैयाँ वृद्धि भएको छ । 

“जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै बृक्षारोपण

काठमाण्डौँ । “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै बृहत रुपमा बृक्षारोपण गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ चेतनगर मर्दर सिन्दुरेघारीमा शनिबार बृक्षारोपण कार्यक्रम गरिएको हो ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपालले आयोजना गरेको अभियानको यो कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत सहभागि भएर आफूले बिरुवा रोप्न पाएकोमा खुसी ब्यक्त गर्दे अभियानको प्रसंसा गरी सफलताको कामना गरेका छन् ।
समाजमा रहेका प्रत्येक नागरीकहरुले आ–आफ्नो जन्मदिनमा एक–एक बिरुवा रोपेर सकारात्मक सन्देश फैलाउनुपर्ने आयोजक संस्थाका अध्यक्ष तथा सो अभियानका संयोजक गोबिन्दप्रसाद चौलागाईले बताए ।
कार्यक्रममा रुद्राक्ष, पिपल, चन्दन, साल, खयर, बाँस लगायतका बिरुवा रोपिएको आयोजक संस्थाका अध्यक्ष चौलागाईले सम्पत्ति न्यूजलाई बताए ।
यस्तै, कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेत, नेपाल पत्रकार महासंघ नेपालका केन्द्रिय सचिव तथा आयोजक संस्थाका अध्यक्ष चौलागाई, रौतहटका अध्यक्ष प्रेमचन्द्र झा सो अभियानका रौतहट संयोजक श्याम श्रेष्ठ, अग्रज पत्रकार मुकुन्द दाहालले आ–आफ्नो धारणा राअ‍ेका थिए ।
आयोजक संस्थाका अध्यक्ष तथा महासंघका केन्द्रिय सचिव चौलागाईले यो अभियानलाई देशका ७७ जिल्लाका ७ सय ५३ ओटै स्थानियतहमा पुर्याउन आवश्यक रहेको धारणा राखे ।
अभियानलाई देश तथा बिदेशका नागरीकले सिकोगर्न सक्ने भएकोले समाजलाई रुपान्तरण गर्दे सकारात्मक सन्देश प्रवाह गर्न हरेक ब्यक्तिले आ–आफ्नो तर्फबाट अभियानमा जोडिन अध्यक्ष चौलागाईले आग्रह गरे ।
रौतहटको सिन्दुरेघारीबाट नै सुरु गरिएको यो अभियान पछिल्लो समयमा पुर्वको मेचि देखि पश्चिमको महाकालीसम्म प्रसंसनिय मात्र होईन राष्ट्रिय अभियान बनेको छ ।

सहकारी प्रकरणको छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

काठमाडौँ । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी छ । बैठक कानुन मन्त्रालयमा बसिरहेको छ ।

शनिबार सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका थिए। संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदलसमेत गठन भएको थियो।

सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो। उसले संघीय संसद्को कामकारबाही पनि अघि बढाउन दिएको थिएन।

कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद शिशिर खनाल रहेका छन्। संसदीय छानबिन समिति बनाउने सहमति जुटेसँगै आजदेखि संसद्‌मा कांग्रेसले अवरोध नगर्ने भएको छ।

आज पनि बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

यस्तो छ तपाईंको ६ जेष्ठ २०८१, आईतवार आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनिकी सामान्य छ। आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको लगानी जोखिममा पर्नेछ। शिक्षामा गरेको लगानीबाट भने फाइदा हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। पारिवारिक साथ मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । जोशजाँगर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ । आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दान कार्की, मनोज केसी र राजन अधिकारीलाई बढुवा सिफारिस गरेको हो ।

मेरिटसँगै कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको र यसले सङ्गठनलाई बलियो बनाउने हेड क्वाटर स्रोतले बताएको छ।

नेपाल प्रहरीका ४ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाण्डौँ । नेपाल प्रहरीका चार जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यलयका कृष्णहरि शर्मा पोखरेल रहेका छन् । त्यस्तै दानबहादुर कार्की, डा मनोज केसी र राजन अधिकारी पनि बढुवाका लागि सिफारिस भएका छन् ।

यस्तो छ तपाईंको ५ जेष्ठ २०८१, शनिबारको राशिफल

मेष : ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

वृष : समय राम्रो छ। साथीभाइसँग भेटघाट हुनेछ। जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

मिथुन : राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा लाभ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : कुरा काट्नेहरु सक्रिय छन्। ठुलो लगानी नगर्नु उपयुक्त हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। कृषिमा गरेको लगानीले फाइदा दिनेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ।

सिंह : शिक्षामा उन्नति हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ। स्वास्थ्यमा गडबढी हुने देखिन्छ। पारिवारिक झमेला हुनेछ।

कन्या : समय राम्रो छ। आम्दानी बढ्नेछ। मनमा हुने बेचैनीले तनाव बढ्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीमा फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुला : खर्च बढ्ने योग छ। शिक्षामा कमजोरी हुनसक्छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक मेलमिलाप सन्तोषजनक रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : आम्दानी बढ्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यमा समस्या हुने दिन छ। कम बोल्नु राम्रो हुनेछ।

धनु : समय राम्रो छ। दीर्घकालीन योजना बनाएको राम्रो हुन्छ। सामाजिक क्षेत्रमा नाम, व्यापारमा दाम र स्वास्थ्यमा आराम हुने दिन छ। पारिवारिक सम्बन्ध सन्तोषजनक रहनेछ। बोलीले मित्रसँगको सम्बन्धमा खटपट आउनेछ।

मकर : झुटो आरोप लाग्नसक्छ। आफन्तबाट घात हुने योग छ। ठूला योजना नबनाएको राम्रो। पारिवारिक सहयोग भने मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : महत्तवपूर्ण काम गर्नु अगाडि विज्ञसँग सुझाव लिनु राम्रो हुनेछ। परिवारको सल्लाहमा अघि बढ्दा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। व्यवहार गर्दा भने सचेत हुनुपर्ने देखिन्छ।

मीन : चुनौतीको सामना गर्नुपर्नेछ। सफलता मिल्नेछ। सबै क्षेत्रमा गरेको लगानीबाट सामान्य लाभ मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। नसोचेका व्यक्तिबाट सहयोग मिल्नेछ। परिवारको साथ रहनेछ।

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही सिफारिस भएका छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मुख्य न्यायाधिवक्तामा अधिवक्ता शाहीलाई सिफारिस गरेका हुन् ।

अब शाहीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नेछन् ।

सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लियो

काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ । विधेयक फिर्ता लिनका लागि सरकारले सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको छ। संशोधन विधेयक फिर्ता लिने सम्बन्धी पत्र संसद् सचिवालयमा पुगिसकेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्था अन्तर्गत उक्त विधेयक फिर्ता लिइएको हो । सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत् व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको थियो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा नयाँ दल गठन भएको थियो । सत्ता पक्षकै योजनामा उक्त पार्टी फुटेको आरोप लाग्दै आएको छ । तर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उक्त पार्टी अहिले कुनै पनि काम गर्न नपाउने अवस्थामा रहेको छ। जेठ ८ गते अर्को सुनुवाइ तोकिएको र त्यसअघि उक्त पार्टीले कुनै पनि निर्णय लिन नपाउने भएपछि सरकारले विधेयक फिर्ता लिएको देखिन्छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा तत्कालीन राजपा र सङ्घीय समाजवादी पार्टी फुटाउने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था संशोधन गर्न अध्यादेश ल्याएका थिए । उक्त अध्यादेशमा केन्द्रीय समिति र संसदीय दल दुबैमा ४०–४० प्रतिशत सदस्य सङ्ख्या आवश्यक पर्नेको ठाउँमा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था राखिएको थियो ।

त्यसको चर्को आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।उक्त विधेयक पास हुन नसकेपछि त्यसपछिका प्रधानमन्त्रीहरुले पनि संसदमा पेश गर्दै आएका छन् । संसद्‌बाट विधेयक पारित भई कानुन बन्न नसक्दा राजनीतिक दल सम्बन्धी ऐन शून्यतामा रहेको छ। रातोपाटीबाट