सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदबारमा भेटवार्ता भएको छ ।

जारी भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदको हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ ।

सिंहदरबारमा सत्तारुढ शीर्ष नेताको छलफल चलिरहँदा नेपाली कांग्रेसले भने सरकारविरुद्ध विपक्षी मोर्चा कस्न संसदका प्रतिपक्षी दलका नेतासँग बानेश्वर संसद भवनको ल्होत्से हलमा छलफल गरिरहेको छ । कांग्रेस संसदीय दलको आजै बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने निर्णय गरेको छ ।

संसद ११ बजेदेखि बोलाइएपनि दलका नेताहरू बैठक र संवादमा रहँदा कतिखेरबाट सुरू हुने निश्चित छैन ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबार सुनको मूल्य १ लाख ४० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा खरिद बिक्री भएको छ भने अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसतै, चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले सस्तिएको छ । शुक्रबार चाँदीके मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः जेठ ७ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा ९२० बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी लगायत दलको समर्थन छ । रासस

यस्तो छ तपाईंको ४ जेष्ठ २०८१, शुक्रबार आजको राशिफल

मेष : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

वृष : सङ्घर्षको दिन छ। वैदेशिक क्षेत्रबाट फाइदा मिल्नेछ। स्वदेशी क्षेत्रमा लगानी नगर्नु राम्रो । परिवारको सहमतिमा हरेक योजनामा हात लगाउनु राम्रो हुन्छ।

मिथुन : अधुरा काम पूरा हुनेछन्। लगानी गर्ने क्षेत्र प्रशस्त छन् छनोट गरेर गर्नुपर्ने हुन्छ । पारिवारिक सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा सेवा गरिनेछ।

कर्कट : सानो कुराले ठूलो हल्ला हुन सक्छ । विपक्षी सक्रिय छन् । रोग बढ्नेछ । परिवारको सहयोग मिल्नेछ । व्यपार व्यवसायमा फाइदा मिल्नेछ ।

सिंह : उमङ्ग, प्रशन्न मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा नाफा हुने योग छ । पारिवारिक सफलता मिल्नेछ ।

कन्या:परिवारमा मनमुटाव हुन सक्छ । ठूलो लगानी नगर्नु राम्रो । वादविवाद बढ्ने योग छ । वैदेशिक लगानीमा फाइदा र परिवारमा सहयोग मिल्नेछ ।

तुला : धोका मिल्नेछ । परिश्रम गर्नुपर्नेछ । स्वास्थ्य र कृषिमा लगानी गरे उन्नती हुने दिन छ । परिवारबाट सन्तोष मिल्नेछ ।

वृश्चिक : धर्मकर्ममा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ । परिवारमा मेलमिलाप हुनेछ । सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ ।

धनु : आज गरेको लगानीबाट फाइदा मिल्नेछ । शिक्षामा गरेको लगानीबाट सफलता, स्वास्थ्यमा लाभ, वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा रमाइलो भेटघाट हुने योग छ । परिवारमा मेलमिलाप हुनेछ ।

मकर : संघर्ष गर्नुपर्नेछ । लाभ मिल्नेछ । कुरा काट्नेहरू बढ्नेछन् । ठूलो लगानी नगरेको राम्रो । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।

कुम्भ : मन प्रसन्न रहने योग छ । शिक्षा, स्वास्थ्यमा सहजता रहला । पारिवारिक शान्ति कायम हुनेछ ।

मीन : आलस्य बढ्नेछ । आरोप प्रत्यारोपको सामना गर्नुपर्नेछ । काम बढी र कम बोल्नु राम्रो । शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।

सुदूरपश्चिम प्रदेशः मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज गरिदिएको छ । न्यायाधीशहरू प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेजी हुने फैसला सुनाएको हो ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा वैशाख ९ गते रिट दायर भएको थियो । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए । उक्त रिटलाई यसअघि सर्वोच्चले पूर्ण इजलासमा सुनुवाइको लागि पठाएको थियो ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए। नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित १ वैशाखमा दाबी पेस गरेका थिए ।

नाउपाकै कैलाश चौधरीले एमाले र माओवादीका संसदीय दलको नेताको समर्थनसहित दाबी पेस गरेका थिए ।

लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका-१७ ठमेलबाट पक्राउ गरी सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला, र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल रहेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, “कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट आगूऔषध कोकिन बरामद गरिएको छ, जसको तौल दुई केजी छ सय ५४ ग्राम छ ।” पक्राउ परेकामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए । बरामद गरिएको अवैध लागूऔषध कोकिनको बजार मूल्य सात करोड ९६ लाख हुन आउने ब्यूरोले जनाएको छ ।

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन

काठमाडौँ । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ ।

लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए । उनको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो । उनका तीन छोरा र एक छोरी रहेका छन् ।

दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय

काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकनाथ पौड्याल र राजेन्द्र प्रसाद मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘नेपाल प्रशासन सेवा अन्तरगत राजपत्राकिंत विशेष श्रेणीको पदमा लोकनाथ पौडयललाई बढुवा गर्ने निर्णय भएको छ । नेपाल कृषि वन सेवा समूह अन्तरगतको राजपत्राकिंत विशेष श्रेणीको पदमा राजेन्द्र प्रसाद मिश्रलाई बढुवा गर्ने निर्ण भएको छ,’ उनले भनिन् ।

यस्तै, उनले प्राध्यपक डा।लेखनाथ शर्मा र संगिता खड्का काफ्लेलाई दुई निकायको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएको बताइन् । उनले भनिन्, ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राध्यपक डा।लेखनाथ शर्मालाई नियुक्ति गर्ने, न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगिता खड्का काफ्लेलाई नियुक्ति गर्ने निर्णय भएको छ ।’

यसको साथै, अर्थ मन्त्रालयको तर्फबाट जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनको लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्विकार गर्ने निर्णय पनि भएको छ ।

नेप्सेमा सामान्य अंकको वृद्धि, ४ अर्ब २३ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक भने ०.७९ अंक बढेर २०१८.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ।  अघिल्लो दिन नेप्से ९.५४ अंकले घटेको थियो। सो दिन ३ अर्ब ७० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्सेमा आज ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०३ वटाको बढेको छ भने १३९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र सिर्जनसिल लघुवित्त वित्तीय संस्था रहेका छन् ।      

आज माण्डू हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.७६ प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ४३ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

करिब ८ करोड मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौं । प्रहरीले ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिलालाई पक्राउ गरेको छ ।लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जनालाई पक्राउ गरेको हो ।

गत वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट पक्राउ परेकी थिइन् । उनले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार पद्दतीबाट निकालिएको प्रहरीले जनाएको छ । पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम थियो ।

त्यस्तै युगाडाकै लिलियान सुसन वानयाङजी जेठ २ मा धोबीचौरबाट पक्राउ परेकी थिइन् । उनको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ ।

भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल जेठ २ गते धोबिचौरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनी १ किलो ३९४ ग्राम कोकिन किन्नको लागि धोबिचौर पुगेकी थिइन् ।

प्रधानमन्त्रीको प्रस्ताव : रविलाई बोल्न दिनुस्, समिति बनाउँछौँ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव कांग्रेस समक्ष गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोनमार्फत उक्त प्रस्ताव पठाएका हुन् ।

सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज पनि ४ बजे संसद् बैठक छ ।

तर समिति गठन नभएसम्म बैठक चल्न नदिने काँग्रेसको अडानमा छ । प्रधानमन्त्री प्रचण्डले समिति बनाउन आफूहरू तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन काँग्रेसलाई आग्रह गरेका छन् ।

सुदूरपश्चिमः मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि उनले पेस गर्नुभएको प्रस्तावको पक्षमा २८ र विपक्षमा शून्य मत विभाजन भएकाले मुख्यमन्त्रीले प्रदेश सभाबाट बहुमत प्राप्त गरेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्तिका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ । मतदानमा २८ जना प्रदेश सभा सदस्यले सहभागिता जनाएका थिए । विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भण्डारीले जानकारी दिए।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उनी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई जना जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री नियुक्तिको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना सदस्यले विरोध जनाएका थिए । उनीहरुको विरोधको बाबजुद मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि सदनमा प्रस्ताव पेस गरेका थिए।

मुख्यमन्त्री सोडारीले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले विपक्षी दलका सांसदहरूको अवरोधका बाबजुद मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न दिएपछि लफडा भएको छ ।

बैठकको प्रारम्भमै विपक्षी कांग्रेस र नउपाको रेशम चौधरी पक्षले उठेर विरोध जनाएका थिए । विपक्षी सांसदको नाराबाजीबिच सभामुख भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न दिएपछि कांग्रेस र नाउपाका सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गरेका हुन् ।

कांग्रेस कुनै राजनीतिक दलको धम्कीले डराउँदैन : शेखर

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले गृहमन्त्री रवि लामिछानेलाई आफूहरुले बोल्नै नदिएको भन्ने हल्ला गलत भएको जिकिर गरे ।उनले बोल्न समय दिन्छौँ भन्दा गृहमन्त्री स्वयम र नेकपा एमालेले त्यसलाई अवज्ञा गरेको दाबी गरे ।

बुधवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेसलक्षित चेतावनी दिएका थिए । 

कोइरालाले सरहकारीको रकम अपचलनमा मुछिएका रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेलाई आफूहरुले धारणा राख्न अनुरोध गर्दा स्वयं लामिछाने र नेकपा एमालेले अस्वीकार गरेको बताए ।

‘हामीले बोल्न नदिने भनेर भनेका छैनौँ । यो कुरामा तपाईँहरू क्लियर हुनुपर्‍यो । हामीहरुले के भनेका छौँ भने गृहमन्त्रीले आएर रोस्टममा बोल्नुहुन्छ । बोल्न पाउनु हुन्छ, बोल्नुस् । हामीहरूलाई चित्त बुझ्यो भने ठिक छ, चित्त बुझेन भने हामी बोल्छौँ भनेका हौँ । गृहमन्त्रीले त्यसलाई न त स्विकार्नु भएको छ, न त त्यसलाई स्वीकारेको छ । तपाईँहरू (मिडिया) क्लियर हुनुभएन भने अप्ठ्यारो पर्छ । वास्तविकता यही हो ।’

उनले गृहमन्त्रीको राजीनामा समेत काँग्रेसले नमागेर संसदीय छानबिन समितिको माग गरेको उल्लेख गर्दै संसद अवरुद्ध गर्नुपर्ने कारण अरु नभएको बताए । यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बुधबारको अभिब्यक्तिप्रति लक्षित गर्दै राजाको धम्कीमा नडराएको काँग्रेस अब पनि नडराउने भन्दै जवाफ फर्काए ।

‘जुन धम्कीको भाषा आइराखेको छ त्यो मान्य छैन । राजाको धम्कीमा नेपाली काँग्रेस डराएन । अब पनि कुनै पनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौ,’ कोइरालाले भने ।

सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

काठमाडौँ। नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो ।

यसअघि गत वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झर्‍यो । त्यसयता सुनको भाउ फेरि उकालो लागेको हो ।

यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ ।