जुम्लाको सवारी कारबाहीबाट १० लाख राजस्व संकलन

काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय जुम्लाले सवारी कारबाहीबाट आर्थिक वर्ष ०७६÷७७ मा रु. १० लाख १४ हजार राजस्व संकलन गरेको छ।

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय १३ वटा सवारीसाधन कारबाहीमा पर्दा सोही रकम बराबरको राजस्व संकलन भएको हो।

ट्राफिक कार्यालय जुम्लाका प्रहरी जवान लालबहादुर विकका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने एक सय १६ ट्रकबाट १ लाख १४ हजार राजस्व संकलन भएको हो । त्यस्तै, ९३ बसबाट ८५ हजार, १ सय ८३ जिप र कारबाट १ लाख ६२ हजार ५ सय, ९५ ट्याक्टरबाट ८६ हजार, ४ सय २४ मोटरसाइकलबाट ३ लाख ८४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो।

त्यसैगरी २ सय अटोबाट १ लाख ८० हजार र २ वटा जेसिबीबाट २ हजार गरी १० लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो।

कर्णाली राजमार्गको नाग्म–सदरमुकाम खलंगा– जुम्ला सडकखण्डमा गुड्ने सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा पर्ने गरेको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको प्रहरी हवल्दार कुशराज शाहीले बताए।
गत आर्थिक वर्ष ०७५÷७६ मा यो वर्षभन्दा बढी १७ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। उनले भने, यो वर्ष लकडाउनका कारण कम भएको हो ।’

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौँ। वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज रोधमाई वडा नं ७ का ६८ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । निमोनिया भएपछि उनी साउन ८ गते भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले बताए । उनको बुधबार बिहान पौने ११ बजे मृत्यु भएको हो। साथै उनी मुटुका रोगी पनि थिए।

यस्तै, नेशनल मेडिकल कलेजमा उपचाररत वीरगञ्जका ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। झाडापखालाको समस्या देखिएपनि उनी उपचारका लागि गएराति अस्पताल भर्ना भएका थिए ।

आईसियुमा उपचाररत उनको बुधबार बिहान ३ बजे मृत्यु भएको थियो। उनको केही बेर अघि मात्र आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको मेसु उपाध्यायले बताए । उनका अनुसार ती व्यक्ति मर्गौलाका रोगी थिए।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५१ पुगेको छ ।

राष्ट्र बैंकका कमचारीलाई टिकटक बनाउन रोक

काठमाडौँ। राष्ट्र बैंकमा कार्यरत कर्मचारीले कार्यालयमै टिकटक बनाउने, बैंकका नीति तथा कार्यक्रममाथि सामाजिक सञ्जालमा अनावश्यक र नकारात्मक टिप्पणी गर्ने र आफूखुसी बेवीनारमा भाग लिने क्रम बढेको भन्दै राष्ट्र बैंकले ध्यानाकर्षण पत्र नै जारी गरेको छ। कार्यालयमा अनुशासनहीनता बढेको भन्दै नेपाल राष्ट्र बैंकले यस्तो कडाई गरेको हो।

वेबीनारमा भाग लिनु परेमा, प्रस्तुतीकरण दिनु परेमा, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जानकारी दिनु परेमा अनुमति लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
अब वेबीनारमा भाग लिने र प्रस्तुतीकरण दिने, लाञ्छनायुक्त भाषा प्रयोग गरेर सामाजिक सञ्जालमा लेख्ने, टिकटक बनाउने जस्ता क्रियाकलाप गरेमा राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ अनुसार विभागीय कारबाही हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ।

फुल्पिङकट्टी पहिरोमा मर्नेको सङ्ख्या ५ पुग्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोेटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।

साउन १ गतेराति पहिरोले घर पुरेर बेपत्ता भएका दुई जनामध्ये ८४ वर्षीया सोमबुटी शेर्पा र उनकी ४८ वर्षीया छोरी सेमसाङ शेर्पाको १४ दिनपछि आज शव फेला परेपछि मृतकको सङ्ख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

माथिबाट आएको पहिरोले स्थानीय ग्याल्जेन शेर्पाको घर बगाएपछि उनकी आमा, श्रीमती, बहिनी र दुई छोरीसहित पाँच जना पुरेको थियो । घरमुली शेर्पा भने राजधानीमा बस्दै आएकाले पहिरोबाट जोगिएका थिए।

दैनिक पानी परिरहेकाले माथिबाट लगातार लेदो माटो झर्ने क्रम जारी रहेकाले शव निकाल्न लामो समय लागेको वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए। पहिरोबाट एक विद्यालयसहित तीन घर पुर्नुका साथै २४ घर उच्च जोखिममा परेका छन्। विस्थापित १ सय ६२ जनालाई विभिन्न सुरक्षित स्थानमा राखिएको वडाध्यक्ष शेर्पाले बताए।

कमलपोखरीमा डुबेर १ जनाको मृत्यु

काठमाडौं। भक्तपुर नगरपालिका—१० कमलविनायकस्थित कमलपोखरीमा डुबेर १ जनाको मृत्यु भएको छ। भक्तपुर चाँगुनारायण नगरपालिका—९ सौडौल बस्ने ५१ वर्षीय राजेश खड्काको मंगलबार मृत्यु भएको हो।

पोखरीमा डुबी खड्का बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई तत्कालै उद्धार गरेको थियो।

गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारको लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पिनीमा भने सकरात्मक

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। कारोबारको सुरुदेखि नै उतार चढाव भएको बजारमा अन्त्यतिर भने गिरावट भएको हो।

बजार मापन गर्ने नेप्से सूचक २३ दशमलब ३६ अंकले घटेर १ हजार ४ सय ३१ दशमलब ५२ विन्दुमा रोकिएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५ दशमलब १८ अंकले घटेर ३ सय दशमलब ४९ बिन्दुमा रोकिएको छ।

१ सय ८७ कम्पनीको ३८ लाख ३९ हजार ६ सय ७१ कित्ता सेयर १ अर्ब ६८ करोड ७० लाख ९३ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

बैंकिङ समूहको उपसूचक २१ दशमलव ७६, विकास बैंक २१ दशमलब ५५, निर्जीबन बीमा समूह १ सय ५९ दशमलब ८७, माइक्रोफाइनान्स ५५ दशमलब ६९, जीवन बीमा समूहको उपसूचक १ सय ९० दशमलब ८२ अंकले घटेको छ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ। पुनर्बीमा कम्पनीको १५ करोड ७१ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ भने दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक रहेका छन्।

यूनियन हाईड्रोपावर, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। यस्तै मिर्मिरे फाइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा जनउत्थान सामुदायिक, ग्लोबल आईएमई लघुवित्त, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्।

प्रहरी प्रवक्तामा कडायत नियुक्त

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा कुवेर कडायतले पाएका छन्।


यसअघिका प्रवक्ता निरजबहादुर शाही एआईजीपीमा बढुवा भएसँगै नयाँ जिम्मेवारीका साथ कडायतलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।


शाही बढुवा भएर मानव स्रोत तथा प्रशासन विभागमा गएपछि प्रहरी प्रधान कार्यालयमा नै आईजीपीको सचिवालयमा कार्यरत कडायतलाई प्रवक्ता तोकिएको हो।

रोकिएका परिक्षा भदौ तेस्रो हप्ताबाट शुरु हुने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ। बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउन सक्ने र त्यहि अनुसारको समय माग भएकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको बताए। ‘भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ’, उनले भने, ‘अनि त्यसपछि हामी सेमेष्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरु गर्ने तयारी गरेको छौँ।’

त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ। यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ। त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो। स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन्। वार्षिक परीक्षाअन्तर्गत स्नातकोत्तर तह प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा बाँकी रहेको छ।

यसअघि व्यवस्थापन सङ्कायको डीन कार्यालयले भदौ दोस्रो हप्तादेखि स्नातकोत्तर तह र स्नातक तह प्रथम, तेस्रो, पाँचौँ र सातौँ सेमेष्टरको परीक्षा भदौ तेस्रो हप्ताबाट गर्ने जानकारी कार्यालयका सहायक डिन प्राडा ध्रुवकुमार गौतमले सूचना प्रकाशित गरिसकेका छन्।

उपत्यकामा थप १४ जनामा कोरोना पुष्टि

काठमाडौं । बुधवार काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा २ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा ७ जनामा, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा १ जना र स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा २ जनामा गरेर काठमाडौंमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बुधबार थप २ सय १० जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय १० जनामा कोरोना भएको जानकारी गराएका हुन्।

डा. गौतमले पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या १ सय ४६ रहेको जानकारी दिए। गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।

उनका अनुसार हालसम्म १४ हजार २१ जना कोरोना निको भएका छन्। कुल कोरोना निको हुने संख्या ७२ दशमलव ७ प्रतिशत रहेको उनले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा छ हजार ३७ जनाको आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा १४ हजार ४७१ जना रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ३ रहेको छ।

पञ्जीकरण विभागले माग्यो १ सय ७६ जना कर्मचारी

काठमाडौँ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय ७६ जना कर्मचारीको माग गरेको छ। विभागले विभिन्न ३ जिल्लाका लागि सोही कर्मचारीको माग गरेको छ।

विभागले सप्तरी, सर्लाही र कास्की जिल्लाका लागि क्रमशः ५३, ६३ र ६० जना गरी एक सय ७६ जना विवरण दर्ता अपरेटरका लागि दरखास्त आव्हान गरेको हो।

जिल्लाका सबै नेपाली नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्य अन्तर्गत घुम्ती सेवा सञ्चालनमार्फत नागरिकता विवरणहरू संकलन गर्ने कार्यका लागि ती जिल्लामा खुल्ला प्रतिस्पर्धाद्वारा करारका कर्मचारी भर्ना गर्न लागेको विभागले जनाएको छ।

विभागद्वारा प्रकाशित सूचनाअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिन सकिने छ । दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ भने न्यूनतम योग्यता प्रवीणता पत्र तह उत्तीर्ण गरेको तथा कम्तीमा ३ महिनाको कम्प्युटर अपरेटर सम्बन्धी तालिम प्राप्त गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह वा सो भन्दा माथिल्लो तहमा १सय पूर्णाङ्कको कम्प्युटर विषय राखी उत्तीर्ण गरेको भए छुट्टै प्रमाणपत्र आवश्यक पर्नेछ्रैन।

तलब दैनिक एक हजार दुईसय हुनेछ । आवेदन दिन कुनै शुल्क लाग्नेछैन।

भारतमा कोरोनाको भयावह, सङ्क्रमितको संख्या १५ लाख नाघ्यो

काठमाडौँ । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा भारतका ४८ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६ सय ६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७ सय ६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १ सय ९३ जना पुगेको छ ।
सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४ सय ४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

छिमेकीलाई खुकुरी प्रहार गर्ने तामाङ पक्राउ

काठमाडौँ । मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका साइला तामाङ नामक व्यत्तिसँग सामान्य भनाभन हुँदा उनले खुकुरी प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

खुकुरी हानेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मेलम्ची र भोटेचौरको टोलीले सोमबहादुरलाई घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

घम्भीर घाइते साइलाको दीर्घायु अस्पातल काठमाडौँमा उपचार भइरहेको प्रहरी निरीक्षक तामाङले बताए। खुकुरी प्रहार गर्ने सोमबहादुरलाई नियन्त्रणमा लिएर मङ्गलबार जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप आदेश लिई अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए।

एटिएम र चेक नभएपनि रु १ लाख सम्म रकम निकाल्न सक्ने नवीलको ‘स्क्यान एन्ड वीथ ड्र’ सेवा सुरु

काठमाण्डौँ। नवील बैंकले मंगलबारबाट ‘स्क्यान एन्ड वीथ ड्र’ सुविधाको सुरुवात गरेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराई सहजता प्रदान गर्ने उद्देश्यले यस्तो सुविधा सञ्चालनमा ल्याएको हो।

बैंकका अनुसार ‘स्क्यान एन्ड वीथ ड्र’ मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक १ लाखसम्मको रकम झिक्न सक्नेछन्।

हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ। सेवा चाँडै देशभरिका शाखाहरुमार्फत उपलब्ध गराउने बैंकले जनाएको छ।

नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, “अब नवील बैंकका ग्राहकले चेक/एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नुहुनेछ।”

ग्राहकले क्यूआरकोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ।

नवील बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देशभर १ सय १८ शाखाहरु र १ सय ७८ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंक नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको बैंकको रुपमा परिचित छ।

रातारात ओली भैँसेपाटी गौतम निवास छलफलमा सामेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच सोमबार साँझ भैँसेपाटीस्थित गौतम निवासमा छलफल भएको छ।

नेकपालाई कुनै हालतमा फुट्न नदिने विषयमा केन्द्रित भई छलफल भएको स्रोतले जनाएको छ। अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा छलफल भएको थियो। प्रधानमन्त्री ओली परिवारका सदस्यसहित गौतम निवास पुगेका हुन्।

छलफलमा प्रधानमन्त्रीसँगै पार्टी महासचिव विष्णु पौडेल पनि उपस्थिति थिए। भैँसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेको छ। तर त्यसमा राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ।

पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गरे। विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरू सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा ‘फुट’बाट बचाउनुपर्ने सुझाव गौतमले दिए।

नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमले राखेको ६ बुँदे प्रस्ताव सार्वजनिक भएसँगै प्रधानमन्त्री ओली भेट्न पुगेका हुन्। बैठक सकारात्मक रहेको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले बताएका छन्।