कम नम्बर दिएको आरोपमा अभिभावकै नेतृत्वमा विद्यार्थिद्धारा शिक्षक कुटपिट

सिन्धुली । एसईईमा कम नम्बर दिएको भन्दै अविभावककै नेतृत्वमा विद्यार्थीले शिक्षक माथि आक्रमण गरेका छन । आइतबार सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई विद्यार्थीहरुले कुटपिट गरेका हुन् ।

उक्त विद्यालयका एसईईका १ छात्रा र ५ छात्र गरि ६ जना विद्यार्थीहरुले कार्यालयमै प्रधानाध्यापक सुनुवारलाई मुखमा मुक्काले हिर्काएको र अर्का शिक्षक भण्डारीलाई लछारपछार गरेका छन् । जसको नेतृत्व अविभावक मंगले स्वाङवाले गरेका थिए ।

विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा चोट लागेको छ । अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ । रिजल्टमा सी ग्रेड आएको र रोजेको विषय पढ्न नपाएको भन्दै कुटपिट गरेको शिक्षक दाहालले बताए । घाइते दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताईएको छ । विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि विद्यालयका शिक्षक कर्मचारीहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् ।

विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये ९ जनाको रिजल्ट सी आएको र तीनै मध्येका तीनजनाले कुटपिट गरेको बताईएको छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मौखिक जानकारी आएको तर उजुरी नआएको डिएसपी श्याम बहादुर खत्रीले बताएका छन ।

शिक्षकहरु कुटिएपछि घटनाको सामाजिक सञ्जाल तथा शिक्षकका संघसंगठनहरुले विरोध जनाएका छन । घटना निन्दनीय भएको र दोषीलाई कारवाहि गरिनुपर्ने भन्दै जिल्लाका शिक्षकहरुले विरोध जनाएका छन ।

प्रधानध्यापक सुनुवार नेपाल शिक्षक महासंघ सिन्धुलीका सहसचिव तथा नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका आजिवन सदस्य हुन भने भण्डारी नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुलीका सदस्य तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य हुन् ।

ललितपुर नगर प्रमुखमा सीतारामा हाछेथु

ललितपुर । ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुलाई नगर प्रमुखमा नियुक्त गरेको छ । ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताए। ‘उहाँको कार्य क्षमता, काम गर्ने शैलीबाट जनता प्रभावित छन’, नगर प्रमुख महर्जनले भने, ’त्यसैले ल्याएका हौं।’

प्रमुख महर्जनले ट्राफिक प्रहरीमा उहाँको लामो अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझैं दक्ष हुने र नमूना नगर प्रहरी बनाउन हाछेथुको भूमिका महत्वपूर्ण हुने विश्वास रहेको बताए ।

नगर प्रमुख महर्जनले ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यन्वयन गर्न विज्ञका रुपमा हाछेथुलाई नियुक्त गरिएको बताए ।
हाछेथु २०७५ साल मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका हुन्। २९ वर्ष यसै क्षेत्रका बिताएका हाछेथुले नयाँ जिम्मेवारीले थप केही गर्ने ऊर्जा मिलेको बताए।

‘नयाँ जिम्मेवारी प्राप्त भएको छ’, उनले भने, ‘यो जिम्मेवारी र विश्वासले अब फेरि केही नयाँ काम गर्ने ऊर्जा मिलेको छ।’

सवारी साधान सञ्चालनमा अन्यौलता, भदौ मसान्त सम्म भने सञ्चालन नगर्ने निर्णय

काठमाडौँ । सरकारले भदौ मसान्तसम्म लामो र छोटो दुरीका सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको आइतबारको बैठकले लामो तथा छोटो दुरीका सवारीसाधन भदौ मसान्त सञ्चालन नगर्ने निर्णय गरेको हो , यद्यपी मसान्त देखि पनि अवस्था हेरेर निर्णयमा पुग्ने निष्कर्ष पनि निकालेको हो।

भदौ मसान्तसम्म सवारीसाधन नचलाउने निर्णय यथावत छ। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो।

कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौं उपत्यकासहित देशका अधिकांश शहरमा निषेधाज्ञा जारी गरिएको छ।

लकडाउन शुरु भएको साढे ३ महिनापछि सरकारले गत असार २६ गतेदेखि छोटो दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो।

यद्यपि, आफ्ना माग सम्बोधन नभएको यातायात व्यवसायीले तत्काल सेवा सञ्चालन गर्न अस्वीकार गरेका थिए।

माग सम्बोधन भएपछि उनीहरूले साउन ७ गतेदेखि यातायात सञ्चालन गर्न सहमति गरेका थिए। सरकारले लामो दुरीका सवारी सञ्चालनमा भदौ १ गतेसम्म रोक लगाएको थियो।

साउन ६ गते लकडाउन अन्त्य भयो। तर, लकडाउनपछि काठमाडौंसहित देशभर कोरोना संक्रमित बढे। सरकारले लामो दुरीका सवारीसाधन भदौ १५ गतेसम्म रोक लगाएको थियो।

जापानको नयाँ प्रधानमन्त्रीका लागि मुख्य सचिव पनि आकाङ्क्षी

काठमाडौँ । जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाउनुभएको छ ।

तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएकाले जापानमा अहिले प्रधानमन्त्री पद खाली रहेको छ ।

आकाङ्क्षी सुगा सरकारको प्रमुख प्रवक्ता समेत हुनुहुन्न्छ । उहाँलाई पार्टीकै कतिपय बरिष्ठ नेताहरुले प्रधानमन्त्री बन्न उपयुक्त पात्रको रुपमा अगाडि सारेका छन् ।

उनीहरुले कोरोनाभाइरसले सृजना गरेको महामारीको सामना गर्ने, सवैसँग समन्वय र सहकार्य गर्नेलगायतका सरकार संचालनका लागि आवश्यक क्षमता उहाँसँग भएको दावी पनि गरेका छन् ।

सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी ९एलडीपी०का वरिष्ठ सांसदहरुले नयाँ प्रधानमन्त्री चयनका लागि आउदो सेप्टेम्बर १५ तारिखको वरीपरी निर्वाचन हुनसक्ने बताएका छन् ।

प्रधानमन्त्री छनोटको निर्वाचनमा एलडीपीकै नेताद्वय पूर्व परराष्ट्र मन्त्री फुमिओ किशिदा र पूर्व रक्षा मन्त्री शिगेरु आइशीबा पनि सहभागी हुने संकेत गर्नुभएको जनाइएको छ ।

मुख्य सचिव सुगाले सन् २०१२ देखि नै तत्कालिन प्रधानमन्त्री आवे शक्तिमा आएसँगै सरकारको मुख्य प्रवक्ताको रुपमा काम गर्दै आउनुभएको छ ।

उहाँलाई आवेको अति विश्वासपात्र भएकाले र क्षमतावान् पनि भएकाले प्रधानमन्त्री हुने सवैभन्दा बढी सम्भावना भएको उम्मेदवारको रुपमा हेरिएको छ । आवेको चाहना र समर्थन पनि उहाँलाई नै हुनसक्ने धेरैले अनुमान गरेका छन् ।

निर्वतमान प्रधानमन्त्री आवेले आफू अस्वस्थ्य हुँदा हुँदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताउनु भएको थियो ।

आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उहाँको भनाइ छ ।

उहाँको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उहाँले अहिले नै राजीनामा दिनु भएको हो ।

सन् २०१२ देखि लगातार शक्तिमा रहनुभएका आवे यस अघि नै जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री भएको नेताका रूपमा इतिहास रच्न सफल बन्नुभएको छ । उहाँले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । तर पछि स्वास्थ्यमा सुधार भएपछि फेरि निर्वाचित हुनुभएको थियो ।

पछिल्लो दुई हप्तामा उहाँ दुई पटक अस्पताल जानु भएको छ । उहाँ अर्को महिनादेखि ६६ बर्ष लाग्नु हुनेछ ।

उहाँलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन् झन् बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् ।

अफगानिस्तानका राष्ट्रपतिद्वारा तालिबानसँग वार्ता सहजीकरणका लागि परिषदको घोषणा

काठमाडौँ । अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानसँग शान्तिवार्ता गर्नेगरी राष्ट्रिय मेलमिलापका लागि एक परिषदको घोषणा गर्नु भएको छ । प्रस्तावित परिषदले तालिबानसँग शान्ति सम्झौताका निम्ति मार्गप्रशस्त गर्नेछ ।

संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच गत फेब्रुअरीमा भएको सम्झौताले अन्तर–अफगान शान्तिवार्ताका लागि ढोका खोलेको थियो । तर तोकिएको समयावधिभित्र दुबै पक्षबीच शान्तिवार्ता नभएको भन्दै अमेरिकाले असन्तोष प्रकट गर्दै आएको छ । खासगरी अफगान जेलमा बन्दी रहेका पाँच हजार तालिबानीको रिहाईको विषयले सरकार र तालिबानबीचको वार्तामा ढिलाई भइरहेको छ ।

अफगान सरकारले हालसम्म चार हजार ६०० तालिबान लडाकूलाई रिहा गरिसकेको भए पनि गम्भीर मानवअधिकार उल्लंघनमा संलग्न ३२० जना लडाकूलाई भने रिहाई गरिएको छैन ।

अफगान राष्ट्रपति घानीले शनिबार अबेर एउटा वार्ताको सहजीकरणका लागि ४६ सदस्यीय परिषदको घोषणा गर्नु भएको छ । उक्त परिषदको नेतृत्व गत राष्ट्रपतीय निर्वाचनमा पराजित तर वर्तमान सरकारमा सहभागी अब्दुल्लाह अब्दुल्लाहले गर्नु भएको छ ।

यो परिषद घानीले नै घोषणा गर्नु भएको २१ सदस्यीय वार्ता टोलीभन्दा पृथक रहेको छ । यो टोलीले कतारमा तालिबान समूहसँग वार्ताका लागि चाँडै दोहा भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

तर पछिल्लो पटक घोषणा गरिएको परिषदले वार्ता टोलीले गर्ने सहमतिका बुँदामाथि विचारविमर्श गरी अन्तिम निर्णय दिेनेछ । नयाँ घोषित परिषदमा अफगानिस्तानका वरिष्ठ राजनीतिक व्यक्तित्वहरु सहित नौ जना महिला प्रतिनिधिहरु रहेका छन् । साथै परिषदमा पूर्व राष्ट्रपति हमिद कारजाईलाई पनि राखिएको थियो तर उहाँले सरकारले गठन गरेको त्यस्तो परिषदमा बस्न अस्वीकार गर्नु भएको छ ।

परिषदमा वर्षौंदेखि अफगान युद्ध लडेका मुजाहिद्दीन र जिहादी नेताहरुका साथै सन् २०१६ मा घानीसँग शान्ति सम्झौता गरेका गुलबुद्दीन हिक्मतयार, खुँखार आतंकवादी अब्दुर रसूल सयाफ समेतका नेताहरु छन् ।

तर तालिबान समूहले भने २० सदस्यीय वार्ता टोली मात्र बनाएको छ जसलाई सरकारसँग वार्ता गर्ने सम्पूर्ण अख्तियारी दिइएको छ । तालिबान समूहले आफ्ना नेता मुल्लाह हिबातुल्लाह अखुनजादाका विचारलाई मात्र अगाडि बढाउने बताइसकेको छ ।

आइएमईले पुर्याउँदै छ घर–घरमा नै रेमिटेन्सको सुविधा

काठमाडौँ । नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिकाबीचमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आइएमई पे मोबाइल वालेट एपलाई पनि सशक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको छ ।

नयाँ सुविधा अन्तर्गत आफुलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नो वालेट पीन दाखिला गरी तपाईंको रकमको अवस्था एकिन गर्न सक्नुहुनेछ । यदि तपाईंलाई पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्नु सक्नुहुनेछ । त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’ मा थिची आफुँलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सक्नुहुनेछ । यी सवै सुविधा प्राप्त गर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्दछ । यस सम्बन्धि पूर्ण जानकारीका लागि कृपया यो लिंक क्लिक गर्नुहोस् ।

आइएमईले आइएमई पे मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज र रू. ५० सम्मको बोनस पनि प्राप्त हुन्छ ।
भौतिक दूरी कायम गरी समुदायस्तरमा कोभिड– १९ रोग नफैल्ययाउन हाल सबैको जिम्मेवारी भएको छ । यस्तो बेलामा रकम त आवश्यक पर्छ नै, तर त्यसलाई कसरी प्राप्त गर्ने भन्ने ठूलो मर्का सेवाग्राहीहरूलाई अवश्य पनि पर्न जान्छ । यस्तो विषम परिस्थितिमा आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनरहरू) ले आइएमई पे वालेटको मद्दतले घरैमा रेमिटेन्स सेवा उपलब्ध गराउनु हुनेछ ।
परिस्थिति सामान्य हुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्न पनि सकिन्छ । रकम लिँदै आएको एजेन्ट कहाँ गई सजिलै नगद् लिन सकिन्छ । आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिन्छ ।
यसरी डिजिटल प्रणालीबाट विदेशबाट आएको रकम सुरक्षित रूपमा आफ्नै मोबाइलमा प्राप्त गर्न सकिने प्रावधान प्रदान गर्ने आइएमई पहिलो र सबैभन्दा सुरक्षित माध्यम पनि हो ।
आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । करिव १० लाखको संख्यामा डाउनलोड भएको आइएमई पे मोबाइल एपबाट पनि अव सजिलैसँग रेमिटेन्स सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

संक्रमणबाट आज थप १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमण आज १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १४ जनाको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिए। आज मृत्यु हुनेमा ४ जना महिला र १० पुरुष रहेका छन्।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार २ सय २१ संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार आइतबार प्रदेश–१ को इलाममा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, मोरङमा ४९, संखुवासभामा २ र सुनसरीमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, प्रदेश–२ को धनुषाका ७५, पर्साका ४६, बाराका ८२, महोत्तरीका ३७, सप्तरीका ६, सर्लाहीका ३४ र सिरहाका २६ जना संक्रमित थपिएका छन् भने बागमती प्रदेशको काठमाडौंका ३७२, काभ्रेका २५, चितवनका ९०, धादिङमा ३, भक्तपुरका ४५, ललितपुरका १२, मकवानपुरका ९, रामेछापमा १, सिन्धुपाल्चोकका २ र सिन्धुलीमा ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ ।

गण्डकी प्रदेशमा गरिएको परीक्षणका क्रममा कास्कीका ५, गोरखामा ५, तनहुँमा ४, नवलपरासी पूर्वका २ र बाग्लुङमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ भने प्रदेश–५ को अर्घखाचीमा ३, कपिलवस्तुमा २५, गुल्मीमा ६, दाङमा ५, नलवपरासीमा २१, पाल्पामा ८, प्युठानमा ५, बर्दियामा ६, बाँकेमा १४ र रुपन्देहीमा ६१ जना संक्रमित भेटिएका छन् ।

यस्तै कर्णाली प्रदेशको सुर्खेतमा २, सुदूरपश्चिम प्रदेशको अछाम ८, कञ्चनपुरमा १, कैलालीमा ६, डोटीमा ११, दार्चुलामा २, बझाङमा ४७ जनामा कोराना पुष्टि भएको मन्त्रालयले नियमित मिडिया ब्रिफिङका क्रममा जनाएको छ ।

चिकित्सक,स्वास्थ्यकर्मी र कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएसँगै राप्ती प्रादेशिक अस्पताल बन्द

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल शनिबारदेखि बन्द भएको छ । अस्पतालमा कार्यरत दुई चिकित्सक, पाँच स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएका हो । अस्पतालको आपतकालीन बैठकले अर्को सूचना जारी नहुँदासम्म अस्पताल बन्द गरी ‘कन्ट्याक्ट टे«सिङ’ गरिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्रोत व्यक्ति विमल केसीले बताए ।

उनका अनुसार अस्पतालमा रहेका सबै बिरामीको स्वाब सङ्कलन गरिने छ । योसँगै जिल्लामा शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये घोराहीका १० जनामा कोरोना पुष्टि भएको हो ।

घोराही उपमहानगरपालिका वडा नं ८ का २५ वर्षका पुरुष, वडा नं १० का २५, ३०, ३२ वर्षका पुरुष र ३४ वर्षकी एक महिला, वडा नं ११ का ५३ वर्षीय पुरुष र वडा नं १५ का २०, ४२, ५४ र ५७ वर्षका पुरुष गरी १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सन्दीपको दुई विकेटको राहत, जमैकाको जित

काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो ।

शनिबारको खेलअघि जमैका र सेन्ट किट्स अङ्क तालिकाको पुछारमा थिए । जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा थियो भने सेन्ट किट्स अन्तिममा थियो । लिगको अन्तिम चारमा स्थान बनाइराख्नका लागि दुवै टोलीका लागि जित आवश्यक थियो । सन्दीपको दुई विकेटको मद्दतमा विजयी भएको जमैका जितसँगै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । सेन्ट किट्स भने जमैकासितको हारसँगै अङ्क तालिकाको पुछारमै सीमित बनेको छ । जमैकासितको हारले उसलाई अन्तिम चारमा रहनका लागि अब निकै सङ्घर्ष गर्नुपर्ने देखिन्छ । जमैकालाई भने सेन्ट किट्ससितको जितले उपाधि होडमा रहिरहन सहज भएको छ ।

सन्दीपको टोली जमैकाले हालसम्म खेलेको छ खेलमा तीनमा जित तथा तीनमा हार बेहोर्दै ६ अङ्क बटुलेको छ । सेन्ट किट्सले भने ६ खेलमा एकमा जित तथा पाँचमा पराजित हुँदै मात्र दुई अङ्क हासिल गरेको छ । लिगको उपाधि होडको बाटो सेन्ट किट्सका लागि कठिन बनेको छ ।

शनिबार छैटौँ खेल खेल्दै सन्दीपले सेन्ट किट्सविरुद्धको खेलमा दुई विकेट लिँदै ट्रिनिडाडमा जारी प्रतियोगितामा टिममा आफ्नो स्थान सुरक्षित राख्नुभयो । सन्दीपले अहिलेसम्म विकेटबिहीन हुनुपरेको छैन । उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण जमैकाले हालसम्म खेलेका सबै खेलमा सन्दीपले खेल्ने अवसर प्राप्त गरेका हुन् । उनले हालसम्म ६ खेलमा ९ विकेट लिएका छन् । सेन्ट किट्सविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए । उनले इभेन लुइस र इस सोढीको विकेट लिएका हुन् ।

टस जितेर जमैकाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर १४७ रन बनायो । एक सय ४८ रनको विजय लक्ष्य पछ्याएको सेन्ट किट्सले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो । जमैकाका लागि ग्लेन फिलिप्सले अविवित ७९ रन बनाए । उनले यसक्रममा ६१ बल खेल्दै छ छक्का तथा दुई चौका प्रहार गरेका हुन् । यस्तै जर्मेन ब्ल्याकउडले २७, नकु्रम बोनरले १६ तथा आशिफ अलीले १४ रनको योगदान दिए । बलिङतर्फ सेन्ट किट्सका रियाद इमरितले तीन विकेट लिए।

जमैकाका बलर सन्दीप तथा कार्लोस ब्रेथह्वाइट, फिडेल एडवार्ड, भिरासम्मी परमुलले सेन्ट किट्सको ब्याटिङ लाइन ध्वस्त पारे । कार्लोसले तीन तथा एडवार्ड र परमुलले सेन्ट किट्सको दुई दुई विकेट लिए । मुजिबउर रहमानले एक विकेट लिए । ब्याटिङतर्फ सेन्ट किट्सका लागि केइरन पउलले २१, इभेन लुइसले २१, निक केलीले १६, डेनिस रामदिनले १३ तथा इमरान खानले १० रन बनाए । अब सन्दीपको टोली जमैकाले आफ्नो सातौँ खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्सविरुद्ध खेल्नेछ ।

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसक्नुभएको छ । सिपिएल भदौ २५ गतेसम्म चल्ने छ । सीपीएल खेलेपछि सन्दीप इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्न युनाइटेड अरब इमिरेटस् (युएइए) जानुहुनेछ । यस यामको आइपीएल कोरोना महामारीका कारण भारतमा आयोजना नभई युएईमा हुँदैछ । सन्दीपले आइपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने छन् । उनी दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित भएका हुन् ।

वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स आज बिहान करिब ५ बजे सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी दिए ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक वडा नं ९ कै ३१ वर्षीय सुरेन्द्र भण्डारीलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले नजाएको छ । घाइते पवित्रा गर्भवती रहेको र काठमाडौँबाट घर आएको प्रहरीले जनाएको छ ।

ललितपुरका संक्रमितको पाटन अस्पतालमा मृत्यु

ललितपुर। कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय युवकको उपचारको क्रममा राति १० बजे मृत्यु भएको हो ।
उनी कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।

प्रधानमन्त्रीको गृह जिल्लामा तिमल्सिना

काठमाडौँ । प्रधानमन्त्रीको गृह जिल्ला झापामा काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवण कुमार तिमिल्सिना नियुक्त भएका छन् । तत्कालीन प्रजिअ उदयबहादुर राना मगर महावाणिज्यदूतको सिफारिस भएपछि रिक्त पदमा तिमिल्सिनालाई सरुवा गरिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार काभ्रेपलान्चोकको प्रजिअमा सल्यानका प्रजिअ शिवराम पोखरेलाई ल्याइएको छ भने उनको ठाउँमा मन्त्रालयका सहसचिव हेमराज तामाङलाई प्रजिअ बनाइ पठाइएको छ ।

कञ्चनपुरमा उच्च ज्वरो पछि ६ जनाको मृत्यु, अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ ।

दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशङ्कामा १० जनाको रगतको नमूना सङ्कलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए ।

“महामारीको सङ्केत छैन”, उनले भने, “रगतको नमूना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।” उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्र र दुईको घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा. गगन चौधरीका अनुसार उच्च ज्वरोसँगै मौसमी ज्वरोका बिरामीको चाप बढेको छ ।

निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र दुई जना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रहेका छन् ।

अख्तियार प्रमुखमा अब जोशी, तीन आयुक्त पनि चाडैं नियुक्त हुँदै

काठमाडौँ । तत्कालिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नवीन घिमिरेले भदौ २९ मा अवकास पाउँदैछन् । यो सँगै सरकारले नयाँ प्रमुखको तयारी गरिरहेको छ । आयोगमा हाल आयुक्त रहेका डा।जोशीलाई प्रमुख आयुक्त बनाउन सत्तारुढ नेकपाभित्र लगभग आन्तरीक सहमति जुटिसकेको छ ।

गत साता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका थिए । केही नाम टुंग्याएर छिट्टै नियुक्तिको तयारी भइरहेको स्रोत जनाएको छ ।

उनले प्रमुख आयुक्तको जिम्मेवारी पाएमा उनले चैतसम्म कार्यभार सम्हाल्नेछन् । त्यसपछि कसलाई प्रमुख आयुक्त बनाउने भन्ने विषय अहिले नै टुंगाउन लागिएको छ । अहिले जो सिनियर आयुक्तमा नियुक्त हुन्छ, त्यही व्यक्ति त्यसपछि प्रमुख आयुक्तमा नियुक्त हुने सम्भावना छ ।

पूर्व सचिव जोशी यसअघि तत्कालिन माओवादीको कोटामा आयोगमा नियुक्त भएका हुन् । प्रशासन सेवामा हुँदा कुनै दाग नलागेका उनी स्वच्छ छविका व्यक्ति भनेर चिनिन्छन् ।

त्यसका प्रमुख दाबेदार पूर्व गृहसचिव प्रेमकुमार राई हुन् । राई प्रशासन क्षेत्रका ईमानदार र परिणाम दिन सक्ने प्रशासकका रूपमा चिनिन्छन। उहाँलाई एक नम्बर आयुक्त बनाइए अबको प्रमुख आयुक्तको रूपमा राई लाई नै हेरिन थालिएको छ। अब नेकपाकै कोटाबाट आयुक्त हुने व्यक्ति प्रमुख आयुक्त हुनेछ । केही पूर्व प्रहरी समेत नियुक्तिका लागि दौडधुपमा छन् । प्रमुख आयुक्तले समेत अवकाश पाउने भएपछि आयोगमा अब तीन पद रिक्त हुनेछन् । एक पद प्रमुख प्रतिपक्षीको कोटामा र दुई पद सत्तारुढ दलबाटै नियुक्त हुनेछ ।

नेपाली कांग्रेसबाट हुने नियुक्तिको कोटामा भने पूर्व एआइजी जयबहादुर चन्द, पूर्व सहसचिव गणेश कार्की तथा पूर्व गुप्तचर प्रमुख दिलीप रेग्मीलगायत छन् ।