थप १५ सय १३ जनामा संक्रमण पुष्टि

काठमाडौँ । मंगलबार थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला ५५६ र पुरुष ९५७ गरी सोही संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । १० हजार ८ सय ९१ जनामा गरिएको पिसिआर परिक्षणमा १५ सयमा कोरोना संक्रमण देखिएको हो ।

कोरोना रोकथाम र उपचारका लागि चन्द्रागिरिको दुई करोड २७ लाख खर्च

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतका शीर्षकमा हालसम्म उक्त रकम खर्च गरेको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख १६ हजार ९५९ खर्च भएको जानकारी गराए । नगरपालिकाले विभिन्न वडाका गरिब, विपन्न परिवारलाई राहत वितरणका लागि रु एक करोड ६४ लाख ३१ हजार, स्वाव परीक्षण, औषधि खरिद, स्प्रे, प्रचार–प्रसार, एम्बुलेन्स सञ्चालनका लागि रु ४० लाख ८१ हजार, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि रु २२ लाख तीन हजार खर्च गरेको छ । चन्द्रागिरिले नगरपालिकाभित्रका विभिन्न विद्यालयमा क्वारेन्टाइन कक्ष निर्माण गरेर कोरोना सङ्क्रमितलाई राख्दै आएको छ ।

चन्द्रागिरिलाई कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि वाग्मती प्रदेशले रु १२ लाख र नगरस्तरीय विपद् व्यवस्थापन कोषमा रु ११ लाख ७४ हजार सहयोग भएको थियो । बाँकी रकम नगरपालिकाले आफ्नै कोषबाट खर्च गरेको हो ।
नगरपालिकामा सोमबार छ कोरोना सङ्क्रमित थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३९० पुगेको छ । तीमध्ये २७६ जना डिस्चार्ज भइसकेका छन् । बाँकी सक्रिय सङ्क्रमितमध्ये २५ जना अस्पताल आइसोलेसन र ८५ जनाको होम आइसोलेसनमा राखेर उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो । हालसम्म चन्द्रागिरिमा कोरोना सङ्क्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । चन्द्रागिरिले कोरोना सङ्क्रमणबाट सिकिस्त भएका बिरामीलाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा राखेर उपचार गराउँदै आएको छ ।

चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । उपत्यकाका अरु नगरपालिकाको तुलनामा चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या कम रहेको छ ।

ओम्नीको बचाउमा सर्वाेच्च, कालोसूचीमा राख्ने अनुमति कार्यन्वयन नगर्न निर्देशन

काठमाडौँ । सर्वोच्च अदालत ओबिसीआई लिमिटेड प्रालि (ओम्‍नी) को बचाउमा अन्तरीम आदेश जारी गरेको छ । सरकारले कालोसूचीमा राखेको ओम्नीको पक्षमा अन्तरिम आदेश जारी गर्दै ओम्‍नीलाई कालोसूचीमा राख्‍ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले स्वास्थ्य सामग्रीमा अनियमितता र विवादमा तानिएको ओम्‍नीकै पक्षमा हुने गरी सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले कालोसूचीमा राख्‍ने निर्णय गरेपछि सोविरुद्ध सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दायर गरेका थिए । असोज ९ गते ओम्‍नीकातर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । त्यसैले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

रोल नम्बरमा जोरबिजोर प्रणाली मार्फत नियमित पठनपाठन सुरु

खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो ।

गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ । यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थी गाउँपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि उत्साहित देखिएका छन् । विद्यालय सञ्चालन गरिएपछि कुनै एक जनालाई कोरोना सङ्क्रमण देखिएको अवस्थामा भने अन्यलाई पनि सर्ने त्रास भने देखिएको छ ।

यसअघि कोरोना कहरकै बीचमा पनि उक्त गाउँपालिकाले पठनपाठनलाई नियमित गराउने प्रयास गरेको थियो । असार मसान्त बित्दासमेत कोरोनाको असर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएपछि गाउँपालिकाले गत साउन ७ गतेदेखि भदौ ३ गतेसम्म गाउँटोलमै शिक्षक पठाएर पठनपाठनको गराएको थियो ।

दिनानुदिन कोरोना भाइरसको सङ्क्रमण बढिरहेको तथा स्वास्थ्य सङ्कट निम्तिने खतरालाई मध्यनजर गर्दै सिकाइ सहजीकरणलाई रोकेको गाउँपालिकाले पुनः पठनपाठनलाई नियमितरूपमा अघि बढाएको छ । विद्यालयले आफ्नो अनुकूलमा बिहान, दिउँसो वा बेलुका तालिका बनाएर पठनपाठनमा सहजीकरण गर्ने व्यवस्था मिलाएको छ ।

विद्यालयमा हुने भीडलाई नियन्त्रण गर्न जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाइ केन्द्रमा आउने व्यवस्था मिलाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले बताउनुभयो । “भीडभाडलाई कम गर्न विद्यार्थीलाई कक्षामा भौतिक दूरी कायम गरेर राख्ने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “विद्यालयमा आएका विद्यार्थीलाई एक बेञ्चमा एक जना वा बढीमा दुई जनालाई मात्र राख्ने व्यवस्था गरेर पठनपाठन शुरु गरिएको छ ।”

सात वडा रहेको उक्त गाउँपालिकाको ४८ विद्यालयमा पाँच हजार ५१२ जना विद्यार्थी हाल अध्ययनरत छन् । गाउँपालिकाको असोज ९ गते बसेको कार्यपालिकाको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार नियमित पठनपाठनलाई निरन्तरता गराउने निर्णय गरेको थियो ।

विद्यार्थीको सङ्ख्या बढी भएको अवस्थामा सम्भव भएसम्म गाउँमै सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सञ्चालन गर्न भनिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्न गाउँपालिकाले सिकाइ सहजीकरणको विधि अपनाएको छ”, उहाँले भन्नुभयो, “शैक्षिक–सत्रको शुरुबाट पठनपाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदासमेत कटौती गरिएको छ ।”

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि अवरुद्ध पठनपाठनलाई आ–आफ्नै तरिकाले सञ्चालन गर्ने तयारी गरिरहेका छन् । लामो समय विद्यालय बन्द हुँदा अधिकांश विद्यार्थीको पढ्ने बानी हटेको पाइएको छ ।

राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियानले लियो तीव्र गति

काठमाडौँ । राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ । गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान्तरण गरेका छन् । बूढानीलकण्ठ नगरपालिकालाई २००, महालक्ष्मी नगरपालिकालाई २०० र सूर्यविनायक नगरपालिका–५ लाई ३०० गुर्जोका बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए ।

यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको वनस्पति, जीव विज्ञानलगायत विभागका लागि ८०० बिरुवा वितरण गरिएको छ । यसैगरी ललितपुरको ठैब क्षेत्रका लागि पनि ३०० बिरुवा रोपणका लागि हस्तान्तरण गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण भई आइसोलेसन कक्षमा बसेका ३५ जनालाई गुर्जोबाट बनेको चियासमेत ३५ केजी नगर प्रमुख उद्धवप्रसाद खरेलमार्फत् हस्तान्तरण गरिएको छ । कोरोना पोजेटिभ भएकालाई फेरि दिने प्रतिबद्धता अभियानकर्मी राजलवटले जनाए ।

महालक्ष्मी नगरपालिकामा समेत आइसोलेसन कक्षमा बसेकाका लागि गुर्जोको चिया हस्तान्तरण गरिएको छ । महालक्ष्मीमा नगर प्रमुखसमेत कोरोना सङ्क्रमण भई आइसोलेसन कक्षमा बसेकाले उनलाई पनि नगरपालिकामार्फत् नियमित सेवनका लागि छुट्टै गुर्जोको चिया हस्तान्तरण गरिएको छ ।

उपत्यकामा एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने अभियानका रूपमा अघि बढाइएको छ । गुर्जो रोपण अभियानमा हाल उपत्यकामा क्रियाशील वाग्मती, रुद्रमती, विष्णुमती, चक्रपथलगायत क्षेत्रका सफाइ अभियानकर्मी पनि लागेका छन् । उपत्यकाका सबै नदी किनारमा गुर्जोको बिरुवा रोप्ने अभियानसमेत शुरु भइसकेको छ । नदी किनारका प्रत्येक घरमा समेत गुर्जो रोपण अभियान जारी छ ।

गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधीको रूपमा प्रयोगमा ल्याइन्छ । गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । लहानस्थित सरकारी निवास क्षेत्रमा हुर्काइएका करिब ७५ हजार गुर्जोका बिरुवा हालसम्म देशका विभिन्न भागमा रोपणका लागि हस्तान्तरण गरिएको छ ।

गुर्जो रोपण अभियानलाई देशव्यापी बनाउन राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग शिक्षक किशोर जोशी, जीवन विज्ञानका योग प्रशिक्षक रामप्रसाद पन्थी लगायत अभियानकर्मी पनि राजलवटसँगै जुट्नुभएको छ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रूपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।
–––

लोकसेवा आयोगलाई कर्मचारी भर्नाको अनुमति

जनकपुर । प्रदेश नं २ सरकारले प्राविधिक कर्मचारी भर्ना गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को सोमबार सेको बैठकले प्रदेशमा प्राविधिक कर्मचारी नियुक्तिका लागि आयोगलाई स्वीकृति दिएको हो ।

प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवातर्फ सातौं तहसम्मका कर्मचारी भर्ना लिनका लागि स्वीकृति प्रदान गरेको हो ।

मुख्यमन्त्रीको सञ्चार सचिवालय प्रदेश नं २ का अनुसार प्रदेश निजामती सेवा ऐन पारित नभएसम्म तत्काल सङ्घीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको हो ।

त्यसैगरी, सो बैठकले लोकसेवा आयोगको ओएनएम पारित गर्नुका साथै प्रदेश लोकसेवाको सचिवमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलाई जिम्मेवारी दिएको छ ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले ती दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको छ ।

गणेश भगवानको दर्शन् गर्नुहोस्, असोज १३ गते मंगबारको राशिफल

वि.सं.२०७७ साल असोज १३ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–त्रयोदशी,४१ घडी ३१ पला,बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–शतभिषा,४९ घडी ५८ पला,रातको ०१ बजेर ५५ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शूल,३९ घडी २१ पला,बेलुकी ०९ बजेर ४० मिनेट उप्रान्त गंड । करण– कौलव,बिहान १० बजेर ०५ मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान ३० घडी ४६ पला । बिश्व हृदय दिवस । पञ्चक। प्रदोष व्रत ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापारमा प्रशस्त समय दिएमात्र आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । बित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । महत्वपूर्ण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नहुँनु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

असोज १५ बाट उपत्यकाका १३ स्थानमा सुपथमूल्य पसल सञ्चालन

काठमाडौँ । सरकारले समस्त हिन्दूहरुको महान पर्व दशैँ तिहार नजिकिँदै गर्दा १३ स्थानमा सुपथमूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको बिशेष उपस्थितिमा बसेको बैठकले उपत्यकाका विभिन्न १३ स्थानमा असोज १५ गतेदेखि सुपथमूल्य पसल सञ्चालन गर्ने निर्णय अगाडि बढाएको छ। दशैँको अवसरमा व्यावसायीहरुले कालोबजारी गर्ने गरेका विगतका गुनासाहरुलाई सम्बोधन गर्दै उपभोक्ता ठगिनबाट बचाउन भनेर सुपथमूल्य पसल सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको त्राससँगै उपभोक्ताको हितलाई ध्यानमा राखि कालाबजारी गर्नेहरुलाई निरुत्साहीत गर्ने उद्देश्यले सहुलियत पसल खोलिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र प्रशाद सुवेदीले जानकारी दिनुभयो ।

नेत्र प्रशाद सुवेदी,महानिर्देशक, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग

उहाँले भन्नुभयो,‘सकेसम्म र नजरले भ्याएसम्म हामीले अनुगमन मात्र गरेका छैनौँ ठाउँको ठाउँ कारवाही समेत गरिरहेकै छौँ। यो सँगै अझै हाम्रो नजरमा पर्न नसकेका कालोबजारीलाई निरुत्साहित बनाउने उद्देश्यले हामी लागिरहेका छौँ, उपभोक्तालाई कालोबजारीबाट बचाउने हाम्रो कर्तव्यमा हामी निष्ठापूर्व लागेका छौँ महानिर्देशक सुबेदिले भन्नुभयो, , यसै शिलशिलामा सुपथमूल्य पसल सञ्चालनमा ल्याउन लागिएको हो। उहाँका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले ५स्थानमा, खाद्य लिमिटेडले ५ स्थानमा र दुग्ध बिकास संस्थानले ३ स्थानबाट गरि १३ स्थानबाट सूपथमूल्य पसल सञ्चालन हुने भएको हो।

शीर्ष अदालतद्धारा सरकार प्रमुख अयोग्य घोषित

काठमाडौँ । स्पेनको शीर्ष अदालतले सोमबार क्याटलोनियाली पृथकतावादी समूहको निकट मानिने क्षेत्रीय सरकार प्रमुख क्विम तोरालाई पदीय मर्यादा कायम गर्न नसकेको भन्दै पदमा रहिरहन अयोग्य देखिएको ठहर गरेको छ ।

अदालतले हालै स्पेनको समृद्ध उत्तरपूर्वी क्षेत्रमा विरोध प्रदर्शन गर्न उहाँको समूहले प्रोत्साहन गरेकोप्रति चासो व्यक्त गरेको छ । साथै विश्व महामारीसँग जुझिरहेका समय राष्ट्रविरोधी गतिविधिलाई प्रोत्साहन गर्ने समूह तथा नेतालाई कानुनी दायरामा ल्याउनसमेत आग्रह गरिएको छ ।

स्पेनको सर्वोच्च अदालतको फैसलामा टोराले राज्यमा देखिएको नयाँ राजनीतिक सङ्कटको सामना गर्नुपर्ने बताएको छ । क्याटलोनियाको क्षेत्र कोभिड–१९ का कारण स्पेनको बढी प्रभावित क्षेत्र हो ।

क्याटलोनियाको उच्च अदालतमा क्षेत्रीय सरकारको नेतृत्वमा रहेका टोरालाई सन् २०१९ को अप्रिलमा सम्पन्न राष्ट्रिय निर्वाचनका समय स्पेनबाट क्याटलोनियाको स्वतन्त्रताका लागि सङ्केत गर्ने झण्डा, व्यानर तथा पम्पलेटहरू सार्वजनिक भवन तथा कार्यालयबाट हटाउन आदेश गरेको थियो तर अदालतको आदेशलाई वेवास्था गरेको आरोप क्षेत्रीय सरकार र यसका प्रमुखमाथि लाग्दै आएको थियो । अयोग्यताको प्रश्न यति छिट्टै उठ्ला भन्ने नसोचिएका समय अदालतले सोमबार उक्त निर्णय सुनाएको हो ।

“चुनावी प्रक्रियाको क्रममा क्षेत्रीय सरकारको सार्वजनिक भवनहरुबाट केहि प्रतीकहरु हटाउने केन्द्रीय निर्वाचन बोर्डको आदेशलाई उल्लंघन गरेको ठहर गरिएको छ,” सर्वोच्च अदालतका न्यायाधीशहरूले सर्वसम्मतिमा दिएको फैसला भनिएको छ । अदालतले तोराको निवेदनलाई अस्वीकार गरेको हो ।

अदालतले तोरालाई १८ महिनासम्म निर्वाचित पदमा रहन अयोग्य ठहर गरेको छ अदालतमा मुद्दाको सुनुवाई चलिरहेका समय भने उहाँलाई निलम्बन गरिएको थिएन ।

क्षेत्रीय संसदले तोरालाई पदबाट अयोग्य ठहराउने कुनै पनि त्यस्तो निर्णयलाई बेवास्ता गर्ने प्रतिक्रिया दिइसकेको छ । क्याटलानका राष्ट्रपति आफैले पनि उक्त आदेशको खण्डन गर्ने सम्भावना रहेको क्याटलोनियाबारे जानकार विश्लेषकहरूले बताएका छन् ।

सोमबारको फैसलाले यस क्षेत्रको विभाजित अलगाववादी आन्दोलनको विवादलाई थप चर्काउने र अन्ततः क्षेत्रीय चुनाव हुने सम्भावना बढेको छ ।

काठमाडौँ जिल्ला प्रशासनका दुई कर्मचारी संक्रमीत

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा कोरोना संक्रमितको सीमा एका एक बढेसँगै सरकारी कामकाजमा आउने सेवाग्राही तथा आवत जावतको चापका कारण कर्मचारीले आफुलाई असुरक्षित महशुस गरेका छन् । प्रशासनका एक नासु र एउटा अनुसन्धानका प्रहरीमा कोरोनासंक्रमण पुष्टि भएको स्रोतले जनाएको छ । कोरोना करकैबीचपनि प्रशासनले सेवा सहज रुपमा प्रवाह गर्दै आएको थियो । तर कार्यालयकै कर्मचारीमा संक्रमण पुष्टि भएसँगै अन्य कर्मचारीमा समेत त्रास फैलनुले अफिस जाने कि नजाने दोधार महशुस भएको एक कर्मचारीले सम्पत्ति न्यूजलाई बताए। ।

थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार नेपालमा थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सोही जनसंख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार ८० जनामा गरिएको पिसिआर परिक्षणमा १३५१ जनालाई संक्रमण पुष्टि भएको हो ।

प्रमुख चौधरी ‘होटेलियर पावर लिस्ट–२०२०’ को सूचिमा

सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी राहुल चौधरी यस वर्ष पनि ‘होटेलियर पावर लिस्ट २०२०’ को सूचीमा परेका छन् । भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार उनलाई तेस्रो वर्ष शक्तिशाली २५ होटल व्यवसायीको सूचीमा राखेको हो ।

राहुल ओबरोय होटल्स, ह्यात, हिल्टन, आईएचजी, म्यारियोट, लीला, एकोर, र्‍याडिसन, ताजजस्ता विश्वभर चर्चित होटल ब्रान्ड सम्मिलित सूचीमा परेका हुन् ।
राहुलले चौधरी ग्रुप (सीजी)को ‘हस्पिटालिटी’ बिजनेसको नेतृत्व गर्छन् । उनी यो सूचीका सबैभन्दा कान्छा सदस्यको रुपमा परिचित छन् ।
‘होटेलियर’ले सन् २०२० का लागि ‘हस्पिटालिटी’ क्षेत्रमा सफल २५ प्रभावशाली व्यवसायीको सूची निकालेको हो । राहुल सन् २०१८ र २०१९ को सूचीमा पनि थिए ।

राहुलले भारतको नयाँदिल्ली मुकामबाट ‘सीजी कर्प ग्लोबल’सँगै ‘सीजी हस्पिटालिटी होल्डिङ्स’को प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी निभाइरहेका छन् । होल्डिङ्सले भारतलगायत दर्जन मुलुकमा सेवा विस्तार गरेको छ । ‘ताज’, ‘फर्न’, ‘जिंक होटेल्स’जस्ता स्थापित र प्रसिद्ध चेन होटलमा सीजीको साझेदारी लगानी छ ।

होल्डिङ्सले १२ मुलुकका ९४ गन्तव्यमा १३५ होटल–रिसोर्ट सञ्चालन गरिरहेको छ । यी होटल–रिसोर्टमा ८ हजारभन्दा बढी कोठा छन् । ८० वटा होटल–रिसोर्ट त भारतमा मात्रै छन् ।

सीजीले कोभिड—१९ महाव्याधिबाट आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई सुरक्षित राख्न विभिन्न प्रशिक्षणसँगै अनलाइन कार्यशालाहरूमा सहभागी गराएको छ । महाव्याधिका बेला विश्वभरका आफ्ना होटल तथा रिसोर्टलाई थप सुरक्षित र विश्वसनीय बनाउन सफल भएको राहुल बताउँछन् ।

चुनौतीहरूले अवसर र शिक्षा पनि दिन्छन् । कोभिड—१९ ले पर्यटन क्षेत्रको विषयमा पुनर्मूल्याङ्कन गर्न अवसर दिएको छ । हाम्रो विद्यमान व्यावसायिक ढाँचाबारे पुनर्विचार गर्न प्रेरित गरेको छ । यो क्षेत्रलाई दिगो रूपमा अघि बढाउन कोभिड–१९ ले विश्वभरि नै शिक्षा दिएको छ, राहुल भन्छन्, ‘त्यहीबमोजिम शहरी क्षेत्रमा सञ्चालित हाम्रा होटलबाट खाद्य तथा पेय डेलिभरी गर्नुका साथै रिसोर्टहरूमा कोभिड–१९ परीक्षण सुविधा सञ्चालन गर्ने उद्देश्य राखेका छौं । गुणस्तर, सुरक्षा र विश्वसनीयता हाम्रा मूल मन्त्र हुन् । यिनै मन्त्रका आधारमा सीजी हस्पिटालिटीले आगामी ३ वर्षसम्मका लागि कार्ययोजना बनाएको छ—अहिलेको अवस्थामा जोगिने, त्यसपछि तंग्रिने र अन्ततः दौडिने ।

महाव्याधिका बेला यो क्षेत्रलाई जोगाउन र दिगो रूपमा सञ्चालन गर्न सीजी हस्पिटालिटीले बृहत्तर योजना शुरु गरिसकेको राहुल बताउँछन् । अहिलेको अवस्थाले उपभोक्तालाई शारीरिक आराम, फुर्सदिला गतिविधि र रोचक यात्रामा डोर्‍याउने सम्भावना अधिक भएकाले आफूहरूको ध्यान त्यता केन्द्रित भएको उनले सुनाए ।

नेपालमा मेघौली सेराईजस्तो विश्वस्तरीय रिसोर्टसँगै भिभान्ता, समिट, फर्नलगायत सञ्चालन गरिरहेको सीजी हस्पिटालिटी होल्डिङ्सले निकट भष्यिमा काठमाडौंसँगै पोखरा र लुम्बिनीमा थप होटल स्थापना गर्दै ललितपुरको होटल समिटलाई विस्तार गर्ने योजना छ ।

दुई दशकअघि टाटा ग्रुप–आईएचसीएलसँग कोलम्बो (श्रीलंका) र माल्दिभ्समा साझेदारी गरेसँगै चौधरी ग्रुप हस्पिटालिटी क्षेत्रमा विधिवत् रूपले अघि बढेको हो ।

पशुपतिनाथको विधिपूर्वक दर्शन कसरि गर्ने ?

पशुपति नाथ भनेपछि देश विदेश कसैले पनि नचिन्ने भन्ने त कुरै हुन्न । यो विश्वकै हिन्दुहरुको आस्था हो । पशुपतिनाथको मन्दिर र पाशुपत क्षेत्र प्राचीनकालदेखि नै विश्वभरका सनातन हिन्दूको श्रद्धा र आस्थाको केन्द्रबिन्दु एवं पवित्र तीर्थस्थलका रूपमा रहिआएको छ ।

देवपतन, जयवागेश्वरी, गौरीघाट, चावहिल, कुटम्बहाल, सिफल, गौशाला, पिगंलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रलाई ओगटेर २६४ हेक्टरको क्षेत्रफलमा फैलिएको पशुपति क्षेत्रमा ४९२ साना–ठूला विभिन्न शैलीका मठ मन्दिर, सत्तल, ढुंगेधारा, चैत्य, देवालय आदि धार्मिक तथा ऐतिहासिकस्थल र लगभग एक हजार शिवलिंग छन् ।

लिच्छवीकालदेखि नै पशुपति क्षेत्रका रुपमा प्रसिद्ध भएको यस क्षेत्रमा इसापूर्व तेस्रो शताब्दीसम्मका विभिन्न मूर्तिहरू पाइएका छन् ।
यो क्षेत्र काठमाडौं उपत्यकाकै प्राचीनतम् धार्मिकस्थल हो । अतिप्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थितिले गर्दा यो क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ ।

“बिहान ४ बजे व्रहम मूहर्तमा पशुपतिनाथलाई जागा गराइन्छ ।
भट्टद्वारा पशुपतिनाथको स्नान गराईन्छ ।
९ः३० देखि ११ बजेसम्म सम्पूर्ण द्वारहरु भक्तजनहरुका लागि खुल्ला गरिन्छ । यसै समयमा विशेष पुजा पनि गरिन्छ ।
त्यसपछि बालभोग ९हलुवा० को भोग दिइन्छ ।
सूर्यास्त हुनुभन्दा आधा घण्टा अगाडी आरती शुरु हुन्छ ।
विशेष दिन बाहेक सामान्यता ७ बजे मन्दिर बन्द हुन्छ ।”
भगवान श्रीपशुपतिनाथको नित्यपूजाका क्रममा शालिग्रामको पूजाका साथै श्रीयन्त्रमा तान्त्रिक विधिले शक्तिपूजा समेत गरिने हुनाले र भगवान श्रीपशुपतिनाथलाई प्रति वर्ष बुद्धमुकुट पहिर्‍याउने भएकाले पनि भगवान् श्रीपशुपतिनाथ स्वयं धार्मिक समन्वयको प्रतिक रहेको पण्डित नारायणप्रसाद पौडेल बताउँछन् । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति दर्शन गर्न विश्वभरका हिन्दु धर्मावलम्बीहरूको विशेष घुँइचो लाग्छ ।

पशुपति दर्शन
हामीले पशुपति धेरै पटक दर्शन गरिसकेका छौ । कोही दर्शन गर्न जाने तयारीमा हुनुहुन्छ तर, विधि पु‍¥याएर कसरी गर्ने भन्नेबारे पण्डित नारायणप्रसादले दिएको जानकारी अनुसार, सबैभन्दा पहिलो चोखोनितो भएर पशुपति मन्दिर परिसर पुग्नुपर्छ । त्यहाँ जुत्ता चप्पल बाहिर खोलेर सुरक्षा जाँच गराएर पश्चिम ढोका हुँदै मूल मन्दिर जानुपर्छ ।

मन्दिरको पश्चिम ढोकैमा गुरूको मन्दिर छ । जुन गुरू पूर्णिमाका दिन मात्र खुला हुन्छ । पहिले यसको दर्शन गरेर भित्र जानुपर्छ । पशुपतिका मूल भट्टहरू पनि पहिले गुरूको पूजा गरेर मात्र मन्दिर भित्र प्रवेश गर्छन् ।

त्यसपछि पश्चिम गेट नजिकै रहेको गणेश र स्कन्द कुमारको दर्शन गर्नुपर्छ । त्यसपछि शंकराचार्य मठको दर्शन गर्ने । गणेशलाई दुबो र लड्डु चढाउने ।

धाराभन्दामाथि रहेको चाँगुनारायणको मन्दिरको दर्शन गरेर रूद्रकारेश्वरको दर्शनपछि मात्र पश्चिम मूल ढोलाको दर्शन गर्नुपर्छ ।

त्यसपछि बजरंगबली हनुमानको दर्शन गरिसकेर नटेश्वरको दर्शन गर्ने । त्यसपछि त्रिशूलको दर्शन गर्ने र सँगै रहेको अन्नपूर्ण माताको दर्शन गर्ने ।
त्यसपछि चन्डेश्वरको दर्शन गरेर पूर्व दिशामा रहेको सूर्यको दर्शन गर्ने । अनि लाल गणेशको दर्शन पछि मात्र बासुकीको दर्शन गर्न जानुपर्छ ।
बासुकी नागमा दर्शन गर्न तिल, जौ, दही, दुध, घ्यू र मह चढाउनु पर्छ । त्यसका लागि ११ सयदेखि करौडौंसम्मको विशेष पूजा हुन्छ । विशेष पूजा नगर्ने भक्तजनले सग्लो बेलपात पुजारीलाई भनेर चढाउन पाउँछन् ।

बासुकीको दर्शन पछि दाँयाबाँया बुढानिलकण्ठको दर्शन गर्ने । विष्णुलाई जौ र तिलले पूजा गर्ने । त्यसपछि पूर्वीद्वारको दर्शन गर्ने, भ्रृंगी, अष्ट चिरन्जिबीको दर्शन गरिसकेपछि बागमति नदिको दर्शन गर्ने । त्यहाँ छेउमै रहेको श्रीयन्त्रको दर्शनपछि सन्तानभरेश्वरको दर्शन गर्ने । यहाँ केही बेर आराम गर्ने ।

त्यसपछि श्रीकृष्णको दर्शन गर्ने र ल्याएको नरिवल फुटाउने । पशुपति मन्दिर परिसर भित्र यही मात्र नरिवल फुटाउन पाइन्छ ।
श्रीकृष्णको दर्शनपछि भैरवको दर्शन गर्ने । त्यसपछि उन्मत्त भैरवको दर्शन गरिसकेपछि शहस्र लिङ्गको दर्शन गर्ने ।
शहस्र लिङ्गमा बेलपात, तिल, जौ, दही, दुध, घ्यू र मह चढाउनुपर्छ ।

त्यसपछि नवदुर्गाको दर्शन गरेर नवग्रहको पूजा गर्ने । पशुपति मन्दिर दक्षिण–पश्चिम पट्टी रहेको वनग्रहमा तिल, जौ, दही, दुध, घ्यू र मह चढाउनुपर्छ ।

त्यसपछि नन्दिश्वर हनुमान र नन्दीलाई घुम्ने ।

अब दक्षिण ढोकाबाट मन्दिरलाई चिहाउने मात्र फेरि पूर्व जाने, त्यहाँ पनि चिहाउने र दक्षिण हुँदै पूर्वद्वारमा जाने ।

पूर्वद्वारसँगै रहेको तत्पुरूषको दर्शन गर्ने अनि फेरि दायाँहुँदै पश्चिम आउनुपर्छ ।

अब उत्तरमा बामदेवको दर्शन गरिसकेपछि मन्दिरको सिँडी ओर्लिने फेरि पेटीमा नचढ्ने । बाहिरबाटै पूर्वमा गएर पूर्वीद्वारबाट राम्रोसँग दर्शन गर्ने ।

शिवको ध्यान गर्ने नारायणको दर्शन गर्ने, गजुरको दर्शन गर्ने र शिवको साक्षात रूप सम्झिने । यति गरेपछि पशुपति मन्दिर परिसर भित्रको पूजा र दर्शन पूर्ण हुन्छ ।

विशेष गरी शिवरात्री तथा पूर्णिमाको दिन दर्शन गरे पूण्य हुने विश्वास छ । पूर्णिमाको दिन बिहानदेखि बेलुकासम्मै पूजा गरे साक्षात शिवजीको दशर्न पाइन्छ भन्ने विश्वास छ ।

विशेष पूजा नगरेमा बाशुकी र पशुपतिमा नच्यातिएको फूल बेलपत्र लग्यौ मन्दिरमा भट्टका सहायकहरूले चढाइदिन्छन् ।
पशुपतिको मूल मन्दिर भित्रै पसेर पूजा तथा दर्शन गर्न भट्टबाहेक कसैले पनि पाउँदैनन् । जस्तोसुकै विशेष पूजा भए पनि मन्दिरको मूल ढोकाबाट मात्र दर्शन गर्न पाउने परम्परा छ ।

पशुपति मन्दिर भित्र साढे ५ बजे बजेदेखि ८ बजेसम्म विशेष आरती हुन्छ । यो मन्दिरका भट्टहरूलेनै गर्ने आरती हो । यतिखेर मन्दिरका चारै ढोका खुल्ला हुन्छ । यस्तै पुस महिनामा रातिको समयमा विशेष पूजा हुन्छ । जुन उज्यालो हुँदा सकिन्छ ।

विशेष पूजा
पशुपतिनाथमा विशेष पूजा गर्न गराउन चाहने भक्तजनहरूले मन्दिरको पश्चिमी द्वारमा रहेको कोषको कार्यालयमा आफूले गराउन चाहेको विशेष पूजाको रसिद अघिल्लो दिन बेलुका ५ बजे अगाडि नै काट्नुपर्छ । प्रायः विशेष पूजा ११ सय देखि १ करोडसम्मको हुने गरेको छ ।
विशेष पूजाको लागि कर्ता दैनिक बिहान ९ः२० देखि १०ः४५ बजेसम्म उपस्थित भइसक्नुपर्नेछ । तोकिएको मिति र समयमा कर्ता उपस्थित नभएमा पनि पूजा भने रोकिने छैन ।
आफूले भुक्तान गरेको रसिद लिँदा नेपाली रूपैयाँ, भारतीय रूपैयाँ वा अन्य कुन मुद्रामा हो रसिदमा स्पष्ट गरी लिनुपर्ने हुन्छ ।
मन्दिर परिसरभित्र कुनै पनि मूर्ति र देवतालाई पूजा गर्दा पैसा नचढाउने । दानपात्रमा मात्र दान र दक्षिणा खसाल्नुपर्छ ।
दक्षिणा, भेटी रकम पूजारी वा अन्य कुनै व्यक्ति वा पक्षलाई हातमा नदिइ भेटी पात्रमा खसाल्ने ।

श्रीपशुपतिनाथको मन्दिर तथा मन्दिर प्रागंणभित्र रहेका अन्य मठमन्दिरमा सुन, चाँदी जस्ता बहुमूल्य धातुले बनेको सामान वा भाँडाकुडा वा बस्त्र लगायत अन्य जिन्सि सामान चढाउन चाहेमा कोषको पश्चिमीद्वारमा रहेको कार्यालयमा दर्ता गरी रसिद लिएर मात्र चढाउनु पर्छ ।
पूजा सामाग्री पशुपति क्षेत्रमा रहेका पसलहरूबाट खरिद गर्दा शुद्वता भए नभएको हेरी कोषबाट अनुमति लिएको छ, छैन सो हेरी खरिद गर्नुपर्नेछ । कोषले अनुमति नदिएका पूजा सामाग्री मन्दिर भित्र लैजान पाइन्न ।

पशुपतिनाथ मन्दिर तथा मन्दिर प्रागंणमा चढाउने र चढाइएका नगद, जिन्सि,फलफूल पूजा सामाग्री आदी सवै सुरक्षा जाँच गरेर मात्र भित्र लैजान पाइन्छ ।

मन्दिर र मन्दिर प्रांगणमा निषेध गरिएका सामानहरू सुरक्षा जाँच स्थल नजिकै निशुल्क लकरको व्यवस्था गरेको छ ।
पशुपतिनाथको सबै मठमन्दिरहरूको दर्शन गरिसकेपछि पश्चिम द्वारबाट बाहिर निस्कदा ढो काको छेउबाटै गजुरको दर्शन गरि ‘जय भोले ’ भनी ठूलो स्वरमा आह्वान गर्नुपर्छ ।

विशेष पूजाका लागि कम्तिमा
११ सय रूपैयाँदेखि सुरू हुन्छ ।

विल्वार्पण
वेलपत्र एवम् दूग्धार्पण
पञ्चामृत पूजा
बालभोगसहित पञ्चामृत पूजा
रुद्री र बालभोगसहित पञ्चामृत पूजा
लघुरुद्री र पञ्चामृत पूजा
लघुरुद्री लगतभोगसहित पञ्चामृत पूजा
लघुरुद्री लगतभोग र विशेष दूग्ध स्नानसहित पञ्चामृत पूजा
लघुरुद्री पूराभोगसहित पञ्चामृत पूजा
लघुरुद्री पूराभोग सवालाख बत्तीसहित पञ्चामृत पूजा
लघुरुद्री, सवालाख बत्ती, दृष्टिसहितको पूर ाभो ग समेत पञ्चामृत पूजा
लघुरुद्री, सवालाख बत्ती, हवन र दृष्टिसहितको पूराभाग समेत पञ्चामृत पूजा
एक दिवसीय महारुद्री
एकादश दिवसीय महारुद्री
एकादश दिवसीय अतिरुद्री
पाशुपत क्षेत्रका दर्शनीय मन्दिरहरू

वत्सलेश्वरी–आर्यघाट र भस्मेश्वरको बीचमा वागमती किनारमा वत्सलेश्वरीको सुन्दर दूईतले मन्दिर छ । यहाँ मूर्ति नभएर यन्त्र मात्र छ र सिद्धिकालीका रुपमा यिनको पूजा हुन्छ । वत्सलेश्वरीको जात्रा पशुपति क्षेत्रमा मनाइने सबैभन्दा मुख्य जात्रा हो र यो जात्रा प्रत्येक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि चारदिनसम्म धूमधामले मनाइन्छ ।

विश्वरुप– मृगस्थलीको पूर्वछेउमा वनको बीचमा राजपूताना गुम्बज शैलीको भव्य र विशाल विश्वरूपा मन्दिर छ । जंगबहादुरको समयमा ई। १८६७ अघि नै बनेको यस मन्दिरमा शिवशक्तिको रतावस्थाको अत्यन्त विशाल ढलौटे मूर्ति प्रतिष्ठित छ। यो मन्दिर चौघराले घेरिएको छ र चौघराभित्र चार कुनामा शिवपार्वती, लक्ष्मीनारायण, सीताराम र राधाकृष्णका ढलौटका युगलमूर्तिहरू थापिएका छन् । अनन्तनारायण–वत्सलेश्वरीको मन्दिरसँगै सम्पूर्ण रूपमा टेराकोटाबाट बनेको अनन्तनारायणको उभिएको विशाल मूर्ति छ । मल्लकालको यो मूर्ति पाशुपत क्षेत्रको दर्शनीय मूर्तिहरू मध्ये एक हो ।

किरातेश्वर महादेव–पशुपति मन्दिर पारी पट्टी, गौरीघाटको माथि डाँडामा रहेको किरातेश्वर मन्दिर पाशुपत क्षेत्रको अर्को दर्शन गर्नै पर्ने मन्दिर हो। यसको स्थापना किरातकालिन पालामा भएको हो । यहाँ भगवान शंकरले किरातेश्वरको रूप धारण गरेर बसेको हुनाले मन्दिरको नाम किरातेश्वर रहन गएको किंवदन्ती छ ।

गुह्येश्वरी–बागमती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ । सतीदेवीको गुहृय पतन भएको ठाउँमा उत्पन्न भएकी देवी हुनाले गुहृयेश्वरी नाम रहन गएको विश्वास गरिन्छ ।

यो स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरू पूजा–आराधना गरेको विश्वास पनि छ । घटस्थापनादेखि नै गुहृयेश्वरीमा विशेष पूजा आराधना गरिन्छ । यहाँ देवीहरूको कुनै मूर्ति छैन । सतीदेवीको गुह्य पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । त्यहाँ एउटा सानो दुलो मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीका रूपमा पूजा गर्ने गर्दछन् । गुहृयेश्वरीको महिमा नेपाल माहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी व्रतकथा आदिमा बताइएको छ ।

यो शक्तिपीठ पु‍राणमा वर्णित ५१ शक्तिपीठहरू मध्ये एक भएकोले सारा संसारका धर्मालम्बीहरूका लागि विशेष पुजनीय रहेको छ । यहाँ सतीदेवीको योनी पतन भएको किम्बदन्ति छ ।

यस्तै बौद्ध तन्त्रको स्वरूपविहीन स्वरूप वा स्कन्दपुराणको हिमवत्खण्ड ९नेपाल महात्म्यमा०मा तथा भाषा वंशावलीमा, सतीदेवीको गुहृयपतन भएको श्लेष्मान्तक वनमा भगवती गुहृयेश्वरीको उत्पत्ति भएको वर्णन पाइन्छ । परम्पराअनुसार पुराणमा उल्लेखित यस पीठको स्वरूप पहिले जलमग्न रूपमा गुप्त नै थियो पछि प्रताप मल्ल ९ने।सं। ७६२९७९४० का समकालीन तान्त्रिक नरसिंह ठाकुरले गुहृयदेवीको यस स्थानमा दर्शन पाएर पूजा–उपासना गरेको वर्णन पाइन्छ ।

गुहृयेश्वरी भनेको र गुहृया’ शक्तिका नामले चिनिने स्त्री, पुरुष र नपुंसकसमेतबाट वन्दनीय ’काली’ स्वरूपमा यिनलाई ’गुहृय काली’ समेत भनिन्छ ।

प्रयोग भइसकेको कण्डम बटुलेर बिक्रि गर्ने पक्राउ

कतिपय मान्छेहरु यस्ता पनि हुन्छन् कि आफ्नो सानो स्वार्थ पुरा गर्न अरुको पुरै जिन्दगि बर्बाद गर्न समेत पछि हट्दैनन् । जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ ।

यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी प्रानत बिन्ह दुुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो ।

भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार कन्डमले भरिएका यी ब्यागहरुको वजन ३ सय ६० किलो छ । यस गोदामका मालिकका अनुसार उनले अज्ञात व्यक्तिबाट हरेक महिना प्रयोग भइसकेका कन्डमको ब्याग लिने गरेका थिए । प्रहरी छापाका दौरान पक्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों ।

महिलाका अनुसार त्यसपछि यस कण्डमलाई काठको लिङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यों । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों । टिभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति कण्डम फेरि बिक्री भयो भन्ने विषय अहिले खुलेको छैन । महिलाका अनुसार उनले जति किलो कण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों । स्रोतःबिबिसी

स्थानीयका अनुसार होटल र पसलहरुमा यी कण्डमको बिक्री हुने गरेको थियो । जनस्वास्थविद्हरुका अनुसार कण्डमलाई एकपटक प्रयोग गरेपछि तत्कालै नस्ट गर्नुपर्ने हुन्छ ।

१६ वर्षे बालिका हत्या गर्ने पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो । त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।