नवलपरासीको जिल्ला अस्पतालमा पिसीआर मेसिन

नलपरासी । कोभिड–१९ परीक्षणका लागि अन्य जिल्ला स्वाब पठाउनुपर्ने बाध्यता हट्ने भएको छ । नलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा पिसीआर मेसिन आएसँगै स्वाब परीक्षणलाई अन्यत्र जिल्ला पठाउनुपर्ने बाध्यता हट्ने भएको हो । शनिबार मध्यविन्दु जिल्ला अस्पताललाई पिसीआर मेसिन हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण गरिएको मेसिन सञ्चालनमा आउन भने अझै एक महिना लाग्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँ बताए । पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले मेसिन सञ्चालन गरी स्वाब परीक्षण गर्न करिब एक महिना लाग्ने उनले बताए ।

शनिबार सांसद तिलक महतले जिल्ला अस्पतालका व्यवस्थापन समिति अध्यक्ष गोपाल खनाललाई पिसीआर मेसिन हस्तान्तरण गरेका हुन् । सांसद महतको पहलमा स्वास्थ्य मन्त्रालयले जिल्लामा पिसीआर मेसिन पठाएको हो । मेसिनसँगै परीक्षण किट र आवश्यक अन्य स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको छ । करिब रु एक करोड बराबरको मेसिन र सामग्री उपलब्ध भएको सांसद महतले जानकारी दिए ।

सांसद महतले सङ्घीय सरकारबाट पिसीआर मेसिन उपलब्ध भएको भन्दै मेसिन सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र जनशक्तिको छिट्टै व्यवस्थापन हुने बताए। उनले बजेटका लागि कुनै चिन्ता लिनुनपर्ने बताउनुभयो । उनले छिटोभन्दा छिटो काम गर्नसमेत अस्पताल प्रशासनलाई आग्रह गरे । नवलपुरवासीको मागलाई सरकारले सम्बोधन गरेर पिसीआर मेसिन उपलब्ध गराएको भन्दै उनले देशकै नमूना बन्ने गरी काम गर्न अस्पताल प्रशासनलाई आग्रह गरे ।

पिसिआर मेसिनका लागि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्वालिटी परीक्षणलगायत काम गर्नुपर्ने भएकाले आउँदो मङ्सिरदेखि मात्रै मेसिनबाट परीक्षणको काम हुने जिल्ला अस्पतालका कोभिड–१९ फोकल पर्सन डा शिवराज न्यौपानेले बताए । मेसिन सञ्चालनका लागि चारवटा कोठाको आवश्यकता पर्ने उनले बताए । भाइरस बाहिर ननिस्कने गरी सुरक्षित ल्याबको निर्माण गर्नुपर्ने उनले बताए । अहिले दक्ष जनशक्ति पनि अस्पतालमा नभएकाले सबैको व्यवस्थापन गर्न अझै एक महिना लाग्ने उनको भनाइ छ । मेसिन सञ्चालनमा आएर आवश्यक जनशक्ति परिचालन हुनसकेमा दैनिक ४०० वटासम्म स्वाबको परीक्षण गर्न सकिने न्यौपानेले बताए ।

सुर्खेतमा ५१ फिट अग्लो अर्धनारीश्वरको मूर्ति स्थापना

सुर्खेत । सुर्खेतको लाटीकोइलीस्थित शिव मन्दिरमा अर्धनारीश्वरको ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई वर्षअघि लगाइएको महापुराणबाट सङ्कलित रकमले अर्धनारीश्वरको मूर्ति स्थापना गरिएको हो ।

शिव मन्दिर प्राचीनकालमा एउटै ढुङ्गाबाट बनेको पुरातात्विक शैलीको मन्दिर हो । वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले मन्दिरलाई विश्वसामु चिनाउन शिवको २१ फिट तथा पार्वतीको ३० फिट गरी ५१ फिट अग्लो मूर्ति स्थापना गरिएको बताए। उक्त मूर्ति एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधा–आधा शरीर जोडेर निर्माण भएको नेपालकै एकमात्र अग्लो अर्धनारीश्वरको मूर्ति भएको उनको दाबी छ । मूर्ति घटस्थापनाको अवसर पारेर स्थापना गरिएको हो ।

मूर्ति निर्माण तथा स्थापना कार्यमा रु ८९ लाख खर्च भएको बताइएको छ । विसं २०७५ मा लगाइएको महापुराणबाट रु एक करोड सात लाख २९ हजार ९०० सङ्कलन भएको थियो । ४०० वर्ष पुरानो शिव मन्दिरमा कान नसुन्ने र बोल्न नसक्ने व्यक्तिहरुले दर्शन गरे ती समस्याबाट मुक्ति पाउने विश्वास छ ।

सुुरक्षा योजनाअन्तर्गत यात्रु सहायता कक्ष

कास्की । जिल्ला प्रहरी कार्यालयले पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले शनिबार सो सहायता कक्षको उद्घाटन गरे । त्यसैगरी बाग्लुङवसपार्कमा समेत सहायता कक्ष राखिने प्रहरीले जनाएको छ । सहायता कक्षमा एक ट्राफिक प्रहरी तथा एक जनपथ प्रहरीले सेवाग्राहीका गुनासा सुन्ने र समाधान गर्नेछन् ।

आउँदै गरेको विजयादशमी, शुभदीपावली, छठ तथा ईदपर्वलाई लक्ष्य गरी तयार गरिएको ‘चाडपर्व विशेष सुरक्षा योजना’ अन्तर्गत २४सैं घण्टा सेवा प्रवाह गर्ने गरी यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वका बेला सवारी आवागमनमा वृद्धि, ट्राफिक व्यवस्थापन, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सवारी दुर्घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सहायता कक्षको स्थापना गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

त्यसैगरी प्रहरीले स्थलमार्गबाट गण्डकी प्रदेशको राजधानी पोखरा भित्रिने मुख्य नाका छोरेपाटन, मजुवा र जौबारीमा यात्रुसँग एक मिनेट कार्यक्रम’ सञ्चालन गरी गुनासा सुन्ने र कोरोना सचेतनालगायत बारेमा जानकारी गराउन शुरु गरेको छ । विजयादशमीलगायत ठूला चाडपर्वलाई लक्ष्य गरी जिल्लामा सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ ।

गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखरामा सम्भावित चोरी, डकैती, लुटपाट तथा अन्य जघन्य प्रकृतिका घटना हुन नपाउने व्यवस्था मिलाउने तथा यात्रुलाई लठठ्याइ हुनसक्ने लुटपाट, ठगीलाई नियन्त्रण गर्ने उद्देश्यसहित प्रभावकारी सुरक्षा प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताउनुभयो । चाडपर्वका बेला शहर तथा गाउँमा समेत भीडभाड बढ्ने तथा यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा दिन बाध्य बनाउने तथा जनस्वास्थ्यलाई ध्यानमा राखी गुणस्तरहीन, अखाद्य तथा मिसावटयुक्त खाद्यवस्तुको बिक्री वितरणलाई नियन्त्रण गरिने बताइन्छ ।

यस अवधिमा अपराध घट्न सक्ने सम्भावित स्थानको पहिचान गरी प्रहरीको विशेष टोली परिचालन गरिने र धार्मिकस्थलमा कोरोना सङ्क्रमणलाई मध्यनजर गरी अनावश्यक जमघटलाई निरुत्साहित गर्ने गरी कार्ययोजना बनाइएको छ । सुरक्षा कार्ययोजनालाई प्रभावकारी कार्यान्वयनका लागि जिल्लामा ७०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

पहिरोले विद्यालय विस्थापित

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविको भवन भत्किएपछि विद्यालय विस्थापित भएको छ । भूमिगत पहिरोका कारण विद्यालयका भवन भत्किएपछि पठनपाठन सञ्चालन र प्रशासनिक गतिविधि प्रभावित भएको छ । कोरोनाको जोखिमका कारण वैकल्पिक माध्यमबाट सिकाइ क्रियाकलाप सञ्चालन गरिएको थियो ।

भवन भत्किएपछि विद्यालयमा सिकाइ क्रियाकलाप सञ्चालन गर्न नसकिएको प्रधानअध्यापक धु्रवबहादुर भण्डारीले बताए । “भवनको समस्याले विद्यार्थीलाई चार समूह बनाएर टोलटोलमा शिक्षक पुगेर सिकाइ क्रियाकलाप सञ्चालन गरिएको छ”, उनले भने, “विद्यालय खुलीहाल्यो भने भवनमा पठनपाठन गर्न सक्ने अवस्था छैन ।”

गत असार अन्तिम हप्ताको भीषण वर्षाका कारण विद्यालय रहेको ढाडटोलमा जमिन धाँजा फाटेर चिराचिरा परेको थियो । भूमिगत पहिरोले जमिन विस्तारै चिराचिरा पर्ने र धाँजा फाट्ने क्रमसँगै भवन भत्किएको हो । विद्यालयमा भएका २० कोठे कक्षाकोठा भवन र छ शौचालयका भवन भत्किएका छन् । जमिनको सतह नमिलेपछि चिराचिरा परेर पर्खाल भत्किने, छानो खस्ने गरेको छ । कुनै पनि भवन बस्न योग्य छैनन् । ढाँडटोलका करिब ७५ घरधुरी पनि सो पहिरोका कारण जोखिममा परेका छन् । बाहिर नदेखिए पनि भित्रभित्रै जमिन बगेर बस्ती नै बस्नका लागि अयोग्य भएको स्थानीयवासीले बताएका छन् ।

कक्षा १० सम्मको पठनपाठन हुने किसानी माविमा २२५ विद्यार्थी छन् । पुरानो ठाउँको भवन, खेलमैदान पहिरोले छियाछिया बनाएपछि धारापानीकै किमको बोट भन्ने ठाउँमा विद्यालय स्थानान्तरण र भवन पुनःनिर्माणका लागि जग्गा जुटाएको ब्यवस्थापन समितिका अध्यक्ष किरन थापाले बताए । चक्रबहादुर थापा र पूर्णबहादुर थापाले पाँच रोपनी जग्गा विद्यालयलाई निःशुल्क उपलब्ध गराएका छन् । मूल सडकदेखि जग्गामा पुग्ने ठाउँसम्म सहायक सडक पु¥याउन स्थानीय होमबहादुर थापा, रामबहादुर थापा, दानबहादुर थापा, प्रकाश पुर्जा, खिमदल थापा, सूर्य थापा, चन्द्रबहादुर थापा, अर्जुन थापा र राजन थापाले जग्गा दिने घोषणा गरेका छन् ।

चार मिटर फकाकिलो बाटो बनाउन जग्गा दिएका हुन् । गाउँपालिकाले विद्यालय भवन स्थानान्तरण र पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन
(डिपिआर) तयार पारेको जनाएको छ । डिपिआरअनुसार भवन पुनःनिर्माणका लागि आर्थिक स्रोतको खोजी गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

नमूना आवासीय विद्यालयको छात्रावास भवन

समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र धवलागिरि गाउँपालिका–७ शिवाङमा नमूना आवासीय विद्यालय सञ्चालन गर्न छात्रावास भवन निर्माण शुरु भएको छ । भौगोलिकरूपमा विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सुविधासहित अध्ययनको व्यवस्था गराउन सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो ।

अन्नपूर्णको शिख र धवलागिरिको हेम माविमा आवासीय विद्यालय सञ्चालनका लागि प्रदेश सरकार र पालिकाको साझेदारीमा छात्रावास भवन निर्माण शुरु भएको हो । दुईवटै विद्यालयमा गत वर्ष रु ६०÷६० लाख पठाएको सामाजिक विकास मन्त्रालयले यस वर्ष रु दुई÷दुई करोड विनियोजन गरेको छ । प्रदेश सरकारले पठाएको रु ६० लाख र गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख गरी शिख माविको छात्रावास भवन बनाउन रु एक करोड १० लाखको ठेक्का आह्वान भएको थियो । रु ८१ लाख ४० हजार ९७१ मा गत जेठमा सम्झौता गरेको उत्तरगङ्गा निर्माण सेवाले दशकोठे भवनको ढलान गरिसकेको अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वरबहादुर भण्डारीले बताए ।

गत हप्ता पालिकाका जनप्रतिनिधि, प्राविधिक र विद्यालयका प्रतिनिधिको रोहवरमा ठेकेदारले भवन ढलान गरेका थिए । नमूनाको रुपमा ढलानमा प्रयोग भएका सिमेन्ट, बालुवा र गिट्टीको गुणस्तरसमेत परीक्षण गर्न लागिएको इञ्जीनियर भण्डारीले बताए ।

हेम माविको १० कोठे छात्रावास भवन निर्माणका लागि रु एक करोड एक लाख ९० हजार ८८६ मा ठेक्का पाएको माछापुच्छ«े निर्माण सेवाले काम शुरु गरेको धवलागिरि गाउँपालिकाका इञ्जीनियर सोबिन जिसीले बताए । सो भवन निर्माणका लागि रु एक करोड २० लाख ७८ हजार ५२२ लागत अनुमान गरिएको थियो । छात्रावासमा अपायक पर्ने घर टाढा भएका विद्यार्थीलाई खानेबस्ने सुविधाको व्यवस्था हुनेछ ।

यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको रु दुई करोड, गाउँपालिकाको रु ३० लाख र समुदायको रु ३० लाख बजेटमा आवासीय विद्यालयको थप पूर्वाधार निर्माणको तयारी भएको शिख माविका प्रअ केदार कार्कीले बताउनुभयो । कक्षा १२ सम्मको पठनपाठन हुने शिख माविमा हाल १८९ विद्यार्थी छन् । आवासीय सुविधा भएपछि घर टाढा भएका विद्यार्थीलाई सुविधा पुग्नुका साथै कम विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई गाभ्न सकिने प्रअ कार्कीले बताए ।

ग्रामीण कृषि सडक ४ महिनापछि सञ्चालनमा आयो

काठमाडौँ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका ग्रामीण पहाडी भेगमा सडक विस्तार गर्ने क्रम चलिरहेको छ । धेरैजसो बस्तीमा सडक पुगे पनि वर्षात् शुरु भएपछि यहाँ सडक प्रायः बन्द हुने गर्छन् । यसपटक पनि गत असारबाटै यहाँका अधिकांश सडक वर्षासँगै झरेको पहिरोले अवरुद्ध हुनपुग्यो । केही सडकमा अझै सवारी गुड्न सकेका छैनन् ।

गत असारदेखि बन्द रहेको साविकको चण्डीभञ्ज्याङ गाविसको कार्यालय रहेको ढुङ्ग्रे गाउँ जोड्ने वडा नं ६ स्थित जलविरे–चण्डीभञ्ज्याङ ग्रामीण कृषि सडक शनिबारबाट पूर्णरूपमा सञ्चलानमा आएको छ । वर्षाका कारण पहिरो झरेर चार महिनादेखि अवरुद्ध रहेको उक्त सडक करिब तीन हप्ताको प्रयासपछि शनिबारदेखि सञ्चालन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।

लामो समयदेखि उक्त सडक अवरुद्ध हुँदा याकराङ, चनौटे, मस्राङ, ढाला, पाङ्डे, ढुङ्ग्रेलगायत स्थानीयवासीलाई आवतजावत गर्न कठिन भएको थियो । यहाँका बासिन्दाले उब्जाएका तरकारी बजार लैजान नपाउँदा किसान मारमा परेका थिए ।

इच्छाकामना गाउँपालिकाको पहलमा अवरुद्ध भएका कृषि सडक दशैँ अगाडि नै सञ्चालनमा ल्याइएपछि स्थानीयवासीलाई सहज भएको स्थानीय लोक गुरुङले बताए । उनले भने, “वरुद्ध सडक सञ्चालन भएसँगै यहाँका बासिन्दाले उत्पादन गरेका कृषिजन्य वस्तुहरु बजारसम्म लैजान सहज हुने भएको छ, विशेषगरी दशैँमा चामललगायत धेरै सामान पनि बजारबाट गाउँ ल्याउनुपर्ने हुन्छ ।”

गाउँपालिका अध्यक्ष गुरुङले वर्षायाममा अवरुद्ध भएका सबै ग्रामीण सडकको पहिरो पन्छाई यातायात सञ्चालन गराउन गाउँपालिकाले पहल गरिरहेको बताए । अध्यक्ष गुरुङले भने, “गोउँपालिकाका ग्रामीण भेगका सबै अवरुद्ध सडक सञ्चालन गराउनका लागि धमाधम काम भइरहेको छ, दशैँअघि सबै सडकको पहिरो हटाएर यातायात सञ्चालन गरिने छ ।” उनका अनुसार धेरैजसो अवरुद्ध सडकको पहिरो हटाएर यातायात सञ्चालन भइसकेका छन् ।

अवैध लागूऔषध सहित पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका(१४ उदयपुरुवा बस्ने १८ वर्षीय किशोरलाई ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका—६ बाट ४४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पुनर्वास नगरपालिका—४ बस्ने २८ वर्षीय दिनेश भट्ट, बेलौरी नगरपालिका—१ फटैया बस्ने २८ वर्षीय रमेश रावत, सोही नगरपालिका मटैया बस्ने २८ वर्षीय गगन शाही र २७ वर्षीय रोशन शाही रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले से.३ प ८१८४ नम्बर र से.१ प ८५३९ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

जात्रा, मेला गर्न नपाईने

जाजरकोट । कोरोना सङ्क्रमण बढेको भन्दै जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । भेरी नगरपालिका, बारेकोट कार्यपालिकाको बैठकबाट यो निर्णय गरेको हो भने रुकुमपश्चिमले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धार्मिक, परम्परागत र पर्व विशेषका मेलामा रोक लगाएको हो । बारेकोटमा रामीडाँडा, कार्कीज्यूला, सुगुरखाल मेला लाग्ने गर्दछन् । रुकुममा घटस्थापनादेखि धार्मिक र परम्परागत मेला लाग्छन् । ती सबै मेलालाई रोक्न जिल्ला प्रशासनले सूचना जारी गरेको हो ।

सामाजिक दूरी कायम गरी सतर्कता अपनाई धार्मिक कार्य गर्न भने छुट दिइएको रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । “सबैतिर जमघट हुँदा कोरोना फैलने भएपछि सबैको सहमतिमा मेलामा रोक लगाइएको हो”, उनले भने, “चाडपर्व मनाउन पनि निश्चित मापदण्ड बनाएका छौँ ।”

जिल्लामा दशैँदेखि धार्मिक, परम्परागत तथा पर्व विशेषका मेला हप्तैपिच्छे लाग्छन् । डिग्रे साइकुमारी, चौतारा, चिसापानी, बेलटापु, कुनाखेत, शङ्खपिपललगायत मेला जिल्लाका ठूला मेला मानिन्छन् । प्रशासनले सूचना जारी गरेसँगै पाँच दिनसम्म लाग्ने डिग्रेमेला पनि यो वर्ष नलाग्ने भएको हो । मेला भर्न देशका विभिन्न ठाउँका साथै भारतबाट पनि भक्तजन आउँछन् । डिग्रेमेला हरेक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने गर्छ ।

दुप्चेशवर महादेवको दर्शन गरी केही माग्नुस्, मागेको पुग्ने छ (कार्तिक ०२ गते आइतवारको राशिफल)

काठमाडौँ । वि.सं.२०७७ साल कार्तिक ०२ गते । आईतबार । ईश्वी सन् २०२० अक्टोबर १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–द्वितीया,३७ घडी २८ पला,बेलुकी ०९ बजेर १५ मिनेट उप्रान्त तृतीया । नक्षत्र–स्वाती,१६ घडी ३३ पला,दिउसो १२ बजेर ४३ मिनेट उप्रान्त विशाखा । योग–प्रिती,४० घडी ११ पला,बेलुकी १० बजेर १० मिनेट उप्रान्त आयुष्मान । करण– बालव,बिहान १० बजेर १६ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर ०५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २८ घडी २८ पला । शारदीय नवरात्र। चन्द्रोदय।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपूर्ण कामहरु थालनि गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पुराना बिवादित बिषयहरुको फैसला तपाईँकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नयाँ प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । महत्वपूर्ण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ भने पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हँुनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ । व्यापारमा थोरै समय दिएपनि प्रशस्त आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कर्मप्राप्तीका लागि गरिने कुनै पनि पेशा व्यावसायबाट प्रशस्त आम्दानि हुनेछ । राजनिति तथा समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुँदा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा सम्मान प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । नयाँ काम पाउँने तथा आफन्त जनको सहयोगमा नयाँ काम गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । सरकारी काममा सेवा प्रभाव गर्नेहरुले समयमा काम नगर्दिनाले बिभिन्न अवसरबाट बञ्चित हुनु पर्नेछ । माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले केहि समयका लागि टाडिनु पर्ने हुन सक्छ । धार्मिक तथा सामाजिक कार्यमा सहभागि भई समाजको काम गर्ने बाताबरण बनेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

संकट ब्याबस्थापनका लागी चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । तरपनि आफन्तको सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।

आजबाट जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेक सबै सेवा बन्द

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुर बाट प्रवाह हुने अत्यावस्क बाहेकका सबै सेवाहरु आज(कार्तिक २) गतेबाट अनिश्चितकालका लागि स्थगित गरिएको छ । उपत्यकामा संक्रमण दर बढ्दो भएसँगै जिल्ला प्रशासन कार्यलयले यस्तो निर्णय गरेको हो ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भिडभाड अत्याधिक भई संक्रमण सेवाग्राहीमासमेत फैलनसक्ने उच्च जोखिम रहेको भन्दै अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् ।

कोभिड(१९ को संक्रमणले भयावह रुप लिन सक्नेन अवस्थालाई मध्यनजर गरी जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्श एवं निश्कर्षका आधारमा सो निर्णयमा पुगेको बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

थप ४३९२ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ५ सय २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १६५३१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ भने ४ हजार ८ सय ८ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ।

चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा

काठमाडौँ । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् ।

जारी निषेधाज्ञाअनुसार वडादशैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ । चाडपर्व मनाउँदा एकाघरमा बसोवास गर्दै आएका परिवारका सदस्यको बीचमा मात्र मनाउन पाइनेछ । अनावश्यकरूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।

“घरमै बसी पूजाआजा गर्ने, चाडपर्वको अवसर पारेर कुनै पनि राजनीतिक दल, सङ्घसंस्था, क्लब, समूह तथा सञ्जालहरुको भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायत क्रियाकलाप गर्न पाइने छैन ।” प्रमुख जिल्ला अधिकारी महतोले जारी गर्नुभएको निषेधाज्ञामा अवैध मदिरा उत्पादन बिक्री, वितरण तथा उपभोग गर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, होहल्ला गर्ने र तीव्ररुपमा सवारी साधान चलाउने कार्य गरेको पाइए कानूनी कारवाही गरिने उल्लेख गरिएको छ । चाडपर्वका अवसरमा जुवातास र गैरकानूनीरूपमा चिठ्ठा खोल्ने तथा कहीँकतै त्यस्ता क्रियाकलाप भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत भनिएको छ ।

राजमार्ग छेउछाउका खुलारूपमा दूषित खाद्यपदार्थ बिक्री वितरण गर्ने र त्यस्ता स्थानमा राखिएका स्वास्थ्यलाई नकारात्मक असर पर्ने सामान खरिद तथा उपभोग नगर्नसमेत उपभोक्तालाई सुझाव दिइएको छ । पटाका, आतिसबाजीलगायत विष्फोटक पदार्थ ओसारपसार गर्ने, ध्वनि प्रदूषणलगायत कुनै पनि चर्को स्वरमा माइक बजाउने कार्यमा पूर्णरूपमा रोक लगाइएको छ ।

राजमार्गलगायत कुनै पनि स्थानमा सवारी साधन अवरोध गरी चन्दा तथा सहयोग सङ्कलन गर्ने, धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिथोल्ने कार्य गर्नेलाई कानूनी कारवाही गरिने भएको छ ।

१४ सुरक्षाकर्मी मारिए

काठमाडौँ । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् ।

स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो । ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको थियो । तर उनीहरु भने सुरक्षित रहेको जनाइएको छ ।
सैनिकहरु चढेको दुई ओटा सवारी साधन विद्युतीय धरापमा परेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । विस्फोटन पछि सवारी साधन पनि पुरै जलेर नष्ट भएको छ ।
घटनाका बारेमा थाहा पाउनासाथ प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै मृतकका परिवारजन, इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।

सम्झौताप्रति प्रतिबद्ध रहन तालिबानलाई अमेरिकी विशेषदूतको आग्रह

काठमाडौँ । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अमेरिका–तालिबान बीचको सम्झौताको पूर्ण कार्यान्वयनमा प्रतिबद्धता व्यक्ति गर्न तालिबान समूहलाई आग्रह गरेका छन् ।

अफगानिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढेका प्रति चिन्ता व्यक्त गर्दै विशेषदूत खलिलजादले शान्तिप्रतिको अफगानी जनताको भावनालाई सम्मान गर्न आग्रह गरे ।

उनले ट्वीट मार्फत भने, “तालिबान समूहसँग म र जनरल मिलरले धेरै चरणमा प्रत्यक्ष भेटवार्ता र छलफल गरेका छौं । यी बैठकमा अमेरिका–तालिबानबीच भएका सम्झौता र व्यक्त सबै प्रतिबद्धताहरुको कार्यान्वयनमा सहमति भएको छ ।”

उनले अहिले ठूलो संख्यामा अफगानी जनताहरु मारिएको बताउँदै सरकार र तालिबान दुबै पक्षबाट हिंसामा कमी ल्याउन पहल हुने विश्वास व्यक्त गर्नु भएको छ ।

हालै मात्र तालिबान समूहले गरेका आक्रमणप्रति संकेत गर्दै विशेषदूत खलिलजादले हालैका साताहरुमा आक्रमणका घटनामा वृद्धि भएका र त्यसले शान्ति प्रक्रियालाई नै धरापमा पार्न खोजेको बताए ।

उनले भने , “हामी हाम्रा तर्फबाट भूमिका निर्वाह गर्नेछौं र त्यसको कार्यान्वयनको पूर्ण सक्रियताका साथ अनुगमन गर्नेछौं । यस कार्यमा सहयोग गर्ने हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरुलाई निरन्तरको सहयोग र समर्थनका लागि आभार व्यक्त गर्दछौं ।”

तालिबानका प्रवक्ता मोहम्मद नसिमले ट्वीट गर्दै समूहका प्रमुख वार्ताकार मौलबी अब्दुल हकिमले अमेरिकी विशेषदूत खलिलजाद र जनरल मिलरसँग भेटघाट गर्नु भएको बताउनु भएको छ । कतारको दोहामा भएको भेटवार्तामा उहाँहरुबीच शान्ति सम्झौताको कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको प्रवक्ता नसिमले जानकारी दिनु भएको छ ।

नेटो सैन्य प्रमुख जेन्स स्टोल्टेन्बर्गले पनि अमेरिकी विशेषदूतसँग भेटवार्ता गरी अफगानिस्तानको पछिल्लो स्थितिका बारेमा छलफल गरिएको स्टोल्टेन्बर्गले ट्वीट मार्फत जानकारी गराउनु भएको छ ।

उहाँले दोहा वार्ताले शान्ति स्थापनार्थ एउटा उत्कृष्ट मौका सिर्जना गर्ने विश्वास व्यक्त गर्दै तालिबान समूहले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने तथा हिंसात्मक घटनामा कमी ल्याउनु पर्नेमा जोड दिनु भएको छ ।

स्थानीय संचार माध्यमहरुका अनुसार हेल्मान्ड प्रान्तको लस्करगाह र त्यस वरपर विगत छ दिनदेखि तालिबान समूह र सरकारी फौजबीच भिडन्त जारी छ । बुधबार मात्र हेल्मान्डको नवा जिल्लामा प्राविधिक गडबडीका कारण सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा कम्तीमा ९ जनाको ज्यान गएको थियो ।

तालिबान समूहले प्रान्तीय राजधानी र आसपासका क्षेत्रमा संगठित आक्रमण गरेको थियो । अधिकारीहरुका अनुसार सोमबार राति लडाकू बिमानको सहयोग समेत लिएर अफगान कमान्डोले लस्करगाहमा तालिबान लडाकू विरुद्ध कारबाही गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।

हालैका दिनमा जारी भिडन्तका कारण हजारौं व्यक्ति अन्यत्र पलायन भएका छन् ।

कोरोनाका कारण विश्वभरी ११ लाख तीन हजारको मृत्यु

काठमाडौँ । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४३६ पुगेको छ ।
कुल सङ्क्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको तथ्याङ्क छ ।

विश्वभरी अहिलेपनि ८७ लाख छ हजार २२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सङ्क्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् ।

अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना सङ्क्रमित भएका छन् भने दुई लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भारतमा ७३ लाख ७० हजार ४६८ जना सङ्क्रमित हुँदा एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको विवरण छ ।

सङ्क्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको पुष्टि गरिएको कोरोनाभाइरस अहिले फैलिदै विश्वका २१६ देशमा पुगिसकेको छ ।

वाणिज्य बैंकले भोलीदेखि पिओएसको माध्यामबाट भुक्तानी गर्ने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आउँदो दशै एवं तिहार लगायतका पर्वलाई मध्यनजर गर्दै कार्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत पिओएसको माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ । विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि सो सेवा सुरु गरिएको बाणिज्य बैंकले जनाएको छ ।

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पिओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने समेत बैंकले जनाएका छ ।

विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । बैंकको हाल ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेका छन् ।