करेन्ट लागेर दुईको मृत्यु

गजुरी गाउँपालिका–५ बञ्चरेमा धारापानी एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका छन् ।

मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् । घाइतेको उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ ।

बाढीपहिराले तीनको मृत्यु, दुई बेपत्ता

दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिराका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिराले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।

पहिराले घर पुरिँदा दुहुँ गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिराले उनीहरूको पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो ।

यस्तै दुहँु गाउँपालिका–५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । बाढीले घरजग्गासहित पुल, जलविद्युत्, पानीघट्ट र पशुचौपायामा समेत क्षति पु¥याएको छ । यो क्षेत्रमा पाँच पसल, दुई लघु जलविद्युत् आयोजना, चार झोलुङ्गे पुल र एउटा पक्की पुल बगेको स्थानीयले बताएका छन् ।

त्यस्तै वडा नं ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको स्थानीय दिलीपसिंह कार्कीले जानकारी दिनुभयो ।

निजाङगाडकै खोलाले दार्चुला–तिङ्कर सडकको पुल र दुई झोलुङ्गे पुल बगाएको छ । यो क्षेत्रका आधार्दजन घर तथा पसल बगाएको छ । दार्चुला तिङ्कर सडकखण्डको निजाङगाड पुल बग्दा दुहँु र व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ ।

दुहुँ–३ को श्रीवगडमा निजाङगाडले पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दिपक बम, रणबहादुर बम धीरेन्द्र बम र शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका– १ को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जीतबहादुर बमको होटल तथा पसल बगाएको छ ।

यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जपोष्ट भवनको आधा भाग बगाएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय पुगेका छन् । राती २ बजेबाट आएको बाढीले श्रीबगड क्षेत्रमा खेतबारी नोक्सान गरेको छ । वारिपारि जाने बाटो नहुँदा स्थानीयलाई उद्धारमा समस्या भएको छ । अहिले यो क्षेत्रमा तुइन लगाएर भए पनि सामान सार्न सुरक्षाकर्मी परिचालन गरिँदैछ ।

खानेपानीको हाहाकार

निजाङगाड खोलाले खानेपानीको मुहान र पाइप बगाएपछि श्रीबगड क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । वानाला खानेपानी योजनाबाट महाकाली नगरपालिका–१, श्रीबगड र दुहुँ गाउँपालिका–३ श्रीबगडमा खानेपानी ल्याइएको थियो । महाकाली नगरपालिकाको श्रीबगडमा ४० परिवारको बसोबास छ भने दुहुँको श्रीबगडमा १५ परिवार बस्दै आएका छन् । अहिले गाउँमा पानी नभए पनि समस्या भएको स्थानीय मानबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “खाना पाएका छैनौँ । पानी छैन, रातभर जङ्गलमा गएर बास बसेका हौँ ।”

ओलीको उपचारमा सवा करोड सुटुक्क, झलनाथलाई दिँदा सर्वोच्चमा रिट?

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालको उपचार खर्च सरकारले ब्योहोर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले खनाललाई सरकारले गैरकानुनी रुपमा उपचार खर्च दिएको दाबी गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका छन्। रिटमा उनले खनाललाई उपचार खर्च दिने निर्णय कार्यान्वयन नगर्न र कार्यान्वयन भइसकेको भए उक्त पैसा फिर्ता हुने गरी आदेश जारी हुनुपर्ने मागदाबी गरेका छन्।

जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा विदेशमा लाग्ने उपचार खर्च नेपाल सरकारले नब्यहोर्ने उल्लेख भएपनि सरकारले विभिन्न व्यक्तिलाई विदेशमा उपचार गराएको खर्च दिने क्रम नरोकिएको भन्दै यो रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा उल्लेख छ।

पूर्वप्रधानमन्त्री खनाल भारतको एपोलो अस्पतालमा मिर्गौला सम्बन्धी रोगको उपचार गराइरहेका छन्। सरकारले ७ असारमा खनालको सम्पूर्ण उपचार खर्च ब्योहोर्ने निर्णय गरेको थियो। परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयले खनालको उपचार खर्चका लागि ३१ लाख रुपैयाँ निकासा गरिसकेको जनाइएको छ।

२०७६ साउन र भदौ गरी दुईपटक स्वास्थ्योपचारका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर जाँदाका सरकारी निर्णय र खर्च विवरण अनुसार उनको स्वास्थ्योपचारमा मात्रै अमेरिकी डलर ७७ हजार एक सय ३० र ३७ सेन्ट सरकारी कोषबाट खर्च भएको विवरण जनआस्थाले सार्वजनिक गरेको छ । सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलले दिएको बिलका आधारमा नेपाल सरकारले उक्त रकम भुक्तानी गरेको हो ।

सिंगापुर जाने उक्त टोलीका ११ सदस्यको जहाज भाडा, टिएडिए, टिकट क्यान्सिलेशन चार्जसमेत गर्दा १ करोड १६ लाख ३७ हजार ७ सय ६४ अर्थबाट निकासा लिएर परराष्ट्रले भुक्तानी दिएको थियो । उनी ०७६ साउन १८ देखि २७ सम्म सिंगापुरमा रहे । दोस्रोपटक भदौ ५ देखि २० गतेसम्म रहे । ती दुई भ्रमणका लागि मन्त्रिपरिषद्ले अनुमोदन गरेअनुसार एक करोड १६ लाख ३७ हजार सात सय ६४ रुपैयाँ र अर्को पटकको खर्च ८७ लाख ५८ हजार ३ सय ४० मागेको छ । ओलीले सरकारी कोषबाट करोड भन्दा बढी खर्च गर्दा कुनै विवाद नभए पनि पुर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य उपचारको लागि दिएको खर्चको विरुद्धमा भने सर्वोच्चमा रिट परेको छ ।

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

काठमाडौँ । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ ।

गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारीदिनुभयो । “लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो”, उहाँले भन्नुभयो ।

आगामी दशैँसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् ।

आइतबारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पु¥याएको थियो । बाढीले वितण्डा मच्चाएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । “नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौँ, करोडौँ रुपैयाँ लगानी भइसक्यो तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ”, उहाँले भन्नुभयो ।

गत शुुक्रबारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् । अहिले खेतीयोग्य सयौँ रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आज बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुङगे पुलमा १५ क्षति भएको छ ।

रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट

काठमाडौँ । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आउनुभएका उहाँको आज बिहान निधन भएको हो ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उहाँका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उहाँका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत कृति लोकप्रिय छन् ।

विसं १९९३ मा जुम्लामा जन्मनुभएका भएका उहाँ प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँको शव श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । भट्टका श्रीमती र दुई छोरा छन् ।

नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौँ । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिनुभयो ।

अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ । पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेको उहाँले बताउनुभयो । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

मन्त्रिपरिषद्‌ विस्तारको तयारी सत्तारुढ गठबन्धन

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्‍दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक बस्‍न लागेको लागेको हो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चा छन् ।

आजको बैठकमा मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल हुने बताइएको छ । आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस महामन्त्री खड्काबीच भएको छलफलपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।

मन्त्रीको नाम लिएर गय प्रचण्ड र नेपाल बालुवाटारमा, को–को बन्दैछन् त मन्त्री ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

सर्वोच्च अदालतको परमादेशपछि गत असार २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा गठबन्धनकै नेताहरुबाट आलोचना खेपिरहेका छन् । यस्तो अवस्थामा छिट्टै नै मन्त्रिपरिषद विस्तारलाई अगाडी बढाउने योजनामा देउवा छन् ।

आइतबार तीन नेताहरुबीच भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताइएको छ । अहिले सरकारमा माओवादीका तर्फबाट दुई र कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहति तीन मन्त्री मात्र रहेका छन् । स्रोतका अनुसार प्रचण्ड र नेपाल मन्त्रीको नामसहित बालुवाटार पुगेका हुन् ।

एमालेमा रहँदा सरकारमा सहभागी हुने या नहुने विषयमा टुंगो लगाउन नसकेका माधवकुमार नेपाललाई पनि नयाँ दल दल दर्तापछि सरकरमा सहभागी हुने बाटो खुलेको छ । माधवकुमार नेपाल नेतृत्वको पार्टीले ६ मन्त्रालय पाउने पक्का भएको छ ।

देउवा नेतृत्वको सरकारमा नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठको नाम चर्चामा रहेको छ ।

बागलुङका देवेन्द्र पौडेल मन्त्री बन्ने लगगभ निश्चित जस्तै भएको बताइन्छ । त्यस बाहेक प्रदेश १ बाट सुदन किराती र र सुरेश राई(हिमाल)मध्ये एक जना मन्त्री बन्नेछन् । त्यस्तै प्रचण्डले बिना मगरलाई पनि फेरी मन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

ओलि कै गाउँमा एकैदिनमा दुइवटा समाजवादीको चुनौती दिने कमिटी गठन, प्रभावशाली नेताहरू कमिटीमा

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिँदै नेकपा एकिकृत समाजवादी पार्टीले ओलीकै गृह नगरमा एकैदिन दुई कमिटि गठन गरेको छ । झापाको दमकमा समाजवादीले पुष्पालाल मित्रता र अखिल फोर्सको कमिटि गठन गरेको हो ।

नेकपा एकिकृत समाजवादी झापा, दमक नगर समितिले ओली पक्षलाई चुनौति दिएको उद्घाष सहित संगठन विस्तारलाई तिव्रता दिने क्रममा यी दुई संगठन घोषणा गरेको हो । ओलीको अहंकार र तानासाही प्रवृतिका कारण आफूहरुले नयाँ दल दर्ता गराउनु परेको कमिटीका नेताहरुले बताएका छन् ।

दमकमा पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स दमक नगर कमिटी एकैसाथ गठन गरिएको छ । पुष्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणि भण्डारीको अध्यक्षता र प्रदेश १ का उपाध्यक्ष तथा दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्र बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा शनिवार यहाँ एक कार्यक्रम गरि एकैसाथ ती कमिटी गठन गरिएको हो ।

२५ सदस्यीय गठित पुष्पलाल मित्रता केन्द्र दमकको अध्यक्षमा महेश घिमिरे ,उपाध्यक्षद्धयमा बिराटजंघ जबेगु (लिम्बु), हमला प्रसाई, सचिवमा सुमन कार्की, सहसचिवमा अनिलदेब राई र कोषाध्यक्षमा प्रेम भुजेल चुनिएका छन् । यस्तै, सदस्यहरुमा चन्द्र थापा, सौरभ भट्टराई, नरेश भण्डारी, युबराज दुलाल, कमल नेउपाने ,ललित माझी ,किरण भट्टराई , मदन गुरुङ ,खगेन्द्र नेपाल ,उमेश चौलागाईं ,प्रबल भण्डारी , डम्बर आङदेम्बे ,खगेन्द्र कार्की ,जुलन गजमेर (उमेश) , कल्पना श्रेष्ठ ,मन कुमार दर्नाल ,राजु भट्टराई , देबिमाया श्रेष्ठ (धिमाल) र रोशन भण्डारी चुनिएका छन् ।

यसैगरि केन्द्र प्रसाईको संयोजकत्वमा १८ सदस्यीय एक सल्लाहकार कमिटी समेत गठन गरिएको छ । गठित सल्लाहकार कमिटीको सदस्यहरुमा शान्ति राम आचार्य, हरि नेपाल, भिम दाहाल ,टीका प्रसाई,जीवन सेढाई , मदन ढकाल, चैतन्य लामिछाने (निर्मल), मदन पौडेल , तिर्थ नेपाल , तिर्थ नारायण श्रेष्ठ ,लालबहादुर श्रेष्ठ , कमल कटुवाल , लक्ष्मी खनाल , शशि पौडेल , नारायण प्रसाई, बिष्णु नेउपाने र चित्र ढकाल रहेका छन् ।

चाम्लिङ राईको अध्यक्षतामा अखिल फोर्स
सोहि अवसरमा रतन चाम्लिङ राईको अध्यक्षतामा २१ सदस्यीय अखिल फोर्स नगर कमिटी गठन गरिएको छ । गठित कमिटीको उपाध्यक्षमा सावन ढकाल ,सचिवमा अभिसेक घिमिरे ,सहसचिवद्धयमा दिपक भट्टराई ,मन्जुल भट्टराई र कोषाध्यक्षमा शिब कुलुङ चुनिए भने सदस्यहरुमा आयुसमान पोख्रेल,रबिन अधिकारी ,सुजन भण्डारी ,मदन बिश्वकर्मा,मनिप धिमाल,शुनिल निरौला, एन्जिल खरेल,हेमराज मगर, महोमद अली, सनम राई, मुकेश खत्री , सजल आचार्य , अशोक राई, सुशान राई चुनिएका छन् ।

उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजबादी) झापाका नेता निलमणि बराल र अखिल फोर्सका केन्द्रीय सहसंयोजक रोशन भण्डारी, केन्द्रीय सदस्य मदन गुरुङ लगायतको समेत उपस्थिति रहेको थियो ।

२०७८ भदौ १४ गते प्रकाशित

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस क्यासब्याक योजना अन्तर्गत भाद्र २१ र कुशे औँशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा “GIFT TO FATHER” लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ३०० सम्म) क्यासब्याक पाइनेछ ।

यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट÷क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ ।
क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आइएमई बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी POS/ECOM मार्फत रु ३,००० वा सो भन्दा बढिको भुक्तानीमा रु ३०० क्यासब्याक पाउनेछन् ।

महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गते सम्म चल्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रालयमा स्वागत

काठमाडौँ । नवनियुक्त सचिवहरुलाई अर्थमन्त्रालयमा स्वागत गरिएको छ ।
आइतवार आयोजित स्वागत समारोहमा अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकको जिम्मेवारी पाउनुभएका सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् ।

यो सँगै अर्थमन्त्रालयमा उच्च पदस्थ अधिकारीहरुको नयाँ टीमले पूर्णता पाएको छ । नवनियुक्त सचिवहरुलाई स्वागत गर्दै मन्त्री शर्माले मन्त्रालय अन्तरगतका तीन जना सचिवहरुको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिए ।

वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समूचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवहरुबाट आ–आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास उनले व्यक्त गरे । त्यस क्रममा मन्त्री शर्माले यसअघि आफूले राजश्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आफूले माग गरेका योजनाहरु यथाशक्य चाँडो पेश गर्न समेत निर्देशन गए ।

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरुमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरुले काम गरेको ठहर्ने भएकोले सोही अनुसार खटिनुपर्नेमा जोड दिए । उनले राजश्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको भिजन अनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरुमा रहेको बताए ।

स्वागत कार्यक्रममा नवनियुक्त राजश्व सचिव कृष्णहरि पुष्कर कर्णले व्यूरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरुले समेत स्वामित्व महसुस गर्ने गरी काम गर्ने गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजश्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गरिने बताए ।

नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिवद्धता जनाए । उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महत्वपूर्ण रहेकोमा जोड दिँदै त्यसको लागि आफ्नो तर्फबाट सक्दो योगदान हुने विश्वास दिलाए ।

२०७८ भदौ १४ गते प्रकाशित

वर्षाले सडक अवरुद्ध

अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग तथा जिल्लाका विभिन्न ग्रामीण सडक बन्द छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा खण्डको तिनाउ गाउँपालिका–३ सिद्धबाबा, सिसुवा, तिनाउ–५ हिउँदेखोला, केराबारी, जरेपीपल क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

यस्तै तानसेन नगरपालिका–७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, सेरा र रम्भा गाउँपालिका–३ सीतापहाडमा पहिरो खसेको छ । त्यस्तै तानसेन–रिडी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सडक अवरुद्ध भएको छ । लगातार पानी परिरहेकाले सडक खुलाउन समस्या परेको छ । अवरुद्ध बनेका सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको ड्राईभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतिय सवारी कर्जा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस–ड्राईभ उत्सव योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा लगायतका बिभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ ।

साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।

२०७८ भदौ ९ गते प्रकाशित

४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराइने

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय रु एक लाखका दरले रु ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् । “उक्त कार्यका लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आह्वान गरेका थियौँ, विद्यालयले पेश गरेको प्रस्तावका आधारमा सबै विद्यालयलाई रु एक लाखका दरले उपलब्ध गराउने निर्णय भएको छ”, श्रेष्ठले भन्नुभयो ।

नगरपालिकाले यही भदौ १३ गतेदेखि प्रत्यक्ष कक्षा सञ्चालन गर्ने गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ बमोजिम जोखिम क्षेत्रको विश्लेषण गरी लकडाउन गर्ने र विद्यालयमा सकभर अनलाइन कक्षा सञ्चालन हुन नसकेमा २५ जनाभन्दा बढी कक्षामा नरहने गरी विद्यालय खुलाउने तयारी गरिएको हो ।

“सकेसम्म अनलाइन नै सञ्चालन गर्ने हो, तर अनलाइन कक्षा सञ्चालन हुन नसक्ने विद्यालयका हकमा २५ जना विद्यार्थी राखेर पठनपाठन शुरु गराउन समितिमा सिफारिस गरिएको छ”, श्रेष्ठले भन्नुभयो । बैठकले नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण बेरोजगार महिलालाई उद्यमशीलता अनुदान उपलब्ध गराउन भदौ महिनाभित्र वडाको सिफारिससहित प्रस्ताव पेश गर्न आह्वान गरेको छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ । वडा नं ६, १०, ११, १३ र १४ मा उक्त कार्यक्रम सञ्चालन गरिनेछ ।

बैठकले नगरपालिकाभित्र विपद्बाट असर पुगेका खेत, कुलो, घरलगायतका विषयमा प्राप्त वडागत प्रतिवेदनमाथि छलफल गरी वडाको सिफारिसमा विपद्बाट असर पुगेका लाभग्राहीलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् । उनको खोजीका लागि ठूलो सङ्ख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ । गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताएका छन्।