नेप्सेमा पहिरो: बजार पूँजीकरण पनि घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ ।

लगातार ओरालो लाग्दै गएको नेप्सेमा आज देखिएको गिरावट पनि उच्च अङ्कको हो । लगातार ओरालो लाग्दै गएको नेप्सेमा आज पहिरो गएको छ ।

झण्डै तीन हजार ३०० को बिन्दु नजिक पुगेको नेप्से परिसूचक आजसम्म आइपुग्दा ओरालो लागेर दुई हजार ६१५.४० मा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेनसेटिभ परिसूचक ११.४२ अङ्कले घटेर ४९४.९१ मा ओर्लिएको छ । नप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ ।

कूल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर रु पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत घटेर रु ३६ खर्ब ६१ अर्ब चार करोड ९८ लाख ७० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३६.०३, व्यापार ७९.३९, होटल तथा पर्यटन २४.३१, विकास बैंक १५४.४१, जलविद्युत् १३८.४५, वित्त १७५.५९, निर्जीवन बीमा ३२५.५६, उत्पादन ८९.२३, अन्य ३१.१३, लघुवित्त १११.९९, जीवन बीमा ४३१.९१, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.५२ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १८ करोड ८२ लाख २७ हजार २९६ बराबरको कारोबार भयो ।

यस्तै, हिमालयन डिस्टिलरी रु १७ करोड ३८ लाख ४८ हजार ९८९, नेशनल हाइड्रोपावर रु १५ करोड ४८ लाख ७८ हजार ४५०, आइसिएफसी फाइनान्स रु १५ करोड ३७ लाख २७ हजार र एनआइसी एशिया बैंकको रु १४ करोड ५४ लाख ७१ हजार ११४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

त्यस्तै, घटेको बजारमा मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो । मेघा बैंक १.९७, बोटलर्स नेपाल तराई १.४२ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले मात्रै १.३० प्रतिशतले कमाए ।

उता, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स र गुर्खाज फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लाग्यो । जोशी हाइड्रोपावर ९.८८ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ९.८२ प्रतिशतले गुमाए ।

तनाव र विषमपूर्ण परिस्थितिले गाँजेको विश्वलाई परास्त गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन : नेपाल

नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ ।

‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालले जातीय बहुलसमाजहरूमा द्वन्द्वका जोखिम एवं तनाव अन्त्य गर्ने उत्तम औषधि लोकतन्त्र र वहुपक्षवाद भएका बताएको हो ।

बहुपक्षवादको अपरिहार्यतामा नेपालको अटल विश्वास रहेको र त्यसको केन्द्रमा संयुक्त राष्ट्रसङ्घ रहेको बताउँदै परराष्ट्रमन्त्री डा नारायण खड्काले विश्वमा समझदारी र सहयोग बढाउन, विश्ववासीको साझा भविष्य सुनिश्चित गर्न तथा साझा हित प्रवद्र्धन बहुपक्षवादबाटै हुने धारणा व्यक्त गर्नुभयो ।

सङ्कटलाई अवसरमा, निराशालाई आशामा र जोखिमलाई प्रतिकारमा रुपान्तरण गर्नुपर्ने बेला आएको बताउँदै उहाँले सहयोग, एकता र आपसी विश्वासको धरातलमा सुदृढ, समावेशी र परस्पर सम्बद्ध बहुपक्षीय प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

“हामीले सेवा गर्ने जनता र बस्ने पृथ्वीका लागि हामीले हाम्रो कर्तव्य गर्नैपर्छ”, नयाँ शिराबाट विश्वका नेताहरूले यो धर्ती र यसका बासिन्दाका खातिर आफ्नो कर्तव्यबाट विमुख नभई काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री खड्काले भन्नुभयो ।

नेपालको विश्वदर्शन ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ सिद्धान्तअनुसार बनेको, राष्ट्रसङ्घको वडापत्रका उद्देश्य र सिद्धात, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नै नेपालको परराष्ट्र नीतिका आधार भएका उहाँले बताउनुभयो ।

त्रिसट्ठी वर्षभन्दा लामो समयदेखि नेपालले शान्ति, सुरक्षा र स्थिरतालाई बढावा दिन संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाको कार्यमा निरन्तर योगदान दिइरहेको तथा सबैभन्दा ठूलो सङ्ख्यामा सेना योगदान गर्ने देशहरुमध्येको नेपाललगायत देशलाई राष्ट्रसङ्घीय प्रधानकार्यालय र कार्यक्षेत्रमा उच्च तहमा समावेश गराउनुपर्ने नेपालको पुरानो माग उहाँले अघि सार्नुभयो ।

“अल्पविकसित एवं भूपरिवेष्टित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय छन् । सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने हाम्रो योजनालाई अवसरका रुपमा लिएर त्यसनिम्ति संरचनात्मक रुपान्तरण गर्न तथा लामो समयदेखिको त्यो राष्ट्रिय आकाङ्क्षालाई सहज, दिगो र अपरिवर्तनीय बनाउन प्रतिबद्ध छौँ”, परराष्ट्रमन्त्रीले भन्नुभयो ।

हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगण्य हिस्सा रहे पनि जलवायु परिवर्तनको चपेटामा आफ्नो मुलुक पनि परेको वास्तविकता सुनाउँदै उहाँले सन् २०३० सम्ममा उत्थानशील जलवायु विकास पथ र सन् २०५० सम्ममा शून्य उत्सर्जनका लागि नेपालको प्रतिबद्धता दोहो¥याउनुभयो ।

अल्पविकसित र भूपरिवेष्टित विकासशील देशहरूलाई भूमण्डलीकरणबाट लाभान्वित गराउन उनीहरूका संरचनात्मक अवरोध हटाउँदै भरपर्दो र दिगो वित्तीय सहायता, साझेदारी र प्रविधि हस्तान्तरण आवश्यक भएको बताउँदै उहाँले जारी सङ्कटलाई बहाना बनाएर बाह्य विकास सहायताको प्रतिबद्धताबाट पछि हट्न नहुनेमा जोड दिनुभयो ।

विश्व व्यापार सङ्गठन विधिमा आधारित अन्तर्राष्ट्रिय व्यापार सङ्गठनमात्र नभएर विकासशील देशहरुलाई अन्तर्राष्ट्रियतहबाटै व्यापारका निम्ति अधिक सहयोगका साथै प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमा सहायता गर्ने निकाय हुनुपर्ने तर्क मन्त्री खड्काले गर्नुभयो ।

आप्रवासन समस्या जटिल बन्दै गएको सन्दर्भ सुनउँदै उहाँले “हामी सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि ‘ग्लोबल कम्प्याक्ट’को प्रभावकारी कार्यान्वयन आह्वान गर्दछौँ र आप्रवासी कामदारहरूको सुरक्षा र हितका निम्ति अझ बलियो अन्तर्राष्ट्रिय व्यवस्थामा जोड दिन्छौँ”, भन्नुभयोे ।

अतिकम आय भएका देशहरूमा खोप असमानताको गहिरो प्रतिकूल सामाजिक–आर्थिक प्रभाव परेको, खोपलाई जनताको जीवनको हितका लागि सार्वजनिक सामग्रीका रुपमा घोषणा गरिनुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्रीले सङकटको समयमा आशालाई पुनर्जागृत गर्न जरुरी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिड–१९ बाट उत्पन्न चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसहित संयुक्त राष्ट्रसङ्घीय प्रणालीलगायत र सबैलाई, सबै ठाउँमा खोपको न्यायोचित र न्यायोचित पहुँच सुनिश्चित गर्न भएका प्रयासहरूको नेपाल सराहना गर्दछ ।”

मानव जीवन पहिलो प्राथमिकता हुनुपर्ने, कोभिड–१९ खोप प्राप्ति र पहुँचका बाधा र चुनौतीलाई चिर्दै नेपालले आफ्नो कूल जनसङ्ख्याको झण्डै २० प्रतिशतमा खोप लगाउन सफल भएको जानकारी दिँदै उहाँले आतङ्कवादका सबै रूप र प्रकटिकरणको निन्दा गर्नुभयो । उहाँले समयबद्ध ढङ्गले आम विनाशका सबै हतियारको पूर्ण निःशस्त्रीकरणको आह्वान पनि गर्नुभयो ।

परराष्ट्रमन्त्रीले अफगानिस्तान, म्यान्मा, लिबिया, सिरिया, यमन र मध्यपूर्वको स्थितिबारे चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा, र स्थिरताका साथै जनताको मौलिक अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभयो ।

मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा जोड दिँदै मन्त्री खड्काले महामारीका कारण दिगो विकासका लक्ष्य हासिल नेपालको प्रयासमा जटिलता थपिएको यथार्थ पनि सुनाउनुभयो ।

उत्थानशील पुनःप्राप्तिका निम्ति प्रयास भइरहेको र अझ असल एवं सबल निर्माणमा अग्रसर हुँदै दिगो विकासका लक्ष्य प्राप्ति नै नेपालको एकमात्र उद्देश्य भएको उहाँले बताउनुभयो ।

परिवार दल पिसफोर्स बिशेष भेला काठमाडौँमा सम्पन्न

काठमाडौं-परिवार दल पिसफोर्स बिशेष भेला काठमाडौँमा सम्पन्न भएको छ ।

तेस्रो राष्ट्रिय महाधिबेशनको संघारमा रहेको नेपाल परिवार दलको भातृ संगठन पिस फोर्सको बिशेष भेला काठमाडौँमा सम्पन्न भएको हो ।

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले १०१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको छ ।

रामेछापका रबिन्द्र चौलागाईं अध्यक्ष रहेका पिस फोर्समा बरिष्ट उपाध्यक्ष योगेन्द्र वाग्ले (गोर्खा), उपाध्यक्ष दिपेन्द्र साह (धनुषा), रोशनी खनाल (रूपन्देही) महासचिव नोइन्द्र खतिवडा (सर्लाही), सचिव राम कुमार मैनाली (रामेछाप), कोषाध्यक्ष सरिता पौडेल (झापा), लगायत १०१ जनाको केन्द्रिय कार्य समितिको घोषणा गरेको छ ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परिबर्तनका उपलब्धिहरु संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण युवाशक्ति एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो ।

नेता ढकालले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने उल्लेख गर्नु भयो ।

परिवार दल पिसफोर्स बिशेष भेला काठमाडौँमा सम्पन्न भएको भेलामा संबिधान सभाका सभासद समेत रहेका ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने हुँदा सबै नागरिकलाई समयमै निशुल्क खोप प्राकृतिक बिपत्ति पिडितलाई तुरुन्त उचित राहत, नेपालको हित केन्द्रित आर्थिक कुटनीति तथा युवाहरुलाई रोजगारीको ग्यारेन्टी जस्ता बिषयहरुमा सर्बपक्षीय सहमति गरेर राष्ट्रिय ध्यान केन्द्रित गर्नु आवस्यक रहेको बताए ।

देशमा पर्ने आर्थिक भारलाई ध्यान दिँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन संगै सम्पन्न गर्न पनि देशका प्रमुख राजनैतिक दलहरुबीच समझदारी आवश्यक रहेको बताउँदै कोभिड–१९ को महामारीले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिए ।

अध्यक्ष ढकालले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न र संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने ठहर नेपाल परिवार दलको रहेको पनि बताउनु भयो ।

नेता ढकालले युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ ढकालले भने, ‘युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’

युवायुवतीहरुलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेकोे बताए ।

ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए ।

ढकालले युवाहरुलाई पिस फोर्स अंकित टोपी पनि वितरण गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २० जना युवाहरु परिवार दलमा प्रवेश पनि गरेका थिए ।

कार्यक्रममा बोल्दै दलका प्रवक्ता सन्तोषकुमार पौडेलले आजका युवाहरुले नयाँनयाँ परिवर्तन चाहने गरेको बताए ।

पौडेलले जोश–जाँगरको घडा, अरुका लागि बाँच्न सक्ने, नैतिकवान र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ रहेको बताए ।

महिला सशक्तिकरण र सम्पूर्ण बर्ग र क्षेत्र, जाती र समुदायको सबै क्षेत्रमा समानुपातिक सहभागीता तथा प्रतिनिधि गराउनु पर्ने कुरामा जोड दिनु पर्ने कुरा कार्यक्रममा संविधानसभाकी सभासद माननीय मिलन कुमारी राजवंशीले जनाउनुभयो ।

दलका केन्द्रीय सदस्य मनोज कुमार सुर्खेतीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।

सो दलका बागमती प्रदेश संयोजक गणेश कुमार श्रेष्ठले जनताले दूई तिहाई मत दिदा पनि देशले स्थीर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै परिवार दलले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको पक्षधर शक्तिहरुसंग सहकार्य गरेर उक्त एजेन्डालाई स्थापित गर्नु पर्ने धारणा राखेका थिए ।

पिस फोर्सका अध्यक्ष रबिन्द्र चौलागाईले पार्टीले दिने जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न पिस फोर्स तयार रहेको बताउदै आगामी निर्वाचनमा नेपाल परिवार दलको प्रतिनिधित्व स्थानीय तह देखि संघिय संसद सम्म सुनिश्चित गरिने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा शान्ति, संवाद र पारस्पारिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउन शान्ति बल नेपालले भूमिका खेल्ने कुरा महासचिव नोइन्द्र खतिवडाले स्वागत मन्तव्यको क्रममा धारणा व्यक्त गर्नु भएको थियो ।

पिस फोर्सको नारामा सेवा, रुपान्तरण र युवा नेतृत्व उल्लेख छ । परिवार दलले पछिल्लो समय देशभरी आफ्नो संगठन बिस्तार तथा कार्यक्रमलाई तिब्रता दिएको छ ।

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीका होटलमा अफर

कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् ।

आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास र खानामा विभिन्न छुटको व्यवस्था गरेको लुम्बिनी होटल एशोसिएशनले जानकारी दिएका छन् ।

होटल एशोसिएशनले छुट अफर सार्वजनिक गर्दै पर्यटकलाई लुम्बिनी आउन निमन्त्रणा गरेका छन् ।

कोभिडका कारण कमजोर अवस्थामा पुगेको व्यापारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर गरिएको हो ।

ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ ।

लुम्बिनी होटल एशोसियशनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिएका छन् । उनले भने “लुम्बिनी घुम्न आउने पर्यटकका लागि यो अफर सार्वजनिक गरिएको हो ।”

अध्यक्ष श्रेष्ठको भनाई अनुसार होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्नुे बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्नेमा विश्वास छ ।

यो अफरपछि लुम्बिनीमा केही पर्यटक आउने क्रम पनि जारी रहेको देखिन्छ ।

महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीले बताउने गरेका छन् ।

लुम्बिनी क्षेत्रका साथसाथै भैरहवा क्षेत्रका होटलले पनि भारी अफरको व्यवस्था गरेको सिद्धार्थ होटल एशोएियशनले जानकारी दिएको छ ।

चाडपर्व लक्षित दशैँ–तिहारलाई मध्यनजर गरेर घुम्न आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरिएको होटल एशोसिएशनले जनाएको छ ।

सिद्धार्थ होटल एशोएिशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आवास २५ देखि ५० प्रतिशतसम्म छुट र खानामा समेत परिकार हेरेर छुटको व्यवस्था गरेको राससलाई बताएका छन् ।

पर्यटक तथा व्यापारी र स्थानीय कार्यक्रमलाई मध्यनजर गरेर गरिएको अफरमा अवस्था हेरेर विशेष छुट होटलले गरेका छन् ।

अध्यक्ष श्रेष्ठले भने, “पर्यटन व्यवसायलाई जीवित राख्नका लागि सरकारले पनि सहुलियतमा विद्युत् तथा बैंक ब्याजमा सहयोग पु¥याउनु पर्दछ ।

सीमानाका बन्दका कारण भारतीय तथा तेस्रो मुलुकबाट पर्यटक आउन छाडेपछि आन्तरिक पर्यटकलाई मध्यनजर गरेर अफरका कार्यक्रम ल्याएको हो ।”

नेपाल–भारत सीमानाका बन्द हुँदा यस क्षेत्रमा सबैभन्दा बढी मार पर्यटन व्यवसायी परेका छन् ।

दैनिक सयौँ भारतीय ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेका छन् । तर पर्यटकलाई भने नेपालमा प्रवेश निषेध गरिएको छ ।

यसले गर्दा व्यवसायी मारमा परेको पर्यटन व्यवसायीको गुनासो रहेको छ ।

बाह्य पर्यटक मात्र नभएर आन्तरिक पर्यटकसमेत लुम्बिनी क्षेत्रमा आउँदा सुरक्षाकर्मीबाट सोधपुछ र जाँच गर्दासमेत पर्यटन व्यवसायीलाई समस्या परेको देखिन्छ ।

यसलाई मध्यनजर गरेर कोभिडविरुद्ध खोप लगाएका तथा पिसिआर जाँच गरेका पर्यटकलाई होटलमा आवतजावत व्यवस्था गर्ने होटल व्यवसायीले बताएका छन् ।

व्यवसायीले लुम्बिनी क्षेत्र पर्यटकलाई घुम्नका लागि समेत कुनै बाधा नपु¥याउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

दुर्घटनामा आमा–छोराको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिएका छन् ।

उनको भनाई अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । “घटनाको विस्तृत अनुसन्धान हुँदैछ”, प्रहरी निरीक्षक रिजालले भनेका छन् ।

मुख्यमन्त्री शाक्यद्वारा बागमती प्रदेश ‘साक्षर प्रदेश’ घोषणा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी छन् ।

उनले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन्।

उनले भनिन्, साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्छ । प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर फैलाउनुपर्छ ।’

उनले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी दिनमा भने स्थानीय तह, जिल्ला समन्वय समिति समन्वय गरी प्रदेशलाई पूर्ण रुपमा साक्षर बनाउने बताइन् ।

उनले विगतमा बेलुकाको समयमा मात्र प्रौढकक्षा पढ्नुपर्ने महिलाको बाध्यता भए पनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने बताइन् ।

जिल्लास्तरका सबै निकाय साक्षर अभियानमा लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाक्यले घोषणाको काम सकिए पनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने उल्लेख गरे ।

प्रदेशका १५ देखि ६० वर्षबीचका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भइसकेकाले एउटा सन्देश प्रवाह गर्न बागमतीलाई साक्षर प्रदेश घोषणा गरिएको प्रदेश शिक्षा निर्देशनालय बागमती प्रदेश हेटौँडाका निर्देशन चन्द्रप्रसाद लुइँटेलले जानकारी दिए ।

उनका अनुसार अब भने १५ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकहरूलाई पनि साक्षर बनाउने कार्यलाई तीव्रताका साथ पहल गरिनेछ ।

प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, सचिव, मन्त्रालय र निर्देशनालयका कर्मचारीलगायतको सहभागिता थियो ।

अध्यक्ष गोल्छा र आइएलओ नेपाल कार्यालयका निर्देशक हवार्डबीच भेटवार्ता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासंग अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले आज महासंघको सचिवालय टेकूमा भेट भएको छ ।

भेटका अवसरमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भयो ।

उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने बिषयमा चर्चा भयो ।

छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइशोलेशन लगायतका सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरे ।

साथै उहांले महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिवद्ध रहेको र सामाजिक सुरक्षाको कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड यूनियनसंग छलफल गर्न तयार रहेको बताए ।

आइएमई पेको दसैँ अफर, हवाई टिकट खरिदमा ५०% क्यासव्याक

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पेको दसैँको झट्का स्कीम सार्वजनिक गरिएको छ ।

अफर असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ ।

यस स्किम अन्तर्गत तपाइँको आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको छ ।

क्यासव्याकको सीमा रु. २००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध हुनेछ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई प’े को भुक्तानी सेवासंगै तीन दिनको लागि ५०% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैंै यो स्किममा पनि नियम र सर्तहरु लागु हुनेछन ।

सबै प्रयोगकर्ताहरु आइएमई पे को माध्यम बाट हवाई टिकट खरिद मा फ्लैश बिक्री क्यासब्याक को लागि योग्य छन् ।

आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नुहुनेछ ।

यो स्किममा आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन् ।

‘आइएमई पे’ को बारेमा:

‘आइएमई पे ’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो ।

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर (QR) मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ ।

विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।

पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘ आइएमई पे ’ डाउनलोड गरि आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार संजाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई बिद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।

एकीकृत समाजवादी रामेछापको अध्यक्षमा बस्नेत चयन

रामेछाप । नेकपा (एकीकृत समाजवादी) रामेछापको अध्यक्षमा रमेश बस्नेत चयन भएका छन् ।

पार्टीको असोज ९ गते मन्थलीमा आयोजित भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

बस्नेत मन्थली नगरपालिकाका मेयर समेत हुन् ।

जिल्ला पार्टी कार्यालयसमेत उद्घाटन गरिएको उक्त भेलामा प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने तथा विशेष अतिथि नेकपा एसका स्थायी कमिटी सदस्य सावित्री भुसाल सहभागी रहेका थिए ।

त्यसैगरी भेलामा अतिथिको रुपमा पोलिटव्युरो सदस्य देवशंकर पौडेल, केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) उपस्थित रहेका थिए ।

कार्यक्रम लालसिंह घिसिङको अध्यक्षता र गणेशबाबु खड्काको सञ्चालनमा सम्पन्न भएको हो।

भेलाले रमेशकुमार बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षहरुमा धन योञ्जन र रामबहादुर बुढाथोकी चयन हुनुभएको छ भने युवा नेता लालसिं घिसिङ सचिवमा चयन भएका हुन् ।

भेलाले ८ जनालाई उपसचिवमा चयन गरेको छ ।

उपसचिव हुनेहरुमा गणेशबाबु खड्का, तीर्थलाल श्रेष्ठ, दीपक बुढाथोकी, संगम खड्का, विनोद श्रेष्ठ, प्रकाश कार्की, किरण मोक्तान र किरण कार्की रहेका छन् ।

भेलामा रामेछापका ६४ वटै वडाबाट उपस्थिति रहेको सचिव लालसिंह घिसिङले बताए ।

उनले पार्टीलाई नयाँ ढंगबाट जनताको माझमा स्थापित गर्ने उद्देश्य अनुरुप कार्यक्रममा जनता, कार्यकर्ता र नेताहरु सबैको भूमिका समान रहनेगरी माला र खादाजस्ता आर्थिक व्यवभार हुने कुराहरुको प्रयोग समेत नगरिएको बताए ।

घिसिङले कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति मात्रै मञ्चमा बसेर नेकपा एसले जनता, कार्यकर्ता र नेता समान छन् भन्ने सन्देश दिएको र नेकपा एसले अब यही अनुसार पार्टीलाई जनताको बीचमा लैजाने र पार्टी र जनताको सम्बन्ध माछा र पानी जस्तै हुनेगरी आफूहरु अगाडि बढ्ने बताए ।

यता भेलामार्फत निर्वाचित अध्यक्ष बस्नेतले समाजवादी समाज निर्माण गर्ने नेकपा एसको योजना अनुसार आफूहरु अगाडि बढ्ने बताए ।

उनले पार्टीको बैठक बसेर आगामी कार्यक्रम तय गर्ने भन्दै समाजवादी समाज निर्माणमा नेकपा एसले नेपालको इतिहासमै कोसेढुंगा सावित गर्ने बताए ।

यसअघिका पार्टीहरुले जनताको कुरा गर्ने तर जनताका सरोकारका कुनै पनि समस्या समाधान नगर्ने परिपाटी रहेको भन्दै नेकपा एसले जनसरोकारका विषय उठाउने र पार्टी सधैभरि जनतासँगै रहने बताए ।

नेकपा एसलाई मुलुककै जनताको प्रमुख र लोकप्रिय पार्टी बनाउने

उनले रामेछापमा मात्रै होइन नेकपा एसलाई मुलुककै जनताको प्रमुख र लोकप्रिय पार्टी बनाउने समेत बताए।

नेकपा एमालेबाट विद्रोह गर्दै माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एसले एक महिना अगाडि गत भदौ ९ गते निर्वाचन आयोगमार्फत राष्ट्रिय दलको रुपमा मान्यता पाएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउने अध्यादेश ल्याएसँगै एमालेभित्र असन्तुष्ट नेपाल पक्षले भदौ २ गते नै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो ।

सोही निवेदन बमोजिम भदौँ ९ गते आयोगले नेकपा एसलाई राष्ट्रिय राजनीतिक दलको मान्यता दिएको हो ।

केन्द्रमा राष्ट्रिय दलको मान्यता पाएपछि प्रदेश र स्थानीय तहमा समेत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले २१ दिनभित्र नेकपा एस रोजेमा बैधानिकता पाउने आयोगको निर्णय अनुसार प्रदेश र स्थानीय तहका धेरै जनप्रतिनिधिहरुले नेकपा एस रोजेका थिए ।

सोही क्रममा रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले पनि नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

बस्नेत यसअघि पनि जिल्ला विकास समितिको उपसभापति, सभापति निर्वाचित भएका थिए ।

३० वर्षअघि पनि रामेछापमा राष्ट्रिय पार्टीको मुख्य नेतृत्वमा रहेका बस्नेत फेरि पनि राष्ट्रिय पार्टीको मान्यता पाएको नेकपा एसको मुख्य नेतृत्वमा चयन भएका हुन् ।

एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने: डा.भट्टराई

एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने: डा.भट्टराई

काठमाडौँ-डा.बाबुराम भट्टराईले एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका हुन् ।

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.भट्टराईले एमालेका सांसदहरुलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणीका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्याए ।

उनले भने, ‘जसले संसदलाई २/२ चोटी विघटन गर्छ ।

ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने ।

सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम ।

जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो ।

मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभापछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिए ।

उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’

भट्टराईले एमालेले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए ।

एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने: डा.भट्टराई

दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो

दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लिएको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको हो । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार २७३ पुगेको छ ।

योसँगै कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या पहिलो पटक तीन हजार नाघेको छ ।

यहाँ गत सोमबारदेखि कोरियन दसैँ (छुसक) को तीनदिने बिदा थियो । यो बेला मानिसको अत्यधिक चहलपहल भयो ।

त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ । सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो ।

बिदाका अवसरमा लाखौँ मानिस आफ्नो कार्यस्थलबाट घर फर्किएकाले सङ्क्रमितको सङ्ख्या बढेको हो ।

सङ्क्रमणकै कारण कोरोना परीक्षण गर्नेको लाइन पनि लामो हुने गरेको छ ।

शुक्रबारको तुलनामा शनिबार कूल सङ्क्रमितको सङ्ख्या ८३९ ले बढी हो ।

शनिबार थपिएका कूल सङ्क्रमितमध्ये तीन हजार २४५ स्थानीय सङ्क्रमित छन भने बाँकी बाहिरबाट सङ्क्रमित भई आउने छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नेक्रमसँगै सरकारले खोप कार्यक्रमलाई पनि तीव्र गतिमा अगाडि बढाएको छ ।

हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या ४२ प्रतिशत नाघेको छ ।

सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत तीव्र पार्ने बनाएको छ ।

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ ।

आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट भएको हो ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो ।

आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि कूल निष्काशनको शेयरको ३० प्रतिशत अर्थात १८ लाख कित्ता छुट्याइएको थियो ।

त्यस्तै मध्य भोटेकोशीको आइपीओ बाँडफाँटमा बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको थियो ।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार निष्काशन गरिएको आइपीओमा कूल एक लाख आठ हजार ५२७ जनाले शेयर खरिदका लागि आवेदन दिएका थिए ।

तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले शेयर खरिदका लागि आवेदन दिएकामा ४९ जनाको आवेदन रद्द भएकाले कूल १२ हजार ९८ जनालाई शेयर बाँडफाँट गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत १८० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिमकै शेयर पाएका छन् भने १९० देखि ४०० कित्तासम्म आवेदन दिएकाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

त्यस्तै आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोकका अन्य क्षेत्रका आवेदकमध्ये एक हजार ५१५ जनाको आवेदन रद्द भएर ९४ हजार ८६५ जना योग्य आवेदकलाई शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

योग्य आवेदकमध्ये न्यूनतम १० देखि अधिकतम ४० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिम शेयर पाएका छन् भने ५० देखि चार सय कित्तासम्मका लागि आवेदन दिनेबाट गोलाप्रथा गरी ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले गत वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर बिक्री खुल्ला गरेको थियो ।

कोभिड– १९को सङ्क्रमण जोखिमका कारण भएको बन्दाबन्दीले केही समय स्थागित भई गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला भएको शेयरमा स्थानीयवासीले साउन ३२ सम्म आवेदन दिएका थिए ।

यसअघि कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीका लागि एक करोड ४४ लाख कित्ता शेयर निष्काशन र बाँडफाँट गरिसकेको छ ।

कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्य भखभेटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

मध्य भोटेकोशीको आइपीओ बाँडफाँटको नतिजा सर्वसाधारणले निष्काशनकर्ता कम्पनी, बिक्री प्रबन्धक र सह–निष्कासन कम्पनीका वेभसाइटबाट प्राप्त गर्न सक्नेछन् ।

साताको दोस्रो दिन सेयर बजारमा ७३.०५ अंकको गिरावट

काठमाडौँ– साताको दोस्रो दिन सेयर बजारमा ७३.०५ अंकको गिरावट आएको छ।

आज ७३.०५ अंकले घटेर नेप्से परिसूचक २ हजार ६ सय ८५.४१ विन्दुमा ओर्लिएकोे नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सेयर बजार २.६७ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ६ सय ८५.४१ विन्दुमा ओर्लिएको हो ।

यो पछिल्लो करिब साढे ४ महिनाको न्यूनतम विन्दु हो

आज १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको दोस्रो दिन करिब १ अर्ब रुपैयाँ बराबरको कारोबार घट्दा सेयर बजारमा ७३.०५ अंकको गिरावट आएको हो ।

हिजो आइतबार ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

आज सबै समूह घटेका छन् । ७३.०५ अंकको गिरावटमा सबैभन्दा बढी निर्जीवन बीमा समूह ४३९.२८ अंकले घटेको छ।

घटेको बजारमा यस दिन दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सेयर बजारमा यस दिन मनकामना स्मार्ट लघुवित्त र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर करिब १० प्रतिशत बढेको छ।

साताको दोस्रो दिन बजार घट्नुमा तरलता अभावलाई प्रमुख कारण मानिएको छ ।

केन्द्रीय बैंकले लागू गरेको सीडी रेसियोका कारण तरलता व्यस्थापनमा कठिनाई हुन थालेको बैंकरहरुको दाबी छ ।

तथापि, अब तरलता विस्तारै सहज हुँदै जाने अनुमान गर्न सकिन्छ । किन भने बल्ल बजेट कार्यान्वयनमा आएको छ ।

सरकारले भुक्तानी दिन पनि थालेको छ । यसकारण विस्तारै तरलता सहज हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।

बजारमा उतारचढाव आउन थालेपछि सर्वसाधारण लगानीकर्ता पनि अन्योलमा परेका हुन् ।

उनीहरुले आक्रामक हिसाबले किनिहाल्ने वा बेच्ने निर्णय गर्न सकेका छैनन् ।

त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य ६ प्रतिशत बढेको छ।

कारोबारमा आएका गुडविल फाइनान्स, युनाइटेड इदी मार्दी, नेपाल फाइनान्स, कालिका पावर, पोखरा फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको यस दिन करिब साढे १५ करोडको शेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको साढे १३ करोडको शेयर कारोबार भएको छ।

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ ।

कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा सङ्लग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो ।

आइतबार भोटेकोशीबाट सुरु गरिएको कार्यक्रम मङ्गलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एशोसियशन अफयाफ्टिङ एजेन्सीज नाराका महासचिव शिशिर खनालले राससलाई जानकारी दिए ।

उक्त कार्यक्रमअन्तर्गत रिभर गाईड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्ने छन् ।

एक मजदूरलाई १२ दिनको रोजगार दिइने उक्त कार्यक्रममा २०० रिभर गाईड एवं कर्मचारीले काम पाउनेछन् ।

उनीहरुले काम गरेबापत परियोजनाले दैनिक रु एक हजार प्रदान गर्नेछ ।

नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ ।

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

क्याप्टेन आङगेलु शेर्पाको साहसले बुद्ध एयरको सुरक्षित अवतरण

काठमाडौं- क्याप्टेन आङगेलु शेर्पाको साहसले बुद्ध एयरको सुरक्षित अवतरण सफल भएको छ । प्राबिधिक समस्या देखिएर विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी फर्किएको बुद्ध एयरको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सुरक्षित अवतरण गरेको छ ।

ल्याण्डिङ गियर इन्डिकेटरले समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौंतर्फ फर्किएको थियो ।

केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको जहाज त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन ।

जहाज काठमाडौंको आँकाशमै आधा घण्टा बढी होल्ड भएको थियो ।

ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो ।

विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो ।

जहाजभित्र रुवाबासी भएको र धेरैले आश मारेको यात्रुले सुनाएका छन् । रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए जहाजमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि स्थिती त्रासपुर्ण बनेको थियो । सुरक्षाकर्मी तयारी अवस्थामा देखेपछि अब जिन्दगी यति नै भयो भन्ने लागेर यात्रुको रुवावासी चलेको थियो ।

तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

क्याप्टेन आङगेलु शेर्पाको साहसले गर्दा बुद्ध एयरको सुरक्षित अवतरण गराउन उनी सफल भए उनले धर्यका साथ ल्याण्ड गर्ने प्रयास जारी राखे जुन अन्तत् सफल भयो र सबै यात्रु खुसी भए ।