सुनको मूल्य प्रतितोला रु ९२ हजार १००

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ ।

शुक्रबार प्रतितोला रु ९१ हजार ४०० मा यसको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

एमाले महाधिवेशन कि महाओलीधिवेशन: भीम रावलको उम्मेदवारी पर्चा खोसिँदै

एमाले महाधिवेशन कि महाओलीधिवेशन: भीम रावलको उम्मेदवारी पर्चा खोसिँदै

चितवन-नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिन बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले भीम रावलको उम्मेदवारीसम्बन्धी पर्चा खोसेका छन्।

एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन ।

मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाइएको तर्क स्वयंसेवकहरुले गरेका छन् ।

​स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छन् ।

बन्दसत्र आयोजनास्थलभन्दा बाहिर भने कतिपयले रावलको पर्चा बाँड्ने गरेका छन् ।

भीम रावलको उम्मेदवारीसम्बन्धी पर्चा खोसिँनुले एमालेको महाधिवेशनमा भएको ओलीको दमन प्रस्ट देखिएको छ ।

एमाले महाधिवेशन कि महाओलीधिवेशन: भीम रावलको उम्मेदवारी पर्चा खोसिँदै

एमाले महाधिवेशन: ओली सर्वसम्मत हुने संभावना न्युन

सौराहा-नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओली सर्वसम्मत हुने संभावना न्युन देखिएको छ ।

सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ ।

महाधिवेशनमका बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५औँ बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको बन्दसत्रले पारित गरेपछि ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी बन्ने घोषणा गरिएको छ ।

बन्दसत्रले सबै पदमा सहमतिका लागि उम्मेदवाहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

पार्टीका उपाध्यक्ष डा भीम रावलले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्तको पालना गर्दै आफू अध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने बताउनुभएको छ ।

एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सबै पदमा सहमतिका लागि विभिन्न रुपमा कोसिस भइरहेको जानकारी दिनुभयो ।

शनिबार बन्दसत्र सुरु नहुँदै प्रतिनिधि र कार्यकर्ताले सो स्थलमा सहमतिमा नेतृत्व चयन हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए ।

केन्द्रीय कमिटी सदस्यका लागि निर्वाचन नभएमा पनि खुला र समावेशी क्षेत्रबाट प्रतिनिधित्व गराइने भएको छ ।

यसरी क्षेत्र निर्धारण गर्दा संवैधानिक र पार्टी विधानको व्यवस्थाबमोजिम ३३ प्रतिशत महिला र अन्य क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ ।

सहमति वा निर्वाचन जे भए पनि बन्दसत्र आज सकाउने तयारी छ ।

पारित विधानअनुसार १९ पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना रहने छन् ।

पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने छन् ।

पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ ।

विधानमा पोलिटब्यूरोको काम, कर्तव्य र अधिकार पनि तोकिएको छ ।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित २५ सदस्यीय हुने छन् ।

निर्वाचन आयोगमा अध्यक्ष डा विजय सुब्बासहित १० सदस्य गत विधान महाधिवेशनले चयन गरिसकेको छ भने बाँकी सदस्य यो महाधिवेशनले छान्नेछ ।

एमालेका सचिव योगेश भट्टराईका अनुसार स्थायी कमिटीले आफ्नो कमिटीको कूल सदस्य सङ्ख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद् गठन गर्न सक्ने छ ।

प्रदेश र जिल्ला कमिटीमा पनि सोहीअनुरुप हुनेछन् । प्रदेश कमिटी र जिल्ला कमिटीको आधार सङ्ख्या ७५ सदस्यीय हुनेछ ।

बन्दसत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी विभाजन गरेको सङ्ख्यामा प्रत्येक प्रदेशबाट छ खुला तीन महिला गरी नौ जनासहित सात प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने तय गरिएको छ ।

उपत्यका विशेष समन्वयबाट एक खुला, एक महिला गरी दुई सदस्य, सम्पर्क समन्वयबाट एक खुला, एक महिला गरी दुई सदस्य, आदिवासी जनजातिबाट १७ खुला र आठ महिला गरी २५ सदस्य, तराई मधेशबाट १३ खुला र छ महिलासहित १९ सदस्य, दलित समुदायबाट आठ खुला, चार महिलासहित १२ सदस्य, थारू समुदायबाट पाँच खुला, दुई महिलासहित सात सदस्य, मुस्लिम समुदायबाट चार खुला, एक महिलासहित पाँच सदस्य, श्रमिक क्षेत्रबाट चार खुला, दुई महिलासहित छ सदस्य, पिछडिएको क्षेत्रबाट तीन खुला, एक महिलासहित चार सदस्य, खुला क्षेत्रबाट ८४ खुला ५३ महिलासहित १३७ सदस्य, केन्द्रीय आयोगहरूमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १३ खुला र नौ महिलासहित २५ सदस्य निर्वाचित हुनेछन् ।

एमाले अनुशासन आयोग सदस्य अमर गिरी समाजवादी प्रवेश

एमाले अनुशासन आयोग सदस्य अमर गिरी समाजवादी प्रवेश

काठमाडौं-नेकपा एमाले अनुशासन आयोगका सदस्य एवं दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि अमर गिरीले एमाले परित्याग गरेका छन्।

बुधबार एक विज्ञप्तिमार्फत गिरीले एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेकोजानकारी गराएका छन् ।

एमाले नजिक भई कला साहित्यमा सक्रिय गिरी एमाले दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि समेत रहेका थिए ।

एमालेकाे केन्द्रीय अनुशासन आयोगमा रहेका गिरीले एमालेको नीति र विचारमा असन्तुष्टि राख्दै पार्टी परित्याग गरेका हुन्।

गिरीले एमालेमा देखा परेको दक्षिणपन्थी, विचलनकाविरुद्ध संघर्ष गर्न र यसलाई सच्याउने सक्ने आधार समेत समाप्त भइसकेको ठहर गरेका छन् ।

एमाले अध्यक्षमा केपी शर्मा ओली नेतृत्वमा आएपछि दक्षिणपन्थी चिन्तन बढ्नुका साथै नवौं महाधिवेशनबाट पारित विचार, नीति, कार्यक्रम र कार्यदिशा विपरीत रहन गएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिको पुर्णपाठः

एमाले अनुशासन आयोग सदस्य अमर गिरी समाजवादी प्रवेश

लुटको पैसाले नारायणी किनारमा एमालेको पिकनिक

लुटको पैसाले नारायणी किनारमा एमालेको पिकनिक

काठमाडौ-एमालेले देश लुटेको पैसाले चितवनमा भोज गरिरहेको आरोप अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रन्जित तामाङले लगाएका छन्।

नेकपा (माओवादी केन्द्र) माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहिबार सम्बोधन गर्दै तामाङले चितवनमा पार्टी अधिवेशन गरिरहेको नेकपा एमाले माथि यस्तो आरोप लगाएका उनले साढे तीन वर्ष जनताको मतको अपमान गर्दै ओलीले मजाक र ठट्टा गरेर बिताएको बताए।

उनले केपी वली नेतृत्वको सरकारको भ्रष्टाचार छानबिन हुनुपर्ने माग समेत गरे।

तामाङले भने ,’केपी ओली सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्रष्टाचार गरेको छ र त्यही देश लुटेको पैसाले नारायणी किनारमा ‘पिकनिक’ आयोजना गरेर धुलो उडाइरहेको छ ।

हामी ओली सरकारका पालाम भएको अभूतपूर्व भ्रष्टाचारमाथि छानविनको माग गर्दछौं ।’

आफ्नो अधिकांश समय केपी ओली र एमालेको आलोचनामा खर्चेका तामाङले ओलीमाथि गणतन्त्रको संघर्षमा भागेको र गणतन्त्र आइसकेपछि पनि संघीयता र गणतन्त्र बिरुद्ध चलखेलको असफल प्रयास गरिरहेको आरोप समेत लगाए ।

लुटको पैसाले नारायणी किनारमा एमालेको पिकनिक

प्रदेश नं २ को राजधानी र नाम पुनः बहसमा

प्रदेश नं २ को राजधानी र नाम पुनः बहसमा

जनकपुर-प्रदेश नं २ सभाको अधिवेशन मङ्सिर २९ गतेका लागि आह्वान भएसँगै प्रदेशकोे स्थायी राजधानी र नामाकरण विषयमा पुनः बहस र छलफल सुरु भएको छ ।

प्रदेशको नाम र राजधानी विषयमा प्रदेशसभाको दुई तिहाइले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ तर प्रदेश नं २ सभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलसँग दुई तिहाइ बहुमत नहुँदा दलीय सहमतिकै आधारमा राजधानी र नामाकरण विषय टुङ्गो लगाउनुपर्ने बाध्यात्मक अवस्था छ ।

प्रदेशको राजधानी जनकपुरलाई नै कायम गर्नुपर्ने पक्षमा प्रायः सबै दलका प्रदेशसभा सदस्यमा एक मत देखिए पनि प्रदेश नामाकरणको विषयमा सबै दलको आ–आफ्नै अडान छ ।

त्यसैले प्रदेशको राजधानीको विषय प्रदेशसभाबाट पारित हुने सम्भावना रहे पनि प्रदेश नामाकारणको विषय टुङ्ग्याउन सहज नरहेको जानकारहरु बताउँछन् ।

“प्रदेशको राजधानी जनकपुर नै राख्नेमा करिब करिब सबै प्रदेशसभा सदस्यहरुको एक मत नै रहेको देखिन्छ”, जनता समाजवादी पार्टी (जसपा) का नेता तथा प्रदेशसभा सदस्य रामअशिष यादवले भन्नुभयो, “त्यसैले अबको प्रदेशसभाको बैठकबाट प्रदेशको राजधानी टुङ्गो लाग्ने सम्भावना छ ।”

राजधानीको विषयमा दुई तीनजना सदस्यबाहेक सबैले जनकपुरमै राजधानी राख्न सहमत रहेको उहाँको भनाइ छ ।

यसअघि २०७७ साल चैत ५ गते प्रदेश नं २ को राजधानी र नामाकरणको विषयमा प्रदेशसभामा मतदान भएको थियो ।

त्यतिबेलै प्रदेशको राजधानी जनकपुर राख्ने विषयमा सहमति नजिक पुगेका राजनीति दलहरुबीच नामाकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाटै दुवै विषय टुङ्ग्याउने भन्दै मतदान गरेका थिए ।

त्यतिखेर दुई तिहाइ बहुमत नपुगेपछि राजधानी र नामाकरणको प्रस्तावसमेत पारित हुन असफल भएको थियो ।

“उतिबेलै प्रदेशको राजधानी जनकपुर राख्ने विषयमा सबै दलबीच सहमति भएको थियो”, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम् प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले भन्नुभयो, “तर सभामुखले कार्यतालिकामा हेरफेर गरेकाले प्रदेशको नामाकरणसँगै राजधानीको प्रस्तावसमेत असफल भयो ।”

“दलहरुबीच सहमति भइसकेकाले पहिला राजधानीसम्बन्धी प्रस्तावलाई पेस गर्ने र पछि नामाकरणको प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिकामा सहमति भएको थियो,” मन्त्री साहले भन्नुभयो, “तर सभामुखले त्यसको उल्टो पहिला नामाकरणको प्रस्ताव प्रस्तुत गर्नुभयो, दोस्रोमा राजधानीको प्रस्ताव पेस गर्नुभयो ।”

नत नामाकरणको विषय टुङ्गियो न त राजधानी नै

जसका कारण नत नामाकरणको विषय टुङ्गियो न त राजधानी नै उहाँको भनाइ थियो ।

अब बस्ने प्रदेशसभाको बैठकबाट प्रदेशको राजधानीबारे टुङ्गो लाग्ने सम्भावना रहेको नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य गोबिन्दबहादुर न्यौपानेले विश्वास व्यक्त गर्नुभयो ।

“सुरुमा वीरगञ्जमा राजधानी माग गर्दै आन्दोलन भए पनि अहिले जनकपुर नै कायम राख्नुपर्नेमा प्रदेशका अधिकांश जिल्लावासीको भावना छ”, उहाँले भन्नुभयो, ‘‘सुरुमा कसैले जनकपुरलाई मात्र राजधानी बनाउनुपर्ने, कतिपयले ढल्केबरसम्मलाई राजधानी बनाउनुपर्ने त कतिपयले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने भनिरहेका थिए ।”

तर अहिले जनकपुर राख्ने विषयमा खासै कसैको विरोध नरहेकाले जनकपुर नै राजधानी हुने प्रस्ताव पारित हुने उहाँको दाबी छ ।

धार्मिक, सांस्कृतिक, पौराणिक, भौगोलिक तथा भौतिक संरचनाका हिसाबले प्रदेशको राजधानी ‘जनकपुर’ उपयुक्त हुनेमा अधिकांश दलहरुबीच एक मत देखिएकाले राजधानीको विषय टुङ्गो लाग्ने धेरैको विश्वास छ ।

राजधानीको प्रस्ताव पारित हुनेमा विश्वस्त रहेका दलका नेता तथा प्रदेशसभा सदस्यहरु प्रदेश नामाकरणको विषय पारित हुनेमा भने सशङ्कित छन् ।

प्रदेश नं २ मा जसपा, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रको चार दलीय गठबन्धनको सरकार छ ।

राजधानीको विषयमा एकमत नामाकरणको विषयमा फरकमत

तर प्रदेश राजधानीको विषयमा गठबन्धनभित्र एकमत देखिए पनि नामाकरणको विषयमा भने फरक मत छन् ।

जसका कारण ठोस सहमति नभएसम्म नामाकरणको विषय टुङ्गो लाग्ने सम्भावना नरहेको जानकारहरुको भनाइ छ ।

१०७ सदस्यीय प्रदेशसभामा अहिले जसपाका ३९, नेपाली कांग्रेसका १९, लोकतान्त्रिक समाजवादीका १६, नेकपा (एकीकृत समाजवादी) का १३, नेकपा एमालेका आठ र नेकपा माओवादी केन्द्रका सातजना सदस्य रहेका छन् ।

प्रदेश नं २ मा चार दलीय गठबन्धनसँग ७८ प्रदेशसभा सदस्य छन् ।

“गठबन्धनसँग प्रदेशसभामा रहेका सदस्य सङ्ख्यालाई हेर्दा प्रस्ताव पारित गर्न दुई तिहाइ बहुमत पुग्छ”, राजनीतिक विश्लेषक तथा प्राध्यापक देवनारायण यादवले भन्नुभयो, “तर गठबन्धन दलहरुभित्रै प्रदेशको नामका विषयमा फरक फरक धारणा र प्रस्ताव छन् ।”

यस्तो अवस्थामा नामाकरणको प्रस्ताव पारित हुने सम्भावना कमजोर रहेको उहाँको भनाइ छ ।

प्रदेश नं २ को नामका विषयमा सबै दलको आ–आफ्नै अडान रहेकाले दलीय सहमति नभएसम्म नामाकरणको विषय टुङ्गिन गाह्रो रहेको विश्लेषक यादवले बताउनुभयो ।

मधेस पृष्ठभुमिका जसपा र लोसपा प्रदेशको नाम मधेस राख्ने पक्षमा देखिएका छन् भने प्रतिपक्षी नेकपा एमाले र सत्तारूढ दल नेपाली कांग्रेस ‘मधेस’ नाम कुनै हालतमा स्वीकार नगर्ने अडानमा छन् ।

नेकपा माओवादी केन्द्र प्रदेशको नाम मधेस राख्ने विषयमा लचिलो रहे पनि सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एस) मधेस प्रदेशको पक्षमा नरहेको जसपाका प्रदेशसभा सदस्य रामअशिष यादवको भनाइ छ ।

नेकपा एमाले मिथिला वा जनक तथा कांग्रेसले मिथिला वा मिथिला–भोजपुरा प्रदेश नाम राख्नुपर्ने बताउँदै आएको छ भने नेकपा (एस) ले सबैको भावनालाई सम्बोधन हुने गरी नामाकरण गर्नुपर्ने अडानमा छन् ।

जसपा र लोसपाका प्रदेशसभा सदस्यले प्रदेश नं २ को नाम मध्य–मधेस वा मधेस राख्नुपर्ने बताइरहँदा अन्य दलका नेताहरुले प्रदेशको नाम राजर्षि जनक, जानकी तथा मिथिला–भोजपुरा प्रदेश राख्दा उपयुक्त हुने बताइरहेका छन् ।

यसरी दलका नेताहरुको मत विभाजित हँुदा प्रदेशसभा गठन भएको दुई वर्षमा भए पनि प्रदेशको नाम र राजधानी पाउने जनताको विश्वासमाथि कुठाराघात भएकाले तत्काल दलीय सहमति कायम गरेर दुवै विषय टुङ्ग्याउनुपर्ने बुद्धिजीवीहरुको सुझाव छ ।

प्रदेश नं २ को राजधानी र नाम पुनः बहसमा

अब चितवनबाटै सवारीचालक अनुमतिपत्र

अब चितवनबाटै सवारीचालक अनुमतिपत्र

चितवन-यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ ।

सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो ।

स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट Tmsochitwan.bagmati.gov.np मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् ।

कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले Edlrs–smart मा अद्यावधिक गर्नुपर्ने छ ।

अब चितवनबाटै सवारीचालक अनुमतिपत्र

राजसंस्था पूनस्थापित नभई जनताले राहात पाउदैनन्

राजसंस्था पूनस्थापित नभई जनताले राहात पाउदैनन्


राष्ट्रिय प्रजातन्त्र पार्टी, ललितपुर महानगरपालिका अध्यक्ष दिनेश थापामगरसँगको सानो संवाद

मुलुकको समसामयिक राजनीतिक अवस्थालाई यहाँले कसरी लिनुभएको छ ?

मुलुकको अवस्था अन्यौलपूर्ण छ, जनताको अपेक्षा अनुसारको काम सरकारबाट भएको छैन ।

प्रमुख राजनीतिक दलहरु पार्टीगत स्वार्थमा मात्र रुमलिरहेका छन् । जनताको आवाजको कुनै सुनुवाई भएको छैन ।

सत्ता गठबन्धनले त काम गरेन गरेन, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारलाई घच्घच्याएको छैन ।

त्यसैले देशमा व्यापक भ्रष्टाचार भएको सुन्नमा देख्नमा आएको छ ।

देश यसरी वेथितिमा आउनुलाई राप्रपाजस्ता राष्ट्रवादी पार्टी सत्तामा नरहनु नै हो ।

हामीले सकेसम्म सरकारका गलत क्रियाकलापको विरुद्ध आवाज उठाई रहेका छौं । सरकार कानमा तेल हालेर बसेको देखिन्छ ।

त्यसैले स्पष्ट रुपमा भन्दा राजसंस्था पूनस्थापित नभई जनताले राहात पाउन सक्दैनन् ।

त्यसो त राप्रपाको वटम लाइन नै संवैधानिक राजतन्त्र र हिन्दु राज्य हो । यहि सिद्धान्त र विचारबाट जनताले सर्वसुलभ न्याय पाउँछन् ।

हामी स्पष्ट बहुमत सहित सत्तामा पुग्यौ भने भ्रष्टाचार रोकिन्छ, युवक, महिला, जनजाति लगायत सबैको यो आफ्नो सरकार हो भन्न पाउनेछन् ।

त्यसैले ‘राप्रपाको सरकार हाम्रो सरकार’ भन्ने जनतालाई अनुभुत गराउन राप्रपा सत्तामा जानै पर्छ ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पूनस्थापित नभई जनताले सुख पाउने मैले देख्दिन ।

जसरी राजा ज्ञानेन्द्र जनताको समस्या बुझ्न घर दैलो गरेका थिए र राज्यबाट दिने सेवा सुविधा दिलाई रहेका थिए, त्यही बीचमा राजा ज्ञानेन्द्रलाई सम्पूर्ण रुपमा शासन छोड्नु पर्ने अवस्था आयो ।

राजा ज्ञानेन्द्र विरुद्धको आन्दोलन दबाउन उहाँबाट कुनै प्रतिकार भएन । स्वविवेकीय रुपमा गद्दी त्याग गर्नु भयो ।

यति बेला ९० प्रतिशत हिन्दुहरुले पुरानो अवस्थालाई सम्झदै राजतन्त्रको पक्षमा जनमत बढाउँदै छन् ।

वर्तमान सरकारलाई यहाँले कसरी मूल्यांकन गर्नु भएको छ ?

प्रधानमन्त्री शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री भए । पटक–पटक असफल पनि हुँदै आएका छन् ।

यस पटक पनि राम्रो काम गरेको देखिदैन । त्यसैले राम्रो काम गर्न देउवालाई घच्घच्याउनु पर्छ ।

देउवा काँग्रेसभित्रै राजनीतिमा समलिरहेको देखिन्छ । देउवाले राम्रोसँग सरकार संचालन नै गर्न सकेनन् ।

दुःखको कुरा देउवाको इतिहास जस्तो भए पनि उनको भाग्यले पटक सरकार संचालन गर्ने अवसर पाइरहेका छन् ।

राप्रपाको वटमलाइन राजतन्त्र र हिन्दु राज्य हो तर यस विषयमा यतिबेला राप्रपाले कुनै कार्यक्रम किन नगरेको होला ?

राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राज्यकोबारेमा बुलन्द आवाज उठाइरहेको छ ।

पार्टी महाधिवेशनको काममा लाग्नु परेकोले त्यस विषयमा अलि ध्यान दिन गाह्रो परिरहेको छ ।

अब महाधिवेशन सम्पन्न भइसकेपछि हामी हाम्रो एजेण्डा लिएर फेरि जनताको घरदैलोमा पुग्ने छौ ।

आवश्यक परे सडक संघर्ष समेत गर्ने छौं । त्यसैले राप्रपाले हिन्दु राज्य र राजतन्त्र कुनै हालतमा छोड्दैन ।

केहि पहिला हामीले संवैधानिक राजतन्त्र र हिन्दु राज्यको आवाज लिएर मेचि महाकाली विभिन्न कार्यक्रम गरेका थियौं ।

देशव्यापी रुपमा भइरहेको मुल्य वृद्धिलाई यहाँकसरी लिनु भएको छ ?

मुल्यवृद्धि गरेर तीन तहका सरकारले जनताको ढाड सक्ने काम भइरहेको छ ।

यसले के देखाउँछ भने काँग्रेस नेतृत्व सरकार जनताप्रति जिम्मेदार छैन भन्ने स्पष्ट देखिन्छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि विरुद्धमा विभिन्न विद्यार्थी संगठनहरुले गरेको आन्दोलन स्वागत योग्य छ ।

पेट्रोलियम पदार्थमा मात्र मुल्य वृद्धि भएको होइन ।

खाद्यान्न, लत्ताकपडादेखि जनताको सरोकारका मालसामाग्रीमा पनि मूल्य वृद्धि भइरहेको छ ।

तर, सरकारी निकायबाट भरपर्दाे अनुगमन भएको देखिँदैन ।

राप्रपाको महाधिवेशनलाई यहाँले कसरी लिनु भएको छ ?

यो महाधिवेशन राप्रपाको मात्र नभई सारा देशभक्त नागरिकहरुको एकता महाधिवेशन पनि हो ।

यहाँ सारा देशभक्त, राजभक्तहरुको समेत सहभागिता हुनेछ ।

तपाई महाधिवेशनमा कुन प्यानलमा लागु हुन्छ ?

म कुनै प्यानलमा छैन । पार्टीमा सर्वसम्मत नेतृत्व चयन होस् भन्ने मरो मनसाय छ । पार्टीमा युवा पङ्तिले उचित अवसर पाउनु पर्छ भने मेरो विचार छ ।

एमाले फुटलाई यहाँले कसरी लिनु भएको छ ?

कुनै पार्टी फुट्नु हुन्न, तर फुटिरहेका छन् । एमाले फुटले ‘भाई भाई फुटे गद्दार लुटे’ भने झै देखिन्छ ।

पार्टी फुटले कति असर परेको रहेछ आगामी निर्वाचन परिणाम देखाउने छ ।

राप्रपामा शिक्षा लिने हो भने एमाले नफुटेरै निर्वाचनमा भाग लिँदा नै राम्रो थियो, छ ।

काँग्रेसलाई चाही कसरी लिनु भएको छ ?

काँग्रेस विपी थपमा हिडेको देखिँदैन । नेताहरु आ–आफ्नै स्वार्थमा हिडिरेका छन् । पार्टीमा व्यापक गुटबन्दी छ ।

त्यसले गर्दा काँग्रेस पनि त्यति बलियो छ भन्ने अवस्था छैन ।

काँग्रेस सत्ताको दुरुपयोग गरेर व्यापारीहरुसँग चन्दा लिएर निर्वाचन जित्ने सोचमा रहेको देखिन्छ ।

माओवादी केन्द्रलाई चाही कसरी नियाल्नु भएको छ ?

माओवादी पनि भित्री रुपमा गुटबन्दी नै छ ।

वादलहरु एमालेमा गएका छन्, त्यसैले के देखिन्छ भने काँग्रेस एमालेमा जस्तै माओवादी केन्द्रमा पनि एकता देखिँदैन ।

अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे तपाईकोविचार वताइ दिनुस् न?

विभिन्न पार्टीका नेतादेखि बुद्धिजिविहरुको भनाइले के पुष्टी गरेको छ भने एमसिसी नेपालको हितमा हैन ।

कोही एमसिसी पास गर्नु पर्छ भनिरहेका छैन, कोही यहि रुपमा एमसिसी पारित गर्नु हुन्न भनिरहेका छन् ।

मैले पनि बुझे अनुसार एमसिसी अहिलेकै अवस्थामा पारित गरिए त्यो राष्ट्रहितको पक्षमा हुने छैन ।

अन्तमा देशवासीलाई तपाईको सन्देश ?

राप्रपा महाधिवेशनको महाअभियानमा छ । हामी महाधिवेशन पछि तपाईहरुको घर दैलोमा एकतावद्ध भएर आउने छौं ।

मलाई लाग्छ राप्रपाको आगामी निर्वाचनमा राम्रो परिणाम आउने छ ।

राप्रपालाई जिताउन समस्त देशभक्त राजभक्त र हिन्दुवादीहरुलाई हार्दिक आव्यहान गर्दछु ।

राजसंस्था पूनस्थापित नभई जनताले राहात पाउदैनन्

नेपाली सेनालाई भारतीय सेनाको पाँचवटा ट्रक उपहार

नेपाली सेनालाई भारतीय सेनाको पाँचवटा ट्रक उपहार

काठमाडौं-नेपाली सेनालाई भारतीय सेनाले पाँच वटा ‘वर्कशप ट्रक’ हस्तान्तरण गरेको छ ।

भारतीय सेनाले पाँच थान एलपीटीए वर्कशप ट्रकहरु बिहीबार आयोजित कार्यक्रममा नेपाली सेनालाई दिएको हो।

उपहारस्वरुप भारतीय सेनाले ती ट्रकहरु नेपाली सेनालाई दिएको हो।

काठमाण्डौमा सम्पन्न भएको नेपाल-भारत द्विपक्षीय परामर्श समूह (Nepal-India Bilateral Consultative Group on Security Issues- NIBCGSI) को १३ औं बैठकमा सहमती भए बमोजिम मिति २०७८ मंसिर ०९ गते जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच भारतीय सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप उपलब्ध गराएको ‘वर्कशप ट्रक’ गोटा-५ (पाँच) हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

मित्रराष्ट्र भारतका सैनिक सहचारी कर्णेल अमित शर्माले श्री हतियार तथा नियन्‍त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई ‘वर्कशप ट्रक’ हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप मजबुद एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको अप्रेशनल क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

नेपाली सेनालाई भारतीय सेनाको पाँचवटा ट्रक उपहार

एमाले महाधिवेशनमा विभिन्न दलका नेताको शुभकामना

एमाले महाधिवेशनमा विभिन्न दलका नेताको शुभकामना

नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राष्ट्रिय पार्टीका नेताले शुभकामना दिने क्रम सुरु भएको छ ।

नारायणी किनारमा निर्मित विशेष मञ्चमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि शुभकामनाको क्रम सुरु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरलगायतले सम्बोधन गरिसक्नुभएको छ ।

सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी हुनुहुन्छ ।

केहीबेरअघि अध्यक्ष ओलीले राष्ट्रिय झण्डा, पार्टीको निर्वाचन चिह्न (सूर्य) र कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित झण्डा फहराएर महाधिवेशन उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन हुनुअघि जातजातिगत सांस्कृतिक कला, धून र झाँकी प्रदर्शन गरिएको थियो । सभामा विभिन्न स्थानबाट र्‍यालीसहितको जनसहभागिता बढिरहेको छ ।

एमाले महाधिवेशनमा विभिन्न दलका नेताको शुभकामना

प्रचण्ड गएनन् एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा

काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा गएनन् ।

पार्टीको तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाएर प्रचण्ड आफू उपस्थित नभएका हुन् ।

महाधिवेशनमा सहभागी हुन लीलामणि पोखरेल भने चितवन पुगिसकेका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्ड आज बिहानै काभ्रेका हुने कार्यक्रममा सहभागी हुन गएका छन् ।

नेकपाको एकता भंग भएपछि ओली र प्रचण्ड एक आपसमा तल्लो तहसम्मकै गालीगलौजमा उत्रिने गरेका छन् ।

एमालेले उद्घाटन सत्रमा विदेशी तथा स्वदेशी राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

प्रधानमन्त्री देउवासँग बारका पदाधिकारीको छलफल

प्रधानमन्त्री देउवासँग बारका पदाधिकारीको छलफल

काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वाेच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा आफूहरुले गरिरहेको आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी गराउनुभयो ।

उहाँहरुले प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले निर्वाह गर्नुपर्ने भूमिका र सर्वाेच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले बारका पदाधिकारीले राख्नुभएको विषयलाई गम्भीरतापूर्वक लिँदै सोबारेमा आफू अवगत रहेको अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले उक्त विषयमा सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक-दुई दिनमा नै निकासको लागि दृष्टिकोण सार्वजनिक गर्ने बताउनुभएको थियो ।

भेटमा बारका केन्द्रीय पदाधिकारी, सर्वाेच्च बार एशोसिएशनका पदाधिकारी, बारका पूर्वअध्यक्षहरु, पूर्वमहासचिवहरु, पूर्वमहान्याधिवक्ता, पूर्वसभामुखलगातय उपस्थिति हुनुहुन्थ्यो ।

अदालतको विवाद लम्बिदै गएपछी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका थिए ।

देउवाकै निमन्त्रणामा छलफलका लागि बालुवाटार पुगेको बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई गत सोमबार बुझाएको धारणापत्र प्रधानमन्त्रीलाई पनि बुझाएको छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतका १९ न्यायाधीशले इजलास बहिस्कार गरिरहेका छन् भने एक महिनादेखि नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरू आन्दोलनमा छन् ।

सत्तारुढ गठबन्धनको कात्तिक ३० गतेको बैठकले न्यायालयको विवादमा उचित निकास न्यायालयभित्रबाटै यथाशक्य दिनुपर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय भएको सातादिन बितिसक्दा पनि प्रधानन्यायाधीश जबराले पद नछोड्ने अडान देखाएपछि प्रधानमन्त्रीले अग्रसरता लिएका हुन् ।

प्रधानमन्त्री देउवासँग बारका पदाधिकारीको छलफल

कांग्रेस अधिवेशन:भक्तपुरमा सभापतिमा थापा र कवेँ भिड्ने

काठमाडौँ-नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको जिल्ला अधिवेशनमा वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेँबीच प्रतिस्पर्धा हुने भएको छ ।

थापा र कवेँले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यसअघिको भक्तपुरको जिल्ला अधिवेशनमा पनि थापा र कवेँबीच सभापतिका लागि कडा प्रतिस्पर्धा भएको थियो ।

पहिलो चरणमा पहिलो स्थानमा रहेका कवेँलाई दोस्रो चरणमा झिनो मतले पछि पार्दै थापा सभापतिमा निर्वाचित हुनुभएको थियो ।

यस पटक पनि दुवै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

पार्टीको आजको बैठकबाट उम्मेदवारी दर्ता शनिबार गर्ने सहमति भएको कांग्रेस जिल्ला सहसचिव किरण न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज अन्तिम नामावली प्रकाशन गर्ने र आइतबार मतदानको तालिका तय गरिने भएको छ ।”

मौसम सफा हुन अझै केही दिन लाग्ने

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ-पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ ।

स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

“अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन”, मौसमविद् बासीले भन्नुभयो ।

मौसम सफा हुनका लागि वर्षा हुनुपर्छ वा तीव्र वेगले वायु चल्नुपर्छ ।

सो अवस्था नदेखिएकाले मौसममा सुधार हुने सम्भावना नदेखिएको बताइएको छ ।

हाल प्रदेश नं १, वाग्मती, गण्डकी र पहाडी भूभागमा आंशिदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

मौसम सफा हुन अझै केही दिन लाग्ने

आलेख : “अनि पुलिसमा जागिर नखाएर भो ?”

आलेख : “अनि पुलिसमा जागिर नखाएर भो ?”

काठमाडौँ-विसं २००८ को कुरा हो । काठमाडौँ, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियोे ।

विसं २००७ पछि प्रजातन्त्रको परिवेश र उमङ्गका बेला उहाँसहितका महिलालाई एक टोलीले एक्कासि लिएर सिंहदरबारमा तालिम दिन शुरु गरेको थियो ।

त्यो टोली अरू कोही नभएर नेपाली कांग्रेससँग आबद्ध थिए ।

त्यस बेला महिलाको टोली चारूमती बहालमा महिला सशक्तीकरणको छलफलमा सरिक थिए ।

त्यहाँबाट नै चैतमायालगायतलाई सामूहिक रुपमा लगिएको थियो ।

प्रजातन्त्र पुनःस्थापना हुनुअघि नेपाली काँग्रेसको मुक्ति सेनाले आन्दोलन गरिरहेको थियो ।

भर्खर प्रजातन्त्र प्रवेश गरेकाले सुरक्षा संरचना भर्खरभर्खर बामेसर्दै थियो ।

उतिबेलाको समय नै उस्तै । महिला केवल चुलोचौकामा सीमित रहनुपर्ने नेपाली समाजको पुरानो चलन ।

सामान्य लेखपढ गरेर घरबाहिर जागिर गर्ने महिलाले निकै सङ्घर्ष र हिम्मत जुटाउनुपर्ने अवस्था थियो ।

त्यसमाथि सेना, प्रहरी जस्तो सुरक्षा अङ्गमा काम गर्ने सोच प्रायः महिलाको सपनामा पनि आउँदैन थियो ।

जब महिला आन्दोलनले विश्व तातिँदै गयो, तब त्यसको राप नेपाली समाजमा पर्‍यो ।

सरकारका विभिन्न अङ्गमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बाध्यता

विस्तारै महिलाको उपस्थितिको रेखा कोरिन थाल्योे ।

कतिपय अवस्थामा अन्तरराष्ट्रिय सन्धिसम्झौताको पक्ष राष्ट्रको हैसियतले पनि नेपाल सरकारका विभिन्न अङ्गमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बाध्यता आइलाग्यो ।

विशेषगरी राणाशासनको अन्त्यसँगै मौलाएको प्रजातान्त्रिक व्यवस्थाले महिलाका लागि अवसर र चुनौतीका चाङ लगाइदियो ।

चैतमाया त्यस्तै अवसर र चुनौतीका चेपुवामा पर्नुभएको थियो ।

झण्डै चार महिना जति चैतमायासहितको महिला टोलीलार्ई प्रहरीसँग सम्बद्ध विभिन्न तालिम दिने र खेल खेलाउने गरियो ।

त्यस बेलाका प्रहरी हाकिम नरशम्शेर जबरा आफैँ आएर तालिमेलाई सिकाउनुहुन्थ्यो । राणा नेपालका दोस्रो प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो ।

उहाँले राणाले प्रहरी प्रमुख हो भन्ने कुरा पछि मात्रै थाहा पाएको सुनाउनुभयो ।

तालिम सकिने बेलासम्म पनि उहाँसहितका महिलालाई केका लागि तालिम लिइँदैछ भन्ने भेउसम्म थिएन ।

चैतमायाका अनुसार सबै महिला मिर्मिरे बिहान टुँडिखेलको फराकिलो चौरमा सिक्ने, खेल्ने गर्थे ।

त्यसबेला भाग्न नपाउने गरी बन्दोबस्ती मिलाइएको थियो ।

प्रहरीमा भर्ना भएको भन्ने कुराको कसैले सुइँकोसमेत पाएन ।

प्रहरीको जागिर नखाने अड्डी लिए

उहाँ कल्पनामै नभएको प्रहरी पेशामा अनायासै तानिनुभयो ।

खेलकुद गरेको चार महिनापछि बल्ल मात्रै प्रहरी भएको थाहा भयो ।

त्यो चाल पाएपछि चैतमायासहितका सबैले प्रहरीको जागिर नखाने अड्डी लिए । लिऊन् पनि कसरी ?

कडा मेहनत, चनाखो जीवनशैली र उछलकुदको प्रहरी पेसा महिलाका लागि सहज लाग्ने कुरै भएन ।

त्यसमाथि घरपरिवारको सहयोग र समर्थन पनि उतिबेला थिएन । महिला प्रहरी हुनु झनै चुनौती थियो तर उहाँहरुको जागिर नखाने पुकारा कसैले सुनेनन् ।

बरु प्रहरी अधिकारीबाट धम्कीको सामना गर्नुपर्‍यो ।

कि तालिमको पैसा तिर्, नत्र जेल जानुपर्छ

“हामीले जागिर खान्नौँ भन्दा कि तालिमको पैसा तिर्, नत्र जेल जानुपर्छ भने”, अठासी वर्षीया चैतमायाले प्रहरी प्रमुखले भनेको कुरा सुनाउँदै भन्नुभयो, “अनि पुलिसमा जागिर नखाएर भो ?”

त्यसपछि उहाँको प्रहरी जीवन सुरु भयो ।

प्रहरीमा भर्ना भएकामा श्रीमान् केदार राजवंशीलाई पनि चित्त बुझेको थिएन तर सरकारको नुन खाइसकेपछि उहाँले पनि ‘हुन्न’ भन्न सक्नुभएन ।

“प्रहरीमा जागिर खाएका निहुँमा सात दिनमै श्रीमान्सँग विवाद भए पनि पछि विस्तारै उहाँले स्वीकार गर्नुभयो”, चैतमायाले बताउनुभयो ।

घरपरिवारको जिम्मेवारी श्रीमान् र परिवारलाई सुम्पिँदै उहाँले जागिरे जीवनको यात्रा सुरु गर्नुभयो ।

शुरुमा उहाँको दरबन्दी ट्राफिकमा भए पनि जहाँ खटायो, त्यहीँ जानुपर्ने बाध्यता थियो ।

त्यतिबेला अपराधका रूपमा केही मारपिट, चोरीका घटना हुन्थे ।

उहाँले ‘ड्युटी’मा खटिँदा सयौँ अभियुक्त वा आन्दोलनकारी महिला, पुरुषलाई पक्राउ गर्नुभएको थियो ।

विसं २०१४ को सत्याग्रहमा उहाँ झन् धेरै खटिनुभयो ।

उहाँले प्रहरी पेसामा नुनको सोझो मात्र गर्नु भएन, देशको रातो झण्डामुनि नेपाली महिलाकै शिर गर्वले ठाडो बनाउनुभयो, देश सेवामा जीवन सुम्पेर आधा आकाशको सान बढाउनुभयो, अनि पहिलो महिला प्रहरी बनेर ‘सत्य सेवा सुरक्षणम्’ को प्रहरी नारालाई महिला वर्गले पनि उँचो राख्न सक्छ भन्ने चरितार्थ गर्नुभयो ।

उहाँलाई अहिले हिँडडुलमा अर्काको सहारा चाहिने बेला भइसकेको छ । प्रहरी सहायक निरीक्षकबाट २०३९ सालमा सेवानिवृत्त चैतमायाले प्रहरी हुनुमा गर्व गर्दै भन्नुभयो, “प्रजातन्त्र खुलेपछि त ओहो ! कुरा गरिसाध्य छैन, त्यस्तो खुसीको क्षण थियो, त्यही बेला हामीलाई लग्यो ।”

प्रहरीमा मात्रै होइन, जागिर खाने महिला नै थिएनन्

त्यस समयमा प्रहरीमा मात्रै होइन, जागिर खाने महिला नै थिएनन् भन्नुहुन्छ चैतमाया ।

“प्रहरीमा जागिर खाने हाम्रो इच्छा थिएन, पुलिसमा जाने भनेर लगिएको पनि होइन, काँग्रेसका नेताले त्यसै सिंहदरबार लगेका थिए, चार महिनापछि पो प्रहरी भयौँ भने, आफू त छक्कै परेको” उहाँले सुनाउनुभयो ।

त्यस बेला महिलाको २५ जनाको दरबन्दी थियो । त्यसमा पहिलो नाम ‘चैतमाया डङ्गोल’, वैशाख १ दर्ता भयो ।

“भर्ना हुँदा भाइहरू (प्रहरी जवान) तीन मोहर खान्थे किस्ता, हवल्दारको दुई रुपैयाँ थियो, महिला भाग्छन् भनेर त्यतिखेरै हामीलाई तीस रुपियाँ दिइएको हो”, उहाँले पुरानो कुरा सम्झँदै भन्नुभयो । जाडामा खाकी रङको ऊनी र गर्मीमा जिन्सको पोशाक दिइन्थ्यो ।

चैतमायाले झण्डै ३२ वर्ष प्रहरीमा सेवा गर्दा प्रहरी नायब निरीक्षक (सइ) हुने समय भएको थियो ।

“चिठ्ठी आउनै लाग्दा घरको समस्याले जागिर छाडेँ”, उहाँले सुनाउनुभयो । प्रहरी हुँदाका अनेक अनुभव उहाँसँग छ ।

“कति हेलाँ गर्थे त्यस बेला, सबै सहेर काम गर्नुपरेको थियो, सुरुसुरुमा डर पनि लाग्यो, लाज पनि हुन्थ्यो ।

अरुले ‘पुलिसनी’ जिस्क्याउँथे, पछिपछि हेलाँ गर्ने, जिस्क्याउनेलाई लखेट्थेँ”, उहाँले काम गर्दाका स्मृति सुनाउनुभयो ।

पाँच दिदीबहिनीमा तीन जना प्रहरीमा

पाँच दिदीबहिनीमा उहाँसहित तीन जना प्रहरीमा लाग्नुभयो ।

उहाँले पछि माहिली बुद्धमाया र साहिँली श्रीमानीलाई प्रहरीमा लगाउनुभएको थियो ।

बुद्धमाया भने अहिले बितिसक्नुभयो ।

आफूलाई प्रहरीमा भर्ना हुँदा लाज लाग्ने गरे पनि अब त्यस्तो अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

अहिले त खुसीसाथ भर्ना हुन्छन् । “महिलामा पनि केटासरह नै काम गर्न सक्ने तागत छ”, उहाँले ठोकुवा गर्नुभयो ।

अहिले विभेद नभएकाले पनि काम गर्न सजिलो रहेको उहाँ बताउनुहुन्छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री आजभन्दा झण्डै ७० वर्ष पहिला महिला प्रहरी हुनु आफैँमा चुनौतीको विषय भएको मान्नुहुन्छ ।

“चैतमायाको जीवन कुनै तिलस्मी कथाकी नायिकाको जस्तै छ”, आइजिपी थापाले भन्नुभयो ।

नेपाल प्रहरीले उहाँलाई गत असोज २० गते मनाइएको ६६औँ प्रहरी दिवसका अवसरमा पहिलो महिला प्रहरीका रुपमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्‍यो ।

उहाँले मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाका हातबाट सम्मान लिनुभयो ।

उहाँ बसेकै ठाउँमा पुगेर गृहमन्त्री बालकृष्ण खाणले दीर्घायुको कामना गर्दै विगतमा शान्तिसुरक्षा कायम गर्न गरेको योगदानको प्रशंसा गर्नु भुल्नुभएन ।

देशका उच्च व्यक्तिले आफू बसेकै ठाउँमा भेट्न आउँदा चैतमायाले त्यतिबेला हर्षित मात्रै हुनुभएन, प्रहरी भएकामा गर्व पनि गर्नुभयो ।

त्यसो त उहाँले गोरखा दक्षिणबाहु चौथो, प्रहरी सेवा पदकलगायत पनि प्राप्त गरिसक्नुभएको छ ।

कामको दौरान उहाँ चितवन, नुवाकोट र तनहुँको तत्कालीन सदरमुकाम बन्दीपुर पनि खटिनुभएको थियो ।

महिला प्रहरी देखेपछि आन्दोलनकारी हच्किए

विसं २०२१ मा बन्दीपुरबाट दमौली सार्दा आन्दोलन भएको थियो र भिड नियन्त्रणमा महिला प्रहरीलाई अगाडि राखिएको थियो ।

त्यसमा सरिक हुनुभएका चैतमायाले महिला प्रहरी देखेपछि आन्दोलनकारी हच्किएको बताएको प्रहरीले प्रकाशन गरेको एक पुस्तकम उल्लेख छ ।

अहिले विभिन्न प्रहरी तालिमहरूमा पहिलो महिला प्रहरीका रुपमा उभिएर प्रेरणा दिन उहाँले छाड्नुभएको छैन ।

कानुनतः ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ तर नेपाल प्रहरीमा अहिले पनि तिनको सङ्ख्या न्यून छ ।

हाल नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक,आठ-आठ प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक, २९ प्रहरी नायब उपरीक्षक, ११७ प्रहरी निरीक्षकसहित आठ हजार ३५६ महिला प्रहरी कर्मचारी छन् ।

सबैभन्दा बढी जवान महिला छन् । कुल प्रहरीको दरबन्दी ७९ हजार ५३८ भए पनि हाल ७६ हजार १०१ प्रहरी कार्यरत रहेकामा झण्डै ११ प्रतिशत मात्रै महिला छन् ।

विसं २०१२ मा ऐन आएपछि मात्रै प्रहरी सङ्गठन औपचारिक रुपमा गठन भएको मानिन्छ ।

त्यही दिनको सम्झनामा प्रहरी दिवस मनाउने गरिएको छ । ऐनमा लालमोहर लाग्नुअघि नै प्रहरी भर्ना गरिएको थियो ।

त्यसमाथि महिला पनि सहभागी थिए । चैतमाया त्यसैको एउटा उत्पादन हुनुहुन्छ ।

प्रहरीको इतिहास खोतल्दा विसं १९५५ तिर तराईमा हुने आपराधिक क्रियाकलाप रोक्न अमिन प्रहरी स्थापना भएको पाइन्छ ।

पहाडतिर मिलिसियो बनाइएको थियो । विसं १९६७ मा काठमाडौँमा कोतवाली प्रहरीको स्थापना भएको थियो ।

आलेख : “अनि पुलिसमा जागिर नखाएर भो ?” आलेख : “अनि पुलिसमा जागिर नखाएर भो ?”