एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैनः मन्त्री झाँक्री

एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैनः मन्त्री झाँक्री

चितवन-सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कि त सरकार छोडेर सडकमा जानु पर्‍यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।

”सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले थप्नुभयो, “विरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।”

सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उहाँले एमसिसी गलत भए आँफुहरु ब्याक हुने बताउनुभयो ।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उहाँले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताउनुभयो ।

एमसिसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उहाँको भनाइ थियो ।

पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उहाँले यस विषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो ।

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसिसी टेबुल गर्न चाहेकोे भन्दै उहाँले अहिले (नेकपा एमाले)को मौनताले केही असहज बनाएको बताउनुभयो ।

एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैनः मन्त्री झाँक्री

५ जना सहसचिवको सरुवा

काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको मन्त्रालयको बैठकले विभिन्न मन्त्रालय तथा सामान्यकै अतिरिक्त समुहमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् ।

यस्तै महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा अन्तर्गतका सहसचिव उमेश ढुंगानालाई अतिरिक्तमा तानिएको छ ।

सामान्य प्रशासन मान्त्रालयले अतिरिक्तमा रहेका सहसचिवद्वय बासुदेव घिमिरे र सुर्य प्रसाद सेढाईलाई गृह मन्त्रालय पठाएको छ ।

साथै मन्त्रालय स्रोतका अनुसार दिपक घिमिरेलाई राष्ट्रिय निजामती किताबखानामा सरुवा गरिएको छ ।

यस्तै शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयका सहसचिव रामचरित्रलाई इटहरी उपमहानगरपलिका सुनसरीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ ।

बिहानदेखि हिमपात

हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ ।

यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ ।

नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ ।

सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ ।

त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ ।

हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भन्नुभयो “यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।”

यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरुलाई निःशुल्क स्याउका विरुवा वितरण गरिने भएको छ ।

यसका लागि १२ हजार ५०० विरुवा जुम्लाबाट यहाँ ल्याइएको छ ।

हवाई मार्गबाट स्याउका विरुवा ल्याएको कृषि प्राविधिक शर्मिला शाहीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “हुम्लालाई स्याउ जोनका रुपमा विकसित गरिने उद्देश्य रहेको छ । स्याउ उत्पादन मार्फत कृषकको जीवनस्तर सुधार गरिने छ । ”

बीमा संस्थान ५५औँ वर्षमा

काठमाडौँ-राष्ट्रिय बीमा संस्थान ५५औँ वर्षमा प्रवेश गरेको छ ।

सो संस्थाबाट हालसम्म ६ लाख ३८ हजार ७९३ जनाले बीमा सेवा लिएका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५ करोड बीमा शुल्क सङ्कलन गर्नुका साथै १९ जीवन बीमा कम्पनीमा संस्थानको बजार हिस्सा ८ दशमलव ५३ प्रतिशत रहेको छ ।

संस्थाको शाखा २२ पुगेको छ । यो वर्षभरिमा शाखा २८ पु¥याउने संस्थानको उद्देश्य छ ।

वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासैनीले संस्थानमा देखिएका विभिन्न समस्या समाधान गर्दै संस्थानलाई प्रतिस्पर्धी संस्थाको रुपमा विकास गर्नुपर्न बताउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ प्रविधि र प्रणालीको भरपुर प्रयोग गर्दै बीमा व्यवसायलाई अझ विस्तार गर्नुपर्ने छ, प्रतिस्पर्धी बनाउनुपर्ने छ, त्यसका लागि सरकार, कर्मचारी र सम्वद्ध सबै सरोकारवाला निकाय प्रतिबद्ध भएर लाग्नुपर्ने छ ।”

ग्रामीण क्षेत्रमा सचेतनासँगै बीमा शिक्षालाई घर घरमा पु¥याउनुपर्ने उहाँको भनाइ छ ।

संस्थानका कार्यवाहक अध्यक्ष वसन्तराज पाण्डेले लेखा परीक्षण, संस्थानको साधारणसभा र कर्मचारीको वृत्ति विकासमा देखिएका सबै समस्याको समाधान गर्दै कर्मचारीलाई प्रोत्साहन हुने नीति ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

योसँगै बीमा व्यवसाय विस्तार, संस्थानको संरचना परिर्वतन, अभिकर्ताको वृत्तिविकास तथा प्रोत्साहन गर्ने नीति ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।

एक करोड अधिकृत पुँजीमा स्थापना गरिएको कम्पनीले २०३४ साल फागनु ११ गतेदेखि व्यावसायिक कारोबार सुरु गरेको थियो ।

अहिले संस्थानले सावधिक जीवन बीमा योजा, बालबच्चाको शिक्षा र विवाह सावधिक जीवन बीमा, अग्रिम भुक्तानी जीवन बीमा, दोहोरो लाभ जीवन बीमा र राष्ट्रसेवक सावधिक जीवन बीमा लागयतका योजना अघि सारेको छ ।

कामु प्रधानन्यायाधीश कार्कीद्वारा न्याय परिषदको बैठक आह्वान

कामु प्रधानन्यायाधीश कार्कीद्वारा न्याय परिषदको बैठक आह्वान

काठमाडौं-सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका छन् ।

उनले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि पहिलोपटक परिषदको बैठक बोलाएका हुन् ।

परिषदको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुनेछन् ।

बुधबारको बैठकले विशेष अदालतमा रिक्त अध्यक्ष र सदस्य पदमा न्यायाधीश सिफारिस गर्ने परिषदका प्रवक्ता एवं सहसचिव मानबहादुर कार्कीले जानकारी दिए ।

पाँच जना न्यायाधीश रहने विशेष अदालतमा हाल दुई जना मात्र रहेका छन् ।

त्यस्तै परिषदले अरु न्यायाधीश सरुवा र केहीको पदस्थापनको निर्णयसमेत गर्नेछ ।

कामु प्रधानन्यायाधीश कार्कीद्वारा न्याय परिषदको बैठक आह्वान

प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको छुट्टा छ्ट्टै भेटवार्ता

प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको छुट्टा छ्ट्टै भेटवार्ता

काठमाडौँ-गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा छ्ट्टै भेटवार्ता गर्नुभएको छ ।

संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न भेटवार्ता गर्नुभएको बताइएको छ ।

गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उहाँकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गर्नुभएको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

भेटका अवसरमा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श भएको बताइएको छ ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ ।

एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ ।

सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउने प्रयास जारी राखेको छ ।

प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको छुट्टा छ्ट्टै भेटवार्ता

नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्ने गरेको हो ।

कम्पनिले निष्कासन गरेको साधारण शेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरी जारी पूँजी(रु २५ करोड ५०लाख)को शुन्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरेपश्चात बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आव्हान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन २५ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयर खरिद गर्न आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

अधिकृत पूँजी रु ५० करोड र हालको जारी पूँजी रु २५ करोड ५० लाख तथा चुक्ता पूँजी रु १७ करोड २१ लाख २५ हजार रहेको कम्पनीले सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयरको बाँडफाँड पश्चात यसको चुक्ता पूँजी रु २५ करोड ५० लाख पुग्नेछ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइ आर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

अधिकृतको दरखास्त सुचारु

अधिकृतको दरखास्त सुचारु

काठमाडौँ-अदालतको आदेशबाट स्थगित शाखा अधिकृतको दरखास्त लोक सेवा आयोगले सुचारु गरेको छ ।

आयोगले उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशबाट राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको बढुवा सूचना तथा विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगन गरेको थियो ।

अदालतले अल्पकालीन आदेश रद्द गरी रिट निवेदनसमेत खारेज गरेको जानकारी आएको भन्दै आयोगले ११ गतेदेखि दरखास्त सुचारु गरेको जनाएको छ ।

अधिकृतको दरखास्त सुचारु

लोसपा संसदीय दलको बैठक: एमसिसीका विषयमा छलफल हुने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ ।

उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको (लोसपा)को आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ ।

उक्त पार्टीको संसदीय दल १३ सदस्यीय छ ।

एमसिसी सम्झौता छलफलका लागि सदनमा पेश भइसकेको अवस्थामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्वका साथ हेरिँदै आएको छ ।

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो ।

मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको शछ ।

सिग्देलका हत्यारा पक्राउ

झापाको दमक–५ का दिनेश सिग्देलका हत्यारा पक्राउ परेका छन् ।

हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।

सुनसरीको धरान–४ स्थित जङ्गलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेट्टिएको थियो ।

पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।

प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरी धरान–४ धरान भेडेटार सडकखण्डको जङ्गलमा जेब्रा झोलामा शव हालेर फ्याँकिएको पाइएको थियो ।

योजनाबद्धरूपमा अनिता र सरोजले सिग्देलको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थापाले जानकारी दिनुभयो ।

गत बुधबार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भेटिएको थियो ।

त्यसको भोलिपल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले हत्यामा संलग्न अनितालाई सोमबार नै नियन्त्रणमा लिएको थियो ।

सिग्देलकी जेठी श्रमतीको बयानका आधारमा प्रहरी अनिता र सरोजलाई पक्राउ गर्न सफल भएको हो ।

दुवै जनाले सिग्देलको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गर्नुभएको छ ।

सङ्घीय संसद्को संयोजन, विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम, सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रियामा उहाँले जनतालाई सही सूचना दिनेबारे जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले त्यसबारे जानकारी राख्नुपर्ने बताउँदै आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिडविरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गर्नुभयो ।

आफ्ना मतदाता र जनतालाई कोभिड–१९ जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिकाबारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको उहाँले बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले पहिलो चरणमा आफ्नो घर रहेको स्थानीय तहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउनसमेत सबैमा आग्रह गर्नुभयो ।

“कोभिड महामारीले हामीलाई अवसर पनि उपलब्ध भएको र यसका कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धि र राज्यको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेको छ, नेपालमा महामारीले निकै सङ्कटको अवस्था सिर्जना गर्‍यो, लाखौँको सङ्ख्यामा सङ्क्रमित भयौँ र हजारौँको ज्यान गयो,” उहाँले भन्नुभयो, “महामारीले ल्याएको सङ्कटसँगै स्वास्थ्य क्षेत्रको क्षमता र तयारीमा सुधार आएको छ, यो सकारात्मक पक्ष हो ।”

अध्यक्ष तिमिल्सिनाले यस्तै प्रकृतिको कार्यक्रम छिट्टै सातै प्रदेशका प्रदेशसभा सदस्यहरुको उपस्थितिमा क्रमशः आयोजना हुने जानकारी दिनुभयो ।

त्यसैगरी विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा संमाजीराव पाण्डवले कोरोना जस्ता महामारीले ल्याउने आपत्कालीन अवस्थाबाट कसरी सुरक्षित हुने र कोरोना खोपको आवश्यकताबारे जनतामा सचेतना फैलाउन नेपालका जनप्रतिनिधिले खेलेको भूमिकाको चर्चा गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनप्रतिनिधि जनताका लागि उदारणीय पात्र हुने भएकाले जनचेतना फैलाउन सांसदहरूलाई अनुरोध गर्नुभयो ।

ढालेन्द्रका साना ठूला गरेर १०० भेडा

बलेवा-तमानखोला गाउँपालिका–२ कटेरी गाउँका ढालेन्द्र छन्त्याल वर्षमा एक दुई पटकमात्रै घरमा पुग्नुहुन्छ ।

उच्च पहाडका जङ्गलमा भेडाको बथानका पछि उहाँको बाँकी दैनिकी चलिरहेको छ ।

वर्षाको समयमा तमानखोलाका उच्च पहाडमा चर्ने उहाँका भेडा हिउँदमा हिउँ परेपछि गलकोट नगरपालिकाको उच्च पहाडमा पुग्छन् ।

तीनै भेडाको पछि लाग्ने ढालेन्द्र र उहाँका साथीको दैनिकी हिउँद र वर्षामा फरक–फरक ठाउँमा चल्ने गरेको छ ।

ढालेन्द्रका साना ठूला गरेर १०० भेडा छन् । अरु सातजना साथीका पनि सोही सङ्ख्यामा भेडा छन् ।

सबैका भेडा एकै ठाउँमा चराउँदा धमिरो लागेको काठजस्तै देखिन्छन् पहाड ।

भेडीगोठका गोठाला ढालेन्द्र पेशामा सन्तुष्ट हुनुहुन्छ ।

साथीभाइ पालो गरेर घरपरिवारको रेखदेख गर्न पाइने, आफ्नै माटो, आफ्नै भाषा र आफ्नासँगै बसेर काम गर्दा हुने आम्दानीले उहाँलाई सन्तुष्ट बनाएको छ ।

लामो समय दुबई, कतार र साउदी अरबको तातो हावामा काम गर्नुभएका ढालेन्द्रले भेडा पाल्न थालेको पाँच वर्ष भयो ।

उहाँजस्तै विदेशमा दुःख भोगेर देशको माटो सम्झेका साथीको सहकार्यमा भेडा पाल्न थाल्नुभएका ढालेन्द्रले सुरुमा रु चार लाख लगानी गर्नुभएको हो ।

अहिले वर्षमा सबै खर्च कटाएर रु तीन लाख आम्दानी हुन्छ ।

“विदेशमा भोगेको दुःख सम्झेर यहाँ मेहनत गरेको छु, आफ्नै परिवारजस्तो लाग्छ भेडीगोठ”, उहाँले भन्नुभयो, “अब विदेश जान्न यतै रमाइलो छ ।”

उनीहरुले एउटा वयस्क भेडालाई रु ३५ हजारसम्ममा बेच्छन् । साना पाठापाठीको पनि रु १० देखि १५ हजार पर्छ ।

“विदेश पुगेपछि गाउँमै केही गर्न सकिन्छ भन्ने बुझेँ”, उहाँले भन्नुभयो, “अहिले थालेको व्यवसायमा सन्तुष्ट छु ।”

भेडापालनका लागि चरण क्षेत्र राम्रो भएकाले तमानखोला गाउँपालिका उपयुक्त क्षेत्र हो ।

अन्य उत्पादन कम हुने, जङ्गल र पाखा धेरै भएकाले यहाँका किसानले मासुजन्य उत्पादनमा ध्यान दिन्छन् ।

भेडाको उन र मासु दुवैबाट किसानले मुनाफा लिने गरेका छन् ।

कटेरी गाउँकै ओम पुनले आफ्नो जीवनको महत्वपूर्ण समय विदेशी माटोमा बिताउनुभयो ।

४८ वर्षीय ओम पुन बहराइन र साउदी अरबको तातो हावामा १२/१२ वर्ष काम गरेर अहिले गाउँ फर्किनुभएको छ ।

विदेशमा कमाएको पैसाले उहाँको पोखरामा घर छ । तर, ओमबहादुर भने तमानको हावापानी सम्झेर गाउँ फर्किनुभएको छ ।

“पोखरा बस्नै मन लागेन, भाइ बसाइँ सरेर गयो, बाबाआमा एक्लै हुनुभयो, अनि म गाउँ फर्किएँ”, उहाँले भन्नुभयो, “यहाँ शिक्षा, स्वास्थ्य र पूर्वाधार नभएर सुविधा सम्पन्न ठाउँ खोज्ने हामी अब यहीँ ती सुविधा पु¥याउन लाग्नुपर्छ ।”

पुनले बहराइनमा रहँदा गाउँकै जनज्योति आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन बनाउन जग्गाका लागि सहयोग अभियान चलाउनुभएको थियो ।

अभियानमा सङ्कलन भएको रु आठ लाखले जग्गा खरिद गरेर अहिले विद्यालयको पक्की भवन बनेको छ ।

पैतृक सम्पत्ति गाउँकै पाखोबारीमा खेतीपाती गरेर ओमबहादुरले घरखर्च चलाउनुभएको छ ।

जन्मे–हुर्केको ठाउँमा रमेर बाबाआमाको सेवामा खटेका ओमबहादुर विदेशबाट गाउँ फर्केर पाखो बारी कोतर्ने उदाहरण हुनुहुन्छ ।

कटेरिकै चुडामणि छन्त्याल पनि विदेशको कमाइले आर्जेको सम्पत्तिको सुख सयल छोडेर गाउँमा तरकारी फार्म चलाएर बस्नुभएको छ ।

बसाइँ सरेर जानेहरुले जग्गा नबेच्ने र बसाइँसराइको कागज नगर्ने भएकाले यहाँको वास्तविक तथ्याङ्क भने छैन् ।

तर गाउँमा सुविधा नभएको भनेर छोड्ने दिनानुदिन बढ्दै छन् ।

बसाइँ सर्ने रोगमा मलमपट्टी लगाउन गाउँ भित्रिएका ढालेन्द्र, ओमबहादुर र चुडामणिजस्ता युवा पनि छन् ।

विदेशबाट फर्केर गाउँमा उद्यम, व्यवसाय र खेतीपाती गर्नेलाई गाउँपालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याएको छ ।

“गतवर्षमा ४० वटा भेडीगोठ सुधारका लागि अनुदान दिएका थियौं”, गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “ऋणमा सहुलियत, व्यवसायमा अनुदान र प्रविधि तथा तालिम निःशुल्क उपलव्ध गराउने कार्यक्रम हामीसँग छन् ।”

गाउँ फर्केका युवाले गाउँमै भविष्य खोज्ने उहाँले बताउनुभयो ।

तीनै तहका सरकारले साथ सहयोग गरे गाउँमा पनि नमूना काम गर्न सकिने उदाहरण उनीहरुले दिएको स्थानीयवासी बताउँछन् ।

एमसीसीविरुद्ध सर्वोच्चमा दुईवटा मुद्धा दर्ता

एमसीसीविरुद्ध सर्वोच्चमा दुईवटा मुद्धा दर्ता

काठमाडौं-एमसीसीविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएको छ ।

संसदमा अनुमोदानका लागि दर्ता भएको एमसीसीविरुद्ध परेका दुई रिट निवेदनलाई सर्वोच्चले दरपिठ गरेको छ ।

एमसीसीका प्रावधानहरु जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रका लागि घातक हुने र सन्धी नभएकाले संसदबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपालले दिएको रिट सर्वोच्चले दरपिठ गरेको हो ।

एमसीसीको विषयमा सार्वभौम संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले निवेदन दरपिठ गरिदिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

एमसीसीविरुद्ध सर्वोच्चमा दुईवटा मुद्धा दर्ता

जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउ

काठमाडौँ-प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन’ विषयक छलफल कर्यक्रममा उहाँले संविधानले कर उठाउने दायराको अधिकांश हिस्सा केन्द्र सरकारलाई दिए पनि स्थानीय तहले जनताले तिर्न सक्ने न्यूनतम् र जायज हुने खालका कर उठाउन सक्ने बताउनुभएको हो ।

सभापति साहले कुखुराको अण्डा र ज्योतिषीलाई समेत महँगो कर लिइएको गुनासो आएकाले यसरी कर लिने जनप्रतिनिधि आगामी निर्वाचनमा जनताको परीक्षामा उत्तीर्ण हुन कठिन हुने जनाउनुभयो ।

“जनप्रतिनिधिले हामीले जे गरे पनि हुन्छ भन्ने भावनाले होइन, जनताका प्रतिनिधि हौँ भन्ने भावनाले काम गर्नुपर्छ,” उहाँले भन्नुभयो, “दीर्घकालीन योजनाका आधारमा बजेट तर्जुमा गरेर कानुनबमोजिम पारदर्शीरुपमा खर्च गरेमा बेरुजुका समस्या पनि आउने छैनन् ।”

उहाँले स्थानीय तहमा प्रत्यायोजित अधिकारलाई अतिक्रमण हुने गरी केन्द्र र प्रदेश सरकारले कुनै कानुन बनाउन नहुनेमा जोड दिँदै लेखा परीक्षण गर्दा साना कारोबारभन्दा ठूला कारोबारमा विशेष ध्यान दिन महालेखा परीक्षणको कार्यालयलाई आग्रह गर्नुभयो ।

नेकपा ९एमाले० का सांसद घनश्याम खतिवडाले असारमा एकै पटक खर्च गर्ने विकृतिको अन्त्य गर्न पारदर्शी वित्त व्यवस्थापन प्रणालीलाई लागू गर्न आग्रह गर्नुभयो ।

उहाँले अनुदानमुखी बजेट प्रणालीबाट मुक्त भई प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेशसभाका सदस्य रमेश पौडेलले शक्ति र पहुँचका भरमा योजना छनोट गर्ने प्रवृत्ति अन्त्य गर्न र सांसद विकास कोषलाई खारेज गर्न माग गर्नुभयो ।

नायब महालेखा परीक्षक पदमराज पौडेलले लेखा परीक्षणका समस्या र सम्बोधनका लागि नयाँ सफ्टवेयर लागू गर्ने तयारी भएको जानकारी दिनुभयो ।

हाल मुलुकभर रु ४१ अरब बेरुजु रहेको छ । स्थानीय सरकारको बेरुजु पाँच प्रतिशतको हाराहारीमा रहेको छ ।

अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले स्वीकृत नभएको खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न आग्रह गर्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डा गोपीकृष्ण खनालले सार्वजनिक खरिद ऐनका जटिलतालाई फुकाउन र ठेक्का दिने प्रक्रियामा सुधार ल्याउन आवयश्यक रहेको बताउनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले मापदण्डबिनाका योजना लाद्ने कार्यले स्थानीय सरकारलाई काम गर्न कठिनाइ हुने उल्लेख गर्नुभयो ।