चितुवाको आक्रमणबाट बालकको मृत्यु


काठमाडाै‌ सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्रास्ट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।भगवती आधारभूत विद्यालय कक्षा २ मा अध्यान्तर ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेको प्रनाउ थापाले बताउनुभयो ।


आगलागी हुँदा घर नष्ट


काठमाडौं- बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । गए राति विघुत सर्ट हुँदा भएको आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ । रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताउनुभयो । राति ९ बजेदेखि सुरु भएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो आगलागीलगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । आगलागीबाट घर पूर्णरूपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो । घर जलेर भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रनाउ रानाले बताउनुभयो

गोकर्णेश्वरको कार्यपालिका निर्वाचन शुक्रबार


काठमाडौं -गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो । निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा ९एमाले०ले उम्मेदवारी दर्ता गराएको छ । कार्यपालिकामा महिला सदस्य पाँच र दलित तथा अल्पसङ्ख्यक तीन पदका लागि निर्वाचन गर्न लागिएको हो । कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन् । कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य मतदाता रहने व्यवस्था छ ।महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवारी दिने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट दिनुपर्छ । नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौवटै वडाका अध्यक्ष रहने व्यवस्था छ ।गोकर्णेश्वर नगर प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको छ । पाँच वडाध्यक्ष एमाले, तीन वडाध्यक्ष कांग्रेस र एक वडाध्यक्ष स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।

फौजी किरालेमकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा


काठमाडौं- उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् । मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले”, त्रियुगा–१२ साधना टोलका गडुरध्वज धमलाले भन्नुभयो ।कृषि प्राविधिकको सल्लाह र सुझावअनुसार आफूहरूले विभिन्न किटनाशक औषधि प्रयोग गरेपनि प्रकोप नियनत्रणमा आउन नकसेको त्रियुगा–१२ बोटेटोलका कुमार रेग्मी बताउनुहुन्छ । त्रियुगा–११ साकेलाटोल र बरुवा क्षेत्रमा पनि मकैबालीमा फौजी किराको प्रकोप बढ्न थालेको स्थानीय हर्कबहादुर कार्कीले बताउनुभयो । साकेला टोल क्षेत्रमा मकैबालीमा दुई हप्तादेखि बिरुवाको पात तथा बोट फौजी किराले नष्ट गर्न थालेका छन् ।
त्रियुगा–१३ असारी क्षेत्रमा प्राविधिकको सल्लाहअनुसार विभिन्न किटनाशक औषधि प्रयोग गर्न थालेको किसानले बताएका छन् । ६ वर्षयता त्रियुगा क्षेत्रमा फौजी किराको समस्या देखिएको हो । समस्या सामाधानको उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दैआएका छन् ।

सार्वजनिक बिदाको दिन आइतबार समेत राहदानी विभाग खुल्ने

काठमाडौं- परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो । विभागमा सेवाग्राहीको चाप उल्लेखनीयरुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो । त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खोलिने आज जनाएको हो ।राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ ।

घट्यो सुनको मूल्य


काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार ७०० पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २७० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ ।

धनुषा र सिरहामा लोसपालाई निराशा


काठमाडौं- धनुसा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ । धनुषामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन् ।धनौजी गाउँपालिकाबाहेकमा निकटतम् प्रतिद्वन्द्वीसम्म पनि पार्टी हुन सकेन । धनुषाकोे १८ तथा सिरहाको १७ पालिकामध्ये लोसपाले एउटा पनि जित्न नसक्दा नेता तथा कार्यकर्ता निराश भएका छन् ।पार्टी विभाजनको असर, पार्टीभित्रको अन्तरसङ्घर्ष तथा टिकट वितरणमा भएको किचलो जस्ता कारणले लोसपाले धनुषा र सिरहाका कुनै पालिकामा जित्न नसकेको जनकपुरधाम उपमहानगरपालिका–४ का सुधीर साहले बताउनुभयो । “समयमा उपयुक्त उम्मेदवार तय गरी चुनाव जित्ने रणनीतिका साथ पार्टी गएको भए यस्तो नराम्रो परिणाम आउने थिएन”, उहाँले भन्नुभयो, “यसमा लोसपाका नेताहरूबाट धेरै कमी–कमजोरी भएका छन्, परिणामस्वरुप निराशाजनक परिणाम आएको हो ।” सर्वसाधारण मात्र होइन, स्वयं लोसपाका नेतासमेत आफ्नै कमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम आएको स्वीर्काछन् । “यस्तो परिणाम आउँछ जस्तो लागेको थिएन”, लोसपा धनुषाका अध्यक्ष परमेश्वर साहले भन्नुभयो, “यो परिणामबाट हामी आश्चर्यमा परेका छौँ ।” जसपाबाट केही समयअघि मात्रै अलग भएको र बीचमा सङ्गठनलाई जसरी लैजानुपर्ने थियो त्यसरी नसक्दा तथा टिकट वितरणमा भएको कमजोरीले हार बेहोर्नुपरेको उहाँको भनाइ छ । केही समयअघिमात्रै जसपाबाट अलग भएकाले पार्टी सङ्गठनको काम राम्ररी गर्न नसक्नु, पहिला जितेका पार्टीको तर्फबाट जितेका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसक्नु, जनताबीच आफ्नो एजेन्डा पु¥याउन नसक्नुजस्ता कारणले नसोचेको परिणाम आएको अध्यक्ष साह बताउनुहुन्छ । अहिलेको चुनावमा भएको कमी–कजोरीबाट पाठ सिकेर आगामी निर्वाचनमा बढी सिट जित्ने तयारीमा जुट्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
यस्तै मत परिणामले नेकपा ९एकीकृत समाजवादी०लाई पनि धनुषामा निराश बनाएको छ । एकीकृत समाजवादी सिरहामा भने एउटा पालिकाको अध्यक्ष जित्न सफल भएको छ । एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका रहेको धनुषामा १० पालिका कांग्रेसले जितेको छ । एमाले र जसपाले तीन÷तीन तथा माओवादी केन्द्रले एउटा स्थानीय तह जितेका छन् ।

दैलेखमा बस दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।


काठमाडौ‌ _ दैलेखमा बस दुर्घटनामा ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा बुधबार बस दुर्घटना भएको थियो । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का प्रेम सुनार र काशीराम पाण्डे, कालिकोटको पलता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिनुभयो । बसमा सवार अन्य व्यक्ति घाइते भएका छन् ।
घाइतेको स्थानीय स्वास्थ्यचौकी र कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ । म१ख ६६० नंको बस कालिकोटबाट सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गर्दा गए राति दुर्घटना भएको थियो ।

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् ।पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविनकुमार कर्णले जानकारी दिनुभयो । वीरगञ्जबाट दैनिक कम्तीमा ४० देखि ६० व्यवसायीले खुद्रा सामग्री लिएर पूर्व–पश्चिमका विभिन्न सहरमा जाने गरेका थिए । सङ्घमा आवद्ध ४६ खुद्रा ढुवानी व्यवसायीले खर्चअनुसारको ढुवानी भाडामा समायोजन गरिनुपर्ने माग राखेको सङ्घका अध्यक्ष बालकृष्ण पोखरेलले बताउनुभयो । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै ढुवानीमा पनि समयसापेक्ष मूल्य बढाउनुपर्ने व्यवसायीको माग छ ।

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु


काठमाडौं- लामोसाँघु जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

झापामा दुई महिला पालिका प्रमुखमा निर्वाचित


काठमाडौं- जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहनुभएको छ । महतरा नेकपा )(एमाले)बाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी बन्नुभएको हो ।झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई प्रमुख पदका उम्मेदवार बनाएको थियो । मुख्य दलका पाँच महिलाले प्रमुख पदमा उम्मेदवारी पाए पनि विजयी भने दुई जना मात्र हुनुभएको हो । एमालेले दमकमा गीता अधिकारी, बिर्तामोड नगरपालिकामा महतरा र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई अध्यक्षको उम्मेदवार बनाएको थियो । अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईँसँग पराजित हुनुभएको छ ।
यसैगरी कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमति राजवंशीलाई उम्मेदवार बनाएको थियो कार्की एमालेका बलदेव गोम्देनसँग पराजित बन्नुभयो भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी बन्नुभएको हो ।
बिर्तामोड नगरप्रमुख महतरा २०७४ सालको निर्वाचनबाट उपप्रमुख पदमा विजयी बन्नुभएको थियो । राजवंशी २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपासँग पराजित हुनुभएको थियो । झापामा अघिल्लो निर्वाचनमा कमल गाउँपालिकाले मात्र महिला अध्यक्ष पाएको थियो । जिल्लाका १२ पालिकामा महिला उपप्रमुखमा निर्वाचित हुनुभएको छ भने कचनकवल, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगपालिकामा मात्र पुरुष उपप्रमुखमा निर्वाचित हुनुभएको छ ।

बसको ठक्करबाटह प्ररीसहित दुई जनाको मृत्यु

काठमाडौं- झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश१–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवकको मृत्यु

चरिकोटमा
काठमाडौं दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ ।
नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो । मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताउनुभयो ।
घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख गङ्गा पौडेलले बताउनुभयो । मृतक बस्नेतका बुबा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । झ्याकुस्थित मानेडाँडा माविमा कार्यरत यानबहादुर काम सकेर साँझ ६ः३० बजे घरबाट निस्किएका र अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय तथा आफन्तले खोजीकार्य जारी राखेका थिए । मङ्गलबारदेखि बेपत्ता भएका यानबहादुर आज बिहान झ्याकुस्थित सर्सेपु विद्यालय नजिकैको जङ्गलमा मृत फेला परेको प्रहरीले जनाएको छ


तनहुँमा पाँच पालिका प्रमुख र उपप्रमुखमा कांग्रेस

काठमाडौं – स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ ।

उक्त सङ्ख्यामा विजयी हासिल गरेसँगै कांग्रेस पहिलो ठूलो पार्टी बनेको छ । जिल्लाको १० पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुखसहित कांग्रेस उक्त सङ्ख्यामा विजयी भएको हो ।

दश पालिकामा प्रमुख र उपप्रमुख गरी जिल्लाभरी बीस जना उम्मेद्वार विजयी भएको जिल्ला निर्वाचन कार्यालयकी कम्पयुटर अप्रेटर दुर्गामाया आलेले जानकारी दिनुभयो ।
वडाध्यक्ष ८५, महिला सदस्य ८५, दलित महिला सदस्य ८५ र वडा सदस्य १७० गरी कूल ४४५ जना उम्मेदवार विजयी भएको उहाँले बताउनुभयो । कांग्रेस वडाध्यक्ष ४६, महिला सदस्य ४७, दलित महिला सदस्य ४७ र वडा सदस्य १०० मा विजयी भएको छ ।

त्यसैगरी नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेबाट चार प्रमुख र दुई उपप्रमुखसहित १५५ सिटमा विजयी भएको छ । वडाध्यक्ष २८ महिला र दलित महिला ३२-३२ र वडा सदस्य ५७ सिटमा विजयी गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले एक प्रमुख र तीन उपप्रमुखसहित ३४ सिटमा विजयी भएर तेस्रो स्थानमा रहेको छ । वडाध्यक्ष सात, महिला सदस्य पाँच, दलित महिला सदस्य छ र वडा सदस्य १२ वटामा विजयी भएको हो ।

त्यसैगरी, स्वतन्त्रबाट चार वडाध्यक्ष, एक महिला सदस्यमा विजयी भएको छ भने राप्रपाले एक वडा सदस्यमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

वाग्मती नदी किनारमा फोहर फाल्ने र ढल हाल्नेलाई रु पाँच हजार जरिवाना

काठमाडौं – वाग्मती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई काठमाडौँ महानगरपालिका वातावरण विभागले रु पाँच हजार जरिवानासहित कारबाही गरेको छ ।

वाग्मती सफाइ महाभियानका अभियानकर्मीको पहलमा महानगरपालिकाले जरिवानास्वरुप कारबाही गरेको हो ।

गत शनिबार ४७१ औँ हप्ताको सफाइका क्रममा सिनामङ्गलस्थित वाग्मती पुलबाट ५०० मिटर दक्षिण वाग्मती नदी सफाइ अभियानको क्रममा केही घरधनी र पसलेले पैदल हिँड्ने बाटो छेकी सामग्री राखेको र फोहर फालेको भेटिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

सडकमा राखिएका सामग्री पनि महानगरपालिकाको पहलमा हटाइएको छ । रामप्रसाद भुसालले घर अगाडि फोहर राखेको र ढलसमेत बाटोमा निष्कासन गरेकाले महानगरपालिकाले रु पाँच हजार जरिवाना गरेको हो ।

अपुरी नामको निजी कम्पनीलाई कारबाही गरी घरधनीलाई फोहर आफैँ व्यवस्थापन गर्न लगाइएको छ । यसै हप्तादेखि महाभियानले सफाइको स्वरुप परिवर्तन गरी फोहर गर्नेलाई जरिवाना गराउन सरोकार भएका निकायलाई सहयोग गर्ने सार्वजनिक गरेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान हालै नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा सफाइको स्वरुप परिवर्तन गरिएको हो ।

महाभियानले नदी किनारमा सिसीटिभी राखी फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत सरोकार भएका निकायको पटकपटक ध्यानाकर्षण गराएको छ ।