नेकपा एस र जसपालाई सरकारमा ल्याउन प्रचण्डले थाले पहल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् ।

नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

अहिले हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता जारी रहेको छ ।

यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी प्रचण्डको छ ।

११ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडाै । बढुवा सिफारिस समितिले ११ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा ती उपसचिवहरुलाइ राप प्रथम श्रेणी (सहसचिव)मा बढुवा लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएकामा परराष्ट्र सेवाबाट २,प्रशासन सेवातर्फका ७ र लेखापरीक्षण समूहका २ उमेद्धार रहेका छन् । जसअनुसार परराष्ट्र सेवाबाट खड्गप्रसाद दाहाल र प्रकाशमणि पौडेल,प्रशनसनतर्फका रामकृष्ण पुडासैनी,वावुराम ज्ञवाली,जनकराज शर्मा,कमल बहादुर रजलवट,बद्रीबहादुर कार्की,अर्जुन गौतम र तेजप्रसाद दाहाल रहेका छन् ।

यस्तै लेखापरीक्षणतर्फका जयराम घिमिरे र नारायणप्रसाद पराजुली बढुवाका लागि सिफारिसमा परेका छन् ।

यस्तै संसद सेवातर्फका ५ अधिकृत कार्यक्षमता मुल्यांकनका आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ ।

वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।

संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभइ फरक–फरक मितिमा निर्वाचन हुनेछ ।

यस निर्वाचनमा सङ्घीय संसद् (३३४) र प्रदेशसभाका सदस्य (५५०) मतदाता हुनेछन् । मुलुकको विद्यमान जनसङ्ख्या अनुसार यी पदको निर्वाचनका लागि सङ्घीय संसद्काप्रति सदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ ।

आयोगले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन गत मङ्सिर २९ गते प्रतिवेदन बुझाएको थियो । राष्ट्रपतिको आह्वान बमोजिम दुईभन्दा बढी दलको समर्थनमा यही पुस १० गते नयाँ सरकार गठन भइसकेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।

निर्वाचनमा उम्मेदवार हुन सङ्घीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ । निर्वाचनमा मनोनयनका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक पर्ने कानुनी व्यवस्था छ ।

नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाए

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनको समीक्षा गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पुस २२ गते बिपी नगर सानेपामा बैठक बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, समसामयिक राजनीतिका सन्दर्भमा र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको सो पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

नेपाल राष्ट्र बैंककाे आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । 

अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा २०२२ अक्टोबरमा प्रकाशित वल्र्ड इकोनोमीक आउटलुक अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशतले सङ्कुचन भएकोमा सन् २०२१ मा ६.० प्रतिशतले विस्तार भएको छ । सन् २०२२ मा यस्तो वृद्धिदर ३.२ प्रतिशत र सन् २०२३ मा २.७ प्रतिशत रहने मुद्राकोषको प्रक्षेपण रहेको छ । 

अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२२ मा विकसित देशहरूको आर्थिक वृद्धिदर २.४ प्रतिशतले, उदीयमान तथा विकासोन्मुख देशहरूको ३.७ प्रतिशतले र उदीयमान तथा विकासोन्मुख एशियाली देशहरूको आर्थिक वृद्धिदर ४.४ प्रतिशतले धनात्मक हुने प्रक्षेपण छ । सन् २०२२ मा छिमेकी राष्ट्र भारत र चीनको अर्थतन्त्र क्रमशः ६.८ प्रतिशत तथा ३.२ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।

सन् २०२२ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति ७.२ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ९.९ प्रतिशत रहने अनुमान छ । सन् २०२१ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ३.१ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ५.९ प्रतिशत रहेको थियो ।  
केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा कृषि क्षेत्रको उत्पादन २.३० प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ६.८८ प्रतिशतले बढेकोअनुमान गरिएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ३.६ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूहको औसत मुद्रास्फीति क्रमशः ५.६९ प्रतिशत र ६.८३ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२ खर्व ३ करोड र कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु.१९ खर्व २० अर्ब ४५ करोड पुगेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा रु.१७ खर्व २० अर्ब ४२ करोड कायम भएको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ३५.५ प्रतिशत हो ।

आर्थिक वर्ष २०७८/७९ मा चालु खाता रु.६ खर्व २३ अर्ब ३३ करोडले र शोधनान्तर स्थिति रु.२ खर्व ५५ अर्ब २६ करोडले घाटामा रहेको छ । २०७९ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु.१२ खर्व १५ अर्ब ८० करोड कायम भएको छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा कुल ९ अर्ब ५४ करोड रहेको छ । २०७९ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चितिले ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिन्छ । 

आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारको अन्य प्राप्ति समेत गरी रु.११ खर्व १६ अर्ब ४२ करोड राजस्व संकलन भएको छ । कुल सरकारी खर्च रु.१२ खर्व ९६ अर्ब २४ करोड रहेको छ भने बैंकिङ कारोबारमा आधारित कुल सरकारी खर्च रु. १२ खर्व ५५ अर्ब ८४ करोड रहेको छ । 

आर्थिक वर्ष २०७८/७९ मा विस्तृत मुद्राप्रदाय ६.८ प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय ९.७ प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा १४.५ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १३.३ प्रतिशतले बढेको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९.० प्रतिशतले र ती संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ ।  

नेप्से परिसूचक ५६.८८ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज नेप्से ५९.८७ अंकले बढेर एक हजार ९ सय ८३ दशमलब ९५ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ५६.८६ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ०७ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । नेप्सेमा आज तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये २०२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । दुई वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज ५ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने चार वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।  

आज आँधिखोला लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र एनआइबीएल डिबेञ्चरको कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।  त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २० करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।    

चीनकाे झेंजियांगमा एक दिनमा १० लाख नयाँ संक्रमित थपिए

एजेन्सी । कोरोना महामारी बढ्दै गएपछि चीनले डिसेम्बर २४ मा नाका शिल गरेको थियो । तर अब चीन सरकारले जनवरी ८ देखि नाका खोल्ने निर्णय गरेको छ । यस्तै, चीनको झेंजियांग प्रदेशमा कोरोना तिव्रताकासाथ फैलिरहेको छ । साे प्रदेशमा एक दिनमा कोरोनाका १० लाख नयाँ संक्रमित थपिएका छन् ।

अब भाइरससँगै बाँच्नुपर्ने

२०२० जनवरीदेखि चीनमा कोरोनालाई ए क्याटोगरीका संक्रमित मानिएकाे थियाे । ग्वांडोङ, फुजियान र जिआंगसुमा स्वास्थ्य अधिकारीहरुलाई नेशनल हेल्थ कमिशनले जनवरी ८देखि कोरोनालाई बी क्याटिगोरीमा डाउनग्रेड गरिने बताएकाे थियाे। यसबाहेक बाहिरबाट आउने मानिसहरुकालागि क्वारेन्टाइनको पनि अन्त्य हुने भएकाे छ । यसबाट यो स्पष्ट हुँदैछ कि चीन सरकारले अब यसलाई सामान्य फ्लू मानिरहेको छ । यद्यपी, चीन जाने मानिसहरुले ४८ घण्टा पहिलेसम्मकाे आरटि पीसीआर रिपोर्ट देखाउनु पर्नेछ ।

चीनको नेशनल हेल्थ कमिशनले डिसेम्बर २४मा अब कोरोना संक्रमणको जानकारी नदिने बताएकाे थियाे । कोरोनासँग लड्ने एक समितीका प्रमुख सुन चुनलानका अनुसार देशमा कोरोनाको ओमिक्रोन भेरियण्ट कमजोर भएको छ । यसबाट अब कुनै खतरा छैन । सरकारले एडभाइजरी सार्वजनिक गर्दै कोरोनाको खतरा नरहेको बताएको छ ।

यस्तै, चीनकाे सिचुहान प्रदेशमा ६० प्रतिशत मानिसमा गरिएको सर्वेक्षण अनुसार उनीहरुमा कोरोना रिपोर्ट पोजिटिभ आएको छ । त्यहाँको प्रशाषनले एक लाख ५८ हजार मानिसहरुमा गरेको सर्वेक्षणमा तीमध्ये ९ लाख भन्दा धेरै मानिसहरुमा कोरोना पाइएको छ ।

बेलायतले दैनिक संक्रमितको संख्या रिर्पोट सार्वजनिक नगर्ने

बेलायतको नेशनल हेल्थ अथोरिटीले २०२३ जनवरीदेखि कोरोना संक्रमितको जानकारी नदिने बताएकाे छ । अर्थात् अब बेलायतका तर्फबाट नयाँ कोरोना संक्रमितहरु र संक्रमणबाट हुने निधनको तथ्यांक दिइनेछैन । हेल्थ अथोरिटीका अनुसार कोरोना सामान्य भएको छ । मानिसहरु हरेक दिन कोरोनाका साथ बाँचिरहेका छन् । अब यसलाई सामान्य भइरल र सिजनल फ्लू मानिनेछ । यसको मोनिटरिङ भएपनि तथ्यांक सार्वजनिक भएको छैन ।

बीएफ ७ भन्दा पनि खतरा भेयिरण्ट आउन सक्छ

हरेक नयाँ भेरियण्टले कोरोनाको म्यूटेशनमा सहयोग गर्न सक्ने र यो अझै खतरनाक हुनसक्ने केहि विज्ञहरुले दाबी गरेका छन् । विज्ञहरुका अनुसार यो भाइरसको म्युटेशन भएमा थप महामारी हुन सक्नेछ ।

जोन्स हपकिन्स युनिभर्सिटीको इन्फेक्सन डिजिज एक्सपर्ट डा. स्टुअर्ट केंपबेल रेले ब्लूमबर्गलाई दिएको अन्तर्वातामा कोरोनाको नयाँ भेरियण्ट ओमिक्रोन भेरियण्ट जस्तै हुन सक्ने, स्ट्रेनको कम्बिनेशन हुन सक्ने वा पुरै फरक हुन सक्ने बताए । चीनको जनसंख्या धेरै छ र कम मानिसमा मात्र काेराेना विरुद्ध इम्युनिटी बनेको छ । यस्तोमा नयाँ भेरियण्ट उत्पन्न हुने डर धेरै छ ।

विश्वमा ६६ करोड २१ लाखभन्दा धेरै संक्रमण

वल्डोमिटरका अनुसार विश्वमा अहिलेसम्म ६६ करोड २१ लाख ५० हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २०२० जनवरी ११मा चीनको वुहानमा ६१ वर्षको वृद्धको निधन भएको थियो । यो विश्वमा कोभिडबाट भएको पहिलो मृत्यु थियो ।

त्यसपछि कोरोना संक्रमणका कारण मानिसहरुले निरन्तर ज्यान गुमाउन थालेका छन् । अहिलेसम्म कुल ६६ लाख ८७ हजार २११ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

भारत र नेपालमा यस्ताे छ अवस्था

भारतमा पनि काेराेना संक्रमितकाे संख्या दिनानुदिन बढिरहेकाे छ । २४ घण्टामा भारतमा १५७ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ र एक जनाकाे काेराेनाका कारण निधन भएकाे छ । बढिरहेकाे काेराेना संक्रमणा दरलाइ मध्यनजर गर्दै भारत सरकारले स्वास्थ्य सुरक्षा बढाएकाे छ ।

गत साता काेराेना संक्रमण दर ११ प्रतिशतले बढ्याे । डिसेम्बर १२ देखि १८ सम्म एक साताभित्र भारतमा एक हजार १०३ जनामा काेराेना पुष्टि भएकाे थियाे । साे समयमा संक्रमणका कारण २० जनाले ज्यान गुमाएका थिए। डिसेम्बर १९ देखि २५ सम्ममा छिमेकी राष्ट्रमा एक हजार २१९ जना संक्रमित थपिए । यस्तै, यस अवधिमा १२ जनाकाे निधन भएकाे थियाे ।

नेपालमा भने साेमबार केवल एक जनामा काेभिड १९ संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएकाे छ । २४ घण्टामा गरिएकाे कुल ९०३ नमुना परिक्षणमा मात्र एक जनामा संक्रमण पुष्टि भएकाे हाे। देशभरमा हाल १० जना सक्रिय संक्रमित रहेका छन् ।

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा तोकियो पेशी

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा पुस २२ गतेका लागि पेशी तोकेको छ ।

लामिछानेको सांसदको योग्यताबारे प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलासहितले दायर गरेको रिटमाथि संवैधानिक इजलासमा गत पुस ६ गते सुनुवाइ भएको थियो। इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग छलफलपछि यसबारे निर्णय दिने आदेश गरेको हो।

संवैधानिक इजलासमा पुस ६ गते सुनुवाइ भए पनि मङ्गलवार मात्र आदेशको प्रमाणित प्रति आएको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि दल र उम्मेदवारी दर्तामा कानुन बमोजिम स्वतः निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै शपथ लिन रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट परेको थियो।

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै लामिछाने सोमबार मात्रै उपप्रधान तथा गृह मन्त्री नियुक्त भएका छन्।

साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

श्रेष्ठले यसअघि नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

सुनको मूल्यमा बृधि

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले बढेर एक लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य मंगलबार पनि स्थिर रहेर १ हजार ३९० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको थियो ।

जसपा सरकारमा सहभागी नहुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी नहुने भएको छ । जसपाको राजनीतिक समितिको बैठले सरकारमा जाने या नजाने विषयमा निर्णय गरि नसकेकोले तत्काल सरकारमा सहभागी नहुने भएको हो ।

यहीँ पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषयमा निर्णय गर्ने जसपाले बताएको छ । तोकिएको समायावधिमा पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागी हुने या नहुने विषयमा निर्णय गरिसकेको छैन ।

मन्त्रालय कम र दबी दोबर

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबार गठित ८ सदस्यीय मन्त्रिपरिषद् पछि बाँकी पद बाँडफाँटमा सत्तारूढ दलहरूबीच हानथाप हुने देखिएको छ । शपथ लिइसकेका चार मन्त्रीका लागि मन्त्रालय तोकिनै बाँकी रहँदा र मन्त्रिपरिषद्मा कुन दलबाट कति मन्त्रालयमा प्रतिनिधित्व रहने भन्नेमा पनि सहमति नभई सकेको अवस्थामा दाबी संख्या ३० पुगेका छन् ।

जसमा एमालेले १०, माओवादी ७, राष्ट्रिय स्वतन्त्र र जसपा ३/३, जनमत र नागरिक उन्मुक्ति २/२ रहेका छन् ।

माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्रसहित १ सय ६९ सांसदको समर्थन छ । एमालेले राष्ट्रपति र सभामुख लिने सहमति भए पनि उपराष्ट्रपति, उपसभामुख, मन्त्रालय र प्रदेश प्रमुख भागबन्डा गर्न बाँकी छ ।

सत्ता गठबन्धनसँग सातै प्रदेशमा बहुमत रहेका कारण मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुखसहितका पदमा सहमति गर्नुपर्नेछ भने संसदीय समिति सभापति पनि उनीहरूले भागबन्डा गर्नेछन् ।

दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहा, गिरीशचन्द्र लाल नेतृत्व आयोगको प्रतिवेदन सार्वजनिक र टीकापुर घटनाका मुद्दा खारेज जस्ता माग सम्बोधन भएपछि मात्रै सरकारमा जाने जनाएको छ भने सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र किरणकुमार साह पनि मन्त्री बन्ने दौडमा छन् ।

१४ सांसद रहेको राप्रपाले पहिला सरकारको काम हेर्ने र जनताप्रति उत्तरदायी भएर काम गरेको देखिए मात्र सरकारमा जाने निर्णय गरेको छ । १२ सांसद रहेको जसपाले पनि सरकारमा जाने नजाने निर्णय गरिसकेको छैन । उता १० सिट भएको एकीकृत समाजवादीलाई पनि सरकारमा लैजान छलफल हुँदैछ ।

दुई चोटी प्रधानमन्त्री भई सकेका दाहालको तेस्रो पटक सिंहदरवारको यात्रा त्यति सहज भने पक्कै देखिँदैन ।

संकटमा रहेको अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन पहल गर्ने: अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोमबार सिंहदरबारमा कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले अर्थतन्त्रमा देखिएको संकटको व्यवस्थापनका लागि पहिलो प्रथामिकता दिने बताएका हुन ।उनले भने, ‘के कारणले देशको अर्थतन्त्र के कारणले बिग्रेको हो पनि खोज्ने छु। यसमा विज्ञहरुलाइ्र्र साथमा लिएर संकटमा रहेको अर्थतन्त्र सुधारका बाटाहरु खोज्ने छु ।’  

अहिलेको नेपालको अर्थतन्त्रमा पहिला प्रथामिकता भनेको विदेशी मुद्रा जोगाउन आयातमा गरिएको कडाइले पारेको व्यापार चत्र रहेको छ  । त्यसले सरकारको राजस्व संकलनमा उल्लेख्य गिरावट देखाएको छ ।

यसको कारण  मंसिर मसान्तसम्म ४ खर्ब ६४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य सरकारले लिएमा जम्मा ३ खर्ब २६ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ। यो लक्ष्यभन्दा १ खर्ब ३८ अर्ब अर्थात् ३० प्रतिशतले कम हो। गत वर्षकोभन्दा २० प्रतिशत कम हो। 

प्रधानमन्त्रीद्वारा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ । प्रचण्डले तीन जना उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । 

एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।  

एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बनेका छन् भने जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त भएका छन् । 

दाहाल नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन् । सोमबार दाहालसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिएका हुन् ।

एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् ।
एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।