आर्थिक संकट समाधानको लागी नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो २० बुँदे ज्ञापनपत्र

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे आज बिहान ९ बजे नेकपा एसले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो ।

माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, बेदुराम भुसाल र गङ्गालाल तुलाधर लगायतका नेताहरुले ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए ।

देशको अर्थतन्त्र गम्भीर सङ्कटतिर उन्मुख भइरहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीले आर्थिक सङ्कट समाधान गर्न सरकारले तत्काल चाल्नु पर्ने कदम र अपनाउनु पर्ने आर्थिक रणनीतिका २० बुँदा सरकारलाई सुझाएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ”मुलुकमा राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको छ। गत मंसिरसम्मको तथ्याङ्क अनुसार राजस्व उठ्ती २०‍.७ प्रतिशतले नकारात्मक भएको छ। बैंक ब्याज चर्को हुँदा ऋण लिएर कारोबार गर्ने अधिकांश साना र मझौला व्यवसायी धराशायी अवस्थामा पुगेका छन्। ऋण तिर्न नसकेर दैनिक जसो किसान तथा साना र मझौला व्यवसायीले आत्महत्या गरिरहेका छन्। ठूला व्यवसायीहरू पनि गम्भीर सङ्कटतर्फ उन्मुख भएका छन्।

उच्च शिक्षाका लागि युवा विद्यार्थीहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीले विगत तीन वर्षमा मात्रै आकर्षक विषय मानिएका र एक वर्ष अघिसम्म भर्ना पाउनका लागि विद्यार्थीहरूको ठूलो सङ्ख्याको दबाब झेलिरहेका सरकारी लगानीका कलेज (आङ्गिक क्याम्पस)हरुले पनि विद्यार्थी भर्नाको कोटा पुरा गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ ।

मुलुकको अर्थतन्त्र विस्तारित नहुनु र सङ्कटग्रस्त हुनुका आर्थिक तथा गैर आर्थिक कारण रहेको उल्लेख गर्दै लेखिएको ज्ञापन पत्रमा भनिएको छ, ‘लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समग्र राज्य र राजनीतिक दल उदासिन छन् । देशमा सुशासनको अभाव छ। अति पछौटे र झन्झटिलो सरकारी कार्य प्रणाली छ। सरकारी निकायका हरेक काममा ढिलासुस्ती छ । सरकारी कर्मचारीहरूमा आमरुपमा सेवा भावको कमी देखिन्छ।’

यी हुन् नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएका २० बुँदे सुझाव

१. संविधानमा उल्लिखित आर्थिक नीति कडाईका साथ लागू गरियोस् ।
२. युवा, विद्यार्थी र बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चालियोस् ।
३.कक्षा-८ देखि कक्षा १२ सम्मका पाठ्यक्रममा एक विषय अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठहरु राखियोस, जसबाट स्वदेशमै बसेर केही गर्ने र देश बनाउने जिम्मेवारी बोध होस् ।
४. विद्यार्थीहरुको विदेश पलायन रोक्नका लागि देशभित्र विद्यार्थीले पढ्न चाहेका विषयमा पर्याप्त सीट संख्या उपलब्ध गराइयोस् । यसका लागि संभव भएसम्म सरकारी कलेजहरुमा सीट संख्या बढाउने र सरकारी लगानीले नपुग्ने अवस्थामा निजी र सहकारी क्षेत्रमा स्थापित शैक्षिक संस्थालाई सम्बन्धन दिई देशभित्रै पठनपाठन हुनसक्ने वातावरण बनाइयोस् ।
५ अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि कृषि उत्पादन बृद्धिमा जोड दिनुको साथै कृषि उपज बिक्रीको प्रत्याभूति गरियोस् ।
६. भौतिक निर्माण – विकासका योजना निर्माण र बजेट विनियोजन प्रणालीमा आमूल परिवर्तन गरियोस् । भौतिक विकास-निर्माणको योजना उत्पादन बृद्धितर्फ, अति आवश्यकताको क्षेत्र छनौट गरेर, रोजगारी बृद्धि हुनेगरी, युवा श्रमशक्ति देशमै अड्याउने योजनाका साथ खर्च गर्ने, सोही अनुसार बजेट विनियोजन गर्ने प्रणाली स्थापित गरियोस् । बहुवर्षीय योजनाका नाममा नाममात्रको बजेट छुट्याउने र वर्षौंवर्षसम्म आयोजना पुरा नहुने परिपाटी अन्त्य गरियोस् ।
७. विद्युतीय उर्जा प्रयोग बढाउँदै लैजाने र जैविक इन्धन आयातमा कटौति गर्दै लैजाने सुनिश्चित आवधिक योजना अगाडि सारियोस् । सस्तोमा विद्युत निर्यात गर्ने र सुखा याममा महँगोमा खरिद गर्ने हालको व्यवस्थामा परिवर्तन गरियोस् । सरकारी लगानीमा निर्माण गर्ने जलविद्युत आयोजनाको कामलाई तत्काल प्रभावकारी रुपमा अगाडि बढाइयोस् तथा सरकारी लगानीले नपुग्ने अवस्थामा निजी र सहकारी क्षेत्रलाई विशेष सहुलियत दिई विद्युत उत्पादनमा लाग्न प्रेरित गरियोस् ।
८. वैदेशिक लगानी भित्र्याउन सहज व्यवस्था गरियोस् ।
९. अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गरियोस् ।
१०. अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्ने अभियान शुरु गरियोस् ।
११. कृषि भूमिको सुरक्षा र भूमिसुधार कार्यक्रम अगाडि सारियोस् । कृषियोग्य भूमि प्लटिङ गरी घडेरी विक्री गर्ने प्रचलनलाई कडाईका साथ नियन्त्रण गरियोस् । समग्र देशको भूसूचना प्रणालीलाई विद्युतीय माध्यमबाट एकीकृत गरियोस् ।
१२. बैंक तथा वित्तीय संस्थाहरुको वचत तथा ऋण नीतिमा तत्काल सुधार गरियोस् । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा बढीमा ४% (चार प्रतिशत) ब्याज दिन पाउने र ऋण प्रवाहमा बढीमा ७% ( सात प्रतिशत) मात्रै ब्याज लिन पाउने व्यवस्था तत्काल लागू गरियोस् । यसैगरी बचत तथा ऋण सहकारी संस्थाहरुले निक्षेपमा बढीमा ८% (आठ प्रतिशत) ब्याज दिन पाउने र कर्जा दिँदा बढीमा १२ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था तत्काल लागू गरियोस् ।
१३. समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिमाना नतिरी कर तिर्ने सुविधा आगामी आषाढ मसान्त २०८० सम्म प्रदान गरियोस् ।
१४. भाखा नाघेका ऋणीहरुले लिएको ऋणको किस्ता र ब्याज तिर्ने अवधि अगामी आषाढ मसान्त २०८० सम्मलाई बढाइयोस् ।
१५. सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिई उद्योगले पाउने सुविधा दिइयोस् ।
१६. अब आउने वर्षेबालीका लागि समयमै रासायनिक मल उपलब्ध गराउन अहिलेदेखि नै काम अगाडि बढाइयोस् ।
१७. महँगी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चालियोस् ।
१८. पैदल मार्ग र सहरका विभिन्न स्थानमा सडक व्यापार गर्ने वर्ग समुदायका लागि बिहान-बेलुकी निश्चित उपयुक्त समय निर्धारण गरी व्यवसाय गरी बाँच्ने अवसर दिइयोस् ।
१९. असंगठित क्षेत्रका श्रमिकहरूले श्रम ऐनले तोकेबमोजिम ज्याला र सुविधा पाउने व्यवस्थालाई कडाईका साथ लागू गरियोस् ।
२०. खर्चिलो निर्वाचन प्रणालीमा आमूल परिवर्तन गरियोस् । वर्तमान परिपाटी अनुसार हरेक तहको निर्वाचन धेरै खर्चिलो भएको छ । खर्चिलो निर्वाचन प्रणाली भ्रष्टाचारको एक प्रमुख कारक रहेको तथ्यलाई ध्यान दिँदै यसमा आवश्यक सुधार गर्ने तर्फ यस सरकारले तत्कालै पहल गरोस् ।

एकमहिने अग्रिम अनलाइन आवेदन खुला: राहदानी विभाग

राहदानी विभागले एक महिनाको अग्रिम अनलाइन आवेदनको व्यवस्था गरेको छ। विभागले एक सूचना प्रकाशित गरी आजदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको अग्रिम अनलाइन आवेदन खुला हुने जनाएको छ।

हाल दुईदेखि तीन दिनको मात्रै अग्रिम अनलाइन आवेदनको व्यवस्था रहेकामा अब एक महिनाको गर्न लागिएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन्।

उनका अनुसार दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो। यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ। आज प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ सम्ममा समय पाइनेछ। 

विभागसहित विदेशमा रहेका कूटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि–इनरोलमेन्ट गराउनेछन्। 

काठमाडौंनजिकका जिल्लामा १० देखि १२ दिनभित्र, तराईका जिल्लामा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लामा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गरिने विभागले जनाएको छ। 

बस र टाटासुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सीतापाइलामा बस र टाटासुमो आपसमा जुध्दा बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते भएकी उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाे बसका सहचालकको भने कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका बसमा सवार अन्य तीनजना भने उपचार पश्चात् घर फर्किएका छन् ।

कङ्लकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा २ ख ८३६८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज २४२१ नं को टाटासुमो एक आपसमा ठोकिँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको छ ।

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमवार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो ।

त्यस्तै आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए ।

दुबै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्माले पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दुवै पदका लागि संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । साथै, फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।नेपालको संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ ।

विसं २०७४ साल फागुन २९ मा भएको राष्ट्रपतिको निर्वाचनमा निर्वाचित भएका वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते समाप्त हुने तथा २०७४ साल चैत ४ गते निर्विरोध निर्वाचित भएका वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुने भएकाले सोअगावै निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकिएको हो । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन,२०७४ को दफा ४ र ५ बमोजिम आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्नेछ ।

साथै, सोसम्बन्धी सूचना राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ तथा दफा ५ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले सोका लागि नेपाल सरकारका मुख्य सचिवमार्फत् मन्त्रिपरिषद्लाई आयोगले लेखी पठाउनेछ ।

आयोगले तोकिएको मितिमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकारका मुख्य सचिवमार्फत् मन्त्रिपरिषद्लाई लेखी पठाउने जनाइएको छ ।

बैंककाे विरुद्ध व्यवसायीले गरे नाराजुलस

काठमाडौं । ‘बैंक सधै नाफामा उद्योगी व्यवसायी घाटामा’ यो प्लेकार्डसहित सोमबार काठमाडौं उपत्यकाका व्यवसायी माइतीघर मण्डलामा नाराजुलसमा उत्रिए ।

गत हप्ता आत्मादाह गर्ने प्रेम प्रसाद आचार्यको माग सम्बोधन गर्नेदेखि ब्याजदर घटाउनेसम्मका मागहरु उनीहरुका थिए ।

प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले सरकारले उद्योगी तथा व्यापारीहरुलाई संरक्षण गर्न नसकेको आरोप लगाए । व्यवसायीमैत्री अर्थनीति नल्याउनु र नेपाल राष्ट्र बैंकले मा्रद्रिक नीतिमा साना तथा मझौला उद्योगी व्यवसायीको हित संरक्षणमा ध्यान नदिदाँ अर्थतन्त्र नाजुक बनेको उनीहरुको टिप्पणी थियो । 

सरकारका गलत नीति र ऋण तिर्न नसक्दा बैंकहरुले कालोसूचीमा राख्न गर्ने सिफारिसदेखि लिएर चर्को व्याजदरको विरोधमा आफ्नो व्यापार व्यवसया बन्द गरेर आन्दोलनमा उत्रिएका छन् 

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोसो दिन आज सोमबार उच्च अंकले घटेको छ । आज नेप्से ४१.०१ अंकले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा बन्द भएको हो । त्यस्तै, शेयर बजारमा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये ९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ । जसमा लुम्बिनी जनरल इन्स्यारेन्स र आदर्श लघुवित्त वित्तीय संस्था रहेका छन् । 

नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्स र पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिडी पावर कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ

जलेकी महिलाको उपचारका क्रममा मृत्यु

पोखरा । पोखरा महानगर–१३, काहुँखोलामा आइतबार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । 

सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए । सोही घटनामा जलेर घाइते भएका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा क्षेत्रीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गर्दै गर्दा घरबेटी सापकोटाले बचाउन खोज्दा घाइते भएको देखिएको बताएको छ ।

कर्मचारी संचय कोषको अध्यक्ष बने: डा. राम प्रसाद घिमिरे

काठमाडौँ । कर्मचारी सञ्चय कोषको अध्यक्षमा नियुक्त अर्थ मन्त्रालयका सचिव(राजश्व) डा. राम प्रसाद घिमिरेले पद तथा गोेपनियताको शपथ लिएकाे छ । अर्थमन्त्री विष्णु पौडेलले आइतबार उनलाई शपथ खुवाएका हुन् ।

सचिव डा. घिमिरेलाई माघ ४ गते मन्त्रिपरिषद्ले कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेका थिए । यस अघि कर्मचारी संचय कोषको अध्यक्षमा तत्कालिन राजश्व सचिव तथा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्कर रहेका थिए । पुष्कर सरुवा भएसँगै समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

कर्मचारी सञ्चय कोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

मेकअप गर्दा कस्ता सामग्री प्रयोग गर्नुहुन्छ ?

 अनुहारमा मेकअप जति महत्वपूर्ण मानिन्छ त्यति नै यसको सामग्री पनि महत्वपूर्ण हुन्छ । मेकअप गर्दा उचित सामग्री प्रयोग नगर्दा तपाईंको लुक र पैसा दुवै बर्बाद हुन सक्छ। यसले तपाइको अनुहारमा धेरै समस्या र संक्रमण निम्याउँछ । धेरै मानिसहरु मेकअप सामग्रीकाे प्रयोग मिति जाँच नगरी मेकअप प्रयोग गर्छन्, जसले छालामा हानिकारक प्रभाव पारिरहेको हुन्छ ।

मेकअपका लागि प्रयोग हुने सबै कस्मेटिक्सको प्रयोग गर्ने मिति हुन्छ । मिति नाघेका मेकअप सामाग्री प्रयोग गर्दा यसले अनुहारको छालालाई नै कुरुप पार्छ । विशेषगरी आँखाका लागि प्रयोग गरिने सौन्दर्य प्रसोधनको प्रयोगमा सर्तक हुनुपर्छ । आँखामा संक्रमण छ भने, कस्मेटिक्स प्रयोग गर्न बन्द गर्नुपर्छ ।

कति समयमा मेकअप सामग्री परिवर्तन गर्ने ?

आयुर्वेदिक उत्पादनहरूको बारेमा कुरा गर्दा, सामान्यतया छाला र कपालको लागि प्रयोग गरिने उत्पादनहरूको मितिले तिनीहरूको उत्पादनको मितिदेखि ३ वर्ष सम्म हुन्छ भने रासायनिक उत्कृष्ट सौन्दर्य उत्पादनहरूको भने सामान्यतया २ वर्षसम्मत प्रयोग गर्न मिल्ने मिति हुन्छ। केही मेकअप कस्मेटिक्सको मिति यो भन्दा पनि कम हुन्छ। त्यसैले यसको प्रयोग गर्नु अघि यसको उत्पादन मिति हेर्ने जरुरी छ ।

मेकअप सामग्रीकाे उचित हेरचाह कसरी गर्ने ?

सामान्यतया बजारमा धेरै मेकअप उत्पादनहरूको म्याद समाप्त हुने मिति छैन, त्यसैले जब मेकअप परिवर्तन गर्ने समय आउँछ, तपाईले तिनीहरूलाई प्रयोग गर्ने कि नगर्ने भनेर सोच्नुपर्छ । मेकअप उत्पादनहरू धुलोको सम्पर्कमा मात्र आउँदैनन्, तर तिनीहरूको एप्लिकेटरहरू मार्फत छालाको प्राकृतिक तेलहरूसँग पनि मिसिन्छन्। तपाईंले आफ्नो कस्मेटिक्स भण्डारण गर्ने तरिकाले तिनीहरूको मितिलाई असर गर्न सक्छ। उत्पादनको रंग र सुगन्ध पनि महत्त्वपूर्ण छ। यदि लिपस्टिकको गन्ध आयो भने यसको अर्थ यसको तेल अलग भएको हो । यदि तपाईंको काजल सुख्खा वा धेरै टाँसिएको छ भने, यसको मतलब यो परिवर्तन गर्न आवश्यक छ । मेकअप सामाग्रीको परिवर्तन यो उत्पादनन भएको समय अनुसार हुन्छ ।

कुन सामग्रीको मिति कति हुन्छ ?

फाउन्डेसन एक वर्ष पछि परिवर्तन गर्दा राम्रो मानिन्छ । त्यस्तै लुज पाउडरको मिति दुईदेखि तीन वर्षसम्म रहन सक्छ । तर कम्प्याक्ट पाउडर दुई वर्षसम्म मात्र रहन्छ र कहिलेकाहीं त्यो भन्दा पहिले पनि सुक्न सक्छ। यसै गरी, ब्लस र आई स्याडोको मिति एउटै हुन्छ ।

यसको सामान्य म्याद नकिने मिति दुई वर्षसम्म रहन्छ, यदि ब्लस र आई स्याडोको रंग परिवर्तन भएको भए पनि यसलाई परिवर्तन गर्ने समय हो भनेर बुझनु पर्छ । त्यस्तै, काजल तीनदेखि छ महिनासम्म टिक्छ आईलाइन दुई वर्षको सम्म प्रयोग गर्न सकिन्छ ।

लिपस्टिक पनि दुई वर्ष टिक्छ, तर लिप ग्लोस १२ देखि १८ महिनासम्म मात्र प्रयोग गनुपर्छ । कुनै पनि मेकअप साम्रगीको रंग र गन्धमा परिवर्तन छ भने त्यसलाई तुरुन्त परिवर्तन गर्नु पर्छ । यसले अनुहाको छाला बिगार्न पाउँदैन् ।

मेकअप गर्नुअघि के कुरामा ध्यान दिने ?

मेकअप गर्नु अघि सधैं हात सफा छ कि छैन भनेर ध्यान दिनु पर्छ । हातको फोहर वा धुँलोले छालामा संक्रमण गराउने जोखिम उच्च हुन्छ । मेकअप ब्रश र एप्लिकेटरहरू हप्तामा एक पटक तातो पानीमा धुुनुपर्छ । धेरै समयसम्म एउटै ब्रशहरु पनि प्रयोग गर्नुहुँदैन् । प्रत्येक तीन महिनामा मेकअप ब्रश बदल्ने गर्नुहोस् । यसले पनि धेरै हदसम्म संक्रमणबाट बचाउँछ ।

पेट्रोल छर्की आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु

नेपालगञ्ज- कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएको छ। कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा दुई वर्षीय छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

कोहलपुर नगरपालिका–२ शक्तिनगर बस्ने ३० वर्षीय भानुभक्त बिकले घरायसी झगडा परेपछि आमा र छोराको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगोमा जलेर भानुभक्तकी आफ्नै श्रीमती ३० वर्षीया गंगा बिक गम्भीर घाइते भएकी छन् ।

उनकै छोरा २ वर्षीय प्रिन्स बिकको मृत्यु भएको छ । आगो लगाउने भानुभक्त बिकलाई जमुनाहा नाकाबाट आज (सोमबार) बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

आगो लगाउँदा जलेर गम्भीर घाइते भएका गंगा बिक र प्रिन्स बिकको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचार पश्चात् थप उपचारको लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएकोमा उपचारको क्रममा प्रिन्स बिकको सोमबार बिहान मृत्यु भएको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

आज माघ १६ गते आइतबार : यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुने पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । परीक्षामा सफलता पनि मिल्नसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ, तर सामाजिक र राजनैतिक सम्बन्ध राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

दुर्घटनामा परेर २ जनाको मृत्यु

पाल्पा । पाल्पामा छुट्टाछुट्टै घटनामा परी २ जनाको मृत्यु भएका छन्। एक जनाको भुतखोलामा डुबेर र एक जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। तिनाउ गाउँपालिका-३ भुतखोलामा, नवलपरासी पश्चिम पालिनन्दन गाउँपालिका -२ का २४ वर्षीय अजिम पठानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए।

भूतखोलामा ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा २४ वर्षीय पठान अचानक चिप्लिएर पोखरीमा डुबेका थिए। पठानलाई तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। भुतखोलामा झरना हेर्ने तथा पौडी खेल्ने क्रममा पटक पटक मृत्युका घटना हुने गरेका छन्।

दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रामपुर नगरपालिका-२ पुल्चोकका २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको छ। रामपुर बेझाड बजारबाट कान्जीहाउसतर्फ जाँदै गरेको लु १८ प ४९७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थापाले बताए। दुर्घटनामा घाइते भएपछि रामपुर अस्पतालमा उपचारको क्रममा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

न्यौपानेको बैकिङ्ग सफल यात्रा, अबको नेतृत्वमा उहाँकै चर्चा

दाङ जिल्लामा जन्मनुभएका यज्ञप्रकाश न्यौपाने बैकिङ्ग क्षेत्रमा कुशल र अनुभवी व्यक्तित्वको रुपमा चिनिनुहुन्छ । हाल कृषि विकास बैंकको का.मु. उपमहाप्रबन्धकको जिम्मेवारीमा रहनुभएका न्यौपानेले कृषि विकास बैंकमा झण्डै २३ वर्ष विताइसक्नुभएको छ ।

अर्थशास्त्रमा स्नातकोत्तर र गणित विषयमा स्नातक शिक्षा हाँसिल गर्नुभएको न्यौपाने आफ्नो केही समय शिक्षण पेशामा समेत व्यतित गर्नुभएको थियो । उहाँले १ वर्ष बढी त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा शिक्षण सहायक पदमा नियुक्त भई प्राध्यापन गर्नुभएको थियो ।
तर उहाँलाई बैंकर बन्ने रहरले छाडेन । २०५६ सालमा कृषि विकास बैंकमा प्रवेश गर्नुभएका उहाँले २ दशक भन्दा बढीको यात्रामा ऐतिहासिक कार्य सम्पादन गर्न सफल हुनुभएको छ ।
२०५६/०८/२२ मा अर्थशास्त्री (सातौं तह)मा प्रवेश गर्नुभएका न्यौपानेले २०६५ साउन सम्म वित्त तथा लेखा विभागमा कार्यरत रहनुभयो । उहाँले सो पदमा रहँदा वित्तिय विवरण तयार गर्ने तथा नेपाल राष्ट्र बैंकमा वित्तिय रिपोटिङ्ग लगायतको कार्य गर्नुभएको थियो ।

२०६५ मा शाखा प्रमुख अधिकृतस्तरको द्धितिय श्रेणी नवौ तह (प्रशासन), लेखा विभागको जिम्मेवारीमा रहनुभई कार्यरम्भ गर्नुभयो । उक्त पदमा रहँदा बैंकको वित्तिय विश्लेषणसम्बन्धी कार्य गर्नुभयो । त्यसैगरी व्यावसायिक निर्णय लिन बैंक व्यवस्थापननलाई आवश्यक पर्ने विभिन्न प्रकारका वित्तिय सूचना उपलब्ध गराउने कार्यमा नेतृत्व गर्नुभयो । उहाँले बैंकको सम्पत्ति तथा दायित्व व्यवस्थापन उपसमितिको सदस्य सचिव भई कार्य समेत गर्नुभयो । साथै बैंकको व्याजदर निर्धारण र बाह्य लेखापरीक्षण कार्यलाई आवश्यक सहजीकरण गर्नुभएको थियो ।

कृषि विकास बैंकमा उहाँले महत्वपूर्ण कार्यमा नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ । मिति २०७३/४/२२ देखि २०७६ /६/१ सम्म कृषि विकास बैंक लि। वित्तय तथा लेखा विभागमा विभागीय प्रमुख पदमा कार्यरत रहनुभयो । केन्द्रीय व्यवस्थापन सूचना प्रणालीको प्रारम्भ, बैंकको खाताबन्दी पुस्तिका भर्ने कार्यको अन्त्य गर्ने कार्यमा अग्रसर हुनुभयो । तोकिएको समयमा वित्तिय विवरण तयार गरी पहिलो पटक पौषमसान्तभित्र वार्षिक साधारणसभा सम्पन्न गर्ने कार्यमा आवश्यक कार्य सम्पादन गर्नुभयो ।

त्यसैगरी कृषि विकास बैंक लि. को का.मु. उपमहाप्रबन्धक पदमा मिति २०७६/६/२ गते देखि कार्यरत भएसँगै बैकका विभिन्न विभाग वित्ति तथा लेखा विभाग, शाखा सञ्चालन विभाग, ट्रेजरी विभाग, सूचना प्रविधि विभाग, बजार व्यवस्थापन विभाग, सामान्य सेवा विभाग र भौतिक सम्पत्ति व्यवस्थापनको नेतृत्व गर्नुभएको छ ।

त्यसैगरी बैंकको कार्य सञ्चालक समितिबाट गठन विभिन्न उपसमितिको आधुनिक बैकिङ्ग विस्तार, सञ्चालन जोखिम व्यवस्थापन उपसमिति, पूर्वाधार व्यवस्थापन उपसमितिमा, खरिद व्यवस्थापन उपसमिति, compliance सम्बन्धी उपसमिति, AML/CFT सम्बन्धी उपसमितिलगायत विभिन्न उपसमितिहरुको संयोजकको भूमिकामा कार्यसम्पादन गर्न सफल हुनुभएको छ ।

बैंकको सूचना प्रविधि सम्बन्धी नीति, शाखा सञ्चालन कार्यविधि, POS तथा शाखा रहित बैकिङ्ग सञ्चालन कार्यविधि, एटिएम(ATM) सञ्चालन तथा व्यवस्थापन कार्यविधि बैंकको सञ्चालन समितिबाट स्वीकृत गराउन आवश्यक कार्यका साथै बैंकमा विभिन्न आधुनिक बैकिङ्ग Product 5 in one लागु गर्ने कार्यमा नेतृत्व गर्नुभएको थियो ।

त्यसैगरी बैंकले प्रयोग गर्दै आएको सफ्टवेयरको स्तरोन्नतिसम्बन्धी आवश्यक कार्य गर्ने खेल्नुभएको थियो भने बैंकले दिएको जिम्मेवारी तल्लिन भई सम्पादन गर्दै आउनुभएको छ ।कृषि बिकास बैक बिगत केहि समय देखी नेतृत्व बिहिन भएको छ।

सो बैंकको प्रमुख कार्यकारी अधिकृतका निम्ति उहाँले पनि दर्खास्त हाल्नु भएपछि बैक भित्र बाट नै उहाँकै नेतृत्व आउनु पर्छ भन्ने लबिङ समेत सुरु भएको देखिन्छ ।अर्थ मन्त्रालय र बोर्ड ले नेतृत्व छनोट गर्ने भएपनि सरल अनि सबै संग मिलनसार अनुभवले खारिएका न्यौपाने नै (CEO) सिइओ बन्ने सम्भावना बढेको कृषि बिकास बैक नियाल्नेहरु बताउछन् ।

कृषि बिकास बैकको सिइओ ताक्ने २२ भाइ

प्रमुख कार्यकारी अधिकृत सीईओपदका लागि २२ जनाको आवेदन परेको छ ।

बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो । आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिएका छन ।

कृषि बिकास बैकका उपमहाप्रबन्धक यज्ञ नेउपाने ,सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीईओ कविराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसीको आवेदन परेको बैंकले जनाएको छ ।

यस्तैगरी, बैंकको सीईओका लागि बद्रि गुरागाईँ, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शङ्कर चापागाईँ, अरुणकुमार ढुङ्गाना र प्रमोदबाबु तिवारीको समेतको आवेदन परेको छ ।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई ‘सर्ट लिष्टिङ्ग’ गरी अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ ।

बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो ।त्यस लगत्तै यो प्रक्रिया अगाडि बढेको छ।

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक

काठमाडौं। नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको छ ।

काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तिर्ण भएका छन् ।

माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए ।