आज साउन १५ अर्थात् खीर खाने दिन

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउछन् ।

यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मन पर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउछन् । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।

नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

टेलिकमका सुनील पौडेल पनि तानिए अख्तियार दुरुपयोग अनुसन्धानमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवेको छानबिन गरिरहेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले १० दिनमा सम्पन्न गर्ने भन्दै अघि सारेको योजना २४ करोड सिध्याएर पाँच वर्षसम्म पनि सञ्चालन नगरेको विषयमा अख्तियारले विस्तृत अनुसन्धान अगाडी बढाएको हो ।

अख्तियार उच्च स्रोतका अनुसार केन्द्रका तत्कालीन आधा दर्जन पदाधिकारीहरूलाई बोलाएर बयान लिने काम भइरहेको छ । जसमा केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायक र तत्कालीन कार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेललगायत पदाधिकारीहरूलाई बयानका लागि आयोगको पत्र काटेको उच्च स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ । जसमध्ये केही अधिकारीहरूले बयान दिइसकेका छन् भने केही जाने क्रममै छन् । अख्तियारले पत्र काटेपछि पौडेल अहिले दौडधुपमा लागेको छन् ।

सरोकार नै नभएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उच्च पदाधिकारीहरूले सफ्टवेयरका नाममा कुम्ल्याउने ध्येयले सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै विद्युतीय प्रणालीमार्फत सरल र प्रभावकारी रूपमा सम्पादन गर्ने भन्दै २०७५ असार १९ मा गेट(वे स्थापनाका लागि १९ लाख ८८ हजार अमेरिकी डलरको खरिद सम्झौता गरेको थियो । सम्झौताको ९३ दशमलव ८६ प्रतिशत रकम भुक्तानी भईसकेपनि परियोजना नै गुमनाम रहेको बारे प्रशासन डटकमले यसअघि नै समाचार प्रकाशन गरेको थियो । खरिद टोलीका एक पौडेल अहिले टेलिकममा छन् । प्रविधि सम्बद्ध आयोजनाहरूमा एजेन्टका रूपमा रहने विवादास्पद छविका पौडेल चर्चित सेक्यूटिरी प्रिन्टिङ प्रेसको अनियमितता प्रकरणका नाइके विकल पौडेल ‘ग्याङ’का हुन् । उनले केन्द्रमा छँदा खरिद गरेका कैयन प्रकरणमाथि महालेखा परीक्षकको कार्यालयले तमाम प्रश्नहरू उठाएको छ । जसलाई टेलिकममा लैजानका लागि निर्देशिका नै बदलिएको थियो । पौडेललाई घुसाउनकै लागि रातारात योग्यता, उमेर हद र कार्यानुभव सच्याइएको थियो ।

अख्तियारले साँच्चिकै छानबिन गर्न खोजेको हो भने, पेमेन्ट गेट(वे मात्रै होइन, राष्ट्रिय सूचना प्रविधि केन्द्रले हालसम्म खरिद गरेका उपकरण, तीनको वस्तुस्थिति र मूल्य छानबिन गर्ने हो भने वास्तविकता अर्कै आउने छ । कन्सल्टेन्सीका नाममा सञ्चालन गर्दै आएका धन्दा मात्रै होइन, फ्रीमा आउने सफ्टवेयरसमेत डलरमा खर्च गरेको देखि डुप्लिकेट सामान राखेर ओर्जिनलको बिल पेस गरी भुक्तानी लिएको सम्म बाहिरिने छ ।

केन्द्र त्यही निकाय हो, जसबाट केही महिना अघि मात्रै अति महत्त्वपूर्ण निकाय लोक सेवा आयोगमा दरखास्त दिएका झन्डै साढे तीन लाख आवेदकका डाटा हराएका थिए । थाहा भएका मात्रै ६० भन्दा बढी सरकारी निकायका डाटा हराएका थिए ।

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ६४ पैसा र बिक्री दर १४५ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ  १५ श्रावण २०८०, आज सोमबारको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । वाहन र भूमिबाट लाभ पनि रहला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ र यात्रा पनि होला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको काम पुरा हुन पनि सक्छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सानातिना समस्यामा अल्झनुपर्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ ।

बृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र यात्रा पनि हुनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

मीन: (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक कार्यमा सहभागी भइनेछ ।

नेपाल सद्भावना र नागरिक उन्मुक्ति पार्टीबीचको सदस्यहरुमा एकीकरण

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । जनकपुरधाममा आइतबार एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् । एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाए जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरुले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको उनको आरोप छ । मधेशको आन्दोलनका लागि आँफू साँढे आठ वर्ष जेलमा बस्नुपरेको उल्लेख गरे । एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुले उपस्थिति जनाएका थिए ।

निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका ४ सांसद अदालतमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४ जना सांसदहरूले निर्वाचन अयोागविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गराएका छन् । सोमबार संघीय सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध रिट निवेदन दर्ता गराएका हुन् । निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्दापनि १५ हजार जरिवाना तोकेको भन्दै उनीहरूले उच्च अदालत पाटनमा रिट दर्ता गराएका हुन्। रिटमा निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्ने उनीहरूले् माग गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रश्न गर्दै “कर्मचारीले बनाइदिएको नीति–कार्यक्रम पढेर समाजवाद आउँछ”

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कर्मचारीले बनाएको नीति तथा कार्यक्रम पढेर समाजवाद नआउने बताएका छन् । आइतबार काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा उनले कर्मचारीले नै बनाएको नीति तथा कार्यक्रम, बजेट र कानुन ल्याइने गरिएको बताएका हुन् । “पार्टीहरू बाहिर लामालामा भाषण गर्छौँ, कार्यकर्तालाई पनि खुब उत्तेजित पार्छौँ । सरकारमा गएपछि त्यहाँको कर्मचारीले लेखिदिन्छ, नीति तथा कार्यक्रम, त्यो पढेर देश बनाउन खोज्छौँ, त्यो कहिल्यै हुँदैन,” उनले भने, “कर्मचारीले बनाइदिएको नीतिकार्यक्रम पढेर समाजवाद आउँछ ? कर्मचारीले सरकारको नीति बनाउँछ, बजेट बनाउँछ, कर्मचारीले कानुन ल्याइदिन्छ, हामी संसद्मा थपडी बजाउँछौँ र पास गर्दिन्छौँ, देश जतासुकै जाओस् ।”

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेका सांसदहरूको माग छ । सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा एमाले सांसदहरूले यस्तो माग गरेका हुन् । एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन गर्न प्रहरीले नसक्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताए । सत्तारूढ दलका नेता सुन तस्करीमा संलग्न रहेको आरोप लगाउँदै भट्टराईले सरकारलाई ध्यानाकर्षण पत्र लेख्नुपर्ने बताए । प्रहरीले गृहमन्त्रीमाथि छानबिन गर्न सक्दैन । फाइल उहाँको टेबुलमा छ, सरकारमै सहभागी दलको ठूलो नेता तानिएका छन् । तर, सरकार छानबिन गर्न चाहँदैन,’ उनले भने, ‘भन्सारका गडबडीबारे छानबिन गर्नुपर्नेछ, त्यहीँ अर्थमन्त्री बसेर छानबिन हुन्छ ।

एमालेकै सांसद ऋषिकेश पोखरेलले पनि सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । ‘उच्चस्तरीय छानबिन समिति नै गठन हुनुपर्छ । अनि मात्रै सत्य तथ्य बाहिर आउँछ । आजै सरकारलाई निर्देशन होस्,’उनले भने ।

काँग्रेस सांसद तेजुलाल चौधरीले पनि सुन तस्करी प्रकरणमा समितिले छानबिन गर्नुपर्ने बताए । सत्तारूढ दल जसपाका सांसद प्रदीप यादवले लेखा समितिले उपसमिति गठन गरेर छानबिन हुनुपर्ने बताए । ‘सार्वजनिक लेखा समितिले छानबिन गर्न सक्छ कि सक्दैन ? सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरोस्‘ उनले भने ।

काँग्रेस सांसद रामकृष्ण यादवले पनि सार्वजनिक लेखा समितिमा गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर जानकारी लिनुपर्ने बताएका छन् । भन्सार प्रमुखलाई पनि समितिमा बोलाएर सुन तस्करीबारे प्रस्टीकरण लिनुपर्ने धारणा राखे ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर गरी ल्याएको क्विन्टल सुन बरामद गरेको थियो । ठूलो परिमाणमा तस्करीको सुन बरामद भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियो ।

भ्रष्टाचारका फलाइलहरु खुल्दै जाने छन् ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अरू धेरै फाइल खोल्दै जाने बताएका छन् । समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ग्राउण्डबाट समर्थन भएपछि मात्रै ब्याटल जित्न सकिने उनको भनाइ छ । उनले भने, ‘अहिले हामीले भ्रष्टाचार विरोधी र राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने बेथितिका विरुद्ध वा तस्करीको विरुद्धका प्रयास छेडिएकै छ। म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु यो कदम यही रोकिने वाला छैन। यो कदम निरन्तर बढ्ने वाला छ।’ राष्ट्रको एकता र समाजवादको निर्माणको लागि यो लडाई जित्नै पर्छ। हामीले यो लडाई नजितेसम्म हामीले परिकल्पना देखेको समाजवाद तयार हुन सक्दैन। यो कुनै राजनीतिक स्टण्ड होइन। यो आम जनताको बृहत्तर हितको लागि हो। यो लडाई सुरु भएको छ यसको पक्षमा सरकारलाई तपाईँहरुले जुन साथ दिनुभएको छ हेर्दै जानुहोला आउने दिनमा अरू फाइल खुल्नेवाला छन्, र ग्राउण्डबाट समर्थन नभएसम्म सरकार र प्रधानमन्त्रीले मात्रै जित्ने ब्याटल होइन्,’ प्रचण्डको भनाई छ ।

सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने भट्टराईको चेतावनी

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन् । आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले सरकारले जसरी संसदलाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको बताए । ७ महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको भट्टराईले अगाडि भने, ‘संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास हो, तर ३ महिनासम्म हुन सकेको छैन ।’ भागवण्डा नमिलेका कारण सभापति चयन हुन नसकेको भनेर समाचारहरु आइरहेको भन्दै उनले आफूहरुले कुनै बार्गेनिङ नगरेको बताए । ‘सत्ता गठबन्धनको असहमतिका कारण उत्पन्न भएको समस्याको भारी बोक्न चाहँदैनौं’ एमाले सचिव भट्टराईले भने, ‘केही सहमति बनेको छ, त्यसअनुसार जाऊँ । बनेको छैन संसदीय प्रक्रियामा जाऊँ ।’ यसबारे आफूहरुले सभामुखको ध्यानाकर्षण गराउन लागेको समेत एमाले सांसद भट्टराईले बताए । सत्ता पक्षको झैझगडाको साक्षी भएर आफूहरु नबस्ने भन्दै उनले भने, ‘सम्भवत समितिको अर्को बैठकमा आउँदैनौं ।’

नापी अधिकृतविरुद्ध १ करोडको गैरकानुनी आर्जनको मुद्दा दायर

१४ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ । पुरीको १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०५२ साल पुस ०९ गते देखि २०७९ असार मसान्तसम्मको सवा अवधिमा नापी अधिकृत पुरीको आयतर्फ पारिश्रमिक बचत, अन्य भत्ता, विभिन्न बैंक वित्तीय संस्था तथा सहकारीबाट लिएको कर्जा, निजको नाममा रहेको जग्गा बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बिमा परिपक्व भई प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जा प्राप्त आयसमेत गरी रु. १ करोड, १९ लाख, ७७ हजार, ७४८ रुपैयाँ ६९ प्राप्त गरेको र व्ययतर्फ श्रीमतीको नाममा जग्गा खरिद गर्दाको रकम र रजिष्‍ट्रेशन दस्तुर, घर निर्माण खर्च, अध्ययन खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, शेयर खरिद, लाभ कर, विदेश भ्रमण खर्च, बिमा प्रिमियम, सवारी साधन खरिद र विद्युतीय सामान खरिदसमेत गरी रु। दुई करोड चौबीस लाख एकासी हजार छ सय नब्बे रुपैयाँ बाउन्न पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारको ठहर छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार व्ययको तुलनामा पुरीले प्राप्त गरेको आय रकम रु. एक करोड चार लाख तीन हजार नौ सय एकचालिस रुपैयाँ त्रियासी पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको हो ।

सार्वजनिक सेवाको पदमा बहाल रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको प्रवक्ता दाहालले बताए ।

समृद्धि फाईनान्सको हेटौंडा र पोखरा शाखाबाट वृक्षारोपण

समृद्धि फाईनान्स कम्पनी लिमिटेडले साउन १३ गते, शनिबार संस्थाको हेटौंडा र पोखरा शाखाबाट वृक्षारोपण कार्यक्रम समापन गरेको छ । हिजोबाट सुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिना भित्र सम्पुर्ण १३ वटै शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

साथै फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये साउनमहिनाकोलागि तय भएको कार्यक्रमहरुको रुपमा वृक्षारोपणको सुरुवात गरेको हो । आर्थिक बर्ष २०८० र ८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ। यसैगरी, फाइनान्सले आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

मेयर रिना साहको पहलमा बर्षौदेखीको अवरुद्ध सडक भयो बिस्तार स्थानीयमा खुसीयाली 

रौतहट । रौतहटको मौलापुर नगर क्षेत्रमा लामोसमय देखि अवरुद्ध रहेको सडक विस्तार गर्न मेयर रिना साहको पहलमा डोजर चलाई बिस्तार गरिएको छ। उनको प्रयासले बर्षौदेखीको विवादित सडक विस्तारहुँदा आवतजावत सुचारु सहज भएको छ। सडक बिस्तार भएपछी स्थानियहरु खुसी भएका छन्।

मौलापुर नगरपालीका‘बौद्धा–पथरा–पिपरिया’ सडक खण्डको पथरामा मेयर साहले डोजर लगाएर सडक विस्तार गराउन सफल भएकी छन्।

दुबैपक्ष बिच लामो छलफल पछि सहमतिको आधारमा बाटोमा परेको कैयौं पक्की घरमा डोजर लगाएर बिस्तार गरिएको छलफलमा सहभागी उपमेयर नागेन्द्र यादवले बताएका छन्।

बर्षौदेखी विस्तारमा अवरोध रहेको सडक स्थानिय सर्वसधारणको सहयोगमा  मेयर साहले सडक विस्तारको काम अगाडी बढाएको छ।

 डोजर लगाएर उक्त सडकमा रहेको केहि पक्की घर समेत भत्काउँदै निर्माणको काम अगाडी बढेको छ। सडक विस्तारको काम देखेर सर्वसधारणले समेत साथ र सहयोग गर्न थालेका छन् । सडक विस्तारमा आउँने कुनै पनि अवरोधलाई नसहने र विस्तार कार्यलाई जसरी पनि अगाडी बढाउँने मेयर रिना कुमारी साहले जानकारी दिएकि छन्।

   सडक विस्तार कार्यले त्यहाँको आम जनता हर्षित भएका छन् । अहिले विवादित संरचना भत्काई सडक विस्तारको काम समेत तिब्र गतिमा अगाडी बढेको छ ।  

 सडकलाई  विस्तार गरी सर्वसधारणलाई यातायातको राम्रो सेवा दिनुपर्नेमा सर्वसधारणको अहिले एकमत रहेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए। पूर्व मन्त्री तथा (आजपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले उक्त आफ्नो संसदिय निर्वाचन क्षेत्रमा सडक सञ्जाल लाई विशेष प्राथमिकता दिएका छन। प्रत्येक पालिकालाई हाई्वे कनेक्सन गर्ने उनकाे चुनावी घोषणा समेत रहेको थियो।

सञ्जय मिश्रा 

प्रधानमन्त्रीसंग ओलीको असन्तुष्ट

काठमाडौं । आज बसेको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । बालुवाटारमा प्रचण्ड र ओलीबीच भएको दुई घण्टा छलफलमा संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै प्रधानमन्त्री प्रचण्डले बैठक नराखेकोमा ओली असन्तुष्ट भएको स्रोतले जनाएको छ । उक्त भेटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले विशेष गरी संवैधानिक परिषद्को बैठक बोलाउनेबारे छलफल, प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल गरेको जनाइएको छ । प्रधानमन्त्रीले ओलीलाई शनिवार नै बोलाए पनि ओलीले प्रधानमन्त्रीसंग आइतबार मात्र भेट गरेका हुन् ।

अब कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी

१४ साउन, काठमाडौं । सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी दलका नेता इन्द्र आङ्बोले पनि दाबी गरेका छन् । सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा माओवादी दलका नेता इन्द्र आङ्बोले मुुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका थिए । मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता थापाले पनि दाबी गरेका छन् । तर गठबन्धनमा रहेको अर्को दलले बहुमत पुर्याउन सक्छ भने नेतृत्व छाड्नसक्ने संकेत उनले गरेको बैठकमा सहभागी एक नेताले बताए । कोशीमा यसअघि असारमा पनि आङ्बोको नेतृत्वमा सरकार बनाउने लगभग सहमति भएको थियो । तर शीर्ष तहमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएपछि २१ असारमा कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री बने । ११ साउनमा सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्यो । सरकार गठनका लागि थापाले पेश गरेको दाबीपत्रमा सभामुख बाबुराम गौतमको हस्ताक्षर गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चले थापाको नियुक्ति बदर गरेको थियो । साथै १७ गतेभित्र संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न परमादेश दिएको थियो । त्यसअनुसार प्रदेश प्रमुखले १६ गते अपराह्न ५ बजेसम्म दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।