आज हुने भनिएको समाजवादी मोर्चाको सुदूरपश्चिम सभा अचानक रोकियो

कैलालीको धनगढीमा आज (बुधबार) हुने भनिएको समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा अन्तिम समयमा स्थगन गरिएको छ।

आज दिउँसो १ बजे हुने भनिएको समाजवादी मोर्चाको सभा रोकिएको हो।

‘बिहान माथिबाट कार्यक्रम स्थगनको खबर आयो, अब सभा कहिले हुन्छ, निश्चित छैन’, नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले भने ।

समाजवादी मोर्चाको भेला स्थगन हुनुको स्पष्ट कारण भने तल्लो तहमा सर्कुलर गरिएको छैन। एक्कासि अन्तिम समयमा भेला स्थगन भएपछि भेलाको तयारीमा जुटेका मोर्चाका नेता कार्यकर्ता झस्किएका छन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी गरिरहेका थिए।

आजबाट एमसीसी परियोजना लागू गर्ने तयारी छ। मोर्चाकै एक घटक विप्लव नेतृत्वको नेकपा यसको विरोधमा उत्रिएको छ।

त्यसैले भेलामा विप्लव नआउने भएपछि कार्यक्रम स्थगन गरिएको हुनसक्ने नेताहरुको विश्लेषण छ।

प्रधानमन्त्री दाहालको व्यस्तताका कारण भेला स्थगन भएको हुनसक्ने माओवादी केन्द्र सुदूरपश्चिमका सचिव बुढा बताउँछन्।

‘एमसीसी पनि लागू हुँदै छ, अमेरिकाबाट एमसीसीका पदाधिकारी आएका छन्’, उनले भने, ‘उहाँहरुसँग भेटघाटमा प्रधानमन्त्रीज्यू व्यस्त हुँदा भेला स्थगित भएको हुनसक्छ।’

मोर्चाले मंगलबार लुम्बिनी प्रदेशमा भेला आयोजना गरेको थियो । भोलि सुर्खेतमा पनि समाजवादी मोर्चाले कार्यक्रम गर्दै छ।

रुसको पिस्कोभ सहरस्थित विमानस्थलमा ड्रोन आक्रमण

काठमाडौं । रुसको उत्तर पश्चिमी सहर पिस्कोभस्थित एउटा विमानस्थलमा भएको ड्रोन आक्रमणमा चारवटा मालबाहक विमान ध्वस्त भएका छन् । मानवीय क्षतिबारे भने कुनै जानकारी प्राप्त नभएको समाचारमा जनाइएको छ ।

रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति पुगेको जनाएका छन् । रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुई वटा विमानमा आगो लागेको उल्लेख गरेको छ ।

इस्टोनियासंगको सीमा नजिकै पर्ने पिस्कोभ सहर युक्रेनबाट करिब ६ सय किलोमिटरको दूरीमा पर्दछ । उक्त आक्रमणमा आफ्नो संलग्नता रहे/नरहेकोबारे युक्रेनले केही प्रतिक्रिया नजनाए पनि मस्कोलगायत रुसका अन्य सहरमा यसअघि भएका ड्रोन आक्रमणमा झैं उसको हात रहेको आशंका गरिएको छ ।

रुस-युक्रेन युद्ध लम्बिदै जाँदा युक्रेनले रुसभित्र ड्रोन आक्रमण गर्ने शृंखला बढाएको छ । युक्रेनले यसको औपचारिक जिम्मेवारी नलिए पनि केही समयअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी क्षेत्रभित्र आक्रमण हुनु अवश्यम्भावी, प्राकृतिक र जायज प्रक्रिया रहेको बताएका थिए ।

केही दिनअघि मात्रै सेन्ट पिटर्सबर्ग सहर नजिकै युक्रेनले गरेको ड्रोन आक्रमणमा लामो दूरीको मार हान्ने रुसी बम वर्षक विमान ध्वस्त भएको थियो। यस्तै गतसाता बेलगोरोड क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जना मारिएका थिए ।

राजधानी मस्कोका भवनहरुमा पनि यसअघि थुप्रै पटक ड्रोन आक्रमणहरु भइसकेका छन् भने राष्ट्रपति कार्यालयलाई लक्षित गरेरसमेत ड्रोन आक्रमणको प्रयास भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज ५ सय ५३ दिन पुगेको छ । यस युद्धमा हजारौं मानिसले ज्यान गुमाएका छन् । साथै लाखौं विस्थापित भएका छन् ।   

एमाले शीर्ष नेता सवार विमानमा समस्या

काठमाडौँ । नेकपा एमाले शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाजमा समस्या आएपछि जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौँ फिर्ता भएका छन् ।

सिरहामा आजका लागि तय गरिएको सचिवालय बैठकमा सहभागी हुन जनकपुर जानेक्रममा विमानमा समस्या आएपछि काठमाडौं फर्केका एमाले नेताहरू अहिले अर्को विमानबाट त्यसतर्फ जाँदैछन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।

‘हामी पार्टीको सिराहामा बस्ने सचिवालय बैठकमा सहभागी हुन जनकपुर हुँदै त्यसतर्फ जाँदै थियौं । जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराउनु भयो,’ एमाले उपाध्यक्ष नेम्वाङले भने,‘त्यसपछि हामी काठमाडौं उत्रिएर अहिले अर्को विमानबाट त्यसतर्फ जाँदैछौं । विमान चढिसक्यौं ।’

बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विराटनगरबाट सिरहा जानेछन् भने अरु नेताहरू काठमाडौँबाट त्यसतर्फ जाँदै थिए एमाले सचिवालय बैठक अहिले साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने तय भएको छ ।

समाजवादी मोर्चाको सभा आज धनगढीमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरू आज धनगढी जाने भएको छन् । मोर्चाको पूर्वर्निधारित कार्यक्रम,सन्देश सभामा सहभागी हुन उनीहरू धनगढी जान लागेका हुन् ।

भदौ ८ गते वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेश स्थरीय सभा भोलि अर्थात् भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ । यसअघि हिजो उनीहरूले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा भएको थियो ।

ओलीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन् ।
आज देखी पाकिस्तानमा सुरु हुने एसिया कप खेलमा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिमलाई ओलीले जितको शुभकामना दिएका हुन् ।
ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन, ‘र, प्रतीक्षाको घडी समाप्त भएको छ । नेपाली टीमले आज पहिलो पटक एसिया कप खेल्दै छ । यसका लागि हामी सबै नेपालीले लामो समयदेखि सपना देखेका थियौं,’ ‘विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना ।’ साथै, उनले नेपाली खेलाडीहरूको हौसला बढाउन एउटा भिडियो पनि सेयर गरेका छन् ।

पाल्पामा गुडिरहेको स्कार्पियोमाथि ढुंगा खस्दा, तीन जनाको मृत्यु

काठमाडौँ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरो (ढुंगा)खसेको छ ।

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा तीन जनाको च्यापिएर निधन भएको जनाइएको छ ।

जीपमा सवार ८ जना मध्य केहीलाई उद्धार गरी पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्धारका लागि नेपाल प्रहरीको टोली त्यसतर्फ गए पनि घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

एसिय कपमा आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौँ । एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो ।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको नेतृत्व भने बाबर आजमले गर्नेछन् ।

छ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

यस वर्ष रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ । समितिले बिहीबार विज्ञप्ति जारी गर्दै यस वर्ष तिथि घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन पर्न गएको जनाएको हो ।

बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण सोहीदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समेत समितिले आग्रह गरेको छ । समितिका अनुसार बुधबार ११ः२८ घडी अर्थात् १०ः१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ ।

बिहीबार ५ः१८ घडी मात्रै पूर्णिमा रहेको जनाएको छ । सोहीकारण काठमाडौं उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षाबन्धन गर्ने तयारी गरेका छन् । उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ ।

गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी(सूचनासहित)

काठमाडौँ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।

गण्डकी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका (प्राविधिक/अप्राविधिक) पदहरुमा दरखास्त आह्वान गरेको छ ।

योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणालीमार्फत https://onlineppsc.gandaki.gov.np/ आवेदन दिन सक्नेछन् ।

हेर्नुस् सूचना :

यस्तो छ १३ भाद्र २०८० आज बुधबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ, तर लामो यात्रा सफल हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा पनि होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कार्य सिद्धिको योग छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तजन सँग मनमुटाब बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सर्वोच्च अदालतमा सुशासन कायम गर्छौं : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडाैं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । सोमवार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् । उनले अदालतका सबै काम, कारबाहीहरुलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए ।

उहाँले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नसक्ने बताउनु भयो । स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरुलाई निश्चिन्तता हुने पनि उहाँले बताउनु भयो । उहाँले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडी बढेको भन्दै अझ सुधार हुँदै जाने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसले कर्मचारीहरुलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडी बढेको जस्तो लाग्दछ । पेशी व्यवस्थापन कडी हो यो । तारेखसम्म सुधार गर्‍यौँ हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरुले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला जस्तो अनुभुति मलाई भएको छ । अदालतका हरेक काम, कारबाहीहरु विशेषगरेर मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिखदेखि लिएर हरेक कुराहरु फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ । त्यो सबै कुराहरु प्रविधिमा आवद्ध छन् । प्रविधिमा आवद्ध भएको हुनाले त्यसले धेरै सुशासनको व्यवस्था गर्छ । त्यसलाई पूर्ण रुपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौँ ।’

पोखरा विश्वविद्यालयका उप–प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उप-प्राध्यापक रवीन्द्र प्रसाद बरालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । दोहोरो सुविधा लिई भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिबद्धता पेश गरी नन्‍टिचिङ्ग एलाउन्ससमेत लिएको अख्तियारको दाबी छ । अनुसन्धानका क्रममा उप–प्राध्यापक बरालले आफैले गरेको प्रतिबद्धताविपरीत दोहोरो सुविधा लिएको खुलेपछि मुद्दा दायर गरिएको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा बरालविरुद्ध सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर गरिएको हो।

महावाणिज्यदूत दिनेशकुमार घिमिरे सचिबमा बढुवा

काठमाडौँ । सरकारले रिक्त रहेको एक सचिव पदमा सहसचिव दिनेश कुमार घिमिरेलाई बढुवा गरेको छ । बढूवा सिफारिस समितिले रिक्त रहेको एक सचिव पदका लागि सहसचिवत्रय दिनेशकुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस भएका सहसचिव घिमिरेलाई बढूवा गर्न निर्णय गरेको हो ।


घिमिरे ७७ मंसिरमा छेन्दुको महावाणिज्यदूत बनेर खटिएका सहसचिव हुन । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी देखी कतिपय महत्त्वपूर्ण निकायको नेतृत्वदायी भुमिका मा रहेका घिमिरे उद्योग वाणिज्य मन्त्रालय देखि प्रधानमन्त्री कार्यालय पुर्वाधार महाशाखा प्रमुख भएर समेत काम गरेको अनुभव उनी सँग छ।

उनैलाई ७७ मंसिरको मन्त्रिपरिषद्को बैठकले छेन्दुको महावाणिज्यदुतको जिम्मेवारी दिइएको थियो। उनको सचिब बढुवा संगै धेरैले खुशी व्यक्त गरेका छन्।

दुई सिडिओसहित तीन सहसचिवको सरुवा 

काठमाडौँ । दुई सिडिओसहित तीन सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले धनकुटा र काभ्रेका सिडिओ र गृहका एक सहसचिवको सरुवा गरेको हो ।

मन्त्रालयले आज काभ्रे र धनकुटाका जिल्लाको सीडीओको सरुवा गरेको हो । काभ्रेका पुण्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ भने धनकुटामा कार्यरत थानेश्वर गौतमलाई गृह मन्त्रालयमा तानेको छ ।

यस्तै गृह मन्त्रालयका सहसचिव रूद्रादेवी शर्मालाई काभ्रेको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

नेपाल आइपुगे एमसीसीका उपाध्यक्ष एलफोर्ड

काठमाडाैं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस अलफोर्ड नेपाल आइपुगेका छन् ।

उपाध्यक्ष अलफोर्ड मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । एमसीसी परियोजना औपचारिक रूपमा सुरुवात गर्न उपाध्यक्ष अलफोर्ड नेपाल आएका हुन् । एमसीसी परियोजनाको भोलि (बुधबार)बाट औपचारिक रूपमा कार्यान्वयन सुरु हुँदैछ । बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ । सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् बुधबार रहेको छ ।

यस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ । त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य–सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौं आएका हुन् ।

यसैबीच एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत साना राजनीतिक दलका नेताहरूले भने एमसीसीको विरोध जनाउँदै आएका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार मात्रै एमसीसी सम्बन्धी व्याख्यात्मक टिप्पणी कार्यान्वयन हुने कुरा जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन् ।