सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।
सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आज यहाँ आयोजना गरेको गोष्ठीमा उनले सार्वजनिक सरोकारका विषयमा जति बढी जानकारी प्राप्त हुन्छ त्यती बढी जनता सशक्त हुने बताए ।

मन्त्री शर्माले भने, “सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ । यसले सार्वजनिक सरोकारका सबै विषयमा जनताको पहुच पु-याउन सहयोग गर्छ ।” सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पु-याउनु आजको आवश्यकता रहेकामा उनको जोड थियो ।

सूचनाको हकलाई संविधानमा मौलिक हककारुपमा व्यवस्था गरिएको र यसको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन रहेको जानकारी गराउँदै मन्त्री शर्माले ऐनको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो भने ।

“अनलाइन स्पेसको वृद्धिसँगै एकातिर सूचना सङ्कलन, भण्डारण र प्रवाहमा सहजता आएको छ भने अर्कातिर सूचना प्रविधिको प्रणालीमाथिको अनाधिकृत पहुच दुरुपयोगको समस्याका कारण सूचनाको सुरक्षामा चुनौती थपिएको छ”, मन्त्री शर्माले भने । यसका लागि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेको उनले उल्लेख गरेका छन् ।

सो अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोग सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि यसलाई पूर्णरुपमा अनलाइनमा लैजान प्रयासरत रहेको बताउँदै आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका बनाएको उल्लेख गरेका छन् । उक्त पुस्तिकालाई आगामी दिनमा स्थानीय भाषामा पनि प्रकाशन गर्ने योजना रहेको उनले सुनाए ।

प्रमुख सूचना आयुक्त गुरुङले सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको बताउँदै यसले कार्यान्वयनमा प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले ‘अनलाइन स्पेस र सूचनाको हक अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी मन्त्रालयका सहसचिव अनिलकुमार दत्त, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा र आयोगका आयुक्त रत्नप्रसाद मैनलीले टिप्पणी गरेका थिए । कार्यक्रममा मन्त्री शर्माले आयोगले सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका विमोचन गरेका थिए ।

१९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको बराबरी खेलेका हुन् ।

नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३औँ मिनेटमा गोल गरेकी हुन् । सावित्रा भण्डारीले दिएको पासमा उनले गोल गरिन् । मध्यान्तर अघिको खेलमा बङ्लादेशले एक गोल गर्दै अग्रता लिएको थियो । उसका लागि खेलको ४४औँ मिनेटमा सविना खातुनले गोल गरिन् ।

समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलेका थिए । नेपाल र बङ्लादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भएका थिए । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो ।

यस्तै बङ्लादेश पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसित ६–१ गोलअन्तरले पराजित भएको थियो ।

म्याद नाघेको चामल बेच्ने ब्यापारीलाई जरिवाना

काठमाडौँ । पनौती नगरपालिकामा म्याद नाघेको चामल बेच्ने व्यापारीलाई सरकारले ३ लाख रुपैंया जरिवाना तिराएको छ । पनौती नगरपालिका वडा नंं ७ पनौती बसपार्कमा   रहेको ओम श्री पसछे टडर्स पनौती भेगकै ठुलो तथा पुरानो होलसेल तथा खुद्रा पसल हो , उक्त पसलमा हिजो (असोज १० गते )  वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमनको क्रममा ३२ बोरा म्याद नाघेको चामल बरामद गरेको थियो ।

म्याद नाघेको चामल फेला परेपछि विभागको टोलीले ३ लाख रुपैयाँ जरिवाना तिराएको हो । रिलेललिङ गरेको, गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना गरिएको विभागले प्रस्तुत गरेको  प्रतिवेदनमा उल्लेख छ ।

विभागको टोलीले  हिजो काभ्रे जिल्लाको पनौती सहितको बजार क्षेत्रमा अनुगमन गरेको थियो । उक्त टोलीले पनौतीमै रहेका अर्को किराना पसलमा खरिद विल विजक नराखेको पाइएपछि २ हजार जरिवाना तिराएको छ ।

त्यस्तै पनौतीको एग्रोभेट तथा बिउ बिजन भण्डारलाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै सोहि क्षेत्रको एक रेडिमेट तथा थान कपडा पसललाई समेत २ हजार रुपैयाँ जरिवाना तिराएको उक्त  प्रतिवेदनमा उल्लेख छ । 

सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न नहुने बताएका छन् । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको उद्घाटन गर्दै उनले सूचनाको हकको संरक्षणका लागि संविधानमा मौलिक हकका रुपमा राखिएको विषयलाई नियन्त्रण गरेर अपारदर्शीरुपमा शासन पद्धति सञ्चालनको ध्येय राखिएमा त्यो सफल नहुने बताए ।  

“सूचनाको हक लोकतन्त्रको अभिन्न अङ्ग हो । यसको प्रभावकारी कार्यान्वयनका लागि सरकार, नागरिक समाज र सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई नियन्त्रण गर्ने सोच सफल हुन सक्दैछ”, सभामुख घिमिरेले भने, “गोप्य राख्नुपर्नेबाहेकका सूचना राज्यका सम्बन्धित निकायबाट प्रवाह हुनुपर्छ । यसको दुरुपयोग हुनबाट पनि जोगिनुपर्छ ।”

संविधानले परिकल्पना गरेको सूचनामा आधारित जनताको सहभागितामूलक पारदर्शी शासन पद्धतिबाट जनतालाई सेवासुविधा दिन आग्रह गर्दै उनले सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा महासङ्घको विशेष भूमिकाको अपेक्षा पनि गरेका छन् ।

कार्यक्रममा सूचनाको हकमा आमनागरिकको पहुँच वृद्धिका सवालमा नागरिक क्षेत्रका संस्थाका प्रमुख र विज्ञबीच छलफल जारी छ ।

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन  बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ ।

बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले राससलाई बताए ।

हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले  दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले जानकारी दिए ।  उक्त उद्योगमा विद्युत् आपूर्तिको लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक–पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले प्राधिकरणसँग  नियमित विद्युत् आपूर्ति गर्न पत्राचार भइरहेको पनि महाप्रबन्धक कर्णले बताए ।

नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको उल्लेख गरिएकोे छ । साविक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक दस हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ ।

तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडामा स्थापना गरेको उक्त उद्योगले २०४३ साल मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको थियो । रु एक अर्ब ५० करोडको लगानीमा स्थापना गरिएको सो उद्योगले अहिले विभिन्न सहरमा दैनिक चार हजारदेखि पाँच हजार बोरासम्म मात्र सिमेन्ट बिक्रीवितरण भइरहेकाले पर्याप्त सिमेन्ट बिक्रीवितरण हुन नसक्दा निकै आर्थिक भार व्यहोर्न परेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले बताए । 

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

काठमाडौँ । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ।

मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

समय-समयमा देखिएका यस्ता समस्या समाधान गर्न यही असोज ९ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

कास्कीमा घटेको घटनामा दोषी देखिएका सुरक्षाकर्मीमध्ये एक जनालाई केन्द्रमा सरुवा गरिसकिएको र अर्का एक जनालाई कानुन बमोजिम निलम्बनसमेत गरिसकिएको उनले बताए । गृह मन्त्रालयले भनेको छ, ‘अतः स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सबै प्रकारका विरोधका कार्यक्रम अन्त्य गरी आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै आ-आफ्नो कार्यक्षेत्रमा फर्किन आह्वान गरिन्छ ।’

साथै सबै नागरिकलाई पनि स्वास्थ्यकर्मीमाथि आक्रमण गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने कुराको जानकारी गराउँदै स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख भएको सार्वजनिक सूचना सबै नागरिकले सहजै देख्ने गरी राख्ने व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय भएको छ ।

यस्तै पछिल्लो समयमा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुव्यवहारका घटनामा संलग्न देखिएका दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ ।

उक्त ऐनमा व्यवस्था भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी समन्वय समितिको बैठक नियमित राखी प्रभावकारी कार्यान्वयनको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय पनि भएको जनाइएको छ ।

एक दिमै १४ सयले घट्यो सुनको मूल्य

काठमाडाैं ।  सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला  १ लाख  ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक हजार ४ सय रुपैयाँले घटेर १ लाख  ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

आज तेजावी सुन प्रति तोला एक हजार ३ सय ५० रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ९ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

मधेशका मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक प्रहरीको नियन्त्रणमा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कालोमोसो दल्ने चेतावनी दिने एक जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ का अरुणकुमार झा रहेका छन् । उनी आयुर्वेद चिकित्सक हुन् ।

मौखिक उजुरीको आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए ।

कृषि क्षेत्रका अनुसन्धान स्थानीय तहमा पु-याउनुपर्छ : अध्यक्ष डा तिमल्सिना

पाटन । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले कृषि क्षेत्रमा भएका अनुसन्धानलाई स्थानीय तहमा पु¥याउन आग्रह गरेका छन् ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका विषयमा राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क)बीच भएको अन्तरक्रियामा आयोगका अध्यक्ष डा तिमल्सिनाले कृषि क्षेत्रमा भइरहेका नीति नियमलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गरेका हुन् ।

उनले राष्ट्रिय कृषि अनुसन्धान परिषदलाई न्यून लगानीका आयोजना, दीर्घकालीन परियोजना तय गर्न आग्रह गरे । कृषि विषयलाई पाठ्यक्रममा राख्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गर्न आग्रह गरे ।

राष्ट्रिय समावेशी आयोगकी सदस्य बिष्णुमाया ओझाले देशलाई निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउँदै जानुपर्नेमा जोड दिए । “कृषि क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्नुपर्छ । नीति निर्माणका लागि राष्ट्रिय तहमा समन्वय गरेर पहल गर्नुपर्ने छ । निर्यातको सम्भावना भएका कफी, चियालगायतका उपजलाई प्राथमिकता दिनु आवश्यक छ”, उनले भने ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद कायम मुकायम कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईले अहिले देशमा ७२ लाख मेट्रिक टन धान आवश्यक भएकोमा ५६ लाख मेट्रिक टन मात्रै उत्पादन भएकाले करिब १७ लाख टन आयात गर्नुपरेको बताए ।

उनले चैते धान उत्पादनमा जोड दिने गरी बजेट बिनियोजन गर्न सुझाव दिए । कृषि क्षेत्रको विकास गर्न पालिकालाई सूचना, प्रविधि र नवप्रवर्तनसँग जोड्न आवश्यक रहेको उनको भनाइ छ । भट्टराईले हाल नार्कले उत्पादन गरेको ४० जातका धान प्रचलनमा रहेको भन्दै उद्यमी किसान र बेरोजगार युवालाई आवासीय तालिमको व्यवस्था गरिरहेको बताए ।

नार्कका योजना तथा समन्वय निर्देशक डा लुमानिधी पाण्डेले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न विशेष पहिचान भएको उत्पादनलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

“मासु, अण्डा र दुधमा आत्मनिर्भर भइसकेका छौँ, तर दाना उद्योगका लागि कच्चा पदार्थ हामीसँग छैन । यो कुरामा पनि ध्यान दिनु आवश्यक छ”, उनले भने ।

नेपालको पुरुष टिमले गर्यो मंगोलियालाई पराजित

हान्झाउ (चीन)। १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई हराएको गरेको छ ।

बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले हराउँदै गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २–० ले हराउँदै हराए । प्रिन्स २१–८, २१–१४ तथा सुनिल २१–११, २१–७ ले विजयी भए ।

तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१–२३, २४–२२, १७–२१ ले पराजित भए ।

तर प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१–८, २१–९ ले विजयी भयो ।

महिला टिम इभेन्टमा भने नेपाल माल्दिभ्ससँग ३–१ ले पराजित भयो ।

प्रहरीद्वरा दुई लाख ३४ हजार मूल्य बरावरको मोबाइल बरामद

सिरहा । सशस्त्र प्रहरी सिरहाले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको सिरहाको व्यस्त बजार गोलबजार नगरपालिका ६ बाट करिव २ लाख ३४ हजार मूल्य बरावरको मोबाइल बरामद गरेको हो।

विशेष सूचनाको आधारमा १८ वटा मोबाइल सेट र नम्बर नभएको एक थान भारतीय मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रमोद भारती जानकारी दिए । भारतीय सीमा क्षेत्रबाटै प्रहरीले पछ्याउँदै आए पनि तस्कर गोलबजारमा मोटरसाइकल छोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

पच्छ्याइरहेको जानकारी पाएर तस्कर सामानसहितको मोटरसाइकल छोडेर भागेको हुनसक्ने प्रहरीको भनाइ छ । बरामद मोटरसाइकल र १८ थान मोबाइल आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडर खेरौना पठाइएको एसपी भारतीले जानकारी दिए ।

सूचनाको हकलाई तल्लो तहसम्म पु-याउन राष्ट्रिय सम्मेलन

काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचनाको हकको अभियानलाई तल्लो तहसम्म पु-याउन आज यहाँ एक दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा सम्मेलन आयोजना गरिएको महासङ्घले जनाएको छ । देशभर सुचनाकाे हकको महत्व र आवश्यकता महसुस गराई आमजनताले समेत सूचना माग्ने वातावरण बनाउन अभियानकर्ता, पत्रकार, नागरिक समाज, कानुन व्यवसायी, महिला, युवा, विद्यार्थी र काठमाडौँ उपत्यकाभित्र रहेका सरकारी कार्यालयका सूचना अधिकारीको समेत सम्मेलनमा सहभागीता रहेको छ ।

नेपालको संविधानको धारा २७, सूचनाको हकसम्बन्धी ऐन २०६४, नियमावली २०६५, कार्यविधि एवं निर्देशिकासमेत बनिसक्दा पनि तीनै तहको सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा प्राथमिकतामा नराखेका जनाइएको छ । संविधान प्रदत्त मौलिक हकलाई नागरिकस्तरबाट व्यापकरुपमा व्यावहारिक प्रयोग गर्न सार्वजनिक निकायबाट सहजै सूचना लिने दिने वातावरण बनोस् भनेर महासङ्घले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

सम्मेलनमा सूचनाको हकको क्षेत्रमा क्रियाशील सातै प्रदेश र ७७ वटै जिल्लाका चार सय अभियानकर्मीको सहभागीता रहेको छ । सम्मेलनको पहिलो दिन तीन फरक फरक विषयमा प्यानल छलफल हुने छ । पहिलो सत्रमा सूचनाको हकको प्रवद्र्धनमा नागरिक संस्था र सञ्चार क्षेत्रको भूमिका र चुनौती विषय रहेको छ । दोस्रो छलफलमा गरिब महिला, अल्पसङ्ख्यक युवाको सूचनामा पहुँच र तेस्रो विषय नेपालमा सूचनाको स्वत : प्रकाशनको अभ्यास र चुनौतीको रहेको छ ।

दोस्रो दिन शुक्रबार महासङ्घले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । महासङ्घ काठमाडौँ उपत्यका प्रदेश समितिका अध्यक्ष ताराबहादुर भण्डारीले राजनीतिक दलका सूचना अधिकारीको पनि कार्यक्रममा सहभाागिता रहने जानकारी दिए ।

सूचनाको हक नागरिकलाई अधिकार सम्पन्न बनाएको कानुन भएकाले यसको कार्यान्वयनका लागि नागरिक संस्थाका रुपमा सक्रियता लिएको महासङ्घले जनाएको छ ।

सांसद शर्माले भनिन् : विधायकको मूल जिम्मेवारी कानुन बनाउने हो

काठमाडौं । नेकपा (एमाले) को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उनको ठम्याइ छ ।

दैलेखको नारायण नगरपालिका–२ मा २०३९ मङ्सिर २८ मा जन्मिएकी शर्माले कक्षा ७ मा पढ्दादेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को प्रारम्भिक कमिटीबाट राजनीतिक सुरु गरेकी हुन् ।

उनले दैलेखमा अनेरास्ववियूको कोषाध्यक्ष हुँदै नेपालगञ्जको बाँकेमा २०६० सालमा क्याम्पस पढ्ने क्रममा अनेरास्ववियूको जिल्ला उपाध्यक्ष र अध्यक्ष भएर काम गरिन्। उनले २०६२–०६३ सालको आन्दोलनमा अनेरास्ववियूको नेतृत्व गरेकी थिइन् ।

यसपछि, अनेरास्ववियूको तीन पटक केन्द्रीय सदस्य, महिला विभाग प्रमुख भएर जिम्मेवारी उनले पूरा गरेकी थिइन् । उनले अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय युवा कमिटीको प्रमुख भएर काम गरिन् । बाँकेको पार्टी जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य हुँदै एमालेको दशौँबाट पार्टी केन्द्रीय कमिटी सदस्य र हाल बाँके निर्वाचन क्षेत्र २ को प्रतिनिधित्व गर्छिन् । उनी मुस्लिम, मधेसी समुदायको बाहुल्यता रहेको बाँके उपमहानगरपालिका वडा १ मा बस्छिन् ।

सांसद शर्माले कुरा गर्दै भनिन्, “प्रतिनिधिसभा सदस्यको मूल जिम्मेवारी कानुन बनाउने र जनतालाई त्यसका माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने हो तर नेपालमा आफूले निर्वाचन क्षेत्रबाट जितेको ठाउँमा विकास निर्माणका काममा बढी ध्यान दिने नेपालको अभ्यास छ, यो गलत अभ्यास हो ।” उनले आफ्नो निर्वाचन क्षेत्रमा जाने महत्वपूर्ण कानुन बनाउने विधेयकको छलफलमा उपस्थित नहुनेजस्तो समस्या देखिएको उनको ठम्याइ छ । जुन मुख्य जिम्मेवारीबाट ओझेलमा परिने गलत अभ्यास उनको बुझाइ छ ।

सांसद शर्मा तीन वटा विषयगत समिति शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा क्रियाशील हुनुहुन्छ । संसद्मा शिक्षासम्बन्धी विधेयक संसद्मा दर्ता प्रसङ्गमा कुरा गर्दै थपिन्, “स्वास्थ्यका कानुन बनाउनुपर्ने, चिकित्सा आयोगसम्बन्धी कानुन बनाउनुपर्ने छ, दैनिक डाक्टर कुटिएको अवस्था छ, त्यसले गर्दा विधायक कानुन बनाउने कुरालाई नै पहिलो प्राथमिकता दिनुपर्छ ।”

सांसदले गत पुस ७ गते विधायकको रुपमा सपथ लिएर काममा लागेको भए पनि योबीचमा आकस्मिक रुपमा एउटा मिटरब्याजीसम्बन्धी मात्रै कानुन निर्माण भएको छ । तर अरु महत्वपूर्ण कानुन पनि संसद्बाट निर्माण हुन सकेको छैन । यस विषयमा विधायक मात्र दोषी नभएको सांसद शर्माको धारणा छ । “सरकारले संसद्मा कानुन बनाउनका लागि विजनेस नै दिएको छैन, कानुन नबन्नमा सांसद र संसद् दोषी छैन”, उनले भनिन्, “यतिका लामो समयसम्म समितिका सभापति नै आएनन्, बल्ल विषयगत समितिले सभापति पाएको छ, अब कानुन बनाउने कुरामा ध्यान दिनु जरुरी छ ।” संसदले राष्ट्रपति र उपराष्ट्रपति, सभामुखको चुनाव गराउन मात्र सफल भएको तर महत्वपूर्ण कानुन बनाउनुपर्ने कुरामा सरकारले नै ध्यान नदिएको उनको आरोप छ ।

संंसद् जनताको आवाजको थलो पनि भएको हुँदा संसद्ले सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण काम हो भन्ने सांसद शर्माको ठहर छ । “सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ, जनताको आवाज बोलेको शून्य सयम, विशेष समयमा उठाएको समस्याको विषयमा सरकारले ध्यान दिन जरुरी हुन्छ”, सांसद शर्माले जोड्नुभयो, “सांसदले प्रश्न उठाइरहने तर सरकारले ध्यान नदिनेजस्तो देखिएको छ, त्यस्तो गर्दै, संसद् ताली पडकाउने स्थान मात्र होइन, जनताको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने स्थान हो ।” उनलाई शून्य र विशेष समयमा सरकारले उठाएको प्रश्नमा सरकार गम्भीर नभएको भन्ने लाग्छ । मूल कामभन्दा पनि बेलाबेलामा संसद् अवरुद्ध भइरहने गर्दा पनि कानुन बनाउनेजस्तो काममा ढिलाइ भइरहेको विषयमा सांसद शर्माले थपिन्, “राष्ट्र, राष्ट्रियता र सीमाको संरक्षण गर्नु, त्यो देश र नागरिककै हितका लागि कहिलेकाहीँ सुनुवाइ भएन भने संसद् अवरुद्ध पनि गर्नुपर्ने हुन्छ, प्रतिपक्षको धर्म नै हो ।”

सांसद भएपछि आफ्नो मर्यादाको ख्याल राख्नुपर्ने कुरामा उनको जोड छ । “सांसद भनेको जनताको विशेष प्रतिनिधि हो, बोल्ने शब्द मर्यादित र शालिन हुनुपर्छ, पोशाक पनि मर्यादित लगाउनुपर्छ”, उनले थपिन्, “अनुशासनको पालना गर्नुपर्छ, पद र संसद्को गरिमा जोगाउनुपर्छ, यदि कमीकमजोरी भएको छ भने सच्याउनुपर्छ ।”

उनलाई कानुन बनाएरै राज्यको संरचनालाई बलियो बनाउनुपर्ने र बनाएका कानुनको पनि कार्यान्वयन भए वा नभएको विषयमा ध्यान दिन जरुरी हुन्छ भन्ने लाग्छ । राष्ट्रको हितका लागि गरिएका राष्ट्रिय गौरवका आयोजना निर्माण, नेपालमा उद्योगधन्दा खोल्ने, स्वदेशमा रोजगारीको वातावरण बनाउने विषयमा भने सांसदमा छलफल गर्न उचित हुने र मुख्यरुपमा कानुन बनाउनुपर्ने कुरामा नै विधायकको भूमिका खेल्नुपर्ने उनको बुझाइ छ ।

१७ जना शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार ती अधिकृतहरुको सरुवा गरेको हो ।

अभि भूषण सुमन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कुशना शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गम्भीर सिंह विष्ट र भाष्कर दाहाल गृह मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी शाखा अधिकृत महेश पौडेल भाषा आयोगबाट उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, टोप बहादुर भुसाल अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै शाखा अधिकृत माधव घिमिरे प्रदेश प्रमुख कार्यालय कोशीबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सन्तोष पोखरेल(प्राविधिक) अर्थ मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रेमिशा श्रेष्ठ(पशु चिकित्सक) वन तथा वातावरण मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शान्ति कुँवर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नारायण घर्ती र ज्योति राज अर्याल राष्ट्रिय निजामती कितावखानाबाट गृह मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै बाबुराम पाण्डे भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुवास रिजाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय, गोविन्द आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालय, निर्मल परियार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशबाट गृह मन्त्रालय, बद्री खतिवडा राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालय र अशोक दाहाल राष्ट्रिय निजामती कितावखानाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ ।

४ किलो सुनसहित तीन जना पक्राउ

दोलखा । हिजो (बुधबार) राति दोलखामा चार किलो सुनसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको विगु गाउँपालिका जामुनेबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय दोलखाले बताउनुभयो ।

उक्त सुन लप्ची नाकाबाट भित्रिएको हुनसक्ने खड्काले आशंका गरेका छन् । पक्राउ परेका तीन जनामध्ये दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताउनुभयो । पक्राउ परेका तीनै जना विगु गाउँपालिका–१ लामाबगरबासी भएको प्रहरीले जनाएको छ ।

चीन सरकारले आइतबारदेखि तिब्बतसँग जोडिएको दोलखाकाका दुईवटा नाका खुला गरेको थियो । सुन भित्रिँदै गरेको गोप्य सूचना पाएपछि प्रहरी टोली हिजो राति सिंगटी पुगेको थियो ।

एक-एक केजीको चार पिस सुनसहित तीन जनालाई हिजो राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरीले बताउनुभयो ।

सुन सिंगटीका स्थानीय व्यवसायीलाई परीक्षण गराइएको छ भने थप परीक्षण सदरमुकाम चरिकोटमा गरिने जिल्ला प्रहरी कार्यालय दोलखाले बताउनुभयो । उक्त तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।