सुन तस्करकाे अनुसन्धान प्रभावकारी भएनः गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी नभएको बताएका छन् । केही उच्च अधिकारी र सत्तारूढ दलका केही नेताका परिवारका सदस्यहरू समेत मुछिएको उक्त प्रकरणमा अहिलेसम्म कैयौँ व्यक्तिसँग बयान लिइसकिएको र दुई दर्जन जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियाे।

तर सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले दलका प्रतिनिधिहरुसँग आइतबार गरेको छलफलमा सहभागी एमाले प्रमुख सचेतक गिरीले सत्ता पक्षका नेताहरुमाथि अनुसन्धान सोझ्याउनुपर्ने बताए ।

जाँचबुझ आयोगको समयावधि थपेर मात्रै सुन काण्डको अनुसन्धानले परिणाम ल्याउन नसक्ने भन्दै गिरीले भने, ‘यो काण्डमा जोडिएका सत्ता पक्षका नेताहरुमाथि पनि अनुसन्धान हुनुपर्छ ।’ सरकारले सुन तस्करी प्रकरणको जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य छन् ।

आयोगलाई विद्युतीय चुरोट (भेप) र ब्रेक शुमा लुकाएर गरिएको सुन तस्करी लगायतका विषयमा अनुसन्धान गर्ने जिम्मेवारी छ । साथै तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र संलग्न व्यक्तिहरुबारे थप अनुसन्धान गर्नुपर्ने देखिएमा अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ ।

यसअघि सुन तस्करीसँग सम्बन्धित कुनै सूचना वा कागजात कसैसँग भए उपलब्ध गराइदिन सार्वजनिक आह्वान गरेको आयोगले आइतबार दलका नेताहरुसँग छलफल गरेको थियो । आयोगसँगको छलफलमा नेकपा एमालेका प्रमुख सचेतक गिरीसहित नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ, माओवादी केन्द्रकी सचेतक रुपा शोसी चौधरी र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

सो छलफलमा बोल्दै एमाले प्रमुख सचेतक गिरीले ब्रेक सुबाट सुन निकाल्दा कसरी ६१ किलो मात्र भयो भनेर प्रश्न गरे । उनले भने, ‘भेटिएको भनिएको ब्रेक सुको तौल ९५० ग्राम छ । एउटा ब्रेक सुमा ५५० ग्राम सुन भएको देखिन्छ । अरु बाँकी ४०० ग्राम ब्रेक सु नै हो । यसो गर्दा सुन सहितको ब्रेक सुको जम्मा तौल १५४ केजी भनिएको छ । तर ब्रेक सुबाट सुन निकाल्दा कसरी ६१ केजी सुन कायम भयो ? हुनुपर्ने ११० केजी थियो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको ब्रेक सु सहितको सुन लोड गरिएको ट्याक्सी राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट नियन्त्रणमा लिएको विषयमा पनि उनले प्रश्न गरेका थिए । त्यो ट्याक्सीलाई गोदामसम्म पुग्न दिएर समातेको भए अझै धेरै कुराहरु खुल्न सक्ने भन्दै उनले ट्याक्सी चालकलाई नियन्त्रणमा नलिएर तारेखमा छोडिएको र सुन गाल्ने गरिएको गोदाममा तीन दिनपछि मात्र खानतलासी गर्नुले धेरै शंका उब्जिएको बताए ।

द्रूत मार्ग सडक आयोजनाले माग्यो वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी

काठमाडौँ । काठमाडौं-तराई द्रूतमार्ग सडक आयोजनाले वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी मागेको छ।

बोट बिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको व्यक्ति र उमेर ५० वर्ष ननाघेको हुनुपर्ने सेनाले जनाएको छ। सामान्य शारीरिक जाँच तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिने सेनाले जनाएको छ। 

आवेदन दिनका लागि जंगी अड्डा वा सडक निर्माण कार्यालय बेसक्याम्प निजगढमा दरखास्त पेस गर्नुपर्नेछ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.६७ रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.६४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

२२ वटा निर्माण तथा आपूर्ति कम्पनी सरकारकाे कालोसूचीमा(सूचीसहित)

काठमाडौँ । सरकारले विभिन्न २२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । 

सूचीः-

यस्तो छ तपाईंको  १५ माघ २०८०, सोमबार आजको राशिफल

मेष : दिन राम्रो छ। लक्ष्मी प्राप्तिको दिन हो। लगानी भए शिक्षामा फाइदा हुनेछ। बोलीमा नम्रता हुनु आवश्यक छ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी सामान्य छ। संघर्ष गरेका कार्यमा सफलता हात लाग्नेछ। काममा ढिलासुस्ती हुने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : रोगको भय हुनाले मन शान्त नहुन सक्छ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा हुनुहुन्छ भने ठगसँग सचेत हुनु आवश्यक छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। व्यवहारमा तनाव हुनसक्छ। धैर्य गरेर अगाडि बढेमा समस्याको समाधान हुनेछ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। साथीको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। शिक्षाको क्षेत्र अब्बल देखिन्छ। आफन्तको भने साथ नमिल्ने योग रहेको छ। आजको दिन ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। तपाईंको प्रशंसा हुनेछ। अरुको काममा सन्तुष्टि नमिल्न सक्छ। परिवार भन्दा बाहिरको सहयोग उपयोगी हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

तुला : दिन राम्रो छ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। सामाजिक कार्यको प्रशंसा हुनेछ। परिवारको साथ मिल्नेछ। तर आज शिक्षामा गरेको लगानीबाट फाइदा नहुनसक्छ।

वृश्चिक : समय सामान्य छ। हरेक क्षेत्रमा भय, पीडा र हानी भएको सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट धन प्राप्त हुने योग छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दैनिकी राम्रो छ। मन खुशी हुनेछ। मानसिक रुपमा उत्साह हुने भएकाले हरेक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : दिन सामान्य छ। शारीरिक पीडा हुनेछ। शत्रु बढ्ने छन्। व्यवहारमा झमेला सुन्नुपर्ने हुनसक्छ। दाजुभाइ र साथीको साथ पाइने छ। पारिवारिक सम्बन्ध राम्रो छ।

कुम्भ : दिन सामान्य छ। शनिदेवको छाया भएकाले शिवको दर्शन गर्नु राम्रो हुन्छ। बिहानै शिवको दर्शन गर्नाले दिन सफल बन्नेछ। परिवारको सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। शिक्षा र रोजगारीको क्षेत्रमा भएको लगानीले उत्साह मिल्नेछ। अचानक सञ्चित धनको खर्च हुनेछ। पुरानो रोगले फेरि दु :ख दिने हुनाले खनापानमा ख्याल गर्नु राम्रो हुन्छ।

जनकपुरमा एक पुरुषको शव फेला

जनकपुर। धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। 

धनुषाको जनकपुर उपमहानगरपालिका-१० जानकी मन्दिरको उत्तर गेट अगाडि सडकको छेउमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको प्रहरीको भनाइ छ ।

अन्दाजी ५५ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मकाउ पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना दरबारमार्गबाट पक्राउ परेका छन्।  पक्राउ पर्नेमा ५३ वर्षीय पृथ्वीराज सिग्देल रहेको प्रहरीले जनाएको छ।

पीडित मनिराम सिग्देलसमेतलाई वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै दुई लाख ७० हजार रकम लिइ उनी फरार भएका थिए।

आफू ठगिएको थाहा पाएपछि पीडितहरूले सिग्देलविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन्। सिग्देलमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।

कांग्रेसले केन्द्रीय नेताहरूलाई खटायो जिल्लामा, कहाँ को? (सूची सहित)

काठमाडौं । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान सुरु भएको छ। जसका लागि पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार केन्द्रीय नेताहरू जिल्ला जिल्लामा खटाइएको हो।
केन्द्रले तोके व्यक्तिहरू माघ १६ गतेदेखि २६ गतेसम्म टोली जिल्ला हुनेछ।

जनताको कुरा सुन्ने भन्दै कांग्रेसले यो अभियान सुरु गरेको जनाएको छ। कांग्रेसले केही हिमाली जिल्लामा भने यो अभियान अहिले नभएको बताएको छ।

शीर्ष नेताहरुलाई तोकिएको जिल्लाः

कोशी प्रदेश

१) डा. शेखर कोइराला – झापा र सुनसरी

२) डा. नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा ।

३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर ।

मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला

१) प्रकाशमान सिंह– मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा वागमतीको
सिन्धुली र मकवानपुर ।

२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही । वागमतीको धादिङ र चितवन ।
बागमती प्रदेश

१) डा. मिनेन्द्र रिजाल– काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।

२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा ।

गण्डकी प्रदेश

१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर ।

२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ ।

लुम्बिनी प्रदेश

१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा ।

२) डा. डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी ।

कर्णाली प्रदेश

१) डा. शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत ।

सुदुरपश्चिम प्रदेश

१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर ।

नेपाल प्रहरीका असई भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले युरिया मल र मोटरसाइकल छुटाइदिन्छु भनेर ८ हजार घुस/रिसवत लिने असई गजेन्द्रसिंह भण्डारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

बाँकेस्थित प्रहरी चौकी खडैचामा कार्यरत असई भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनेर घुसररिसवत लिएको अभियोग छ । 

आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले असई भण्डारीलाई सेवाग्राहीबाट ८ हजार लिएको अवस्थामा गत पुस २५ गते रंगेहात पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता नरहरि आचार्यका अनुसार भण्डारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो जरिवाना र कैद सजायको मागदावी गरेको छ।

भावनामा डुबेको माया……

भावनामा डुबेको माया मिठो हुन्छ
मनमा आशाको किरणले बास गरेको हुन्छ
एक मनमोहक मोह मुटुमा हुन्छ
अनन्त मायाले हृदयलाई पगाल्ने छ
 
प्रेमको धागोले यति राम्रो गरेर बुनेको छ
दुई आत्माको मिलनको समयमा भाग्य बलियो हुनेछ
प्रेमको कोमल स्पर्श  यो जन्मको उपहार भएछ
मायाको गहिराइले वास्तविक माया चिनिनेछ
 
प्रेमको कोमल नजरमा  रहस्य खुल्छ
 हृदयको कथा सधैँको लागि भनिन्छ
यो प्रेम ईश्वर कै देन हो
प्रेमले जीवन सजाउने हो
 
सबै ठाउँ घुम्नेछु सुन्दर दृश्यको बयान गर्नेछु
फुलिरहेको गुलाब जस्तै मनमा माया फुलाउँछु
मायाको कोमल स्पर्शले जीवनमा सुख ल्याउनेछु
मायालुको अँगालोमा  चिन्ताहरू सबै भगाउँछु
 
हाँसो र खुसीमा  प्रेमको ज्वाला टिक्छ
एक अटल साथी सधैँ शुद्ध माया गर्छ
प्रेमको कोमल पकडमा समय र ठाउँ मेटिन्छ
मनमा आशाको किरणले बास गरेको हुन्छ

पुर्व राजा ज्ञानेद्र शाहको बिरगंजमा सम्बोधन

बिरगंज । पूर्व राजा ज्ञानेन्द्र शाहको हिजो माघ १३ गते बिरगंजमा आयोजित कार्यक्रम लाई सम्बोधनको गर्दै भन्नुभयो: तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ। हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ फाँट हामी नेपालीका लागि यो भूमिको अर्कै ठूलो मूल्य र महत्व छ। गौरबशाली इतिहास बोकेको, उद्यम इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेशको छुट्टै पहिचान पौरख र प्रतिष्ठा छ।
हामी देखिरहेका छौं , भोगिरहेछौं — दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो उर्वर मधेश भू-भाग आज उजाड बन्दै गइरहेको छ— यहाँको पोखरी, पानीको श्रोत ट्यूबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरुभूमीकरण तिर गइरहेको छ। यो गम्भिर चिन्ताको कुरा हो।

मधेशका होनहार उद्यमी युवा जनशक्ति दिनौं विदेश तिर दगुरिरहेका छन्। उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरिबी बाध्यताका कारण हाम्रो जमीन , हाम्रो श्रोत साधन सबै सुक्दै हाम्रो जनशक्ति पातलिँदै गएको छ। यो दुःखको कुरा हो।

देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ, हामीमाथि आह्वान पनि छ। म भन्छु- हामी हाम्रा पुर्खाको पौरख नभुलौं, हामी, यही बसौं , यही आफ्नो जन्भभूमीका लागि मरिमेटौं। हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण हामी आफैबाट हुने हो। अरुले आएर गरिदिने हैन।

तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्केको छ। यो अवस्थाको अन्त्य गर्नै परेको छ।

यसका निम्ति अब सोच्ने बेला आयो। देशलाई झन् झन् बरबादीतिर नलैजाउँ। त्यसका लागि अब सबैले सोचौ, समिक्षा गरौं। नेपालको यस्तो राम्रो प्रकृति, हाम्रा यतिका प्राकृतिक श्रोत साधन हाम्रो आफ्नो क्षमता यी सबै कुरा हाम्रो आफ्नो आर्थिक उन्नतिमा लगाउँ।

आफ्नो घर उजाड पारेर अरुको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो। आफ्नो क्षमता, आफ्नै घरद्वर, आफ्नै गाउँबस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नै पर्छ। यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ। हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौं। हामी सबैको भलाई यसैमा छ।

आफ्ना आत्मीय अग्रजहरुलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात बर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरें। तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ।

जेठ १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो।

हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए। सत्य सधैं सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।

आफ्नो पुख्यौँली राजदरवारबाट परित्याग गर्दा २०६५ जेष्ठ २९ गते आमसञ्चार माध्यममार्फत मैले भनेको थिएँ – म नेपाल मै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यत्तिबेलै मैले भनेको थिएँ, ‘स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ।’

हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आँकलन हो। बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ। आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छु। त्यसै आसयअनुरुप मैले ‘चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिए।’

हामी देश मै छौं , आज पनि देश मै रहेर हामीले देशको गौरबगाथा गाइरहेका छौं। अहिले पनि देशको सर्वाङ्गिण उन्नति होस् , भेदभावरहित ढंगले सबै देशवासीको विकास हुँदै जावोस् भन्ने नै हाम्रो भावना छ। आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातनदेखि रहिआएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ।

त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ। यसैमा हाम्रो कल्याण छ। सबैमा फेरि एकपटक हाम्रो धन्यवाद !

कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले त्रिपुरेश्वरस्थित राहदानी विभागको परिचयपत्र शाखामा करारमा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध घुस रकम लेनदेनको अभियोगमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत सुमित्राबाट ३४ हजार घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।

नेप्सेमा दोहोरो अंकको बृद्धिसंगै कारोबार रकम पनि बढ्यो

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आइतबार १०.३७ अंकले बढेको सेयर बजार २०९४.४६ विन्दुमा आएर बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको १ लाख पटकको कारोबारमा ३ अबए ८३ करोड ३७ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यसदिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको छ ।  यसदिन १७३ कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत र सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य ८.७३ प्रतिशत बढेको छ। यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको साढे २३ करोडको शेयर कारोबार भएको छ भने रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम १७ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

भिजिट भिसाको सेटिङमा संलग्न सात अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका थप ७ जना कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएपछि जिल्ला अदालत काठमाडौंले माघ ९ गते सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

स्रोतका अनुसार पक्राउ पुर्जी जारी हुने अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूको बयान र मोबाइलमाथि अनुसन्धान हुँदा अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको पुष्टि भएको हो ।

अधिकृत खड्काले पक्राउ पुर्जी भएका सातैजनाको नामसमेत लिएर आफूहरूले मिलेरै भिजिट भिसामा यात्रा अनुमति दिने गरेको र पैसा बाँडेर लिने गरेको बयान दिएका छन् । उनको मोबाइलमा समेत यससम्बन्धी प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

भिजिट भिसाको सेटिङमा प्रहरीले लिखत किर्ते तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा रहेको र केही दिनभित्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए । ‘भिजिट भिसाको सेटिङमा अध्यागमनका कर्मचारीको भूमिकामाथि पनि विस्तृत अनुसन्धान भएको छ,’ उनले भने, ‘दोषी देखिएका सबैलाई प्रतिवादी बनाउन सिफारिस गर्छौँ ।’ 

दुई महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा प्रारम्भिक अनुसन्धान थालेको थियो । अपराध अनुसन्धान कार्यालयले अधिकृत खड्कासहितलाई पक्राउ गरी विस्तृत अनुसन्धानका लागि परिसरमा बुझाएको थियो । ३९ जना पक्राउ परेकामा किर्ते कागजपत्र बनाउने समूहविरुद्ध यसअघि नै अर्काे मुद्दा दायर भइसकेको छ । 

सुरुमा बिचौलिया गीता साहलाई पक्राउ गरी प्रहरीले यसको अनुसन्धान थालेको थियो । उनीमार्फत ट्राभल एजेन्सी सञ्चालक सरोज यादव पक्राउ परेकोमा उनीमार्फत नै प्रहरी अध्यागमन अधिकृत खड्कासम्म पुगेको हो । खड्काले यसमा संलग्न अन्य कर्मचारी र बिचौलियाबारे प्रहरीलाई खुलाएका थिए । सोही आधारमा ट्राभल एजेन्सी सञ्चालक पदम लामा, छिरिङ लामा, विनोद कार्की, रामप्रसाद भण्डारी, दिनेश ज्ञवालीलगायतलाई प्रहरीले पक्राउ गरेको हो । अधिकृत खड्काले श्रीमतीको बैंक खातामा समेत घुस लिने गरेका थिए ।

बिचौलियालाई ह्वाटएसपमा उनले श्रीमतीको बैंक खाताको क्युआर कोडसमेत पठाएको फेला परेको छ । अधिकृत भण्डारीकै बयानका आधारमा यसअघि अर्का अधिकृत ताराबहादुर कुँवरविरुद्ध प्रहरीले मुद्दा दायर गरिसकेको छ । खड्काविरुद्ध भने एक प्रहरी जवानलाई भिजिट भिसामा रसिया पठाउन सहयोग गरेको घटनामा मानव बेचबिखनको अर्काे मुद्दासमेत दायर भएको छ । जसमा उनलाई धरौटीमा छाड्ने आदेश भएको थियो । रसियन सेनामा भर्ना भएका ती प्रहरी पछि भागेर नेपाल आई उजुरी गरेका थिए । उनी अध्यागमनमा पैसा बुझाएरै दुबई हुँदै रसिया पुगेको अनुसन्धानमा खुलेको थियो । 

अध्यागमन कर्मचारीले भने प्रहरीले अनुसन्धान थालेपछि विरोध गर्दै आएका छन् । उनीहरूले काम नै रोकेरसमेत दबाब दिँदै आएका छन् । कर्मचारीको विरोधपछि गृह मन्त्रालयले प्रहरी र अध्यागमन कर्मचारीलाई सँगै राखेर यस विषयमा छलफल गरायो । जस क्रममा अनुसन्धानमा आबद्ध प्रहरीले सेटिङको प्रमाण नै पेस गरेपछि अध्यामनका कर्मचारी नरम भएको र प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिइएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । 

अध्यागमनको सेटिङमा दैनिक तीन सयजनासम्म विदेश उड्ने र अध्यागमन कर्मचारीले औसतमा प्रतिव्यक्ति ४० हजार रुपैयाँ पाउने गरेको पक्राउ परेकाबाट खुलेको छ । जसअनुसार अध्यागमन कर्मचारीले दैनिक एक करोड रुपैयाँसम्म घुस लिने गर्दथे । ट्राभल एजेन्सीका सञ्चालकहरूले अध्यागमनमा यस्तो सेटिङ मिलाउँदै आएका थिए । अध्यागमनमा लामो समयदेखि बस्दै आएका नायब सुब्बासँग उनीहरूको वर्षौँदेखि गठजोड देखिएको छ । अध्यागमनको ड्युटीमा जोसुकै भए पनि उनीहरूसँग बिचौलियाले सेटिङ मिलाउनुले संगठित रूपमै मानव तस्करीको सेटिङ चलेको देखाउने प्रहरी अधिकारी बताउँछन् । 

प्रहरी अनुसन्धानले सेटिङ बाहिर आएपछि गृह मन्त्रालयले हालै भिजिट भिसासम्बन्धी दुई वर्षदेखि लागू हुँदै आएको १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि लागू गरेको छ । विगतमा विदेश नगएकाहरू खाडी देशमा घुम्न जान वार्षिक आय न्यूनतम पाँच लाख हुनुपर्ने, १२ कक्षा अध्ययन गरेको हुनुपर्ने मापदण्ड थियो । त्यो मापदण्डका कारण नक्कली कागजपत्र बनाउने धन्दा बढेको र अध्यागमनमा सेटिङको धन्दा बढाएको निष्कर्षसहित गृहले भिजिट भिसालाई केही सरलीकृत गरेको छ । नयाँ मापदण्डमा पर्यटक भिसामा संयुक्त अरब इमिटरेट्स (युएई), बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबिया जान समयमै फर्कने लगायत विषयमा स्वघोषणासम्बन्धी कागजमा विवरण भरेर हस्ताक्षर गर्नुपर्ने हुन्छ । जुन कार्यविधि १० माघदेखि कार्यान्वयनमा आएको छ ।

विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच हानाहान, प्रहरीविरुद्ध पूर्व एसपी फायर

काठमाडाैं । अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धित देशको मात्रै नभएर अन्तरदेशीय सुरक्षाको समेत गम्भीर चासो भएको स्थान हो । तर त्यही अन्तर्राष्ट्रिय नाकामा खटिने सरकारी निकायबीच सौहार्द वातावरण छैन ।

नेपालबाट बाहिरिनेको प्रहरीले सुरक्षा जाँच गर्दै आएको छ । विमानस्थलभित्र खटिएका कर्मचारी पनि त्यही घेरामा हुन्छन् । त्यही विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच पटक-पटक विवाद हुँदै आएको छ । आज त विमानस्थल अध्यागमनको अवस्था झन् असहज देखियो ।

कसैले प्रहरीमाथि त  कसैले अध्यागमन कार्यालका कर्मचारीमाथि दोष लगाइरहेका छन्। शुक्रबार दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले  हातपात गरेका थिए।

यसैबीच, नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गर्नु गलत भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रहरीले गाली खान र सहन सिक्नु पर्ने बताएका हुन्। उनले हरेक गालीका लागि कुटपिट गर्ने र गोली हान्ने हो भने दिनैपिच्छे मानिस मारिने बताएका छन्। अध्यागमनमा जे भयो त्यो  प्रहरीको उपल्लो नेतृत्व र बिमानस्थलमा खटिएका नेतृत्वको कमजोरी, नालायकिपन, बेकुफि भएको उनको भनाइ छ।

उनले लेखेका छन्, ‘अन्तराष्ट्रिय विमानस्थलमा भएको गतिविधिहरूले अन्तर्राष्ट्रिय महत्त्व राख्छन्। अन्तराष्ट्रिय विमानस्थलमा अनुशासित, संयमित, संवेदनशिल, मर्यादित हुनु सबैको दायित्व हो चचाहे प्रहरी या अध्यागमन कर्मचारी। अध्यागमनका अधिकृतले भनेको कुनै कुरा चित्त बुझेन भने  प्रहरीले सम्बन्धित निकायमा  भन्नू पर्थ्यो। जसका लागि त्यहाँ खटेका या उपस्थित प्रहरीका कमाण्डरले अध्यागमन अधिकृतको कुनै कुराआपत्तिजनक लागे सर हजुरको यो कुरा ठिक भएन भनेर भन्नुपर्थ्यो न कि अध्यागमन अधिकृतलाई कुटपिट गर्ने। सामान्य कुरा पचाउन नसक्ने प्रहरीले भीड नियन्त्रणमा गोली अनावश्यक चलाउँछ र जनधनको क्षति हुन्छ। प्रहरीले गालि खान र सहन सिक्नुपर्छ हरेक गालीका लागि कुटपिट गर्ने र गोली हान्ने हो भने त कति मानिस मारिन्छन कति दिनै पिच्छे। त्यसैले त्यहा जे भयो त्यो प्रहरीको उपल्लो नेतृत्व र विमानस्थलमा खटिएका नेतृत्वको कमजोरी, नालायकिपन, बेकुफि हो। कुनै पनि हालतमा अध्यागमन अधिकृतलाई हातपात गर्नु हुँदैन थियो। माथिल्ला अधिकृत बसेर अझ मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई समेत सम्मिलित राखेर त्यहाँ के भएको थियो भन्ने कुराको छलफल निकालेर निचोड निकालिनुपर्ने थियो न कि कुटपिट।’

अधिकार क्षेत्रबारे आरोप-प्रत्यारोप

प्रहरी जवानसँग अधिकृत मोक्तानले विवाद गरेको देखेपछि अन्य प्रहरी पनि त्यही आइपुग्छन् । सबैसँग मोक्तानको विवाद हुन्छ । त्यही क्रममा मोक्तानले प्रहरी जवानमाथि लात्ताले हानेको पनि सीसी क्यामेरा दृष्यमा देखिएको छ ।

त्यही क्रममा एक प्रहरीले मोक्तानलाई पनि धकेलेका छन् । विवाद चर्किएपछि सबै प्रहरीको एक समूह आएर मोक्तानलाई नियन्त्रणमा लिएर लैजान्छ । प्रहरी जवानले आफूमाथि हातपात गरेको मोक्तानको आरोप छ । विवाद चर्किएपछि अध्यागमन कार्यालय प्रमुख गोगन हमालसहितका कर्मचारीहरु प्रहरीको सीसी क्यामेरा कोठामा गए । जहाँ अध्यागमनका कर्मचारी निकै चर्को विवादमा देखिन्छन् ।

प्रहरीका अनुसार सीसी क्यामेरामा दृष्य हेरेपछि अध्यागमन कर्मचारी आक्रोशित भए । विमानस्थलकै अर्का एक प्रहरी अधिकृतका अनुसार सीसी क्यामेरा कोठामा पनि अध्यागमनका कर्मचारी र प्रहरीबीच चर्को विवाद भएको थियो । जसमा अध्यागमन प्रमुख हमाल स्वयं आफैं निकै आक्रोशित देखिन्छन् ।

सीसी क्यामेरामा खटिएका प्रहरी नायब निरीक्षक प्रकाश चौधरीमाथि दुर्व्यवहार हुँदा सीसी क्यामेरा राख्ने तीनवटा स्ट्यान्डमा क्षति पुगेको छ । विवाद समाधानका लागि अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ पनि विमानस्थल गए । केहीबेर विमानस्थलको कामै प्रभावित भयो ।

‘छानबिन समिति गठन गरेका छौं । दुई निकायबीच बुझाइमा समस्या भएको हो,’ महानिर्देशक तामाङकाे भनाइ छ ।

त्यसो त प्रहरी र अध्यागमन अधिकृतबीच यति विवाद आउनुको पछाडि प्रहरीले चलाएको कारबाही नै जोडिएको छ । भिजिट भिसाका नाममा विदेश जानेहरुलाई साथ दिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर कारबाही चलाइरहेको छ ।

दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । खड्काको साथबाट विदेश पठाउने ५६ जनाको सूची बरामद भएको थियो । त्यसपछि पनि अध्यागमन कर्मचारीले आफूहरुमाथि हस्तक्षेप भएको भन्दै कामै ठप्प पारेका थिए ।

विमानस्थलमा खटिएका अध्यागमन कर्मचारी र प्रहरी दुवै गृह मन्त्रालय मातहतका संयन्त्रहरु हुन् । तर अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील ठाउँमा खटिएका राज्य संयन्त्रबीचै सुरक्षा मापदण्ड पालनाकै लागि यति धेरै विवाद हुनु स्वभाविक छैन । राष्ट्रिय सुरक्षा र छविमाथि नै प्रश्न उठ्नेछ ।