कोरोना कोषमा अर्थमन्त्रालय मातहतबाटै २१ करोड

काठमाडौं । अर्थमन्त्रालय मातहतका विभिन्न निकायले सरकारले घोषणा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा करिब २१ करोड रुपैयाँ सहयोग गरेका छन् ।


बिहीबारसम्म अर्थ मन्त्रालय मातहतका निकायबाट २० करोड ९७ लाख रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ ।


यसबाहेक विभिन्न २० वटा बैंकबाट २२ करोड रुपैयाँ जम्मा भएको समेत अर्थ मन्त्रालयको जानकारी गराएको छ ।


कोरोना कोषमा नेपाल धितोपत्र बोर्डले ३ करोड, कर्जा तथा निक्षेप सुरक्षण कोषबाट ३ करोड, नेपाल स्टक एक्सचेन्जले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।


यसैगरी सिडीएस कम्पनीबाट कोरोना कोषकोमा ३५ लाख रुपैयाँ प्राप्त भएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट २ करोड रुपैयाँ सहयोग प्राप्त भएको छ ।

राष्ट्रिय बीमा संस्थानले १ करोड,नेपाल पुनर्बीमा कम्पनीले १ करोड ११ लाख , नागरिक लगानी कोषबाट २ करोड र कर्मचारी संचय कोषबाट ५ करोड रुपैयाँ कोरोना कोषमा जम्मा भएको छ ।


यसरी विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण, नियन्त्रण र उपचार कोषमा विभिन्न व्यक्ति, निजी तथा सार्वजनीक संघ संस्थाले सहयोग गरिरहेका छन् ।