एनसेलले सम्पुर्ण लाभकर चुक्ता गर्यो : विभिन्न ७ बैंकबाट लियो ऋण

काठमाडौं । पुँजीकर लाभकरमा विवादित एनसेलले आइतबार समपुर्ण लाभकर चुक्ता गरेको छ ।
एनसेलले दुई साताअघि दोस्रो किस्ता बापत् चार अर्ब ६० करोड बुझाएको थियो भने आइतबार सम्पुर्ण रकम बुझाएको हो ।

एनसेलले १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर बुझाएको हो । यससँगै एनसेलको लाभकरसँग सम्बन्धि सबै दायित्व सकिएको एनसेल कम्पनीले जनाएको छ ।

एनसेलले सुरुमा अग्रिम लाभकर बापत् कूल लाभको १५ प्रतिशतले हुने २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो । त्यसपछि बाँकीको १० प्रतिशत लाभकर कोसँग असुल गर्ने भन्ने विवाद सुरु भएको थियो ।

यो विवादमा सर्वोच्च अदालतले फैसला दिएपछि एनसेलको सेयर कारोबारमा भएको लाभमा बाँकीको १० प्रतिशत कर भुक्तानीको प्रक्रिया सुरु भएको थियो । सर्वोच्चको फैसला लगत्तै एनसेलले बाँकी रहेको करको करिब २० प्रतिशत रकम बुझाएको थियो । त्यतिबेला एनसेलले चार अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको हो । दुईइसाता अघि दोस्रो किस्ता बापत् ४ अर्ब ६० करोड र अन्तिम किस्ता स्वरुप आइतबार १४ अर्ब ३३ करोड बुझाएको छ । एनसेलले पुँजीगत लाभकर बापत् २३ अर्ब १६ करोड रुपैयाँ सरकारलाई बुझाइसकेको छ ।

एनसेलले यति ठुलो धनराशी नेपाली बैंकसँग ऋण लिएर बुझाएको हो । एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा अन्य बाणिज्य बैंकसँग ऋण लिएको एनसेल कम्पनीले जनाएको छ । इन्भेस्टमेन्ट, नबिल र ग्लोबल आइएमइ बैंकले ४÷४ अर्बका दरले ऋण दिएका छन् ।

त्यस्तै हिमालयन बैंकले साढे २ अर्ब, सानिमा बैंकले ५० करोड रुपैयाँ ऋण दिएको छ । साथै एभरेष्ट बैंकले पनि दुई अर्ब रुपैयाँ दिएको हो ।

यसैगरी नेपाल बैंकले तीन अर्ब रुपैयाँ दिएको छ । विभिन्न बैकहरुबाट समान १०.५ प्रतिशतका दरले कुल २० अर्ब ऋण उठाएर लाभकर चुक्ता गरेको छ ।
बैंकहरुले शुक्रबार नै ऋण स्वीकृत गरिसकेका थिए। आइतबार बिहानै एनसेलले बैंकहरुले दिएको पैसा एभरेष्ट बैंकमा जम्मा गरेको थियो। एभरेष्ट बैंकको चेक काटेर एनसेलले पैसा तिरेको हो ।
एनसेलले केही दिन अघिमात्रै सरकारले आह्वान गरेपछि कोरोनाविरुद्ध लड्नका लागि १० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा समेत जम्मा गरेको थियो ।