कोरोनाबाट विश्वभर ५ लाखको मृत्यु, १ करोड बढी संक्रमित

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४९ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार सोमबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ५७ हजार ९८० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४१ लाख ८७ हजार ३६९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ३७ हजार ७७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार ४३७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २१ लाख ४७ हजार ६८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८२ हजार ३८६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३० लाख ७६ हजार ९७० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६६ हजार ६९० जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख १३ हजार ५१९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९० हजार ७२५ को मृत्यु भएको छ । एसियामा २२ लाख १६ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५४ हजार ८५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ८५ हजार २१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ६९८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

यातायात कार्यालयकै कर्मचारीको संलग्नतामा गाडी चोरी, परे पक्राउ

धनगढी । कैलाली धनगढीस्थित यातायात व्यवस्था कार्यालय दुई जना कर्मचारीको गाडी चोर्ने गिरोहसँग मिलमत्तो रहेको खुलेको छ ।

धनगढी यातायात व्यवस्था कार्यालयमा कार्यरत दुईजना सहित सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न गिरोहलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न यातायातका दुई जना कर्मचारी सहितको गिरोहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त गिरोहमा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीमा सहयाक कम्प्युटर अपरेटर पदमा कार्यरत जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई पक्राउ परेका हुन् ।

यस्तै उक्त गिरोहमा संलग्न कैलाली र कञ्चनपुरका विभिन्न स्थानका थप ८ जना पनि पक्राउ परेको दावी स्रोतको छ ।

उनीहरु मोटरसाइकल लगायतका सवारी साधन चोरी र नक्कली कागजपत्र बनाएर विक्री गर्ने काममा लामो समयदेखि सक्रिय रहेको बुझिएको बताइएको छ ।

उनीहरूबाट ८ वटा मोटरसाइकल समेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन मार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ

भारतमा कोरोना नियन्त्रण बाहिर: गृहमन्त्री भन्छन्, सरकार सफल हुँदैछ

नयाँदिल्ली । भारतीय गृहमन्त्री अमित शाहले भारतको राजधानी शहरमा कोभिड १९ को महामारी कम गर्न विशेष रूपमा काम गरेको बताएका छन् । उहाँले राजधानीमा निकै विस्फोटक रूपमा संक्रमितहरुको संख्या बढ्दै गएकोले रोकथामका कामहरुमा सरकारले ध्यान दिएको बताए ।

उनले संक्रमणको रोकथामका लागि आवश्यक मात्रामा सरकारले काम गरेको भन्दै सरकारले रोगविरुद्ध लड्न पूर्वाधार निर्माणको काम गरेको बताए । उनले सरकारले अस्पताल, बेडहरु र उपचारका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने जानकारी दिए ।

उनले यस महिनाको अन्त्यसम्ममा राजधानी सहर दिल्लीका लागि कम्तीमा पनि ३० हजारजति बेड उपलब्ध हुने गरी सरकारले काम गरेको बताउनुभयो । सरकारले कम्तीमा पनि ८ हजार जति बेडहरु रेलका डिब्बामा तयार पारिएको बताए ।

सरकारले रेलका डिब्बाहरुलाई पनि आइसोलेसन बेड र उपचार कक्षकै रुपमा विकास गरेको भन्दै आइसियु चाहिने विरामीलाई मात्र अस्पताल लगे हुने अवस्था बनाइएको बताए । यो जुन महिनाको अन्त्यसम्ममा दिल्लीमा मात्र कम्तीमा पनि २५० ओटा भेन्टिलेटरसहितका आइसियु बेड निर्माण गरिदिने जानकारी पनि मन्त्री शाहले दिए ।

उनले सरकारले कोरोना भाइरसका विरुद्धमा कडा रूपमा लडिरहेको धारणा पनि राखे । उनले भने, जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले काम गरिरहेको छ । उहाँले दिल्ली सरकारले पनि यहाँको अस्पतालको व्यवस्था राम्रो हुन नसकेको विषयमा ध्यान दिनुपर्नेमा जोड दिए ।

दिल्लीका अस्पतालहौले आफूखुशी उपचार खर्च लिने गरेको भन्दै ती अस्पतालले धेरै उपचार खर्च लिएका र अरु पनि राम्रो व्यवस्था गर्न नसकेको भन्दै कैयौँ गुनासोहरु आएकोले त्यस विषयमा ध्यान दिन पनि आग्रह गरे ।

काँग्रेस महाधिवेशन फाल्गुन ७ मै गर्ने निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्नेबारेमा छलफल भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सो निर्णय पार्टीको आगामी केन्द्रीय समिति बैठकबाट पारित गराउन काँग्रेसले यही असार १६ गते दिउँसो १ः०० बजे केन्द्रीय समितिको बैठक बोलाएको छ ।

काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहतका निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो।

सो तालिका अनुसार २०७६ फागुनदेखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यसम्पन्न गर्ने अवधि तोकेको थियो ।

उक्त कार्यतालिका अनुसार जिल्लामा क्रियाशील सदस्यता फाराम पु¥याउने काम भए पनि कोभिड–१९ का कारण वितरण र नवीकरण कार्य प्रभावित भएको थियो।

काँग्रेसले १४औँ महाधिवेशनका लागि गाउँ÷नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो। यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन आगामी मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो।

काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो। काँग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्को व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ।

बुद्धचित्तको मालासहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका—१५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध रुपमा बुद्धचित्त सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्तस्वयम्भूबाट खटिएको प्रहरीले घर तलासीगर्दा सानो माला ४ सय १६ थान र ठूलो माला ६ थान गरी उक्त परिमाणको बुद्धचित्तको माला र बुद्धचित्त फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

राप्रपाको केन्द्रीय सचिवालयमा ९ जनालाई मनोनयन

काठमााडैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गरेका छन् ।

मनोनित हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ) राजाराम बर्तौला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) हुनुभएको पाटी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

साथै आज बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्ष त्रयप्रति आभार व्यक्त गरेको छ ।

रौतहटमा दुई जना वडाध्यक्षसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटमा दुई जना वडाध्यक्षसहित क्वारेन्टिन बाहिरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बौधीमाई नगरपालिकाका दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य, दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र सात जना कर्मचारी गरी कुल १४ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताउनुभयो ।

शनिबार आएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार उनीहरूमा संक्रमण पुष्टि भएको बताउँनुभयो ।

जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि तथा कर्मचारीहरू संक्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङ गरी तत्काल कोरोना परीक्षण गरिनुपर्ने माग स्थानीयले राखेका छन् ।

संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई नगरक्षेत्रभित्र रहेको विद्यालयमा निर्मित आइसोलेसनमा पठाइएको छ ।

नेपालले नाका बन्द गर्दा भारतीय बजार ठप्प

धनगढी । कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनवसाका व्यापारीको कारोवार ठप्प भएपछि सीमा नाका गड्डाचौकी खोल्न आग्रह गरेको छ ।

प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसाले भारतस्थित नेपाली दुतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो।

नेपालको महेन्द्रनगर लगायत क्षेत्रका व्यापारीबाट वनवसाका व्यापारीको लाखौं रुपैयाँको मालसामान उधारो लिएकाले रकम असुलका लागि व्यापारीलाई सीमा क्षेत्रमा प्रवेश गर्न माग गरेका छन्।

भारतीय सेनाका पूर्वसैनिकहरुलाई सीमा नाकामा बिनारोकतोक पेन्सन बुझ्न वनवसा, खटिमा र टनकपुर जाने आउने व्यवस्था गरिएझै व्यापारीहरुलाई पनि सोही व्यवस्था गर्न माग गरिएको उनले बताए ।

लकडाउनका कारण सीमावर्ती वनवसालगायत क्षेत्रको कारोवार ठप्प रहेको छ । वनवसाको ९५ प्रतिशत व्यापार नेपालमा निर्भर रहेको छ ।

कोरोना संक्रमणबाट संसारभरि १ सय ५८ जना नेपालीको मृत्यु

काठमाडौँ । कोरोना (कोभिड–१९) को सङ्क्रमणबाट हालसम्म विश्वभर १ सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीमा संक्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा संक्रमण भेटिएको छ ।

एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ ।

साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड–१९ का कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली संक्रमणबाट मुक्त भएका छन् ।

थप ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

काठमाडौँ । अद्यावधिक विवरण अनुसार आइतबार नेपालमा थप ४ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।

योसँग नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १२ हजार सात सय ७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १ सय ८९ रहेको छ । योसँगै डिस्चार्ज हुने संक्रमितको कुल संख्या तीन हजार १३ पुगेको छ

सुदूरपश्चिममा कोभिड–१९ बाट थप एक जनको मत्युुः प्रदेशमा संक्रमणबाट मत्यु हुनको संख्या ६ पुग्यो

कैलाली । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा स‌क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

कोभिड—१९ को सङ्क्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा १ सय १६ वीर, अस्पतालमा गरिएको परीक्षणमा ६ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६२ जना र सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३० गरी जम्मा २ सय १४ मा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार ७६ पुगेको छ । जसमा ४सय २४ महिला र बाँकी पुरुष रहेका छन् । शनिबार मात्रै कैलालीमा २६ कञ्चनपुरमा तीन, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेलधुराम सात, डोटीमा ६१ बझाङमा आठ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो ।

जिल्लागत रुपमा हालसम्म कैलालीमा ५७७ जना, अछाममा १३३, बैतडीमा २३१, बझाङमा ७२, बाजुरामा १९१, डडेलधुरामा २२६, दार्चुलामा १६, डोटीमा ३२३, र कञ्चनपुरमा ३०७ जना कोभिड–१९ का सङ्क्रमित पुगेका छन् । जाँचकोे अवस्थाः प्रदेशमा आरडिटी र पीसीआर पद्धतिबाट गरेर जम्मा एक लाख २५ हजार २९३ को नमूना जाँच गरिसकिएको छ ।

आरडीटी जाँचको तुलनामा प्रभावकारी मानिएको पीसीआर जाँच १६ हजार ९ सय ३५ जनामा गरिएकोमा दुई हजार ७६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको हो । चार हजार १७४ जनाको नतिजा आउन बाँकी छ । यस्तै आरडीटी पद्धतिबाट एक लाख आठ हजार ३ सय ५८ को स्वास्थ्य जाँच गरिएको छ । प्रदेशको एक मात्र प्रयोगशाला सेती प्रादेशिक अस्पताल धनगढीमा आवश्यक स्वास्थ्य सामग्रीका साथै जनशक्तिको अप्रयाप्तता र मेसिनको क्षमता कमजोर भएका कारण शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबको नमूना समयमै जाँच गर्न नसकी थन्किने गरेका छन् ।

सङ्कलन भएको स्वाबको नमूना जाँचका लागि अन्य प्रयोगशालामा पनि पठाउने गरिएको छ । सङ्क्रमितहरुको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेशन उपचार भइरहेको छ । अस्पतालको आइसोलेशनमा रहेकाहरु १ सय ३५ जना रहेकोमा अधिकांश सङ्क्रमित स्थानीय तहको आइसोलेशनमा छन् । यस बाहेक कोरोनाका शङ्कास्पद थप १६ जनालाई अस्पतालको आइसोलेशनमा राखिएको छ । प्रदेशमा हाल सम्म ५ सय ९४ सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ ।

स्वाब नमूना जाँचको दायरा बढाउन प्रदेशको डोटी र बैतडीमा एकरएक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम पीसीआर मेसिन खरिद प्रक्रिया सकिएर सम्झौता हुने चरणमा पुगेको जनाइएको छ । स्वाथ्य महाशाखा प्रमुख कार्कीले पछिल्लो पटक क्वारेन्टिनमा बसेकाको आरडीटी किटमार्फत मेलेरिया रोगको जाँच गर्ने काम पनि भइरहेको छ । पछिल्ला महिनामा प्रदेशमा मलेरिया, कालाजार र डेंगू जस्ता सङ्क्रमक रोग देखिन थालेको जनाइएको छ ।
–––

सवारी दुर्घटनामापरी पत्रकार तथा कलाकार पाण्डेको निधन

बुटवल । सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी बताए।

बा ७ च ६९५९ नम्बरको कार चलाएर बुटवलबाट आफ्नो निवास ड्राइभरटोल तर्फ जाँदै गर्दा राति करीब ११ बजे सडक छेउको रेलिङमा ठोक्किँदा गम्भीर घाइते भएका न्युज २४ टिभीमा कार्यरत पत्रकार पाण्डेको गए राति करीब १२ः४५ बजे बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र कार पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

पत्रकार पाण्डेको शव परीक्षणका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रनाउ पाण्डेले बताए। पछिल्लो समय पत्रकारितामा नै व्यस्त पाण्डेले पावरन्युजनेपाल अनलाइन सञ्चालन गर्दै आएका थिए ।

स्थायी घर स्याङ्जाको बिर्घा रहेका पत्रकार पाण्डेचत्रित पत्रकार समेत हुन् , उनको केही वर्षअघि ‘भंगेरी चरीले मैदानमा लरी लरर’ नामको तीजगीत चर्चित भएको थियो ।

वाणिज्य बैंक नेपालगन्जका शाखा प्रबन्धक पक्राउ

काठमाडौँ । नेपालगन्ज त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाही सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका छन् ।

रु एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ ।

जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ निवासी सुनचाँदी व्यवसायी जसगढ जेठ २७ गते नै पक्राउ परेका थिए ।

प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रबन्धक शाहीलाई पक्राउ गरेको हो । बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

रु २५ लाखभन्दा बढीको ऋण स्वीकृत गर्दा केन्द्रको अनुमति चाहिने प्रावधान रहेकाले नक्कली कागजपत्रकै आधारमा रु एक करोड २५ लाख ऋण प्रवाहमा बैंकका माथिल्लो तहका कर्मचारीको पनि संलग्नता भएको प्रहरीको अनुमान छ । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसूरको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन सार्नेबारे छलफल हुने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ ।

पार्टी सभापति शेरवहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्न लागेको वैठकमा आसन्न महाधिवेशनको कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरू हुन सकेको छैन । महाधिवेशनका लागि गत चैतबाटै क्रियाशिल सदस्यता वितरण र नवीकरण गर्नुपर्ने काम रोकिएको छ ।

आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको मिति पर सार्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

अनाधिकृत रुपमा उपत्यका भित्रिए गाडि, सेटिङमा काे-काे?

काठमाडौ । लकडाउनकाे पछिल्लो चरणमा उपत्यकामा अनाधिकृत रुपमा गाडिहरु भित्रिएका छन् । र, त्यसरि नै बाहिरिएका पनि छन् । यसले गर्दा उपत्यकामा कोभिड–१९ को जोखिम दिनानुदिन बढ्दाे छ ।

विश्वभर फैलिएको (कोभिड–१९) को संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले विगत ९६ दिनदेखि यता मुलुकलाई बन्दाबन्दीमा राखेको छ ।

यससँगै मुलुकले आर्थिक संकट भोगिरहेको छ भने आम सर्वसाधारणहरु पनि लकडाउनकै कारण पूर्ण रुपमा प्रभावित बनेका छन् ।

फेरी, पनि कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भोकै पेटमा भएपनि सर्वसाधारणहरु धैर्यताका साथ घरभित्रै बसिरहेका छन् ।

तर पनि मुलुकमा कोरोना भाइरसको संक्रमण दिन दुईगुना रात चौगुनाको रुपमा बढिरहेको छ ।

लकडाउन अगाडि २ जनामात्र संक्रमित भेटिएको नेपालमा लकडाउन भएको ९६ औं दिनसम्म आइपुग्दा १२ हजार भन्दा बढी संक्रमित पुगेको छन् ।

सामान्यतया लकडाउन कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिन्छ । कोरोनाको उद्गमस्थल चीनको बुहानमा समेत लकडाउन गरेको ७६ औं दिनमा कोरोनालाई पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।
नेपालमा लकडाउन भएको ९६ औं दिन पूरा भयो तर  झन् झन् कोरोना संक्रमितहरुको संख्या बढ्नुको कारण के हो त ?
यसको प्रमुख कारण हो सरकारका निकायहरुकै गैरजिम्मेवारीपन र भ्रष्ट छवि ।

उपत्यकामा बढ्दैछ जोखिम
सरकारले सुरुवाती दिनमा लकडाउनलाई कडाईका साथ लागु गरेको थियो । त्यतिबेला कोरोना भाइरसको संक्रमणपनि नियन्त्रित जस्तै थियो । भारत र अन्य मुलुकहरुबाट आएका मानिसहरुमा मात्र फाट्टफुट्ट संक्रमण देखिएको थियो भने हाम्रो समाजमा संक्रमण फैलिएको थिएन । लकडाउनलाई सुरुवाती दिनमा जसरी नै निरन्तरता दिइएको भए आजका दिनसम्म कोरोना भाइरसले आजको रुप लिने थिएन । तर सरकारले लकडाउनको समयावधि थप्दै जाँदा त्यसको नाजायद फाइदा उठाउने उदेश्य लिएर केही माफियाहरु सक्रिय भइरहँदा उपत्यकामा कोरोना भाइरसका कारण भयावह बन्न सक्ने अवस्था आउनेमा स्वास्थ्य विज्ञहरुले अड्कलबाजी गर्न थालेका छन् ।

लकडाउनको सुरुवाती दिनमा उपत्यकामा खासै जोखिम थिएन तर आज उपत्यका उच्च जोखिममा रहेको छ । यसो हुनुको मुख्य कारण हो विना चेकजाँच मानिसहरु उपत्यका भित्रनु । गृह मन्त्रालयले केही दिन अघि मात्र उपत्यकालाई थप सुरक्षित बनाउनका लागि उपत्यका भित्रने जोकोहीलाई पनि क्वारेन्टाइनमा राख्ने उद्घोष गरिरहँदा यातायात व्यवसायीहरुले सुरक्षाकर्मीहरुलाई नै प्रभावमा पारेर भएपनि भारत र नेपालको कैलाली, धनगढीलगायत कोरोना संक्रमण फैलिरहेको ठाउँका मानिसहरुलाई चर्को भाडा लिएर राजधानी भित्र्याईरहेका छन् ।

यातायात व्यवसायीहरुको यस्तो हर्कतले सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरेको सम्पूर्ण प्रयास खेर गइरहेको छ ।

उपत्यका छिर्ने काइदा
सरकारले उपत्यकालाई जोखिममुक्त बनाउने भन्दै उपत्यका भित्रिनका लागि कडाई गरेको छ । तर यातायात व्यवसायीहरुले अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीहरुलाई प्रभावमा पारेर कैलाली, कञ्चनपुर, धनगढी, झापा, विरगञ्जलगायतका ठाउँहरुबाट मानिस उपत्यका भित्रिइरहेका छन् ।

व्यवसायीहरुले १०३ को सहायता होस् वा विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुको सिफारिसको आधारमा होस् निर्धक्क मानिसहरु ओसार पोसार गरिरहेका छन् ।

केही यातायात व्यवसायीहरुले कैलाली, कञ्चनपुर, धनगढी, विरगञ्ज, गुल्मी, रौतहट, भैरहवा, बुटवललगायतबाट मानिसहरुलाई चर्को भाडा लिएर धादिङ्गको गल्छीसम्म ल्याएर छाड्ने त्यसपछि उनीहरुलाई भित्रि बाटो हुँदै उपत्यका भित्र्याउने गरेको गुनासाहरु बढिरहेको भएपनि सुरक्षा कर्मीहरु यस विषयमा बेखबरजस्तै छन् । त्यसरी चोरबाटोबाट भित्रिने मानिसहरु विना चेकजाँच काठमाडौ छिरिरहेका छन् । गल्छीस्थित एक स्थानीयका अनुसार–‘दैनिक ५ सय भन्दा बढी मानिस यहाँसम्म बसमा आउने र हिँडेर उपत्यकातर्फ लाग्दछन् ।’  

होल्डिङ्ग सेन्टरमा लुट
लकडाउनको समयावधि थपिँदै गर्दा विदेशमा अलपत्र रहेका नेपालीहरुलाई नेपाल भित्र्याउने अभियानमा सरकार लागेको छ । यसका लागि सरकारले आवश्यकता अनुसार होल्डिङ्ग सेन्टर र क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको थियो । सोही अनुसार होल्डिङ्ग सेन्टरमा रहेकाहरुलाई सम्बन्धित स्थानीय सरकारको समन्वयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसारको प्रक्रिया पूरा भएपछि घरसम्म पु¥याउने व्यवस्था गरेको छ । सरकारले विदेशबाट भित्रिएका नागरिकलाई घरसम्म पुर्याउने केही यातायात व्यवसायीहरुसँग समेत समन्वय गरेको छ । यहाँनेर व्यवसायीहरुले मौका छोपिरहेका छन् । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाकै संलग्नतामा होल्डिङ्ग सेन्टर र १०३ को सेटिङ्गमा यात्रुहरुबाट तीन दोब्बर बढी भाडा लिने र नारायण भट्टराई नामका विचौलियाको प्रयोग गरी प्रतिबस १२ देखि १५ हजारका दरले असुली गरिरहेका छन् ।

यसरी विदेशमा समस्यामा परेर नेपाल फर्किएकाहरु नेपालमै ठगिईरहेका छन्, लुटिइरहेका छन् । यसतर्फ सुरक्षा निकाय समेत मौन देखिएका छन् । यसको छानविन कसले गर्ने ? न्याय भन्ने शब्द यतिबेला कोमामा छ । विदेशबाट आएका नेपालीहरु आक्रोशित छन् । यस्तो बेथितिका बारेमा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोकजत्वमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारीले जनता नठगिउन् यतिबेला सेवा गर्ने हो राष्ट्रले सबैसँग सहयोगको अपेक्षा गरेको छ भन्दै आग्रह गरेको सुनिए पनि उनको कुरा कार्यान्वयनतर्फ प्रहरीको सेटिङ्गले सुन्ने मात्र गर्छ पालना नगरेको बजारमा देखिएको छरपष्ट व्यवहारबाट प्रष्ट भएको छ ।

धादिङ्ग सम्मको पास काठमाडौ सम्मको यात्रा
सरकारले उपत्यका छिर्न कडाई गरेकै अवस्थामा उपत्यकाबाहिरबाट उपत्यका भित्रिइरहेको गुनासो बढेपछि काठमाडौ जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ एक छड्के अनुगमन गरेको थियो । सो क्रममा गुनासा आएजस्तै मानिसहरु भित्रिइरहेको मात्रै होइन धादिङ्गसम्मको पास लिएको बस काठमाडौको कलंकीसम्म नै पुगेको भेट्टाए ।

धादिङ सम्मकाे उल्लेखित पास प्रयाेग गरि सवारि काठमाडौं भित्रिएकाे हाे

काठमाडौ कलङ्किमा बसले पेसेन्जर हाल्दै गर्दा अनुगमन टोलिले पास जफत गरेको हो।

कैलाली–धादिङ्ग–कैलालीको पास लिएको बस काठमाडौ कसरी छिर्यो ? यो घटनाले नागढुँगामा चेकजाँचमा खटिएको सुरक्षा संयन्त्रमाथि नै गम्भीर प्रश्न खडा भएको छ । सरकारको अभियानलाई सार्थकता दिन काठमाडौ जिल्ला प्रशासन कार्यालय सशक्त रुपमा अगाडि बढिरहेको भएपनि सुरक्षाकर्मीको भूमिका भने फितलो देखिएको छ । कैलालीबाट धादिङ्ग गल्छीसम्मको पास लिएर आएको बसले प्रतियात्रु ६/६ हजारका दरले भाडा तिरेर आएको यात्रुहरुले अनुगमन टोलीसँग बताएका थिए ।

काठमाडौ जिल्ला प्रशासन कार्यालयले गत शुक्रबार साँझ गरेको अनुगमनमा प्रदेश नं. ३ ०१–००६ ख ००६६ को बसलाई पक्राउ गरेको छ । सो बसले काभ्रे जिल्ला प्रशासन कार्यालयले मोरङ्ग जिल्ला प्रशासनलाई चिठ्ठी लेखाई पासमा उल्लेख गाडी गएको भेटिएपछि अनुगमनमा खटिएका प्रशासकीय अधिकत खड्ग श्रेष्ठले राति काठमाडौ फर्कने क्रममा पास देखाउनोस् भन्दा जारी हुनुभन्दा एकदिन अगाडि नै गएको भेटिएपछि उनलाई कानुनी दायरामा ल्याएको छ । यसरी यातायात व्यवसायी महासंघ नै खारेज गरी सिन्डिकेट नचल्ने भनिएपनि महासंघको महासचिव सिटौलाले विचौलिया प्रयोग गरी आफ्ना नजिकका मान्छेलाई होल्डिङ्ग सेन्टरमा यात्रु बोक्न लगाउने र होल्डिङ्ग सेन्टरको पास समेत अरु यात्रुहरु बोक्न प्रयोग गरेको भेटिएपछि यातायातको सिन्डिकेट लकडाउनमा महासिन्डिकेटमा परिणात भएको विहानी यातायातका गणेश श्रेष्ठले बताउनुभयो । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले आषाढ १२ गते साँझ गरेको अनुगमनमा अत्यन्तै राम्रो भएको भन्दै हामीलाई सरकार नभएको अनुभूति भइरहेको थियो यो अनुगमनले अनुगमन पनि हुँदो रहेछ भन्ने परेको छ प्राइम यातायातका प्रकाश श्रेष्ठले सम्पत्ति न्यूजलाई बताउनुभयो ।

भारतीय नागरिक बोक्ने गाडीले समेत पासको दुरुपयोग
भारतीय नागरिक बोक्ने भन्दै भारतीय राजदूतावासदेखि गृहमन्त्रालय धाएर लिएको पास समेत व्यवसायीहरुले गैरभारतीय बोक्ने गरेको भेटिएको छ । काठमाडौबाट भारतीय नागरिक लैजाने भन्दै भैरवहा, वीरगञ्ज सम्मको पास लिएपछि त्यो पास समेत दुरुपयोग भएको अनुगमनको क्रममा फेला परेको थियो । आषाढ ३ गते जारी पासमा कति जना यात्रु भारत जाने नखुलाई अघिकै मितिमा पास लिएर आषाढ १४ सम्म चर्को भाडा लिएर बीच बीचमा यात्रु झार्ने र बोक्ने गरेको पाइएपछि भारतीय यात्रु बोक्ने नामको पास समेत दुरुपयोग भएको पाइएको अनुगमनमा खटिएका जिल्ला प्रशासन काठमाडौबाट खटिएका प्रशासनिक अधिकृत खड्ग श्रेष्ठले बताउनुभयो ।

भारतीय नागरिक बोक्ने भनिएको गाडीमा समेत पासको दुरुपयोग

काठमाडौ जिल्ला प्रशासन कार्यालयबाट खटिएको अनुगमनले टोलीले यात्रुहरुसँग कुरा गर्ने क्रममा आफूँहरुलाई तीन तोब्बर बढी भाडा लिएको र भैरहवा जाने बसमा सुनौली, परासी, बुटवलसम्म जाने यात्रुहरु पनि बसमा चढाएको सम्पत्ति न्युजलाई बताए । भारतीय नागरिक बोक्ने भनि पास लिने र दुरुपयोग गर्नेमा मञ्जुश्री यातायात पहिलो नम्वरमा रहेको यातायात व्यवसायीहरुको आरोप त छँदै थियो त्योसँगै अनुगमनबाट क्रममा पनि सो कुराको पुष्टि भएको छ ।  

अनुगमनमा जे देखियो

बेलुकी नागढुँगासम्म पुगी बाहिरबाट आएका पैदल यात्रु चर्को भाडा तिर्न विवश थिए भने उनीहरुलाई काठमाडौ छिर्न त्यति सहज थिएन । झ्याप्लेखोला नजिक नागढुँगामा विभिन्न जिल्लाबाट बोकी ल्याएका गहुंङ्गो भारीसहित यात्रुहरुले ३/४ किलोमिटर पैदल यात्रा गर्दै नागढुँगाको नाका भएर राजधानी प्रवेश गरिरहेको देखिन्थ्यो ।

त्यतिमात्र होइन विभिन्न सीमावर्ती क्षेत्रबाट आएका बसहरुले गल्छीसम्मको पास लिएको भएपनि कलंकीसम्म पुग्ने गरेको अनुगमनको क्रममा भेटिएको थियो । यसबीच सिडियो कार्यालय काठमाडौबाट खटिएको अनुगमन टोलीलाई थानकोटस्थित प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले खासै सहयोग गरेनन् । उनले अनुगमन टोलीलाई औपचारिकता त निभाए तर १०३ को नाममा भित्रिने र बाहिर बसहरुको पास चेकजाँच गरौँ भन्दा एकाएक गायब भएका थिए भने सहजीकरण समेत गरेनन् ।

धादिङसम्मको पास लिएर आएको गाडीलाई अनुगमन टोलीले कलंकी चोकमा पास माग्दा सोही पासमा काठमाडौँ प्रवेस गर्ने अनुमति
थिएन । पश्चात टोलीले पास जफत जफत गरिदियो । तर, त्यहाँ एकाएक ट्रयाक्सी चढेर एक ट्राफिक आएर उनीहरुको बचाउमा लागे । उनले गाडीलाई ग्यारेजमा जान सहजिकरण गरिरहेका थिए । यसरी अनुगमन टोलीलाई सहयोग गर्नु पर्नेमा गाडीलाई बचाउ गर्दे पास मागिरहेका उनीबाट यो गैरकानुनी कुरामा सम्बन्धीत तथा पहुँचवाला मान्छे नै लागिरहेको बुझ्न सकिन्छ । यी विषयमा ध्यान नदिदाँ यातायातका विचौलियाहरुले अनुगमन टोलीका प्रतिनिधिहरुमाथि आक्रमण प्रयास गरेपछि अनुगमनमा खटिएका सञ्चारकर्मीसहितको टोली ज्यान जोगाउन मुस्किल भएको थियो । स्थिति तनावपूर्ण देखिएपछि सुरक्षाकर्मी नहुँदा अनुगमनमा खटिएका टोली सुरक्षित रहनका लागि भाग्नुपरेको थियो ।