दक्षिण एशियाली एन्टी डोपिङ बोर्ड सदस्यमा डा. ज्ञानेन्द्रविक्रम शाह

काठमाडौं । नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टीडोपिङ अर्गनाइजेसनको बोर्ड सदस्यमा डा. ज्ञानेन्द्रविक्रम शाह मनोनयन भएका छन् । राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रुपमा कार्यरत शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ बर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रमा जनाइएको छ ।

डा। शाहले उक्त बोर्डमा बस्दा नेपालमा एन्टीडोपिङसम्बन्धी गतिविधिको अध्ययन अनुसन्धान, प्रचार प्रसार गर्नुका साथै उक्त संस्थाले गरेका एन्टी डोपिङसम्बन्धी कामको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नुपर्नेछ ।

नेपालमा हालसम्म पनि एन्टीडोपिङसम्बन्धी कुनै संस्था नभएका कारण उक्त कार्यहरु नेपाल ओलम्पिक कमिटि मार्फत हुँदै आएको छ । एन्टीडोपिङसम्बन्धी संस्था सञ्चालन गर्न निकै ठुलो धनरासी आवश्यक पर्ने भएका कारण संस्था स्थापनामा ढिलाइ भएको जानकारहरु बताउँछन् ।

यसअघि नेपालका सरोज श्रेष्ठ तीन कार्यकाल बोर्ड सदस्यको रुपमा रहेका थिए ।

यस्तै डा। शाह अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघको एन्टीडोपिङ कमिसनको सदस्यमा समेत मनोनित भएका उनले बताएका छन् । महासंघले विश्वभरिका आफ्ना सदस्य राष्ट्रहरुको कार्यक्षमताको आधारमा नेपालको तर्फबाट शाहलाई चयन गरेको हो । १८० भन्दा बढी राष्ट्रमा कार्यरत यो संस्थामा नेपालको यो पहिलो सहभागिता हो ।

हाड तथा जोर्नी विज्ञ डा. शाह राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् ।

पशुपति मन्दिरमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन् ।
नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

सिंहदरवारमा सुरक्षा परिषद्को बैठक बस्दै, लगत्तै मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । आज(मंगलबार) बैठक सिंहदरवारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे बैठक डाकिएको छ ।

परिषद् सचिवालयले यसलाई नियमित बैठक भने पनि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबिच सोमबार दिउँसो एक बजे सर्वोच्च अदालतमा भएको भेटले तरंग्याएको राजनीतिक वृत्तमा बोलाइएको बैठकले थप कौतुहलता जगाएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा अहिले फैसला दिने तयारी गरिरहेको छ । उच्च स्रोतका अनुसार वर्तमान सुरक्षा अवस्थाबारे बैठक केन्द्रित रहने छ ।

खास अवस्थामा बस्ने राष्ट्रिय सुरक्षा परिषद्को बैठकको अध्यक्षता परिषद् प्रमुख तथा प्रधानमन्त्रीले गर्ने गर्छन् । विशेष गरी राष्ट्रिय विपत् तथा सुरक्षामा खतरा पैदा भएको अवस्थामा सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ भने देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।

प्रधानमन्त्री प्रमुख रहने सुरक्षा परिषद्को सदस्यमा रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ भने सदस्यसचिव रक्षा सचिव रहन्छन् ।

यसअघि ५ कात्तिक ०७७ मा प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्को बैठक बसेको थियो । सोही दिनको राति भारतीय खुफिया एजेन्सी ‘र’का प्रमुख सामन्त गोयलले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।

सुरक्षा परिषद् बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । परिषद्को नियमित बैठक हिजो सोमबार बस्ने भनिए पनि प्रधानमन्त्री ओली उपत्यका बाहिर जानु परेका कारण स्थगित भएको थियो । बैठक आज साढे १० बजेलाई बोलाइएको छ ।

आज बस्ने दुबै बैठकलाई विशेष चाँसोका साथ हेरिएको छ ।

सिंहदरवारभित्रै म्याद सकिएका खाद्य वस्तुः केन्द्रीय क्यान्टिनलाई १० हजार जरिवाना

काठमाडौँ ।सिंहदरबार भित्रैको क्यान्टिनमा म्याद सकिएका खाद्यवस्तुहरु पाईएको छ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार भित्र नै म्याद सकिएका र अखाद्य वस्तु विक्रिवितरण भइरहनुको साथै यहाँ स्थित क्यान्टिन (चमेना गृह)हरूमा उपभोग्य म्याद समाप्त भएका खाद्य वस्तु बिक्री वितरण मात्रै होइन, उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका कामहरू गरेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले शुक्रवार गरेको अनुगमनका क्रममा सिंहदरवारभित्रका शतप्रतिशत क्यान्टिनमा म्याद सकिएका खाद्य सामग्री बिक्री गरेको भेटिएको छ ।

सिंहदरवारभित्रका कर्मचारी र सेवाग्राही लक्षित तीन वटा केन्द्रीय क्यान्टिन (कन्चन चमेना गृह), अर्थ मन्त्रालय परिसरमा सञ्चालित म्यानेजमेन्ट सर्भिस र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरस्थित गोसाईंकुण्ड भोजनालयमा अनुगमन गरिएकोमा तीन वटै मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको हो । जसमध्ये केन्द्रीय क्यान्टिनलाई कारबाही स्वरूप जरिवाना गरिएको छ ।

कन्चन चमेना गृहका नाममा सञ्चालित उक्त क्यान्टिनले कागजात देखाउन नसकेपछि कारबाही स्वरूप १० हजार जरिवाना गरिएको छ । कागजपत्र मात्र होइन, क्यान्टिनको किचनमा फोहोर देखिएपछि सफाइ गर्न समेत निर्देशन दिइएको छ ।

यस्तै अर्थ मन्त्रालय परिसरमा रहेको म्यानेजमेन्ट सर्भिस र उद्योग मन्त्रालयमा सञ्चालित गोसाईंकुण्ड भोजनालयले म्याद सकिएका पानी, पेय पदार्थ र परोठाहरु विक्रिवितरण गरेको पाइएकोले नष्ट गरिएको छ । यति मात्रै होइन, क्यान्टिनमा प्रमाणीकरण नै नभएका तराजु राखिएको पनि पाइएको विभागले जनाएको छ । ती क्यान्टिनहरूबाट ३ हजार १ सय ४५ रुपैयाँ बराबरको पेय पदार्थ र अन्य खाद्य सामग्री बरामद गरी नष्ट गरिएको पनि विभागले जनाएको छ ।

तीन वटै क्यान्टिनलाई आवश्यक कागजपत्र सहित ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशनदिँदै मापदण्ड अनुसार मात्र सञ्चालन गर्न निर्देशनसमेत दिइएको छ ।

देशको प्रधानमन्त्रीको कार्यालयदेखि मुख्यसचिवसमेत बस्ने परिसरमै वर्षौँदेखि बिना मापदण्ड र गुणस्तरहीन खाद्य पदार्थहरूको विक्रिवितरण हुनु र स्वयं कर्मचारीहरूले नै सो उपभोग गर्न बाध्य हुनुले बत्ती मुनिको अँध्यारो उखान चरितार्थ भएको एक उपसचिवको भनाई छ । ‘जहाँ नीति निर्माण हुन्छ र जसले त्यसको कार्यान्वयन गर्छन् तिनीहरूकै हविगत यस्तो छ भने अन्यको के कुरा गर्नु’ ती उपसचिवले भने, ‘उच्च पदस्थहरूका लागि मन्त्रालय तथा तारेबाटै बाट खाजा जाने भएपछि बाँकी को त के मतलब र ?’

सिंहदरवारभित्र क्यान्टिन सञ्चालन गर्दा नमुना क्यान्टिन सञ्चालन हुनुपर्ने भए पनि त्यति नै गर्न नसके पनि कम्तीमा मापदण्ड त पुर्‍याउनु पर्ने उनको भनाई छ ।

यस अघि प्रधानमन्त्रीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख एवं प्रवक्ता विनोद बहादुर कुँवरको संयोजकत्वमा गठित समितिले सिंहदरवार परिसर सरसफाइदेखि गुणस्तरहीन खाना खुवाउने दर्जनौँ क्यान्टिनहरू बन्द गराएका थिए ।

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड १० बढी

काठमाडौँ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड १० लाख बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार १९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ५ हजार ८५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ८३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ३८५ जना पुगेको छ ।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्द १० भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ९९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५० हजार ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १३० जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ । बिहीबार कोभिड १९ बाट दुई व्यक्तिको मृत्यु भएको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २१ करोड १५ लाख ५१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र छ लाख २० हजारभन्दा बढी व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।

पिपलको रुख पूजा गर्दा के मिल्छ? पुजा गर्ने विधिसहित हेर्नुस् यसका विस्वासहरु

एजेन्सी। गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् । यसै कारण यो मान्यता छ कि पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ ।त्यसैले पिपलको पूजा गर्नु राम्रो हुन्छ भनिएको छ । हामी भने पिपललाई भगवान् बिष्णुको रुपमा पुजा गर्ने गर्छौ।थाहापाई राख्नुहोस् केही त्यस्ता उपायहरू ।

जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् । स्नानकार्य समाप्त भएपछि सफा सेतो कपडा लगाएर कुनै यस्तो ठाउँमा जानुहोस् जहाँ पिपल होस् । पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउनुहोस् ।

जल चढाएपछि फूलप्रसाद चढाउनु होस्ः

धूपबत्ति बालेर दियो पनि सल्काउनुहोस् र बसेर यो मन्त्रमूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः कमसेकम १०८ पटक पढ्नु होस् यि उपायहरू अपनाउँदा घरमा सुख शान्ति आउँछः

१. ज्योतिषमा बताइएको छ कि पिपलको एक विरुवा लगाउनुहोस् र त्यसको रक्षा गर्नुहोस् जसले गर्दा तपाईंको कुण्डलीका सबै ग्रहदोष शान्त हुन्छ । जब जब विरुवा बढ्दै जान्छ । तपाईको घरपरिवारमा सुखसम्वृद्धि बढ्दै जान्छ ।

२. यदी कोही व्यक्ति पिपलको बोटको तलतिर शिवलिङ्ग स्थापना गर्छ र नियमीत रुपले त्यसको पूजा गर्छ उसका सबै समस्या समाप्त हुन्छन् । अशुभ समय विस्तारै विस्तारै शुभ हुँदै जान्छ ।

३. शनि दोष, शनि साढेसाती र अढैया जस्ता अशुभ प्रभावलाई टाढा राख्न हरेक शनिबार पिपलमा पानी चढाउँदै सात पटक परिक्रमा गर्नु शुभ र फलदायी ९ मानिन्छ ।

४. साँझको समयमा पिपलको रुख मुनी दियो बाल्नु राम्रो हुन्छ । छ । पिपलको रुखको मुनि बसेर हनुमान चालिसा पाठ गर्नाले छिट्टै तपाईंलाई शुभ फल प्राप्त हुन सक्छ ।

मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज

काठमाडौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो । “विशेषज्ञहरुले निरीक्षण गर्नुभयो, उहाँका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार भयो”, आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले भने।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ । खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए ।

बम बहादुर कार्किको ‘रारा तालैमा’ गीत बजारमा (भिडियो सहित)

काठमाडौँ । अग्रज कलाकार बम बहादुर कार्किको नयाँ ‘रारा तालैमा’ बोलको गीत बजारमा आएको छ । तीन बर्ष अघि सङ्गीतकार बि बि अनुरागीले सङ्गीत संयोजन गरेको सोही गीत अहिले भने छायाङकन गरी बजारमा
ल्याईएको हो । म्युजिक ट्र्याकमा देस विदेसका मञ्चमा गाउँदै हिड्दा ग्राहकको माया र मागलाई सम्बोधन गर्दै अहिले छायाङकन गरी बजारमा ल्याईएको हो ।

गीतमा लय, शब्द तथा स्वर स्यम बमबहादुर कार्कीको रहेको छ भने निर्देशन प्रकाश भट्टले गरेका छन् । गीतको छायाङकन सुरेश श्रष्ठले गरेका छन् भने सम्पादन विष्णु शर्माले गरेका हुन् ।
निर्माता शिवा आले कार्की रहेकी छिन् भने दृष्य निमार्ण साई भिजन प्रा।लिले गरेको हो । गीतमा अभिनय महेन्द्र गौतम, अञ्जली अधिकारी, सिताराम पौडेल र खेम बाले गरेका छन् ।

चुनावी तयारीमा जुट्न कार्यकर्तालाई देउवाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन) को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेएका उनले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले संसद् विघटनसम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताए ।

“विघटन भएको संसद् पुनःस्थापना हुुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुन्छ, त्यसमा दबाब दिनुहुन्न”, देउवाले भने, “अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुनाव चिन्ह र पार्टीको आधिकारिता विवाद पनि चुनावी तयारीको सङ्घर्ष हो ।”

कार्यक्रममा पार्टीका नेता प्रकाशमान सिंहले अदालतले विवेकपूर्ण निर्णय दिएर अस्थिरता हटाउछ भन्नेमा आशावादी हुनुपर्नेमा जोड दिनुभयो । पार्टीका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, डा रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदीप पौडेल, बहादुरसिंह लामा तामाङलगायतले मुलुकमा अराजकता बढिरहेको टिप्पणी गरे ।

विसं २०५८ मा विपी स्मृति भवनका नाममा शिलान्यास भएको पार्टी कार्यालय करीब रु चार करोड लगानीमा निर्माण गरिएको हो । उक्त भवनसहित त्यहाँ रहेको गणेशमान स्मृति सभाकक्ष, डिजिटल बोर्डलगायतको पनि आजै उद्घाटन गरिएको छ । भवनमा नौ कोठा तथा बन्द सभाकक्ष र खुला गरेर दुई सभाकक्ष छन् ।

केन्द्रीय सदस्यलाई नेपाल–प्रचण्डको निर्देशनः जुनसुकै बेला जस्तोसुकै निर्णय हुन सक्छ, तपाईहरु तयार रहनुस्

काठमाडौँ । केन्द्रीय सदस्यलाई नेपाल–प्रचण्डको निर्देशनः जुनसुकै बेला जस्तोसुकै निर्णय हुन सक्छ, तपाईहरु तयार रहनुस्
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने हुन सक्ने भएको बताउँदै तयारी अवस्थामा रहन समेत निर्देशन दिएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा आकस्मीक बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

‘जुनसुकै बेला जस्तोसुकै निर्णय निर्णय लिनुपर्ने हुन्छ, तपाईंहरु तयारी अवस्थामा रहनुहोला । दुवै अध्यक्षको सार यही थियो’, एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने । शुक्रबारको बैठक झण्डै दुई घण्टा चलेको छ ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । संसद् विघटन विरुद्ध उक्त पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसंघर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए ।

बैठकमा प्रचण्ड, नेपाल र श्रेष्ठले संसद् विघटन विरुद्धको आन्दोलनलाई बलियो समर्थन मिल्दै गएको निष्कर्ष सुनाएका थिए । यो अवधिमा संसद् विघटनको निर्णय प्रतिगमन हो भन्ने सिद्ध भएको छ । नागरिक समाज, बौद्धिक, बुद्धिजिवी, पूर्वप्रधानन्यायाधीहरु, पेशाकर्मी, आमसञ्चार माध्यमहरु लगायतले यो सरकारको कदमलाई प्रतिगमन भनिसकेको छ’, श्रेष्ठले भनेका थिए ।

हिजो मात्रै केन्द्रीय सदस्यहरुलाई यो समूहले नागरिकता सहित पेरिसडाडाँमा बोलाएको थियो । बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले नागरिकताको प्रतिलिपी बुझाउँदै हस्ताक्षर गरेका छन् ।

९० किसानलाई हाते ट्र्याक्टर

काठमाडौँ । पहाडी जिल्ला लमजुङमा अनुदानमा यहाँका ९० जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई आज हाते ट्र्याक्टर वितरण गरेको हो ।

नगर प्रमुख गुमानसिंह अर्यालले किसानलाई ट्र्याक्टर वितरण गर्नुहुँदै कृषिमा यान्त्रीकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले किसानलाई हाते ट्र्याक्टर वितरण गरेको बताए । उनले नगरपालिकाले अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराएपछि बाँझो जग्गा प्रयोगमा आउन थालेको बताए । वैदेशिक रोजगारको सिलसिलामा विदेश पलायन भएर गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनःप्रयोगमा ल्याउन हाते ट्र्याक्टर प्रभावकारी भएको नगरप्रमुख अर्यालले बताए ।

यस नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु २५ लाख २० हजार बजेटमा ट्र्याक्टर खरीद गरी किसानलाई वितरण गरेकोे नगरको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताए। नगरपालिकाले यस वर्ष तीन प्रकारको हाते ट्र्याक्टर वितरण गरेको छ । नगरपालिकाले यस वर्ष सात हर्सपावर डिजेल वाला, सात हर्स पावर पेट्रोल वाला र छ हर्सवापरको गरी तीन प्रकारको ट्र्याक्टर वितरण गरेको छ । रु ५० हजार मूल्यपर्नेमा ५० प्रतिशत अनुदानमा रु २५ हजार किसानको रु २५ हजार नगरपालिकाको, रु ६० हजार र रु ७० हजार पर्नेमा रु २८ हजार नगरपालिकाको र बाँकी किसानको गरी वितरण गरेको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताए ।

गत वर्ष माग भई आएका सबै १०६ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर विरतण गरेको थियो । यस वर्ष भने हाते ट्र्याक्टरका लागि ३०० जना किसानको आवेदन परेकामा ९० जनालाई मात्र विरतण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले मिनिटिलर वितिरणसँगै भाडामा एकरुपता ल्याउन मिनिटिलरको भाडासमेत निर्धारण गरेको छ । पछिल्लो समय गोरु पाउन गाह्रो, युवा पुस्ता वैदेशिक रोजगारमा रहेकाले गाउँमा खेतालाको अभाव हुनेलगायतका समस्याले गर्दा गाउँमा खेतीयोग्य जमीन बाँझो रहन थालेको थियो । यस ट्र्याक्टरको प्रतिघण्टा ७०० रुपैयाँ तोकिएको छ ।

प्रदेश २ प्रमुखमा डा.अहिराज, को हुन् डा.अहिराज ?

काठमाडौं । मधेश मामिलाका जानकारी तथा राजनीतिक विश्लेषक डा.राजेश अहिराज प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरी डा.अहिराजलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरी डा।अहिराजलाई नियुक्त गरिएको जनाइएको छ ।

को हुन् डा.राजेश अहिराज ?

दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा सक्रिय डा.राजेश अहिराज एउटा प्रखर वक्ता, मधेश मामिलाका जानकार तथा राजनीतिक विश्लेषक रुपमा परिचित छन् । उनले ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि गरेका छन् । नेपाली राजनीतिबारे सूक्ष्म अध्ययन गरेका डा.अहिराजले गर्दै आएका विश्लेषणात्मक विचार राष्ट्र र राष्ट्रियताप्रति ओतप्रोत भएको देखिन्छ ।

उनले विभिन्न पुरस्कार, सम्मानपत्र तथा नेपाल विद्याभूषण ‘क’ बाट विभूषित भइसकेका छन् । नेपाली राष्ट्रियता तथा राष्ट्रवादको वकालत गर्दै उनले नेपालमा समतामूलक समाज निर्माणको पक्षमा छलफल तथा बहस गर्दै आएका छन् ।

डा।अहिराजको जन्म रौतहट जिल्लाको तत्कालीन संग्रामपुर गाउँपालिका वडा नं. ४ (हाल गढीमाई नगरपालिका–४) मा वि.सं. २०३६ जेष्ठ ६ गते भएको थियो ।

अध्ययनः

डा.अहिराजले माध्यमिक तहको शिक्षा श्रीमती कृष्णादेवी माध्यमिक विद्यालय विष्णुपुर, रौतहटबाट सन् १९९५ मा पूरा गरेका छन् । यसैगरी बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल भारतको एसएलके कलेज सितामढीबाट सन् १९९७ मा एससी उत्तीर्ण गरेका हुन् ।

यस्तै, त्रिचन्द्र कलेज काठमाडौंबाट सन् २००५ मा बी.ए. (सोसियोलोजी एजण्ड कल्चर), युनिभर्सिटी क्याम्पस काठमाडौंबाट सन् २००६ मा बी।एड (पोलिटिकल साइन्स एण्ड हिस्ट्री), नेपाल ल क्याम्पसबाट सन् २००९ मा एल.एल.बी. पूरा गरेका छन् । त्यसैगरी, ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१५ मा विद्यावारिधि गर्नुभएको छ ।

पुरस्कार तथा सम्मानः

उनलाई नेपाल सरकारद्वारा संविधान दिवसको अवसरमा वि।सं। २०७७ असोज ३ गते ‘प्रवल जनसेवाश्री’ सम्मानित गरेको छ । यस्तै, प्रधानसेनापतिबाट ‘प्रधानसेनापति पदक–२०७६’ पुरस्कार, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ पुरस्कार, नेपाल विद्याभूषण–२०७४, प्रेस काउन्सिल पुरस्कार–२०७३ लगायत एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मानपत्र प्राप्त गरेका छन्।

यसैगरी पत्रकारिता क्षेत्रमा उनले एक दर्जनभन्दा बढी विषयगत विभिन्न तालिमहरु प्राप्त गर्नुभएको छ भने विभिन्न विषयहरुमा प्रशिक्षकको रुपमा समेत भूमिका निर्वाह गरिसकेका छन् ।

नेपाल ल क्याम्पस नेविसंघ पूर्व अध्यक्ष कार्की समूहद्वारा विद्यार्थी माथि आक्रमण, आधा दर्जन विद्यार्थी घाइते

काठमाडौं । नेपाली कांग्रेस निटक विद्यार्थी समूह नेविसंघबीच झडप भएको छ । नेपाल ल क्याम्पसमा विएलएलबीको कक्षा सञ्चालनको विषयलाई लिएर नेपाल ल क्याम्पसमा नेविसंघ समूहबीच दोहोरो झडप भएको हो ।

नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पसका पूर्व अध्यक्ष रञ्जिता कार्कीले विएलएलबीको तयारी कक्षा सञ्चालन गरिरहेको अर्को समूह माथि सांघातिक आक्रमण गरेको नेविसंघ ल क्याम्पसले जनाएको छ । विद्यार्थीहरुलाई तयारी कक्षा सञ्चालन गरिरहेको अवस्थामा पूर्व अध्यक्ष कार्कीको समूहले कक्षाकोठामा प्रवेश गर्दै कक्षा सञ्चालन गर्ने शिक्षक र विद्यार्थी माथि आक्रमण गरेको नेपाल ल क्याम्पसका नेता शिद्ध राज जोशीले जानकारी दिएका छन् ।

कार्की समूहको आक्रमणमा परि नेपाल ल क्याम्पसका नेविसंघ नेतृ पविना जोशी, शिद्धराज जोशी विरेन्द्र मडाई लगाएतका आधा दर्जन विद्यार्थी घाइते भएका छन् । दल बल सहित हुलदंगामा उर्तिएकी कार्कीले विद्यार्थीहरुलाई तथानाम गाली गलौज र अपशब्द प्रयोेग गर्दै आक्रमण गरेको विद्यार्थी नेता मडाईले नेशनपाटी डटकमलाई जानकारी दिएका छन् । हामी विद्यार्थीहरुलाई तयारी कक्षा सञ्चालन गरिरहेका थियौं । त्यत्तिकै बिना कारण कार्कीले ल क्याम्पस भन्दा बाहिरका गुन्डाहरु ल्याएर कक्षामा आक्रमण गरि विद्यार्थीहरुलाई घाइते बनाएको मडाईले बताएका छन् ।

नेविसंघ ल क्याम्पसमा कार्की समूहले दादागिरी गर्दै विद्यार्थी माथि सन्त्रास र द्धन्द्ध सिर्जना गरेको उनीहरुको आरोप रहेको छ ।

इरान मामिलामा छलफल गर्न युरोप र अमेरिकी कुटनीतिज्ञहरु सहमत

काठमाडौँ । युरोपेली मुलुक र संयुक्तराज्य अमेरिकाका वरिष्ट कुटनीतिज्ञहरु इरान मामिलाका विषयमा बिहीबार छलफल गर्न सहमत भएका छन् । यो छलफल खासगरी इरानसँग भएको सन् २०१५ को आणविक सम्झौताका विषयमा केन्द्रित हुनेछ ।

फ्रान्सेली विदेश मन्त्री जाँ–येभ्स लि ड्रायनले जर्मन र बेलायती समकक्षीसँग पेरिसमा भेट्दै छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले भिडियो कन्फरेन्सबाट सहभागिता जनाउनु हुनेछ ।

जर्मन चान्सलर एन्जेला मर्केलले इरानी राष्ट्रपति हस्सन रौहानीसँग टेलिफोनमा कुरा गरी इरानले आफ्ना प्रतिबद्धता पूरा गर्नेतर्फ विशेष चासो राख्नु भएको मर्केलका प्रवक्ताले बताएका छन् ।

विज्ञहरुले पश्चिमा मुलुक र इरानबीच सन् २०१५ मा सम्पन्न आणविक सम्झौतालाई बचाउन निकै कठिन रहेको बताएका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौता बमोजिम इरान प्रतिबद्ध नरहेको आरोप लगाउँदै उक्त सम्झौताबाट अमेरिका सन् २०१८ मा बाहिरिएको घोषणा गरेका थिए ।

तर राष्ट्रपति जो बाइडेन प्रशानसले उक्त आणविक सम्झौतामा पुनः प्रवेश गर्नेगरी तयारी गरेको जनाएको छ । तर इरानले आणविक कार्यक्रम स्थगित गरेमा इरानमाथि लागेका प्रतिबन्धहरु अमेरिकाले फुकुवा गर्ने पनि बताएको छ ।

आगामी फेब्रुअरी २१ भित्र अमेरिकाले प्रतिबन्धहरु फुकुवा नगरे संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई इरानी आणविक कार्यक्रमको निरीक्षण गर्न नदिइने धम्की दिएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संघ (आइएइए) का प्रमुख राफेल ग्रस्सी आणविक केन्द्रहरुको निरीक्षणलाई निरन्तरता दिने उद्देश्यले इरानी अधिकारीहरुसँग वार्ताका लागि शनिबार तेहरान जाने भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले इरानले आइएइएलाई पूर्ण सहयोग गर्नुपर्ने बताएका छन् ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गर्नुभएको थियो र पछि सहयोग रकम रोकेका थिए ।
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए ।

उनले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने भएको जानकारी बुधबार दिएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक बैठकमा उनले सो कुरा बताए । बुधबार उनले भने– अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड जति अमेरिकी डलर रकम उपलब्ध गराउन लागेको हो ।
विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्व अन्तर्गत नै हामीले विश्व स्वास्थ्य संगठनलाई यो रकम उपलब्ध गराउन लागेको हो भने । हालको विश्वव्यापी महामारीका क्रममा विश्व स्वास्थ्य संगठनलाई बजेट आवश्यक परेको महसुस भएको र सोही अनुसार यो रकम उपलब्ध गराउन लागेको उनले बताए।

गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो संगठनबाट अमेरिका बाहिरिएको निर्णय गर्नुभएको थियो ।यो निर्णयको सर्वत्र विरोध भएको थियो । अमेरिका भित्रै र बाहिर पनि सो निर्णयको विरोध भएको बताइएको थियो । पछि अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि अमेरिका विश्व स्वास्थ्य संगठनको सदस्यबाट बाहिरिने निर्णय खारेज गर्नुभएको थियो । जो बाइडेनले राष्ट्रपति पदको कार्यभार सम्हालेकै दिनमा नै उनले अघिल्लो ट्रम्प प्रशासनको सो निर्णय उल्ट्याएका थिए ।