नयाँ बर्षमा झन् उकालो लाग्यो सेयर बजार, ८ अर्बमाथिको कारोबार

काठमाडौं । नयाँ बर्ष २०७८ साल सुरु भएपछिको पहिलो दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ रेकर्ड कायम राखेको छ।
नेप्से आज २० अंकले बढेको छ। अघिल्लो दिनभन्दा २०.६१ अङ्क अर्थात् ०.७६ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २७३५.४ अङ्कमा पुगेर आजलाइ बजार बन्द भएको छ।
आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २७५५.२९५५ र कममा २७३१.८२२१ पुगेको थियो। यो बिन्दु हालसम्मकै धेरै हो।
आज क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६१७ अंकले बढेर ४९२ ४५ को बिन्दुमा पुगेको छ।
आजको दिन ८ कम्पनीले सर्वाधिक १० प्रतिशतले कमाएका छन्।

भारतमा कोभिड–१९ सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो

काठमाडौँ । भारतमा गयको २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनायको छ ।
भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित हुनु बुधबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो । कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ ।
पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने बुधबार एकैदिनमा २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

पछिल्लो २४घण्टामा ५३४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनयको छ ।
जसमध्ये काठमाडौं जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ १३र दाङमा १३, रुपन्देहीमा १६, महोत्तरी १० र बाग्लुङमा १० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भयर घर र्फकिनेको संख्या संख्या १५७ छ भने कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।

कोरोना कहर विद्यालय एक साता बन्द

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो ।
नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।
मास्क अनिवार्य लगाउनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिएपछि मास्क नलगाई सडकमा निस्कनेलाई मास्क अनिवार्य प्रयोग गर्न लगाउन आग्रह गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । छिमेकी मुलुक भारतमा तीव्ररूपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ । कोरोना सङ्क्रमणदर अस्वाभाविकरूपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्थाका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरोकारवाला सबैसँग बैठक गरी कोरोना सङ्क्रमणविरुद्ध सबै एक भएर अभियान सञ्चालन गरिने बताउनुभयो । “म आज मात्रै जिल्लामा आएको छु, आजै नेपालगञ्ज उपमहानगरपालिका सङ्क्रमण रोकथामका लागि आवश्यक छलफल गर्न बैठक गर्दैछौँ”, प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो, “भोलिसम्म सबै स्थानीय तहसँग आवश्यक छलफल गरी आइसोलेशन र क्वारेन्टिन सञ्चालनका विषयमा निर्णय हुनेछ ।”

नेपाललाई अब खाद्यबालीमा आयातमुखी होइन निर्यातमुखी बनाउनुपर्छः प्रधानमन्त्री ओलि

काठमाडौँ–नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले चाहे जस्तो सुकै काम गर्न सक्ने बताएका छन् ।
देशभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हामी पछाडि परेका छौँ भन्ने नसोची नयाँ काम गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाललाई अब खाद्यबालीमा आयातमुखी होइन निर्यातमुखी बनाउनुपर्छ । अहिलेनै हामी अण्डा, माछामासुमा आत्मनिर्भर छौँ । अबको तीन वर्षमा सबै खाद्यबालीमा पनि आत्मनिर्भर हुन्छौँ । खाद्यान्नमा नेपाललाई आयातमुखी होइन, निर्यातमुखी बनाउनुपर्छ ।’
प्रधानमन्त्री ओलिले नेपालीको गलत आदत र बानीका कारण नेपालमै उत्पादन भएको खाद्यबालीले एक वर्ष धान्न नसकेको बताएका छन् । उनले भने, ‘हामीले पुग्दो खाद्यबाली उत्पादन गरेका छौँ । तर गलत बानी र भण्डरण क्षमातको अभाबका कारण हामीलाई खान पुगेको छैन ।
उनले नयाँ सोचका साथ काम गर्ने भन्दै सबै नेपालीले हरेक दिन एकपाइला अघि बढ्ने गरी काम गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले सकारात्मक सोचका साथ काम गरिरहेका छौँ । सम्पूर्ण काममा हामीले एक पाइला अघिको प्रगती हासिल गरेका छौँ । यो क्रमलाई निरन्तरता दिनुपर्छ ।’

गुल्मी जिल्ला प्रशासन कार्यालय ५ दिन बन्द

काठमाडौँ । गुल्मी जिल्ला प्रशासन पाँच दिनको लागि बन्द रहने भएको छ । प्युठानको स्वर्गद्वारी नजिकै बुधबार भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाको शव आफन्तलाई बुझाइए पछि कार्यलयले शोक स्वरुप पाँच दिन कार्यलय बन्द गरिने भएको हो । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा जिप दुर्घटना भएको थियो ।
मृतक प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपानेको शव घटनास्थलबाटै बुझाइएको थियो । अन्य ४ जनाको शव जिल्ला प्रशासन कार्यालय गुल्मीमा शोकसभा गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारि दिनुभयो ।
दुर्घटनामा मृत्यु भएका कर्मचारीहरुको शोकमा कार्यालयका बन्द भयपनी अत्यावश्यक सेव भने सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थीले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथवीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले बिहीबार गण्डकी प्रदेश सभाका सभामुखसमक्ष अविश्वास प्रस्ताव पेस गर्नुभएको छ ।
अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । गण्डकी प्रदेशसभामा एमालेका २७, काँग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
प्रतिपक्ष दल नेपाली काँग्रेसको अगुवाइमा अविश्वासको प्रस्ताव पेश हुदै छ भन्ने जानकारी पाएपछि प्रदेश सरकारले बुधबार राती १२ बजेदेखि सातौं संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । चैत २५ बाट सुरु भएको संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखबाट सचिवालयलाई पत्र रातारात पठाएर अन्त्य गरिएको थियो ।
सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरेपछि सरकारले संसद अधिबेशननै अन्त्य गरेपछि आजै तीन दलको बैठक बसेर छलफल गरेपछि अविस्वास प्रस्ताव दर्ता गरिएको हो ।
प्रदेशसभाका ६० सांसदमध्ये मुख्यमन्त्री गुरुङको पार्टी एमालेका पक्षमा २७ सांसद मात्र छन् । स्वतन्त्रमा मनाङ ‘ख’ बाट निर्वाचित दिपक मनाङेले यस अघि गुरुङ नेतृत्वको सरकारलाई समर्थन गरेको भएपनि अब, उनलाई समर्थन नगर्ने बताएका छन् ।

आधुनिक योग भवन निर्माण गरिदै

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा आधुनिक शैलीको योग भवन निर्माणको कार्य शुरु गरिएको छ । नगरपालिकाको लगानीमा सिद्धबैजनाथ वृद्ध मिलन केन्द्र तथा योग भवन निर्माणको कार्य शुरु गरिएको हो ।
एकैसाथ १०० जनाभन्दा बढीले योग गर्न मिल्ने भवन निर्माणका लागि कार्य अगाडि बढाइएको छ । भवनमा योगा हलसहित कार्यालय कक्ष, शौचालय, स्नानघर निर्माणको कार्य भइरहेको नगरपालिकाका इञ्जिनीयर दीपक धामीले बताउनुभयो । नगरपालिकाले योग भवन निर्माणका लागि रु १० लाख रकम खर्च गरी फाउन्डेसनको कार्य पूरा गरेको छ । आगामी आवमा भवन निर्माणका लागि थप बजेटको व्यवस्था गरी कार्य अगाडि बढाउने योजना अघि सारिएको छ ।
योगा भवन निर्माणको कार्य पूरा गर्नका लागि रु ६० लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ । भवन निर्माणका लागि स्थानीयवासीले तीन कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् । निर्माण कार्य शुरु भएको योगा भवनको अवलोकन गर्दै नगर उपप्रमुख तुलसीदेवी हमालले स्वस्थ समाज निर्माणका लागि नगरपालिकाले कार्य अगाडि बढाएको बताउनुभयो । भवन निर्माण पूरा गर्नका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भवन निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासीले योगाबाट लाभ लिन सक्ने बताउनुभयो ।

हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छः कानूनमन्त्री यादव

काठमाडौँ । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हत्या र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गत शनिबार राति लुटेरा समूहको गोली प्रहारबाट मृत्यु भएका सिरहाको लहान नगरपालिका–२२ निवासी ४५ वर्षीय सुन चाँदी व्यवसायी प्रदीप विश्वकर्माको परिवारजनलाई आज भेटेर उहाँले लुटेरा समूहलाई कानूनी दायरामा ल्याउने र मृतक परिवारलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री यादवले भन्नुभयो, “घटना असाध्यै हृदयविदारक छ, घटनाका अपराधीलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याइने छ ।” घटनामा संलग्न कतिपय व्यक्ति पक्राउ परिसकेका र कतियप व्यक्ति छिट्टै पक्राउ पर्ने उहाँको दाबी थियो ।
मृतक परिवारलाई प्रदेश सरकारले छिट्टै क्षतिपूर्ति उपलब्ध गराउने बताउनुहुँदै मन्त्री यादवले हरेक नागरिकको सुरक्षाका लागि सरकार र सुरक्षा निकाय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । सो क्रममा मृतक विश्वकर्माको परिवारजनले तत्काल अपराधीलाई पक्राउ गरी कारवाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
“परिवारमा दाजु एक्लै कमाउने हुनुहुन्थ्यो”, मृतक प्रदीपका भाइ सञ्जीवले भन्नुभयो, “अपराधीले सम्पत्ति लुटेर दाजुको हत्या गरेपछि उहाँका तीन छोराछोरी टुहुरो भएका छन्, उनीहरूको पालनलालन कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।” त्यसैले सरकारको यसतर्फ ध्यान पुगोस् उहाँको दुखेसो थियो ।
सिरहाको लहान नगरपालिका–२२ गढियाचोकमा अमृता ज्वेलर्स सञ्चालन गर्दै आएका विश्वकर्माको घरको ढोका फुटाएर लुटेरा समूहले सुन चाँदीका गरगहना तथा नगदसहित करिब रु २५ लाख मूल्य बराबरको सम्पत्ति लुटपाट गरी गोली हानी हत्या गरेका थिए । लुटपाटका क्रममा लुटेरा समूहले व्यवसायी विश्वकर्माकी श्रीमती अमृतालाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
यसैबीच आजै कानूनमन्त्री यादवले गत सोमबार साँझ लुटपाट भएको लहान नगरपालिका–७ निवासी राजेश शारडाको घरमा पुगेर घटनाबारे जानकारी लिनुभएको छ । लुटेरा समूहले शारडाको घरको सदस्यलाई बन्धक बनाएर कारसहित सुन चाँदीका गहना लुटेर लगेका थिए ।

काेराेना महामारीका बेला मनाङमा उपकरण छ, जनशक्ति छैन

कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरणको अभाव त कहिले जनशक्तिको अभाव थेग्दै आएको छ । हाल यस अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । विसं २०७७ असारमा प्रदेश सरकारले यस अस्पताललाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको थियो । अस्पतालमा भेन्टिलेटर छ, तर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन ।
अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । कुनै पनि बिरामीको अवस्था जटिल बनेको समयमा भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै यस अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो । मनाङमा दुई मात्र चिकित्सक डा प्रतिभा गौली र डा सन्तोष अधिकारी कार्यरत छन् । “कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन्, तर जडान गरिएको छैन”, डा अधिकारीले भने “भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त चिकित्सक भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।” त्यस्तै डा प्रतिभा गौलीका अनुसार प्रदेश सरकार मताहातमा झन्डै रु २० करोडको लागतमा जिल्ला अस्पताल निर्माण हुँदै गरेको छ भने डा सन्तोषको अवधि सकिएर जानुभएको छ । भएका जनशक्तिको अवधि सकिनु उपकरण सञ्चालन नहुनु दुर्गमको समस्या रहेको उहाँको भनाइ छ ।
भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ, जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा अधिकारीका अनुसार भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ ।
अस्पतालमा भेन्टिलेटरसहित दुई शय्याको आइसीयू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताउनुभयो । उहाँका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच जना कर्मचारी कार्यरत छन् ।
दुई चिकित्सकको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक एक जना मात्र छन् । डा सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् । जिल्ला अस्पतालले हालसम्म धेरै बिरामीको चाप थेग्नु नपरे पनि कुन समयमा के पर्छ त्यसको तयारी हुनु जरुरी छ । यस्तै तीतो अनुभव डा सन्तोष अधिकारीको छ ।
विश्वभर तिब्र रुपमा फैलँदै गएको कोरोना महामारीले जिल्ला स्वस्थ्य प्रमुख नै सङ्क्रमित भएपछि अस्पताल नै बन्द गर्नुपरेको थियो । जिल्लामा भएको एक मात्र अस्पताल र एक मात्र चिकित्सक हुँदा कन्ट्याक ट्रेसिङमा पर्दा आवश्यक जनशक्ति अभावका कारण अस्पताल नै बन्द गर्नुको विकल्प नभएको डा अधिकारीले बताउनुभयो ।
स्वस्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नहुनु, भएका उपकरण प्रयोगमा आउन नसक्नु ठूलो चुनौती रहेको छ । हिमाली जिल्ला जटिल बिरामी भएमा समयमा उपचार गर्न नपाउँदा जीवन नै तलमाथि हुनसक्छ । हुनेखानेले हेलिकोप्टर चार्टर्ड गरेर ठाउँमा पुग्लान तर सर्वसाधारण भने अकालमै मर्नुपर्ने बाध्यता देखिन्छ ।
स्थानीय तहले पटक–पटक पहल गर्दासमेत सुनाइ नभएको स्थानीय तहको गुनासो छ । प्रदेश सरकार र केन्द्रमा समेत बेलाबेलामा चर्चामा रहेको मनाङ अस्पतालमा अझै जनशक्ति अभावले भएका उपकरणसमेत सञ्चालनमा आउन सकेका छैनन् । सरकारको नीतिअनुसार अस्पतालको शिलान्यास त भएकै छन् तर आवश्यक जनशक्ति कहिले पुग्ने सर्वसाधारणको गुनासो छ । देशमा बढ्दै गइरहेको कोरोना महामारीमा यी उपकरण सञ्चालनमा आउन सके जिल्लावासीले राहत महसुस गर्ने थिए ।

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन, ‘वर्ष २०७७ निरर्थक भएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री कार्यालयबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गरेका हुन् । प्रधानन्त्री ओलीले कोभिड–१९ को महामारीका अवसरमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै नागरिकको जीवनरक्षा पहिलो भएको हुनाले जनताको जीवन बचाउनेतर्फ पहिलो ध्यान दिने बताए ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताए ।
नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए । सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरिरहेका छन् ।

लुम्बिनी प्रदेश लोक सेवाको विज्ञापन यसकारण खुलेनन्

काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगले वार्षिक कार्य तालिका अनुसार विज्ञापन नखुल्ने जानकारी गराउँदै कारण समेत स्पष्ट पारेको छ । आयोगले मङ्गलवार सूचना जारी गर्दै प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन मिलान भइरहेकोले नयाँ विज्ञापन नगरिएको जानकारी दिएको छ ।

‘प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन मिलान भइरहेको कारणबाट माग प्राप्त नहुँदा उक्त विज्ञापनहरू प्रकाशित हुन नसकेको’ आयोगद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

आयोगले २०७७ पौषमा वार्षिक कार्यतालिका प्रकाशित गरेको थियो । सोही तालिका अनुसार २०७७ चैत २७ गते खुल्नुपर्ने विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पद, प्रदेश निजामती सेवाका अधिकृत स्तर सातौँ तहका प्राविधिक पदहरू र प्रदेश स्वास्थ्य सेवाका सातौँ तहका पदहरूको विज्ञापन खुलेका थिएनन् ।

मुलुकले फेरि लकडाउन धान्‍न सक्दैनः कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले कोभिड–१९ को को बाहानामा पुनः लकडाउन ग्रहण गर्न नसक्ने भन्दै लकडाउन गर्न नहुने माग गरेको छ । कोरोनाको दोस्रो लहर लकडाउनमा परिणत गर्न भन्दापनि कोरोना रोक्न ८ काम तत्काल सुरु गर्नुपर्ने जनाएको हो । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले अब फेरि मुलुकले लकडाउन धान्‍न नसक्ने भन्दै स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ ।

‘देशले फेरि लकडाउनको अवस्था धान्‍न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ,’ कांग्रेसको कोभिड अनुगमन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्‍चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।’

विश्‍वका अन्य देशहरूमा देखिएका कोभिड१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकार उदासिन भएका कारण अहिले फेरि संक्रमण फैलदो अवस्थामा पुगेको समितिले बताएको छ ।

गम्भीर विरामीहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्‍चत गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरूर सिमा नाकाबाट आउनेहरूलाई व्यवस्थित चेक जाँच र क्‍वारेन्टाइनको व्यवस्था गर्न, कन्ट्रयाक्ट ट्रेसिङ र सम्भावित संक्रमितहरूलाई लक्षित गरी पीसीआरको परिक्षण दायरालाई व्यापक गराउन, कोभिडविरुद्ध जनतालाई खोप पुर्‍याउन र खोप आपूर्ति सुनिश्‍चित गर्न उच्च कुटनैतिक पहल गर्न माग गरेको छ ।

स्वास्थ्यकमीलाई दिने घोषणा गरेको जोखिम भत्ता उपलब्ध गराउन, तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न र कोभिडको रोकथाम र उपचारसम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारलाई आग्रह गरेको छ ।

नेपालमा पछील्लो २४घण्टामा ५ कोरोना संक्रमितको मृत्यु, ५१७ थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनायको छ । योसँगै नेपालमा ३ हजार ५८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परीक्षण गर्दा ४६० जना र एन्टिजेन परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनायको हो । यो सँगै कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै २ लाख ७४ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०८ रहेको मन्त्रालयले जनाएको छ ।

सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

 सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिहरुले सोमबारदेखि लगाएको तालाबन्दीका कारण कामकाज ठप्प भएको छ ।नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।नगरपालिकामा तालाबन्दी गरेपछि मंगलबार कामकाज ठप्प रह्यो ।
नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठकबिनै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यबाहक नगरप्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरिएको वडाध्यक्षले जानकारी दिय ।
कल्याणपुर नगरपालिकाका नौ जना वडाध्यक्ष तथा आठ जना कार्यपालिका सदस्यले सामूहिक रुपमा ११ सुत्रीय माग अघि सार्दै नगरपालिकामा तालाबन्दी गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बालपोषण लगायतको भुक्तानी गर्न नसकेकाले आफूलाई स्थानीयवासीले पटकपटक वडा कार्यालयमा गई विभिन्न किसिमको आरोप लगाइने गरेको र आफूहरुलाई वडा कार्यालय सञ्चालन गर्न समेत कठिनाई भइरहकाले बाध्य भएर तालाबन्दी गर्नु परेको कल्याणपुर नगरपालिका– १ वडाध्यक्ष जयराम कामतीले बताउनुभयो ।
कार्यबाहक नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत दासको मिलोमतोमा कार्यपालिकालाई जानकारी नदिई विभिन्न योजना कमिसनको खेलमा आसेपासेलाई जिम्मा दिई आफूखुशी सञ्चालन गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवको आरेप छ ।

नगरपालिकाकी कार्यवाहक मेयर रोहिनी यादवले भने आफूलाई मागबारे कुनै जानकारी नै नदिई तालाबन्दी गरिएको दाबी गरिन् । ‘तालाबन्दी गर्नुभन्दा पहिला मागबारे जानकारी गराउनुपर्थ्यो, संवाद र सहकार्य गरेर समस्या समाधान गर्नुपर्थ्यो,’ उनले भनिन् ।