जनताको इच्छाविपरीत कुनै काम गर्दैनौँ: ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाइने विश्वास दिलाउनुभएको छ ।

भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उहाँले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

गोदावरी नगरपालिका–१२ र काठमाडौँ मेडिकल कलेजले संयुक्तरूपमा आज आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ गर्दै मन्त्री भुसालले भन्नुभयो, “आफूहरु जनतालाई साथमा लिएर विकास निर्माणका कार्यलाई अगाडि बढाउन प्रतिबद्ध छौँ ।”

उहाँले स्वास्थ, शिक्षा एवं पूर्वाधार विकासका लागि सरकार जनताप्रति प्रतिबद्ध रहेकोे र जनताको इच्छाविपरीत कुनै काम नगर्ने जिकिर गर्नुभयो ।

जनताको भावनालाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउने विश्वास दिलाउँदै मन्त्री भुसालले भन्नुभयो, “सातदोबाटो–चापागाउँ सडक स्तरोन्नति गर्दा जनताको इन्छाअनुसार नै गरिएको हो ।”

ललितपुर जिल्ला स्वास्थ्य र शिक्षामा अग्रपङ्तिमा रहेको उल्लेख उहाँले गर्दै धनीवर्गका लागि महँगा अस्पताल र गरिब जनताले निःशुल्क स्वास्थ्य सेवा पनि पाउनसक्ने अवस्था रहेको बताउनुभयो ।

बागमती प्रदेश सदस्य राजकाजी महर्जनले स्वास्थ्य र शिक्षासहित ललितपुरको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

गोदावरीको वडा नं १२ स्थित लिटिलस्टार स्कुल परिसरमा आयोजना गरिएको शिविरमा त्यस भेगका जनताले स्वास्थ्य परीक्षण एवं उपचार गराएका छन् ।

प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाँणलाई

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाँणले पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरी कार्यवाहकको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिनुभएको हो ।

प्रधानमन्त्री देउवा शुक्रबार एक साताका लागि बेलायत भ्रमणमा जान लाग्नु भएकाले मन्त्री खाँडलाई जिम्मेवारी तोकिएको हो ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै नर्मदेश्वर मोक्षश्रमधाम

गण्डकी-अनादिकालदेखि अस्तित्वमा आएको विश्वास गरिने पोखरा महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधामलाई यस क्षेत्रको विशिष्ट धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी पहल थालिएको छ ।

अनादिकालमा कर्दम–कश्यपजस्ता ऋषिमुनिको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस धाम परिसरलाई पितृमोक्षधामका साथै महत्वपूर्ण देवघाटका रुपमा स्थापित गर्न नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिले भौतिक पूर्वाधार विकासका योजनालाई अघि बढाइएको समितिका अध्यक्ष झवीन्द्रराज आचार्यले बताउनुभयो ।

प्राचीनकालदेखि साधकको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि आवश्यक प्रवद्र्धन एवं भौतिक पूर्वाधारको विकास गर्न नसक्दा यसको ऐतिहासिक गरिमा र महत्व ओझेलमा पर्दै गएको उहाँले जानकारी दिनुभयो ।

तीर्थस्थलको महत्वलाई थप उजागर गर्दै देश विदेशका साधुसन्तको पुग्नैपर्ने गन्तव्यका रुपमा स्थापित गराउने दीर्घकालीन लक्ष्यका साथ पूर्वाधार विकासका योजनालाई अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष आचार्यका अनुसार धाम परिसरमा द्वादश ज्योर्तिलिलिङ्गसहित जमिनमुनि १५ फिट गहिराइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको श्री नर्मदेश्वर शिवलिङ्ग स्थापना गरिने लक्ष्य राखिएको छ ।

कूल बाह्र रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा सर्वेश्वर शिव, श्रीरामचन्द्र, श्रीकृष्ण आदि भगवानका लीला शैलीमा आधारित कलात्मक मूर्ति रहने समितिले जनाएको छ ।

मन्दिरको उचाइ जमिनको सतहबाट ४५ फिट र चौडाइ ५० फिट हुने जानकारी दिँदै आचार्यले नेपाल आमा एवं अवतारी महापुरुषको मूर्ति स्थापना गरी यस क्षेत्रकै अपूर्व दर्शनीय धाम बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

“गुरुयोजनाअनुसार लक्षित काम सम्पन्न गर्न रु आठ करोड लाग्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न दान तथा सहयोगबाट हालसम्म झण्डै रु चार करोडको लागतमा काम सम्पन्न भएका छन् ।”

धाममा आउनुहुने साधु, सन्त, वृद्धवृद्धा, ब्रह्मचारी, बटुक र भक्तजनका लागि नित्य भोजन, आवासका साथै अन्य अतिथि तथा धार्मिक पर्यटकका लागि प्राथमिकतानुसार आतिथ्य भोजन उपलब्ध गराउँदै आइएको र यसका लागि मुठ्ठीदानको आह्वान गरिएको समितिले जनाएको छ ।

समितिले धाममा गौशाला, विशाल अतिथिगृह, पोखरा तथा मुक्तिनाथमा आउनुहुने तीर्थालुका लागि सुविधासम्पन्न भवन, गौशाला, यज्ञमण्डप, १०८ शिवलिङ्ग, धर्मकुवा, महाकालेश्वर अखण्ड दीप, १०८ दीप लगायतको निर्माणका लागि लघु तथा गुरुयोजना अघि बढाएको छ ।

धाममा वैदिक सनातन आधुनिक गुरुकुल पाठशाला स्थापनाको लक्ष्यसमेत राखिएको समितिका सल्लाहकार पीताम्बर पौडेलले जानकारी दिनुभयो ।

महत्वपूर्ण तीर्थस्थल भएर पनि प्रचारप्रसारको अभावमा पछि परेको यस धाममा गुरुकुल पाठशाला स्थापना गर्दै शिक्षाको केन्द्रका रुपमा समेत विकास गर्न सकिने उहाँको भनाइ छ ।

धामलाई धार्मिक पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको र त्यसको उजागर गर्नु अपरिहार्य भएको उहाँले बताउनुभयो ।

किंवदन्तीअनुसार परापूर्वकालमा बरवृक्षको छहारीमा बसी तपस्या, साधना एवं यज्ञादि कार्य हुने भएकाले नर्मदेवर भगवान्लाई दायाँपारी बरवृक्षको समीप हुँदै बग्ने नदीलाई बरगाछी भनिएको र पछि अपभ्रंश भई बगादी भनिएको पाइन्छ ।

यसै स्थलमा कुनै साधकले तपस्या र साधनाको माध्यमबाट विशेष धार्मिक पर्वमा अदृश्य पुजारीको माध्यमबाट पूजाअर्चना गर्ने गरेको र पूजाका लागि भक्तजन पुग्दा पूजा भइसकेको देखिने जनश्रुति अझै पनि कायमै छ ।

धाममा वैशाख, साउन र माघे सङ्क्रान्तिका साथै शिवरात्रि, नवदुर्गा, हरिशयनी एकादशी, हरिबोधिनी एकादशी, रामनवमी आदि महत्वपूर्ण तिथिमा विशेष मेला लाग्ने गर्दछ ।

धामको गरिमा र महत्वलाई उजागर गर्ने लक्ष्यका साथ समितिले प्रत्येक महिनाको शुक्ल पक्षको एकादशी तिथिमा विशेष गङ्गा आरती गर्दै आएको छ ।

देश–विदेशबाट ख्याती कमाएका सन्त महन्तको आगमन भइरहने यस धाममा विसं २०७३ फागुन ११ गतेदेखि २१ गतेसम्म सन्त सम्मेलन गरिएको थियो ।

ऋषिमुनिको प्राचीन तपोभूमिका रूपमा रहेको यस तीर्थस्थलको अस्तित्व आदिमकालदेखि नै रहेको र धेरै विषय अनुसन्धानको पर्खाइमा रहेको समितिका सदस्य शंकरप्रसाद पौडेलले बताउनुभयो ।

पितृतीर्थका रूपमा समेत यो धाम रहेको र यो कास्की जिल्लाको देवघाटका रुपमा स्थापित बनेको उहाँले बताउनुभयो ।

लक्षित योजनालाई सम्पन्न गर्दै यस धामलाई यस क्षेत्रकै महत्वपूर्ण धार्मिक पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्न सकिने बताउँदै उहाँले यसका लागि राज्यस्तरबाटै साथ र सहयोग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

बर्सेनि एक करोड ३० लाखलाई पक्षाघात

विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको पाइएको छ ।

विश्व पक्षाघात दिवसका अवसरमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिष्ट डा राजु पौडेलले विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको बताउनुभयो ।

“पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ”, उहाँले भन्नुभयो ।

विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेण्डमा एक जनालाई पक्षाघातको सम्भावना रहेको डा पौडेलको भनाइ थियो ।

उहाँले नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

डा पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निस्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन हुनुपर्दछ ।

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुरो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको उहाँले बताउनुभयो ।

पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने समेत डा पौडेलको भनाइ थियो ।

आज २९ अक्टोबरअर्थात् विश्व पक्षघात दिवसका अवसरमा काठमाडौँको महाराजगञ्जदेखि सामाखुशी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको थियो ।

उक्त अस्पताल, नेशनल न्यूरो सेन्टर र नेपाल पक्षघात सङ्घको आयोजनामा गरिएको उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, कर्मचारी, सङ्घका पदाधिकारी एवं न्यूरो सेन्टरका कर्मचारीको सहभागीता थियो ।

नेपाल बार एशोसियशन परिसरमा वकिलहरूबीच कुटाकुट

काठमाडौँ-नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट भएको छ ।

प्रधानन्यायाधीशले निकास नदिँदा इजलास नचलेको विषयमा उनिहरुबिच विवाद भएको थियो ।

उक्त विवाद झगडामा परिर्वतन हुदा हात हालाहालको स्थिती भएको अन्य वकिलहरूले बताएका छन् ।

अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेको बताइएको छ ।

चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् ।

प्रधानन्यायाधीशले निकास नदिँदा इजलास नचलेको विषयमा विवाद भएको बताइएको छ ।

‘अर्ली इलेक्सन’मा जान जरुरी छैन : अध्यक्ष नेपाल

सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उहाँले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन । मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन तर मलाई लागेको चाँही सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो ।”

निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागिसमेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गर्नुभयो ।

“वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिष्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला ।

त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव छैन । चुनाव अघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ ।” उहाँले भन्नुभयो ।

एमालेमा फर्किने कुरामा कल्पना समेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गर्नुभयो ।

एकीकृत समाजवादीलाई विचार र नीतिप्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उहाँको भनाइ थियोे ।

फेसबुकको कम्पनीको नयाँ नाम मेटा (Meta)

काठमाडौं – सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ ।

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) राखेको हो ।

कम्पनीको रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो नाम परिवर्तन गरी मेटा (Meta) राखेको हो ।

फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् ।

कम्पनीले हाल गरिरहेका कामहरु नयाँ नामले राम्रोसँग समेट्ने फेसबुकले जनाएको छ ।

हाल फेसबुकको उपस्थिति सोसल मिडिया प्लाटफर्मसँगै भर्चुअल रियालिटी लगायतका क्षेत्रमा पनि फैलिएको छ ।

अमेरिकाको प्रसिद्ध सहर न्यूयोर्कमा पनि गोल्डस्टारको आउटलेट

नेपालको लोकप्रिय जुत्ता गोल्डस्टार अब संयुक्त राज्य अमेरिकामा पनि उपलब्ध हुने भएको छ ।

अमेरिकाको प्रसिद्ध सहर न्यूयोर्कमा पनि गोल्डस्टारको आउटलेट खुल्ला भएसँगै सो स्थानमा पनि नेपाली ब्राण्ड गोल्डस्टार प्राप्त गर्न सकिने भएको हो ।

गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा हालैमात्र आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो बिक्री–वितरण सुरू गर्ने जनाएको छ ।

न्यूयोर्कस्थित गोल्डस्टारको नयाँ आटलेट उद्घाटन गर्दै कम्पनीका अध्यक्ष आमिरप्रताप जबराले गोल्डस्टार जुत्ता अब संयुक्त राज्यभरका निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरे ।

कार्यक्रममा बोल्दै राणाले भने, ‘हामी संयुक्त राज्य अमेरिकामा संसारकै सबैभन्दा अग्लो स्थानमा बनेका डिजाइनहरू ल्याउने कुरामा गर्व गर्दछौं ।’

उक्त अवसरमा ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष तथा सीईओ ज्याफले गोल्डस्टारलाई अमेरिकामा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरे ।

नेपालमा किरण सु म्यानुफ्याक्चरर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको उत्पादन थालेको हो ।

पछिल्लो पटक विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरू गरेको छ ।

हाल कम्पनीले उपभोक्ताहरुको आर्थिक अवस्था र बजारको माग अनुरुप जुत्ता उत्पादन गर्दै आएको छ ।

यता उपभोक्ताहरूले पनि गोल्डस्टारलाई एक किफायती ब्रान्डको रुपमा छनौट गरेका छन् । गोल्डस्टारको प्रमुख मोडल ०३२ भेरियन्टले नेपालमा ठूलो चर्चा पाएको छ ।

प्रधानमन्त्री देउवा वल्ड लिडर समिटमा भाग लिन बेलायत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्र्तगतको वल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी,सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखले बिदाइ अभिवादन गर्नुभयो ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ ।

उहाँले वल्र्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

सोही दिन साँझ उहाँ बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ ।

प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

उहाँ नोभेम्बर २ को बिहान बेलायतका प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले नोभेम्बर ३ तारेखमा स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गर्नुहुनेछ ।

उहाँले नेपाली बगैँचामा बिरुवा पनि रोप्नुहुने जनाइएको छ । बेलायतमा रहँदा प्रधानमन्त्री देउवाले अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री त्यहाँ रहँदा उहाँसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अक्टोबर ३१ गते प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

उहाँले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग पनि भेटघाट गर्नु हुनेछ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी हुनुहुन्छ । उहाँ यही कात्तिक १८ गते स्वदेश फर्र्कनु हुने कार्यक्रम छ ।

मध्य भोटेकोशीको आइपिओ बाँडफाँट

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बाँडफाँट गरेको छ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।

कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्य ९५ हजार ७२२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये आठ लाख १९ हजारलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असोज २० गतेदेखि २५ गतेसम्म कूल रु ९० करोड बराबरको रु १०० अङ्कित मूल्यका ९० लाख कित्ता शेयर निष्कासन मा ल्याएको थियो ।

बिक्री प्रबन्धकका अनुसार बिक्री खुला गरिएको कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशतअर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई, पाँच प्रतिशतअर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई र बाँकी रु ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको कुल अनुमानित लागत करिब रु १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ रहने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सहनिष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल छन् ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट(मेरो शेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

कर्णालीका समस्या बुझ्दै सिमिकोट्का पीडित जनतामाझ सभापति खड्का

हुम्ला-व्यबस्थापिका संसद बिकास तथा प्रबिधि समितिका सभापति कल्याणीकुमारी खडकाको नेतृत्वमा कर्णाली पुगेको संसदहरुको टोलिले कर्णालीका बहुक्षेत्रकाे स्थलगत निरीक्षण गरेको छ।

व्यबस्थापिका संसद बिकास तथा प्रबिधि समितिका सभापति कल्याणीकुमारी खडकाको नेतृत्वमा कर्णाली पुगेको संसदहरुको टोलिले कर्णाली कोरिडोर सडक आयोजनाले गरेका कामहरू तथा बाढीले पुर्याएको क्षतिको अवस्था बारे स्थलगत निरीक्षण गरेको हाे ।

निरीक्षण लगत्तै सभापति खडकाले राजनीतिक दलका जिल्ला नेता सडक निर्माणकार्यमा लागेका सरोकारवालाहरु प्रमुख जिल्ला अधिकारी सबैलाई सम्बोधन गर्नुभएकाे छ ।

सम्बोधनमा सभापति खडकाले बिगतको तुलनामा कामहरू अगाडि बडेको भएपनि सोचे जस्तो संतोषजनक नरहेको बताउनुभयाे ।

उहाँले समितिको तर्फबाट सरकारलाई कर्णालीवासीका समस्या सम्बोधन गर्न र कार्यान्वयन गर्न आफू लागिपर्ने बताउनुभयो ।

विकाश समितिका माननीय सांसदहरुको टोलि हुम्लाको सिमिकोट पुगि त्यहाँ जम्मा भएका जिल्लाका सबै राजनीतिक दलका नेताहरू मार्फत समस्याहरु बुझ्ने काम समितिले गरेको छ।

समितिले सेनाको सहयोगमा अगाडि बढाएको हिल्सा देखी बादरखेला सम्मको निर्माणाधीन सडकको अवलोकन सहित बाढीबाट पुगेका क्षतिग्रस्त सडक तत्कालै निर्माण गर्न टोलि सगै रहेका सडक बिभागका उपमहानिर्देशक शिव नेपाललाई निर्देशन समेत दिएको थियो ।

अपार सम्भावना बोकेको कर्णाली प्रदेशको भाग्य जोडिएको कर्णाली कोरिडोर चाडो सम्पन्न गर्न कर्णालीका समग्र समस्या सम्बोधन गर्न टोलीले सरोकारवालाहरुलाइ निर्देशन दिएको थियो।

सिमिकोटमा आयोजना गरिएको कार्यक्रममा हिल्सा सिमिकोट सडक खण्डका प्रमुख बिस्नुदास लामा सडक बिभागका उपमहानिर्देशक नेपाल हुम्ला कि सांसद रंगमति शाहीले बोल्नुभएको थियो भने जिल्लामा भोग्नुपरेको समस्याकाबारेमा एमाले जिल्ला अध्यक्ष दल रावलले सभापति खडका समक्ष राजनैनिकदलले सयुक्तरुपमा तयार गरेको ज्ञापनपत्र बुझाउनुभएको थियो।

लगातार उकालो लाग्दै नेप्से सूचक: १२.९८ अंकले बढेर २७८२.१२ विन्दुमा

लगातार उकालो लाग्दै नेप्से सूचक: १२.९८ अंकले बढेर २७८२.१२ विन्दुमा

काठमाडौँ-बिहीबार नेप्से सूचक १३.९८ अंकले बढेर २७८२.१२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.४३ अंकले बढेको छ।

बिहीबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।

बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँको ९२ लाख ३६ हजार ६१३ कित्ता शेयर कारोबार भएको छ।

बिहीबारको बजारमा हाइड्रोपावर, लघुवित्त र अन्य उपसमूहका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ।

लगातार उकालो लाग्दै नेप्से सूचक: १२.९८ अंकले बढेर २७८२.१२ विन्दुमा

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेको शपथ

वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उहाँले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएकोे छ ।

उहाँले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गर्नुभयो ।

नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिनुभएको थियोे ।

वाग्मती प्रदेशमा मुख्यमन्त्री पाण्डेसहित चार मन्त्रीले आज सपथ लिदै

काठमाडौं- मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजिनामा दिएसँगै वाग्मती प्रदेशमा ५९ जना सभासदको सर्मथन सहित मुख्यमन्त्रीमा दावि गरेका राजेन्द्र पाण्डेले आज सपथ लिने भएका छन् ।

एकीकृत समाजवादी, संसदीय दलका नेता राजेन्द्र पाण्डेसँगै गठबन्धनका प्रत्येक दलबाट एक एक जना गरी चार मन्त्रीले सपथ लिने तयारी गरेको बताईएको छ ।

मुख्यमन्त्रीको पदबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट बिहीवार अपरान्ह ३ बजेको समयसीमाभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान भएको थियो ।

प्रदेश प्रमुखको आह्वानसँगै नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेबाट ५९ सांसदको सर्मथन सहित दाबी पेश भएको थियो । सरकार बनाउन ५५ सांसद आवश्यक पर्नेमा प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ ।

प्रदेशसभाका एक सदस्यका अनुसार आज पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीबाट कृष्ण खनालले पनि मन्त्रीको रुपमा सपथ लिने भएका छन् ।

बाँकी मन्त्रीहरूको चयन भने तिहारपछि मात्रै गरिने सत्ता गठबन्धनमा सहमति भएको जनाइएको छ ।

जनताको सेवा गर्नका लागि पार्टी गठन गरेका छौँ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।

आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताउनुभयो ।

स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उहाँले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले सङ्गठन निर्माण गर्ने र पार्टीको अभियानमा खटिने नेताको मूल्याङ्कन हुने बताउँदै जनताको सेवा गर्नकै लागि पार्टीको गठन भएकाले सबैको साथ हुदा पार्टीपङ्क्ति बलियो हुने धारणा राख्नुभयो ।

राज्यको आधारभूत दायित्व गाँस, बाँस, कपास, स्वास्थ्य र सुरक्षा रहेकाले त्यसको ग्यारण्टी गरिनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गर्नुभयो ।

पाँच दलको गठबन्धन चुनावसम्म कायम रहने दृढता व्यक्त गर्दै उहाँले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।