सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ।

नेपाली बजारमा अाज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

यसअघि छापावाल सुनको प्रतितोला ९३ हजार च सय रुपैयाँ रहेको थियो भने आज घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, यसअघि प्रतितोला ९२ हजार नौ सय रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

आचारसंहिता कार्यान्वयन गर्न आयोगको सात बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन जारी गरेका छन् ।  आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबार आयोगले सात बुँदे निर्देशन जारी गरेको हो ।  आयोग उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति जारी गरेर सात बुँदे निर्देशन जारी गरेको जानकारी दिएका हुन् ।

आयोगको विज्ञप्ति :

लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएकोले निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नको लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निम्न लिखित सात बुँदे निर्देशन दिएको छ । 

१.    निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचार प्रसार गर्न नपाइने, प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था रहेको सन्दर्भमा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री उम्मेदवार भएको भए आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रसम्म निर्वाचन आचारसंहिताको प्रतिकूल नहुने गरी प्रचार प्रसार गर्ने, प्रचार प्रसार गर्दा सरकारी साधन स्रोत तथा जनशक्तिको उपयोग नगर्ने, सरकारी कामको सिलसिलामा यात्रा गर्दा बाहेक निर्वाचन प्रचार प्रसारको लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जाँदा समेत सरकारी साधन स्रोतको उपयोग नगर्ने तथा आफू उम्मेदवार नभएको क्षेत्रमा आयोगको अनुमति लिई प्रचार प्रसार गर्न जाँदा समेत उल्लेखित व्यवस्थाको पालना गर्ने ।

२.    निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ बमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा निर्वाचन प्रचार प्रसार नगर्ने र सो नियमको प्रतिबन्धात्मक वाक्यांशको खण्ड (४) बमोजिम अन्य स्थानीय तहमा निर्वाचन प्रचार प्रसार गर्दा तथा प्रचार प्रसारका लागि जाँदा वा आउँदा समेत सरकारी साधन स्रोत तथा जनशक्ति उपयोग नगर्ने । 

३.    निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा मतदान हुने दिन भन्दा सत्र दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चार माध्यममा कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था भएकाले सो अवधि (२०७९ साल कात्तिक १७) गतेभन्दा अघि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा जस्ता कार्यक्रम तथा सञ्चारमाध्यमबाट कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण नगर्ने । 

४.    निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने समेतको व्यवस्था भएकाले सबै राजनीतिक दलले सो व्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले त्यस्तो कार्यक्रममा सरकारी साधनस्रोत तथा जनशक्तिको उपयोग नगर्ने । 

५.    निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रसार प्रसारको लागि आयोगले अनुमति दिएको सवारी साधन मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेकाले सबै राजनीतिक दल तथा उम्मेदवारले आयोगले तोके बमोजिम अनुमति लिएर मात्र निर्वाचन प्रसार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने, निर्वाचन प्रचार प्रसारको लागि अनुमति लिएका सवारी साधनबाहेक अन्य सवारी साधनमा दलको वा निर्वाचन चिन्ह अंकित झण्डा प्रयोग नगर्ने । 

६.    निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (ज) मा कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने व्यवस्था रहेको तथा सोही दफाको उपदफा (२) मा त्यस्तो सामग्री राखेको वा टाँसेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने व्यवस्था रहेकोले कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ज) विपरीत हुने गरी आफ्नो वा आफ्नो दलसँग सम्बन्धित प्रचार प्रसार सामाग्री नराख्ने वा नटाँस्ने तथा अरुलाई समेत त्यस्तो प्रचार प्रसार सामग्रि राख्न वा टाँस्न नदिने । 

७.    माथि उल्लेख भएका विषय तथा निर्वाचन आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल्लंघन भएमा प्रचलित कानून बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्ने र अरुलाई समेत पालना गर्न लगाउने ।

लोक सेवाद्वारा खरिदारको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले खरिदारको अन्तिम नतिजा सार्वजनिक गरेको छ । 

आयोगले विज्ञापन नम्बर ११९१०-११९१६/०७६-०७७(खुल्ला, समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदमा नियुक्तिको लागि सिफारिस भएका उम्मेदवारहरूले प्राप्त गरेको कुल अङ्कका आधारमा एकमुष्ट योग्यता क्रम सूची सार्वजनिक गरेको हो । 

माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तरवार्ता र लिखित परीक्षामा प्राप्त अङ्कका आधारमा नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।

कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको अर्थशास्त्र विषयको नतिजा प्रकाशन गरिएको हो । नतिजा आयोगको वेबसाइटमा हेर्न सकिनेछ ।

सन्दीप लामिछानेको म्याद आज तेश्रो पटक थपिने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार प्रकरणमा अनुसन्धानको लागि प्रहरीले आज तेश्रो पटक म्याद थप गर्ने तयारी गरेको छ । महानगरीय प्रहरी बृत्त गौशालाको टोलीले आज म्याद थपको लागि लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । 

गएको भदौ २१ गते एक किशोरीले लामिछानेबाट आफू भदौ ५ गते बलात्कृत भएको भन्दै उजुरी दिए पछि असोज २० गते उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । 

पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
 

ट्र्याक्टर दुर्घटनाबाट चारजनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ ।

अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए ।

नयाँ भन्दै पुराना ल्यापटप नेपालमा ल्याएर बेच्ने गरिएको खुलासा

काठमाडौं । नेपालमा नयाँ भनेर पुराना ल्यापटप आयात गरेर बिक्री गर्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कतार र दुवईबाट आयात भएको चार वटा फर्मको शंकास्पद ल्यापटपमा गरेको परीक्षणमा यस्तो रहस्य बाहिरिएको हो ।

काठमाडौंका तीन र ललितपुरका एक फर्मले आयात गरेका एक हजार मध्ये करिब ५ सय वटा ल्यापटप पुराना र वारेन्टी सकिएपछि नयाँ भनेर आयात भएको पाइएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताए ।

यसरी आयात भएका सबै ल्यापटप ‘डेल’ कम्पनीको भएको उनको भनाइ छ । ‘गत भदौ तेस्रो साता शंकास्पद अवस्थामा आयात भएका ल्यापटपको प्राविधिक परिक्षण गर्दा आयात भएकामध्ये आधा ल्यापटपको वारेन्टी सकिएको पाइयो,’ प्रमुख भन्सार प्रशासक पोखरेलले भने, ‘यो त बजारले अनुभव नगरेको नयाँ प्रकारको ठगी हो । हामी थप अध्ययन गरिरहेका छौं ।’

अध्ययनका क्रममा हेर्दा वाह्य मुलुकमा एक पटक प्रयोग भएर काम नलाग्ने भएका र उपयोग वारेन्टी सकिएपछि दोस्रो बजारमा पठाइएको ल्यापटप पुनः खरिद गरेर नेपाल ल्याइएको पाइएको भन्सार कार्यालयले जनाएको छ ।

हाल जफत भएका ल्यापटपको भन्सार पास रोकेर थप कारवाहीको सिफारिस तयारी भइरहेको र नयाँ भित्रिने ल्यापटपलाई कडाइका साथ परीक्षण थालिएको भन्सार प्रमुख पोखरेलले बताए । विमानस्थलमा यस्तो अवस्थामा ल्यापटप भेटिएपछि बजारमा बिक्री भएका ल्यापटपको गुणस्तरमा समेत गम्भीर प्रश्न उठेको उनको भनाइ छ ।

‘आयात भएका ल्यापटपको भन्सारमै कडाइ सुरु हुन्छ, तर बजारमा गएका ल्यापटपको गुणस्तरमा पनि अब अनुगमन र परीक्षण गरिनु पर्छ,’ पोखरेलले भने,’विमानस्थल भन्सारको सिंगो टिम अहिले यस प्रकार ठगीको विरुद्ध काम गरिहरको छ ।’

चालु आर्थिक वर्षको २ महिनामा नेपालले एक अर्ब २५ करोड ९२ लाख रुपैयाँको १९ हजार ५०८ थान ल्यापटप आयात भएको छ ।

सत्ता गठबन्धनकाे पक्षमा मतदान गर्न देउवा, प्रचण्ड र नेपालको अपिल

काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूका पक्षमा मतदान गर्न अपिल गरेका छन्।

आज (मंगलबार) प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संयुक्त अपिल जारी गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका छन्।

उनीहरूले गठबन्धनको यो सरकार आउँदो आम निर्वाचनलाई पनि भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न कटिबद्ध रहेको अपिलमा उल्लेख गरेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्ताबेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने छ,’ अपिलमा भनिएको छ।

यस्तो छ अपिल !

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हामी सहभागी हुँदैछौं। नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुरूप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरू प्रतिबद्ध रहेका छौँ। लोकतान्त्रिक गठबन्धनको यो नै साझा र प्रस्ट वैचारिक धरातल र सहकार्यको आधार हो।

२०७८ असारमा निर्माण भएको पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटनलगायत तत्कालीन सरकार प्रमुखको अनेकौँ स्वेच्छाचारी कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको कुरा जगजाहेर छ।

पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावनाअनुरूप काम गर्दै आएको छ। गठबन्धन सरकार गठन भए लगत्तै महामारीको रूपमा रहेको कोभिडको रोकथाम नियन्त्रण भएको छ। वर्तमान गठबन्धनको सरकारले विदेश नीतिमा सन्तुलन कायम गरेको छ। जनताको आवश्यकता पूर्तिका निम्ति निरन्तर क्रियाशील छ।

यो छोटो अवधिमा सरकारले लोकतन्त्रलाई संस्थागत गर्न संवैधानिक अधिकारको पूर्ण प्रत्याभूति गर्दै भयरहित वातावरणमा निष्पक्ष रूपमा सफलताका साथ स्थानीय निर्वाचन सम्पन्न गरेको छ। अहिले गठबन्धनको यो सरकार आउँदो आम निर्वाचनलाई पनि भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न कटिबद्ध छ।

गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति आम नेपाली जनताको समर्थन र सहयोग रहँदै आएको कुरा यहाँ महत्वकासाथ स्मरण गर्नु आवश्यकता छ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गदै जनताको सङ्घर्ष र बलिदानको परिणामस्वरूप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्ताबेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने छ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको छ। देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन भ्रष्टाचारमा शून्य सहनशीलता सहितको सुशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाको सुनिश्चितता गर्दै उत्पादन वृद्धि र मुलुकभित्रै रोजगारीका पर्याप्त अवसरहरूको सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणको राष्ट्रिय कार्यभारलाई गठबन्धन दलले उच्च प्राथमिकता दिने छ।

मुलुकभित्रै औद्योगिक एवम् कृषि उत्पादन वृद्धि गर्ने र लाखौँको संख्यामा देशबाट बाहिरिइरहेको युवा जनशक्तिका लागि देशभित्रै व्यवसाय, स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्ने विषय गठबन्धनको उच्च प्राथमिकतामा रहने छ। सेवा र सुविधामा आम नागरिकहरूको सहज पहुँच पुर्‍याउने र ती सेवाहरूको स्तरीकरण सङ्घ, प्रदेश र स्थानीय तहमा निर्माण हुने स्थिर र बलिया सरकारहरूले मात्र सम्बोधन गर्न सक्छन्।

जनताको समृद्धिको आकाङ्क्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले बिना आलटाल र ढिलासुस्ती सम्बोधन गर्नु आवश्यक छ। त्यसका लागि गठबन्धन दलहरूका प्राथमिकताहरू प्रस्ट छन्।

कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवम् बजारीकरण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धन, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्यूनीकरण गर्न आयत प्रतिस्थापन एवम् निर्यात प्रवर्द्धन र नेपालको तुलनात्मक लाभ एवम् प्रचुर सम्भावना भएका जलविद्युतजस्ता क्षेत्रको विकास नै अहिलेको आवश्यकता हो। यसका लागि पर्याप्त निजी, सहकारी एवम् सार्वजनिक लगानी वृद्धि गर्दै देशको हितमा विदेशी लगानी आकर्षण गर्ने नीति गठबन्धन सरकारले लिनेछ। यस्तो लगानीका लागि आवश्यक वातावरण, राजनीतिक स्थिरता, नीतिहरुकोे सुनिश्चितताप्रति गठबन्धन सचेत छ।

सङ्घ, प्रदेश र स्थानीय सरकारहरूको सक्रिय पहल र उचित सहकार्यमा अत्यावश्यकीय पूर्वाधारहरूको विकास नगरी जनताको समृद्धिको आकाङ्क्षालाई यथार्थमा साकार गर्न सकिँदैन।

यातायात पूर्वाधार, सूचना प्रविधि र ऊर्जा विकास तथा अन्य आर्थिक गतिविधिबाट मुलुकलाई लाभ दिलाउनु तत्कालका प्राथमिकता हुन्।

सडक, रेल एवम् हवाई यातायातको विस्तार गरी त्यसलाई विश्वसनीय एवम् सुरक्षित बनाउन निरन्तरको प्रयास आवश्यक छ। जलविद्युतको विकासमार्फत मुलुकको आवश्यकता पूर्ति गर्दै मुलुकमा उद्योग व्यवसायको विस्तार गर्न, सफा ऊर्जाको उपभोग बढाएर वातावरण विनाश रोक्न, स्वदेशमा उत्पादित विद्युतको निर्यात बढाउँदै पेट्रोलियम पदार्थको आयात घटाइ भयावह बन्दै गएको व्यापार घाटालाई कम गर्ने सम्भावना छन्। ती सम्भावनाको सदुपयोग गर्ने प्रस्ट दूरदृष्टि र कार्य योजनाका साथ गठबन्धनको भावी सरकारले कार्य गर्नेछ।

आर्थिक अभावका कारण आधारभूत शिक्षा र स्वास्थ्यको अवसरबाट कोही पनि नेपाली वञ्चित हुने छैनन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरी सेवाको उपलब्धता र गुणस्तरमा उल्लेख्य सुधार गर्न गठबन्धनका दलहरू प्रतिबद्ध छन्। उच्च शिक्षाका लागि वर्षेनी बिदेसिने अर्बौँ रुपैयाँ बराबरको विदेशी मुद्रा र त्यससँगै हुने प्रतिभा पलायन अहिलेको मूल चिन्ताको विषय हो।

मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा दिन, योग्यता र क्षमता अनुरूपको सिप सुनिश्चित गर्दै अध्ययनसँगै आयआर्जन गर्न र अध्ययन पछि लाभदायी रोजगारी सुनिश्चित गर्न सबै सरोकारवालाको साझा प्रयास आवश्यक छ। त्यस्तै एकातर्फ नेपालीहरूको स्वास्थ्य उपचारका लागि वर्षेनी ठूलो रकम विदेशी रहेको छ भने मुलुकभित्रै आधारभूत स्वास्थ्य सेवाको गुणस्तरीय विस्तारको आवश्यकता रहेको छ। यसका लागि सार्वजनिक र निजी लगानीका स्रोतहरूलाई समन्वयात्मक ढङ्गले परिचालित गर्न विश्वसनीय र सबल सरकारको आवश्यकता छ। यस कार्यमा देशका लोकतन्त्र पक्षधर प्रमुख दलहरूको गठबन्धन क्रियाशील हुनेछ।

पूर्वीय चिन्तन, संस्कृति र सभ्यताका सकारात्मक वैज्ञानिक सोचहरू तथा त्यसको अभिन्न अङ्गको रूपमा रहेको योग, साधना, ध्यान जस्ता मानव जीवन उपयोगी अभ्यासको प्रवर्द्धनमा जोड दिइनेछ। मुलुकभित्र प्राथमिकताको क्षेत्रहरू पहिचान गरी अध्ययन, अनुसन्धान र खोजमा लगानी वृद्धि गरिनेछ।

लोकतन्त्रको सबलीकरणको मूल आधार महिला, दलित, पिछडिएको क्षेत्रका बासिन्दा, सीमान्तकृत, आदिवासी जनजाति, विपन्न तथा अपाङ्गता भएका नागरिक लगायतको राज्यको नीति निर्माण तहमा सक्रिय प्रतिनिधित्व, सामाजिक–आर्थिक समावेशीकरण र सशक्तीकरण नै हो। वर्तमान संविधानले उनीहरूको सम्मानजनक जीवनयापनको अधिकार र अवसरको न्यायोचित वितरणको सुनिश्चितता गरेको छ। संविधानको यही भावना र मर्मअनुरूप सामाजिक न्यायको अवधारणालाई कार्यान्वयन गर्न कानूनी, संरचनागत र प्रशासनिक सुधार गर्नु र निरन्तर परिष्कार गर्नु आवश्यक छ।

नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई देशको आवश्यकता र राष्ट्रिय स्वार्थ केन्द्रित लक्ष्यका साथ सञ्चालन गर्नु गठबन्धन दलहरूको नीति हुनेछ। नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र आवश्यकता अनुरूप गतिशील, सन्तुलित र अद्यावधिक बनाउनु आवश्यक छ।

लोकतान्त्रिक शक्तिहरू सम्मिलित गठबन्धन सरकार साझा राष्ट्रिय दृष्टिकोण बनाउन निरन्तर क्रियाशील रहने छ। वर्तमान विश्व कूटनीतिलाई सर्वाधिक प्रभावित पार्ने प्रमुख तीन वटा मुद्दा जलवायु परिवर्तन, सूचना प्रविधिको विकास तथा समानता र समृद्धि सहितको साझा विश्व अवधारण एवं भूमण्डलीकरणकाबीच नेपालले आफ्नो राष्ट्रिय स्वार्थ अनुरूप परराष्ट्र सम्बन्ध र कूटनीति सञ्चालन गर्ने छ। द्विपक्षीय र बहुपक्षीय सन्धीसम्झौताहरुलाई नेपालको राष्ट्रिय स्वार्थ अनुरूप गर्न गठबन्धन सरकार प्रयत्नशील रहने छ।

माथि उल्लेखित हाम्रा साझा प्रतिबद्धता, नीति र योजनाको विस्तारित रूप पार्टीगत घोषणा पत्रहरूले गर्ने छन्। केही विषयहरूमा फरक विचार र दृष्टिकोणहरूका कारण नै अलग(अलग पार्टीहरूको अस्तित्व रहेको हो। यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो। आ–आफ्नो वैचारिक पहिचानसहित वृहत् राष्ट्रिय स्वार्थ र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी हाम्रा साझा दृष्टिकोण आएका छन्। त्यसकै आधारमा यो चुनावी गठबन्धन बनेको कुरा आम मतदाताले बुझ्नु भएकै छ।

यी सबै राष्ट्रिय यथार्थको प्रकाशमा लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन गर्न र आगामी निर्वाचनमा यो गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन हार्दिक अपिल गर्दछौँ।

ओलीको प्रवृत्ति अझै पनि फेरिएन: प्रचण्ड

काठमाडौँ । ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वाम गठबन्धन गर्दा आफूहरूले धोका पाएको बताएका हुन् ।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् ।

१२बुँदे समझदारी गर्दा नेपालमा संविधान सम्भव छैन भन्ने नेताहरूसमेत रहेको उनको भनाइ छ ।

‘गणतन्त्र ल्याउनु र गोरु गाढा चढेर अमेरिका जानु एउटै हो भन्ने नेताहरू पनि थिए । हामीले बिर्सन हुँदैन । त्यो प्रवृत्ति थियो । गोरु गाढा प्रवृत्तिविरुद्ध आन्दोलन गरेर देश सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रमा गएको हो । समावेशी र समानुपातिक सिद्धान्तमा गइसकेपछि हिजो गोरुगाढावाला नेताहरू त बद्लिए भन्ने लागेको थियो । तर, होइन रहेछ’, उनले भने ।

प्रचण्डले संविधान र लोकतन्त्रमाथि नै धोका दिएको आरोप लगाए । उनले भने, ‘संविधानमा हस्ताक्षर गरिसकेपछि प्रतिगमन, निरङ्कुशतामा अराजकतातिर जाने छैनन् होला भन्ने लागेको थियो । तर, त्यो सबै धोका र बेइमानी रहेछ । हामीले वाम गठबन्धन गरेपछि मात्रै थाहा भयो ।’

एमालेले देशमा अराजकता ल्याएर सामन्तवादलाई स्थापित गराउन चाहेको उनले आरोप लगाए ।

नेपाल टेलिकमकाे अटम अफर

नेपाल टेलिकमले अटम अफर २०७९ (Autumn Offer 2079) सञ्चालनमाल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर (Summer Offer) सेवाग्राहीले अत्यधिकरुचाएकोपाइएकोले यसमासोहीअफर अन्तर्गतकेहीप्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरतादिइएको छ । यहीअसोज २९ गतेदेखि कार्यान्वयनमाल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ ।

यस अन्तर्गतसजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कलअफर लगायतकाविभिन्नप्याकहरुसञ्चालनमाल्याइएकोे छ । सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधाउपलब्ध छन् । अन्यप्याकहरु र अफरमापनिविभिन्नआकर्षक सुविधाहरु उपलब्ध रहेका छन् ।

अटमअफर अन्तर्गतकाविभिन्नप्याकेज प्राप्तगर्नकालागिग्राहकले *1415#डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धीजानकारी लिनतथा सेवाखरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धीविस्तृत जानकारी प्राप्तगर्न र सेवाखरिद गर्न सकिन्छ ।

तिम्रो हासो नै हो मेरो……….

तिम्रो हासो नै हो मेरो खुसि भनेको

तिम्रो मुस्कान नै हो मेरो जिन्दगि भनेको

तिमि हास प्रिय मेरो अनुहारमा खुसि आउछ

म देखि टाढा नजाउ तिमि यो मन रुन्छ

तिमि यो ठाउँमा आउ मेरो दिलले भन्छ

तिमि हास्दा तिमि सँगै मेरो मन हास्छ

मेरो बारेमा गित बनाई गाउनेछौ होला

भावना बगेर मन भित्र चित्र बनाउछौ होला

तिमि आउ, मेरि मायालु तिमि आउ

मन्द मुस्कान छरेर एकपल्ट हासिदेउ

गोबिन्द (राजन)

म यहाँ एक्लो हुदा किन……..

म यहाँ एक्लो हुदा किन मन रुन्छ

एक्लो बस्दा यो मनमा किन डर लाग्छ

य डरले मन मेरो कता तिर भाग्छ

किन यो मन कहिले रुन्छ  कहिले हास्छ

आफैलाई फर्कि हेर्दा कस्तो कस्तो लाग्छ

उनलाई खोजिरहु जस्तो लाग्छ यादमा मन रुन्छ

अगाडि सार्न लागेका पाईला फछाडि सरे जस्तो लाग्छ

म यहाँ एक्लो हुदा किन मन रुन्छ

भन तिमि म के गरु, यो मेरो मनलाई कसरि शान्त बनाउ

यहाँ एक्लो बस्दाको डर यो मनबाट कसरि हटाउ

नाम -गोबिन्द राज ओझा (राजन)

सत्ता गठबन्धनको निर्वाचन परिचालन अभियान

काठमाडौं । सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा निर्वाचन परिचालन अभियान सञ्चालन गरेको छ।

कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित भएका छन्। कार्यक्रममा सत्ता गठबन्धनआबद्ध सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी रहेको कार्यक्रममा उनीहरुले प्रशिक्षण दिँदैछन्।

एमालेविरुद्ध मोर्चाबन्दी गरेर बनेको पाँचदलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ। भने लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरेको छ। संसदीय निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयुक्त प्रशिक्षण एवम् चुनावी सभा गर्ने कार्यतालिका बनाएको छ।

पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका खोल्नेछः प्रमुख कार्यकारी अधिकृत भट्ट

नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी बोर्डले भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग गरेको समझदारी अनुसार उक्त कम्पनीले सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन पेस गरिसकेको छ ।

गत भदौ २ गते एनएचपीसी र बोर्डबीच पश्चिम सेती र सेती नदी–६ परियोजनाको क्रमशः ४५ दिन र ६ महिनाभित्र सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन पेस गर्ने र दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरी बोर्ड समक्ष पेस गर्ने समझदारी भएको थियो । पश्चिम सेती जलविद्युत् परियोजना विकासको लागत रु एक खर्ब ६८ अर्ब र सेती नदी–६ को रु एक खर्ब एक अर्ब अनुमान गरिएको छ ।

गत भदौ २ गते लगानी बोर्ड र भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडबीच समझदारी भएयता पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको काम कसरी अघि बढिरहेको छ ।

राष्ट्रिय गौरवको पश्चिम सेती र प्राथमिकता प्राप्त परियोजना सेती नदी–६ दुवै परिणाममुखी कार्यान्वयन ढाँचामा अघि बढिसकेका छन् । पश्चिम सेती सात सय ५० मेगावाट र सेती नदी–६ चार सय ५० मेगावाट गरी कूल एक हजार दुईसय मेगावाट क्षमताका जलविद्युत् परियोजना निर्माणका लागि भारत सरकारको एनएचपीसीसँग समझदारी हुनु आफैंँमा उपलब्धिपूर्ण छ । यसले पश्चिम सेती विकासका लागि करिब चार दशकदेखि भइरहेका प्रयासलाई सार्थकतातर्फ डो¥याएको छ ।

यससँगै, विकासकर्ताले ८४ करोड रुपैयाँ बराबरको ‘पर्फमेन्स बन्ड’ सहित पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन दिएको छ ।
त्यस्तै, विकासकर्ताले यस परियोजनाका सम्बन्धमा यसअघि तयार भएका अध्ययन दस्तावेजका लागि अतिरिक्त एक करोड ३९ लाख रुपैयाँ बुझाएको छ र सेती नदी–६ को सन्दर्भमा यसअघि विद्युत् विकास विभागले गरेको अध्ययन प्रतिवेदनका लागि ३० करोड ९० लाख रुपैयाँ निर्धारित समयभित्र बुझाउनेछ । समझदारीका प्रावधानअनुसार अनुमतिपत्र जारी गर्ने प्रक्रियामा रहेको छ ।

सेती नदी–६ को हकमा भने समझदारी भएको मितिले ६ महिनाभित्र सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन प्राप्त हुनेछ । सर्वेक्षण अनुमति प्राप्त भएपश्चात् एनएचपीसीले दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय अध्ययन प्रतिवेदन बोर्डसमक्ष पेस गर्नेछ र सोको मूल्याङ्कन पश्चात् परियोजना विकासका लागि सम्झौता प्रक्रिया अघि बढ्नेछ ।

यसअघि पनि पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि विभिन्न अन्तर्राष्ट्रिय कम्पनीबाट प्रस्ताव आएका थिए । यद्यपि ती प्रयास सार्थक हुन सकेनन् । ती प्रयास र अहिलेको पहलमा के फरक छ, जसले यी जलविद्युत् परियोजना विकास हुनेमा आश्वस्त हुन सकिन्छ ?
परियोजनाका बारेमा यस अघिका पहलका सम्बन्धमा म धेरै टिप्पणी गर्न चाहन्न । परियोजना विकास गर्ने अभिप्रायले नै ती अघि बढाइएका थिए भन्ने लाग्छ । यसअघि भए/गरेका प्रयासका विवरण समेटिएको श्वेतपत्र लगानी बोर्डको कार्यालयले सार्वजनिक गरिसकेको छ । श्वेतपत्रले विस्तृत घटनाविवरण समेट्नुका साथै वस्तुस्थितिको यथार्थ चित्र प्रस्तुत गरेको छ ।

नेपालको जलविद्युत् क्षेत्रको विकासले यसको सम्भावित बजारसँग अन्योन्याश्रित सम्बन्ध राख्छ र बजार महत्वपूर्ण पक्ष पनि हो । यसका अतिरिक्त ऊर्जा निर्यातमा केन्द्रित परियोजना सहजीकरण एवं व्यवस्थापनको हाम्रो अनुभवका आधारमा एनएचपीसीसँग सहकार्य अघि बढेको हो । भारत सरकार स्वामित्वको एनएचपीसी प्राविधिक र वित्तीय दुवै हिसाबले सक्षम कम्पनी देखिएको छ । सो कम्पनीले भारतमा सात हजार मेगावाट भन्दा धेरै क्षमताका जलविद्युत् परियोजना कार्यान्वयन गरिसकेको छ । साथै, त्यसको दोब्बर क्षमताका परियोजना कार्यान्वयनका क्रममा छन् ।

एनएचपीसीले स्वच्छ र नवीकरणीय ऊर्जाका क्षेत्रमा दायरा विस्तार गर्न इच्छुक भई आएकाले नेपालमा यी दुई परियोजना विकास गर्न एनएचपीसी प्रतिबद्ध देखिन्छ । एनएचपीसीको वित्तीय क्षमता, प्राविधिक दक्षता र प्रतिबद्धतामा कुनै प्रश्न छैन । यी परियोजना ऊर्जा निर्यातमा केन्द्रित रहेर एनएचपीसीले कार्यान्वयन गर्दैछ र यसका लागि विकासकर्ता कम्पनी आफैँले बजार सुनिश्चित पनि गर्छ । यस सम्बन्धमा एनएचपीसीले समझदारी भएलगत्तै भारतको पीटीसी इन्डिया लिमिटेडसँग प्रारम्भिक विद्युत् बिक्री सम्झौता भइसकेको पनि जानकारी गराएको छ ।
लगानी बोर्डले यी ठूला परियोजनासहित हालसम्म कूल पाँच हजार मेगावाटका जलविद्युत् आयोजनालाई परिणाममुखी कार्यान्वयन ढाँचामा अघि बढाइसकेको छ । विगतमा यस्ता ठूला परियोजना विकासको कार्यान्वयन तथा सहजीकरण कार्यमा लगानी बोर्डले हासिल गरेको अनुभवले पश्चिम सेती विकासका क्रममा आउन सक्ने सम्भावित जोखिमलाई उचित ढङ्गले व्यवस्थापन गर्दै परिणाममुखी तवरले परियोजनालाई सम्पन्न गराउन सक्षम रहेको छ ।

त्यसकारण पश्चिम सेती परियोजना विकासमा कुनै सन्देह राख्नुपर्दैन । परियोजना विकासका लागि स्थानीय सरोकारवालाले सहज र अनुकूल वातावरण निर्माणमा सहयोग गर्नुपर्छ र हुनेछ भन्ने विश्वास गरेको छु ।

दुबै निर्यात केन्द्रित जलविद्युत् आयोजना हुन्, यसले परियोजना क्षेत्र र खासगरी स्थानीयवासीलाई हुने लाभ के–के छन् रु

पश्चिम सेती र सेती नदी–६को विकाससँगै नेपालको आर्थिक–सामाजिक विकासमा ठूलो रूपान्तरण ल्याउनेछ र यसको प्रत्यक्ष तथा पहिलो लाभग्राही भनेको परियोजना क्षेत्रका बासिन्दा नै हुन् । विकासका दृष्टिले तुलनात्मक रूपमा पछाडि देखिएको सुदूरपश्चिम प्रदेशलाई विकासको मूलप्रवाहमा ल्याउन यो परियोजना रूपान्तरणकारी हुनेछ भनेर नै पश्चिम सेतीलाई राष्ट्रिय गौरवको परियोजनामा सूचीकृत गरिएको हो ।

यस परियोजनाबाट नेपाललाई निःशुल्क ऊर्जा, राजस्व/आयकर साथै स्थानीय समुदायको लागि रोजगारी, तालिम, आयआर्जनका क्रियाकलाप, सामुदायिक पूर्वाधार विकास, स्थानीय शेयर लगायत प्रत्यक्ष–अप्रत्यक्ष लाभ हुनेछ । परियोजना विकासबाट प्राप्त हुने निःशुल्क ऊर्जाले औद्योगिकीकरणका साथै ऊर्जाका अन्य स्रोतमाथिको निर्भरता न्यूनीकरण भई इन्धन आयात कम गर्न सकिन्छ ।

अथवा, स्वदेशमा विद्युत् उपभोगका लागि माग सिर्जना गर्न कठिन भएको खण्डमा हामीले निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यी परियोजना विकासका क्रममा प्राप्त हुने औद्योगिक लाभकोे अनुभव विगतमा गरिसकेका छौँ । नेपालमा रहेका सिमेन्ट, छडलगायत निर्माण सामग्री उद्योगले समेत लाभ प्राप्त गर्नेछन् । सुदूरपश्चिमको औद्योगिकरणको साथै आर्थिक उन्नतिमा यी परियोजनाको कार्यान्वयन कोशेढुङ्गा हुनेमा दुई मत छैन ।

ठूला परियोजनाको कार्यान्वयनका क्रममा हुनसक्ने सामाजिक तथा वातावरणीय प्रभाव व्यवस्थापन तथा न्यूनीकरण महत्वपूर्ण पक्ष मानिन्छ । यस सम्बन्धमा लगानी बोर्डको योजना के छ ?

सामाजिक तथा वातावरणीय प्रभाव मूल्याङ्कनका क्षेत्रमा नेपालमा प्रचलित असल अभ्यास अनुशरण गर्दै सम्भावित सामाजिक र वातावरणीय प्रभाव व्यवस्थापन तथा न्यूनीकरणका लागि विकासकर्ताले सुक्ष्म ढङ्गले योजना तर्जुमा, स्वीकृति र कार्यान्वयन गर्नुपर्नेछ । यस प्रयासबाट यसप्रकारका ठूला परियोजना कार्यान्वयनका क्रममा आइपर्नसक्ने सम्भावित सामाजिक तथा वातावरणीय जोखिम न्यूनीकरणमा सहयोग पुग्ने र परियोजनाको स्थायित्व कायम हुनेछ । विस्तृत प्रतिवेदन प्राप्त भएपश्चात् परियोजनाका ‘फुटप्रिन्ट’ पहिचान भई सम्भावित असरको आँकलन हुनेछ । परियोजना विकास सम्झौतासँगै पहिचान भएका विभिन्न विषयगत योजना तर्जुमा भई कार्यान्वयन हुनेछ ।

सेती बेसिनको बहुआयमिक विकासको सम्भावना कस्तो देख्नुहुन्छ ?

भौगोलिक हिसाबले पनि जटिल सेती करिडोरको विकासले विस्तारै गति लिएको छ । पश्चिम सेती र सेती नदी–६ विकासको प्रक्रिया अघि बढेसँगै यसको माथिल्लो तटीय (अपस्ट्रिम)सेती नदी–३ जलविद्युत् परियोजनामा चिलिमे जलविद्युत् कम्पनीले लगानी प्रस्ताव गरेको छ ।

यसले स्वतन्त्र ऊर्जा उत्पादकको सेती बेसिनमा स्वतः आकर्षण बढेको देखिन्छ । सो क्षेत्रको प्रसारणलाइन निर्माणका लागि भारत सरकारको लाइन अफ क्रेडिट (एलओसी) मा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत् चैनपुर–वनलेक–न्यूअत्तरिया ४०० केभी प्रसारण लाइन निर्माण कार्य अघि बढ्ने भएको छ । एक सय ५० किलोमिटरको यो प्रसारणलाइन सेती करिडोरका जलविद्युत् परियोजनाका लागि महत्वपूर्ण आधार हुनेछ । यस क्षेत्रमा विद्युत् उत्पादन वृद्धि भएसँगै आगामी दिनमा लम्की–बरेली अन्तरदेशीय विद्युत् प्रसारणलाइनमार्फत् विद्युत् व्यापारको बाटो खोल्नेमा आशावादी हुन सकिन्छ ।

यसलगायत सडक, विद्युत्, खानेपानी, शिक्षा, सञ्चारप्रविधि जस्ता आधारभूत पूर्वाधार समेतको स्तरोन्नतिले सेती करिडोर सुदूरपश्चिमको विकासमा रुपान्तरणको सम्बाहक हुनेछ । म व्यक्तिगत रुपमा सेती करिडोरको भविष्य अरुण करिडोरमा जस्तै देखिरहेको छु । उक्त बेसिनमा अरुण तेस्रोको कार्यान्वयनसँगै तल्लो र माथिल्लो अरुण जलविद्युत् परियोजना विकासले गति लिएको छ ।

दुवै परियोजनाको सर्वेक्षण अनुमतिपत्र जारी हुने चरणमा रहेको भन्नुभयो । यसपश्चात् दुवै परियोजनाको भावी मार्गचित्र के हुन्छ रु

पश्चिम सेतीको सर्वेक्षण अनुमतिपत्र जारी गर्ने अन्तिम चरणमा छौँ । र, सेती नदी–६ को सन्दर्भमा समझदारीको ६ महिनाभित्र सोही प्रक्रियाबाट अघि बढ्नेछ । एनएचपीसीलाई सर्वेक्षण अनुमतिपत्र जारी भएको तीन महिनाभित्र प्रारम्भिक प्रतिवेदन लगानी बोर्डसमक्ष पेस गर्नुपर्नेछ र सो पश्चात् २१ महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय अध्ययनसमेत पेस भई स्वीकृतिपश्चात् परियोजना विकास सम्झौताको चरणमा प्रवेश गर्नेछ । यसबीचमा, लगानी बोर्डले परियोजना प्रभाव क्षेत्रका बासिन्दा तथा सरोकारवालाको राय तथा परामर्श लिने र प्राप्त राय/सुझावलाई सम्बोधन गर्नका निमित्त परियोजना विकासका विभिन्न चरणमा समावेश गर्दै लैजाने योजना रहेको छ ।

प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।

यस पटक पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र छपाइ गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइ वितरण शुरु भइसकेको छ । हालसम्म बागमती, मधेश र प्रदेश–१ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी शुरु हुने छ ।