बर्षेनी करोडौंको झिलिमिली बत्ती आयात

काठमाडौं । तिहार भन्ने वित्तिकै झिलिमिली बत्तीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीहरूले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ ।

पहिले–पहिलो माटोको दियो बालेर तिहारमा झिलिमिली बनाइन्थ्यो । तर, हिजो आज विद्युतीय बत्तिबाट झिलीमिली बनाउने गरिन्छ । तर, तिहारमा प्रयोग गरिने झिलिमिली बत्ती बाहिरबाट आयात गर्नु पर्ने बाध्यता रहेको छ ।

तिहारकै लागि भनेर विभिन्न खालका दियो, मालाबत्ती लगायत झण्डै करिब बर्षेनी करोडौ रुपैयाँको विद्युतीय झिलीमिली बत्ती विदेशबाट आयात हुने गरेको नेपाल विद्युतीय व्यवसायी महासंघको भनाई छ । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलले यस वर्षको तिहारमा पनि करिब २० करोड रुपैयाँ बराबरको झिलीमिली बत्तीको आयात हुने बताए ।

उनले भने, ‘यस वर्ष चाडपर्वका लागि भनेर १५ देखि २० करोड रुपैयाँ बराबरको बत्ती आयात भएको छ ।’ साथै उनले गत वर्षको तिहारको तुलनामा यस वर्ष बत्तीको मुल्य प्रतिगोटा २० रुपैयाँसम्मले बढेको बताए । उनले भने, ‘गत वर्ष ११० रुपैयाँ पर्ने बत्तीको मुल्य यस वर्ष १३२ रुपैयाँसम्म पुगेको छ ।’

उनका अनुसार विशेषगरी तिहारमा लक्ष्मीपुजाको दिनसम्म झिलीमिली बत्तीको व्यापार हुने गर्छ । ‘यस वर्ष कात्तिक ७ गते लक्ष्मीपुजा रहेको छ । विशेषगरी कात्तिक ३ देखि धेरै बत्तीको व्यापार हुन्छ’, उनले थपे ।

तिहार लक्षित भित्रिएको बत्तीको सस्तो र महंगो दुवै खाले बत्ती आउने गरेको उनले बताए । उनले भने, ‘बजारमा महंगा बत्ती पनि छन् । सय रुपैयाँको हाराहारीमा पनि बत्ती पाइन्छ । सामान्यतया २५० रुपैयाँदेखि २० हजार रुपैयाँसम्मको बत्ती पनि छ । २० हजार रुपैयाँ पर्ने बत्ती भने केही लामा र ठुला साइजका रहेका छन् । सस्तो मुल्य एक सय रुपैयाँ रहेको छ भने महंगा बत्ती २० हजार रुपैयाँसम्म रहेको छ ।’

चाडपर्वका लागि विशेषगरी चीन र भारतबाट बत्तीको आयत हुने गरेको उनले जानकारी दिए । उनले भने, ‘अधिकांश ९० प्रतिशत बत्ती चीनबाट आयात हुन्छ केही मात्रामा भारतबाट पनि आयात हुने गरेको छ ।’

नेपालको बजार सानो भएको र बत्तीको कम खपत हुने भएका कारण बत्ती उत्पादन हुने नसकेको उनको भनाई छ । उनी भन्छन्, ‘नेपालमा हरेक वर्ष बाहरिी देशबाट नै बत्तीको आयात हुन्छ । नेपालको बजार सानो छ । अन्य अत्यावश्यक सामानको उत्पादन पनि हुन सकिरहेको छैन । झिलीमिली बत्ती विलासी वस्तुमा पर्यो । बजारमा यसको खपत पनि कम हुन्छ । यसले गर्दा पनि नेपालमा यसको उत्पादनको सम्भावना कम देखिन्छ ।’

पटक पटक घटेर आए पनि किन आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

अक्टोबर १ मा इन्डियन आयल निगमले पठाएको मूल्य अनुसार निगमको पाक्षिक नाफा १ अर्ब १६ करोड रुपैयाँ छ भने पछिल्लोपटक अक्टोबर १६ मा पठाएको मूल्य अनुसार भने निगमकोे पाक्षिक नाफा घटेर ३९ करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुुसार अक्टोबर १६ मा इन्डियन आयल निगमले पठाएको मूल्य सूचीमा डिजेलको मूल्य अत्यधिक बढेर आएका कारण यसपटक पनि मूल्य घटाउन नसकिएको बताए । ‘अघिल्लो मूल्य सुचीअनुसार डिजेलमा नाफा नै रहे पनि पछिल्लोपटक पठाएको मूल्य सूचीमा डिजेलको मूल्य १५ रुपैयाँ ६० पैसा बढेर आयो जसले गर्दा डिजेलमा नै प्रति लिटर ६ रुपैयाँ ३४ पैसा घाटा हुन गयो ।

अमेरिकी डलर बलियो हुँदै जानु र ओपेकले दैनिक तेल कटौती गर्ने निर्णयले क्रुड आयल मुल्य झन बढ्दो क्रममा रहेको छ। यसकारण स्थानीय बजारमा तत्काल मूल्य घट्ने अवस्था रहेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गएपछि निगमको नोक्सानी पनि विस्तारै साँघुरिँदै गएको छ । प्रति ब्यारेल १२० डलरभन्दा बढी पुगिसकेको क्रुड आयलको मूल्य घटेर ७८ डलर प्रति ब्यारेलसम्म पुगेपछि निगमलाई पनि स्थानीय बजारमा मूल्य घटाउन व्यापक दबाब परेको थियो । दबाबकै बीच निगमले मूल्य घटाउने गृहकार्य पनि थालेका थिए । कोरोना संक्रमण कम हुँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिसँगै निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाउन शुरु गरेको थियो । मूल्यवृद्धिसँगै कोभिडको समयमा १ सय प्रति लिटर भन्दा तल कायम रहेको पेट्रोलको मूल्य झन्डै २ सय रुपैयाँ पुगेको थियो । स्थानीय चुनावको सेरोफेरोमा सरकारको दबाबमा केही सहुलियत दिएर १८१ प्रति लिटरमा बेच्दै आएको निगमको पेट्रोल मूल्य त्यसपछि भने हेरेफेर भएको छैन ।

अक्टोबर १६ मा आइओसीले पठाएको मूल्य सूची अनुसार डिजेल १५ रुपैयांँ ६० पैसा, पेट्रोलमा १ रुपैयाँ ७४ पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको छ । अहिलेको मूल्यमा बेच्दा निगमलाई पेट्रोलमा १४।५६ पैसा नाफा रहेको छ भने मट्टितेलमा ३८।५८ पैसा नाफा छ । निगमलाई सबैभन्दा बढी घाटा भने एलपीजी ग्याँसमा प्रति सिलिन्डर ३ सय २५ रुपैयाँ ४४ पैसा घाटा छ भने डिजेलमा ६ रुपैयाँ ३४ पैसा घाटा छ ।

प्रत्येक १५ दिनमा आइओसीलाई रकम भुक्तानी गर्ने सम्झौता भए पनि पछिल्लो समय भने पेट्रोलियम पदार्थ बिक्री गरेर केही रकम संकलन हुनासाथै आइओसीलाई भुक्तानी पठाउने गरिएको छ । यसरी भुक्तानी गर्दा महिनामा ५ पटकसम्म पनि भुक्तानी पठाएको रेकर्ड रहेको सहप्रवक्ता कार्कीले बताए । विगतमा ४–५ पटक मूल्य घटेर आउँदा पनि निगमले स्थानीय बजारमा मूल्य समायोजन नगरीकनै बेच्दा मासिक नोक्सानी घट्दै गएर झन्डै २ अर्ब रुपैयाँसम्म नाफामा जान थालेको थियो । ‘अहिलेको मितिसम्म निगमले आइओसीलाई २३ अर्ब ६० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । निगमले व्याज रकम बचाउनको लागि पेट्रोलियम पदार्थ बेचेर केही रकम संकलन हुनासाथै साप्ताहिक रुपमै आइओसीलाई भुक्तानी गरिरहेको छ । यसले गर्दा निगमको व्याज खर्च घट्ने गर्छ ।’–उनले भने । आइओसीले निगमलाई तिर्न बाँकी बक्यौतामा व्याज समेत चार्ज गर्दै आइरहेको छ ।

निगमले अक्टोबर ९ मा ३ अर्ब भारु अर्थात ४ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको थियो भने अक्टोबर १४ मा ३ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरेको थियो । सहप्रवक्ता कार्कीका अनुसार निगमले आइओसीलाई तिर्न बाँकी २३ अर्ब ६० करोड, सरकारलाई ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब गरेर कुल ३३ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ ।

यौन दुर्व्यवहारको आरोपपछि पत्रकारले दिए राजीनामा

एजेन्सी ।

यौन दुर्व्यवहारको आरोपपछि न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले पदबाट राजीनामा दिएको छ । वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले यौन उत्पीडन र कार्यस्थलमा अनुपयुक्त व्यवहारको आरोप लागेपछि न्युजिल्यान्डको लोकप्रिय समाचार च्यानल टिभिएनजेडबाट आफ्नो पदबाट राजीनामा दिएको छ ।

यसअघि अल जजीरामा प्रेजेन्टरको रूपमा काम गरिसकेका सान्तामारियालाई सहकर्मीहरूलाई अनुपयुक्त सन्देश पठाउने र धेरै अवसरहरूमा महिलाहरूलाई उत्पीडन गरेको आरोप लगाइएको थियो । उनको राजीनामापछि उनलाई टीभीएनजेडमा काममा राख्न जिम्मेवार समाचार प्रमुखले पनि राजीनामा दिएका छन् ।

न्युजिल्याण्डमा पत्रकारको रूपमा आफ्नो क्यारियर सुरु गरेका सन्तामारिया अल जजीराका लागि एक लोकप्रिय व्यक्तित्व थिए किनभने उनले २०२० संयुक्त राज्य अमेरिकाको चुनावको पछिल्लो समयका वर्षहरूमा प्रमुख घटनाहरू कभर गरेका थिए ।

आयोजनाले निरन्तरता नपाउँदा काम अलपत्र

कैलालीको टीकापुर नगरपालिका–१ मा सञ्चालनमा रहेका दुई क्रमागत आयोजना सङ्घीय सहरी विकास तथा भवन निर्माण एकाइको क्रमागत योजनाबाट हटाइएका छन् ।

स्मार्ट सिटीअन्तर्गत निर्माण सुरु भएका योजनालाई प्रदेश र स्थानीय सरकारमार्फत कार्यसञ्चालन गर्ने गरी हटाइएको हो । साना आयोजनाको जिम्मेवारी स्थानीय र प्रदेश सरकारको पूर्वाधार कार्यालयमार्फत सम्पन्न हुने गरी जिम्मेवारी दिने भनेपछि यतिबेला ती दुवै आयोजनाको काम अलपत्र अवस्थामा पुगेको छ । सङ्घीय सहरी विकास तथा भवन निर्माण एकाइ धनगढीका इञ्जीनियर मोहन अवस्थीका अनुसार प्रदेशमा क्रमागतरूपमा सञ्चालन भएका त्यस्ता १५ आयोजनाको काम प्रभावित भएको छ ।

“चालु आर्थिक वर्षको कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा निर्माणका क्रममा रहेका १५ वटा क्रमागत आयोजना समावेश गरिएका छैनन्”, उहाँले भन्नुभयो, “ती योजनालाई प्रदेश र स्थानीय सरकारको मातहतमा रहने गरी प्रक्रिया अगाडि बढाइएको भन्ने छ । तर आधिकारिकपत्र कार्यालयमा अहिलेसम्म केही आएको भने छैन ।” उहाँले बजेट र कार्यक्रममा आयोजनाको नाम समावेश नभएपछि निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिनसमेत नसकेको बताउनुभयो । “बजेट छैन, कसरी काम गर भनेर निर्देशन गर्न सकिन्छ रु”, इञ्जीनियर अवस्थीले भन्नुभयो, “कार्यक्रममा बजेट र योजना देखिएपछि काम गर्न निर्देशन गर्न सकिन्छ ।”

उहाँका अनुसार स्मार्टसिटीअन्तर्गत निर्माण भइरहेको टीकापुरको छ लेन सडक र ब्लक नं ‘ए’ को सडकको काम सङ्घीय आयोजनाअन्तर्गत नै हुने गरी अहिले अर्थ मन्त्रालयले विभागलाई पत्राचार गरेको छ । “छ लेन सडक र ब्ल्क ‘ए’ को काम कार्यान्वयन एकाइबाटै सम्पन्न हुने गरी अर्थ मन्त्रालयले विभागलाई पत्र पठाएको भन्ने खबर पाएका छौँ । त्यसो हो भने तिहारलगत्तै काम सञ्चालन गर्न निर्माण कम्पनीलाई निर्देशन दिन्छौँ ।” इञ्जीनियर अवस्थीले भन्नुभयो, “दुई आयोजनाको लागत अन्य आयोजनको भन्दा बढी भएका कारण कार्यान्वयन एकाइकै मातहतबाट हुनसक्ने सम्भावना छ ।”

चार वर्ष अगाडि सुरु भएका आयोजनाको काम सम्पन्न हुनसकेको छैन । मुख्य बजारको जमरा पुलबाट बसपार्कसम्मको दुई किलोमिटर सडक र स्मार्ट सिटी कार्यक्रमअन्तर्गत सुरु भएका आयोजनाको काम निर्माण कम्पनीकै कारण ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । कार्यालयको अनुमानभन्दा दोब्बर समय अर्थात् चार वर्ष बितिसक्दासमेत निर्माण कम्पनीले जम्मा दुई किलोमिटर सडक पूरा गर्न सकेको छैन ।

रोमन केएस जेभीसँग विसं २०७५ असोज ११ गते सुरु भएको दुई लेन सडक २०७७ फागुन ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी दुई वर्षका लागि सम्झौता भएको थियो । सङ्घीय सरकारको रु १८ करोडको लागतमा निर्माण हुने जमरा पुलबाट बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटर छ लेन सडक चार–चार वर्ष बितिसक्दासमेत पूरा हुनसकेको छैन । कम्पनीले जमरापुलबाट बसपार्कसम्म कालोपत्र गरेको छ । सडकको बाहिरी लेन, गार्डेन अलपत्र छ । सडकको दुवैतर्फ जथाभावी ग्राभेल र माटो थुपारिएको छ । “वर्षामा पानी परेपछि सडकको माटो पसलमा पुग्छ । व्यवसायीलाई सडक निर्माण सम्पन्न नहुँदा निकै समस्या भएको छ”, व्यवसायी रुपकबहादुर विष्टले भन्नुभयो, “वर्षात्मा हिलो र गर्मीमा धुलोको सास्ती निकै खेप्नुपरेको छ । चार वर्षमा पनि जम्मा दुई किलोमिटर सडक नसक्ने ठेकेदारलाई कारबाही हुनुपर्छ ।”

इञ्जीनियर रवीन्द्र विष्टले चार वर्षसम्म निर्माणकार्य नसक्ने कम्पनीलाई कारबाही हुनुपर्ने बताउनुभयो । “म आफैँ इञ्जीनियर हो, दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षसम्म पनि पूरा भएको छैन, बनेको कालोपत्र पनि अपूरो छ”, उहाँ बताउनुहुन्छ ।

सडक निर्माण कम्पनीका इञ्जीनियर गगन शाहीले काम गर्दा पनि बिल भुक्तानीमा समस्या हुन थालेपछि काम सुरु गर्न नसकिएको गुनासो गर्नुभएको छ । “बर्खाको समय भएका कारण पनि काम गर्न सक्ने स्थिति थिएन । अर्कोतिर सहरीले काम गर्न ताकेता नगरेका कारण पनि काम हुन नसकेको हो”, उहाँले भन्नुभयो, “हामीले गर्ने कामको शीर्षकमा बजेट नै छैन भन्ने खबर पाएपछि काम अगाडि बढाउन समस्या भएको हो । अब तिहारलगत्तै काम अगाडि बढाउँछौँ ।” उहाँका अनुसार सडकको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ भने अब ४० प्रतिशतमात्रै काम गर्न बाँकी छ । “यस्तो महँगीको समयमा निर्माण कम्पनीले पनि डराएर काम गर्नुपर्ने बाध्यता छ । भनेको बेला बिल भुक्तानी नहुँदा झेल्नुपर्ने समस्याका बारेमा बुझ्ने कोही छैन ।” उहाँले भन्नुभयो, “उधारोमा काम गर्नुपर्छ, बिल भएको बेला कार्यालयले खातामा पैसा छैन भन्छ, कसरी काम गर्ने रु”

मधुमेहका बिरामीलाई यी पाँच कुरामा ध्यान दिनु पर्छ

काठमाडौं । खानपानले जीवनशैलीमा प्रत्यक्ष असर गर्ने रोगमध्ये एक हो, मधुमेह। नियन्त्रित र मात्रा मिलाएर नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ। शरीरमा चिनीको मात्रा सामान्य र बढी भएको मापन गर्न सकिन्छ।

सामान्य – खाली पेट १०० एमजी/डीएल भन्दा कम, खानापछि १४० एमजी/डीएल भन्दा कम

मधुमेह रोग लागेको अवस्था – खाली पेट १२६ एमजी/डीएल भन्दा बढी, खानापछि २०० एमजी/डीएल भन्दा बढी

मधुमेह भएका बिरामीहरुमा भने चिनीको मात्रा खाली पेट परीक्षण गर्दा १३० भन्दा कम र खानापछि १८० भन्दा कम हुनुपर्छ।

मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा सुनिल पोख्रेल मधुमहेका रोगीले खानपानमा विशेष ध्यान दिन आग्रह गर्छन्।

उनी भन्छन्, ‘मधुमेह नियन्त्रणका लागि खानाको सबैभन्दा विशेष भूमिका छ। मधुमेह बिरामीले चाडबाडमा गर्ने खानपानमाअझ बढी ध्यान दिनैपर्छ।’

चिकित्सकले हरेक मधुमेहका बिरामीलाई दैनिक गरिने खानपानको एउटा चार्ट बनाएर दिने गर्छ। त्यही चार्ट अनुसार मात्र मधुमेहका बिरामीले आफ्नो खानपान गर्नुपर्छ।

खसीको मासु, बंगुरको मासुमा चिल्लो बढी हुने भएकाले रातो मासु (खसी, राँगा, बंगुर) भन्दा सेतो मासु (माछा, कुखुरा) त्यो पनि मात्रा मिलाएर मात्र खानुपर्छ। मधुमेहका रोगीले एकै पटक धेरै खानेकुरा खानु हुँदैन। मात्रा मिलाएर थोरै थोरै गरी दिनमा चाररपाँच पटक खानेकुरा खाने बानी बसाल्नुपर्छ।

‘धेरैजसो बिरामीले मैले औषधि खाइरहेको छु। मैले जे खाए पनि हुन्छ भन्ने ठूलो भ्रम बिरामीहरुमा देख्छु। जुन सबैभन्दा ठूलो गल्ती हो’ उनले भने।

खानपानमा नियन्त्रण र नियमित शारीरिक व्यायाम नगरे जति औषधि खाएपनि मधुमहे नियन्त्रण हुन नसक्ने उनले बताए। उनका अनुसार मुख्य गरी यी पाँच कुरामा मधुमेहका बिरामीले विशेषध ध्यान दिनुपर्छ।

एक, खानपान

दोस्रो, शारीरिक व्यायाम

तेस्रो, मधुमेहको औषधि

चौथो, परीक्षण

र, पाँचौ मधुमेह सम्बन्धी ज्ञान।

मधुमेहका बिरामीले बिहान खाली पेट शारीरिक व्यायाम गर्नु हुँदैन। दूध, चिया वा फलफूल केही खाएपछि मात्र मर्निङ वाक वा अन्य कुनै शारीरिक व्यायाम गर्नुपर्ने उनले बताए। हप्ताको पाँच दिन र कम्तीमा ३० देखि ४५ मिनेटसम्म व्यायाम गर्नुपर्छ।

‘बिहान पानी मात्र खाएर व्यायाम गर्ने धेरैको चलन छ। तर मधुमेहका बिरामीले केही खाएर मात्र व्यायाम गर्नुपर्छ। बिहान सुगर कम हुन सक्छ। त्यो बेला थप व्यायाम गर्दा शरीरमा सुगरको मात्रा धेरै नै कम हुन सक्छ’ उनले भने।

शरीरमा चिनीको मात्रा धेरै र कम दुवै हुनु नै राम्रो होइन। चिनीको मात्रा नियन्त्रणमा नरहे यसले तत्कालीन र दीर्घकालीन असर गर्न सक्छ।

मुखहरु सुक्ने, शारीरमा पानीको मात्रा कम हुने, आँखाहरु धमिलो हुने, घाउँहरु निको नहुनु, विभिन्न संक्रमणहरु हुनु मधुमेहले निम्त्याउने तत्कालीन असरहरु हुन्। मधुमेह नियन्त्रणमा नरहे यसले दीर्घकालमा आँखा, मुटु, मिर्गौला र अन्य अंगहरु असर गर्छ। विश्वमा आँखा अन्धो हुने प्रमुख कारण मधुमेह भएको उनले बताए।

‘सामान्य व्यक्तिलाई भन्दा मधुमेह भएकालाई ह्रदयघात हुने संभावना दुई देखि चार गुणा हुन्छ’ उनले भने, ‘मधुमेहका बिरामीको मृत्युको प्रमुख कारण पनि मुटुकै समस्या हो। मिर्गौला फेल हुनुको प्रमुख कारण पनि मधुमेह नै हो।’

खानपानमा हेलचक्र्याई गरे शरीरमा चिनीको मात्रा ह्वात्तै बढ्न सक्ने बताउँदै उनले भने, ‘खानामा केही कुरा थप्नुभयो भने अर्को खानेकुरा घटाइदिनुस्। कुनै दिन अलि बढी खाएका छौँ भने त्यस दिन अघि बढी व्यायाम पो गर्ने हो कीरु पाँच टुक्रा मासु खाएको बेला सुगर बढ्यो भने अर्को दिन अलि कम मासु खाने हो की रु’

मादक पदार्थको सेवन पनि मधुमेहका बिरामीको लागि घातक हुने उनले बताए। महुमेहका बिरामीले सकेसम्म ब्रत नबस्न उनको सुझाव छ। ब्रत बस्नैपर्ने भए औषधिको मात्रा मिलाउनुपर्ने हुन्छ। चिकित्सकको सल्लाह लिएर मात्र मधुमेहका बिरामीले ब्रत बस्नुपर्ने डा पोख्रेल बताउँछन्। मुटु, मिर्गौला, आँखामा समस्या देखिसकेका मधुमेहका बिरामीले ब्रत बस्नु हुँदैन।

खानपानमा ध्यान नदिँदा चाडपर्वपछि शरीरमा चिनीको मात्रा बढेर आउने बिरामीको संख्या धेरै हुने गरेको उनले बताए। शरीरमा चिनीको मात्रा सधै नियन्त्रणमा राख्नुपर्ने बताउँदै उनले भने, ‘चिनीको मात्रा घट्ने र बढ्ने हुँदा शरीरलाई नोक्सान गर्छ। खानपान र शारीरिक व्यायाम ध्यान नदिँदा जति औषधि दिएपनि मधुमेह नियन्त्रणमा आउन गाह्रो हुन्छ।’

स्वास्थ्यमा एकैपटक ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकैपटक ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त भएका छन्। लोक सेवा आयोगबाट सिफारिस भएर आएका ३९ अधिकृतलाई मन्त्रालयले नियुक्त गरेका छन्।

मन्त्रालयका अनुसार नियुक्त हुनेहरुमा मेडिकल अफिसर, बायोमेडिकल इन्जिनियर र डेन्टल सर्जन छन्। सर्वोच्च अदालतमा मुद्द परेका कारण उनीहरुको परीक्षा र सिफारिस ढिला हुन पुगेको थियो।

नयाँ नियुक्त पाएका उनीहरुलाई मन्त्रालयले माताहतका रिक्त रहेका स्थानमा पदस्थापन गर्ने भएको छ।

सुनको मूल्य बढ्यो

काठमाडौँ ।  नेपाली बजारमा आज आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुन निर्वाचन क्षेत्रमा कति खर्च गर्न पाउँछन् ? “उम्मेदवार”

काठमाडौँ । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा तोकेको छ।

विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले प्रत्यक्षतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्च सीमा तोकेको छ ।

खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।

उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँको निर्वाचन क्षेत्रहरु १, ३, ६, ७ र ८ मा निर्वाचन खर्चको हद २५ लाख कायम हुनेछ। यस्तै‚ १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रमा रु.२९ लाख, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद रु.३३ लाख कायम हुनेछ।

त्यस्तै‚ उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभाको निर्वाचनमा उल्लिखित ७० वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद १५ लाख, १४३ वटा निर्वाचन क्षेत्रमा रु.१७ लाख, ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख, २९ वटा निर्वाचन क्षेत्रमा रु.२१ लाख र ३२ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद २३ लाख कायम गरिएको छ।

निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन्।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ १९ गतेको निर्णयानुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम आगामी मङ्सिर महिनाको ४ गते आइतबारका दिन एकै चरणमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ।

आज देशभरी सार्वजनिक बिदा

काठमाडौँ । सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज (मङलवार) सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

नापीका महानिर्देशक जोशी असुल्न ब्यस्त

काठमाडौ । देशमा चुनावी चटारो छ। उमेदवारहरु घरदैलोमा छ्न तर नापी बिभागका डिजि रकम असुल्न ब्यस्त भन्दा सुन्नेलाइ अचम्म लाग्न सक्छ । याे तथ्य सग जोडिएकाले उनी सकेसम्म कसैसँग सम्पर्कमा आउन चाहादैनन।

यो सन्दर्भमा सम्पत्ति न्युजले उनलाई प्रतिक्रियालिन खोज्दा उनको मोबाइल उठेन । प्राप्त जानकारी अनुसार चुनावमा कतिपय उम्मेदवारलाई खर्च जोहो गर्नु छ भन्दै महानिर्देशक जोशीले कम्मर कसेर जोस निकाले पछि मातहतका कर्मचारीहरु तनाब ब्यहोरिरहेका छ्न।

कहिले एमाले कहिले सदभावना बन्न सक्ने कला अनि सचिवालयका कर्मचारी सगै रमाइलो गर्न समेत पछि नपर्ने जोशी को नापी बिभागको पाँच वर्षको कार्यकाल भस्ट्रचारीको लागी स्वर्ग भएको छ।

भुमिसुधार मन्त्रालय मातहतका निकाय हाताहाती घुस लेनदेनमा कहिले पनि नसुध्रने भएको नापी बिभागको कार्यशैली बुझ्नेहरुले बताएका छन।

महानिर्देशक जोशीले दुरुपयोग गर्दै आइरहेको सरकारी गाडी ।

बिभागका महानिर्देशक प्रकाश जोशी चार वर्ष देखी बिभागको सेटिङ मै रमाएका छ्न। झट्ट हेर्दा युवा प्रशासक सोचेर जाने र बिभागका गतिविधि बुझ्न खोज्ने जो कोहि उनलाई भेटदा लाग्छ लोकसेवा पास गरेकै जनताको कामलाई ढिलासुस्ती गरेर घुस खान नै हो।

घुमाउरो भाषामा उनी स्वीकार छ्न पनि। जिल्ला शाखा कार्यालय खोल्न पैसा छैन भनेर टकटकिने भ्रष्ट जोशीले सरकारी साधनको चरम दुरुपयोग गरेको समाचारले नापीका गुरुजीहरु बीच यस्तालाइ अख्तियरले देख्दैन भन्ने अवस्थामा पुगेको बताइएको छ।

एनसिसि बैंकको लाभांश घोषणा

एनसिसि बैंक (NCCB)  ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।

बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।

सहसचिव र उपसचिव पदका लागी खुल्यो विज्ञापन

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमाका लागी भारी मात्रा कर्मचारीको भर्नाका लागि विज्ञापन खुलाएका छ ।

सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो ।

सम्बन्धित समाचारः चार सय बढी उपसचिव र सहसचिवको विज्ञापन हुँदै

दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।

हेर्नुहोस् विज्ञापन :

डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

काठमाडौं–

डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन्।

अल्का अस्पतालमा कार्यरत डा रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताइन्। डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने उनको भनाइ छ।

डा गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताइन्। डेंगु, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षणहरु एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरुको पहिचान गरी सतर्क रहन पनि सुझाव दिइन्।

डा गौतमले यस वर्ष गत भदौ महिनादेखि धेरै उच्च तापक्रम ९ज्वरो० भएका बिरामीहरु पाइरहेको र अस्पतालहरुमा डेंगुका बिरामीहरुको चाप बढेको बताइन्।

भदौ महिनादेखि ज्वरो धेरै, उच्च तापक्रम भएका बिरामीहरु पाइरहेका छौँ। डेंगुका बिरामीको चाप धेरै छ। त्यसमा पनि डेंगुसँगै डेंगुजस्तै लक्षण दखिने फ्लूका बिरामीहरु, कोभिडका पनि केही बिरामीहरु पनि हामीले भेटिरहेका छौँ’, उनले भनिन्।

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नपा–६ बाहाखा भीमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

सानो थिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नं को ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नं को मोटरसाइकल शनिबार राति एकापसमा ठक्कर दिँदा नुवाकोट घर भई हाल काठमाडौँको कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका पण्डितलाई उपचारका लागि थिमी कोरियन अस्पताल पठाइ थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।

प्रहरीले ट्याक्सी चालक भक्तपुर नगरपालिका–१० बस्ने ३९ वर्षीय सुन्दर गोर्खालीसहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।

धनुषाबाट कटुवा पेस्तोलसहित एक पक्राउ

धनुषा । सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर वीरेन्द्रबजार सडकबाट कटुवा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय रामसागर ठाकुर छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र.२–०१–००२ प.३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरको साथमा उक्त पेस्तोल भेटिएको थियो ।  

प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोलासहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।