६ अभियुक्त फरार

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका छन् । आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार भएको जानकारी दिए ।

उनका अनुसार लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोशन यादव, अभद्र व्यवहारसम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोशन महतो र शंकर सिंह फरार भएका छन् ।

सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने

परराष्ट्रमन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको जानकारी दिईन्।

गैरआवासीयनेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरुले भोग्नुपरेको समस्यासमाधानका लागि पहल गर्ने तयारी गरेको बताएकि हुन् ।

उनले भनिन, `पोर्चुगलको धेरै कुराहरु सुन्यौँ, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ, तर सो कार्य तत्काल सम्भव छैन, त्यसमा आर्थिक बाटो पनि जोडिएकोछ, अर्कोतर्फ मन्त्रीपरिषदबाट त्यसको निर्णय हुनुपर्छ, त्यसैले तत्काल समस्या समाधानका लागि २५ देखि १ महिना भित्र एउटा सरकारी टोलीपोर्चुगलमा राख्ने, र त्यहाँका कागजपत्र विहिन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना बनाएका छौँ । आजै मात्रै यसमा निर्णय गरेर प्रक्रियाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएका छौँ । स्पेनबाट वा अन्य कहाँबाट टोली खटाउने भन्नेमा हामी छलफलमा छौँ ।`

उनले अगाडि भनिनि, `दिगो समाधान कन्सुलेट नै राख्ने हो तर आर्थिक पाटो देखि मन्त्रीमपरिषदको निर्णय आवश्यक पर्छ त्यसमा लामो समय लाग्छ ।” यसअघि गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले काठमाण्डौस्थित परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौडेललाई आग्रह गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

काठमाडौँ, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ ।

उत्तर साटासाट गर्ने २ जना परीक्षार्थीलाई कारबाही

काठमाडौँ । लोक सेवा आयोगले एक अर्काबाट उत्तर साटासाट गर्ने २ जना परीक्षार्थीलाई कारबाही गरेको छ । खरिदार वा सो सरह पदको ३० पुस २०७९ मा लोक सेवाले लिएको परीक्षामा सहभागी भई उत्तर पुस्तिका एक आपसमा साटेर लेखेको भन्दै आयोगले कारबाही गरेको हो । 

जयप्रकाश यादव र राजनारायण रायको उक्त विज्ञापनसँग सम्बन्धित उत्तर पुस्तिकाहरू रद्द गरिएको आयोगले जनाएको छ । साथै उनीहरूमध्ये यादवलाई २ वर्ष र रायलाई १ वर्ष परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ ।

आयोगले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४० (१) (क) बमोजिम कसुर गरेको प्रमाणित भएकाले सोही आधारमा कारबाही गरेको आयोजनाले जनाएको छ ।

रविलाई गृहमन्त्रीमा पूनः बहाली गर्न दबाब

काठमाडौं, १५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भैरहेको छ। प्रधानमन्त्री दाहाललाई भेट्न ओली अहिले बालुवाटार पुगेका हुन् । ओलीले गृहमन्त्रीमा रवि लामिछानेलाई पूनः बहाली गर्न दबाब दिएको चर्चा छ । तर, ओलीको दबाब प्रचण्डले नमानेको चर्चा छ ।

प्रधानमन्त्री पुष्पकल दाहालले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाइृ नदिने मनशाय बनाएका छन् । यसअघि सरकार गठनमा भागबण्डा मिलाउँदा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको थियो । सोही सहमतिअनुसार गृहमन्त्रालयसहित रास्वपा सरकारमा सहभागी भएको थियो । तर, सो पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएको र सर्वोच्च अदालतले शुक्रबार उनी सांसद र मन्त्री हुन अयोग्य भनेपछि अहिले गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीको काँधमा छ ।

रविले आजै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगेर नागरिकता पूनः प्राप्ति गरेका छन् । अहिले उनको दलको बैठक छ । सम्भवतः आजै उनी पार्टीको सभापतिमा नियुक्त हुनेछन् । सत्ता गठबन्धनमा अहिले गृहमन्त्रालयबारे के गर्ने भन्नेबारे निर्णय भएको छैन् । तर, विशेष सूत्रका अनुसार प्रधानमन्त्री दाहाल अब गृहमन्त्रालय आफ्नै दलको भागमा राख्न छन् ।

उनले आफ्नो दलबाट गृहमन्त्री कसलाई बनाउने भन्नेबारे छलफल थालेको बताईएको छ । तर, रास्वपाका नेताहरुले भने गृहमन्त्रालय आफ्नो दलको भागमा परेको भन्दै गृहमन्त्रालय नपाए सरकारमा नबस्ने चेतावनी दिएका छन् ।

रवि लामिछानेलाई सभापति बनाउन रास्वपाले बोलायो बैठक

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार अपराह्न ३ः३० बजे  केन्द्रीय समिति बैठक बोलाएको छ, पार्टी प्रवक्ता मुकुल ढकालले बताए।

आजको बैठकमा पार्टी सभापतिमा पुनः लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिइसकेका छन्। लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो।

यसअघि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबहाक सभापति बनाएको थियो।

केन्द्रीय समितिबाट सभापतिमा पुनः लामिछानेलाई जिम्मेवारी दिने र त्यसको जानकारी अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने तयारी रास्वपाको छ।

लामिछाने सांसद नरहेकोले संसदीय दल नेताकाको जिम्मेवारी भने श्रमन्त्रीसमेत रहेका अर्याललाई नै निरन्तरता दिने तयारी छ। संसदीय दल नेतामा पनि अर्याललाई तोक्ने निर्णय गत शुक्रबार नै भइसकेको थियो।

रवि लामिछानेले पाए पुन: नेपाली नागरिकता

काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गर्नुभएकाे छ । लामिछाने आज नागरिकता पुन: प्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकता लिनु भएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उहाँले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाउनु भएको थियो ।

लामिछाने आज नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुग्नुभएको थियो ।

लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरेको आरोपमा तीन पक्राउ

काठमाडौं : स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक गाउँपालिका-३ घर भई ललितपुरको कुपण्डोल बस्ने २७ वर्षीय निरज उप्रेती, स्याङ्जाको गल्याङ नगरपालिका-९ घर भई टोखा बस्ने २६ वर्षीय धर्मी गौडेल र सिन्धुलीको तीनपाटन गाउँपालिका-२ घर भई हाल टिकाथली बस्ने २६ वर्षीय गणेश बहादुर रानामगर रहेका छन्। 

काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू उत्पादन गरी कालोबजारी भइरहेको गोप्य सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज नेप्से १४.६८ अंकले घटेर दुई हजार एक सय ६८ दशमलब ५३ विन्दुमा बन्द भएको हो ।    

त्यस्तै, आज तीन अर्ब एक करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दुई कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढेको छ भने ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज समृद्धि फाइनान्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्यारेन्सको भएको छ । यसको आज ९ करोड ९९ लाखभन्दा बढीको कारोबार भएको छ ।  

सुनको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ रहेको थियो ।

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य घटेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

गृह मन्त्रालय नछाड्ने रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृहमन्त्रालय आफैंले पाउनुपर्ने अडान लिने भएको छ । पार्टीका नवनियुक्त कार्यवाहक सभापति डीपी अर्यालले रास्वपाको भागमा परेको गृहमन्त्रालयमा पार्टीले अर्को व्यक्ति तोक्न सक्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टीले पाएको मन्त्रालयमा हामी नै जान्छौं । यो विषय आज टुंगिन्छ ।’

निवर्तमान पार्टी सभापति रवि लामिछानेले आजै जिल्ला प्रशासन कार्यालय गएर नयाँ नागरिकता लिने तयारी गरेका छन् । यदि उनले तत्काल नागरिकता पाएको खण्डमा फेरि गृहमन्त्री नियुक्त हुनसक्ने बाटो पनि छ । नेपालको संविधानअनुसार गैरसांसद नागरिक ६ महिनाका लागि मन्त्री नियुक्त हुन सक्छ । ६ महिनाभित्र चितवनमा उपनिर्वाचन भएर रवि फेरि संसदमा फर्किन र मन्त्रालयमा निरन्तरता दिन सक्छन् ।

यो सम्भावनालाई पनि अर्यालले नकारेनन् ।

रविको नागरिकतामाथि अदालतले शुक्रबार फैसला सुनाएको थियो । त्यसै दिन रास्वपाको वैठक बसेर अर्याललाई पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता चयन गर्‍यो । यदि आज रविले नागरिकता पाए भने उनी तत्काल पार्टीको कमाण्डमा फर्किन बाटो खुल्नेछ ।

यस विषयमा अर्यालले भने, ‘केन्द्रीय समितिले जे निर्णय लिन्छ, हामी त्यही नै गर्छौं ।

ओलीद्वारा चौतर्फी घेराबन्दी “प्रधानमन्त्री प्रचण्डकाे आरोप”

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी गरेको आरोप लगाएका छन् ।

उनले स्थायी कमिटीको जारी बैठकमा दुई दिनसम्म यही विषय दोहोर्‍याएको एक पदाधिकारीले जानकारी दिए । बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

संसद् विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले माओवादीले एमालेको तुलनामा मन्त्रालय पनि राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको टिप्पणी गरेका थिए ।

उनले एमाले र माओवादीबीच प्रधानमन्त्रीले शपथ लिएका दिनमा एक एक जना मन्त्री पठाउने भनिएको भए पनि एमालेले चार जना पठाएको भन्दै अर्को असन्तुष्टि जनाएका थिए ।

‘पहिलो दिनमा नै दुई वटै पार्टीबाट एक एक जना पठाउने कुरा भएको थियो तर एमालेले चार जना पठायो,’ प्रचण्डको भनाई थियो, मन्त्रीको पोर्टफोलियो पनि जसरी हुनुपर्ने हो त्यो भएन । सहमति र विश्वासको कुरा हुन सकेको छैन ।’

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सभामुख र राष्ट्रपति अहिले एउटै पार्टीको बनाउने र भोलि प्रधानमन्त्री हुँदाको अवस्था अहिले नै मूल्याङ्कन गर्नुपर्ने बताएका थिए । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने उनको भनाई थियो ।

‘सभामुख र राष्ट्रपति अनि भोलि प्रधानमन्त्री पनि एउटै पार्टीको हुने अवस्थामा गम्भीरताका साथ अहिले नै सोच्न जरुरी छ,’ दाहालको भनाई थियो, ‘काँग्रेससहितले विश्वासको मत दिएका छन् । हामीले राष्ट्रिय सहमति जुटाउनुपर्ने अवस्था आउन सक्छ तर अहिले नै काँग्रेस वा एमालेको राष्ट्रपति भन्ने अवस्था चाहिँ छैन ।’

त्यसपछि पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएपछि पनि दाहालले दोहोर्‍याइ -दोहोर्‍याइ ओलीले चौतर्फी घेराबन्दी गरेकाले सहमतिका आधारमा राष्ट्रपति चयनको प्रस्ताव आफूले ल्याएको बताएका थिए ।

माओवादी स्रोतले दिएको जानकारीअनुसार दाहालको प्रस्तावमा सबैजसो पदाधिकारी सकारात्मक छन् । तर गिरिराजमणि पोखरेलले भने अहिले एमाले र माओवादीको समीकरण नै अघि बढाउनुपर्ने बताएका थिए ।

अहिले सरकारमा रहेका साथीहरूले पनि यही समीकरणलाई अघि बढाउनुपर्छ भन्नुभएको छैन । अध्यक्षको प्रस्तावलाई उहाँहरूले सकारात्मक रूपमा लिनुभएको छ तर गिरिराजमणि पोखरेलले एमाले र माओवादीबीचको सम्बन्धलाई नै अघि बढाउनुपर्ने भयो । हाम्रो छलफल जारी छ ।

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै

काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउने भएकी छिन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्ड दुई दिन नेपालमा रहने कार्यतालिका रहेको छ ।

नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग उनले राजनीतिक भेटवार्ता गर्नेछिन्।

अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत उनले अवलोकन गर्नेछिन् । भोलि दिउँसो पत्रकार सम्मेलन गरेर उनले आफ्नो भ्रमणबारे जानकारी दिने पनि दूतावासले जनाएको छ ।

सहज बन्दै तरलता

काठमाडाै । डेढ वर्षभन्दा बढी समय खर्च गर्न सक्ने रकमको अभाव भोगेका बैंक तथा वित्तीय संस्थाहरूको अहिले कर्जायोग्य लगानी बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरू एक खर्ब ८४ अर्ब ऋण परिचालन गर्न सक्ने अवस्थामा छन् । चर्काे ब्याजदरले बैंकहरूमा कर्जाको माग घट्न थालेपछि लगानीयोग्य तरलता सहज देखिएको हो । 

विगत डेढ वर्षमा निक्षेप वृद्धि हुन नसक्दा बैंकहरू राष्ट्र बैंकबाट प्राप्त हुने कर्जामै बढी निर्भर थिए । नेपाल बैंकर्स संघका अनुसार गत ८ पुससम्म वाणिज्य बैंकहरूमा निक्षेप ४६ खर्ब ४५ अर्ब पुगेको थियो । त्यसवेलासम्म कर्जा लगानी ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गत बुधबारसम्ममा निक्षेप ४७ खर्ब ६ अर्ब कायम भएको छ । त्यस्तै, कर्जा लगानी ४२ खर्ब ७० अर्ब कायम भएको छ । अर्थात्, यसबीच ६१ अर्ब रुपैयाँले निक्षेप बढेको छ भने कर्जा लगानी ४७ अर्बले बढेको छ । 

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलताको संकेत पाएपछि गत बुधबार नै रिभर्स रिपो जारी गरेको थियो । बैंकले सातदिने अवधिको पाँच अर्बबराबरको रिभर्स रिपो जारी गरेको हो । अधिकतम ८.५ प्रतिशतसम्म पुगिसकेको अन्तरबैंक ब्याजदर गत बुधबारसम्म आइपुग्दा ४.७३ प्रतिशत कायम भएको छ । बैंकहरूमा तरलता अधिक हुँदा यस्तो ब्याजदर घट्ने र तरलता कम हुँदा यो ब्याजदर बढ्ने गरेको छ । अहिले अन्तरबैंक ब्याजदर घटेकै कारणले राष्ट्र बैंकले पनि तरलता प्रशोचन गरेको हो । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण नै रिभर्स रिपो हो ।

बैंकहरूमा तरलता सहज हुँदै गएपछि सरकारी सुरक्षणपत्रको धितोमा लिँदै आइरहेको कर्जामा समेत कमी आइरहेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज भएको केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । उनले भने, ‘पछिल्लो समय तरलता सहज बन्दै गएको देखिन्छ । अस्ति भर्खर हामीले रिभर्स रिपो पनि गर्‍यौँ । अन्तरबैंक ब्याजदर करिडोरभन्दा तल आएपछि हामीले रिभर्स रिपो गर्‍यौँ । अन्य सूचकहरूले पनि तरलता सहज हुँदै गएको बुझ्न सकिन्छ ।’   

राष्ट्र बैंकको मासिक विवरण हेर्ने हो भने शोधनान्तर स्थितिमा सुधार हुँदै गएको देखिन्छ । शोधनान्तरलाई बैंकिङ प्रणालीमा तरलताको प्रमुख स्रोत मानिन्छ । चालू आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा छ । 

अहिले ऋणको ब्याजदर महँगो भएका कारणले पनि कर्जाको माग कम हुँदा तरलता सहज देखिएको ग्लोबल आइएमई बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले बताए । बैंकहरू ऋण दिन सक्ने अवस्थामा भए पनि चर्काे ब्याजदरले गर्दा ग्राहक ऋण लिन इच्छुक नभएको उनको बुझाइ छ । उनले भने, ‘ब्याजदर बढी भएकै कारणले अहिले बैंकहरूको नाफामा समेत असर परेको छ । किनभने, ब्याजदर बढ्न थालेपछि ऋण तिर्नै नसक्ने अवस्थामा निजी क्षेत्र पुगेको छ । हामी ब्याजदर वृद्धिमा आवश्यकताभन्दा बढी आक्रामक बन्दा पनि यसले बैंकिङ क्षेत्रलाई असर पुगेको छ ।’

कहिले तोडिन्छ भद्र सहमति ?
पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको चरम अभाव हुन थालेसँगै बैंकरहरू ब्याजदर एक–आपसमा सहमति गर्दै बढाउने वा घटाउने गर्दै आइरहेका छन् । तरलता सहजतासँगै बैंकहरूले कायम राख्दै आएको भद्र सहमति कहिले तोडिन्छ भन्ने प्रश्न उब्जिन थालेको छ । तर, बैंकरहरू तत्काललाई भद्र सहमति भंग गर्ने मनसायमा नरहेको संघका एक सदस्य बैंकरले जानकारी दिए । उनले भने, ‘बजारमा अहिले कायम रहेको तरलता सहजताको स्थितिको स्थायित्वमाथि अझै संशय कायम रहेकाले भद्र सहमतिलाई छाडिहाल्ने स्थिति छैन । यद्यपि, तरलता सहजताको स्थिति स्थायी ढंगले कायम रहँदै गएमा बैंकहरू एक–आपसमा प्रतिस्पर्धा गर्न सक्ने पनि हुन्छ ।

उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने स्थिति उत्पन्न भएको हो । प्रतिनिधिसभामा कुनै निर्वाचन क्षेत्रबाट निर्वाचित सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन गराउने प्रावधान रहेको छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । २०५० सालमा नेपाली नागरिकता लिएका लामिछानेले २०७० सालमा लिएको अमेरिकी नागरिकता २०७५ सालमा त्याग गर्नुभएको थियो । अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी नेपाली नागरिकताको पुनः प्राप्ति प्रक्रिया लामिछानले नअपनाएको भन्दै अदालतको उत्पे्रषणको आदेशले लामिछानेको उम्मेदवार कायम गर्ने, निर्वाचित भएको घोषणा गर्ने, प्रमाण दिने सबै कार्य बदर भएको छ ।

नेपाली नागरिकता ऐन २०६३ को दफा १० मा आफूखुशी विदेशी नागरिकता लिएमा वा एकैसाथ विदेशी र नेपाली नागरिक हुने स्थितिमा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने स्पष्ट प्रावधान रहेको छ ।

लामिछानेको सांसद पद खारेजीबारे संसद् सचिवालयबाट पत्र प्राप्त भएपछि उपनिर्वाचनका लागि प्रक्रिया अघि बढाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । सो प्रक्रिया शुरू भएपछि कम्तीमा तीन महिनाभित्र उपनिर्वाचन गराउन सकिने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ । सर्वोच्च अदालतको फैसलाको आधिकारिक पत्र संसद् सचिवालयले प्राप्त गरेपछि लामिछानेको सांसद् पद खारेज भएको जानकारी आयोगलाई दिइनेछ । शुक्रबार साँझ भएको सो फैसलाको आधिकारिक जानकारी आज आइतबार सचिवालयमा पठाउने बुझिएको छ ।

संसद् सचिवालयले आयोगलाई लामिछानेको सांसद् पद गएको विषयमा आधिकारिक जानकारी दिएपछि सरकार आयोगको सल्लाहअनुरूप उपनिर्वाचनको मिति तोकिने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो– ‘पत्र पाएपछि आन्तरिक तयारी गरेर सरकारसँग सरसल्लाह गर्ने छौं । उपनिर्वाचनको लागि आवश्यक तयारी गर्न आयोगलाई कम्तीमा ९० दिन चाहिन्छ ।’

पद रिक्त भएको कति दिन भित्रमा उपनिर्वाचन गराउनुपर्ने भन्ने प्रावधान प्रतिनिधिसभा सदस्यको निर्वाचनसम्बन्धी कानुनमा उल्लेख गरिएको छैन । तर, उपनिर्वाचन प्रतिनिधिसभाको कार्यकाल समाप्त हुनुभन्दा ६ महिना अघिसम्म भने सम्पन्न हुनुपर्ने उल्लेख छ ।

आयोगका अनुसार नेपाली नागरिकताको प्रतिलिपि लिएर लामिछानेले चाहेमा पुनः उम्मेदवार बन्न सक्नुहुन्छ । लामिछानेले प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकता लिएर उप–निर्वाचन लड्न पाउने गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

गृहका कर्मचारीहरूका अनुसार प्रक्रिया पुर्‍याएर नागरिकता लिन लामिछानेले नेपालको नागरिकता ऐन २०६३ को दफा ११ तथा नेपाली नागरिकता नियमावली २०६३ को नियम ११ बमोजिमको प्रक्रिया पूरा गर्नुपर्ने देखिन्छ । ऐनको दफा ११ मा कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्ति गरेपछि पुनः नेपाल आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्याग गरेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने उल्लेख गरिएको छ । त्यसपछि लामिछानेले नागरिकताको प्रतिलिपि प्राप्त गर्नहुनेछ । यही आधारमा लामिछानेले चाहेमा उपनिर्वाचनमा सहभागी हुन पाउने बुझिएको छ ।