थप २४ जनामा कोरोना पुष्टि

काठमाडौं : थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन्।

पछिल्लो २४ घन्टामा देशभरबाट १४२९ नमूना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३२० र एन्टीजेनबाट ११०९ नूमना परीक्षण गर्दा पीसीआरबाट १५ र एन्टिजेनबाट ९ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा तीन जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ७८ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

दस दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। मन्त्रालय भागबण्डा मिलाउन बैठक बसेको हो। स्रोतका अनुसार गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँड टुंगो लगाउने छ। 

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई विस्तार गर्न निरन्तर छलफल गर्दै आए पनि दलहरूबीच आन्तरिक सहमति अहिले सम्म नहुँदा मूर्तरुप लिन नसकेको माओवादी केन्द्रका एक पदाधिकारीले बताए छन्। 

प्रचण्ड प्रधानमन्त्री भएको तीन महिना भयो। तर, अझै पनि सरकार पूर्ण भएको छैन। १६ मन्त्रालय प्रधानमन्त्रीकै काँधमा छ । 

प्रचण्ड नेतृत्वको सरकारलाई १० दलको समर्थन छ। माओवादी केन्द्रसहित, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने तयारीमा छन्। कांग्रेसले अर्थ मन्त्रालयसहित आठदेखि १० मन्त्रालयको दाबी गरिरहेको छ। माओवादी केन्द्रको गृहसहित कम्तीमा ५ मन्त्रालयको दाबी छ। 

रास्वपा, जसपा, एकीकृत समाजवादीले महत्त्वपूर्ण मन्त्रालयसहित तीन/तीन मन्त्रालयको दाबी गरेका छन्। रास्वपाले उपप्रधानमन्त्रीसहित केही मन्त्रालय दाबी गरेको छ। जनमतले कृषि, पशुपन्छी वा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको छ। नागरिक उन्मुक्ति र लोसपा पनि शक्तिशाली मन्त्रालय माग गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय छन्। यो मिलाउन सत्तारुढ दललाई सकस नै भएको छ। अझ स्वतन्त्र सांसद अमरेशकुमार सिंह र प्रभु साहको मन्त्रीमा दाबी छ। पार्टीभित्रै आकांक्षी धेरै छन्। जसले गर्दा कसलाई मन्त्री बनाउने भन्ने पार्टी–पार्टीभित्र पनि आन्तरिक विवाद छ।

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शन: प्रहरीद्वारा ३१ राउण्ड अश्रुग्याँस प्रहार

प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेका छन्। निषेधित क्षेत्रको अवज्ञा गरी प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ।

प्रदर्शनमा उनीहरूले प्रहरीमाथि ढुङ्गा मुढा समेत गरेका छन्। प्रहरीविरुद्ध ढुङ्गा मुढा हुन थालेपछि १२ राउण्ड हवाई फायर भएको छ। प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको छ।

उक्त आन्दोलनमा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीका ३ र सशस्त्रका दुई जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले ३१ राउण्ड अश्रुग्यास र १५ राउण्ड हवाईफायर गरेको छ ।

उनीहरूले कोशी प्रदेश मान्दैनौँ, हत्या हिंसा बन्द गर, लाजेहाङ अमर रहुन्, मुख्यमन्त्री हिक्मत कार्की मुर्दावाद, इन्द्रबहादुर आङबो औँला काट र पहिचानवादी एक हौँ लगायतका नारा घन्काइरहेका छन्।

प्रदर्शन स्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

उपाध्यक्ष केदार द्वारा पार्टी परित्याग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी परित्याग गरेका छन् । एकीकृत समाजवादीको आज मंगलबार बसेको सचिवालयको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।

उनी पुरानो पार्टी नेकपा एमालेमै फर्किन लागेको चर्चा चलिरहेको छ । केही महिनाअघि उनले समाजवादी छाड्ने चर्चा गृहजिल्ला मकवानपुरमा चलिरहेको थियो ।

आजको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

मिटर ब्याजी पिडितसँग गृह मन्त्रालयको टोलीको भेट

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आज आन्दोलनरत मिटर ब्याजी पीडतसँग घेटघाट गरी समस्या समाधानका विषयमा छलफल गरेको छ । भेटमा मिटर ब्याजी समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै शर्माले पीडितलाई आश्वस्त पारेका थिए ।

सहसचिव शर्माले पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । ‘यस विषयमा सरकार संवेदनशील छ, सकारात्मक छ भनेर सम्झायौँ’, भेटघाटमा सहभागी काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने । पीडितले प्रधानमन्त्रीसँगै भेटेर कुरा गर्न चाहेको कुरा व्यक्त भएको उनले बताए ।

मिटर ब्याजी पीडित तराईका विभिन्न जिल्लाबाट ११ दिन हिँडेर काठमाडौँ आएका हुन् । सरकारले उनीहरूको समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनलाई संसद्मा लैजाने निर्णय गर्न लागेको बताइएको छ ।

नेप्सेमा आज दोहोरो अंककाे वृद्धि

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। आज नेप्से १२.१० अंकले बढेर एक हजार ९ सय १८ विन्दुमा पुगेको छ ।  

त्यस्तै, आज एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४७३.१० रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४३७.२० रुपैयाँ पुगेको छ भने सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३१३.३० रुपैयाँ पुगेको छ ।          

नेप्सेका अनुसार तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज ६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ ।                        

जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

सिरहा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मिपुर पतारी गाउँपालिका–३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदिप साहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

साहलाई ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका–२ तिनकुने चोकस्थित गहुँ बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका-२ टाेल पुरन्दाहामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडी सवार व्यक्ती भने घाइते भएका छन् ।

धनुषाकै मिथिला बिहारी नगरपालिका- ६ सिरसियाका २१ वर्षीय विजयकुमार यादवको मृत्यु भएको हो । काव्य अस्पताल जनकपुरमा  उपचारको क्रममा विजयकुमारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ ।

घाइते भएका उनका २५ वर्षीय दाइ रितेश यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । जनकपुरबाट धनुषाधाम तर्फ जाँदै गरेको प्रदेश२-०२-००२ प ४३ ८० नम्बरको मोटरसाइकल  अनियन्त्रीत भई पल्टिएको थियो ।

अर्को पार्टी खोल्न सक्छु : भीम रावल

धनगढी  । नेकपा एमालेका नेता भीमबहादुर रावलले जनताको चाहनाअनुसार आगामी कदम चाल्ने बताएका छन् ।

मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता रावलले पार्टीकाट किनारा लागाएको अवस्थामा जनताको चाहनाअनुसार अघि बढ्ने बताउँदै जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसैअनुसार अघि बढ्न सकिने बताए ।

‘मैले देशको हितमा काम गर्दै आएको छु, पार्टीको गतिविधि विपरित काम पनि गरेको छैन,’ रावलले भने, ‘तर कसै अमुख व्यक्तिका कारण मलाई किनारा लगाउन खोजिदैछ, अहिले पनि सहेर बसेको छु तर अव यस्तै भए विकल्प सोच्न बाध्य हुने छु ।’

उनले एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरुले आफुलाई किनारा लगाएको आरोप लगाए । ‘एमाले अध्यक्ष केपी ओलीसँग ८औं महाधिवेशनमा झलनाथ खनालले प्रतिष्पर्धा गरेर जितेका थिए, ९औं महाधिवेसनमा माधव नेपालले प्रतिष्पर्धा गरे केही भएन,’ रावलले भने, ‘तर सुदूरपश्चिमबाट मैले प्रतिष्पर्धा गर्दा त्यो सुहाएन रे, पार्टीको विधानमै सुदूरपश्चिमबाट प्रतिष्पर्धा गर्न नपाइने लेखिदिए हुन्छ अब ।’

पालिकाको गाडी लिएर अध्यक्षका छोरा ‘मिसन ग्रासरुट’मा 

धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य हाल अमेरिका छन्। स्थानीय तहमा जनप्रतिनिधिले स्रोत र साधन कसरी दुरुपयोग गर्छन् भन्ने एउटा उदाहरण बनेका छन् धादिङको थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य । आचार्यले आफूले लिएको गाडी सुविधा आफ्नो छोरालाई प्रयोग गर्न दिएका छन् ।गत शनिबार पनि पालिकाकै गाडी लिएर दिनभर उनी दौडधुपमा देखिए र आइतबार पनि उत्तरी धादिङमै व्यस्त रहे।  त्यो पनि पार्टीको काम गर्न ।

अध्यक्ष आचार्यले चढ्ने बा.२झ ३६४१ नम्बरको पालिकाको गाडी उत्तरी धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा उनका छोरा रमेश आचार्यले नेकपा एमालेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियानभरि प्रयोग गरे। गत मंसिरदेखि पालिकाको गाडी धेरै जसो रमेशले आफ्नै अनुकुलमा चढ्दै हिँडेका छन् भने अध्यक्ष आचार्य प्रदेश ३– ०२००१ ब ३८४४ नम्बरको मोटर साईकलमा हिँड्ने गरेका छन् ।

अहिले यो गाडी अध्यक्षका छोरा रमेशले नेकपा एमालेको ग्रासरुट अभियानको नेता तथा कार्यकर्ता ओसार्ने सवारीका रुपमा प्रयोग गरिरहेका छन् । गाडीका विषयमा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापालाई जिज्ञासा राख्दा उनले यस विषयमा कुनै जानकारी नभएको जनाए । थाँक्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बरालले पनि पालिकाको गाडीबारे आफूलाई जानकारी नभएको बताए ।

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ। कार्यालय प्रयोजनमा चलाउनैपर्दासमेत सम्बन्धित निकायबाट पास लिनुपर्छ । तर, बिदाको दिन गाडी चलाउने भनेर थाक्रे गाउँपालिकाबाट पासका लागि अनुमति नलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सुनको मूल्य घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु. एक लाख आठ हजार तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख सात हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ५५ मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

यस्तो छ आज चैत १४ गते मंगलबार तपाईंको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार, व्यवसायमा लाभ हुनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव आउन सक्छ, तर सफल यात्राको योग छ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । पुँजी बजार भने ठिकै रहला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

सत्तारूढ गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल पछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन् ।

आज बस्ने बैठकले मुख्यतः मन्त्रिपरिषद् विस्तारका वारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुने बताइएको छ ।

रास्वपाले गृह नपाउने, भौतिकमा दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक पूर्वाधार मन्त्रालयसहित तीनवटा मन्त्रालयमा दाबी गरेको छ । उपनिर्वाचनअघि नै सरकारमा सहभागी हुन चाहेको रास्वपाले गृह मन्त्रालय भने नपाउने भएको छ ।

गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी (माओवादी)को नेतालाई दिन चाहेका छन् ।

स्रोतका अनुसार दाहालले गृहको नेतृत्व नारायणकाजी श्रेष्ठ वा शक्ति बस्नेतमध्ये एकलाई दिने तयारी गरेको छ ।

गृह माओवादीले नै राख्ने अवस्था आउँदा कांग्रेसलाई अर्थ मन्त्रालय दिने सहमति जुटेको छ । रास्वपाको दाबी भौतिक पूर्वाधार भए पनि निर्णय भने भइसकेको छैन स्रोत बताउँछ ।

अघिल्लो सरकारमा सहभागी हुँदा रास्वपाले उपप्रधानसहित गृह मन्त्रालय लिएको थियो ।  पार्टी सभापति रवि लामिछानेनै नेतृत्व लिएर सरकारमा गएका थिए । 

उनको नागरिकता विवादमा सर्वोच्चले फैसला दिँदै सांसद पद खारेजी गरेपछि पार्टीले गृह मन्त्रालय गुमाएको थियो । यसैको विवादमा पार्टीले सरकार छाडेको थियो । 

अहिलेको सरकारमा गृह नपाउनेमा रास्वपा नेताहरू ढुक्क छन् । त्यकारण भौतिक मन्त्रालय अहिले रास्वपाको पहिलो रोजाइमा परेको छ । यस्तै शिक्षा, स्वास्थ्य, खेलकुद मन्त्रालय वा श्रम मन्त्रालय पनि रास्पवा चाहन्छ ।

“सभापतिको सांसद पद गएपछि हामीले गृह गुमाएकै हौं । पुनः हामीले त्यो मन्त्रालय पाउँछौं भन्ने लाग्दैन । चितवन निर्वाचन पछि नयाँ समीकरण वा मन्त्रालय साट्न सकिन्छ,” एक नेताले भने, “भौतिक चाहिँ लिनुपर्छ भन्ने हामीलाई लागेको छ । त्यसबाहेक अरू मन्त्रालय जसमा काम गर्न सकियोस् ती मन्त्रालय हामीले लिनैपर्छ ।”

रास्वपालाई काम गर्न नसके र जनअपेक्षा पूरा गर्न नसके अस्तित्वमै संकट आउने भय छ । 

पार्टीले अघिल्लो पटक सभापति लामिछानेसहित उपाध्यक्ष अर्याल, सांसद शिशिर खनाल र तोसिमा कार्कीलाई मन्त्री बनाएको थियो । 

यसपटक विराजभक्त श्रेष्ठ वा डीपी अर्यालकै नेतृत्त्वमा सरकारमा पठाउने विषयमा छलफल भए पनि निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ ।

“सरकारमा जानेमात्र होइन गएका नेताहरूले पव्लिक एसेप्टेन्स बढाउने काम पनि गर्नुपर्छ । अघिल्लो पटकभन्दा फरक अनुहार पनि चाहिन्छ,” ती सांसदले भने, “यसपटक डीपी वा विराजमध्ये एकले नेतृत्व लिनुहुन्छ होला । अर्थात् पुरानोबाट एकले पाए पनि नयाँ अनुहारले अब अवसर पाउनुपर्छ ।”

पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सत्तापक्षकै भएकाले सरकारमा सहभागी हुन ढिला गर्न नहुने पार्टीभित्र आवाज उठिरहेको बताए । 

“हामीले विश्वासको मत नदिएर प्रतिपक्षमै बसेको भए त्यो छुट्टै बहस हुन्थ्यो । तर, हामीले विश्वासको मत दिइसकेका छौं । अनि किन हामीले सरकारमा जान ढिला गर्ने ?,” उनले भने । 

पार्टी सभापतिनै निर्वाचन लडेको अवस्थामा उपनिर्वाचनपछि सरकारमा जाने हो कि भन्ने विषयमा पार्टीभित्र बहस भइरहेको उनी बताउँछन् ।

“एक दुइदिनभित्रै सरकार विस्तार गर्ने तयारी देखिन्छ । यस्तो अवस्थामा पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर छलफल गर्नुपर्ने हो तर अहिलेसम्म बैठक बोलाइएको छैन,” उनले भने, “उपनिर्वाचन अगाडि वा पछाडि सरकारमा जाने भन्ने छ । तर, म चाहिँ उपनिर्वाचन अघिनै सरकारमा जानु उपयुक्त हुन्छ भन्ने धारणा राख्छु ।”

पार्टी यतिबेला चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचन केन्द्रित भएको छ । 

यी क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । 

सो पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर निर्णय गर्ने ।

“हामीले विश्वासको मत दिएपछि सरकारमा नजाने भनेर भनेका छैनौं । पार्टीको केन्द्रीय समिति बैठकबाटै सरकारमा सहभागिताको विषयमा निर्णय गर्ने अधिकार सभापतिलाई हामीले दिएका छौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सरकार विस्तार गर्ने तयारी गरेका छन् ।  

नेपाल इन्जिनियरिङ परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरूको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएको परिषद्ले जनाएको छ । ११ जनाको परीक्षा रद्द गरिएको छ । यसअनुसार २८.५ प्रतिशत मात्र परीक्षार्थी पास र ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

इन्जिनियर उत्तीर्ण गरेकाहरूले इन्जिनियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषद्ले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषद्ले परीक्षामा पास भएकाहरूलाई मात्र लाइसेन्स दिन थालेको हो ।

हेर्नुस् लाइन्सेन्स परीक्षाको नतिजा: