प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघका महासचिव गुटेरेसको भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए । 

प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका महासचिव एन्टोनियो गुटेरेसले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट गरेका हुन् ।

रेस्टुरेन्टका सञ्चालकसहित ३ जना पक्राउ

काठमाडौँ। काठमाडौँको माछापोखरीमा दुई भारतीयलाई लुटपाट गरेको आरोपमा रेस्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन्। ग्रिन टि सस्तोमा मिलाई दिने भन्दै बारमा पुर्‍याएर उनीहरूलाई लुटिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

पक्राउ पर्नेमा माछापोखरीस्थित किङ्स अकबरे मम्स रेस्टुरेन्टका सञ्चालक नुवाकोटको ककनीका २७ वर्षीय उमेश लामासहितका व्यक्ति रहेका छन्।

पीडित भारतीय ठमेलस्थित एक होटलमा बिहीबारदेखि बस्दै आएका थिए। प्रहरीका अनुसार उनीहरूलाई सस्तोमा ग्रिन टी मिलाई दिने बहानामा माछापोखरीस्थित एक बारमा पुर्‍याएर लुटिएको थियो।

कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रुपैयाँ ट्रान्सफर गरी लुटिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकाको साथबाट एउटा मोटरसाइकल र ५९ हजार ३ सय ५५ रुपैयाँ नगद बरामद गरेको छ।

प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ

काठमाडौँ । फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णयको खारेजीलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका छन्।

 पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्व अध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बरालसहित करिब डेढ दर्जन रहेका छन्।​ संघीय संसद भवनको पश्चिम गेटबाट उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूले विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय दिनुपर्ने, पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउने लगायतका माग राखेका थिए।

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो ।  

साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा छुटको व्यवस्था गरेको कम्पनीले जनाएको हो । कम्पनीले व्यतित बीमालेखहरू कात्तिक १० गतेदेखि २२ गतेसम्म नविकरण तथा पूनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ ।

३ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा शतप्रतिशत छुट, ३ वर्षभन्दा माथी ७ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ७ वर्षभन्दा माथी जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिईएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र लागु हुने कम्पनीले जनाएको छ । कम्पनीबाट ब्याज जरिवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरू नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरूले नियमानुसार समर्पण गर्न चाहेकमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवाना वापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीको भनाई छ ।

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो

काठमाडाैं । स्थानीय बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य प्रतितोला  एक लाख १७ हजार छ। यो अहिलेसम्मकै महँगो मूल्य हो। 

गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो। आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ। 

त्यस्तै आइतबारको लागि छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँले महँगो हो। 


त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा १५ रूपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासचिव गुटरेसको भ्रमण कुटनीतिक सफलताको परिणाम हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएको दिनदेखि राजनीतिक सहमति बनाउने प्रयास गरिरहेको बताएका छन् । नेपाली कांग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले दलहरुको बीचमा विस्तारै राजनीतिक सहमति बन्दै गइरहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।

बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै उहाँले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने छ भन्नुभयो ।

‘प्रमुख दलहरुको बीचमा सहमति बनाउने प्रयास भइरहेको छ, त्यसको नतिजा चाँडै बाहिर आउँछ’ उनले भने ।  शान्ति प्रकृया लगायतका विषयमा पनि दलहरुको बीचमा सहमति भइरहेको बताउँदै उनले सोही सहमतिको प्रयासस्वरुप संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण हुन लागेको बताए ।

प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयोे । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लाग्नुभएको जानकारी दिँदै उहाँले नेपालको कूटनीतिक सफलताको परिणामस्वरुप उच्चस्तरीय भ्रमण हुन लागेको बताउनुभयो ।

“यसबीचमा मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए त्यसैको परिणामस्वरुप संयुक्त राष्ट्र सङ्घका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकासनिर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनैरुपले सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

आफूँले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरुका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको उहाँको भनाइ छ । मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरुमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उहाँले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता तथा कार्यकर्तामा शुभकामना व्यक्त गर्न गर्नुभयो । चियापान संस्कृति बिपी कोइराला जीवितै हुँदा उहाँले नै सुरु गर्नुभएको स्मरण गर्दै उहाँले आपसी एकता र सद्भाव वृद्धि गर्न चियापान संस्कृतिले भूमिका खेल्दै आएको बताउनुभयो ।

दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

धनुषामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

मृत्यु हुनेमा ज.२ प ८३०१ नम्बरको मोटरसाइकल चालक मिथिला नगरपालिका–१ लक्ष्मीनिवास बस्ने २८ वर्षीय राकेश राउत रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा बा.७९ प ४७५५ नम्बरको मोटरसाइकल र ज.२ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका राउतको जनकपुरको काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको स्थानीय भोगेन्द्र मेडिकल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ शुक्रबार देखि निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न शुरु गरेको हो । त्यस्तै, २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइने छ । आईपीओमा आगामी कात्तिक २४ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई जारी गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

६ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा,कुन कुन परे ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। निर्देशनविपरीत काम गर्ने ६ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा दिएको निर्देशन विपरित काम गर्ने वाणिज्य बैंकहरु केन्द्रीय बैंकको कारबाहीमा परेका हुन्।

जसमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, एनआइसी एसिया बैंक, नबिल बैंक र सिटिजन्स बैंकलाई राष्ट्र बैंकले नगद जरिवानादेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालकलाई सचेत गराएको छ। 

सम्पत्ति शुद्धीकरण सम्बन्धमा जारी निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँ नगद जरिवाना असुल गरेर कारबाही गरेको छ । हिमालयन बैंकले तोकिएको ८० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी) कायम नगरेका कारण १ करोड ६७ लाख रुपैयाँ नगद जरिवाना तिर्नुपरेको छ ।

एनएमबी बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग गर्दा कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ । बैंकले एकीकृत निर्देशनको कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) को दफा १० को उपदफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको थियो । सोसम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेकामा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐनको व्यवस्थाअनुसार राष्ट्र बैंकले सचेत गराएको हो ।

एनआईसी एसिया बैंक र नबिल बैंकले पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी अनुपात) सम्बन्धी निर्देशन पालना नगरेकाले कारबाहीमा परेको बताइएको छ । एनआईसी एसिया बैंकले एकीकृत निर्देशन नं १५ को बुँदा नं ३ को (८) मा उल्लिखित व्यवस्थाविपरीत हुने गरी ग्राहकसँग बढी लिएको ब्याज जोखिम प्रिमियम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको हुँदा कारबाहीमा गरिएको राष्ट्र बैंकले बताएको छ ।

बैंकले निर्देशनविपरीत ब्याज बढाएको, क्यापिएडुकेसी फ्रेमवर्क २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको आरोप पनि यो बैंकलाई लागेको छ । यी कसुरमा राष्ट्र बैंकले एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नसिहत र सञ्चालक समितिलाई सचेत गराएको छ ।

नबिल बैंकले निर्देशनविपरीत प्रिमियम बढाएको, ग्राहकसँग त्रैमासिक रूपमा शुल्क (कर्जा प्रशासनिक शुल्क) लिने गरेको, संस्थागत मुद्दती निक्षेपमा ग्राहकलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएकोलगायत कसुर राष्ट्र बैंकले भेटाएको छ । यी कसुरमा राष्ट्र बैंकले नबिलका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

सिटिजन्स बैंकले राष्ट्र एकीकृत निर्देशनविपरीत कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५) अनुसार जोखिम भारित सम्पत्ति गणना नगरेको तथा प्रिमियम दरमा निर्देशनविपरीत पटकपटक वृद्धि गरेको कसुर राष्ट्र बैंकले भेटाएको छ ।

यसकारण सिटजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारबाहीस्वरूप सचेत गराइएको राष्ट्र बैंकले बताएको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारबाहीमा परेका बैंकहरूको विवरण हो । पछिल्ला वर्षमा सम्पत्ति शुद्धीकरण र नियामकीय निर्देशन पालना नगर्ने बैंकको संख्या लगातार बढ्दो छ ।

१२ कार्तिक २०८०, आईतवार यस्तो छ तपाईँको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । प्राविधिक विषयमा रूचि जाग्नेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कार पनि प्राप्ति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सदस्यबाट सहयोग मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण रहला। साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम गर्ने हौसला मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्त तथा साथी भाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । विलासिताका सामग्रीमा खर्च पनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । प्राविधिक क्षेत्रमा रूचि बढ्नेछ । सामाजिक कार्यमा रुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ ।

प्रतिनिधिसभाकाे बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय गरिएको हाे ।

आजकाे बैठकमा  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

बिजुलीको पोलमा माेटरसाइकल ठोक्किदा मकवानपुरमा एकको मृत्यु

हेटौंडा। मकवानपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ ।  

बाग्मती गाउँपालिका– ७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा परी मोटरसाइकलका चालक बाग्मती गाउँपालिका–६ ठाडीखोलाका स्थायी बासिन्दा २२ वर्षीय सन्तोष दर्लामीको ज्यान गएको छ । सो मोटरसाइकल दुर्घटनामा घाइते भएका अर्का २२ वर्षीय प्रदीप लोप्चन भने उपचारपछि घर फर्किएका छन् । 

सो दुर्घटनामा घाइते भए उपचारका लागि काठमाण्डौ लगिएको थियो । तर, उपचारको क्रममा न्युरो अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्ला प्रहरी प्रमुख भट्टराई निलम्बित

काठमाडौं। मदिरा पिएर महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख निलम्वनमा परेका छन् ।

भट्टराईलाई केही दिनअघि नै हुम्लाबाट कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको थियो । उनलाई जिम्मेवारीबाट हटाएर हाल उनको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले बताएको छ । यसअघि पनि भट्टराई विभागीय कारबाहीमा परेका थिए ।

उनका अनुसार डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन्।

यसबीचमा उनीविरुद्धमा परेको उजुरीबारे छानबिन तथा अनुसन्धान हुनेछ। डिएसपी भट्टराईको ठाउँमा अर्का प्रहरी नायब उपरीक्षक रविन्द्र खनाललाई पठाइएको डिआइजी कडायतले जानकारी दिए।

आज राति खण्डग्रास चन्द्र ग्रहण लाग्दै

काठमाडौँ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज राति १ बजेर १९ मिनेटदेखि २ बजेर ३८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्नेछ ।

नेपालका सबै भागबाट खण्डग्रास चन्द्र ग्रहण देख्न सकिने छ। सघन छायाले ढाक्ने अवधि एक घण्टा १८ मिनेटको र विरल छायाले ढाक्ने अवधि चार घण्टा २६ मिनेट हुने बताइएको छ । 

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा सूर्य, पृथ्वी तथा चन्द्रमा एउटै सरल रेखामा रहँदा पृथ्वी बिचमा परेका बेला पृथ्वीको छाया चन्द्रमामा परी पृथ्वीबाट चन्द्र ग्रहण देखिन्छ । यो पूर्णिमाको राति पर्ने गर्दछ । 

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमासअनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

कार्तिक ११ गते शनिवार, यस्ताे छ तपाईँको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले आउला र मनमा छटपटी व्याप्त हुनसक्छ, तर साँझमा धन लाभ हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा भने अधिक धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बोलीको चातुर्यले काम बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कृषि बजारले पनि साथ दिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज दैनिक कार्यमा प्रगति हुनेछ ।नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।