पत्रकारलाई तत्काल पारिश्रमिक दिन आह्वान

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शााखाले कोरोना भाइरस (कोभिड(१९)को महामारीबीच सूचना प्रवाहमा निरन्तर खटिएका पत्रकारको रोजगार नै संकटमा परेको बताउँदै एक विज्ञप्ती मार्फत सञ्चारगृहलाई सञ्चारकर्मिको अभिभावकत्व निवार्ह पुरा गर्न आग्रह गरेको छ ।


युनियनका अध्यक्ष जगन्नाथ दुलालले एक विज्ञप्ति जारी गर्दै संकटको अवस्थामा सञ्चारगृह अभिभावक बन्नुपर्नेमा केही सञ्चारगृहले यही संकटको अवस्थामा पत्रकारलाई बेतलबी विदा बस्न दबाब दिने, कतिपयलाई जागिरबाटै बिदा गर्ने प्रयास हुनु निन्दनीय भएको भन्दै युनियनको ध्यानाकर्षण भएको बताएका छन् ।

‘पत्रकारमाथिका यस्ता अमानवीय व्यवहार रोक्न ध्यानाकर्षण गराउँदै अन्यथा जस्तोसुकै कदम चाल्न पनि प्रेस युनियन काठमाडौं तयार रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि नियमित पारिश्रमिक नदिएका सञ्चार गृहलाई श्रमजीवी पत्रकारहरुको बाँकी तलब तत्काल भुक्तान गर्न पनि माग गर्दछ । यो संकटको घडीमा पनि रिपोर्टीङमा सक्रिय पत्रकारहरुलाई आफनो सुरक्षामा ध्यान दिन आग्रह गर्दछौं ।’—विज्ञप्तिमा उल्लेख छ ।

यस्तै लकडाउनका कारण सञ्चार गृहलाई परेको समस्याका बारेमा पनि बेखबर नरहेको भन्दै तत्काल सञ्चार क्षेत्रलाई राहत र सञ्चारकर्मीका लागि विशेष राहत प्याकेजको घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।