स्थानीय निर्वाचन : अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय

निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने छन् ।

निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगले शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

सात सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

यही वैशाख ११ र १२ गते उम्मेदवारको मनोयन दर्ता गरिएको थियो ।

बिहीबार साँझसम्मको तथ्याङ्कअनुसार स्थानीय तह सदस्य निर्वाचनमा एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

प्रमुखमा तीन हजार ५१८, उपप्रमुखमा दुई हजार १७४, अध्यक्षमा तीन हजार ३९२ र उपाध्यक्षमा दुई हजार ४०७ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।

यस्तै वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्यमा २३ हजार ८५१ र सदस्यमा ५५ हजार ७६७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेसिन

काठमाडौं – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ ।
प्रतिष्ठानमा यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गर्नुभयो । उपकुलपति गिरीले २० शय्यासहितको डायलाइसिस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वी नेपालको सबैभन्दा ठूलो र उत्कृष्ट अस्पतालका रुपमा रहेको प्रतिष्ठानमा यसअघि डायलाइसिस गर्ने मेसिनको कमी हुँदा बिरामीले सास्ती बेहोर्दै आएका थिए । बीस शय्यामा उपचार कक्ष सञ्चालनमा आएपछि बिरामीले सहजरुपमा सेवा पाउने अवस्था बनेको प्रतिष्ठानका प्रवक्ता चुरामणि पोखरेलको भनाइ छ ।

अहिले प्रतिष्ठानमा दैनिक करिब १२० बिरामीले नियमित डायलाइसिस गर्दै आएका छन् । यसअघि रहेका आठ मेसिनले प्रतिष्ठानमा आएका बिरामीलाई सेवा दिन नसक्दा करिब ५० जनाले डायलाइसिस सेवा लिन सकेका थिएनन् । प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएको २३ वर्ष भइसकेको छ ।

सन् १९९९ मा तत्कालीन उपकुलपति डा शेखर कोइरालाको कार्यकालमा प्रतिष्ठानमा डायलाइसिस सेवा सुरु भएको थियो । दुई शय्याबाट सुरु गरिएको उक्त सेवा अपुग भएपछि त्यसबेला मेडिसिन विभागका डा सञ्जीवकुमार शर्माले सोही अस्पालबाट आफैँले घर बसेर गर्ने सिएपिडी प्रविधिको डायलाइसिस सेवाको सुरुवात गर्नुभएको थियो ।

सन् २००२ देखि प्रतिष्ठानमा शुरु भएको यो विधि पाँच वर्षसम्म अरु कुनै अस्तालमा हुन सकेको थिएन । सन् २००४ मा डा शर्माकै पहलमा बेलायतस्थित रोयल लण्डन अस्पतालबाट ११ थान डायलाइसिस मेसिन ल्याइएपछि अस्पतालको मेडिकल विभागअन्तर्गत डायलाइसिस युनिटको स्थापना गरिएको थियो ।

म्यादी प्रहरीको मृत्यु – थप अनुसन्धान हुँदै

काठमाडौं- हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

मौसम : आज कहाँ कहाँ पानी पर्छ ? हेर्नुस्

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पुूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभाव बारे विवरण सार्वजनिक गरेको छ ।
आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
त्यसैगरी दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

साथै राती पनि प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर नै एक प्रकारको उत्साह छाएको भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ ।

शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज अन्तिम दिन भने २० अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ओरालो लागेर दुई हजार ३५६.१७ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३२ अङ्कले ओरालो लागेर ४५०.२४ मा सीमित भएको छ ।

कूल २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर रु एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ मूल्यमा खरिद बिक्री भएको छ ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ५१ अर्ब ६४ करोड ३३ लाख ३० हजार बराबर सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ ।

नेप्सेका अनुसार बैंकिङ ६.३८, व्यापार ३२.०७, होटल तथा पर्यटन २६.३६, विकास बैंक ७५.४४, जलविद्युत् २३.०४, वित्त ३०.१३, निर्जीवन बीमा ४१.३३, उत्पादन ७४.९९, अन्य २६.८३, लघुवित्त ३८.०३, जीवन बीमा १५०.७४, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.९५ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा ग्लोबल आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु पाँच करोड २५ लाख ४९ लाख ६०३ बराबरको कारोबार भयो ।

हिमालयन डिस्टिलरी रु पाँच करोड तीन लाख ६१ हजार २४२, एनसिसी बैंक रु चार करोड ९७ लाख आठ हजार ६२६, अरुण भ्याली हाइड्रोपावर रु चार करोड ७३ लाख ३४ हजार ६३४ र नबिल बैंक रु चार करोड दुई लाख चार हजार २६८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार घटेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

सो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।

राधी विद्युत् कम्पनी ४.१७, माउण्टेन इनर्जी नेपाल ३.२९, नबिल ब्यालेन्स फण्ड तेस्रो ३.२५ र मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.८८ प्रतिशतले कमाए ।

गुह्यश्वरी मर्चेन्ट बैंक ३.९८, गणपति लघुवित्त ३.८३, माहुली लघुवित्त ३.७३, पाँचथर पावर कम्पनी ३.७१ र किसान लघुवित्तका लगानीकर्ताले ३.६७ प्रतिशतले गुमाएका छन् ।

जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरको आवश्यकता : महामन्त्री थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरपालिकाको लागि आवश्यक भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएकी सिर्जना सिहंको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा आज उहाँले काठमाडौँभित्रको देखिएको व्यथिति अन्त्यका लागि महानगरको प्रमुखमा सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।

“सिर्जना गणेशमान सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमतीमात्र नभएर आफैँमा राजनीतिक व्यक्ति हुनुुहुन्छ, उहाँलाई अहिले पार्टीले न्याय गरेर टिकट दिएको छ, समृद्ध महानगर निर्माणका लागि सिंहलाई विजयी गराउनुहोस्”, महामन्त्री थापाले भन्नुभयो ।

काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्दै गर्दा सिर्जना सिंहले ठूलो सपना नदेखेको भन्दै सार्वजनिक बसमा देखिएका भीडभाड कम गर्न फुटपातको व्यवस्थापन गर्न र फोहरको सही व्यवस्थापनजस्ता साना कुरा मात्रै गरेपनि काठमाडौँका जनताले राहत पाउने बताउनुभयो । महामन्त्री थापाले काठमाडौँको प्रमुखमा महिलालाई ल्याउने अवसरबाट नचुक्न सबैलाई आग्रह गर्नुभयो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले देशको राजधानीमा महिला प्रमुख पाउनु देशभरका महिलाका लागि अवसर भएको भन्दै उक्त अवसरलाई सही सदुपयोग गर्न सम्पूर्णलाई आग्रह गर्नुभयो । उहाँले कांग्रेस कम कुरा गर्ने र काम धेरै गर्ने पार्टी भएको बताउँदै मुलुकमा सुशासन र समृद्धि ल्याउनका लागि कांग्रेसलाई जिताउनुपर्ने बताउनुभयो ।

नेता डा महतले नेपालको लोकतन्त्र स्थापनामा सिर्जना सिंहको महत्वपूर्ण भूमिका रहेको बताउँदै लोकतन्त्रको रक्षा गर्दै मुलुकको विकासका लागि पार्टीले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सिंहलाई उठाएको उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सक्षम महिला नेत्रीलाई कांग्रेसले महानगरको उम्मेदवारको रुपमा अगाडि सारेको भन्नुभयो ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले काठमाडौँको मुहार फेर्नलाई कांग्रेस नेतृत्वले महिलालाई महानगरको उम्मेदवार बनाएको भन्दै कांग्रेस केन्द्रीय नेतृत्वलाई धन्यवाद दिनुभयो ।

कांग्रेस काठमाडौँका पूर्व सभापति एवमं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षा गर्दै लोकतन्त्र बचाउन गठबन्धन आवश्यक रहेको बताउनुभयो । कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति निलकाजी शाक्यले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजय गराउन सबैलाई आग्रह समेत गर्नुभयो ।

सोही कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई परिवर्तन गर्नका लागि सात सङ्कल्प प्रस्तुत गर्नुभएको थियो ।

२४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालायका अनुसार आज देशभरमा ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १५ जना र ९९३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो । साथै कसैको मृत्यु भएको छैन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।

गगन थापालाई ‘ट्युसन’पढाउन सक्छु : कर्णबहादुर मल्ल

काठमाडौं- सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन्।

बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले बिपीले स्थापन गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भनेर थापालाई ट्युसन पढाउने सक्ने बताएका हुन्।
काठमाडौँमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए।

कांग्रेस यस्तो पार्टी हो, जोसँग बीपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्युसन पढाउन सक्छु,’ मल्लले भने ।

उनले बिपीले स्थापना गरेको मेनिफेस्टो र अहिलेको मेनिफेस्टो मिल्छ रु भनेर थापालाई ट्युसन पढाउन र बहस गर्न सक्ने दाबी गरे।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौँ जिल्ला अधिवेशन तथा १४औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रुष्ट थिए।

सर्लाहीको १७ उम्मेदवार विरुद्ध उजुरी

काठमाडौं- सर्लाहीका विभिन्न स्थानीय निकायका १७ उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
सबैभन्दा धेरै जिल्लाको बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका सातविरुद्ध उजुरी परेको हो ।

बागमती नगरपालिकामा चार उम्मेदवारविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत ध्रुबकुमार पियाले जानकारी दिनुभयो । बलरामा दुई तथा लालबन्दी, कविलासी, रामनगर र ब्रम्हपुरीमा एक–एक उजुरी दर्ता भएका छन् ।

ती उजुरीमाथि विहिबार साँझसम्म छानबिन गर्ने र दोषी प्रमाणित भए उम्मेदवारी रद्ध गरिने पियाले जानकारी दिनुभयो ।
बलराको प्रमुखका उम्मेदवार अभयकुमार सिंह र बाग्मती नगरका प्रमुखका उम्मेदवार भरतकुमार थापाविरुद्ध उजुरी परेको हो । अन्य पालिकामा पनि विभिन्न उम्मेद्वारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थापाविरुद्ध प्रहरीको कार्बाहीमा मारिएका कुमार पौडेलका बुबा खिलकराज पौडेलले उजुरी दिनुभएको हो । पौडेल घटनामा मृतकका बुबाले दिएको किटानी जाहेरीमा थापाको नामसमेत भएको र सर्वोच्च अदालतले पनि छानविन गर्न आदेश दिएको उल्लेख गरिएको छ । त्यस्तै सिंहविरुद्ध बेरुजु तिर्नुपर्ने र पेश्की फछ्र्यौट गर्नुपर्ने भन्दै उजुरी परेको हो ।

महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरको लेखापरीक्षण प्रतिवेदन अनुसार रु ११ करोड ८० लाख १८ हजार बेरुजु देखिएको र रु पाँच करोड ३६ लाख ८४ हजार असुलनै गर्नुपर्ने उल्लेख गरिएको छ ।

सिंह र अर्का एकजना वडाध्यक्ष विरुद्ध उजुरी परेको बलराका निर्वाचन अधिकृत रंजितकुमार यादवले जानकारी दिनुभयो ।
वैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरुद्धमा बैशाख १४ मा दावी विरोधको उजुरी गर्ने समय दिइएको थियो ।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको उम्मेदवारमाथि उजुरी दिन सकिन्छ ।

यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने व्यक्ति पनि उम्मेदवार हुन पाउँदैनन् ।

जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिएको भए सो उम्मेदवारी पनि रद्द हुन सक्छ

ट्याङ्करको ठक्करले साइकलयात्रीको मृत्यु

काठमाडौं -भरतपुर महानगरपालिकाको भित्रि सडकमा दूध बोकेको ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नं को ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई आज दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बाराको महागढीमाई नगरपालिका–५ बस्ने २० वर्षीय प्रमित भनिने आदित्य जैसवालको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार साइकललाई ठक्कर दिने ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।े

नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने

काठमाडौं-चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

बिहीबार केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मेलन गरी उक्त अुनमानित प्रक्षेपण सार्वजनिक गरेको हो ।

विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वृद्धिदरको आँकलन सुनाएका थिए ।

विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरेको छ ।

यस्तै, उद्योगमा १०.३ प्रतिशत र सेवा क्षेत्रमा ५.९ प्रतिशतको वृद्धिदर हासिल हुने विभागको अनुमान छ ।

आर्थिक वर्ष सकिनुभन्दा करिब तीन महिना अगाडि विभागले आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष सकिन तीन महिना बाँकी हुँदा विभागले यो आँकलन सार्वजनिक गरेको हो ।

तर, तीन महिनामा अर्थतन्त्रमा थप क्षति नपुग्ने विभागले जनाएको छ ।

रेमिट्यान्स: गाउँ रित्तियो, सहर उभोँ लाग्यो

करिब तीन दशक अघिसम्म ढुङ्गा र खरले छाएका र पाली हालेका गाउँले पाराका घर हुन्थे गाउँघरमा संयुक्त परिवार हुन्थ्यो ।

दसैं तिहारजस्ता चाडपर्व आउँदा सेतो कमेरो र रातोमाटोले लिपपोत गर्दा घर चिटिक्क देखिन्थे । गाउँ नै उज्यालो हुन्थ्यो ।

घरनजिकै गाईगोठ र भैँसीगोठ हुन्थ्यो । परालका माच, मकैका कुन्यू र नलको चाङ हुन्थ्यो ।

घरको पछाडी करेसाबारी,लेकबेँसीमा खेतबारी र तिनै खेतबारीमा काम गरिरहेका गाउँका युवायुवती, प्रौढप्रौढा रौनक नै बेग्लै हुन्थ्यो गाउँको ।

खेतमा धान, मकै, गहुँ, भटमास फल्थ्यो । बारीमा मकै, कोदो, मास, भटमास, बोडी, तोरी, तरुल, आलु, सखरकन्द आदि फल्थे । उखुबारीमा उखु हुन्थ्यो । खरबारीमा खर हुन्थ्यो ।

गाउँका यो प्राकृतिकस्वरुप हराएको पुगनपुग ३० वर्ष भयो । २०४६ सालको राजनीतिक परिवर्तनपछि गाउँमा विकासको लहर चल्यो भने प्रकृतिमा विनाशको डोजरले सम्पदा र मौलिकता दुवैलाई भत्काउन सुरु ग¥यो ।

विसं २०४६ देखि भर्खर बामे सर्न थालेको विकासको पाइला २०५२ सालदेखि सुरु भएको तत्कालीन माओवादी विद्रोहका कारण थला पर्‍यो ।

२०६३ सम्मको १७ वर्ष गाउँमा विकास र पूर्वाधारको हुनसम्म खति भएपछि २०६२÷६३ पछिको राजनीतिक परिवर्तनले गाउँमा पुन: विकासको लहर फैलियो ।

विकासको त्यो लहर सडक निर्माणमा सबैभन्दा बढी भयो ।

गाउँका भीरपाखा, उर्वरफाँट र जलाशय भत्काइन थालियो । सडक खन्ने नाउँमा प्रकृतिमाथि भएको डोजर अत्याचार अहिलेसम्म पनि रोकिएको छैन ।

जव डोजर गाउँमा पस्यो तब गाउँको मौलिकता भत्कियो । आपसी भाइचारा र सामाजिक एकता पनि डोजरे विकासले भत्काउन थाल्यो ।

गाउँमा सडक पुगेपछि जनतालाई सुविधा त पुग्यो तर त्यो सुविधा पनि पक्षपाती भएको स्थानीयवासीको गुनासो छ ।

“सडक पुग्यो, गाडी पनि चल्यो तर,गाडीमा चढ्न सक्ने र चर्को भाडा तिर्न सक्ने हाम्रो अवस्था बनेन” मालिका ५ देवीस्थानका एकजीत बूढाले भन्नुभयो “हाम्रा लागि विकास,आकाशको फल आँखा तरी मर,भनेजस्तै भयो ।”

गाउँमा सडक पुग्नुभन्दा अघि गाउँले आफ्ना श्रमले आफू पालिएका थिए र सहरलाई पनि पालेका थिए ।

गाउँबाट अन्न, दाल, तेल, घीउ, तरकारी सहर जान्थे । अहिले ती गाउँ–गाउँमा छैनन् । हिजो गाउँ भएका ठाउँमा अहिले उराठ र खण्डहर आएको छ ।

शून्यता छाएको छ । फाट्टफुट्ट घर छन् । घरमा ओज छैन, ऊर्जा छैन, चहलपहल छैन । चुहुने छाना, भत्केका पिँढी ।

बनमाराले साम्राज्य जमाएको आँगन र करेसा, त्यही भेटिन्छन् फाट्टफट्ट बुढाबुढी । विदेशिएका छोरा नातिले पठाएका पैसाले धानिने छ उनीहरुको जीविका ।

शिक्षक धनवीर थापा भन्नुहुन्छ, “गाउँको पसलबाट किनेका चामल खाएर गुजारा चलाउछन् गाउँलेहरु । हिजोका बारी, करेसाबारी, खेत बाँझिएका छन् ।

गाउँमा चरा उड्दैनन् । मौरी भुनभुनाउँदैनन् ।” अहिले धान–चामल चाहीँ विदेशबाट ओसार्न पर्ने बनाएको छ ।

वैदेशिक रोजगारीका नाउमा मान्छे बेच्ने कम्पनीवाला गाउँगाउँमा पुगेका स्थानीयवासीको भनाइ छ ।

“गाउँ न पहिलेका गाउँ जस्ता छन्, नत सहर जस्ता नै हुनसकेका छन्” बेनी नगरपालिका– २ का ८६ वर्षीय बेदप्रसाद उपाध्याय भन्नुहुन्छ,“गाउँ वर्णशङ्कर भए, धर्म, संस्कृति, परम्परा, सरसहयोग, ऐंचोपैंचो, झारा, पर्म सबै हराए, नयाँ नयाँ हामीले बुझनै नसक्ने कुरा आए । ”

आसन्न स्थानीय तहको माहौल जिल्लामा तातेको छ । “नेताहरुले गाउँ बस्तीलाई उन्नति–प्रगतिमा अगाडि लानुपर्ने थियो । त्यस्ता नेता निस्केनन् ।

असल र इमानदार नेता हामीले चुनावमा उठाउन र जिताएर पठाउन पनि सक्दैनौँ । चुनावमा जालझेल चल्छ । हामीले भोट नदिए पनि उसैले नै जित्छ ।” बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापाले भन्नुभयो ।

ग्रामीण संस्कृतिको अपचलनसँगै आपसी सद्भाव, सहयोग र परम्परागत मूल्य, मान्यता हराउँदै जान थालेछि ग्रामीण भेगका ज्येष्ठ नागरिक बढी चिन्तित छन् ।

वर्णसंकर संस्कृतिले ग्रामीण जीवनशैलीमाथि अतिक्रमण गर्दै जाँदा एक दिन ग्रामीण सभ्यता नै ध्वस्त हुने हो कि भन्ने चिन्ता जेठो पुस्तालाई छ ।

उनीहरु आफ्ना सन्तानमा देखिएको अस्वभाविक परिवर्तन र उनीहरुको जीवनशैलीका कारण बढी चिन्तित छन् ।

धर्म–कर्म, दान–दातव्य सबै देखावटी कार्यमा मात्रै सीमित भएको र त्यसको मर्म हराउँदै गएको उनीहरुको भनाइ छ ।

“ग्रामीण जीवनको प्राकृतिक स्वाद हराउँदै गएको छ, गाउँमा मानिस गाउँले जस्ता पनि छैनन् र सहरिय जस्ता पनि हुन सक्दैनन्” ७६ वर्षीय दण्डपाणी उहाँ भन्नुहुन्छ “ रेमिट्यान्सले सहरलाई उभों लगायो, गाउँलाई रित्याइदियो ।”

उहाँले भन्नुभयो,“गाउँको घरबारी बेचेर, धितो राखेर वा ऋण लिएर विदेश जान्छन्, कमाए भने सहरमै घर घडेरी किन्छन्, परिवारलाई बसाइँ सार्छन, सहरमै बस्छन्, कमाउन सकेनन् भने भएको गाउँको टुक्राटाक्री बेच्छन् अनि पलायन हुन्छन्, यस्तै चल्दै त आएको छ गाउँमा ।”

बन्दिपुरको कपडा पसलमा विद्युतीय सट हुँदा २५ लाख भन्दा बढीको क्षति

(सुरेन्द्र)काठमाडौं – सिरहाको बन्दीपुरमा एक कपडा पसलमा बुधबार राति विद्युतीय सट हुँदा आगलागि भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरको बाबा ताल जाने बाटको दक्षिण तर्फ रहेको एक कपडा पसलमा विद्युतीय सट हुँदा २५ लाख बराबरको क्षति भएको पीडितले बताएको छन् ।

चाँदनी कपडा पसलको संचालक मैसुधिन मनसुर (मियाँ)ले राती १२ देखि २ बजेको समयमा आगलागि भएको स्थानीयहरुले जानकारी दिदाँ म त्यो स्थलमा पुगेको छु वहाँले बताए ।

उक्त कपडा पसलमा साडी,बालबालिकाहरु लुगाफाटो ,बिबाहको लागि विभिन्न प्रकारका डिजाइनका महगो साडीहरु,पैन्ट सर्ट ,सैनसैथिक साडी रहेको,थानको प्रिन्ट कपडा ,जिन्स पैन्ट ,बैयग,र रेडिमेट आइटमको सम्पुर्ण समानहरु पुर्न रुपमा जलेर नष्ट भएको कपडा पसल संचालकले बताए ।

पसल संचालकले २० वर्ष देखि ६ हजार भाडा तिरेर व्यापारी गर्दै आएको हो ,सधै विद्युतीय राम्रोसँग हेरी बन्द गरी जाने गर्छु भने।वहाँले बन्दिपुरको ईलका प्रहरीमा पनि निवेदन पनि दिई सकेको,वहाँले क्षति बराबर मुल्य सहयोग गरि दिन हुन प्रहरीलाई अपिल गर्नुभएको छ।-

सभापति देउवाद्वारा पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपिल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।

उहाँले आज एक अपिल जारी गरी संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरेर स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनुपर्ने उल्लेख गर्नुभएको हो ।

मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य, मान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्रविरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउनुपर्ने सभापति देउवाको भनाइ छ ।

मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिका बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनुपर्ने यथार्थतालाई आत्मसात गरी यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीचमा देशभर नै स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्ने निर्णय भएको थियो ।

पाँच दलीय गठबन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै कांग्रेसकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचनसम्बन्धी तालमेलको निर्णय कार्यान्वयन गर्न केन्द्रीय कार्यालयमार्फत पार्टीका देशभरका सातवटै प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति र सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको अपिलमा उल्लेख छ ।

सभापति देउवाले पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दागर्दै पनि पाँच दलीय गठबन्धनको निर्णय र सहमतिअनुसार पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनुपर्नेमा, त्यसको विपरीत पार्टीकै केही साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको पाइएकाले तोकिएको समयभित्र त्यस्ता उम्मेदवारी फिर्ता लिन अपिल गर्नुभएको छ ।

साथै उहाँले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि अपिलसमेत गर्नुभएको छ ।

एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति आफू जानकार रहेको उल्लेख गर्दै सभापति देउवाले पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम् भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन उहाँले आग्रह गर्नुभएको छ ।

सभापति देउवाले देशभरका वालिग मतदाता स्थानीय तहमा आफ्ना प्रतिनिधि निर्वाचित गरी आगामी पाँच वर्षका लागि स्थानीय तह सरकारको नेतृत्व स्ुम्पन अत्यन्तै उत्साहका साथ सक्रिय रहेको उल्लेख गर्नुभएको छ ।

पाँच वर्ष अगाडि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित राजनीतिक दल र जनप्रतिनिधिको कार्यशैलीको समग्र मूल्याङ्कन गर्दै आगामी दिनमा थप योग्यता र निष्ठाको कसीमा खरो उत्रिने प्रतिबद्धताका साथ आफ्नो पार्टी र पार्टीले प्रस्तुत गरेका उम्मेदवार र एजेण्डाको पक्षमा सुदृढ जनमत तयार गर्न सम्पूर्ण पार्टीपङ्क्ति हार्दिक एकताका साथ जुटिरहेको उहाँले बताउनुभएको छ ।

आकाशीय ग्रह अनुसन्धान गरिने

काठमाडौँ-नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ ।

आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलगायत सरोकार भएका निकायकाबीच छलफल सुरु गरेको छ ।

आकाशीय ग्रह गति र पात्रोमा राखिने समयको सिद्धान्त पत्ता लगाएर त्यसलाई क्रियात्मक रुप दिन लागिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यसका लागि वेदशालाको स्थापना गर्न पनि मन्त्रालयसँग माग गरिएको उहाँले सुनाउनुभयो ।

आकाशीय ग्रह र गणित एकै रथका दुई पाङ्ग्रा भएकाले अध्ययन अनुसन्धानका लागि वेदशाला अत्यावश्यक भएको समितिको भनाइ छ ।

आकाशमा जस्तो ग्रह गति छ गणितमा दुरुस्त उतार्न अनुसन्धानमा ढिलाइ भइसकेको छ ।

अनुसन्धानबाट गणितमा के सुधार गरिनुपर्छ भन्ने प्रष्ट हुने भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।