धनुषा–४: एमालेका महासेठ विजयी

धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उहाँले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पार्नुभएको हो । यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

उदयपुर-१ मा मतगणना गर्न आयोगको आदेश

निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ ।

मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।

जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै

धनुषा, १२ मङ्सिर । पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा सहभागी हुन अहिले लाखौँ श्रद्धालु भक्तजनले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका मन्दिरका महन्थ रामतपेश्वर दासले बताउनुभयो ।

उहाँका अनुसार सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासीले महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गर्दछन् ।

मैथिल साहित्यकार डा राजेन्द्र विमल भन्नुहुन्छ, “संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखेर रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि सम्पन्न गर्ने र जानकी मन्दिरमा ल्याएर विवाह संस्कार सम्पन्न गरिन्छ । सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।”

राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग शुक्ल पञ्चमीमा राम जानकी विवाहपञ्चमी मेला आयोजना गरिन्छ । 

 आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथका जेठा छोरा श्रीरामचन्द्रले शिव धनुष उठाएर ताँदोमा बाण चढाउँदा भाँचिएपछि मार्गशुक्ल पञ्चमीमा राम जानकीको शुभविवाह भएको प्रसङ्ग सीतोपाख्यानमा उल्लेख छ । उक्त विवाह भएको खुसियालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा रहेको हो ।

राम र जानकीको स्वयंवर भएको भनिएको रङ्गभूमि १२ बिघा मैदानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राममन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगर परिक्रमा गर्दै ल्याउने र जानकी मन्दिरबाट बाजागाजा र लावालस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

त्रेता युगमा मिथिलाका राजा जनकले सीता स्वयंवर आयोजना गर्दा देशदेशान्तरका सयौँ राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दूको आस्थाको केन्द्रका रूपमा रहेको जनकपुरधामलगायत भारतबाट आएका लाखौँ श्रद्धालु डोला नगर परिक्रमा, दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।

जनकपुरधाममा हरेक महिनाको पूर्णिमाका दिन, चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम रामचन्द्रको जयन्ती मनाउन र वैशाख शुक्ल नवमीमा जानकी प्राकट्य महोत्सवका उपलक्ष्यमा पनि यहाँ मेला लाग्ने गर्दछ  । त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला महोत्सव तथा फागुन शुक्लपक्षका बेला पन्ध्र दिवसीय मिथिला पञ्चकोसी परिक्रमा ९जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा० तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा पनि आयोजना गरिन्छ ।  ती सबै उत्सव र पर्वमध्ये राम जानकी विवाह महोत्सव भने बढी श्रद्धा, निष्ठा, उत्साहका र भव्यतापूर्वक मनाइन्छ ।

वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीयाका दिन अयोध्याबाट साधुसन्तसमेतको एउटा जन्तीको डफ्फा९बाराती समूह०लाई जनकपुरधाम आइपुगेपछि स्वागत गरिन्छ । अयोध्याबाट आउने जन्तीलाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा स्वागत गरिन्छ ।

तृतीया तिथिमा राममन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखको उपस्थितिमा तिलकोत्सव ९कुरा छिन्ने काम अर्थात् वाग्दान० सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिमा मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ । पञ्चमी तिथिमा राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल९घरगाउँले समूह वा माइती पक्ष०द्वारा स्वागत अभिवादन गरिन्छ । 

त्यसपछि राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पु¥याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरी राम मन्दिरबाट मण्डपतर्फका महन्थबाट जानकीलाई स्वयम्बर गरिन्छ । स्वयम्बरपछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कंन्छ र त्यसै रात वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

प्रदेशभर सार्वजनिक बिदा

सीताराम विवाह पञ्चमी महामहोत्सवका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो । 

सप्ताहव्यापी मनाइने विवाह महोत्सवको मुख्य दिन आज परेकाले प्रदेश सरकारले विगत वर्षजस्तै सार्वजनिक बिदा दिएको हो । विवाह महामहोत्सवमा आउने तीर्थयात्रीहरूको बसोबास तथा भीड व्यवस्थित गर्न विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ ।

तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि तीन पटक सञ्चालनमा ल्याइएको छ । विवाह पञ्चमीको एक दिन अगाडि आजदेखि रामकलेवासम्म प्रत्येक दिन तीनपटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।

कम्पनीले मङ्सिर ११, १२ र १३ गते भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान ८ः३०, १२ः३० र दिउसो ३ः३० बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ । यसैगरी जनकपुरधामबाट बिहान १०ः४५, १ः४० र ५ः१५ बजे जयनगरका लागि रेल छुट्ने उहाँले जानकारी दिनुभयो । जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालन गरिएको हो ।

रेल सेवाले भारतबाट आउने तीर्थयात्रीलाई जनकपुरधाम आउनका लागि निकै सहयोग मिलेको पनि महोत्तरी जिल्लाको भिट्ठामोड नाकाबाट आएका तीर्थयात्रीका लागि पर्याप्तमात्रामा बस सेवाको व्यवस्था नभएका कारणले तीर्थयात्री कष्टपूर्ण यात्रा गर्न विवश देखिन्छन् ।

थोरै बस सेवा सञ्चालन भएकाले यात्रीले पर्याप्त सेवा नपाएर दुःख भोग्नु परिरहेको दुखेसो तीर्थयात्रीले गरेका छन् । कतिपय यात्रा भिट्ठामोडबाट जनकपुरधामका लागि पैदल नै हिँडेको देखिन्छ ।   

अहिले विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण जनकपुरका होटल, लज र धर्मशाला भरिभराउ हुनाका साथै स्थानीय सङ्घसंस्थाले ठाउँठाउँमा बासका लागि पन्डाल निर्माण गरेका छन् । विषेशगरी नेपाल तथा भारतको विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा तीर्थयात्री जनकपुरधाम आउनेक्रम विगत दुई दिनदेखि जारी छ । 

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ६१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ५० दशमलब ३७ मा ओर्लिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ६५ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलब ६१ मा सीमित भएको छ ।

कूल दुई सय ३६ कम्पनीको ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता शेयर रु एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार छ सय १३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ४६ लाख ४२ हजार सात सय पाँच मूल्यमा कारोबार भयो । नवील बैंक रु सात करोड २४ लाख ५८ हजार चार सय चार, शिवम् सिमेन्ट रु छ करोड १६ लाख ६२ हजार सात सय ४८, एभरेष्ट बैंक रु पाँच करोड ९८ लाख ३१ हजार आठ सय ६१ र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु पाँच करोड ८८ लाख ४४ हजार तीन सय ८५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार खप्तड लघुवित्त आठ दशमलब १८, गरिमा विकास बैंकको ऋणपत्र छ दशमलब ११, नेपाल ल्यूब आयल छ दशमलब शून्य नौ, सिटिजन म्युचुअल फण्ड तीन दशमलब ८८ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलब १६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट चार दशमलब ५६, ओरियन्टल होटल चार दशमलब ३१, जानकी फाइनान्स तीन दशमलब ९६, नेपाल एसबीआई बैंकको ऋणपत्र तीन दशमलब ९६ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले तीन दशमलब ९१ प्रतिशतले गुमाएका छन् । 

निमावि तहको १८३ विज्ञान शिक्षक पद रिक्त

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतीय श्रेणी पदको विज्ञान विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७८ चैत १७ गते र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगितात्मक (सामान्य र विषयगत) लिखित परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले प्रदेश-१ मा १०१ रिक्त दरबन्दीको लागि लिएको परीक्षामा जम्मा ४१ जना, मधेस प्रदेशमा ३५ रिक्त दरबन्दीको लागि ७ जना मात्रै उत्तीर्ण, बागमती प्रदेशमा १०० रिक्त पदका लागि जम्मा ५७ जना मात्रै उत्तीर्ण भएका छन् ।

गण्डकी प्रदेशमा १०१ रिक्त पदको लागि ७३ जना उत्तीर्ण, लुम्बिनी प्रदेशमा ६० रिक्त पदको लागि ४७ जना, कर्णाली प्रदेशमा २९ जनाको लागि २१ जना र सुदूरपश्चिम प्रदेशको लागि ११ जना मात्रै उत्तीर्ण भएका छन् ।

आयोगले सबै प्रदेशमा ४४० रिक्त दरबन्दीको लागि सञ्चालन गरेको परीक्षामा २५७ जना मात्रै उत्तीर्ण भएका छन् । आयोगले माग गरेको रिक्त दरबन्दी र सार्वजनिक लिखित परीक्षाको नतिजा हेर्दा फेरि पनि १८३ पद रिक्त हुने देखिएको छ ।

आयोगको सूचना अनुसार उत्तीर्ण शिक्षकहरूको अन्तर्वार्ता मंसिर २८ गते सञ्चालन हुनेछ ।

चीनमा पछिल्लो २४ घण्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिए

एजेन्सी । चीनमा पछिल्लो २४ घण्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको सख्ंया तीब्र ढंगले बढिरहेको छ ।

सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरु भएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् । राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरेका हुन् ।

उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शनहरू सुरु भएका हुन्।

मंसिर १२ गते सोमबार, यस्तो छ तपाईंकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । शेयर बजार र पेसाव्यवसायका क्षेत्रमा फाइदा पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्राे पात्राे

ओलीका विश्वास पात्रहरूको पराजय

काठमाडौं । गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र पार्टी अध्यक्ष ओलीका सबैभन्दा नजिक रहेर पार्टीको माथल्लिो तहमा बसेका ‘हेभिवेट’ भनिएका नेताहरू नै पराजित भएका छन् ।

एमाले अध्यक्ष ओलीको सबैभन्दा नजिक रहेर पार्टी कार्यकर्ता परिचालन गरिदिने महेश बस्नेतदेखि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसमेतलई हार व्यहोर्नुपरेको छ । काठमाडौं–५ मा एमालेको विरासत धान्दै आएका वरिष्ठ उपाध्यक्ष पोखरेल यसपटक नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित हुनुभयो । पहिलोपटक प्रतिनिधिसभामा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता पौडेलले पोखरेललाई ५ हजार ९८ मतान्तरले पराजित गर्नुभयो ।

पार्टीले तनहुँमा टिकट व्यवस्थापन गर्न नसकेपछि जुनसुकै क्षेत्रमा पनि चुनाव लड्ने आँट गरेर आएका युवालाई काठमाडौं–५ का मतदाताले पत्याएको नेपाली कांग्रेसका वैचारिक नेता नरहरि आचार्यले नेपाल समाचारपत्रलाई बताउनुभयो ।काठमाडौं ५ का जनता कसैका नभई स्वतन्त्र निर्णय गर्न सक्ने क्षमताका भएको र मतदाताको क्षमतासँग कांग्रेसका उम्मेदवारको पनि क्षमता मिल्ने भएकाले पौडेललाई जित हासिल गर्न सहज भएको उहाँको बुझाइ छ । यस क्षेत्रलाई आफ्नो विरासत ठान्दै आएका पोखरेलले पटक–पटक सत्तामा बसेर देश र नागरिक प्रतिकूल र आफू अनुकूल हुने गरी काम गरेको आरोप खेप्दै आउनुभएको थियो ।

पार्टीको दोस्रो वरीयता क्रममा रहेका पोखरेल ओलीको उत्तराधिकारी बन्ने लाइनमा हुनुहुन्थ्यो ।त्यस्तै, एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्रनम्बर २ बाट १९७ मतान्तरले निर्वाचन हार्नुभयो । पार्टीको उच्च तहको जिम्मेवारीमा रहेका पोखरेललाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले हराउनुभयो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६ सय ८० मत पाउनुभएको थियो । ओलीकै नजिक रहेर सत्ता र पार्टीभित्र पटक–पटक अवसर पाइसकेका पोखरेल सञ्चारमन्त्री र मुख्यमन्त्रीसमेत भइसक्नुभएको छ । उहाँको पराजयले ओलीलाई सत्ता यात्रामा चुनौती थपिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

अध्यक्ष ओलीको सबैभन्दा प्रियपात्र बनेका नेता महेश बस्नेत पनि योपटक संसद् छिर्न पाउनुभएन । युवासंघको नेतृत्वमा आउँदादेखि नै ओलीका हरेक राजनीतिक गतिविधिलाई नजिकबाट साथ दिँदै आएका बस्नेतले भक्तपुर क्षेत्र नं। २ बाट पराजय व्यहोर्नुप¥यो । उहाँले २०७० सालमा चुनाव हारे पनि २०७१ भदौदेखि २०७२ असोजसम्म उद्योगमन्त्री भएर काम गर्नुभएको थियो । उहाँले एमाले–माओवादी केन्द्रबीच वाम गठबन्धन भएको २०७४ सालको आम निर्वाचनमा भक्तपुर–२ क्षेत्रमा कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई पराजित गर्नुभएको थियो । बस्नेत अहिले सोही निर्वाचन क्षेत्रबाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता दुर्लभ थापासँग पराजित हुनुभयो । थापाले २३ हजार ५ सय मत पाउँदा बस्नेतले २२ हजार ६ सय ७७ मत पाउनुभएको छ । संसद्मा बस्नेतको अनुपस्थितिले केपी ओलीलाई सत्ता निर्माणको संसदीय खेलमा घाटा पुग्ने एमालेकै नेताहरू बताउँछन् ।

ओलीका अर्का विश्वास पात्र प्रदेशनम्बर–१ का पूर्व मुख्यमन्त्री तथा पूर्वसञ्चारमन्त्री शेरधन राईलाई योपटक संसद् छिर्न नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले रोक लगाउनुभयो । भोजपुरबाट सत्ता गठबन्धनका साझा उम्मेदवार किरातीले १९ हजार ४ सय ८५ मत लिएर निर्वाचित हुँदा शेरधनले १७ हजार ५ सय ८१ मत पाउनुभयो । पार्टी अध्यक्ष ओलीले गरेका हरेक निर्णयका पक्षमा खरो उत्रने राईले प्रदेशको नामकरण समेत गर्न नसकेको आरोप खेप्दै आउनुभएको थियो ।

ओलीकै आडमा बसेर पटक–पटक सत्ताको स्वाद लिएका राईले पार्टी र नागरिकप्रति भन्दा बढी ओलीप्रति उत्तरदायी बन्ने गरेको आरोप एमालेकै एकाथरि कार्यकर्ताहरूले लगाउँदै आएका थिए । पार्टी अध्यक्ष ओलीको विदेश विभागसँग सम्बन्धित सबै काम धानेर बस्नुभएका राजन भट्टराई पनि यो संसद्मा नदेखिनुहुने भएको छ । भट्टराई नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग भारी मतान्तरसहित पराजित हुनुभयो । थापाले २१ हजार ३ सय २ मत ल्याउँदा एमालेका भट्टराईले १३ हजार ८ सय ५५ मत पाउनुभएको थियो ।

त्यस्तै, खोटाङबाट विशाल भट्टराईको पराजयले पनि ओलीलाई घाटा पुगेको छ । संसद्मा ओलीका पक्षमा कडा रूपमा उत्रने पात्रमध्ये विशाल पनि एक हुनुहुन्थ्यो । उहाँ खोटाङबाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका राजकुमार राईसँग पराजित हुनुभयो । राईले ३१ हजार ३ सय ५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६८ मत पाउनुभएको छ । ओली निकट मानिने अर्का नेता ऐन महर पनि बझाङमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित हुनुभएको छ । जोशीले २८ हजार १ सय ४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत पाउनुभएको छ । ओलीका विश्वास पात्रसँगै पार्टी सचिव लेखराज भट्ट, सुरेन्द्र पाण्डेलगायतका पदाधिकारीहरू समेत यसपटक संसद्मा आउन सक्नुभएन । यसले एमालेलाई संसदीय उपस्थितिमा कमजोर बनाउनुका साथै सरकार गठनमा समेत असर पर्ने देखिएको छ ।

यो निर्वाचनमा एमाले नेतृत्व तहमा बसेका प्रायः नेताहरूले हार्नुको पछाडि पार्टी अध्यक्ष ओलीको एकाधिकारवाद भएको स्वयं एमाले कार्यकर्ताहरू नै बताउँछन् । यद्यपि, ओलीलाई नजिकबाट सहयोग गर्ने, उहाँका सबै निर्णयलाई पार्टी पंक्तिमा हुबहु कार्यान्वयन गराउन निरन्तर लागि पर्ने र पार्टीभित्र तथा बाहिरका प्रतिपक्षहरूलाई तल्लो स्तरमा झरेर आलोचना गर्ने गोकुल बाँस्कोटा र सूर्य थापाले चुनाव जित्नुभएको छ । ओलीलाई आगामी संसद्मा थापा र बाँस्कोटालगायतका केही पात्रले सहयोग गरे पनि महत्वपूर्ण र विषयगत क्षेत्रमा दख्खल राख्ने ओलीका मुख्य खम्बाहरू नै ढलेपछि ओलीलाई आगामी सत्ता समीकरणमा समेत असर पर्ने देखिन्छ ।

ओलीका पक्षमा बलियोसँग उभिने नेताहरूको पराजयले आगामी सदन र सरकारमा ओलीलाई चुनौती थपिएको विश्लेषण गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले सुझाव दिनुभयो– ‘विगतमा सर्वभौम संसद्मा देखिएको ओली प्रवृतिलाई मलजल गर्ने एमालेका नेताहरूलाई जनताले यसपटक अनुमोदन नगरेर ओलीलाई पनि सच्चिने मौका दिएकाले यो जनअभिमतलाई ओलीले कार्यशैली परिवर्तनको अवसरको रूपमा लिनुपर्छ ।’

नेप्सेमा उच्च अंंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज साताको कारोबारको पहिलो दिन आइतबार (आज) नेप्से ३२.४३ अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ९८ विन्दुमा बन्द भएको हो । साताको अन्तिम दिन बिहिबार नेप्से ११.५६ अंकले बढेर एक हजार ९ सय ३३ दशमलब ५५ विन्दुमा बन्द भएको थियो ।

आज नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्सेमा २ अर्ब २ करोड ५४ लाख रुपैयाँ बराबरको करोबार भएको छ । बिहिबार नेप्सेमा ९२ करोड ५१ लाख रुपैयाँ बराबरको करोबार भएको थियो ।

कारोबारमा आएका कम्पनीहरुमध्ये १६९ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने २० वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ९७४ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एनएमबी आइब्रिड फण्ड एल–१ को शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी मिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४५ करोड ४ लाख भन्दा बढीको कारोबार भएको छ ।

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उत्तीर्ण

काठमाडौँ । आयोगले सबै ७ प्रदेशका लागि ३८१ शिक्षक माग गरेको थियो । गत चैत १७ गते भएको सामान्य लिखित परीक्षा र असार ११ गतेको विषयगत लिखित परीक्षा उत्तीर्ण हुने जम्मा ५७ जना मात्र भएका छन् ।

अब यी ५७ जनाले अन्तर्वार्ता परीक्षा दिनुपर्नेछ, सबै परीक्षार्थी अन्तर्वार्तामा उत्तीर्ण हुँदा पनि ३२४ दरबन्दी रिक्त नै रहने भएको छ ।

आयोगका अनुसार मधेस प्रदेशमा निमाविको गणित विज्ञानका लागि २० शिक्षक माग गरिएको थियो । तर आवेदन दिएका परीक्षार्थीमध्ये कोही पनि विषयगत लिखित परीक्षामा उत्तीर्ण हुन सकेनन् ।

प्रदेश १ मा १६१ रिक्त पदको लागि २४, बागमती प्रदेशमा ५८ रिक्त पदको लागि जम्मा २ जना, गण्डकी प्रदेशमा ३९ रिक्त पदको लागि जम्मा पाँच जना उत्तीर्ण भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३३ रिक्त पदको लागि ५ जना, कर्णाली प्रदेशमा २३ रिक्त पदको लागि ७ जना र सुदूरपश्चिम प्रदेशमा ४७ रिक्त पदको लागि १४ जना उत्तीर्ण भएका छन् ।

उत्तीर्ण शिक्षकहरूको अन्तर्वार्ता मंसिर २८ गते हुने आयोगले जनाएको छ ।

फेवातालमा एक महिला मृत फेला

९ मंसिर । कास्की, पोखरा महानगरपालिका २२ स्थित फेवातालमा एक महिला मृत फेला परेकी छिन् ।

रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री शुक्रबार मृत अवस्थमा फेला परेकी छिन् ।

गत आइतबार फेवा तालमा डुङ्गामा चढीरहेको अवस्थामा लाईफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी उनको वडा प्रहरी कार्यालय बैदाम र गोताखोर समेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।

थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ९ मंसिर । देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ३८१ जनाको नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ३२७ रहेको छ।

भारतमाथि न्यूजिल्याण्डको फराकिलो जित

काठमाडौं । न्यूजिल्याण्ड घरेलु टोलीले पहिलो खेलमा भारतलाइ सात विकेटले विजयी भएको छ । शुक्रबार सम्पन्न खेलमा भारतले दिएको ३ सय ७ रनको लक्ष्य न्यूजिल्याण्डले ४७.१ ओभरमा तीन विकेट गुमाएर जित हात पारेकाे छ । उसका लागि टम लाथमले करियरकै उत्कृष्ट ब्याटिङ गरे ।

१०४ बलको सामना गरेका लाथमले १९ चौका र पाँच छक्कासहित अविजित १४५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो उच्च स्कोर हो । यसअघि यो प्रारूपमा लाथमको उच्च स्कोर १३८ रन थियो । त्यस्तै, उनको यो सातौँ शतक हो । कप्तान केन विलिम्यसनले पनि आज उत्कृष्ट पारी खेले ।

९८ बलको सामना गरेका उनले सात चौका र एक छक्काको सहयोगमा अविजित ९४ रन बनाए । विलियम्सन र लाथमबीच चौथो विकेटका लागि १६५ बलमा अविजित २२१ रनको साझेदारी बन्यो । त्यस्तै, डेभन कन्वेले २४, फिन एलनले २२ र डारियल मिचेलले ११ रन जोडे । भारतका लागि उमरान मलिकले दुई र शार्दुल ठाकुरले एक विकेट लिए ।

त्यसअघि अकल्याण्डस्थित इडेन पार्क मैदानमा टस हारेर ब्याटिङ गर्ने मौका पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ६ रन बनाएका थिए । उसका लागि श्रेयस अय्यरले उत्कृष्ट पारी खेले । उनले ७६ बलमा चार चौका र चार छक्काको मद्दतमा ८० रन बनाए ।

त्यस्तै, ओपनिङ ब्याटर तथा कप्तान शिखर धवन र शुभमन गिलले पनि अर्धशतकीय पारी खेले । धवनले ७७ बलमा १३ चौकाको मद्दतमा ७२ र गिलले ६५ बलमा एक चौका र तीन छक्काको सहयोगमा ५० रनको योगदान दिए । त्यस्तै, वासिङ्टन सुन्दरले विस्फोटक पारी खेले ।

उनले १६ बलमा तीन चौका र तीन छक्काको सहयोगमा नटआउट ३७ रन बनाए । त्यस्तै, सन्जु सामसनले ३६ र ऋषभ पन्तले १३ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि लकी फग्र्युसन, टिम साउथीले तीन/तीन र एडम मिल्नेले एक विकेट हात पारे । आजको जितसँगै तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता लिएको छ । भारत न्यूजिल्याण्डबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।

रुपन्देही-२ को मत गणना सुचारु गर्न आयोगको निर्देशन

काठमाडौँ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको हो ।

बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धनसहित केही दलले मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेका थिए । सोही माग अनुसार शुक्रबार बिहानबाट त्यहाँ मत गणना रोकिएको थियो ।

‘मत पेटिकाभित्र भएका मतपत्र सङ्ख्यालाई नै वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारु गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएकाले निर्णयअनुसार हुन अनुरोध छ,’ आयोगका उपसचिव ऋषिराम भुसालले पठाएको पत्रमा भनिएको छ ।

देशलाई गलत दिशातर्फ लैजान खोजेको ओलीको टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको टिप्पणी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको निर्वाचन परिणामबारे सोधेको प्रश्नमा ओलीले देशलाई हाहा हुहुतिर लैजान खोजेको आरोप लगाए ।

बिहीबार झापामा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका केही उम्मेदवारले जित हासिल गर्नु मामुली कुरा भएको बताए ।

के गन्तव्य हो, के कार्यक्रम हो, के नीति हो केही छैन, हाहा हुहुमा देश त चल्दैन ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई प्रोत्साहन गर्न आवश्यक नभएको बताए । ‘भविष्यलाई जिम्मेवार ढंगले सोच्ने भन्दा हाहा हुहुमा देशलाई लैजान खोज्ने कुरा नेपालको हितमा छैन ।’