एमालेका मन्त्रीहरूले बुझाए राजीनामा

काठमाडौँ — सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्रीहरु प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् । 

एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । परराष्ट्रमन्त्री बिमला राई पौड्यालले दिउँसो साढे ३ बजेपछि प्रधानमन्त्रीलाई पार्टीबाट मन्त्री भएका सबै जनाले राजीनामापत्र बुझाएको बताइन् । ‘भर्खरै हामी सबैजनाले राजीनामापत्र प्रधानमन्त्रीलाई बुझाएका छौं,’ उनले भनिन् ।

राजनीति नगर्न कर्मचारीलाई मन्त्री अब्दुलको निर्देशन

काठमाडाै । खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई खानेपानीमन्त्री अब्दुल खानले निर्देशन दिएका छन् । सोमबार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिएका हुन् ।

उनले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिए । उनले कर्मचारीहरूले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पुर्‍याउनका लागि आन्दोलन गर्नुपर्ने बताए ।

उनले काभ्रेपलाञ्चोकको पनौतीस्थित खानेपानी संस्थानलाई निजीकरण गर्नेकुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिन भित्रमा पेस गर्न खानेपानी संस्थानलाई निर्देशन दिए ।

मन्त्री खानले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गरे ।   

अभिनेता पल शाह रिहा

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।

रिहा भएपछि उनी काठमाडौँ आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।  तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।

पल शाह आज रिहा हुँदै

काठमाडौँ । बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले हिजो सफाइ दिएको छ । उच्च अदालतले सफाइ दिएपछि पल आज रिहा हुने भएका हुन् ।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले हिजो नायक शाहलाई सफाइ दिएको हो । नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो ।

शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतको हिजोको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाह अब कारागारमुक्त हुने उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए । उच्च अदालत पोखराले १५ दिन अगाडि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।

शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

आज पनि हल्का वर्षाको सम्भावना

काठमाडौं । पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै यो वर्ष प्रि-मनसुन सुरु हुनुभन्दा अगाडिको गतिविधि सक्रिय देिखन्छ ।

त्यसैकारण आइतबार काठमाडौं उपत्यका र त्यस आसपासका जिल्लाहरुमा मेघगर्जनसहित यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो ।

बेलुकादेखि रोकिएको वर्षा सोमबार (आज) दिउँसो पुनः सुरु हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले काठमाडौं उपत्यकामा आज दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए ।

उनका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजिनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन ।

प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालि रहेका छन ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।

बन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिना देखी रिक्त हुदैँ आएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारवाट बाहिरिने निर्णय गरेसँगै यसअघि गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।

आइतवार राप्रपाका मन्त्रीहरुले राजिनामा दिए पछि उर्जा, जलस्रोत, सहरी बिकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो ।

राप्रपाका मन्त्रीहरुका राजिनामा स्विकृत भएसँगै दुई महिना भित्रमा प्रचण्ड सरकारका ८ मन्त्रालय रिक्त हुन पुगेको छ ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

सडक नै नभएको ठाउँमा पुल बनाउने तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक नै नभएको ठाउँमा पुल बनाएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिडिई ओमराज ढुङ्गानाविरुद्द मुद्दा दायर गरेको हो । 

उनीहरुले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । भ्रष्टाचार गरेको आरोपमा तीनै जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।   

गोरखा नगरपालिका वडा नं. ३ जरेवरस्थित दरौदी नदी माथि तत्काल बाटो नभएको स्थानमा पुल राखेर जनताको करको पैसा दुरुपयोग गरेको भन्ने उजुरी आयोगमा परेको थियो । यसबारे अनुसन्धान हुँदा गण्डकी प्रदेशको भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको पाइएको थियो । 

उक्त पुलको स्थान र नाम परिवर्तन, पुल डिजाईन गराउन स्वीकृत गर्नुका साथै सो दरौदी खोला पुल, जरेवरको निर्माण कार्य गराउन निजले निर्णय गरी मन्त्रालयस्तरबाट उक्त पुलको छनौट गराएको पाइएको छ । जसका लागि कार्यक्रम तयार गरी स्वीकृतिको लागि प्रदेशसभामा पेश गरी राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरुपयोग गरेको कार्य भ्रष्टाचार गरेको आयोगको भनाई छ । अख्तियारले उनीसंग ५ करोड ४५ लाख ५२ हजार ६७१ रुपैयाँ बिगो कायम गरी कैद सजायको माग गरेको छ ।

उक्त कार्यमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालय अन्तर्गत प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठ पनि संलग्न रहेको आयोगको आरोप छ । उनले सो दरौदी खोला पुल, जरेवरको निर्माण कार्य गराउन बदनियतपूर्वक गुरु योजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा समेत नपर्ने काल्पनिक सडकको नाम दिई जरेवरस्थित दरौदी खोला पुलको डिजाइन गराएको पाइएको छ । सोवापत भुक्तानी भएको ५ लाख ७१ हजार ७८० रुपैयाँ  राज्यको सम्पत्ति तत्काल औचित्य नभएको स्थानमा खर्च गरी सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ । उनीसंग पनि सो बराबरको बिगो माग गरिएको छ । 

त्यस्तै, पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओम राज ढुङ्गानाले बदनियतपूर्वक कार्य गरेको आयोगले जनाएको छ । उनले जसका लागि गुरु योजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा समेत नपर्ने काल्पनिक सडकको नाम दिएका थिए । जरेवरस्थित दरौदी खोला पुलको एकापट्टि रहेको पहुँचमार्ग सामुदायिक वनक्षेत्रमा कथित पुल निर्माणको नाममा वनको अनुमति वेगर सार्वजनिक वनक्षेत्रको जथाभावी प्रयोग गरी बाटो निर्माण गराई राज्यको सम्पत्ति तत्काल औचित्य नभएको स्थानमा बजेट खर्च गर्ने कार्य उनले गरेका थिए ।       

नेप्सेमा झिनो अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकले बढेको छ । आजको कारोबार शुरुदेखि नै उच्च अंकले घटेको नेप्से अन्तत सामान्य अंकले बढेर बन्द भएको हो ।  

आज नेप्से ४.५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको  छ । आज नेप्सेमा दुई अर्ब ५२ करोड ५० लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको  थियो ।

कारोबारमा आएका १३ वटा उपसमुहमध्ये ५ उपसमुह घटेका छन् भने बाँकी सबै उपसमुहको सूचक बढेका छन् । लघुवित्त उपसहुको सूचक सर्वाधिक २.७८ प्रतिशतले बढेको छ । यस्तै होटल तथा पर्यटन, फाइनान्स, विकास बैंक, हाइड्रोपावर, लगानी, अन्य र निर्जीवन बीमा उपसमुहको सूचक सकरात्मक भएका छन् ।

यता व्यापार उपसमुहको सूचक भने सबैभन्दा धेरै १.४० प्रतिशतले घटेको छ । यस्तै बैकिङ्ग, उत्पादन तथा प्रशोधन, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको सूचक भने नकरात्मक देखिएका छन् ।

आइतबार नेप्से सूचक ४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा पुगेर बन्द भएको हो । यस दिन २६२ कम्पनीका ६५ लाख १५ हजार ८५२ कित्ता शेयर किनबेच भएर २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिस्टीलरी शिर्ष स्थानमा रहेको छ । हिमालयन डिस्टीलरीको सबैभन्दा धेरै १० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको पनि ७ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

लघुवित्त उपसमुहको सूचक सर्वाधिक २.७८ प्रतिशतले बढ्दा लाभांश वितरण गर्न बाँकी अधिकाँस लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्य बढेको छ । यस दिन सबैभन्दा धेरै विजय लघुवित्तको शेयरमूल्य ७.९४ अंकले बढेको छ । यस्तै ग्रिन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, मिर्मिरे लघुवित्त आराम्भ चौतारी लघुवित्तलगायतको शेयरमूल्य बढेको छ ।

यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सबै भन्दा धेरै ५.३६ प्रतिशतले घटेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेष्डो लघुवित्त र जल्पा लघुवित्त लगायतको शेयरमूल्य घटेका छन्।

करार सेवाका कर्मचारी निस्कासन गर्दै सरकार (पत्रसहित)

अहिले अधिकांश मन्त्रालय,विभागदेखि कार्यालयहरुसम्ममा करारका कर्मचारीको हैकम छ । अझैं कतिपय निकायमा त करार सेवाका कर्मचारीलाई देखाएर स्थायी नियुक्ति लिएका कर्मचारीलाई हाजिरै गर्न नदिइएको पीडा नियुक्त भएका कर्मचारीहरुले पोखेका थिए ।

करारवालाको पावर कस्तोसम्म छ कि,केही दिन अघि उद्योग विभागमा एक जना हाकिम थिए,उनले त्यहाँ कार्यरत एक जना करार सेवाको महिला कर्मचारीलाई हटाउन खोजे । बदलामा भोलीपल्टै उनको सरुवा त्यहाँबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा गराइयो । ती सहसचिवले हटाउन खोजेका करार सेवाको कर्मचारी कुनै सचिवको गर्लफ्रेण्ड थिइन । ती सचिव अहिले पनि सरकारी सेवामै छन् ।
एकातिर करार सेवाका कर्मचारीको कारण विकृती छँदै थियो अर्काेतर्फ अहिलेको राजश्वले करार सेवाका कर्मचारीलाई पाल्न नसकिने भन्दै करारमा कार्यरत कर्मचारी हटाउने तयारीमा जुटिरहेको छ सरकार ।
सरकारले करार सेवामा कार्यरत कर्मचारी हटाउने तयारी थालेको छ । अत्यन्त आवश्यक र प्राविधिक बाहेक अन्य करारका कर्मचारी हटाउने तयारी स्वरुप अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै करार सेवामा कार्यरत कर्मचारीहरुको विवरण माग गरेको छ ।
अर्थ मन्त्रालयले सबै मन्त्रालयहरु सबै निकायलाई आफू मातहतको निकायमा रहेको कर्मचारीको सबै विवरण पठाउन पत्रचार गरेको हो । अर्थद्धारा गरिएको पत्राचारमा कार्यरत करार सेवाका कर्मचारी र ज्यालादारीमा काम गर्ने व्यक्तिको विवरण उपलब्ध गराइदिन अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णय भए अनुसार अनुरोध छ भनिएको छ ।
चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो।

पौडेल राष्ट्रपति बन्छन् त ? अब अंकगणित यस्तो हुनेछ

काठमाडाै‌ । केही बेर अघि सम्पन्न भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उमेद्धार बनाउने निर्णय गरेको हो ।

अहिले नयाँ समिकरणमा आठ दलीय गठबन्धन बनेसँगै राष्ट्रपति काँग्रेसको पोल्टामा पर्ने भएको हो । काँग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावलाई बैठकले पारित गरेपछि पौडेल राष्ट्रपति उम्मेदवार बन्ने भएका छन् ।

यता,राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। आजै बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा एमाले,राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीहरु बाहिर हुँदा रामचन्द्र पौडेल राष्ट्रपति बन्न सक्लान वा नसक्लान ?
संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत बढी अर्थात २६ हजार ३१५ मतभार पुर्‍याउनु पर्दछ । कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जसपासँग दुई हजार १४५ मतभार छ । जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा पनि थपिएकाले २५ फागुनमा हुने निर्वाचनमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुने प्रवल सम्भवना छ ।

राप्रपा सरकारबाट बाहिरियो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ, राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेसंगै मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा नरहने भन्नेबारे निर्णय गरेको हो । साथै राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिएको छ ।

फागुन १३ गते शनिबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष

आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

मिथुन

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । व्यवसायमा सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक यात्राको योग रहेको छ ।

सिंह

आज लाभ,हानी, आय,व्यय, सुख,दुख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नसक्छ ।

तुला

मन भावुक र उत्ताउलो बन्नसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटाव पनि आउला ।

धनु

सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । पहेंलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

वृष

मन प्रसन्न रहने र मनमा शान्ति मिल्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।

कर्कट

आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

कन्या

आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ । जोश जाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ ।

वृश्चिक

सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर

आज रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । कृषि कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

मीन

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । 

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।एमाले-माओवादी गठबन्धन भत्किएपछिको राजनीतिक घटनाक्रम र राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

आज बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । एमालेसचिव योगेश भट्टराईले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् । पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कार्यसम्पादन समितिको बैठकले गरेको हो। 

सम्पदा अभिलेख विद्युतीकरण गर्नु अपरिहार्य छ : सचिव रेग्मी

काठमाडौ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले नेपालका सम्पदा अभिलेख संरक्षणको अवस्था अबको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सरोकारवाला निकायका प्रतिनिधिहरुबीच सम्पन्न गरेको छ ।

पछिल्लो समय नेपालमा रहेका सांस्कृतिक र पुरातात्विक सम्पदाहरुको लोप हुँदै र अभिलेख कमजोर बन्दै गईरहेको अवस्थामा यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको भुमिका बाट मन्तव्य राख्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले भूमि तथा सम्पदा अभिलेखन हुनुपर्ने बताउनुभयो । अभिलेख सुरुमै जन्मिन पनि सक्छ, पछि हामीले जन्माउन पनि सक्छौँ । अभिलेख सुचनाको स्रोत हो । यसको नीति निर्माणको लागि आवश्यक छ । त्यसैले अभिलेखन कार्य महत्वपूर्ण कार्य हो । यो हुनुपर्दछ । अभिलेखन राम्रो नहुँदा विभिन्न समस्याहरु भोग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सीमा सम्बन्धी स्पष्ट अभिलेख नहुँदा अहिले सीमा विवादहरु देखिने गरेको छ, त्यसैले सीमासम्बन्धी भएका विभिन्न सन्धी सम्झौताहरुलाई पनि राम्रोसँग अभिलेखिकरण गर्नुपर्दछ ।’ सचिव डा रेग्मीले आफूँ राष्ट्रिय किताबखानामा हुँदा अभिलेखसम्बन्धी कार्यलाई चुस्त दुरुस्त बनाउन सफल भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म किताबखानामा रहँदा अभिलेख कार्यलाई विद्युतीकरण गर्न सफल भएको थिएँ, अहिले त्यहाँबाट प्राप्त हुने सेवा प्रवाह निकै नै प्रभावकारी र चुस्त छ ।’ उहाँले आफूँले गरेका कामहरुलाई प्रचार प्रसार गर्न जरुरी रहेको भन्दै म मेरो पहिचान अभिलेख पहिचानकै माध्यमबाट गर्न चाहान्छु । नेपाल सरकारले समेत अभिलेखसम्बन्धी कार्यलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले मन्त्रालय मातहत कार्यालयहरुको अभिलेख सम्बन्धित मन्त्रालयले राखेको जानकारी गराउनुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपाललाई धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जनसरोकार र सामाजिक सरोकारका मुद्दाहरुलाई जोडतोडका साथ उठान गर्ने र बहसमा ल्याईरहेकोले यो संस्थालाई म हार्दिक धन्यवाद दिन चाहान्छु ।’ उहाँले यस तराई विकास तथा सञ्चार केन्द्र नेपाललाई आगामी दिनमा यस्ता खाले जनसरोकार, सार्वजनिक सरोकार र सामाजिक सरोकारका विषयहरुमा अझ केन्द्रित भएर अगाडि बढोस् भन्ने शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरश श्रेष्ठले अभिलेखसम्बन्धी थुप्रै कानुनहरु रहेको कानुन कार्यान्वयनको विषयमा समन्वय हुन नसक्दा केही चुनौतीहरु खडा भएको भन्दै यसलाई अन्तरमन्त्रालयका बीचमा नजिक ल्याउन जरुरी भएको बताउनुभयो । कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिखेल विभागका महानिर्देशक पदम निधि सोतीले नेपालका सांस्कृतिक सम्पदाहरुको अभिलेख विभागसँग रहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘पशुपती, लुम्बिनी, बागमति, बौद्ध लगायतका सांस्कृतिक सम्पदा, सार्वजनिक र सरकारी जग्गाहरुको कागजी नापनक्सा विभागमा रहेको छ तर, त्यसको संरक्षण गर्ने दायित्व भने विभाग होइन ।’ कार्यक्रममा गुठी संस्थानका किरण शाक्यले अन्तर निकायको समन्वयमा हुन नसक्दा अभिलेख कार्य चुनौती रहेको बताउनुभयो ।

पुरातत्त्व बिभागका प्रमुख योजना अधिकृत राम बहादुर कुवरले सबै क्षेत्रका सम्पदा संरक्षणमा बिभाग लागिरहेको बताउदै सबैको सहयोग अवस्यक रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले नेपालमा हिन्दु सभ्यता र बौद्ध सभ्यतासँग जोडिएका सम्पदाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सयौं वर्ष अगाडि निर्माणमा भएका मठ मन्दिर, स्तुपाहरुको स्पष्ट अभिलेख नहुँदा नामेट हुँदै गईरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुरातत्व विभागका प्रतिनिधि, सञ्चारकर्मी तथा सम्पदाविद् दामोदर न्यौपाने साहित्यकार चेतनाथ धमला लगायतका व्यक्तित्वहरुले आ आफ्नो धारणा राख्नुभएको थियो ।त्यसैगरी कार्यक्रममा समाजसेवी पासाङ तेम्बा लामाले बिश्व सम्पदा सुचीमा रहेका सम्पदाहरु नाजुक मात्रै होइन पुजारीका भेषमा बसेका चीनिया लामाभुपती लामा जस्ता नक्कली काम गर्नेलाई पटकपटक दोहोराउनु रहस्यमय रहेको बताउदै अब यस्तो प्रवृत्ति हाबी नहोस् भन्दै अक्रोस पोख्नुभयो।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै पर्यटन तथा संस्कृति मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठ ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पदमनिधी सोती ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै गुठी संस्थानका प्रशासक किरण शाक्य ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै पुरातत्व विभागका प्रमुख योजना अधिकृत रामबहादुर कुवर ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै सञ्चारकर्मी एवं सम्पदाविद् दामोदर न्यौपाने ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै समाजसेवी पासाङतेम्वा लामा ।