‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि

गण्डकी । नेपाल खेलकुद महासङ्घ समाजवादी (नेकोस)द्वारा आयोजित ‘नेकोस खेलकुद महोत्सव’ शनिबारदेखि सुरु हुँदैछ ।

उक्त महोत्सवमा समावेश दस खेलमध्ये योग खेल र स्केटबोर्ड पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । शनिबार र आइतबार ती खेल सञ्चालन हुने महासङ्घका अध्यक्ष केशवकुमार विष्टले बताए । महोत्सवका अन्य खेल यही असोज २० गतेदेखि २३ गतेसम्म काठमाडौँ, ललितपुर र हेटौँडामा सञ्चालन हुने उनको भनाइ छ ।

महोत्सवमा राष्ट्रिय खेल भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, बि बोइङ, फुलकन्ट्याक्ट कराँते, सेपाकताक्रो, बुद्धिचाल, योग खेल र स्केटबार्ड सञ्चालन हुनेछ । “केही लोकप्रिय र केही आझेलमा परेका खेललाई महोत्सवमा समावेश गरिएको छ”, अध्यक्ष विष्टले भने, “खेलाडी र खेल क्षेत्रको विकासमा टेवा थप्न महोत्सव राखिएको हो ।”

शनिबारदेखि खेल प्रतियोगिता सुरु भए पनि महोत्सवको औपचारिक उद्घाटन भने यही असोज २० गते काठमाडौँमा गरिने भएको छ । पोखरामा सञ्चालन हुने योग खेल र स्केटबोर्डमा देशभरबाट करिब दुई सय जना खेलाडीले भाग लिने जनाइएको छ ।

ती खेलका विजेता खेलाडीलाई आइतबार पोखरा रङ्गशालामा हुने विशेष समारोहमा पुरस्कार वितरण गरिने भएको छ । महोत्सवमा हुने सबै प्रतियोगितमा सातै प्रदेशको सहभागिता रहने अध्यक्ष विष्टले बताए । “कपितय खेलमा खुला रुपमा पनि खेलाडी आउँछन्, सबै खेलमा गरी झण्डै दुई हजार खेलाडीले भाग लिँदैछन्”, उनले भने, “खेलाडीको यातायातदेखि खानेबस्ने व्यवस्था सबै आयोजकले मिलाउँछ ।”

पहिलोपटक आयोजना गर्न लागिएको ‘नेकोस खेलकुद महोत्सव’लाई बर्सेनि निरन्तरता दिइने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनमा झण्डै दुई करोड खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा विजेता हुने खेलाडीलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र गरिने जनाइएको छ ।

“खेल गतिविधि पनि कम हुने र राज्यको पनि खासै ध्यान पुग्न नसकेका योग खेल, बि बोइङ जस्ता खेललाई पनि प्रतियोगितामा समावेश गरिएको छ”, अध्यक्ष विष्टले भने, “फुटबल, क्रिकेटजस्ता लोकप्रिय खेलका नियमित प्रतियोगिता भइरहेका हुन्छन्, तिनमा राज्यको पनि लगानी छ, कतिपय खेल त नेपालबाट हराउने चिन्ता छ, तिनको जगेर्ना गर्नु पनि महोत्सवका उद्देश्य हो ।”

एमाले बागमती प्रदेश अधिवेशनः अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । उम्मेद्वारी दिएका अन्य सबैले उम्मेद्वारी फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

अधिवेशनमा यसअघि केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर पछि भने उनीहरुले आफ्नो फिर्ता लिए ।

त्यसैगरी, उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच तथा सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।

उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिसकिएकाले आज बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी छ । मतदान पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ ।

‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता

कास्की । पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।

एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उहाँको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए । प्रतियोगिता पोखरा रङ्गशालाको क्रिकेट मैदानमा मङ्सिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउने छन् ।

एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात् गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ ।

उनले भने, “अनुशासित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल गतिविधि, खेल प्रशिक्षण र प्रतिस्पर्धा आयोजना गर्ने गरेका छौँ । यसबाट स्वस्थ नागरिकसहित देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।”

सङ्घीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर आयोजना गरिएको प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमी लाभान्वित भएको एकेडेमीको भनाइ छ । पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने पूर्वराष्ट्रिय खेलाडी एवं एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए ।

एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुुरु वर्ग र खेललाई माया गर्ने खेलप्रेमी आबद्ध रहेको बताइन्छ । ‘सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको हो ।

आजको मौसम यस्तो रहनेछ, हेर्नुस्

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू–भागहरुमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आजराती देशभर आंशिक देखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ । कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्गको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

प्रभावकारी देखिएन बजार अनुगमन, विगतकै निरन्तरता

काठमाडौँ । बिहीबार उपत्यकामा सार्वजनिक बिदा । सबै सरकारी कार्यालय बन्द भए । सरकारको संयुक्त बजार अनुगमन टोली भने अन्य दिनजस्तै अनुगमनका लागि खटियो । बिदाको दिनमा १० वटा टोलीले उपत्यकाका विभिन्न स्थानमा पुगेर ३३ वटा व्यवसायी फर्मको अनुगमन गर्‍यो ।

बिहीबार अनुगमन गरेकामध्ये आठ वटालाई जरिबाना गरेर ९० हजार रुपियाँ राजस्व पनि सङ्कलन भयो । सरकारले गएको असोज १ गतेदेखि सार्वजनिक बिदाको दिनमा समेत १२/१३ वटा टोलीले नियमित रूपमा चाडपर्वलक्षित बजार अनुगमन गरिरहेको छ । यस्तो खालको अनुगमन नयाँ नभएर विगतकै निरन्तरता हो । त्यसैले पनि यसको उपलब्धि देखिँदैन । उपभोक्ता अधिकारकर्मीले सरकारको बजार अनुगमन खाली कर्मकाण्डी र बजेट सकाउने मात्रै भएको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारको संयुक्त बजार अनुगमनको उद्देश्य राम्रो भए पनि अहिलेको बजार अनुगमन बजेट सकाउनेबाहेक केही नभएको आरोप लगाउनुभयो । सरकारका यति धेरै टोली बजारमा अनुगनमा जाँदा त बजार सुधारिनुपर्ने होइन ? प्रश्न गर्दै उहाँले भन्नुभयो, “बजार अनुगमन गरेर सुधार्ने बाटोमा त जानै चाहँदैन, कोही गइहाल्यो भने पनि त्यो कर्मचारी कारबाहीमा पर्छ अनि यस्ता अनुगमनको के आस गर्नु ? त्यसैले यो अनुगमन खाली बजेट सक्ने बहाना मात्रै हो ।” 

अर्का उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले सरकारको पछिल्लो बजार अनुगमनले सानालाई तर्साएर ठुलालाई संरक्षण गर्ने कर्मकाण्डी मात्रै भएको आरोप लगाउनुभयो । सरकारी अनुगमनलाई प्रभावकारी बनाउने हो भने त मुहानमा अनुगमन गरेर त्यहीबाट कारबाही गर्ने हो भने तलका त आफैँ सुध्रिन्थे नि त्यो गर्न सरकार चाहँदैन, यस्ता कर्मकाण्डी अनुगमन के अर्थ रहन्छ ? उहाँले थप्नुभयो । हुन पनि सरकारले दैनिक औसतमा ४५ वटा व्यावसायिक फर्मको अनुगमन गरिरहेको छ तर यसको उपलब्धि खासै देखिँदैन । 

सरकारी संयुक्त बजार अनुगमनको नेतृत्व गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा आमउपभोक्ताको अपेक्षा अनुसार नभए पनि विगतको तुलनामा सुधार भएको दाबी गरेको छ । विभागका महानिर्देशक तीर्थराज चिलवालले स्वयम् उपभोक्ता सचेत नभएसम्म अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने बताउनुभयो । सरकारले हाल गरिरहेको रहेको बजार अनुगमन कसैको दबाब र प्रभावमा पर्ने खालको अनुगमन नभएर गलत गर्ने जो कोही कानुनी कारबाहीमा पर्ने उहाँको दाबी रहेको छ । 

सरकारी अनुगमन ठुलोलाई नगरेको भन्नेमा सत्यता नभएको भन्दै उहाँले भन्नुभयो, “चिनीको गोदाममा अनुगमन गरेर ७० हजार केजी चिनी रहेको गोदाम सिल गरिएको छ, सरकार भन्दैमा त्यत्तिकै कारबाही गर्न पाइन्छ ? त्यसका लागि प्रमाण चाहिँदैन, प्रमाण जुटाउँदै छ, प्रमाणित भएमा कारबाही रोकिन्न ।” महानिर्देशक चिलवालले कानुनभन्दा कोही पनि माथि नहुने भएकाले कानुनविपरीत कारोबार गर्ने जोकोही कारबाहीको भागीदार हुने बताउनुभयो । 

अनुगमन उपत्यका केन्द्रित 

बजार अनुगमन उपत्यकामा केन्द्रित रहेको छ । सरकारको संयुक्त बजार अनुगमनको १३ वटा टोलीले उपत्यकामा नै केन्द्रित गरेर अनुगमन गर्दै आएका छन् । 

अनुगमन गर्ने निकायले उपत्यकामा मात्रै ‘अनुगमन’ सीमित हुँदा राजमार्ग क्षेत्र र राजधानीबाहिरका सहरमा उपभोक्ता ठगिने गरेका छन् । उपभोक्ता अधिकारकर्मी तिम्लिसिनाले सरकारको बजार अनुुगमन उपत्यकामा मात्रै केन्द्रित गर्दा उपत्यकाबाहिरका उपभोक्ता डरलाग्दो ठगीको चपेटामा परेको बताउनुभयो । उपत्यकाबाहिर के कुरा गर्नु ? उपत्यकासँगै जोडिएका राजमार्गका होटल, रेस्टुराँदेखि पसलमा उपभोक्ता मूल्य र गुणस्तर दुवैमा ठगिने गरेको उहाँको भनाइ छ । 

वाणिज्य विभागका प्रवक्ता आनन्दराज पोखरेलले यस पटक सरकारी संयुक्त बजार अनुगमन टोलीले उपत्यकाबाहिरका विभिन्न क्षेत्रमा समूह बनाएर अनुगमन सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विभाग नेतृत्वको एउटा टोली गएको सोमबार नै उपत्यकाबाहिर गइसकेको छ । त्यो टोली फर्किएपछि अर्को टोली फरक ठाउँमा  जान्छ । उपत्यकाबाहिर अनुगमन गर्दा विशेष गरी भन्सारमा र राजमार्गका होटल, पसलमा केन्द्रित गरेर अनुगमन गरिने उहाँको भनाइ छ ।  
 गोरखापत्र दैनिकमा समाचार छ । 

कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम

रौतहट । ऋण लगानी गर्दा एनआईसी एसिया बैंकका कर्मचारीले ग्राहकसँग सापटी भन्दै रकम ठगी गरेको खुलेको छ ।

आफूहरू ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाए पनि प्रहरीले पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले घटना गम्भीर भएकाले अनुसन्धान जारी राखिएको बताउनुभयो । ऋण स्वीकृत र कर्जा प्रवाह गरेबापत एनआईसी एसिया बैंक गरुडाका प्रबन्धक आमोद गुप्ताले जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनी प्राइभेट लिमिटेड चन्द्रपुर–१०, अशोका एग्रिकल्चर दुर्गाभगवती–१ र अम्बे कृषि फर्म चन्द्रपुर–८ का प्रोपाइटरसँग सापटी भन्दै २ करोड ५ लाख रुपियाँ ७ महिनाअघि लिए पनि फिर्ता नगरेपछि कानुनी कारबाहीका लागि उनीहरू प्रहरीको शरणमा पुगेका हुन् ।


कर्जा प्रवाह गर्दा सापटी भन्दै लिएको रकम फिर्ता नगरेको सम्बन्धमा एनआईसी एसिया बैंक गरुडाका प्रबन्धक आमोद गुप्तासँग बुझ्न खोज्दा उनी सम्पर्कविहीन बनेका छन् । कृषि प्रयोजनका लागि माघ अन्तिममा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि एनआईसी एसिया बैंक गरुडाका प्रबन्धक गुप्ताले अशोका एग्रिकल्चर दुर्गाभगवती–१ का प्रोपाइटर अशोककुमार साहसँग नौवटा खाली चेक लिएका थिए ।

०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैंकका सेक्युरिटी गार्ड धर्मेन्द्रकुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीवास्तवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट रामबच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देवीको नाममा ५ लाख ३४ हजार लिएको खुलेको हो ।

साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कटठा जमिन धितो राखेर एन आईसी एसिया बैंकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो । स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु पूर्व नै बैंक प्रबन्धकले खाली चेक लिएर विभिन्न व्यक्तिको नामबाट ८५ लाख रुपियाँ लिएको दुखेसो उनको रहेको छ ।

यस्तै, जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनी प्राइभेट लिमिटेड चन्द्रपुर–१० को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कटठा र चन्द्रपुर–९को घरसहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोपाइटर पुष्पनाथ साहको छोरा राकेश साहको नाममा ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैंकका प्रबन्धक आमोद गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिंह राय यादवको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ को बाट मनिषादेवी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गाकुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधवप्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देवीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ । अम्बे कृषि फर्म चन्द्रपुर–८ का चेकको विवरण बैंकले नदिएको बताइएको छ । एनआईसी एसिया बैंक प्रधान कार्यालयका मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुनराज खनियाले आफूले यस विषयमा बोल्न नमिल्ने बताउनुभयो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ । 

डिजेल चोरी गर्ने दुई जना पक्राउ

काठमाडाैं । आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई ररुपन्देहीको तिलोत्तमा नगरपालिका–१० बस्ने २८ वर्षीय रामबहादुर चमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए ।

उनीहरुलाई रोलरबाट एक सय दश लिटर डिजल चोरी गरी बा२०च ७४९ नम्बरको हायलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।

भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग हुँदै

काठमाडौं । तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन् । सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइपी सम्बन्धी कार्यविधि बनाएको थियो ।

कार्यविधि पछ्याउँदा अहिले भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग भइरहेको छ । अब यस्तो हुन नदिन सरकारले भिआइपी सम्बन्धमा नयाँ कार्यविधि बनाउने प्रक्रिया अघि बढाएको छ ।

यसका लागि कार्यविधि मस्यौदा तयार भइसकेको छ । मुलुकमा प्रचलित कार्यविधिअनुसार विभिन्न उच्च ओहोदामा रहेका वर्तमान र पूर्वगरी दुई किसिमका भिआइपी छन् । वर्तमानमा पनि अतिविशिष्ट ( भिभिआइपी) र भिआइपी गरी दुई किसिमबाट व्याख्या गरिएको छ । पूर्व भिआइपीको संख्या वर्तमानको भन्दा बढी छ ।

अब क–कसलाई अतिविशिष्ट र क(कसलाई विशिष्ट व्यक्ति भन्ने विषयमा व्याख्या गरी गृह मन्त्रालयले कार्यविधिको नयाँ मस्यौदा बनाएको हो । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले विशिष्ट व्यक्तिका सम्बन्धमा कार्यविधिको मस्यौदा तयार भइसकेको बताए । ’कार्यविधिको मस्यौदा तयार भइसकेको छ । २०८० सालमै कार्यविधि आउँछ,’ उनले भने । यो समाचार नागरिक दैनिकमा छ ।

१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्सहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान १८ स्वर्ण, ३० रजत र ३१ कास्का साथ ७९ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान ६ स्वर्ण, १० रजत र १५ कास्सहित ३१ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी भारत ६ स्वर्ण, आठ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौँ स्थानमा छ । थाइल्याण्ड ६ स्वर्ण, तीन रजत र नौ कास्सहित १८ पदकका साथ का साथ छैटौँ स्थानमा उक्लिएको छ । यस्तै हङकङ चाइना पाँच स्वर्ण, १२ रजत र १५ कास्य सहित कुल ३२ पदक प्राप्त गर्दै सातौँ स्थानमा रहेको छ ।

चाइनिज ताइपेई चार स्वर्ण, चार रजत र ६ कास्यसहित १४ पदकका साथ आठौँ, इरान तीन स्वर्ण, नौ रजत र १० कास्सहित २२ पदक प्राप्त गर्दै नवौँ तथा दक्षिण कोरिया तीन स्वर्ण, पाँच रजत र चार कास्सहित कुल १२ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३३ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छन । सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकवहीन रहँदै प्तियोगिताबाट बाहिरिएको छ । नेपालले अब इ स्पोर्टस्, ब्याडमिन्टन, पुरुष क्रिकेटलगायत खेलबाट पदकको आश गरेको छ ।

नेपालबाट इजरायलमा कामदार पठाउने सरकारकाे तयारी

काठमाडौँ । नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ ।

इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले पठाउने तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए । उनका अनुसार इजरायलमा सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा देखाइएको छ ।

पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदारका रूपमा नेपाली लैजाने इजरायलले रुचि देखाएकाले अहिले सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउने तयारी थालिएको प्रवक्ता तथा सहसचिव घिमिरेले बताए । यसैगरी पहिलो चरणमा इजरायलमा गएकाहरूको अवस्थासँगै दोस्रो चरणको तयारीका लागि श्रममन्त्रीस्तरीय इजरायल भ्रमणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा छनोट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा इजरायलबाट दोस्रो चरणमा पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदार माग गरिएको मन्त्रालयले जनाएको छ । इजरायल रोजगारीमा सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक जाने गरेका थिए । तर म्यानपावर कम्पनीले श्रमिकबाट चर्को रकम असुलेको खुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो ।

बन्द भएको झण्डै ११ वर्षपछि सरकारी संयन्त्रबाट नेपाली श्रमिक जाने प्रक्रिया थालिएको हो । यसका लागि नेपाल र इजरायलबीच विसं २०७७ असोज १४ गते इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि विसं २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भयो ।

यसपछि २०७८ सालमा पहिलो चरणमा एक हजार छ सय जनाको नाम सिफारिस गरी नेपालले इजरायललाई पठाएको थियो । उनीहरूमध्येबाट एक हजार एक सय ७५ जना चिठ्ठा प्रणालीमार्फत इजरायल रोजगारीको लागि छनोट भएका थिए । सरकारी प्रक्रियामार्फत इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार पाँच सय ४३ डलर तोकिएको बताइएको छ ।

प्रधानमन्त्री दाहाल आज छेन्दु जाने

मानसरोवर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु जाँदैछन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् ।

उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्नेछन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ ।

त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।

बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरे । त्यसपछि उनले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए ।

प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

उनको भ्रमण दलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू रहेका छन् ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । असाेज १२ गते  शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ ।

युरो एकको खरिद दर १३९ रुपैयाँ ८९ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ९० पैसा र बिक्री दर १६२ रुपैयाँ ६३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

श्री पशुपतिनाथको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । अल्छीलाग्दो समय छ, तर पनि आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन, नत्र सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ । दौडधूप गर्नुपर्ने काम, ढुवानी÷यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःशिवाय यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवहारिक चिन्ता बढ्ने दिन हो, जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्, यसबाट तपाईंको निरस जीवन स्वस्थ बन्नसक्छ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । पारिवारिक वातावरण राम्रै छ, रोकिएको धनमाल वा पारिश्रमिक प्राप्त हुनेछ, आज अरुलाई सम्मान गर्ने तथा आफूले पनि प्रतिष्ठा पाउने दिन हो । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अनन्ताय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो÷सुन्तले र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । नियम÷कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धर्मराजाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ, काम छाडेर गफगाफमा भुलिन सक्नुहुन्छ, तर रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनुपर्ने दिन हो । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । जीवनसाथी वा आत्मीय मित्रको स्वास्थ्यमा समस्या देखिने वा सम्बन्धमा तिक्तता आउन सक्ने समय देखिन्छ । साझेदारीको काम छ भने अर्कालाई नसुम्पनु ठीक हुन्छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ सेतो÷चम्किलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रङ्गीबिरङ्गी÷छिरबिरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कवये नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । पठनपाठनमा ध्यानकेन्द्रित नहुन सक्छ । परिस्थिति र वातावरण विपक्षमा रहनाले बौद्धिक क्षमता हुँदाहुँदै पनि चाहेको उपलब्धि प्राप्त गर्न सकिंदैन । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । आज ७० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नीतिविद्याधुरन्धराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मातृसुखमा प्रभाव पर्ने समय भएकाले घरमा सम्पर्क राखी आमाको स्वास्थ्यस्थितिबारे जानकारी लिनु ठीक हुन्छ, सहकर्मीसित असमझदारी बढ्नाले तनावको स्थिति बन्नसक्छ । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भार्गवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गं गणपतये नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ, थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग सुचारु गर्न चिन्तन गर्न सक्नुहुन्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वैभवलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो÷सुन्तले र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन : प्रवक्ता यादव

काठमाडौँ । जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न सङ्गठन निर्माणलाई तीव्रता दिएको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले बताए ।

पार्टीको आगामी रणनीतिबारे आज सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै प्रवक्ता यादवले पार्टी बन्दै गरेको अवस्थामा आगामी निर्वाचनलाई लक्षित गरेर वडा तहदेखि नै सङ्गठन निर्माणमा केन्द्रित हुने बताए । उनले आफूहरू सत्ता गठबन्धनमा रहेको तर, अब आउने निर्वाचनमा कुनै पनि चुनावी गठबन्धन नगरी पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने स्पष्ट पारे ।

पार्टी अध्यक्ष चन्द्रकान्त (सिके) राउत सरकारमा नजाने नीति हो भन्ने जिज्ञासामा प्रवक्ता यदावले आगामी निर्वाचनमा केन्द्रित भएर सङ्गठन निर्माणमा बढी खट्नुपर्ने भएकाले उनी मन्त्री बन्न हतारो नगर्ने उल्लेख गरे ।

“हाम्रो पार्टीको मिसन भनेको मधेस प्रदेशमा आफ्नै दुईतिहाइको बहुमतको सरकार बनाउने र लुम्बिनी प्रदेशमा सरकार बनाउने हो”, उनले भने, “कोशी प्रदेशमा निर्णय गर्ने ठाउँमा पार्टीलाई उभ्याउने तथा सङ्घमा पनि बढीभन्दा बढी सिट जितेर सरकारमा ठूलो सहभागितासहित काम गर्ने नीति र योजनाअनुरुप नै अध्यक्षजी अहिले सरकारमा गएर मन्त्री बन्न इच्छुक हुनुहुन्छ ।”

अहिले संसद्मा कुनै पनि पार्टीको बहुमत नरहेकाले संसद् सञ्चालन र सरकारलाई स्थायित्व प्रदान गर्न पार्टीले सहकार्य गर्नुपर्ने आवश्यकता भएकाले आफूहरू सरकारमा सहभागी भएको प्रवक्ता यादवको भनाइ थियो ।

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी

काठमाडौँ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो ।

निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठका अनुसार कूल दुई सय ४० पदका लागि प्राप्त पाँच सय ४८ उम्मेदवारमध्ये सहमतिका आधारमा हालसम्म करिब तीन सयले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

फिर्ता लिने प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी विद्युतीय मतदान मेसिनका उम्मेदवारको विवरण प्रविष्ट गरेपछि निर्वाचन सुरु हुने छ । कमिटीको अध्यक्ष पदका लागि कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ, केशर बुढाथोकीले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा वारेसमार्फत केशवराज पाण्डेले पनि उम्मेदवारी दिनुभएकामा निर्वाचन समितिले उनको उम्मेदवारी आधिकारिकरुपमा नपरेको जनाएको छ ।

यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।

बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रत्ना गुरुङ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ भने निर्वाचन समितिको प्रमुखमा अधिवक्ता डिल्ली मैनाली रहेका छन् ।