५ डलर मै कोरोना परिक्षण गर्ने डब्ल्युएचओको तयारी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचआ)ले अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ।
यो परीक्षणको खर्च केवल पाँच डलर हुने भएपछि गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको डब्ल्यूएचओको विश्वास छ।

संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेडरोसले भने, ‘यो नयाँ उपकरण निकै सजिलै ल्याउन– लान सकिन्छ। यसले नतिजा पनि केही मिनेट (१५ देखि २० मिनेट) भित्र नै प्रदान गर्दछ।’

औषधी निर्माता कम्पनी ऐबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँग मिलेर १२ करोड परीक्षण तयार गर्न सहमति जनाएका छन्।
नेपाल राष्ट्र बैंकले आज जारि गरेको विनिमय दर अनुसार पाँच डलर बराबर ५सय ९० हुन आउँछ । अर्थात ड्ब्लुएचओले बताएअनुसार परीक्षण गर्ने उपकरण आएसँगै कोरोना परिक्षण नेपालमै पनि ५–६ सयमा हुनेछ ।

भगवान् श्री कृष्णको दर्शन गरी आजको राशिफल हेर्नुहोस् (असोज १४ गते बुधबारको राशिफल)

वि.सं.२०७७ साल असोज १४ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–चतुर्दशी,४८ घडी ३८ पला,बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– पूर्वाभाद्रपदा,५४ घडी ४० पला,रातको ०३ बजेर ४८ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग–गंड,३९ घडी ०६ पला,बेलुकी ०९ बजेर ३५ मिनेट उप्रान्त बृद्धि । करण– गर, बिहान ११ बजेर ०६ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–कुम्भ,बेलुकी ०९ बजेर १८ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेट । दिनमान ३० घडी ४२ पला । पञ्चक।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बित्तिय क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ । माया प्रेममा मन परेको मानिस सँग घटपट भएपनि मित्रताको बन्धन भने चुटिने छैन । घर परिवारमा आउँने समस्याले व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण खस्केर जानेछ । अध्ययन तथा अध्यापनमा समय दिए अनुशार नतिजा ननिस्कने हुँनाले मन खिन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिभिन्न अवसर आएपनि समयमा सजक नबन्दा पछि परिनेछ । छोटो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । भौतिक तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गनुहोला बढिनै उत्साहित हुदा नकारात्मक परिणाम आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथिको सहयोग नपाईने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक व्याव्स्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हँुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । भौतिक सम्पति आकस्मिक लाभ हुनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दाजुभाई तथा छिमेकिसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । यात्रा हुने भएपनि यात्राका क्रममा दुख हुन सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ । व्यापारमा थोरै समय दिएपनि प्रशस्त आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिदेशमा सञ्चालित निकाए तथा सस्थाहरुमा काम पाउँने तथा पदोन्नती हुँने प्रशस्त सम्भावना रहेकोछ । लामो दुरिको उपलब्धिमुलक मनोरञ्जनात्मक तथा व्यावसायिक यात्रा हुनेछ । बिदेशमा बसेर समय तथा रुपैया पैसा लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्ने योग रहेकोछ । आफ्ना साथिभाई तथा अग्रजका सहि सुझाबले एक दुई कदम अगाडि बढि प्रगति पथमा लम्कन सकिनेछ ।

अब दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

काठमाडौँ । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो ।

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ । सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाएने भएका हुन् ।

विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले आफूले छनोट गरेको कुनै एक मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिनुभयो । विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित शेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्न आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत गरेको छ ।

पाण्डेले हाल देशभरका सहकारी सदस्यको विवरण सफ्टवेयरमार्फत अद्यावधिक भइरहेको जानकारी दिनुभयो । यो कार्य पूरा भएसँगै सबै सदस्यलाई स्वघोषणा गर्न लगाउने उहाँले बताउनुभयो । सहकारीको निर्देशन अटेर गरेमा सहकारी कानून परिपालन नगर्दा हुने कानूनी सजाय गरिने उहाँको भनाइ छ । यस अन्तरगत रु दुई लाखसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

शहरी क्षेत्रका अधिकांश व्यक्तिहरु एउटै प्रकृतिका धेरै सहकारीमा सदस्य रहेका छन् । हाल सहकारीका सदस्यको सङ्ख्या ६५ लाखभन्दा बढी भएको पाण्डेले जानकारी दिनुभयो । विवरण अद्यावधिक भएपछि कति व्यक्ति दोहोरो सदस्य छन् भन्ने यकिन हुने उहाँको भनाइ छ ।

कृषकलाई क्षतिपूर्ति उपलब्ध गराइने छ–मन्त्री थापा

काठमाडौँ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बाढी पहिराका कारण कृषि एवम् पशुपालनमा भएको क्षतिको राहत उपलब्ध गराइने बताउनुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा यस अघि शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेशका विभिन्न जिल्लामा बाढी पहिराका कारण धेरै कृषकहरू समस्यामा परेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र सहित सम्बद्ध निकायबाट कृषि तथा पशुपालनमा पारेको क्षतिको अनुगमन भै विवरण सङ्कलन भएको बताउँदै उहाँले मापदण्ड एवम् कार्यविधिका साथै बजेटको परिधिभित्र रही क्षतिपूर्ति उपलब्ध गराइने उल्लेख गर्नुभयो । मन्त्रालयले कामको प्रभावकारिताका लागि मन्त्रालय अन्तर्गतका पदाधिकारीसँग कार्यसम्पादन सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो । बैठकमा मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले महालेखा परीक्षकको कार्यलयको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो ।
यसअघि विधायन समितिका दफावार छलफलका लागि पठाइएका गण्डकी प्रदेशमा खेलकूदको विकास गर्ने सम्बन्धमा बनेको विधेयक र गण्डकी प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिको प्रतिवेदन सहित विधायन समितिका सदस्य कृष्णचन्द्र नेपालीले सभामा प्रस्तुत गर्नुभयो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरू आशा कोइराला, भागवतप्रसाद मल्ल र विष्णुप्रसाद लामिछाने एवम् विशेष समयमा इन्द्रलाल सापकोटा, डोबाटे विश्वकर्मा, खिमविक्रम शाही, कृष्ण थापा, राजीव पहारी, मणिभद्र कँडेल, दीपक कोइराला, विनोद केसी र हरिशरण आचार्यले समसामयिक विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानाकर्षण गराउनुभयो ।

भरुवा बन्दुक देखाएर तर्साउने दुई पक्राउ

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतङ्क फैलाउन दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमरबहादुर थापाले गाउँमा भरुवा बन्दुक देखाएर त्रास फैलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीयवासी २४ वर्षीय लालबहादुर विष्ट र ३५ वर्षीय कमल थापालाई नियन्त्रणमा लिएको बताए ।

अभियुक्तसँग लोड गरेको अवस्थामा रहेको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको उनले बताए । “अभियुक्त विष्टले बन्दुक देखाएर तर्साएको रहेछ”, प्रहरी उपरीक्षक थापाले भने, “थप अनुसन्धान भइरहेको छ ।” अभियुक्तलाई हातहतियार तथा खरखजनासम्बन्धी आज मुद्दा दायरा गरेर कारवाही अघि बढाइने उनले जानकारी दिए ।

हिमालयलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय खारेज गर्न माग गरेको छ ।

विश्वका अधिकांश विमानस्थलमा त्यहाँको राष्ट्रिय ध्वजाबाहकबाट नै विमानस्थलको भूमिस्थ सेवा सञ्चालन हुने गरेको परिपेक्ष्यमा नेपालमा पनि हवाई सेवाको शुरुदेखि नै निगमले भूमिस्थ सेवा दिँदै आएको र यस क्षेत्रमा अर्बौ लगानी भएको भन्दै निगमले अन्य संस्थालाई त्यस्तै जिम्मेबारी दिन नहुने जिकिर गरेको छ ।

निगमले आज विज्ञप्ति जारी गर्दै निगमको अनवरत सेवा र प्रविधिक स्रोतसाधनमा गरेको खर्चलाई मध्यनजर गर्दै अन्य कुनै संस्थालाई भूमिस्थ सेवाको जिम्मा दिने निर्णय अहिलेको परिस्थितिमा कुनै पनि हालतमा न्यायिक हुन नसक्ने ठहर गरेको छ ।

‘निगमले विद्यमान अवस्थामा हरेक कोण र स्थितिबाट यस निर्णयलाई कुनै पनि हालतमा न्यायिक हुन नसक्ने ठानेको छ । यस किसिमको निर्णय पर्यटन मन्त्रालयबाट तत्काल कार्यान्वयन नगराउन निर्देशन भएको भन्ने बुझिन आएकाले निगमले यसको खारेज होस् भन्ने आशय व्यक्त गर्दछ¬’ विज्ञप्तिमा भनिएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले यही असोज ११ गते हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ् दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइसक्नुभएको छ । प्राधिकरणले असोज ९ गते हिमालयलाई सेल्प ग्राउण्ड ह्याण्डलिङको सुविधा दिने निर्णय गरेको थियो ।

पर्यटनमन्त्रीले संवेदनशील विषयमा मन्त्रालय र उच्च नेतृत्वसँग छलफल नै नगरी निर्णय गरिएको भन्दै प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

निगमले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा दिनको लागि उपकरण र जनशक्ति विकासमा अर्बौ लगानी गरिसकेको जनाएको छ । सेवाको गुणस्तरलाई कायम गर्दै सेवालाई अझ प्रभावकारी बनाउन निगमले यसवर्ष पनि चार वटा ¥याम्प बस र अन्य सामग्री खरिद गरेको छ ।
निगमले हाल भूमिस्थसेवा प्रदान गर्ने तथा तद्सम्बन्धी उपकरण राख्ने ठाउँको अभाव भएकाले कैयौं पटक थप स्थान उपलब्ध गराईदिन प्राधिकरणलाई अनुरोध गर्दै आएको र यस्तो स्थान अभावको अवस्थामा अर्को संस्था भूमिस्थ सेवा प्रदायक थपिँदा उसले प्रयोग गर्ने उपकरण र सामग्री व्यवस्थापनमा कठिनाइ हुने हुँदा हवाई उडानमासमेत असर पुग्ने जनाएको छ ।

सरकारी स्वामित्वको निगमले चार दशभन्दा अघिदेखि गर्दै आएको सेवाको अवमूल्यन गर्नुको साथै कोभिड–१९ महामारीबाट आहत भएको अवस्थामा ठूलो राजश्व गुम्ने र यसबाट निगमले आर्जन गर्ने राजश्वमध्येबाट प्राधिकरणले प्राप्त गर्ने १५ प्रतिशतको राजश्वसमेत गुम्ने खतरा निगमले औंल्याएको छ । हिमालयलाई भूमिस्थसेवा सञ्चालन निर्देशिका–२०७२ का आधारमा प्राधिकरणले भूमिस्थ सेवाको अनुमति दिएको थियो ।

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो ।

यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा रहनुलगायत विषयमा आधारित भएर गरिएको हो ।

चीनको आर्थिक वृद्धि दरमा कोरोना भाइरसको महामारीका कारण घरेलु खपतमा आएको कमी र कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रमा अपेक्षाकृत सुधार भने हुन सकेको छैन । विश्व बैंकले पूर्वी एसिया र प्रशान्त क्षेत्रको अक्टोबर २०२० को आर्थिक अपडेटमा उक्त प्रक्षेपण गरेको हो ।

यस क्षेत्रका बाँकी क्षेत्रहरुमा भने वृद्धि दरमा ३.५ प्रतिशतले संकुचन हुने अनुमान गरिएको छ । समग्रमा यस क्षेत्रमा सन् २०२० मा ०.९ प्रतिशत मात्र बढ्ने अनुमान गरिएको छ । जुन सन् १९६७ पछिको न्यूनतम वृद्धि दर हो ।

विश्व बैंकले आर्थिक वृद्धिबारे गरेको अर्धवार्षिक अपडेटमा सन् २०२१ मा यस क्षेत्रको सम्भावना उज्ज्वल रहेको बताएको छ । प्रक्षेपणमा पूर्वी एशिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर ०.५ प्रतिशत रहने पनि उल्लेख गरिएको छ ।

सन् २०२१ मा चीनको आर्थिक वृद्धि दर ७.९ प्रतिशत रहने छ भने चीनबाहेक समग्र यो क्षेत्रको आर्थिक वृद्धिदर ५.१ प्रतिशत र बाँकी रहने बताइएको छ । “यसमा निरन्तर सुधार र गतिविधिलाई सामान्य बनाइने धारणा मुख्य अर्थतन्त्र तथा खोपको सम्भावित आगमनसँग जोडिएको छ ।

बहुपक्षीय ऋणदाताले भने अर्को दुई वर्षको लागि उत्पादन महामारी पूर्वको अनुमानभन्दा तल रहने प्रक्षेपण गरेका छन् ।

बम बिस्फोट हुँदा १५ जनाको मृत्यु

काठमाडौँ । मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम बिस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनका अनुसार डकुन्डीको कर्जान जिल्लामा तालिबान लडाकू समूहले बिछ्याएको भूमिगत बारुदी सुरुङ बिस्फोटबाट ठूलो क्षति पुगेको हो ।

उनले बिस्फोटबाट मारिनेहरुमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिए । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

अफगान सरकार र तालिबानबीच कतारको राजधानी दोहामा वार्ता जारी रहेकै अवस्थामा सशस्त्र भिडन्त र बम बिस्फोटनका घटना रोकिएका छैनन् ।

अन्तर–अफगान वार्ता गत सेप्टेम्बर १२ देखि जारी छ । दुबै पक्षले अफगानिस्तानमा जारी लामो सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले दिर्घकालीन युद्धबिराम गर्न प्रयासरत रहेको बताएका छन् ।

रसिया–कोरिया व्यापार २५ अर्ब डलर नजिक

काठमाडौँ । रसिया र दक्षिण कोरियाबीचको द्विपक्षीय व्यापार करिब २५ अर्ब डलर बराबर पुगेको रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बताएका छन् ।

दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुरा गर्दै विदेश मन्त्री लाभरोभले रसियाका लागि दक्षिण कोरिया अहिले एउटा प्रमुख आर्थिक तथा व्यापारिक साझेदारका रुपमा उदाएको बताए ।

उनले दुबै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप विस्तार गर्नेतर्फ कार्यहरु निकै द्रुत गतिमा अगाडि बढेको बताउँदै कोरोनाभाइरसको परिस्थितिमा केही सुधार हुनासाथ रुसी राष्ट्रपतिले दक्षिण कोरियाको भ्रमण गर्ने सम्भावना रहेको बताए ।

विदेश मन्त्री लाभरोभले कोरियाली प्रायःद्वीपमा शान्तिपूर्ण अवस्थाको निर्माण गरी उत्तर कोरिया, दक्षिण कोरिया र रसिया सम्मिलित त्रिदेशीय आर्थिक साझेदारी निर्माण गर्नुपर्ने पक्षमा रसिया रहेको बताए ।

सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनको रसियाको औपचारिक भ्रमण समेतका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा लैजान मद्दत गरेको उनले बताए ।
दक्षिण कोरिया र रसियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्ष पुगेको छ ।

पछिल्ला वर्षहरुमा अफ्रिकाबाट ८०० अर्ब डलर बाहिरिएको राष्ट्रसंघको दाबी

काठमाडौँ । संयुक्त राष्ट्रसंघको एक अनुमान अनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अबैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट प्राप्त भएको रकमको हिस्सा अत्यधिक छ ।

अबैध रुपमा यो रकम बाहिरनबाट रोक्न सकेको भए अफ्रिकी मुलुकहरुमा स्वास्थ्यसेवा, शिक्षा र पूर्वाधार निर्माणमा अभूतपूर्व प्रगति हुने राष्ट्रसंघको अध्ययनले देखाएको छ ।

सोमबार जेनेभामा आयोजित व्यापार र विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (अन्कटाड) का अवसरमा प्रकाशित प्रतिवेदनमा अफ्रिकाबाट भएको गैरकानुनी र अबैध वित्तीय प्रवाहलाई विशेष रुपमा जोड दिइएको छ । प्रतिवेदनले अफ्रिकाबाट पैसाका साथै सम्पत्ति पनि बाहिरिएको उल्लेख छ । अफ्रिकामा चोरी, भ्रष्टाचार र सिपिङको बिल गलत राख्नेजस्ता अनेक समस्या छन् ।

सन् २०१३ देखि २०१५ को बीचमा औसतमा प्रतिवर्ष झण्डै ८९ अर्ब डलरका दरले अफ्रिकाबाट थप रकम बाहिरिएको देखिएको छ । तुलनात्मक रुपमा हेर्दा, अफ्रिकाले विदेशी दातृ निकायबाट वार्षिक करिब १०२ अर्ब डलर प्राप्त गरेको देखिन्छ ।

अन्कटाडका महासचिव मुखिसा किटुयीले भने, “गैरकानुनी वित्तीय प्रवाहले अफ्रिका र यसका जनताको आकाँक्षामाथि नै खेलवाड गरेको छ । पारदर्शिता र जवाफदेहीतालाई नजरअन्दाज गरिएको छ भने अफ्रिकी संस्थामाथिको भरोशामा तुषारापात भएको छ ।”

अन्कटाडले सन् २००० देखि २०१५ को बीचमा अफ्रिकाबाट अबैध रुपमा करिब ८३६ अर्ब डलर बाहिरिएको जनाएको छ ।

अन्कटाडका अनुसार सन् २०१५ मा मात्र ४० अर्ब डलर बराबरको रकम बाहिरिएको छ, र यो रकम विशेषगरी बहुमूल्य धातु सुनको बिक्रीबाट प्राप्त भएको भएको हो । अबैध रुपमा रकम बाहिरिएका मुलुकहरुमा मुख्य रुपमा दक्षिण अफ्रिका, नाइजेरिया र इजिप्ट रहेका छन् ।

अबैध रुपमा रकम विदेशिनबाट रोक्न सकिए त्यसबाट अफ्रिकामा सडक, रेलवे, विद्यालय र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा प्रशस्त लगानी गर्न सकिने पनि अन्कटाडको ठम्याई छ ।

अन्तर्राष्ट्रिय कर प्रणालीमा सुधार गर्न सके मात्र अफ्रिकाबाट अबैध रुपमा रकम विदेशिनेक्रम रोकिने पनि अन्कटाडले जनाएको छ ।

अब लकडाउन हैन, कोरोनासँग जुधेर अगाडी बढ्नुपर्छ–मेयर शाक्य

काठमाडौं । सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ ।पछिल्लो समय देशभरीको कोरोना संक्रमणको आँकडाको तुलना गर्दा उपत्यकामा दैनिक ५० देखि ६० प्रतिशत हाराहारी कोरोना संक्रमित फेला पर्न थालेका छन् । उपत्यकामा नगर प्रमुखहरुमा समेत कोरोना संक्रमण हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपचारपछि फर्किएका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ आइसोलेसनमा रहेका छन् ।

राजधानी प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको नागढुङ्गा नाका काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्छ । सो नगरपालिकामा ६ जनाको संक्रमणबाट निधन भएको छ । २५ जना अस्पताल र ८५ जना होम आइशोलेशनमा छन् । चन्द्रगिरी नगरपालिकामा हालसम्म ३ सय ९० जना संक्रमित भइसकेका छन् । नगरप्रमुख घनश्याम गिरीले मनमोहन अस्पताल र अर्को एक अस्पतालमा गरेर ७ सय आइसोलेन बेड तयार पारेको र घरमा बस्न नमिल्ने संक्रमितलाई अस्पतालको आइसोलेशनमा राखिएको बताए । नगरप्रमुख गिरीले कारोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट कुनै साथ नपाएको बताए ।

उनले भने– ‘नगरपालिकाको तर्फबाट हामीले हेल्थ डेस्क राख्ने, भेहिकल स्प्रे टनेल बनाउने, सार्वजनिक रुपमा पीसीआर टेष्टको व्यवस्था गरेपनि संघीय सरकारले खासै सहयोग गरेन ।’ सरकारको कोरोना रोकथामका लागि निश्चित अवधारणा नभई महिनैपिच्छे फरक–फरक अवधारणा आएका कारण कोरोना संक्रमण फैलिएको उनले दावी गरे । उनले भने–‘कोरोना रोकथामका लागि महिनै पिच्छे फरक–फरक अवधारणा आउनुभएन । एउटा निश्चित अवधारणा तोकेर जानुपर्छ ।

काठमाडौं छिर्ने नाकाहरुमा पीसीआर टेष्टको व्यवस्था गर्नुपर्ने हो कि वा अन्य के गर्ने हो एउटा राष्ट्रिय किसिमको अवधारणा आउनुपर्छ । केन्द्र सरकार अन्यौलमा छ । नगरपालिकाभित्र हामीले जे सक्छौँ त्यो आफूखुसी ग¥यौँ, हामीले केही सहयोग पाएनौँ ।’ सरकारले अलि छिटो लकडाउन खुला गरेका कारण उपत्यकामा संक्रमण बढेको उनको दावी छ । यता काठमाडौं प्रवेश गर्ने नाका रहेको दक्षिणकाली नगरपालिमामा भने थोरै मात्र संक्रमित फेला परे ।

हालसम्म ३७ जना कोरोना पोजिटिभ देखिएकोमा अब दुई तीन जना निको हुन बाँकी रहेको र अरु सबै निको भएर फर्किएको नगरप्रमुख मोहन बस्नेतले रातोपाटीलाई बताए । उनले कोरोना संक्रमण बढिरहेका बेला पनि सरकारले लकडाउन खोल्नु अप्ठेरो भित्रको सफ्टेरो खोजिएको उल्लेख गरे । उनले भने–‘कोरोनासँग सामाजिक दुरी कायम गरेर अब जीवन यापन गर्नुपर्ने भएको छ । कुनै पनि सरकारले एक्लै यसलाई रोक्न सक्ने अवस्था छैन र सरकारले काम गर्न सकेन भन्ने पक्षमा म छैन । आम जनता मिलेर यो संक्रमणबाट बच्नका लागि प्रयास गर्नुपर्छ ।

त्यसका लागि आवश्यक स्रोत साधन तीन तहका सरकारले उपलब्ध गराइदिनुपर्छ ।’ सामाजिक दुरी कायम गर्नुपर्छ भनेपनि सर्वसाधारणले नमानेको उनले बताए । दक्षिणकाली नगरपालिकामा ३० बेडको क्वारेन्टाइन तयार गरेको छ भने सोही नगरपालिकाको चाल्नाखेलमा २० बेडको आइसोलेसन तयार पारिएको छ । यता, काठमाडौंकै अर्को नाका शंखरापुर नगरपालिकामा ४५ जना कोरोना संक्रमित फेला परे । यो नगरपालिकामा स्थानीय दुई अस्पतालमा ४० बेडको आइसोलेसन तयार पारिएको मेयर सुर्वण श्रेष्ठले बताए ।

बाहिरबाट आएका मानिसलाई अस्पतालको क्वारेन्टाइनमा राख्ने गरिएको छ भने घर भएकाहरुलाई घरमा राख्ने व्यवस्था गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । यो नगरपालिकालाई नगर अस्पताल निर्माणका लागि संघीय सरकारले १० लाख रुपैयाँ र प्रदेश सरकारले ३० लाख दिनेबारेको पत्र आइपुगेको उल्लेख गरे । शंखरापुर नगरपालिकामा एउटा पनि सरकारी अस्पताल नभएका कारण एउटा स्वास्थ्य केन्द्रलाई स्तरोन्ती गर्ने, एकजना डाक्टर राख्ने, फार्मेसी, ल्याव, एक्सरे मेसिन सहितको अस्पताल बनाउने तयारी भइरहेको श्रेष्ठले बताए ।

अहिले कोरोना संक्रमितको उपचारका लागि पिपल्स लाइफ केयर र सुष्मा कोइराला मेमोरियल अस्पतालको तर्फबाट डाक्टरहरुको सहयोग लिएर काम गरिरहेको उनले बताए । अहिले कोरोना संक्रमित बोक्नका लागि एउटा एम्बुलेन्स पनि तयार पारेको उनले बताए । सरकारले अब लकडाउन गर्न नहुनेमा उनको जोड छ । उनले भने–‘लकडाउन मात्र बढाएर गाह्रो हुन्छ, बढाउनुहुन्न् । लकडाउन बढाउँदाखेरी मान्छेको रोजीरोटी नै गुम्ने भयो ।

आर्थिक कारोबार केही पनि नहुने भयो । दशैं नजिक आइसकेको छ । कसैको धान भित्र्याउनुपर्ने, खेतीपाती गर्नुपर्ने, विकास निर्माण ठप्प भएका कारण विकास निर्माणको काम गर्नुपर्ने अवस्था छ ।’ शंखरापुर नगरपालिकाले हरेक शुक्रबार कोरोना संक्रमणको शंका लागेका ब्यक्तिलाई निःशूल्क पीसीआर परिक्षणको व्यवस्था समेत गरेको छ । यसअघि उपत्यकामा कडा निषेधाज्ञा गर्नुपर्छ भनेर मत राख्ने नगरप्रमुखहरु अब लकडाउन हैन, कोरोनाबाट जोगिएर नियमित काममा फर्कनुपर्ने बताइरहेका छन् ।

भरतपुर महानगरले पहिलो चरणमा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख दियो

भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित ४ करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए। उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तिव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा बिनियोजितमध्येको रकम थप्दै लगिने बताए।

महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम अगाडि बढाइरहेकोमा फाउण्डेसनलाई धन्यवाद दिँदै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन्। उनले रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायहरूले गर्ने आर्थिक सहयोगका लागि पनि आफूले आवश्यक समन्वय र सहजीकरण गरिरहेको बताइन्।

फाउण्डेसनका अध्यक्ष कट्टेलले ५० लाख रुपैयाँको चेक महानगरले प्रदान गरेकोमा महानगर प्रमुख रेनु दाहाललाई धन्यवाद दिँदै निर्माण कार्यले थप गति लिने बताए। उनले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे।

हाइड्रोपावरमा लगानीकर्ताको ध्यान, नेप्सेमा गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कूल १९२ कम्पनीको ७३ लाख पाँच हजार १११ कित्ता शेयर रु एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोबार उकालो लागेको छ भने नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् २८.०५, उत्पादन ६ र सामूहिक लगानी कोष ०.०२ विन्दुले उकालो लागेको छ । बैंकिङ १०.८२, व्यापार २४, होटल १०.०८, विकास बैंक ०.६८, वित्त २.८, निर्जीवन बीमा ४४.९९, अन्य ४.९४, लघुवित्त १३.५८ र जीवन बीमा ४२.९६ विन्दुले घटेको छ ।

कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १७ करोड ४१ लाख ८४ हजार २३९ बराबरको कारोबार भयो । यस्तै हिमाल दोलखा हाइड्रोपावर रु १० करोड ६२ लाख ७६ हजार १३७, नेपाल पुनर्बीमा कम्पनी रु सात करोड ८१ लाख ६१ हजार १७६, अरुण भ्याली हाइड्रो पावर रु सात करोड सात लाख ७० हजार ९९०, एचआइडिसिएल रु चार करोड ५६ लाख ४२ हजार ३९३, नेपाल बैंक लिमिटेड रु चार करोड २९ लाख ४४ हजार १७८ र युनिभर्सल पावरको रु चार करोड दुई लाख ३९ हजार ८२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज जोशी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, हिमालयन ऊर्जा विकास कम्पनी ९.९३, आँखु खोला जलविद्युत् कम्पनी ९.९०, घलैम्दी हाइड्रोपावर ९.९०, युनाइटेड मोदी हाइड्रोपावर ९.७२ र युनिभर्सल पावरका लगानीकर्ताले ९.६५ प्रतिशतले आर्जन गरेका छन् । त्यस्तै सपोर्ट लघुवित्त ३.६२, रिलायन्स फाइनान्स ३.५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३०, साल्ट टे«डिङ कर्पोरेसन २.७४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २.४० प्रतिशतले गुमाएका छन् ।

उपत्यकामा थप ९३४ जनामा संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार ७ जनाको मृत्यु, मृतकको संख्या ४९१ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । ३ जना महिला र ७ जना पुरुष गरी १० जनाको मृत्यु भएको हो । योसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनको संख्या ४९१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जनाले संक्रमण डिस्चार्ज भएर घर फर्किएका छन् ।