उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड ¬१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मङ्गलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिनेछ ।

पछिल्लो समयमा मुलुकभर कोभिड¬ १९ सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रजिअ पराजुलीले बताउनुभयो । यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसपछि थप कडाइ गर्दै पुन अर्को एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गर्ने तयारी गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा सङ्क्रमित भेटिँदै आएका छन् ।

यसैबीच काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी सरकारले तोकेको भन्दा बढी शुल्क नलिन स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । अनुगमनका क्रममा विभिन्न समस्याहरु देखिएको जनाउँदै प्रशासनले त्यसलाई गम्भिरतापूर्वक लिई व्यवस्थित गर्न अनुरोध गरेको छ ।

अस्पतालमा अक्सिजनको व्यवस्थापन सही तरिकाले गर्न, स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न, गराउन र कोभिड १९ का बिरामीलाई अत्यावश्यक औषधिहरु सही व्यवस्थापन गरी उच्चतम उपयोग गर्न पनि प्रशासनले अस्पताललाई ध्यानाकर्षण गराएको छ ।

भारतमा कोभिड–१९ का संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु

काठमाडौँ । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस ९कोभिड–१९० बाट संक्रमितको संख्या अघिल्लो दिनहरुको तुलनामा केही कमी आएको छ ।

भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार व्यक्ति संक्रमित भएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या २ करोड २६ लाख ६२ हजार पुगेको छ ।

साथै, विगत २४ घण्टामा तीन हजार ७५४ जनाको मृत्यु भएको छ । भारतमा यो सहित २ लाख ४६ हजार ११६ जनाको कोभिड–१९ को संक्रमणबाट ज्यान गइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा यो सहित १ करोड ८६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएको पाइएको छ ।

यसैबीच, गत जनवरीबाट थालिएको कोभिड–१९ विरुद्धको खोप लगाउने व्यक्तिको संख्या १७ करोड २ लाख पुगेको मन्त्रालयले जनाएको छ । हाल भारतमा १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन थालिएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा ३० करोड ३७ लाख नमुना परीक्षण गरिएको छ ।

भारतमा कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य संस्थामाथि ठूलो दबाब आएको छ । अक्सिजन, शैया, औषधि र अस्पतालको अभावमा मानिसहरुले सामान्य उपचार समेत नपाएर अकालमा ज्यान गुमाउनु परेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

यसैबीच, कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ३३ लाख ६ हजार व्यक्तिको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वमै सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा ५ लाख ९५ हजार, ब्राजिलमा ४ लाख २२ हजार, भारतमा २ लाख ४६ हजार, मेक्सिकोमा २ लाख १८ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा १ लाख १३ हजार तथा फ्रान्समा १ लाख ६ हजारको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

पछिल्लो समय संयुक्तराज्य अमेरिका र युरोपमा कोरोनाभाइरस विरुद्धको खोप व्यापक स्तरमा लगाउन थालिएपछि कोभिड–१९ बाट प्रभावितहरुको संख्यामा उल्लेख कमी आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विपक्षी दलद्धारा प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान

काठमाडौँ । विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न राष्ट्रपतिसँग आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरी संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेगरी प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका हुन् ।

२३२ मतमा ओलीको पक्षमा मात्रै ९३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सांसद उपस्थितिबाट मात्रै ९३ मत पाएका छन् । आज जम्मा उपस्थित २३२ रहेकोमा ओलीले ९२ मत लिएका हुन् । त्यस्तै विपक्षमा १२४ र तटस्थ १५ मत आएको छ ।

डोटी र बाग्लुङमा आज रातिबाट निषेधाज्ञा

काठमाडौँ । जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए । पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ । अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा यहाँका सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधैँ गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना सङ्क्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन् ।

बागलुङमा आजदेखि निषेधाज्ञा

बलेवा– कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेपछि निषेधाज्ञा जारी भएको हो ।

समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा जारी भएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए । निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन् । कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ ।

सङ्क्रमित जनप्रतिनिधिको मृत्यु

बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोलागाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आउनुभएकी उहाँको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचारकक्षमा राखेर उहाँको उपचार भइरहेको थियो । श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य थिए ।

वडावडामा मेलमिलाप केन्द्र स्थापना

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना शुरु गरेको छ । सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडावडामा नै मेलमिलाप केन्द्र स्थापना शुरु गरेको हो ।

चौध वडा रहेको नगरपालिकाका पाँच वटा वडामा मेलमिलाप केन्द्र स्थापना भइसकेको नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले जानकारी दिए । उनका अनुसार वडा नं १०, ११, १२, १३ र १४ वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । “सबै वडामा मेलमिलाप केन्द्र स्थापना गछाँै अहिले कोरोना जोखिमका कारण केही वडामा स्थापना गर्न ढिलाइ भएको छ”, जोशीले भने।

न्यायिक समितिमा मुद्दाको चाप घटाउने र सामान्य विवादका घटनालाई वडाबाटै निरुपण गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गर्न थालिएको जोशीले जानकारी दिए । “सबै मुद्दा न्यायिक समितिमा पठाउँदा मुद्दाको चाप बढी हुने गर्छ, सामान्य विवादलाई वडामै छलफलबाट टुङ्ग्याउन सकिन्छ”, जोशीले भने, “कतिपय मुद्दाहरु सीधै न्यायिक समितिमा आए पनि त्यसलाई मेलमिलाप केन्द्रमा नै पठाउने गरिएको छ ।”
नगरपालिकाले सबै वडाका तीन÷तीन जनालाई मेलमिलाप तालीम दिइसकेको छ । तालीम लिएकाहरु नगरपालिकाको मेलमिलापकर्ताका रुपमा सूचीकृत भएका छन् । “तालीम लिएका मेलमिलापकर्तालाई नै मेलमिलापका लागि खटाउँछौँ”, उनले भने । जोशीका अनुसार मेलमिलाप केन्द्रमा समाधान हुन नसकेका मुद्दा मात्रै न्यायिक समितिमा पठाइन्छ । “कतिपय मुद्दा न्यायिक समितिबाटै निरुपण गर्नुपर्ने हुन्छ, त्यस्ता मुद्दा मेलमिलाप केन्द्रबाट न्यायिक समितिमा आउँछ”, उनले भने, “बाँकी सबै मुद्दालाई मेलमिलाप केन्द्रबाट मिलाउँछौ ।”

स्थानीय शासन ऐन २०७४ बमोजिम नगरपालिकामा उपप्रमुखका संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानूनी प्रावधान रहेको छ ।

स्थानीयस्तरमा शान्ति, सौहार्द र मेलमिलाप कायम गरी स्थानीय विकास प्रक्रियालाई टेवा पु¥याउन, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुसलमान, पिछडा वर्ग, सीमान्तकृत समुदायको सशक्तीकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानवाधिकार र नागरिक हितको सम्बद्र्धनमा मेलमिलाप केन्द्रले सहयोग पुग्ने विश्वास गरिएको छ ।

आइसोलेशनसहितको अस्पताल निर्माण गर्न समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यमा वडा नं ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी रहनुभएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ६१औँ कार्यपालिका बैठकमा ‘कोभिड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा छलफल गरी कोभिड अस्पताल सञ्चालनमा जोड दिइएको हो ।

समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने, बिरामीलाई अक्सिजन मात्र दिएर सामान्य उपचार गर्दा हुने र जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचारकक्ष निर्माण गर्ने विषयमा सिफारिश गर्नेछ ।

कापमले तर्जुमा गर्ने महामारी नियन्त्रण कार्यक्रममा डा गणेश गुरुङ, डा अर्जुन कार्की, डा अनुप सुवेदी र डा शरद् वन्तलाई स्वास्थ्यविज्ञका रूपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ । त्यस क्रममा वडाध्यक्षहरु दलबहादुर कार्की, नीलकाजी शाक्य, शुद्धकुमार डङ्गोल, दीपेन्द्र लामा र दीपक केसीले महामारी व्यवस्थापन गर्न वडा तहबाट कठिन हुँदै गएको बताएका थिए ।

बैठकले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) स्थानीय समिति गठन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७८’ र छात्रवृत्ति कार्यविधि–२०७८’ तर्जुमा गर्न सहमति दिएको छ । यस्तै छत्रपाटी निःशुल्क चिकित्सालय र ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको भवन नक्सा पास दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।

भारतका पाँच राज्यमा मतगणना जारी, बङ्गालमा त्रिणमुलको अग्रता

काठमाडौँ । भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ ।
चुनावको प्रारम्भिक विवरण अनुसार मतपरिणाम प्रारम्भिक नतिजा मिश्रित किसिमको आएको छ ।
यसपटक पश्चिम बङ्गाल, असम, केरला र तमिलनाडू राज्य तथा केन्द्र शासित पुडुचरी राज्यमा चुनाव भएको हो । सबैभन्दा ठूलो राज्य पश्चिम बङ्गालमा मुख्यमन्त्री ममता बनर्जीको दल त्रिणमुल कङ्ग्रेसले लगातार तेस्रो पटक चुनाव जितेर सरकार बनाउने प्रयत्नमा छ भने यहाँ भारतीय जनता पार्टीले त्रिणमुलमाथि कडा टक्कर दिने अनुमान गरिएको छ ।
मध्यान्हसम्मको मतगणनामा कूल २९२ सिट रहेको पश्चिम बङ्गालमा त्रिणमुल कङ्ग्रेसले १७७ तथा भारतीय जनता पार्टीले १०९ स्थानमा अग्रता बनाएका छन् । लामो समय शासन गरेको कम्युनिष्ट पार्टी माक्र्सवादी समेतको गठबन्धनले ४ स्थानमा अग्रता बनाएको छ ।
यस्तै २३४ सिट रहेको तमिलनाडूमा डिएमकेको गठबन्धनले १४१ स्थानमा अग्रता बनाएको छ भने एआइएडिमकेले ८७ स्थानमा अग्रता कायम गरेको छ । यसैगरी, १४० सिट रहेको केरलामा एलडिएफले ८० तथा युडिएफले ४८ स्थानमा अग्रता बनाइरहेका छन् ।

असम राज्यमा भने सत्तारुढ भारतीय जनता पार्टीको गठबन्धन (एनडिए) अग्रस्थानमा छ । कूल १२६ सिट रहेको असममा एनडिएले ७४ र भारतीय राष्ट्रिय कङ्ग्रेसको गठबन्धन (युपिए) ले ५२ स्थानमा अग्रता बनाएका छन् ।
यस्तै ३० सिट रहेको पुडुचरीमा एनडिएले १५ र युपिएले ८ स्थानमा अग्रता बनाएका छन् । मतगणनाको अन्तिम नतिजा आजै साँझसम्ममा प्राप्त हुने अनुमान गरिएको छ ।

वीर अस्पतालको नयाँ भवन कोभिड–१९ अस्पताल बनाईने

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी बताए ।

सरकारले चाँडै नै उक्त भवनमा सङ्क्रमितको उपचारका लागि आइसोलेशन शैय्या सञ्चालनको तयारी थालेको छ । आजै सरकारले काठमाडौँ उपत्यकामा रहेको निजी तथा सरकारी अस्पतालमा एक हजार शैय्या थप गरी सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले अस्पतालमा शैय्याको अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ । उपप्रधानमन्त्री पोखरेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी दिए ।

थप ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि

काठमाडौँ । देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित् फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सात हजार २११ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
१६ हजार १४७ पिसिआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्रमण देखिएको हो । यससँगै नेपालमा तीन लाख ३६ हजार ३० जना सङ्क्रमित भएका छन् । आज देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार ८०९ र २० देखि २९ वर्ष उमेर समूहका एक हजार ७६७ रहेका छन् । त्यस्तै ९ वर्ष उमेर समूहका बालबालिका १६६, १० देखि १९ वर्ष उमेर समूहका ४५७ रहेका छन् ।

सङ्क्रमित निको भई एक हजार ६१२ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ८३ हजार ९९४ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४.५ प्रतिशत रहेको छ ।

सङ्क्रमणबाट आज २७ जनाको निधन भएको छ । नेपालमा अहिलेसम्म तीन हजार ३२५ जना सङ्क्रमणबाट निधन भएका छन् । डा गौतमका अनुसार आज काठमाडौँ उपत्यकामा तीन हजार ५९५ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ सङ्क्रमित भएका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला १२ पुगेका छन् । प्रवक्ताका अनुसार तिनमा मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली छन् ।

पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । बिहान राजिनामा दिएका पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको आधारमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।