नेकपा (एकीकृत समाजवादी)मा मेचीदेखि महाकालीसम्म जनलहर : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको बताएका छन्।

आज बिहान सञ्चारकर्मीसँग विराटनगर विमानस्थलमा संक्षिप्त कुराकानीको क्रममा उनले नेकपा (एकीकृत समाजवादी)मा जनलहर देखिएको बताएका हुन् ।

एक फरक प्रसंगमा उनले वर्तमान पाँच दलीय गठबन्धन काँचो धागोले बाँधेको नभएको बताएका छन्।

उनले भने “वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत छ”।

न्यायपालिकावारे सञ्चारकर्मीको प्रस्नमा उनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए।

उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाए ।

प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए।

विद्युतीय सवारीको प्रवद्र्धनमा ऊर्जामन्त्रीको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विद्युतीय सवारी र्‍यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु दुई अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा रु ४० अर्ब खर्च भइरहेको उल्लेख गर्नुभयो ।

बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

उहाँले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युत्को खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारणा राख्नुभयो ।

मन्त्री भुसालले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्दछ भन्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव सागर राईले विद्युतीय सवारी वातावरणमैत्री, यात्रुका लागि सहज र विद्युत्को खपत बढाउने क्षेत्र भएकाले यसको प्रवद्र्धनमा सरकार, निजी क्षेत्र र सर्वसाधारणले विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले वातावरण संरक्षण र स्वच्छ ऊर्जाको प्रवद्र्धनमा जोड दिँदै आएको केन्द्रले विद्युतीय सवारीको बारेमा सर्वसाधारणलाई जानकारी र नीतिनिर्माताहरुलाई पनि प्रविधिको बारेमा अवगत गराउन र्‍यालीको आयोजना गरेको जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै चार÷पाँच सय मेगावाट विद्युत् खेर गइरहेको र आगामी दिनमा यो परिणाम अझ बढ्ने निश्चित रहेकाले विद्युत्को खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण भइरहेको उल्लेख गर्नुभयो ।

ललितपुरको जावलाखेलबाट शुरु भएको र्‍याली काठमाडौँका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा आएर विसर्जन भएको थियो । र्‍यालीमा विद्युतीय साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो र कार गरी झण्डै ३०० को सङ्ख्यामा सहभागिता थियो ।

राष्ट्रपति भण्डारीबाट मुक्तिनाथमा पूजाअर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।

राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभयो ।

मुक्तिनाथको दर्शन भ्रमणका लागि उहाँ आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा (एमाले) का नेत्री श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गर्नुभएको थियो ।

नेपालमा लामो समयदेखि कारोना भाइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधी एवं तीर्थयात्रा हुन सकेको छैन ।

यस अवस्थामा नेपालको पर्यटन एवं तीर्थयात्रा सुरिक्षत छ भन्ने सन्देश दिन र नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार होस् भन्ने हेतुले राष्ट्रपति भण्डारी आज मुस्ताङ जिल्लामा अवस्थित सुप्रसिद्ध मुक्तिनाथ मन्दिर पुग्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । राष्ट्रपति भण्डारी आजै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जानुहुने भएको छ ।

देशभर चिसो बढ्योः जुम्लाको तापक्रम दुई डिग्री

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ ।

काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताउनुभयो । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ ।

महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।

हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरिँदै

निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीसम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्थाअनुरुप आयोगले नामावली सङ्कलनको अभियान सञ्चालन गर्न लागेको हो ।

रासससँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकका सबै पालिका केन्द्रमा मङ्सिर १ गते वा अर्काे कुनै उपयुक्त समयमा टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान अघि बढाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आउँदो चैतसम्ममा स्थानीय तहको निर्वाचन हुन्छ भन्ने कानूनी व्यवस्थालाई टेकेर आउँदो मङ्सिर मसान्त अभियान सम्पन्न गर्ने हेतुले मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गरिनेछ ।”

जनताको घरदैलो नजिक पुगेर सेवा प्रदान गर्ने क्रममा आयोगले नामावली सङ्कलन गाउँपालिकाको केन्द्रमै दर्ता टोली खटाएर गराउन लागेको हो ।

मतदाता नामावलीमा नाम दर्ताका लागि १८ वर्ष पुगिसकेका व्यक्तिले पालिका केन्द्रमा आउने टोलीसमक्ष नेपाली नागरिकताको प्रमाणपत्र देखाएर आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

अभियानमा नाम दर्ताका सन्दर्भमा १६ वर्ष उमेर पुगेका व्यक्तिकोसमेत नाम दर्ता र तस्वीर खिच्ने काम हुनेछ ।

निर्वाचनका लागि मतदाता नामावली सबैभन्दा प्राथमिक विषय मानिएकाले आयोगले विशेष अभियानमार्फत मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।

आयोगले रोजगारी, पठानपाठन र व्यवसायका सिलसिलामा स्थायी ठेगानाभन्दा बाहिर रहे बसेका मतदातालाइ छिट्टै नै सवै निर्वाचन कार्यालय, इलाका प्रशान कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ३६५ दिन नियमितरुपमा मतदाता नामावली नाम दर्ताका लागि आवश्यक स्थायी बन्दोबस्ती मिलाउन लागेको छ ।

कार्यस्थलबाटै आफनो स्थायी ठेगानामा मतदाता नामावलीमा नाम सङ्कलन गर्न चाहनेलाई सहज तुल्याउने हेतुले आयोगले मुलुकभरका सबै निर्वाचन कार्यालयबाट बाह्य जिल्लाकोसमेत मतदाता नामावलीमा नाम दर्ता गर्ने अभियान पनि प्रारम्भ गर्न लागेको हो ।

आगामी दिनमा यो अभियानलाई कानूनी बन्दोबस्तभित्र राखेर सधैँ नियमितरुपमै सङ्कलन गर्ने व्यवस्था मिलाइने प्रमुख आयुक्त थपलीयाले जानकारी दिनुभयो ।

विद्यमान निर्वाचन ऐनअनुरुप निर्वाचनको मिति तय भएपछि मतदाता नामावली सङ्कलन गर्न नसकिने प्रावधान छ ।

मतदाता नामावली सङ्कलन गर्नका निम्ति निर्वाचन आयोगलाई एकाधिकार छ ।

आयोगले नियमितरुपमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय मतदाता नामावली दर्ता गर्दै आएको छ ।

निर्वाचन आयोगले कुनै पनि मतदाता मतदानमा नछुटुन् भन्ने ध्येयले निर्वाचन अघि निर्वाचनलाई लक्षित गरी नामावली सङ्कलनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरी मतदाता नावमाली सङ्कलन गर्दै आएको छ ।

बर्दिबासमा मेडिकल कलेज निर्माणको प्रक्रियाले गतिलिएसँगै महोत्तरीमा उत्साह

महोत्तरी-बर्दिबासमा मेडिकल कलेज निर्माणको प्रक्रिया अघिबढेसँगै महोत्तरीमा उत्साह छाएको छ ।

लामो समयदेखि वातावरणीय प्रभाव मुल्याङ्कनको अड्चनले रोकिदै आएको बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको फाइल प्रदेश नं २ सरकारबाट स्वीकृत भएसँगै अब निर्माणको कामले गति लिने आशमा महोत्तरीमा उत्साह छाएको हो ।

“मेडिकल कलेज निर्माणको कुरा हाम्रा लागि अवसर र गौरवको हो” बर्दिबासकै छिमेकको भङ्गाहा नगरपालिकाका–७ का बासिन्दा शिक्षाविद् चन्द्रनारायण सिंह थारुले भन्नुभयो, “वनसम्वद्ध डिभिजन र प्रादेशिक कार्यालयले फाइल स्वीकृत गरी केन्द्रमा पठाएका छन्, अब कामले गति लिने आश जाग्यो ।”

कलेज निर्माण भएपछि शिक्षा क्षेत्रमा मात्र नभएर रोजगारी प्रवद्र्धनमा समेत फड्को मार्ने विश्वास माध्यमिक विद्यालयको प्रधानाध्यापक रहेर भर्खरै सेवानिवृत हुनुभएका थारुको विश्वास छ ।

कलेज निर्माणको प्रक्रिया अघि बढेसँगै जिल्लाका बर्दिबास, भङ्गाहा, औरही र गौशाला नगरपालिका क्षेत्रका बासिन्दाले आफ्नै आँगनमा राष्ट्रिय महत्वको गौरवपूर्ण उपलब्धी प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

“मेडिकल कलेज निर्माणको प्रक्रिया अघि बढेछ, यो हामी बर्दिबास वरिपरिका बासिन्दाका लागि मात्र नभएर सिङ्गो जिल्ला र प्रदैशकै लागि महत्वपूर्ण उपलब्धी हुने औरही–१ का बासिन्दा पूर्वविद्यार्थी नेता सरोज यादवको भनाइ छ ।

प्रदेशबाट केन्द्रमा फाइल पठाइएको हुँदा अब कलेजको पूर्वाधार निर्माणको काम छिटै विधिसम्मत ढङ्गले अघि बढ्ने विश्वास बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको छ ।

“ढिलै भएपनि प्रक्रिया अघि बढेको छ, अब कामले गति लिनेछ”, आयोजनाका निर्देशक (उपसचिब) देवीप्रसाद सुवेदीले भन्नुभयो ।

पूर्वाधार निर्माणका लागि महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित अटाबे खोल्सी र भब्सी नदी बीचको वनक्षेत्र पातलिएको जग्गा पहिचान भएसँगै सम्पूर्ण प्रक्रिया सकेर करिब एक वर्षअघि स्वीकृतिका लागि फाइल डिभिजन वन कार्यलय महोत्तरी पठाइएको थियो ।

अहिले डिभिजन वन कार्यालय हुँदै प्रादेशिक वन कार्यालयबाट फाइल स्वीकृत भएर केन्द्रमा पठाइएसँगै यहाँ कलेज निर्माणको कामले गति लिने आश बढेको हो ।

मुलुककै गौरवको योजना मानिएको बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण आयोजनामा प्रदेश सरकार नै उदासीन रहेको आरोप लागिरहेका बेला प्रदेश सरकारबाट फाइल सदर गर्दै सङ्घीय सरकारको सम्बन्धित कार्यालयमा पठाइएपछि अब कलेजको पूर्वाधार निर्माणको काम अघि बढ्ने विश्वास जागेको बर्दिबास–१४ का वडाअध्यक्ष भरत हमालले बताउनुभयो ।

सङ्घीय सरकारको ‘एक प्रदेश, एक मेडिकल कलेज’को अवधारणाअनुसार आर्थिक वर्ष २०७३-०७४ को बजेट वक्तव्यमा प्रदेश नं २ महोत्तरीको बर्दिबासमा, प्रदेश नं ५ को रूपन्देहीको तिलोत्तमामा र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख भएको थियो ।

विसं २०७५ फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट त्यसअघि नै स्वीकृत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना सञ्चालन कार्यविधि–२०७५ र आयोजना कार्यालय सञ्चालनका लागि कर्मचारीको दरबन्दी अनुमोदन गरेको थियो ।

यसअनुसार तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले बर्दिबास–१ मा २०७६ वैशाख १८ गते उद्घाटन गर्नुभएको बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयमा अहिले आयोजना निर्देशक (उपसचिव शिक्षा सेवा) एक, शाखा अधिकृत एक, इञ्जिनीयर एक, लेखापाल एक, हलुका सवारी चालक एक, कार्यालय सहयोगी एक र पाले एकसमेत सात जनाको जनशक्ति रहेको आयोजना निर्देशक सुवेदीको भनाइ छ ।

पछिल्लो पटक आयोजना कार्यालय, डिभिजन वन कार्यालय महोत्तरी, प्रदेश सरकारका सम्वद्ध पक्ष, पर्यावरणविद् र राजनीतिक दलबीचको निरन्तर छलफलपछि बर्दिबास नगरपालिकाको वडा नं ४ स्थित अटाबे खोल्सी र भब्सी नदी बीचको ४९ हेक्टर क्षेत्रफलको जग्गामा मेडिकल कलेज निर्माण गरिने आयोजनाको फाइल अघि बढेको हो ।

कलेजको पूर्वाधार संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन प्रस्ताव (डीपीआर), वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन, माटो परीक्षण र लागत अनुमानसहितका अध्ययन प्रतिवेदन तयार भइसकेको हुँदा अब तिनै प्रतिवेदनलाई थप परिभाषित गरेर काम बढ्ने आयोजना प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

प्रदेश नं २ को पूर्वपश्चिम लम्वाइको करिब माझमा पर्ने, पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमस्थल रहेको हुँदा बर्दिबास मेडिकल कलेज निर्माणका लागि उपयुक्तस्थल रहेको अहिले आम बुझाइ देखिन्छ ।

वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनानुसार ४९ हेक्टर क्षेत्रफलमा संरचना निर्माण गर्दा एक हजार ९६७ वटा रूखहरू काटनुपर्ने उल्लेख छ ।

तर डीपीआर निर्माणका लागि परामर्श सेवा प्रदायक संस्था जेभीले भने निर्माणस्थलमा ४०० देखि ५०० रूख मात्र काटिने जनाएको छ ।

मेडिकल कलेज स्थपनाको पूर्वतयारीका लागि सङ्घीय सरकारले हालसम्म करिब रु छ करोड खर्च गरिसकेको छ भने डीपीआरको हालसम्मको रिपोर्टअनुसार संरचना निर्माण सम्पन्न गर्न अनुमानित रु ३० अर्ब लाग्ने आँकलन गरिएको छ ।

यो आयोजना सम्पन्न भएसँगै एक हजार बेडको अस्पताल निर्माण हुनेछ भने अन्तर्राष्ट्रिय स्तरको मेडिकल कलेज स्थापना हुनेछ ।

कलेजमा प्रारम्भका पाँच वर्षसम्म वार्षिक १०० जना चिकित्सक तथा १६० जना नर्सिङ जनशक्ति उत्पादन हुनेछन् ।

राज्यमा रोजगारीको अवसर सिर्जना हुनुका साथै देशका प्रतिभावान एवम् विपन्न व्यक्तिले सहज र सुलभ किसिमले चिकित्सा शिक्षा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको आयोजना निर्देशक सुवेदीको भनाइ छ ।

प्रधानमन्त्री देउवा लण्डनमा

लण्डन-प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइपुग्नुभएको छ ।

नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनुभएको हो ।

विमानस्थलमा उहाँलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहनुहुने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनुहुनेछ ।

प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा प्रेमनारायण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत अन्य उच्च अधिकारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना हुनुहुन्छ ।

बार बैठकको निर्णय: प्रधानन्यायाधीशको विरोधमा कालोपट्टी बाँध्ने

नेपाल वार एसोसिएसनका पदाधिकारीहरूको बैठकले प्रधानन्यायाधीश बिरुद्ध भद्र अवज्ञा गर्ने निर्णय गरेको छ ।

शुक्रवार बसेको बैठकले विरोधस्वरुप हातमा कालोपट्टी बाँध्ने, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूबाहेकको बेन्च राख्न आग्रह गर्ने निर्णय गरेको बारका सदस्यले जानकारी दिएका छन् ।

राजीनाको माग यथावत् राखी देशभरका बार इकाइमार्फत् थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने निर्णय आजको वार बैठकले गरेको छ ।

म्याद सकिएको सामग्री प्रयोग गरेको भन्दै गुलाबलाई रु दुई लाख जरिवाना

म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई रु दुई लाख जरिवाना गराइएको छ ।

काठमाडौँ महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री प्रयोग गरेका, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएको पाइएपछि रु दुई लाख जरिवाना गरिएको हो ।

सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्रान्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको छ ।

कामपाले गत वर्षको तिहारमा गरेको अनुगमनका क्रममा पनि उक्त पसललाई सरसफाइ र म्याद सकिएको सामग्रीको बिक्री वितरण नगर्न निर्देशन दिएको थियो ।

अनुगमनमा खटिनुभएका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले गुलाबमा भेटिएका मिठाई खाद्य सुरक्षाका दृष्टिकोणबाट गम्भीर असर पुर्‍याउन सक्ने बताउनुभयो ।

“समय दिँदा पनि सुधार नगर्नेलाई हदैसम्मको कानुनी दायरामा नल्याई उपभोक्ता ठगिने क्रम रोकिँदैन,” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

आउँदै गरेको तिहारलाई लक्षित गरेर कामपाले गत सोमबारदेखि बजार अनुगमन गरिरहेको छ ।

विगत पाँच दिनदेखि गरिएको अनुगमनका क्रममा समस्या विनाको कुनै पसल फेला नपरेको बताइएको छ ।

यसअघि पनि कामपाले चार पसललाई नवीकरण नगरेको, सरसफाइमा ध्यान नदिएको र अखाद्य वस्तु मिसाएको भन्दै करिब रु एक लाख जरिवाना गराइसकेको छ ।

सर्वोच्चका १५ न्यायाधीशविरुद्ध परमादेशको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं-सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्न र नगराउन माग गर्दै तीनवटा रिट आएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् ।

स्वागत नेपाल, कृष्ण प्रसाईंलगायत अधिवक्ताहरुले लिएर गएको रिट दर्ता प्रक्रियामा रहेको प्रवक्ता दाहालले बताएका छन् ।

मा न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ नहुँदा न्यायको हक उल्लंघन भएको भन्दै रिट निवेदनमा पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारी गर्न माग गरिएको छ ।

कक्षा ४, ५ र ९मा नयाँ पाठ्यक्रम लागू हुदै

काठमाडौं-आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने निर्णय भएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको परिषद् बैठकले मदरसामा अनिवार्य विज्ञान तथा प्रविधि विषयको सट्टामा दिनियात विषय अध्ययन गर्न पाउने निर्णय गरेको छ ।

बैठकले नेपालको संविधानमा मातृभाषाको व्यवस्था गरेअनुरुप थप अन्य मातृभाषाको पाठ्यक्रम पनि बन्न सक्ने र ऐच्छिक विषयको रुपमा पठनपाठन हुनसक्ने गरी व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रका महानिर्देशक न्यौपानेले भने, ‘अब अरु मातृभाषाका विषय पनि ऐच्छिक विषयको रुपमा पढाउन सकिने र त्यसका लागि पाठ्यक्रम तयार गर्न सकिने गरी निर्णय गरिएको छ ।’

बैठकले जापानी, कोरियन, चिनियाँ लगायतका विदेशी भाषाको पाठ्यक्रम पनि स्वीकृत गरेको केन्द्रले जनाएको छ ।

माओवादीले देशको भविष्य निर्माण गर्छ: ‘प्रचण्ड’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताउनुभएको छ ।

माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले माओवादी देशको केन्द्रबिन्दु वन्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ ।”

माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उहाँको भनाइ थियो ।

आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने भन्दै उहाँले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “म त हाम फालेकै छु हाम फालिराख्छु । तपाईहरु लाग्नुस् ।”

माओवादी सरकारमा हुँदा वा नहँुदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको दाबी उहाँले गर्नुभयो ।

उहाँले आफू राजनीति र जनताको कामबाट नथाक्ने र कहिल्यै नभाग्ने बताउनुभयो । उहाँले आफू चितवनबाट कतै नभाग्ने पनि बताउनुभयो ।

उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति इङ्गित गर्दै भन्नुभयो, “प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस् ।”

एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरिएको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन र विकासका काममा थाक्दिन पनि ।”

माओवादी केन्द्रका महानगर इञ्चार्ज रेनु दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केन्द्रमा प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गर्नुभएको थियो ।

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी हुन आज बिहान बेलायत प्रस्थान गरेपछि उपसभापति निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

उपसभापति निधिलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम पार्टी आफू स्वदेश नफर्कञ्जेलसम्मका लागि सभापति देउवाले उपसभापति निधिलाई कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्तिक २३ गते भारत भ्रमण जादै प्रधानसेनापति शर्मा

काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा यही कार्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् ।

नेपाली सेना र भारतीय सेनाको परम्परागत सम्बन्धअनुसार भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मान ग्रहण गर्न प्रधानसेनापति भारत जान लागेको हुन्।

भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारत भ्रमणमा जाने भएका हुन्।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार कार्तिक २३ गते भारतको नयाँदिल्ली पुग्ने प्रधानसेनापति शर्माले कार्तिक २४ गते भारतीय राष्ट्रपति रामनाथ कोविन्डबाट मानार्थ महारथी दर्जाको सम्मान ग्रहण गर्ने कार्यक्रम रहेको छ।

भारतीय सेनाको मानार्थ महारथी दर्जा सम्मान ग्रहण गरेको भोलिपल्ट प्रधानसेनापति शर्माले भारतीय राष्ट्रपति कोविन्डसँग शिष्टाचार भेट गर्ने सैन्य प्रवक्ता पौडेलले जानकारी दिए।

भारत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्रीसँगै भारतका सेनाध्यक्ष नरवणेसँग समेत छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रधानसेनापति कार्तिक २६ गते स्वदेश फर्कने छन्।

चोलेन्द्रशमशेर राणाले राजीनामा नदिने भएपछी नयाँ रणनीति बनाउदै वार

काठमाडौँ-नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा नदिने भएपछी नयाँ रणनीति बनाउन बैठक बोलाएको छ ।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनको भबनमा आज अपरान्ह बैठक बस्न लागेको हो ।

बारको अघिल्लो बैठकले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आह्वान गरेको थियो ।

बारसँगै सर्वोच्चमा न्यायाधीशहरुले समय राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दा पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडान लिँदै आएका छन् ।

उनले आफू विधि प्रक्रियाबाट प्रधानन्यायाधीशमा नियुक्त भएकाले कसैले राजीनामा माग्दैमा नदिने अडान दोहोर्‍याउँदै आएका हुन्।

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनको घोषणा गर्ने बताएको थियो ।

सोहीअनुसार आन्दोलनका कार्यक्रमको तयारी गर्न बार एसोसियसनको बैठक बस्न लागेको अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिए । ‘बैठकले अब के कसरी अघि बढ्ने भन्ने स्पष्ट निर्णय गर्छ’, अध्यक्ष श्रेष्ठले भने।

बारले पहिलो चरणमा सर्वोच्च अदालतमा मात्रै आन्दोलन गर्ने र राजीनामा नआए विस्तारै सबै बार इकाइसम्म आन्दोलन विस्तार गर्ने निर्णय गरेको छ।