नौ वटा निर्वाचन क्षेत्रमा गठबन्धन दलहरुको दोहोरो दाबी, अन्य क्षेत्रमा यस्तो छ भागबण्डा

काठमाडौं, १३ असोज । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये ९ निर्वाचन क्षेत्रमा दलहरुले दोहोरो दाबी गरेका कारण तालमेल टुंगिन बाँकी रहेको छ ।

गठबन्धनबीच नेपाली कांग्रेसले ८५ वा ८६, नेकपा माओवादी केन्द्रले ४५ वा ४६, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा) नेपालले १५ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र पाउने सहमति जुटेको छ।

जसमध्ये अछाम–१, बारा–४, धादिङ–१, सल्यान, नवलपरासी पश्चिम, रुपन्देही–१, धनुषा–३, महोत्तरी–३ र दैलेख–१ मा दलहरुले दोहोरो दाबी गरिरहेका छन्। सिट बाँडफाँटका लागि गठत कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदल स्रोतका अनुसार अछाम–१, बारा–४, धादिङ–१, सल्यानमा माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरेका छन्।

यस्तै नवलपरासी पश्चिम, धनुषा–३ तथा महोत्तरी–३ मा कांग्रेस र माओवादी, रुपन्देही–१ म माओवादी र जसपा र दैलेख–१ मा कांग्रेस र एकीकृत समाजवादीले दोहोरो दाबी गरिरहेका छन्।

यी हुन कांग्रेसले लिने सिट

सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले ८५ वा ८६ सिटमा सहमति जनाउने भएको छ।

जस अनुसार प्रदेश १ मा पाँचथर, इलाम–२, झापा–१, झापा–३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी–२, ३ र ४, ओखलढुंगा,, उदयपुर–१ लिनेगरी सहमति भएको छ।

नेपालखबरलाई प्राप्त सूची अनुसार मधेश प्रदेशमा कांग्रेसले सप्तरी–३, सप्तरी–४, सिराहा–१ र २, धनुषा २, ३ र ४, महोत्तरी–२ र ३, सर्लाही–४, बारा–१, पर्सा–३ र ४ लिने भएको छ।

त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप–१, सिन्धुली–१, रसुवा, धादिङ–२, काठमाडौं–१, ३, ४, ५, ६, १०, भक्तपुर– १ र २, ललितपुर–१, काभ्रे–२, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१ र २ लिने भएको छ। त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–१, मनाङ, कास्की, तनहुँ–१ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिने सहमति गरेको छ।

लुम्बिनी प्रदेशमा गुल्मी–१, पाल्पा–१, अर्घाखाची, रुपन्देही–३, ४ र ५, कपिलवस्तु–२ र ३, बाँके–३, दाङ–३, बर्दिया–१, नवलपरासी पश्चिम २ लिने भएको छ। त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख–१ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ। सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम–२, कैलाली–१, ४ र ५, दार्चुला, डडेल्धुरा, कञ्चनपुर–२ र ३ लिने भएको छ।

माओवादी कहाँ–कहाँ   ?

सहमति अनुसार माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झापा–२, झापा–५, भोजपुर, मोरङ–४, मोरङ–५, सोलुखुम्बु, खोटाङ, उदयपुर–२ लिने भएको छ। यसमध्ये खोटाङ र उदयपुर–२ मा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले बतायो।

प्रदेश २ मा सिरहा–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२ र ३ लिने भएको छ। सर्लाही–२ मा जसपाले पनि दाबी गरेको छ। बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिने बताइएको छ।

त्यस्तै, सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीले लिने भएको छ। धादिङ–१ मा भने एकीकृत समाजवादीले पनि दाबी गरेका छन्।

त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ–२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपीलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ माओवादीले लिने भएको छ। जसमा रुपन्देही–१ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसको पनि दाबी छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३, बैतडी, कञ्चनपुर–१ लिने भएको छ। अछाम–१ मा एकीकृत समाजवादीको पनि दाबी रहेको छ।

एकीकृत समाजवादीले पाउने सिट

एकीकृत समाजवादीले १७ सिटमा दाबी गरेको छ। जसमध्ये इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–२, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ।

अछाम–१ मा भने माओवादीको पनि दाबी रहेको छ।

जसपाले पाउने सिट

जसपाले १६ सिट लिनेगरी सहमति भएको स्रोतले जानकारी दिएको छ। जस अनुसार सुनसरी–१, सप्तरी–१, सिराह–४, धनुषा–३, महोत्तरी–३ र ४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२, रुपन्देही–१ र सप्तरी–२ लिनेगरी सहमति भएको छ।

जसमध्ये धनुषा–३ र महोत्तरी ३ मा नेपाली कांग्रेसको पनि दाबी छ। त्यस्तै रुपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ।

राष्ट्रिय जनमोर्चाले भने बागलुङ–१ र प्युठान लिने भएको छ।

गृह मन्त्रालयले फर्निचर र विद्युतीय सामग्री लिलाम गर्दै

काठमाडौँ । गृह मन्त्रालयले पुराना फर्निचर, गाडीका स्पेयर पार्टस् र विद्युतीय सामाग्री लिलाम गर्न लागेका छन् । रिवल्विङ कुर्सी, ल्यापटप, कम्प्युटर र टेबल कुर्सी लिलाम गर्न मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशन गरेको छ ।

१२ मा सूचना निकालेर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीहरूलाई आग्रह गरिएको गृहमन्त्री बालकृष्ण खाँणका प्रेत संयोजक मधुसूदन भट्टराइले बताए ।

जिन्सी निरीक्षण कमिटीले गरेको सिफारिस अनुसार मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले लिलाम गर्ने तयारी गरिरहेका छन् । पहिलो पटक सूचना प्रकाशन गरेको १५ दिनमा सामान खरिद गर्न कोही तयार नभएमा पुनः सूचना प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

मन्त्रालयमा भएका पुराना सामान ३ लाख ९९ हजारमा लिलाम गर्ने गरी मन्त्रालयले सूचना प्रकाशन गरेको छ । गृह मन्त्रालय अहिले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरेको छ । पुरानो भवनको फर्निचर र कुर्सी काममा नआएपछि लिलाम गर्न लागिएको मन्त्रालयका एकजना अधिकृतले बताए ।

गत आर्थिक वर्षमा गाडी मर्मत गरेपछि फाल्नुपर्ने अवस्था भएका स्पेयर पार्टस पनि मन्त्रालयले लिलाम गर्न लागेको छ । लिलाम गर्ने सूचीमा टिनका दराज पनि छन् ।

पाँच दलीय गठबन्धनमा १५ सिट पाए जसपा

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटमा करिब सहमति भएसँगै चुनावी माहोल थप तातिएको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)१५ सिट पाउने भएको नेताहरूको भनाइ छ । यद्यपि यसबारे अन्तिम निर्णय हुन अझै बाँकी रहेको जसपाका नेता मनिष सुमनको भनाइ छ । गठबन्धनमा भएको सहमतिअनुसार क्षेत्र पाएका नेताहरू खुसी देखिन्छन् भने क्षेत्र नपाएकाहरू निराश देखिन्छन् ।

नेताहरूका अनुसार जसपाले मधेसमा मात्र ११ वटा क्षेत्र पाएको छ । जबकि जसपाले २० वटा सिटको दाबी गरेको थियो । जसपाले २०७४ को प्रतिनिधिसभा चुनावमा ९ वटा सिट मधेसमा जितेको थियो । प्रदेश १ मा एउटा, लुम्बिनी प्रदेशमा दुई वटा र बागमती प्रदेशमा एउटा सिट जसपाले पाएको छ ।

शेखर-गगन समूहलाई ३०% भाग दिन

काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचक भएका छन् । सम्मानजनक भागबण्डाको माग गर्दै शेखर र गगन समूहले लगातार दबाब बढाउँदै लगेपछि चुनावमा सम्भावित जोखिम टार्न सभापति एवं प्रधानमन्त्री देउवा मिलाएर लैजाने मनस्थितिमा पुगेको बालुवाटार स्रोतले बताएका छन् ।

यसका लागि समानुपातिक तथा प्रत्यक्षतर्फको टिकट बाँडफाँटमा शेखर र गगन समूहलाई कम्तीमा ३० प्रतिशत हिस्सा दिन देउवा तयार भएका छन् । इतर समूहले ४० प्रतिशतलाई टाइमलाइन बनाएका थिए ।

पार्टीभित्र सङ्घर्ष, त्याग तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानका आधारमा कसैलाई अन्याय हुन नदिनेमा प्रधानमन्त्री प्रतिबद्ध रहेको सचिवालयका एक सदस्यले बताए ।

असोज ३ गते काँग्रेसले निर्वाचन आयोगमा पेस गरेको बन्दसूची एकपक्षीय भएको भन्दै शेखर(गगन समूहले खबरदारीका कार्यक्रमहरू गरिरहेको छ । यो समूहका नेता(कार्यकर्ताले हिजो पार्टी केन्द्रीय कार्यालयमा धर्नासमेत दिएको थियो ।

यसैक्रममा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा देउवाले समानुपातिक सूची सच्याउने प्रतिबद्धता जनाएका थिए । शेखर समूहले उक्त बन्दसूची सच्याउन आजसम्मको अल्टिमेटम दिएको थियो । सत्तारुढ गठबन्धनबीचमा भइरहेको सीट बाँडफाँटमा पनि आफ्नो समूहका नेताको सम्भावना रहेको ठाउँमा अन्यलाई नै दिने तयारी भएको इतर समूहको आशङ्का थिए । उनीहरू देशभर उम्मेदवार दिने तयारीका साथ छुट्टै सूचीको गृहकार्यमा समेत जुटेका थिए ।

अहिले सभापति देउवाले शेखर कोइरालासहित सो समूहका शीर्ष नेता र पार्टी पदाधिकारीलाई बालुवाटार डाकेर छलफल गरिरहेका छन् । बन्दसूची संशोधन गर्ने सम्बन्धमा छलफल भइरहेको स्रोतले बताएको छ।

माफी नमागेसम्म ‘१० बुँदे’लाई टिकट नदिने: ओली

काठमाडौँ । नेकपा एमालेका पदाधिकारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिमार्फत पार्टीमा बसेका नेताहरूको नाम आउने बित्तिकै उनीहरूको बारेमा थप छलफल गर्नुपर्ने धारणा राखेका छन् ।

एमालेको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलले २०७८ असार २७ गते १० बुँदे सहमति गरेका थिए । त्यसअघि वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्दा २८ जना सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका थिए ।

तीमध्ये १२ जना नेता १० बुँदे सहमति गरेर एमालेमै रहे भने बाँकीले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे । १० बुँदे समझदारी गरेर एमालेमा बसेका नेताहरू ४ मंसिरमा हुने निर्वाचनका लागि आ-आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस पनि भएका छन् । तर अध्यक्ष ओलीले पहिले नै पार्टीमा गम्भीर गल्ती गरेको हुनाले आउँदो चुनावमा उनीहरूलाई विना आत्मालोचना टिकट दिन नहुने धारणा राख्दै आएका छन् ।

एक पदाधिकारीका अनुसार १० बुँदे सहमतिमार्फत पार्टीमा रहेका नेताहरुले अध्यक्ष ओलीसँग मौखिक माफी मागे पनि उनीहरूले टिकट पाउने सम्भावना छ । तर त्यो गल्तीलाई उहाँहरूले नस्विकारे आलीले पुनर्विचार गर्ने मनसाय बनाएको ती पदाधिकारीले बताए । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार पनि बस्दै छ ।

प्रत्यक्ष चुनाव नलड्ने मुडमा भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् ।

०७४ मा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् । भट्टराई यस पटक चुनाव नलड्ने मुडमा छन ।

सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा–२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताएका छन् ।

भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार ‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडौँ भन्ने हो । हामीले अभिभावकीय भूमिका निर्वाह गरौं भनिराख्नु भएको उनले बताए ।

आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगिसक्नु भएको छैन ।’ भट्टराईले यस पटक आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको समेत उनले बताए । भट्टराईले आगामी चुनाव नलड्ने भन्ने विषयमा पार्टीभित्र छलफल चलाएको उनले बताए ।

पार्टीका कतिपय नेताहरुले उनी आफ्नो छोरी मानुषी यामी भट्टराईलाई काठमाडौंबाट टिकट दिएमा गोरखा छोड्ने मनसायमा रहेको बताउछन् । भट्टराई २०६४ सालदेखि निरन्तर गोरखाबाट चुनाव जित्दै आएका छन् ।गोरखा–२ बाट भट्टराई २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् ।

रवीन्द्र मिश्र काठमाण्डु–१ बाट चुनाव लड्ने

काठमाण्डु, १३ असोज– विवेकशील साझा पार्टी छाडेर राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्र काठमाण्डु–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएकाे छ ।
मिश्र यसअघि ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेर काँग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएकाे थियाे । सत्ता गठबन्धनबीचको भागबण्डामा उक्त क्षेत्र फेरि काँग्रेसले पाउने सहमतिसँगै मिश्र र श्रेष्ठबीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।
मिश्र बुधबार मात्र राप्रपा प्रवेश गरेका थिए । उनले राप्रपामा तेश्रो वरियतासहित वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् । मिश्रले उम्मेदवारी घोषणाका लागि बुधबार अपराह्न बानेश्वरमा कार्यक्रम आयोजना गरेका छन् ।

समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पायो १७ सिट, को नेता कहाँबाट उठ्दै ?

काठमाण्डु, १३ असोज– एकीकृत समाजवादीले सत्ता गठबन्धनबीच भएको भागबण्डामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १७ सिट पाउने भएको छ ।

सत्ता गठबन्धनबीच गएराति अबेर भएको सहमतिअनुसार समाजवादीले १७ सिट पाउने करिब निश्चित भएको सो दलका एक नेताले जानकारी दिए । यसअघि उक्त दलले ४० सिटमा दाबी गरेको थियो । नेता व्यवस्थापनलाई हेरेर सिट बाँडफाँट गरिएको छ ।

सम्मानित नेता झलनाथ खनालका लागि इलाम–१, अध्यक्ष माधवकुमार नेपालका लागि रौतहट–१, उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका लागि धादिङ–१, जीवनराम श्रेष्ठका लागि काठमाण्डु–८, कृष्णलाल महर्जनका लागि ललितपुर–२ विरोध खतिवडाका लागि मकवानपुर–२, कृष्णकुमार श्रेष्ठ किसानका लागि बारा–४, रामकुमारी झाँक्रीका लागि गुल्मी–२, सोमप्रसाद पाण्डेका लागि पाल्पा–२, मेटमणि चौधरीका लागि दाङ–१, प्रकाशबहादुर बुढाथोकी प्रकाश ज्वाला० का लागि सल्यान, धनबहादुर बुढाका लागि डोल्पा, प्रेमबहादुर आलेका लागि डोटी समाजवादीले लिने भएको हो ।

यस्तै समाजवादीले कास्की–२, रुपन्देही–२, दैलेख–१, अछाम–१, र बझाङको प्रतिनिधिसभा पाउने सहमति गठबन्धन दलहरुबीच भएको छ ।

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ ।

विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन हुन सम्बन्धित सबैमा प्राधिकरणले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

यदि कसैले उक्त सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाउने कार्य वा गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेसमेत प्राधिकरणले चेतावनी दिएको छ । दसैँ नजिकिएसँगै अहिले विमानस्थललगायत काठमाडौँका विभिन्न स्थानमा चङ्गा उडाउने कार्य तीव्ररुपमा चलिरहेको छ ।

डेंगुबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ ।

हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

प्राय दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।

लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।

पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।

साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुने चिकित्सकहरुको सुझाव छ ।

बौद्ध तामाङ कल्याण गुठीको अध्यक्षमा: जयमंगल

काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीको छैठौं अधिवेशन तथा १७ औं वार्षिक साधारणा सभा सम्पन्न भएका छन् । अधिवेशनले जयमंगल लामालाई अध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । आज सम्पन्न अधिवेशनले लामाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा मोहन कुमार लामा र सोनाम लामा, उपाध्यक्षमा नुर्वु लामा र बिष्णु लामा, सचिवमा धर्म वीर लामा कोषाध्यक्ष, श्रीजन लामा, सह–कोषाध्यक्ष कर्म फेन्जो लामा चयन भएका छन् । त्यस्तै सदस्यहरु गंगा लामा, गंगा लामा शाक्य, लालबहादुर लामा कृष्णबहादुर, लामा दिपेन्द्र लामा, कमल लामा, चन्द्र जीत लामा, लाक्पा लामा लोप्चन, विशाल लामा, सुमित लामा, राम लामा, सुजन लामा, राजेश पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
नयाँ कार्य समिति चयनका लागि सल्लाहकार एवं अधिवेशन तयारी समिति संयोजक देव कुमार लामा, सदस्यहरु सम्पूर्ण कुमार लामा, श्रीमती माया डोल्मा लामाको रहेको निर्वाचन समिति मण्डल गरेको थियो ।
प्रमुख वरिष्ठ लामा पुर्ण बहादुर लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका विशेष अतिथिमा वागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, काठमाडौं नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुवन लामा, सल्लाहकार एवं पुर्व राजदुत ड गणेश योन्जन, पुर्व बौद्ध नाथ क्षेत्र विकास समिति कार्यकारिणी निर्देशक बसन्त लामा, गुठीका कानुनी सल्लाहकार विक्रम राई सल्लाहकार एवं अधिवेशन तयारी समिति देव कुमार लामा, सदस्यहरु सम्पूर्ण लामा, अतिथिहरु ओम तामाङ सुखदुःख गुठी अध्यक्ष सुरज लामा, छोरङान महिला समाज माया लामा, छ्योर्तेन पत्रिका प्रधान सम्पादक वीर बहादुर लामा, श्रीमती माया डोल्मा, पत्रकार, समाजसेवी, गुठियारहरुको उपस्थिति थियो ।

यौन दुरूपयोग गरेको अभियोगमा एक पक्राउ

मोरङ। सात वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको अभियोगमा एक जनलाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेल छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका बिशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

शेखर पक्षका नेताहरु धर्नामा

काठमाडौं । टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा. शेखर कोइरालाको पक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका हुन् । पार्टी कार्यालयका अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा बसेका छन् ।

धर्नामा शेखर कोइराला र उनका पक्षका शीर्ष नेताहरु भने सहभागी छैनन् । सभापति शेरबहादुर देउवा पक्षले टिकट वितरणमा अन्याय गरेको भन्दै शेखर पक्ष आन्दोलनमा उत्रिएको हो । उनीहरुले आफूहरुको धर्ना समान अवसर र न्यायका निम्ति भनेका छन् ।

अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो नेपाल भ्रमणमा आएकी छन् ।

आज बिहान काठमाडौं आइपुगेकी ट्रुडो १२ दिनसम्म एसियाली मुलुकहरूमा रहनेछिन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रुडोले नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् ।

अमेरिकाले अफगानिस्तानमा सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई चीन र रुसले दुष्प्रचार फैलाएको आरोप लगाएको छ ।

नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ट्रुडोले भ्रमपूर्ण समाचार र लोकतन्त्रमा सञ्चार माध्यमको भूमिकाबारे ‘राउन्ड टेबल’ अन्तरक्रिया गर्ने बताइएको छ । साथै, अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्ने कार्यक्रम रहेको छ ।

नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा निस्किने कार्यतालिका रहेको छ । १२ दिने भ्रमणका लागि बुधबार काठमाडौं आइपुग्ने भएकी हुन् ।

नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा जाने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

दसैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

काठमाडौँ । सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ ।

दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।