सुन प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्युरो स्रोतले बताएको छ । ।

पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डसँग संयुक्त अधिराज्यका राजदूतको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी हुनाका साथै नेपाल(संयुक्त अधिराज्यबीच सहयोगका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री दाहालसँग पहिलो पटक भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री ‘प्रचण्ड’सँग सार्क महासचिवको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रसंशा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल जारी

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दैछन् । बुधवार सिंहदरवारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूसँग छलफल शुरु भएको हो। बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साटै समितिमा विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल हुने बताइएको छ।

भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका थिए। जसअन्तर्गत सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह छन्।

त्यस्तै अर्थ समितिको सभापतिमा नेपाली काँग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली काँग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाली काँग्रेसकी डा।आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, कानून, न्याय तथा मानवअधिकार समितिमा नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन्।

पाल्पा स्कार्पियो दुर्घटना ः मृतक तीनै जनाको पहिचान खुल्यो

पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा मृत्यु भएकाहरूको पहिचान खुलेको छ। तानसेन(तम्घास सहायक राजमार्गको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा ढुङ्गासहितको पहिरोले रेसुङ्गा यातायात प्रालिको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पुरिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका–२५ का विनोद तिम्सिना रहेको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा ८ जना घाइते भएका छन्। माथिबाट झरेको ढुङ्गा सहितको सुख्खा पहिरोले स्कार्पियोको पछाडिको भाग क्षत(विक्षत भएको छ। मृतकहरूको शवसमेत क्षत(विक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

तम्घासबाट बुटवलतर्फ आउँदै गरेको जिपमाथि बुधबार बिहान करिब सवा ८ बजे पाल्पाको जोर्तेमा ढुङ्गा खसेको थियो। दुर्घटनामा घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।
घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको र बाँकी ७ जनाको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ। डिभिजन सडक कार्यालय पाल्पाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरी चौडा बनाउँदै आएको थियो।

प्राधिकरणले वित्तीय प्रतिवेदन सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै

काठमाडौ‌ं। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका लागी वित्तीय प्रतिवेदन सम्बन्धमा नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको निर्देशिकामा जीवन, निर्जीवन, पुनर्बीमा र लघु बीमा सबैका लागी वित्तीय विवरण सम्बन्धी प्रावधान समावेश गरिएका छन् ।

नयाँ निर्देशिकामा बीमांकी मूल्यांकन भएको अवधिमा दायीत्व सिर्जना भइसकेको तर बीमकसमक्ष दाबी नगरिएको दायीत्वको हकमा बेग्लै व्यवस्था गर्नुनपर्ने भएको छ । यो प्रावधानले दायीत्व सिर्जना भई भुक्तानी हुन बाँकी दाबीवापतको दायीत्वका लागी ११५ प्रतिशत व्यवस्था गर्नुपर्ने साबिकको प्रावधानबाट बीमकलाई केही राहत मिल्ने भएको छ।

निर्देशिकामा शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनीले कारोबार गर्न इजाजत पाएको मितिले तीन वर्षसम्म सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने पुरानो प्रावधान यथावतै राखिएको छ । यसैगरी
(२) शेयर वा म्युचुअल फण्डमा गरेको लगानी प्रचिलत कानून बमोजिम धितोपत्र बजारको सूचीबाट हटेमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्छ ।

साथै कर्जामा नोक्सानी भएमा पनि वितरण योग्य मुनाफाबाट नोक्सानी बराबरको रकम घटाउनुपर्ने भएको छ। निर्देशिकाको निर्देनशन नम्बर १७ (१) मा बीमकले प्रवाह गरेको कुनै कर्जाको भाखा नाघेमा सो कर्जा रकम बराबरको रकम वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने र बीमकले वित्तीय विवरणमा कर्जाको नोक्सानी व्यवस्था गरेको अवस्थामा व्यवस्था गरी खर्च लेखाङ्कन गरेको रकम भन्दा उपदफा (१) बमोजिम घटाउनुपर्ने रकम बढी भएमा सो बढी रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान रहेको छ ।

बीमकले यस अघि देखाएको असमाप्त जोखिम वापतको व्यवस्थान रकमलाई जीवन बीमा कोष अन्तर्गत बीमालेख अन्तर्गतको दायीत्व हिसाबमा देखाउनुपर्नेछ। यसबाहेक बीमितलाई १० वर्ष सम्म भुक्तानी हुन नसकेको दाबीवापतको रकमलाई बीमकले बीमित हित स‌ंरक्षण कोषमा सार्नुपर्नेछ । बीमा ऐन २०७९ को प्रावधान अनुसार यस्तो कोषको व्यवस्था पहिलो पटक लागू गरिन लागेको हो ।

यसैगरी बीमकले बीमक, पुनर्बीमक, ब्रोकर वा अन्य आसामीबाट लिन बाँकी देखाएको हिसाबको लागी गरेको इम्पेयरमेन्ट खर्च तोकिएको रकमभन्दा कम भएमा सो रकमलाई वितरणयोग्य मुनाफा गर्दा घटाउनुपर्ने प्रावधान समेत रहेको छ।

क्र‍.सं. रकम बक्याैता रहेकाे अवधिबीमक, पुनर्बीमक, ब्राेकर वा अन्य आसामीबाट लिन बाँकी रकम
चार वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकमलिन बाँकी रकमकाे शत प्रतिशत
तीन वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकमलिन बाँकी रकमकाे पचहत्तर प्रतिशत
 दुई वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकमलिन बाँकी रकमकाे पचास प्रतिशत
 एक वर्ष भन्दा बढी समयदेखि लिन बाँकी रकमलिन बाँकि रकमकाे पच्चीस प्रतिशत

नयाँ निर्देशिका जारी भएपछि प्राधिकरणबाट जारी गरिएका निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७, पुनर्बीमा बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७,जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ खारेज हुनेछन् । यसबाहेक प्राधिकरणबाट जारी भएको मिति २०७५।०६।११ को बी.स.१० च.नं. १११८ र मिति २०७५।०९।१२ को बी.स. ६१ च.नं. २६१४ को नेपाल वित्तीय प्रतिवेदनमान अनुसारको वित्तीय विवरण सम्बन्धी निर्देशन खारेज गरिनेछन् ।

सुन काण्डका कारण अनावश्यक दुःख दिएको भन्दै १३७ कर्मचारीले मागे सरुवा

काठमाडौँ । भन्सार विभाग अन्तर्गत भन्सार अधिकृतसहित कार्यालय सहयोगीसम्मका एक सय ३७ कर्मचारीले सामूहिक सरुवा मागेका छन् । ६० किलो सुन पक्राउ प्रकरणपछि अनुसन्धान तथा छानबिनको बहानामा विना कारण दुःख दिने काम भएको भन्दै सामूहिक सरुवा मागेका हुन् ।

घटनामा संलग्नलाई कारबाही गर्ने कुरामा आफ्नो दुई मत नरहेको भन्दै कर्तव्य पालनको सिलसिलामा खटिएका कर्मचारीमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदैसमेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै कार्यालयमा आई काम गर्न मनोवैज्ञानिक त्रास उत्पन्न भएको उनीहरूको भनाई छ ।

कर्मचारीको सरुवा सूचिसहित ः

टेरामोक्स प्रविधीबाट उपभोक्ताहरुको महत्वपूर्ण डिटेल संकलनको भ्रामक प्रचार ः अध्यक्ष खनाल

काठमाडौं ।नेपालका टेलिकम सेवाप्रदायक कम्पनीले उपभोक्तालाई दिने सेवाको गुणस्तर सुधार तथा उपभोक्ताको हितका लागि कार्यान्वयनमा ल्याउन लागिएको उक्त प्रविधिबारे गलत ढंगले प्रचार–प्रसार गरिएको उनको भनाइ छ ।

टेरामोक्स प्रविधि उपभोक्ताको एसएमएस र कल डिटेललगायतका अति गोप्य सूचना संकलन गर्ने उद्देश्यले ल्याउन लागिएको भन्दै प्रचार–प्रसार गरिएकामा दूरसञ्चार प्राधिकरणको गुनासो छ । अध्यक्ष खनालले व्यक्तिगत एसएमएस तथा सूचना संकलनको उद्देश्य नभई गुणस्तर सुधारका लागि उक्त प्रविधि ल्याइएको बताए ।

दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका छन् ।

कम्पनीहरूको कार्यान्वयनमा रुचि नदेखाएपछि ३ अर्ब रूपैयाँभन्दा बढी खर्चेर ल्याइएको उक्त प्रविधि हाल कार्यान्वयनमा आउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेलका तीनवटा डाटा सेन्टरमा उक्त प्रविधि जडान भए पनि कार्यान्वयनमा आएको छैन भने नेपाल टेलिकमले उक्त प्रविधि जडानमा रुचि देखाएको छैन ।

“सम्बन्धित कम्पनीले हामीलाई दिएको प्रमाणपत्रमा स्पष्टसँग के गर्ने भन्ने उल्लेख छ, त्यो सेवाप्रदायक कम्पनीहरूले पनि हेर्न सक्नुहुन्छ”, उनले भने, “हामीले आवश्यक विशेषता (कस्टमाइज्ड डिजाइन) मात्रै राखेर कानुनसम्मत खरिद गरेका हौं ।” उनले हाल आवश्यक एसएमएस र कल डिटेल जिल्ला अदालतको आदेशमा सम्बन्धित निकायले सेवाप्रदायकसँगको सहकार्यमा हेर्न मिल्ने भन्दै उक्त विषय प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारे । उनका अनुसार यदि कल डिटेल लगायतका सबै विशेषतासहितको प्रविधि ल्याएको भए खर्च दोब्बर हुने थियो । यस विषयमा टेरामोक्स प्रविधिको विशेषता तथा कामबारे प्राधिकरणले श्वेतपत्र पनि जारी गरिसकेको छ ।

“प्राधिकरणले टेलिकम कम्पनीहरूले दिने सेवा प्रवाह गुणस्तरको छ वा छैन रु उपभोक्तासँग नियमानुसार शुल्क लिएको छ वा छैन लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले उक्त प्रविधि ल्याइएको हो”, उनले भने, “तर सेवाप्रदायकले भने विभिन्न बाहनामा आनाकानी गरेको अवस्था छ ।”

अध्यक्ष पुरुषोत्तम खनाल

उनका अनुसार उक्त प्रविधि जडान तथा सञ्चालनका लागि हुने खर्च पनि प्राधिकरण आफैंले व्यहोर्ने छ । “प्राधिकरणले सम्बन्धित कम्पनीलाई लाइसेन्स दिँदा जुन काम गर्नका लागि भनेर अनुमति दिइएको थियो सोहीअनुसार सेवाको पहुँच, गुणस्तर र शुल्क लिइएको छ वा छैन भन्ने हेर्छौं मात्रै भनिएको हो, सेवाप्रदायकलाई उपभोक्ता र राज्यप्रति थप जिम्मेवार बनाउने उद्देश्य हो ।”

प्राधिकरणका अनुसार टेरामोक्स प्रविधिले गुणस्तर जाँच गर्नुका साथै ग्राहकलाई क्षतिपूर्ति दिलाउनका लागि सिफारिससमेत गर्ने प्राधिकरणको भनाइ छ । यदि कुनै सेवाप्रदायकले ग्राहकसँग अतिरिक्त शुल्क लिइरहेको छ भने त्यस्ता सेवाप्रदायकलाई थप जिम्मेवार बनाउँदै ग्राहकलाई क्षतिपूर्तिको समेत व्यवस्थाका लागि यो प्रविधि सहयोगी बन्ने प्राधिकरणको भनाइ छ ।

साथै यो प्रविधिले घट्दो टेलिकम कारोबार तथा कल वाइपासबारे पनि अनुगमन गर्नेछ । प्राधिकरणका अनुसार पछिल्लो समय टेलिकम कम्पनीमा ग्राहकको सङ्ख्या बढ्दो भए पनि आम्दानी भने घट्दो अवस्थामा रहेको बताएको छ ।

प्राधिकरणको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७४ र ७५ को तुलनामा आव २०७८ र ७९ मा टेलिकम क्षेत्रको कारोबार २१ अर्ब रूपैयाँले घटेको छ । आव २०७४ र ७५ मा ९८ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएकामा आव २०७८ र ७९ मा आइपुग्दा कारोबार रकम ७७ अर्ब पाँच करोड रूपैयाँमा सीमित भएको छ । त्यसैगरी आव २०७५ र ७६ मा एक करोड ४५ लाख ग्राहक रहेकामा आव २०७८ र ७९ मा आपुग्दा यो सङ्ख्या बढेर २ करोड ७१ लाख पुगेको छ ।

“ग्राहकको सङ्ख्यासँगै डाटाको प्रयोग बढ्दै जाने तर आम्दानी कसरी कम भइरहेको छ भन्नेबारे टेरामोक्स प्रविधिले अध्ययन गर्नेछ”, उनले भने, “यदि कुनै समस्या भए वा कल बाइपास हुँदा कारोबारमा कमी आएको भए यसले निगरानी तथा अनुगमन गर्नेछ ।”

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार कल बाइपासबाट मात्रै २०६८ देखि २०७६ सालसम्म १२ अर्ब रूपैयाँभन्दा बढी राज्यको आम्दानी गुमेको छ । “सीआइबीको पहुँच बाहिरको राजस्वको कुनै हिसाब–किताब हुनसकेको छैन । अतः यस्तो अवस्थामा वास्तविकता पत्ता लगाउन यो प्रणाली जडान र अतिआवश्यक देखिन्छ”, प्राधिकरणले जारी गरेको श्वेतपत्रमा उल्लेख छ ।

अध्यक्ष खनालका अनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको वार्षिक आय, घटिरहेको, कम्पनीको नेटवर्कको विस्तार र ग्राहक सङ्ख्या विस्तार हुँदा पनि आम्दानी घट्ने क्रम जारी रहेको, पटक–पटक कम्पनीहरूको सेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तरका सम्बन्धमा विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेको भन्दै प्राधिकरणले टेरामोक्स प्रविधिको कार्यान्वयनमा जोड दिएको हो ।

खनालले टेलिकम सेवा प्रदायकले दिने सेवा ‘कार्पेट कभरेज’ हुनुपर्ने बताए। कार्पेट कभरेज अर्थात् कुनै कोठामा कार्पेट लगाउँदा सबै क्षेत्र समानरूपले समेटिएजस्तै टेलिकमको सेवा पनि गुणस्तरीय र समान हुनुपर्ने बताए।

हाल कुन सेवाप्रदायकको नेटवर्कमा कति सङ्ख्यामा कल आए र त्यसवापतको पैसा कहाँ र कति आयो भन्ने पनि टेरामोक्सले हेर्छ । हाल टेलिकम सेवाप्रदायकबीच ग्राहकको गोपनीयता कायम गर्नका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गरेका हुन्छन् । तर, प्राधिकरणले टेरामोक्स प्रविधिमार्फत त्यसको स्रोत खोज्ने उनको भनाइ छ ।

उनले यो प्रविधि कार्यान्वयनमा आए सेवा पुगेका सबै क्षेत्रमा गुणस्तरीयता सुनिश्चित हुनेमा विश्वास व्यक्त गरे। “यो प्रविधिले कुन क्षेत्रमा कस्तो सेवा प्रवाह भइरहेको छ भन्ने ‘भोल्युम’मा अध्ययन गर्छ, साथै सोहीअनुसार हामीले त्यस्ता सेवा प्रदायकलाई गुणस्तर सुधारका लागि भन्न सक्छौं”, अध्यक्ष खनालले भने । उनका अनुसार अहिले राजधानी काठमाडौँका कतिपय स्थानमा टेलिकम सेवाप्रदायकको गुणस्तरको समान उपलब्धता नभएको गुनासो प्राधिकरणमा आउने गरेको छ ।

प्राधिकणले श्वेतपत्रमा भनेको छ, “टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुको यथार्थ चित्रण गर्नुका साथै कल वाइपासबाट राज्यलाई अर्बौंको क्षति भइरहेकामा सो पत्ता लगाई यसको न्यूनीकरण गर्नका लागि टेरामोक्स प्रविधि आवश्यक भएको हो ।” दूरदराजका ग्राहकले गुणस्तरीय सेवा नपाउने, हप्तौंसम्म सेवा प्रदायकले बिग्रिएका सेवा सञ्चालन नगर्ने, बेला–बेलामा टेलिकमको बिलिङमा समस्या आउनुलगायतका समस्या पत्ता लगाउन पनि यो प्रविधि आवश्यक भएको प्राधिकरणको दाबी छ ।

लुम्बिनीमा एमालेको अधिवेशन

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मिति नजिंकिंदै गर्दा गुटगत भेला बढेको छ । प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हरिप्रसाद रिजालले आफ्नो पक्षमा माहोल बनाउन बुटवलको ढवाहास्थित आरम्भ रिसोर्टमा भेला गरेको छ ।

रिसोर्टमा मंगलबार पार्टीका केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसद समेतको सहभागी छन् । रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकट प्रदेशका नेताहरु केन्द्रीय सदस्य बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भूमिश्वर ढकाल, पाल्पाका नारायणप्रसाद आचार्य, नवलपरासीका थानप्रसाद गैरेले साथ दिएका छन् ।

गोप्य भेलामा यी नेताहरुसहित १० वटा जिल्लाका पार्टी अध्यक्ष र सचिवहरु सहभागी भएका स्रोतको भनाइ छ । भेलामा चुनाव भएमा रिजालको टिमबाट पदाधिकारीमा कुन कुन नेतालाई समावेश गर्ने भन्ने छलफल भएको थियो । प्यूठान जिल्ला अध्यक्ष विजयविराज विष्टका अनुसार सो भेलामा रोल्पा र रुकुमका नेता भने सहभागी थिएनन् ।

जिल्लाबाट छनोट भएका प्रतिनिधिको गुटगत पक्षधरता र चुनावी रणनीतिबारे रिपोर्टिङ र छलफल भएको विष्टले बताए । ‘नेतृत्व चयन सहमतिबाट गर्न अधिकतम पहल गर्ने र हुंदै नभएमा मात्रै चुनावमा जाने भन्ने विषयमा छलफल भयो’, विष्टले भने, ‘शीर्ष नेताहरुलाई सहमतिका लागि दबाव दिन भेला गरिएको हो, त्यस्तो खास अरु केही भएको हैन ।’

एमालेको लुम्बिनी प्रदेश अधिवेशन भदौ १६ र १७ गते हुँदैछ । अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कंडेल, प्युठानका हरिप्रसाद रिजाल र दाङका लक्ष्मण आचार्य पनि आकांक्षी छन् ।

एमालेको लुम्बिनी प्रदेश अध्यक्ष तथा अधिवेशनबाट पुनः अध्यक्ष पदका आकांक्षी कंडेलले एउटा पक्षले गुटगत भेला गरेको आफूले पनि जानकारी पाएको तर प्रतिनिधिले विवेक प्रयोग गर्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए ।

‘राधाकृष्ण कंडेललाई रोक्न भेला गरेर रणनीति बनाइयो भन्ने साथीहरुले सुनाउनुभयो तर मलाई यसरी गटबन्दी गर्नु छैन’, कंडेलले भने, ‘छलफल गर्न थियो भने बुटवलमै पार्टी अफिस थियो, रिसोर्टमा छुट्टै भेला गर्दा राम्रो सन्देश गएन ।’

पार्टीको महाधिवेशनमा एक कार्यकाल प्रदेश अध्यक्ष भएर काम गर्ने सहमति अनुसार केन्द्रीय सदस्य नभएकाले प्रतिनिधिले आफूलाई न्याय गर्ने कंडेल बताउँछन् ।

‘भूमिहीन दलितलाई जमिन दिन सरकार चुक्यो’

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले आफ्नो निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मुल्याकंन अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सरकारले संविधानको व्यवस्था अनुसार भूमिहीन दलितलाई जमिन दिन नसकेको उल्लेख गरेको हो ।

‘भूमिहीन दलितलाई एकपटकका लागि जमिन उपलब्ध गराउने संवैधानिक प्रतिवद्धता कार्यान्वयनसँग सम्बन्धित भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ (क) को कार्यान्वयन गर्ने कुरामा सरकार चुकेको देखिन्छ’, प्रतिवेदनको निष्कर्ष र सुझाव खण्डमा भनिएको छ ।

सरकारले २०७२ असोज ३ गते संविधान जारी गर्दा मौलिक हकहरु ३ वर्षभित्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको थियो । तर संविधान जारी भएको ८ वर्ष हुन लाग्दा पनि दलितको हक अन्तर्गत समावेश भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्न नसकेको हो ।

‘त्यसको आवश्यकता, मर्म र फरक प्रबन्ध गर्नुको औचित्यलाई पूर्ण सम्बोधन गर्न नसकिएको स्पष्ट छ । निर्धारित तीन वर्ष अवधि व्यतित भइसकेको र कार्यप्रगतिको तथ्यांकको स्थिति हेर्दा यो देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।

संविधानको धारा ४० को उपधारा ५ मा ‘राज्यले भूमिहीन दलितलाई कानून बमोजिम एक पटक जमिन उपलब्ध गराउनुपर्ने’ व्यवस्था छ । यसलाई कार्यान्वयन गर्न बनेको भूमि सम्बन्धी ऐनको दफा ५२(क) मा नेपाल सरकारले भूमिहीन दलितलाई एक पटकका लागि तोकिए बमोजिम तीन बर्षभित्र जमिन उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सरकारले राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ अनुसार भूमि आयोग गठन गरी भूमिहीनलाई जग्गा उपलब्ध गराउने काम गरिरहेको छ । समितिमा उपलब्ध विवरण अनुसार २०७९ सालको अन्त्यसम्म ४९४ जना भूमिहीन दलितले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका छन् ।

‘ऐन बमोजिम तीन वर्षभित्र भूमिहीन दलितलाई एक पटकका लागि जमिन उपलब्ध गराउने व्यवस्था कार्यान्वयन नभएको हुँदा उक्त व्यवस्थामा सरकारको धारणा माग गरी अगाडि बढ्ने’, समितिले आफ्नो प्रतिवेदनमा भनेको छ ।

एमसीसीले मान्दैन, सरकारले जनता झुक्याएको मात्र हो ःओली

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौताका विषयमा संसदले पासा गरेको १२ बुँदे ब्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएका छन् ।

उनले तत्कालिन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने उनले बताए । यद्यपि एमसीसी नेपालको संसदले अनुमोदन गरेका हुनाले कार्यान्वयनमा जाने ओलीले बताए ।

‘संसदले अनुमोदन गरेको कुरा कार्यान्वयनमा जान्छ’, ओलीले भने, ‘त्यो १२ बुदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरुले (सत्तापक्षले)नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो ।’

१२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंग हुन्छ भनेर तत्कालिन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले संसदमा झुट बोलेको ओलीले बताए । ‘१२ बुदे ब्याख्यात्मक घोषणाका सन्दर्भमा तत्कालिन प्रधानमन्त्रीले र परराष्ट्रमन्त्रीले एमसीसीले मानिसकेको छ, सम्झौताको अंग हुन्छ भनेर संसदमा नै बोलेर नेपाली संसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र गलत प्रभाव पारेर पास गराउने बाटो लिनुभयो’ ओलीले भने ।

एमसीसी पास गर्र्नु उपयुक्त हो होइन भन्ने विषयमा बेग्लै ढंगले सोच्नुपर्नेमा सरकारले त्यसबेला झुट बोलेर पारित गराएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार एमसीसीको उपाध्यक्ष नेपाल आएका बेला व्याख्यात्मक घोषणा मान्ने कि नमान्ने भनेर सोध्छु भनेका थिए । ओलीले यस विषयमा प्रधानमन्त्रीले सोध्न नसक्ने बताए ।

‘सोध्न किन पर्‍यो, उहिले नै एमसीसीले जवाफ दिएको छ, उहिले नै भनेको छ, सम्झौता भन्दा वरपर कसका के घोषणामा कुनै सरोकार छैन जान्दैनौं भनेको छ’ ओलीले भने, ‘त्यो जवाफ पनि थाहा छ, उहाँले सोध्ने पनि होइन,‘जनता अल्मल्याउनका लागि बोलेको हो ।’

जहाँ स्थापना गरियो १२ लाख १२ हजार ८ सय ८८ शिवलिंग

पाल्पा । पाल्पामा शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिंग स्थापना गरिएको छ। कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न शिवलिंग स्थापना गरिएको हो।

यसअघि शिव पञ्चायन मन्दिर तथा शालिग्राम सङ्ग्राहालय स्थापना गरिएको तपोभूमि टापुधाममा माटोबाट बनेको १२ लाख १२ हजार आठ सय ८८ शिवलिंग आठ फिट लम्बाइ, आठ फिट चौडाइ र आठ फिट गहिराइको खाल्डोमा राखेर साना शिवलिंगको माथिल्लो भागमा शिलाबाट बनेको पञ्चमुखी शिवलिंग स्थापना गरिएको समितिका संयोजक तथा वडाध्यक्ष कपिलबहादुर खाणले बताए।

अखण्ड नेपाल निर्माणको सङ्कल्पसहित विभिन्न स्थानमा तीन करोड शिवलिंग स्थापना गर्ने अभियानमा सक्रिय धार्मिक अभियन्ता योगिनी श्री उदयनाथ (शान्ति राज्य लक्ष्मी शाह) र योगी अक्षर ब्रम्ह (अग्निशम्शेर प्रताप शाह) को सङ्कल्पअनुसार वैदिक विधि पूरा गरी प्राण प्रतिष्ठासहित शिवलिंग स्थापना गरिएको छ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका रूपमा रहेको कालीगण्डकी नदी, यहाँ पाइने शालिग्राम शिलाको संरक्षण, धार्मिक प्रवर्द्धनका लागि टापुधाम क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै जाने बताए।

“कालीगण्डकी नदीसँग जोडिएको टापुधाम क्षेत्र धार्मिक पर्यटनका लागि अत्यन्तै सम्भावना बोकेको छ, कालीगण्डकी करिडोर सडकखण्ड यसकै आडमा रहेकाले आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार विकासका काममा जोड दिनेछौँ”, नगरप्रमुख थापाले भने।

नेपाललाई अखण्ड राख्न सङ्कल्पका साथ ४ वर्षदेखि तीन करोड शिवलिंग स्थापना गर्ने अभियान सञ्चालन भइरहेको धार्मिक अभियन्ता योगी अक्षर ब्रह्म अग्निशम्शेर प्रताप शाह बताउँछन्। अबदेखि टापुधाममा शिवलिंग स्थापनासँगै भगवान् शिवको प्रसादका रूपमा रहेको विशेष विधिअनुसार तयार गरिने रोट मन्दिरमा चढाउने व्यवस्था गरिने समितिले जनाएको छ।

टापुधाममा नेपाल पर्यटन बोर्ड र रामपुर नगरपालिकाको सहकार्यमा शालिग्राम सङ्ग्राहालय स्थापना गरिएको छ। विश्वमा नै शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी तटमा अवस्थित यो क्षेत्रलाई रामपुर नगरपालिकाले शालिग्राम गृह बनाएर सङ्कलन तथा संरक्षण गरेर राखेको छ।

कालीगण्डकी नदीको तटमा रहेको टापुधाम, रामघाट, उत्तरबाहिनीलगायतका विभिन्न क्षेत्रमा शालिग्राम सङ्कलन गरेर राखिएको छ। चारवटै वेदमा शालिग्राम भगवान्‌को अंश भएको उल्लेख हुनुले आदिकालदेखि नै शालिग्रामको उत्पत्ति, महत्त्व र प्रचारसमेत देखिन्छ।

शालिग्राम भगवन्‌को अवतार हो भन्ने जनविश्वास रहेकाले यसलाई भगवान्‌का रुपमा पुज्ने गरिन्छ।

विराटनगरबाट काठमाडौं आइरहेको कारबाट २० किलो चाँदी बरामद

प्रहरीले बिराटनगरबाट काठमाडौं आइरहेको एक निजी कारबाट २० किलो चाँदी बरामद गरेको छ । बा.प्र.०१–०२५ च १०६९ नम्बरको कार चेकजाँच गर्ने क्रममा चालक पछाडिको सिटमुनि नाइलनको सेतो पहेँलो रङको झोलामा कालो प्लाष्टिक भित्रबाट उक्त परिमाणको चाँदी बरामद भएको हो ।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ मा प्रहरी चौकी गढीको टोलीले सेतो ४ वटा प्लाष्टिकमा चाँदी जस्तो देखिने करिब २० किलो बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले उक्त चाँदी, कार, चालक र गाडीमा सवार सप्तरीको राजविराज न नगरपालिका–८ घर भई हाल मोरङको बिराटनगर महानगरपालिका४ बस्ने ३७ वर्षीय शेचन मानन्धरसहितलाई नियन्त्रणमा लिएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रचण्डको भ्रमणअघि एमाले महासचिव पोखरेलको टोली चीन जाँदै

चिनियाँ शीर्ष तहका नेतृत्वसँग भेटवार्ता गर्नेगरी नेकपा एमालेका महासचिवसहितको टोली आगामी साता चीन भ्रमणमा जाने भएको छ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा जाने टोलीमा १७ जना नेताहरु सहभागी हुने बताइएको छ।

एमालेको साउन २९ गते बसेको सचिवालय बैठकबाट भदौ १६ गते टोलीलाई चीन पठाउने गरी निर्णय भइसकेको छ।

‘१० र १२ दिनको भ्रमण हुने भनेर सचिवालयबाट निर्णय भएको छ,’ एक पदाधिकारीलेभने, ‘प्रमुख प्रतिपक्षी दलको महासचिव नै भ्रमणमा जाने भएकोले उच्च तहमा भेटवार्ता हुने बताइएको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज ४ गते चीन भ्रमणमा जाँदैछन्। चीन भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग वार्ता गर्नेछन्।

प्रचण्डको भ्रमणअघि एमाले नेताहरुले चीनको भ्रमण गर्न लागेका हुन् ।

‘केही जिल्ला, क्षेत्र र केही विभागलाई समेटेर भ्रमण दलका सदस्य तय गर्ने भनिएको छ,’ ती पदाधिकारीले थपे, ‘यस्ता भ्रमणले थप हार्दिकता बढाउँछ।’

‘यो पार्टी टोलीको भ्रमण भएकाले नेपालको राजनीतिक अवस्थासहित पार्टीगत सम्बन्धबारे छलफल हुन्छ होला, त्यसबाहेक चीनले नेपाललाई पछिल्लो दिन कसरी हेरिरहेको छ, उसको चाहना के छ त्यो पनि बुझिन्छ’, उनले भने।

भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टीका कुन तहको नेता भेट्ने खुलेको छैन। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उच्च तहका नेतृत्वसँग बेइजिङमा भेटवार्ता हुने सम्भावना छ।

‘उच्च तहकै रुपमा यो भ्रमणलाई लिइएको छ, चिनियाँ कम्युनिष्ट पार्टीले भ्रमणको निमन्त्रणा दिएको हो,’ उनले भने ।

यसअघि जेठ ६ गते नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटासहितको २० सदस्यीय टोलीले चीनको भ्रमण गरेको थियो। त्यसपछि माओवादीका महासचिव देव गुरुङले चीन भ्रमण गरेका थिए ।

अहिले प्रमुख प्रतिपक्षीमा रहेको एमालेका उच्च तहका नेताहरुलाई भ्रमणमा बोलाएर चीनले केही सन्देश दिन खोजिरहेको देखिन्छ ।

एमालका अन्तर्राष्ट्रिय विभाग प्रमुख डा. राजन भट्टराईले महासचिवसहितको भ्रमण निश्चित भए पनि टोलीमा रहने संख्या र मिति तय नभएको बताए ।

‘भ्रमण गर्ने निश्चित हो, समय र संख्या टुंगो लागेको छैन,’ भट्टराईले भने ।

पर्यटक बसको टिकट अब अनलाइनबाटै

टुरिस्ट बस एशोसिएशन अफ नेपालले अनलाइन माध्यमबाट टिकट काट्न सक्ने व्यवस्था गरेको छ। टुरिस्ट बस नेपाल एप्स सञ्चालनगरी जुनसुकै ठाउँबाट टिकट काट्न सकिने भएको हो।

पर्यटक बसले २०६७ असोजबाट संगठित भएर सेवा प्रदान गर्दै आएका छन् ।

काठमाडौंको वसन्तपुरस्थित झोँछे सडकबाट पर्यटकीय गन्तब्य पोखरा, सौराह, लुम्बिनी, जनकपुर लगायतका क्षेत्रमा बस गुड्छन् ।

दैनिक २०० भन्दा बढी सार्वजनिक पर्यटकीय बस मार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिदै आएको एशोसिएशनले जानकारी दिएको छ।

पछिल्लो समय विभिन्न अनलाइन माध्यमबाट टुरिष्ट बसको नाममा टिकट बुकिङगरी अन्य सार्वजनिक बसमा यात्रु पठाउने गरिएको गुनासो गरेको छ ।