यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४३ रुपैयाँ ६५  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

मंसिर १४ गते बिहीबार यस्तो छ तपाईंको राशिफल

मेष : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। सामाजिक सेवा गर्ने अवसर मिल्नेछ । नयाँ विषयको ज्ञानको बाटो खुल्नेछ ।

वृष : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।

मिथुन : आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।

कर्कट : आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।

सिंह : मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।

कन्या : सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।

तुला : आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।

वृश्चिक : बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।

धनु : प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

मकर : दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ। मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।

कुम्भ : शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ।

मीन : माया प्रेमले सताउन सक्छ । कारोबार गर्दा ध्यान दिनुपर्ने देखिन्छ । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत छन्। आफन्तबाट सहयोग मिल्नेछ।

उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौँ। उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेपछि नेपाली सेनाका उच्चाधिकारीहरु विवादै विवादमा रहेको पुष्टी भएको छ ।

पूर्वसैनिक अधिकृतहरूले उपरथी थापाको प्रवीणता प्रमाण पत्र तहको शैक्षिक प्रमाण पत्र भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली भएको भन्दै छानबिनका लागि आयोगमा निवेदन दिएका हुन् ।

थापाले २०४० सालमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेज लैनचौरमा भर्ना भइ प्रथम वर्ष नै अनुत्तीर्ण भएपछि भारतको गोरखपुरबाट नक्कली प्रमाण पत्र ल्याइ त्यसैको आधारमा २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।

बरियताको शीर्षस्थानमा रहेका उपरथी पाण्डेको राजीनामा स्वीकृति भएसँगै दोस्रो बरियतामा रहेका उपरथी अशोककुमार सिग्देल रथीका लागि बढुवा सिफारिस भइसकेका छन् । उनीविरुद्ध एक साताभित्र उजुरी दिनसकिने जंगी अड्डाले जनाएको छ । यदि सिग्देल रथीमा बढुवा भएको खण्डमा आगामी भदौमा नेपाली सेनाको कमाण्ड सम्हाल्नेछन् ।

नार्कले जनचेतनामुलक कार्यक्रमसहित विश्व माटो दिवस मनाउँदै

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘विश्व माटो दिवस २०२३’ बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारा सहित १६ मंसिर देखी १९ मंसिरसम्म चार दिन बिभिन्न कार्यक्रम गरी विश्व माटो दिवस मनाउँदैछ ।

नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायबारे प्रचार प्रसार, माटोको निशुल्क जाँच शिविर, विद्यार्थीलाई माटो परिक्षण, स्वच्छ माटो किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउनुका साथै जाँच प्रक्रियामा विद्यार्थीलाई समेत सहभागि गराउँदै माटो दिवश मनाउन लागेको हो ।

माटो विज्ञान अनुसन्धान केन्द्रले १६ मंसीर (२ डिसेम्बर) मा टेलिभिजनमा माटोको उर्वराशक्तिको महत्व, संरक्षण र सुधार बारे बहस कार्यक्रमको शुभारम्भ गर्दै प्रचारप्रसार गर्नुका साथै १७ र १८ मंसिरमा भक्तपुरको खोपासीमा किसानको निशुल्क माटो परीक्षण गर्ने कार्यक्रम रहेको केन्द्रका प्रमुख डा.श्रीप्रसाद विष्टले जानकारी दिए । दुई दिनसम्ममा खोपासीका ६० भन्दा बढी किसानको माटो निशुल्क परीक्षण गरिने उनले बताए ।

१९ मंसिरमा केन्द्रको खुमलटार, ललितपुर स्थित कार्यालयमा सेमिनार, बहस र किसानलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । ‘विश्व माटो दिवसमा सामेल होऔं र दिगो भविष्यको लागि यो अमुल्य श्रोतको संरक्षण गर्न प्रतिबद्ध बनौं’ भन्ने आह्वान केन्द्रले गरेको छ ।

खोपासी, भक्तपुरमा किसानको निशुल्क माटो परिक्षण गर्दा त्यहाँका विद्यार्थीलाई समेत त्यसमा संलग्न गराउने कार्यक्रम रहेको छ । केन्द्रका बैज्ञानिक डा।रोशनबाबु ओझाका अनुसार विद्यार्थीलाई माटो परीक्षण गर्ने तरिका र स्वच्छ माटो किन आवश्यक छ भन्ने बारेमा जानकारी गराउने र जाँच प्रक्रियामा सहभागि गराउने बताए । साथै विद्यार्थीहरुलाई माटोको नमुना संकलन विधि सिकाउने पनि उनले बताए ।

‘त्यो माटोमा कति पानी बहन गर्ने क्षमता, उपलब्ध नाइट्रोजन, प्राङगारिक कार्बन र माटोको अम्लीयपन, क्षारीयपन छ भन्ने बारेमा उनीहरु ९विद्यार्थी० आफैलाई जाँच गर्न लगाउँने हो’ बैज्ञानिक डा. ओझाले भने, ‘यसको उदेश्य मानव स्वास्थ्य जस्तै माटोको पनि स्वास्थ्य जाँच हुन्छ भन्ने बारेमा जानकारी दिने हो ।’

नार्क, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफ.ए.ओ), अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्र लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो ।

विश्वभर बिद्यमान रहेको माटोको दिगो उर्वराशक्ति व्यवस्थापन सम्बन्धि विषयलाई विश्वस्तर मै एकताबद्ध रुपमा सम्बोधन गर्ने र यस सम्बन्धमा व्यापक जनचेतना अभिबृद्धि गर्ने मूल ध्येयका साथ संसारभरी विश्व माटो दिवस डिसेम्बर ५ का दिन मनाउँने गरिन्छ ।

खाद्य तथा कृषि संगठन (एफ.ए.ओ.)को सिफारिसमा संयुुक्त राष्ट्र संघको ६८औं महासभाको निर्णयले सन २०१३ देखि डिसेम्बर ५ का दिनबाट यो दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको विश्व माटो दिवस १० औं विश्व माटो दिवस हो । नेपालमा भने सन २०१४ डिसेम्बर ५ का दिन काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात गरी विश्व माटो दिवस मनाउन सुरु गरिएको हो ।

माटो र पानी जीवनको दिगोपनको लागि आवश्यक श्रोत भएको बताउँदै केन्द्रका प्रमुख डा. विष्टले माटो र पानी अन्तरसम्बन्धित श्रोतहरु भएको र यिनलाई एकीकृत व्यवस्थापन गर्न आवश्यक रहेको बताए । अनुचित माटो र पानी व्यवस्थापनको अभ्यासहरुले भू–क्षयीकरण, माटोको जैविक विविधता, उर्बरता, पानीको गुणस्तर र मात्रालाई असर गर्ने गरेको उनले बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा।कालिकाप्रसाद उपाध्यायले नेपालमा खेतीयोग्य माटोको उर्वरापन खस्कँदै गएको र यसबारे पर्याप्त जानकारी किसानसमक्ष नपुगेको वर्तमान अवस्थामा बिश्व माटो दिवस मनाउनु महत्वपूर्ण रहेको बताए । उनले यस बर्षको माटो दिवसले माटो संरक्षण र सुधार गरी आउँदो पुस्तालाई स्वस्थ र उर्वर माटो सुम्पन सबैलाई प्रेरित गर्ने बताए ।

वर्तमान अवस्थामा रसायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिंचाई प्रबिधिको कम प्रयोग, कृषि रसायनको अनियन्त्रित एवं प्रांगारिक मलको न्युन प्रयोगका कारण खस्किदै गएको माटोको गुणस्तरबारे कृषक तथा आम नागरिकलाई जागरुक बनाउन पनि बिश्व माटो दिवसको छुट्टै महत्व रहेको डा। उपाध्यायले बताए ।

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन ओरालो घटेर बन्द भएको छ। सोमबारदेखि घट्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। १७.९३ अंकले घट्दै नेप्से १८७६.६० अंकमा बन्द भएको हो ।

आज नेप्सेमा कारोबार रकम पनि खुम्चिएको छ । हिजो (मंगलबार) एक अर्ब २८ करोड २ लाख रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब १ करोड ४१ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार भएको शेयर कारोबारमा ४२ कम्पनीका शेयरधनीले कमाएका छन्‌ भने १९० कम्पनीका शेयरधनीले गुमाएका छन्‌ । ७ कम्पनीको शेयरमूल्य स्थिर छ । 

आज कारोबार भएकामध्ये विजय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढेर ६५७ रुपैयाँ पुगेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सर्वाधिक ९.९८ प्रतिशत गुमाएका छन्‌ । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ४८ रुपैयाँले घट्दै ६३५ रुपैयाँ कायम भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार पनि सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको ६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यस दिन १३ उपसमूहको मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.१३ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा

काठमाडौं। आजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको छ। व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो। आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन्। एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय भएको प्रतिक्रिया दिएका छन्।

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ। यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो।  

आजियाटा ग्रुपले २९ नोभेम्बरमा जारी गरेका  त्रैमासिक प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र यसले गर्दा अजियाटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ। आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन् । सो बिज्ञप्तीमा प्रबन्दा निर्देशक सुदले नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले एनसेलबाट बाहिरिने र कम्पनी बिक्रीमा राख्ने निर्णय भएको समेत बताएका छन ।

सुदले भनेका छन ‘नेपालको दृष्टिकोण बढ्दो चुनौतीपूर्ण छ, त्यसैले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको छ र तदनुसार एनसेललाई बिक्रीको लागि राखिएको सम्पत्तिको रूपमा पुनः वर्गीकरण गरेको छ। यो कदमले आजियाटालाई हाम्रा रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउनेछ र यो दीर्घकालीन हितमा छ।’

नेपाल दूरसञ्चार प्राधिरकणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटा शेयर बिक्रीको प्रस्ताव लिएर प्राधिकरण नआएको जानकारी दिए । 

टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन प्राधिकरणको निर्देशन

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछानेले जानकारी दिए । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण: आज सरकारी वकिलले बहस गर्दै

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ।

गत मंगलबारदेखि उच्च अदालत पाटनमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा प्रतिवादीतर्फका सबै कानुन व्यवसायीको बहस हिजो सकिएपछि आजबाट सरकारी वकिलले बहस गर्नेछन् । सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलले जबाफी बहस गरेपछि पुनरावलोकन निवेदनमा उच्च अदालतले फैसला सुनाउने छ । सम्भवतः आज र भोलिमा फैसला आउने छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले गत असार १ गते थुनछेक आदेश सुनाउँदै १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छ । ठगी प्रकरणका अभियुक्त सबैले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा गत साउन १२ गते पुनरावलोकन निवेदन दिएका थिए ।

भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सेना, प्रहरी परिचालन गर्ने

काठमाडौँ– सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।

आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकले आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

भूकम्प पीडितको अस्थायी आवास निर्माणमा समस्या भएको गुनासो आएकाले प्रभावितलाई सुरक्षित अस्थायी आवास उपलब्ध गराउन जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा सुरक्षाकर्मी परिचालन गरिने उनको भनाइ छ । अस्थायी आवास निर्माणको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्नेछन् ।

मन्त्रिपरिषद् बैठकले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी पौडेललाई अध्यक्षमा नियुक्त गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्। यस्तै नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिवमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय भएको उनले बताइन्। 

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सभामा रिक्त हुने पदमा आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा फागुन ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।​ राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भइसकेको छ।

मौलापुरमा ३ करोडको लागतमा कृषि सेवा केन्द्र निर्माण हुँदै

रौतहट १३ मंसीर। रौतहटको मौलापुर नगरपालिका अन्तर्गत सुविधा सम्पन्न कृषि सेवा केन्द्र निर्माण हुने भएको छ। नगरप्रमुख रिना कुमारी साहको पहलमा मौलापुरमा ३करोडको लागतमा सुविधासम्पन्न कृषिसेवा केन्द्र निर्माण हुनलागेकाे हो।
रीड कार्यक्रम अन्तर्गत मौलापुर ४ स्थित पतौरामा ३ करोडको लागतमा सुविधा सम्पन्न अत्याधुनिक कृषि सेवा केन्द्र बन्ने निश्चित भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।
सेवा केन्द्र निर्माणको लागी रीड कार्यक्रमका प्रमुख रबिन्द्र मेहता एवं कर्मचारीहरुद्वारा मंगलवार स्थलगत निरिक्षण पश्चात् सबै प्रक्रिया पूरा भएको अधिकृत साहले जानकारी दिएका छन्।
निर्माण हुनलागेको कृषि सेवा केन्द्रमा कृषि प्रयोगशाला एवं आवश्यक उपकरण समेतको वयवस्था हुनेछ । सेवा केन्द्र निर्माण पछि मौलापुरका हजारौँ किसानले लाभान्वित हुने नगरपालिकाले विश्वास लिएको छ।
मौलापुर नगर प्रमुख रिना कुमारी शाहको पहलमा नगरक्षेत्र अन्तर्गतका किसानलाई बिशेष प्राथमिकतामा राखिएको छ। नगरपालिकाले किसानलाई बिभिन्न बालीको उन्नत जातको बीउ विजन, मलखाद, साथै अनेक प्रकारका कृषि उपकरण निःशुल्क बितरण गर्दै आएको छ। त्यसैगरी मौलापुर नगरपालिका अन्तर्गतका किसानले खेती किसानी गर्न प्रयोग गर्ने विद्युत महशुल नगरपालिकाले बुझाउने गरेको छ भने जग्गा मालपोत शुल्क पनि निशुल्क गरेको छ। सञ्जय मिश्रा

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ काराेबार ?

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ।

नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर एक लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महांसंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।

बौधिमाईका जनप्रतिनिधि र प्राधिकरण प्रमुख बीच महसुल तिर्ने सहमती

रौतहट १३ मंसीर। रौतहटको दक्षिणीभेग बौधिमाई नगरपालिकाका मेयर प्रदिप यादव र नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादव बिच विभिन्न छलफल भएको छ।
मेयर यादव र विद्युत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादव बीच सडक बत्ती बापत विद्युत महसुल तिर्न विषयमा छलफल भएको थियो।
मेयर यादव र नौ वटै वडाका वडा अध्यक्ष,निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद यादव,लेखापाल अरविन्द यादव लगायतको रोहवरमा टावर लाइटमा मिटर जडान तथा सडकबत्ती बापत बकयौता विद्युत महसुल बुझाउने बारे छलफल संगै सहमती भएको थियो।
साथै बौधिमाई नगरक्षेत्र अन्तर्गतका मठ,मन्दिर,मस्जिद, मदरसा, स्कुल,वडा कार्यालय,स्वावास्थ्यचौकी लगायत सार्वजनिक स्थानमा मिटर जडान तथा नयाँ विद्युतिकरण सम्बन्धी विषयमा दुईपक्षीय सहमति भएको प्राधिकरण प्रमुख यादवले जानकारी दिएका छन।
नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय सडक बती बालेको बापत रौतहटको १८ वटै पालिकालाई महसुल बुझाउन तागेदा गर्दै आएको छ। महसुल नबुझाएको कारण सोमवार प्राधिकरणले चन्द्रनिाहपुर स्थित कैयौं स्थानमा रहेको टावर लाईट लगायतको लाईन काटेको थियो। सञ्जय मिश्रा

इन्सपेक्टर केशरीको सक्रियतामा बालुवा सहित ट्याक्टर र कुखुरा बरामद

पर्सा १३ मंसीर। पर्सा जिल्लाको ईलाका प्रहरी कार्यालय पतेर्वा सुगौलिका प्रमुख इन्स्पेक्टर रामराज केशरीको सक्रियतामा अबैध बालुवा बोकेको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
साथै भारत बाट अवैधरूपमा भित्र्याएको कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको छ। बिरगंज महा नगरपालिका ३१ स्थित भेडाहा खोलामा ना.२ त ६४३२ नं को ट्रक्टरमा अबैध रुपमा बालुवा निकाली लोड गरी राखेको अवस्थामा प्रहरी चौकी मिलन पर्साबाट खटिएको गस्ती टोलीले फेला पारी मंगलवार नियन्त्रणमा लिएको इन्स्पेक्टर केशरीले बताएका छन्।
त्यसैगरी जिरा भवानी गाउँपालिका ३ परसावा विद्यालय नजिकै कुखुरा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको ४० किलो कुखुरा कार्यालयबाट खटेको गस्ती टोलीले नियन्त्रणमा लिई ई प्र का सेढ्वामा लागि स्थानिय जनप्रतिनिधि पत्रकर समेत को उपस्थिति मा खाल्टो खानी नष्ट गरिए को इन्स्पेक्टर केशरीले जानकारी दिएका छन्।

अन्तरास्ट्रिय मुद्राकोषका प्रशिक्षक द्वारा महालेखाका ३५ जनाले तालिम लिदै

काठमाडौं । पछिल्ला दिनहरूमा महालेखा परिक्षक कार्यालयले आफुलाइ सकृय बनाउने क्रम बढेको छ।अगाडि बढ्ने अभियानका क्रममा कार्यालयका जनशक्तिको क्षमता वृद्धि गराउनाका निम्ति नयाँ तालिममा यतिबेला महालेखा जुटेको छ। यसै बीच कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले विधि विज्ञान लेखापरीक्षण सम्बन्धी तालिम कार्यक्रमको उद्घघाटन गर्नु भएको छ।

प्रथम चरणको तालीम प्रभावकारी बन्ने कार्यवाहक महालेखा परिक्षक काफ्लेको बिश्वास

तालीम कार्यक्रम अन्तराष्ट्रिय मुद्राकोष (आईएमएफ) को प्राविधिक सहयोगमा सञ्चालित महालेखा परीक्षकको कार्यालयको संस्थागत सुधार कार्यक्रम अन्तर्गत लेखापरीक्षकहरूमा अनुसन्धान तथा जालसाँजी पत्ता लगाउन सक्ने क्षमता विकास र सो लेखापरीक्षण सम्बन्धी निर्देशिका तयार गर्ने कार्यसँग सम्वन्धित रहेको बताइएको छ। तालिम कार्यक्रम २०८०।८।११ देखी १५ गतेसम्म ५ दिन सञ्चालन हुने भएको छ। विश्वको सर्वोच्च लेखापरीक्षण सँस्थाको अन्तर्राष्ट्रिय सँगठनको सन् २०२२ मा ब्राजिलमा भएको २४ ‍औं महाधिवेशनका समयमा आईएमएफसँग भएको द्विपक्षीय वार्ताको उपलब्धी अन्तर्गत सँस्थागत सुधारमा प्राविधिक सहयोग स्वरूप प्रथम चरणको कार्यक्रमको रुपमा यो तालिम कार्यक्रम सञ्चालन गरिएको हो । उक्त तालिममा प्रशिक्षकको रूपमां आईएमएफ मुख्यालयबाट आउनु भएका प्रशिक्षकबाट प्रशिक्षण दिने कार्य भईरहेको छ ।
तालिम उद्घघाटन कार्यक्रममा कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले प्रशिक्षकको रुपमा अन्तर्राष्ट्रिय मुद्राकोबाट आउनु भएका Ms. Alice Flora, Mr. Wyane McElrath, Mr. Kevin Hughes सहितको टिमलाई स्वागत गर्दै यस प्रकारको कार्यक्रमबाट नेपालको सर्वोच्च लेखापरीक्षण सँस्था र अन्तर्राष्ट्रिय मुद्राकोषको सम्बन्ध अझ प्रगाढ हुदै जाने अपेक्षा सहित टोलीको नेपालको वसाई सुखद रहोस भन्ने कामना गर्नु भएको थियो । वहाँले तालीम कार्यक्रमको महत्वमाथी प्रकाश पार्दै कार्यालयबाट विभिन्न तहको ३५ जना सहभागीहरुलाई मनोनयन भएको र प्रशिक्षार्थीले आफुले सिकेको विषयहरुको ज्ञान सिप र अनुभवको सञ्चार कार्यालयको अन्य कर्मचारी तथा लेखापरीक्षणमा दर्साई राज्यमा आर्थिक अनुशासन र वित्तीय जवाफदेहिता र पारदर्शिता प्रवर्धन हुने धारणा राख्दै वित्तीय विवरण तथा आर्थिक कारोबारमा हुनसक्ने जालसाँजी एंव कारोवारको स्वच्छता सम्बन्धमा तथ्यहरु संकलन गर्ने¸ विश्लेषण गर्ने, त्यसको आधिकारिकता प्रमाणित गर्ने लगायतका कार्यमा लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने भएकोले उक्त तालिम कार्यक्रम लेखापरीक्षकको क्षमता विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको थियो । त्यसैगरि कार्यवाहक महालेखा परिक्षक काफ्लेले प्रथम चरणको तालीम प्रभावकारी बन्नेमा आफु विश्वस्त रहेको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषबाट मुख्य प्रशिक्षकको रुपमा सहभागी हुनु भएका Financial Sector Expert, Ms. Alice Flore ले कार्यक्रमको विषय वस्तुमाथि प्रकाश पार्दै तालिमको पाठ्यक्रम निर्धारण¸ तालिम विधी र यसबाट प्राप्त हुने अपेक्षीत नतिजाका सम्बन्धमा विज्ञहरुको समूहबाट राय सुझाव लिइएकोले तालिम कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नु भएको थियो ।उहांले कार्यक्रमको उद्देश्य र बिधिका वारेमा जानकारी गराउदै तालीम कार्यक्रम पश्चात OAGN Role on fight against the Fraud and Corruption through Forensic Audit बढोत्तरी हुने धारणा व्यक्त गर्नु भएको थियो ।
उक्त तालीम उदघाटन कार्यक्रममा उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारी ,नायब महालेखा परिक्षक शंकरप्रसाद पन्थी ,श्यामप्रसाद भण्डारी , निर्देशक रमेश सुवेदी लगायतको उपस्थिति रहेको थियो।

तालिम प्रशिक्षण उदघाटन पछि अन्तर्राष्ट्रिय मुद्राकोषका पदाधिकारी र कार्यवाहक महालेखा परिक्षक महेश्वर काफ्ले ,उपमहालेखा परिक्षक बामदेब शर्मा अधिकारी सहितका प्रशिक्षक तथा तालिममा सहभागिहरु