ट्राफिकमा राष्ट्रिय गानः कोरोना भाईरस विरूद्ध लड्न सबैलाई आव्हान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन गरिएको आव्हान अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूबाट आज बिहान आठ बजे राष्ट्रिय गान गाईएको छ ।


ट्राफिक कार्यालयका आ—आफ्नो ब्यारेकको झ्याल ढोका वा कौसी, प्राङ्गणबाट कोरोना भाईरस विरूद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, अति आवश्यक प्रदायकका कर्मचारी, सुरक्षा कर्मी तथा ट्राफिक प्रहरी लगायतको सम्मानमा हात हातमा राष्ट्रिय झन्डा लिएर राष्ट्रिय गान गाईएको र गुन्जाईएको हो ।


राष्ट्रिय गान सकिएपछि सबैले करताल ध्वनीले ऐक्यबद्धता स्वरूप ताली समेत बजाईएका छन् ।
“राष्ट्रगान गाउँदा जुन भावनाले मन तरंगित हुन्छ, त्यो स्वाभिमान, आत्मसम्मान तथा देशप्रतिको श्रद्धाभावको एक ज्वलन्त स्वरुप हो ।

ट्राफिक प्रहरी पनि यस्तो विषम परिस्थितिमा फ्रन्टलाईनमा रहेर काम गरिरहेको छ र यसले देशप्रति समर्पित हुन र जनताको सेवामा काम गर्न थप उर्जा मिलेको छ ।” महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताउनुभयो ।

कलंकी–कोटेश्वर सडकमा नियम उल्लंघन गर्नेलाई १५ सय जरिवाना

काठमाडौं । कलंकी–कोटेश्वर सडकखण्डमा ट्राफिक नियम उल्लंघन गर्नेलाई १५ सय जरिवाना गर्ने गरी नयाँ नियम लागू गरिएको छ । आइतबारबाट यो सडक खण्डमा चल्ने यात्रु तथा मालबाहक सवारीसाधनलाई बायाँ सर्भिस लेनबाट र तीव्र गतिमा हुँइकिने निजी तथा साना सवारीलाई दाहिने लेनबाट गुड्ने गरी नयाँ नियम लागू गरिएको हो ।

उप्त्यकाका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल (काठमाडौं), भागिरथ पाण्डे (ललितपु) र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले संयुक्तरूपमा एक कार्यक्रमकाबिच संयुक्त रुपमा रिवन काटेर नयाँ नियम सुरु गरेका हुन्।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सडक सुरक्षा र त्यसको प्रयोग सम्बन्धी सबै स्थानीय तहलगायत अन्य सरोकारवाला निकायलाई जिम्मेवारपूर्ण नियम पालना गर्न ट्राफिक प्रहरी खट्टाइएको बताए ।नियम नमान्ने सवारीसाधनलाई प्रहरीले एक हजार पाँचसयसम्म जरिवाना गर्न सक्नेछ ।