टिफिनपछि लाग्ने घण्टीको पर्खाइमा सोनी

महोत्तरी-यहाँथित माध्यमिक विद्यालय भङ्गाहा सीतापुर सिद्धपुरमा कक्षा ६ मा अध्ययनरत छात्रा सोनी साह ‘टिफिन’पछि लाग्ने घण्टीको पर्खाइमा हुन्छिन् ।

विद्यालयमा आइतबारदेखि बिहीबारसम्म पाँचौँ घण्टीमा कम्प्युटर विषयको अभ्यास कक्षा हुने हुँदा टिफिनमा पनि सोनीको ध्यान ‘घण्टी लाग्यो कि’ भन्नेतर्फ केन्द्रित भएको हो ।

“टिफिनमा खेल्ने सुरमा हुँइन्छ, कहिलेकाहीँ घण्टी लागेको पत्तै पाइँदैन, कम्प्युटर कक्षा छुट्ने हो कि भन्ने भइरहन्छ”, उनीले भनिन् ।

सोनीजस्तै उनका साथी सञ्जना सिंह, निक्की सिंहलगायतका छात्रालाई पनि टिफिनपछिको घण्टीको पर्खाइ हुन्छ ।

“अरु विषयको घण्टी कहिलेकाहीँ छुट्दा साथीहरूबाट पनि सोधपुछबाट बुझिन्छ, कम्प्युटर छुट्दाचाहिँ गाह्रो”, निक्कीले भनिन् ।

विद्यालयमा कक्षा ६ देखि ८ सम्मका छात्रछात्रालाई सातामा पाँच दिन पालैपालो कम्प्युटर अभ्यास गराइन्छ ।

पाँचौँदेखि सातौँ घण्टीसम्म फरक–फरक कक्षाको अभ्यास हुने र टिफिनपछिको पाँचौँ घण्टीमा कक्षा ६ को पालो हुँदा यस कक्षाका विद्यार्थीलाई ‘घण्टी लाग्यो कि ?’ भनेर चनाखो रहनुपरेको हो ।

विद्यालयमा २२ थान कम्प्युटर छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सङ्ख्या ३२१ छ ।

कक्षा–कक्षाको पालोमा एउटा कम्प्युटरमा दुई विद्यार्थी राखेर अभ्यास गराइने गरिएको विषय शिक्षक सञ्जयकुमार ठाकुर बताउनुहुन्छ ।

“हामीले कक्षा र विद्यार्थीको पालो मिलाएर अभ्यास गराएका छौँ, केही थान कम्प्युटर थप्न पर्ने छ, कम्प्युटर कक्षामा विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको”, उहाँ बताउनुहुन्छ ।

कम्प्युटर कक्षा नयाँ विषय भएको र सघन अभ्यास गराइने हुँदा विद्यार्थीका लागि चाखलाग्दो बनेको छ ।

पालोमा पर्ने विद्यार्थीले हम्मेसी यो कक्षा नछाड्ने गरेका विषय शिक्षक ठाकुर बताउनुहुन्छ ।

“विषय प्रवेश, अभ्यास र छलफलले विद्यार्थीलाई उत्प्रेरित गराएको लाग्छ, यो कक्षामा विद्यार्थी बोझिलो अनुभूति गरेका हुँदैनन्”, उहाँ भन्नुहुन्छ, “विद्यार्थीका लागि यो कक्षा मनोरञ्जन पनि बनेको छ ।”

विद्यालयले चालुआर्थिक वर्षदेखि कम्प्युटर कक्षा सञ्चालनमा आएको हो ।

कोभिड–१९ महामारीले लामो समय विद्यालय बन्द नै रहेको हुँदा भर्खरमात्र नियमित पठनपाठन हुन थालेको छ ।

यसअघि चार वर्ष पहिले जिल्ला शिक्षा विकास एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षकको अभावमा थन्किएर रहेका थिए ।

नगर कार्यपालिकाको कार्यालयले विषय शिक्षक दिएपछि बल्ल यसपालि कम्प्युटर कक्षा सञ्चालन गर्न सकिएको प्रधानाध्यापक श्रीराम यादवले जानकारी दिनुभयो ।

विद्यार्थी सङ्ख्याअनुसार कम्प्युटर अपुग रहेको हुँदा यसका लागि स्थानीय तहलाई झकझक्याई रहेको उहाँको भनाइ छ ।

बाल कक्षादेखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक हजार ३६८ विद्यार्थी छन् । यसमा ७५५ छात्राको सङ्ख्या छ ।

त्यसैगरी आधारभूततह (बाल कक्षादेखि आठसम्म) मा ८७६ जम्मा विद्यार्थीमध्ये छात्रा ४६२ छन् । यस्तै माध्यमिक तह (नौदेखि १२) मा ४९२ विद्यार्थीमध्ये २९३ छात्रा रहेका विद्यालय प्रशासनले जनाएको छ ।

जिल्लाकै पुरानामध्येको यो विद्यालय नगर क्षेत्रको मुख्य केन्द्र सीतापुरबजारमा रहेको हुँदा अन्यभन्दा विद्यार्थी चाप बढी छ ।

विद्यालयको नियमित पठनपाठनमा शिक्षक सङ्ख्या अपुग हुँदै आएको छ ।

नगरपालिका भनिए पनि ग्रामीण परिवेशका नगर क्षेत्रका विद्यालयमा छात्रा सङ्ख्या बढी हुने गरेको छ ।

कम्प्युटर विषयलाई विस्तार गर्न सके नवीनतम् प्रविधिमा ग्रामीण छोरीको पहुँच बढ्ने हुँदा तीनै तहका सरकारले यस दिशामा पहलकदमी बढाउन आवश्यक रहेको यस भेगका बुद्धिजीवी बताउँछन् ।

एमालेका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने

एमालेका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने

काठमाडौँ-नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ ।

बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै उहाँले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताउनुभयो ।

उहाँले एमालेलाई घेर्ने र बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गर्नुभयो ।

प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गर्नुभयो ।

नगरपालिकाका प्रमुख उद्धव खरेलले । स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाउनुभयो ।

एमालेका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने

१० सहसचिवको नाम नियुक्तीका लागी सिफारिस

१० सहसचिवको नाम नियुक्तीका लागी सिफारिस

काठमाडौँ-लोक सेवा आयोगले सह सचिवमा उतिर्ण १० जनाको नियुक्तीका लागी सिफारिस गरेको छ ।

आयोगको शुक्रवार बसेको बैठकले उनिहरुको नियुक्ती सिफारिसको निर्णय गरेको हो ।

आयोगले नेपाल प्रशासन सेवा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) मा उत्तीर्ण भएका सहसचिवहरूलाई बढुवा नियुक्तिका लागि सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरि पठाएको समाचार स्रोतले बताएको छ ।

आयोगको विज्ञापन नम्बर १६६५४/०७८/७९ मा आन्तरिक प्रतिस्पर्धाबाट १० जना सहसचिव माग गरेकोमा अन्तर्वार्ताको लागि छनौट भएका १४ जनामध्ये उत्तीर्ण १० जना सहसचिवहरूलाई योग्यताक्रमसहित सिफारिस गरेको छ ।

१० सहसचिवको नाम नियुक्तीका लागी सिफारिस

पुर्जा ‘सद्भावना दूत’ नियुक्त

कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडविल एम्बासडर फर नेपाल्ज टुरिजम) बन्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नुभएको हो ।

मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई बिहीबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको छ ।

मन्त्री आलेले आरोही पुर्जाको साहसिक हिमाल आरोहणयात्राको सम्मान गर्दै थप सफलताको शुभकामना दिनुभयो ।

उहाँले आरोही पुर्जालाई पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु आफ्नो कार्यकालको स्मरणीय काममध्येकै एक रहेको उल्लेख गर्नुभयो ।

आरोही पुर्जामार्फत नेपालको पर्यटन क्षेत्रको व्यापक प्रचार हुने र कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय फेरि माथि उठ्ने विश्वास रहेको मन्त्री आलेले बताउनुभयो ।

यस्तै आरोही पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफूलाई थप जिम्मेवार महसुस गरेको बताउँदै आगामी दिनमा नेपाललाई विश्वसामु चिनाउन आफू सदैव लागिपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई सद्भावना दूत नियुक्त गरेर नेपाल सरकारले थप जिम्मेवार बनाएको छ, म नेपाल देश विश्वसामु चिनाउन हरपल लाग्ने छु ।”

पर्वतारोही पुर्जाले सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएको छ । आरोही पूर्जाले निर्माण गरेको ‘१४ पिक्स :नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री संसारभर चर्चित रहेको छ ।

चीन र रुसका विदेशमन्त्री फोनवार्ता

चीन र रुसका विदेशमन्त्री फोनवार्ता

चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ ।

उहाँहरुका बीचमा बिहीबार फोनवार्ता भएको छ । बिहीबार नै रुसले युक्रेनमा सैन्य हमला थालेको थियो ।

त्यसपछि बिहीबार राति उहाँहरुका बीचमा फोनवार्ता भएको समाचारमा जनाइएको छ ।

सो फोनवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनमा रुसले गरेको हमलाको बारेमा जानकारी गराउनुभएको थियो ।

रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हलाई हमला गरिरहेका बताइएको छ ।

सो फोनवार्ता खासगरी युक्रेनमाथिको हमला र त्यसका कारण विश्वमा उत्पन्न भएको राजनीतिक तरंगका विषयमा केन्द्रित रहेको समाचारमा जनाइएको छ ।

चीन र रुसका विदेशमन्त्री फोनवार्ता

संसद्को आजको बैठकमा एमसिसीमाथि छलफल हुने

प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल हुनेछ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकका लागि निर्धारण गरिएको कार्यसूची नै आजका लागि पनि राखिएको हो ।

बिहीबारको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

आजको बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश गर्नुहुने कार्यक्रम राखिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक राख्नुभएको छ ।

संसद् सचिवालयका अनुसार एमसिसी प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेश भएपछि बोल्न चाहने सांसदले छलफलमा भाग लिनेछन् ।

सरकारले यही फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल गरेको थियो ।

युक्रेनमा आक्रमणपछि अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

एजेन्सी-रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ ।

यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो ।

उहाँले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गर्नुभएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै पनि हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ ।

रुसले केही महिनाको प्रयासपछि बिहीबार युक्रेनमा हमला गरेको थियो ।

सैन्य हमलामा परी युक्रेनको राजधानी लगायतका सहरमा केही नागरिकको ज्यान पनि गएको छ ।

सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य सहरमा प्रदर्शनहरू नै भएको थिए ।

ती प्रदर्शनमा परेर अहिलेसम्म १ हजार ७०० जनालाई पक्राउ गरिएको छ ।

रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो ।

रुसले गरेको सो आक्रमणका विरुद्धमा रुसी राजधानीमा नै युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा आएका थिए ।

रुसी सहरमा मात्र नभएर विश्वका अन्य कैयौँ सहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन् ।

ती प्रदर्शनहरुमा रुसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ ।

नेटोले युक्रेनमा सेना नपठाउने

ऐजेन्सी-उत्तर एटलान्टिक सन्धी संगठन, ९नेटो०ले युक्रेनभित्र सेना नपठाउने भएको छ ।

सो कुराको जानकारी नेटोका महासचिवले बिहीबार दिनुभएको हो ।

उहाँले दिनुभएको जानकारीअनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भूभागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो ।

बिहीबार बसेको नेटोको आपतकालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिनुभएको छ ।

उहाँले यस विषयमा छलफल भएको र अहिले नै नेटोले युक्रेनमा रहनेगरी सेना नपठाउने विषयमा निर्णय भएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

साथै सो बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रुसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ ।

सो बैठकपछि भनिएको छ– हामीले रुसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौँ र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौँ ।

रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हवाई हमला गरिरहेका बताइएको छ ।

नेपाल–भारत नवौँ ऊर्जा बैठक : नेपालको बिजुली किन्न भारत सहमत

काठमाडौँ-नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ ।

कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् ।

भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ ।

त्यसका लागि सरकारीस्तरमा संयुक्त लगानीका कम्पनी स्थापना हुनेछ ।

सोही कम्पनीले पहिलो चरणमा एउटा ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्नेछ ।

दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको आज यहाँ सम्पन्न नवौँ बैठकमा संयुक्तरूपमा जलविद्युत् आयोजना निर्माणका लागि कार्यदलमा सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिनुभयो ।

भारतको सरकारी स्वामित्वको सतलज विद्युत् निगमले सङ्खुवासभामा कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

सो आयोजनाको हालसम्म भौतिक प्रगति ५० प्रतिशतको हाराहारीमा पुगेको छ ।

भारतीय कम्पनी ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर) ले जिम्मा लिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको भने हालसम्म कुनै प्रगति भएको छैन ।

संयुक्त निर्देशक समितिको बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षता गर्नुभएको थियो ।

बैठकमा दुई देशबीच मौजुदा प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, अरुण तेस्रो जलविद्युत् तथा प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायतका विषयमा छलफल भएको सहसचिव चटौतले जानकारी दिनुभयो ।

हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्षमताको प्रसारण लाइनबाट आयात निर्यात भइरहको बिजुलीको क्षमता वृद्धि गर्ने विषयमा सहमति भएको छ ।

हाल सो प्रसारण लाइनबाट ३५० मेगावाट बराबरको बिजुली आयात भएको छ । सो क्षमता वृद्धि गरी ६०० मेगावाट पुर्‍याइने भएको छ ।

यस्तै हेटौँडा–ढल्केबर इनरुवा ४०० केभी क्षमताको प्रसारण लाइन सन् २०२३ मा सम्पन्न भएपछि उक्त प्रसारण लाइनबाट आयात निर्यात हुने विद्युत्को क्षमतलाई थप बढाइनेछ ।

दोस्रो अन्तरदेशीय प्रसारण लाइनका लागि संयुक्त कम्पनी

संयुक्त निर्देशक समितिको बैठकमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि अप्रिल २०२२ सम्म नेपाल र भारतको संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको छ ।

कूल ४०० केभी क्षमताको सो प्रसारण लाइन १४० किलोमिटर लामो छ ।

त्यसमध्ये नेपालतर्फ २० किलोमिटर र भारततर्फ १२० किलोमिटर पर्छ ।

त्यसका लागि नेपालतर्फको लगानी नेपाल सरकार आफैँले व्यवस्था गर्नेछ ।

भारतीय भू–भागमा पर्ने संरचनाका लागि आवश्यक लगानी तथा कार्यान्वयनको प्रारुपाका हकमा नेपाल विद्युत् प्राधिकरण तथा भारत सरकारको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त उपक्रम स्थापना गरिनेछ ।

संयुक्त कम्पनी स्थापना गर्न पावर ग्रीडले लिनुपर्ने स्वीकृति तथा उक्त कम्पनी र प्राधिकरणबीच सम्पन्न गर्नुपर्ने इम्प्लिमेन्टेशन एण्ड ट्रान्समिशन सर्भिस एग्रिमेन्ट (आइटीएसए) कार्यलाई सँगसँगै अगाडि बढाउने सहमति भएको छ ।

बिजुली निर्यात हुनेमा आशावादी

भारतमा विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणले पेश गरेको विभिन्न निवेदन आउँदो वर्षायाम अगाडि नै स्वीकृति प्रदान गर्न नेपालले गरेको अनुरोधलाई भारतका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको बैठकमा सहभागी अधिकारीहरुको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनमा ८५० मेगावाट बराबरको बिजुली बिक्रीका लागि प्रस्ताव गरेको छ ।

गत कात्तिकदेखि प्राधिकरणले कूल ३९ मेगावाट विद्युत् निर्यात गरेको थियो ।

प्राधिकरणले गत वर्षदेखि नै बिजुली निर्यातका लागि पहल गर्दै आएको छ ।

सो सम्बन्धमा आजको बैठकमा विद्युत् व्यापारसम्बन्धी प्रचलित नियमानुसार चाँडै सहमति दिन भारतीय पक्ष तयार भएको छ ।

भारतको सहमतिपछि नेपालको बिजुली भारतीय बजारमा प्रवेश गर्नेछ ।

निर्यातको अवसर नपाउँदा प्राधिकरणले गत मनसुनमा झण्डै रु पाँच अर्ब बराबरको बिजुली खेर गएको बताएको छ ।

त्यस्तै नेपाल र भारतको पश्चिम बङ्गाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावनाबारे संयुक्त प्रविधि टोलीले अध्ययन गर्ने भएको छ ।

एमसिसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो : सञ्चारमन्त्री कार्की

मिलेनियम च्यालेञ्ज कर्पाेरेशन कम्प्याक्ट, (एमसिसी)बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छफफल भर्खरै सकिएको छ ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले)का अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

छलफलमा सहभागी भएर बाहिरिने क्रममा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभामा टेबल भएको एमसिसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संसद्लाई सुचारु गर्नका निमित्त प्रधानमन्त्रीज्यूले लचकताका साथ अधिकतम सहमति बनाउन सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ र यो छलफलले संसद् सुचारु हुने विश्वास छ, एमसिसी सदनमा गहनरूपले छलफल भएर निष्कर्षमा पुग्छ ।”

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिमा संसद् सुचारु भई एमसिसीका बारेमा छलफल हुने मन्त्री कार्कीको भनाइ छ ।

उहाँले समयसीमाभित्रै एमसिसी पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको हितका लागि आवश्यक एमसिसी सार्वभौम संसद्ले नै टुङ्ग्याउने उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँगको छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले एमसिसीलगायतका विषयमा खुला छलफल गर्न आफूहरु तयार रहेको छलफलमा सहभागी कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले एमसिसी अन्तर्राष्ट्रियस्तरसम्म पनि जोडिएको छ ।

यसलाई टुङ्गोमा पुर्‍याउनुपर्छ, खुला विकल्पमा छलफल गर्न तयार छौँ भन्नुभयो, अङ्क गणितसँग सरोकारको विषय होइन, संसद्मा भाग लिएर मत जाहेर गर्नुस् भन्नुभयो ।”

दलीय सहमतिका लागि आज साँझ सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच छलफल हुने नेता थापाले जानकारी दिनुभयो ।

आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगन भए पनि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्नुभएको हो ।

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

काठमाडौँ-राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम भट्टराइद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपुर्‍याउन, विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको उपभोगमा अवरोध नपुर्‍याउन आयोग विरोध प्रदर्शनमा उत्रिएका राजनीतिक दल, राजनीतिक दलका भातृ सङ्गठन तथा सर्वसाधारणलाई आग्रह गर्दछ ।”

आज प्रतिनिधि सभाको बैठक: एमसीसीबारे निर्णय हुने

काठमाडौँ-आज प्रतिनिधि सभाको बैठक बस्न लागेको छ ।

मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो ।

आजको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टबारे निर्णय गर्ने बताईएको छ ।

संघीय संसद सचिवालयले बुधवार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ ।

सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ।

गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए ।

एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ ।

एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत भएका छैनन् ।

साझेदार दलसँग एमसीसीबारे मत विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसित पनि छलफल गरिरहेका छन् ।

८१ जना असईको सरुवा

काठमाडौँ-नेपाल प्रहरीले ८१ जना असईहरुको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरूमा उनीहरुको काज सरुवा गरेको हो ।

मानव स्रोत तथा प्रशासन विभागले बुधवार उनीहरूको काज सरुवा गरेको हो ।

काज सरुवा पत्रमा बजेट सञ्चालनमा अप्ठेरो परेकोले उनीहरूको काज गरिएको उल्लेख छ ।

सरुवा भएका असईहरुको सुची

प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु

कलैया-प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।

बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाजा तस्करको मृत्यु भएको बताइएको छ ।

भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दिनुभयो ।

मृतकको शव प्रदेशिक अस्पतालमा राखिएको छ ।

सामान्यको निर्णय गृहले नमान्दा दर्जनौ सह सचिव घामताप्दै

काठमाडौँ-सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समुहमा रहेका कर्मचारीलाई रिक्त रहेका स्थानमा ब्यवस्थापन गर्न खोज्दा गृहले कर्मचारी नपठाउन भनेपछी सामान्य प्रशासन मन्त्रालय अलमलमा परेको छ ।

अहिले सामान्य प्रशासन मन्त्रालयमा करिव एक दर्जन सह सचिव अतिरिक्त समुहमा रहेर जिम्मेवारी बिहिन भएर बसेका छन् ।

प्रधानमन्त्री कार्यलयका सचिवहरुले समेत उचित जिम्मेवारी पाएका छैनन् भने त्यस्तै जो नतिजा दिने ठाउका सह सचिव समेतले जिम्मेवार विहिन हुनु मुलुकका लागी राम्रो सङ्केत होईन ।

सामान्य प्रशासन मन्त्रालयमा उमेश ढुङ्गाना, यमप्रसाद भुसाल, झलकराज अधिकारी, शोभाकान्त पौडेल, प्रदिपराज अधिकारी लगायत करिव एक दर्जन सह सचिव अतिरिक्त समुहमा रहेका छन् ।

सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समुहमा रहेका कर्मचारीलाई रिक्त रहेका स्थानमा ब्यवस्थापन गर्न खोज्दा गृहले कर्मचारी नपठाउन भनेपछी सामान्य प्रशासन मन्त्रालय अलमलमा परेको हो ।

गृह मन्त्रालयमा भने करिब १० जना सह सचिवको दरबन्दी रिक्त रहदा समेत सामान्यलाई कर्मचारी नपठाउन भन्नुले गृहमातहतका निकायमा नतिजामुखी काममा असर परेको छ ।

जसका कारण सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा कर्मचारीको चाङ्ग लागेको छ ।

अहिले अतिरिक्त समुहमा कर्मचारीको चाङ्गका कारण सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी ब्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।

गृहमन्त्रालय नेतृत्वले आफु निकटका कर्मचारी तान्ने होडमा क्षमतावान कर्मचारीहरुसमेत काम बिहिन भएर बसेको समाचार स्रोतले बताएको छ ।

राजनीतिक स्वार्थका कारण निजामती प्रशासनका कर्मचारीले बेलाबखत धेरै समस्या भोग्ने गरेका छन् ।

केन्द्रस्थित मन्त्रालयमा कार्यरत कर्मचारी सदैव यसको मारमा पर्ने गरेका छन् ।

विगत केही समय देखी नेपालको निजामती क्षेत्रमा यो स्थिती श्रृजना हुदै आएको छ ।

प्रधानमन्त्री कार्यलयमा दरबन्दी भन्दा बढी सचिबहरू भएर पनि परिणाममुखी कामहरु आउन सकेको छैन् ।

भएका कर्मचारीलाईपनि काम दिन नसक्दा समस्या श्रृजना भएको छ ।

अहिले त्यस्तै स्थिती सामान्य प्रशासन मन्त्रालयमा पनि श्रृजना भएको हो ।

राज्यको शक्तीशाली तथा धेरै कार्यबोझ रहने मन्त्रालयको रुपमा रहेको गृह मन्त्रालयमा जनशक्ती कमहुदा त्यस्को प्रभाब समग्र देशको सुरक्षा प्रशासनमा परेको छ ।

तर गृहको नेतृत्व भने उक्त प्रभावको वास्ता नगरी आफुनिकट कर्मचारीमात्र स्विकार्ने होडमा लागेर मन्त्रालयको कार्य प्रभावित पारेर बसेका छन् ।

राज्यले आफ्नो दैनिक कार्यसम्पादन गर्न कर्मचारी नियुक्त गरेको हुन्छ ।

जनताले तिरेको करबाट सेवा सुविधा प्राप्त गर्ने कर्मचारिलाई जिम्मेवारी बिहिन बनाएर तलब भत्ता तथा साधन सहितको सेवासुविधा वितरण गरिने यस शैलीलाई जनता माथिको धोका भएको जनप्रशासनका जानकारहरुले टिप्पणी गर्न थालेका छन् ।

अहिले देश संघिय संरचनामा गएको अबस्थामा प्रदेश सरकार लगायत स्थिानिय तहमा समेत कर्मचारी अभाव रहेको छ ।

तर गृहले कर्मचारी नपठाउन भनेर उर्दी दिएपछी सामान्यमा रहेका अतिरिक्तको चाङ्ग व्यबस्थापनमा समस्या आएको छ ।

साथै अरु मन्त्रालयले पनि सामान्यले गरेको सरुवालाई जिम्मेवारी नदिने, सामान्यले गरेको सरुवालाई मन्त्रालयमा विभिन्न संघ संगठनको नाममा काखा र पाखाको नीतिले स्विकार नगर्ने लगाएतका प्रवृतीका कारण कतिपय क्षमतावान कर्मचारीहरुले आफ्नो क्षमतालाई नतिजामुखी कार्यमा जोड्न पाएका छैनन् । यो प्रवृती लोकतान्त्रिक मुलकको लागी राम्रो मान्न सकिदैन ।

सरकारले लिएको कार्यको गतिशिलता तथा प्रभावकारी कार्यसम्पादनको बाधकको रुपमा यो प्रवृती देखा परेको छ । जस्को दुरगामी असर निश्चित रहेको छ ।

कुनै मन्त्रालयमा कर्मचारी बढी भएर घाम तापेर बसेको अबस्था तथा कुनै मन्त्रालय कर्मचारी बिहिन भएर आबश्यक सेवा प्रवाह समेत गर्न समस्या हुनुले आम जनता मारमा परेका छन् ।