मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीदका परिवारलाई आर्थिक सहयोग गर्ने

जनकपुरधाम । सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीदका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको हो ।

सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका लागि छात्रवृत्ति समेत दिन लागेको हो । प्रतिष्ठानका संयोजकसमेत रहेका गृह तथा संचारमन्त्री भरत साहले यही महिनादेखि नै वितरण गर्ने लक्ष्य रहेको बताए ।

उनका अनुसार शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि नै बनाइएको छ ।

यो कार्यविधि अनुसार मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएकामध्ये आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार प्रदान गरिनेछ ।

यस्तै, शहीदका सन्तानलाई कक्षा १ देखि ६ सम्म अध्ययन गर्न १६ हजार र ७ देखि १२ सम्मको अध्ययन गर्नेलाई १८ हजार वार्षिकरुपमा एकमुष्ट छात्रवृत्ति दिइने मन्त्री साहले बताए ।

भरणपोषण भत्ता लिनका लागि शहीद परिवारलाई शहीद घोषणा भएको प्रमाण पत्र, शहीद र आश्रित व्यक्तिको नेपाली नागरिकताको प्रमाण पत्र, शहीदको एकाघरका पतिरपत्नी, छोरा, अविवाहित छोरी, आमा, बुवा भएको स्थानीय तहबाट नाता प्रमाणित, ‘क’ वर्गको बैङ्कमा रहेको खाता नम्बर र पान नम्बर पेस गर्नुपर्ने हुन्छ ।

छात्रवृत्ति पाउनका लागि शहीद भएको घोषणा पत्र, स्थानीय तहबाट फोटोसहितको शहीदको छोरा वा अविवाहित छोरी रहेको नाता प्रमाणित, विद्यालयको सिफारिस, नागरिकता वा जन्म दर्ताको प्रतिलिपि, ‘क’ वर्गको बैङ्कको खाता नम्बर र पान नम्बर बुझाउनुपर्ने प्रतिष्ठानले जनाएको छ ।

के छ आजको सुनचाँदी बजार भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घटेको हो । बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजाररुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्यमा पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२३५ रुपैयाँ मूल्य कायम भएको महासंघले बताएको छ ।

कर्णाली प्रदेशसभामा एमाले अवरोध जारी

कर्णाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सदस्यहरुले चालु तथा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ यही असार १२ गते १७औँ बैठकमा दिनुभएको थियो ।

तीस मिनेट स्थगितपश्चात् सुरु भएको १८औँ बैठकमा सुरुआतमै प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८÷७९ बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको जनाउँदै विरोध गर्नुभएको थियो ।

चालु आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका सवालमा सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति कार्यान्वयन नगरेको, आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको किताब तथ्य नभएको तर सुदूरपश्चिमका तीन जिल्लासमेत कर्णालीको बजेटमा समेटेर ल्याएको बजेटमा असर्थनको प्रतिक्र्रिया दिएर सभा सञ्चालन गर्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको थियो ।

बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बस्दा पनि सहमति हुन नसक्दा असार १२ गतेदेखि स्थगित बैठक आजसम्म सुचारु हुन सकेको छैन । स्थगित सदन सुचारुका लागि आज ११ बजे सर्वदलीय बस्ने तयारी रहेको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

“प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्याविधि अनुसार लागू गर्नुपर्ने, निर्वाचन क्षेत्र विशेष कार्यक्रको निष्पक्षताको आधार दिनुपर्ने, रु १५ लाख बजेट भन्दा मुनिका योजना स्थानीय तहलाई दिनुपर्ने माग सरकारसँग राख्दै आएको छ,” उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो सङ्कटको विषय सुदूरपश्चिम प्रदेशका तीन जिल्लालाई बजेटबाट हटाउनु पर्नेछ ।”

उहाँका अनुसार संवैधानिक हिसाबले प्रदेश सरकारको बजेटमा ल्याउनै नमिल्ने बझाङ, बाजुरा र अछाम जिल्लालाई बजेटबाट हटाउन मुख्यमन्त्रीले ब्यूरोक्रेटिक मान्यता के हो ? कर्मचारीसँग आवश्यक सल्लाह लिनुपर्ने हुन्छ ।

सरकारले यसो गर्न नसके सुदूरपश्चिमको बजेट यहाँ छलफल गरेर पास गर्न नसकिने सभामुख शाहीले प्रतिक्रिया दिनुभयो । प्रतिपक्षी दलले उठाएका ती विषयमा प्रदेश सरकारले सहमति गर्न सके प्रदेशसभा सुचारु हुने अवस्था आउने उहाँको भनाइ छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ । यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अशमान तामाङले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ ।” उद्धारका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो ।

किन बोलाए शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूको बैठक बोलाएका छन् । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गर्न कोइरालाले आफु पक्षका नेताहरुको बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व दोहोराएर सम्हालेको फेरी ६ महिना पुग्दा समेत पार्टी गतिविधि फेरि पनि अस्तब्यस्त बन्दै जान थालेको, विधान अनुसार गठन गर्नुपर्ने विभागहरु गठन हुन नसकेको र भातृ सस्थाहरुको हालत पनि भद्रगोलमै रहेकोले पार्टीको आन्तरिक गतिविधि र सरकारका कामकारबाहीका विषयमा पनि छलफल गर्नका लागि कोइरालाले आफु पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन् । गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो । विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ ।

सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनीत गर्नुपर्ने हो। तर अहिलेसम्म कोषाध्यक्ष पद रिक्त छ ।

३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवानिकटका हुन् । कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो । सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन् ।

यस्तै, केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डलाई पनि सभापति देउवाले पूर्णता दिएका छैनन् । सभापति देउवाले गत पुस १० मा कार्यभार सम्हालेका थिए । त्यो दिनदेखि गणना गर्दा पनि देउवा सभापति भएको छ महिना कटिसकेको छ ।
साथै बैठकमा आगामी संघ र प्रदेश चुनावमा देउवाले गठबन्धन दलहरुलाई दिन सक्ने स्पेशका विषयमा पनि छलफल हुने बताईएको छ ।

भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशन

काठमाडौँ । भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशन भएको छ ।

भन्सार विभागले लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको असार ५ गतेदेखि सुरु अन्तर्वार्ता परीक्षाबाट उत्तिर्ण हुने परीक्षार्थिहरुको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

लोक सेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरेको परीक्षामा ६६० जना उत्तिर्ण भएका छन् ।

लिखित परीक्षामा ५ हजार ६१५ जना सहभागी भएका थिए ।

https://drive.google.com/file/d/1A3Ac6mNqCPvLI0tCTj5Unm5gqAKL6Mmv/preview

आज संसद् दिवस मनाइँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ । नेपालमा आज संसद् दिवस मनाइँदै छ । देशमा संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष संसद् दिवस मनाउने गरिन्छ ।

विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । नेपालमा वि.सं. २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको थियो ।

यस अवसरमा पूर्वसांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने जनाइएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौँ । सरकारले हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले बृहत्तर जनकपुर विकास परिषद् कोषको अध्यक्षमा धनुषाका शीतल साहलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले लामो समयदेखि स्थायी कार्यालय सहयोगीले आफ्नो सेवा समूह र पद परिवर्तन गर्न गर्दै आएको मागलाई सम्बोधन गर्दै श्रेणीविहीन स्थायी कार्यालय सहयोगीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ ।

मङ्गलबारको बैठकले काठमाडौं उपत्यकाभित्रका प्रसारण लाइन र सब–स्टेसनमा संरचनाको सुधार, विस्तार र स्तरोन्नतिका लागि जग्गा प्राप्ति गर्ने निर्णय गरेको गरेको छ ।

मन्त्री कार्कीका अनुसार सरकारले उक्त कामका लागि प्रारम्भिक कारबाही चलाउने अधिकारीसमेत तोक्ने निर्णय गरेको छ ।

यस्तै, सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए ।

मन्त्री कार्कीका अनुसार मङ्गलवारको बैठकले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने, मध्य भोटेकोसी जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न दिने, भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

बैठकले महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने, कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने, निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिको सदस्य तोक्ने निर्णय गरेको छ ।

सरकारले गर्र्‍यो १९ सहसचिवको सरुवा, कसको सरुवा कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले १९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार खानेपानी मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तान्दै खानेपानीमा अतिरिक्तमा रहेका शोभा कान्त पौडेलको सरुवा भएको छ ।

यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका दीपक घिमिरेको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशमा सरुवा भएको छ भने यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं १ विराटनगरका सुरेश राउतको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशकी स्किम श्रेष्ठलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्दै राष्ट्रिय दलित आयोगका शिवराम गेलाललाई मुख्यमन्त्रीको कार्यालयमा पठाइएको छ ।

यसैगरी निश्चल राज पाण्डेको विराटनगर महानगरपालिकाबाट राष्ट्रिय दलित आयोग र आर्थिक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका नारायण प्रसाद सापकोटाको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा राखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका नेत्र प्रसाद सुवेदीको सोही मन्त्रालयको आर्थिक मामिला तथा सहकारी मन्त्रालय, गृह मन्त्रालय वा अन्तर्गतका राम प्रसाद पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशका भूपेन्द्र थापाको कानुन, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेश, गृह मन्त्रालय वा अन्तर्गतका नारायण प्रसाद भट्टराईलाई प्रदेश लोक सेवा आयोग कर्णालीमा सरुवा भएको छ ।

त्यस्तै वन तथा वातावरण मन्त्रालय अन्तर्गतका गोपाल अर्याललाई गृह मन्त्रालय वा अन्तर्गत, सामान्यको अतिरिक्त समूहकी रेखा कँडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालयका महेश आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेश र त्यहाँका धनी राम शर्मालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । र, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सहसचिव जगदीश्वर कर्माचार्यलाई सोही मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

नेपालमा ६२ जनामा कोरोना संक्रमण

काठमाडौं । देशमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो ।

एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।

नेप्सेमा उच्च अंकको वृद्धि, एक अर्ब ४३ करोडमाथिको कारोबार

काठमाडौं । नेप्से आज उच्च अंकले वृद्धि भएको छ । आज नेप्से ४१।३९ अंकले बढेर एक हजार ९ सय ६२ दशमलब ७१ विन्दुमा पुगेको हो । आज नेप्सेमा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।

आज कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर १०१०.९० रुपैयाँ पुगेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९५८.८० रुपैयाँ पुगेको छ भने बरुण हाइड्रोको शेयरमूल्य ९.४५ प्रतिशतले बढेर प्रतिकित्ता ४९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य एक प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावरको भएको छ । यसको आज ५ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।

त्रिवि सेवा आयोगले लिएको लिखित परीक्षामा सबै परीक्षार्थी अनुतीर्ण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको १०४ पदको परीक्षामा सबै परीक्षार्थी अनुतीर्ण भएका छन् ।

आयोगले मंगलबार सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा एकजना पनि परीक्षार्थी उतीर्ण हुन सकेनन् ।

उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जनाले लिखित परीक्षा दिएका थिए । शाखा अधिकृतमा ४० पदका लागि ५४२ जना, मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७७७, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि ३, लेखा अधिकृत १५ पदका लागि १२९ ले परीक्षा दिएका थिए । तर ती पदमा एक जना पनि परीक्षार्थी उतीर्ण भएनन् ।

परीक्षामा मर्यादा विपरीत गतिविधि गर्ने १३८ जनाको परीक्षा रद्द गरिएको पनि आयोगले जनाएको छ । लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी उतीर्ण भएका छन् ।

०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ देखि फागुन २७ सम्म र लिएको प्रशासनिक तथा प्राविधिक पदहरुको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

उतीर्ण परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता यही असार २८ गते त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकमा बिहान ११ बजे हुने आयोगले जनाएको छ ।

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

बैतडी । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।

एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्यपरीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् ।

बाटोमा हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जवान निलम्बनमा

काठमाडौँ । ललितपुरको एकान्त कुनामा बाटोमा हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् ।

ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मङ्गलवार निलम्बन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनले पुलचोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि कुटपिट गरेका थिए ।

आइतबार राति पौने ९ बजे पैदल घर फर्किँदै गर्दा उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो ।

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिनुभएको हो । कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताउनुभयो ।

यही असार ६ गते भएको एन्फाको निर्वाचनमा नेम्वाङ चार वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

निर्वाचित हुने अन्य टोलीमा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजङ्ग शाही र दीर्घबहादुर केसी हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजयनारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टीका लामा, मणिराज विष्ट र मनिष जोशी हुनुहुन्छ ।

महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ हुनुहुन्छ ।