नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २९ गते विश्वासको मत लिने

काठमाडौँ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नवनियुक्त प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा छलफल भएको थियो।

बैठकमा सहभागी एक नेताका अनुसार सो छलफलपछि प्रधानमन्त्री दाहालले पुस २९ गते विश्वासको मत लिनेबारे समझदारी भएको हो।

प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले पुस २९ गते विश्वासको मत लिने तयारी गरेका हुन्।

भ्रष्टाचारकाे आरोपमा: ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको कविलासी नगरपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय सहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

कविलासी नगरपालिका वडा नं. ८ स्थित अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी कार्य भएको गलत विल बनाई रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त विषयमा अनुसन्धान हुँदा आर्थिक वर्ष २०७६/०७७ मा कविलासी नगरपालिका वडा नं. ८, सर्लाहीस्थित अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी कितावमा मूल्याङ्कन गरी चढाएको पाइएको आयोगको भनाई छ ।

ठेक्का विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरी फिल्डमा वास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी माग उनीहरुले गरेका थिए ।  कार्य सम्झौता विपरीत कार्यसम्पन्न भएको भनी ९७ हजार ८४० रुपैयाँ रकम बढी भुक्तानी दिई-लिई भ्रष्टाचार गरेको आयोगको आरोप छ । 

उनीहरुविरुद्ध कैद र जरिवानाको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, तत्कालीन इन्जिनियर रामविनाय प्रसाद यादव, सब इन्जिनियर उमेश कुमार दास, अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार, र कोषाध्यक्ष रिना कुमारीसंग जनही ९७ हजार ८४० रुपैयाँ बिगो माग गरिएको छ । 

तरलता व्यवस्थापनका लागि ५० अर्बको रिपो बोलकबोल हुँदै

काठमाडाै । बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रुपमा पैसा जाने भएकाले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागेएको हो ।

केन्द्रीय बैंकले आज रिपोको बोलकबोल गर्नेछ । कूल ४५ दिने अवधिका लागि रिपो जारी गर्न लागिएको हो । रिपोको बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागिता जनाउन सक्नेछन् । उक्त रिपो आगामी माघ २९ गते परिपक्व हुनेछ ।

दुई हजार विन्दुमा पुग्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको शेयर बजार आज उच्च अंकले बढेको हो । 

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन सोमबार ५६ दशमलव ८८ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा बीमा, होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर उच्च अंकले बढेको छ । सबैभन्दा धेरै लक्ष्मी बैंकको २० करोड नौ लाख रुपैयाँको शेयर किनबेच भयो । आज दुई सय ६१ वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

आज सिद्धार्थ इन्सुरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्सुरेन्स, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रशितले बढेको छ । अन्य चार वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरै र चार वटा कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर २ प्रतिशतभन्दा बढीले घटेको छ ।

मधेश प्रदेशसभाका सदस्यले ८ भाषामा शपथ लिने

जनकपुर . मधेश प्रदेशसभामा १०७ सदस्य मध्ये ३८ जनाले आफ्नो मातृभाषामा शपथ लिने भएका छन्। अन्यले नेपालीमा शपथ लिने छन्। शुक्रबार दिउँसो २ बजे तय गरिएको शपथ ग्रहण समारोहमा जनमत पाटीका १३ प्रदेशसभा सदस्यबाहेक अन्यले नेपालीदेखि उर्दुसम्ममा शपथ लिन चाहेको निवेदन प्रदेशसभामा बुझाएका हुन्।

प्रदेश संसद सचिवालयका सचिव रञ्जित यादवका अनुसार सप्तरी १ (क) बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका राजकुमार लेखी, सिरहा–१ (क) बाट निर्वाचित राजेन्द्रप्रसाद चौधरी र बारा–४ (क) बाट निर्वाचित देवनारायण थारुसहित ३ जनाले थारु भषामा शपथ लिने  छन्।  त्यस्तै, महोत्तरी ३ (क) बाट प्रत्यक्ष निर्वाचित लोसपाका अभिराम शर्मा, सर्लाही–१ बाट निर्वाचित लोसपाका उपेन्द्र महतो, रौतहट–१ (ख) बाट निर्वाचित कांग्रेसका कृष्णकुमार यादव, सर्लाही–२ (ख) बाट निर्वाचित कांग्रेसका कौशल किशोर राय, सर्लाही–२ (क) बाट निर्वाचित कांग्रेसका जंगीलाल राय, रौतहट–१ (क) बाट निर्वाचित कांग्रेसका नागेन्द्र साह, लोसपाका समानुपातिक सांसद रमिता प्रधान र रुपाकुमारी यादव, महोत्तरी–३ (ख) बाट प्रत्यक्ष निर्वाचित लोसपाका रानीकुमारी तिवारी, सर्लाही–४ (क) बाट निर्वाचित कांग्रेसका बीरेन्द्र कुमार सिंह, नेपाली कांग्रेसका समानुपातिक सांसद सकुन्ती देवी महरा, जसपाका समानुपातिक सांसद शोभा देवी र सर्लाही–३ (ख) बाट प्रत्यक्ष निर्वाचित जसपाका संजयकुमार यादवसहित १३ जनाले बज्जिका भाषामा शपथ लिने भएका छन्।

भोजपुरी भाषामा भने जसपाका समानुपातिक सांसद शाहिदा खातुन, बारा–२ (ख) बाट निर्वाचित जसपाका बच्चा राउत अहिर, पर्सा–२ (ख) बाट निर्वाचित लोसपाका रमेशप्रसाद कुर्मी, नेकपा माओवादी केन्द्रका समानुपातिका सांसद शारदा पहाडी, रौतहट–४ (ख) बाट निर्वाचित जसपाका शेख अबुकलाम अजाद, बारा–१ (ख) बाट निर्वाचित जसपाका सरोजकुमार यादव र पर्सा–४ (ख) बाट निर्वाचित जसपाका सिंगासन सा कलवारसहित ७ जनाले शपथ लिने संसद सचिवालयले जनाएको छ।

त्यस्तै, महोत्तरी–१ (ख) बाट निर्वाचित माओवादी केन्द्रका भरतप्रसाद साह र महोत्तरी–४ (ख) बाट निर्वाचित जसपाका सरोजकुमार सिंहसहित दुई जनाले मगही भाषामा शपथ लिने भएका छन्। बारा–४ (ख) बाट निर्वाचित लोसपाका जितेन्द्र सोनल र महोत्तरी–२ (ख) बाट स्वतन्त्र निर्वाचित सुरिता कुमारी साहले हिन्दी भाषामा शपथ लिने सचिव यादवले जानकारी दिए।

मैथिली भाषामा भने धनुषा–२ (ख) बाट निर्वाचित जसपाका रामअशिष यादव र सिरहा–१ (ख) बाट निर्वाचित राजकुमार गुप्ता तथा धनुषा–१ (ख) बाट निर्वाचित नेकपा एमालेका रामचन्द्र मण्डल, धनुषा–३ (क) बाट निर्वाचित कांग्रेसका रामसरोज यादव, धनुषा–४ (क) बाट निर्वाचित कांग्रेसका शेषनारायण यादव, जसपाका समानुपातिक सांसदहरु मनिषकुमार सुमन, किरणकुमारी साह र ममता देवी मण्डल, कांग्रेसका समानुपातिक सांसद कुमार कान्त झा र जीवछीकुमारी यादवसहित १० जनाले शपथ लिने भएका छन्।

नेपाल संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी विमला अन्सारी तरुन्नुमले भने उर्दु भाषामा शपथ लिने सचिव यादवले जानकारी दिए।

यता, जनमत पार्टीका प्रत्यक्ष निर्वाचित सकिय मियाँ, सतिशकुमार सिंह, महेशप्रसाद यादव, शम्भुकुमार साह, सञ्जयकुमार यादव र त्रिभुवन साहसहित समानुपातिक सांसदहरु बबिताकुमारी राउत इसर, अनिताकुमारी साह, चन्दनकुमार सिंह, बसन्तकुमार कुशवाहा, रञ्जुकुमारी मण्डल खंग, हसिना खातुन र भाग्यश्रीकुमारी चौधरीले संसद सचिवालयमा आ–आफ्नो मातृभाषा सम्बन्धमा निवेदन नै दिएका छैनन्।

जबकि प्रदेशसभाका सदस्यलाई आ–आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम ३ दिन अगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन सूचित समेत गरिएको थियो।

नेकपा एमालेका प्रत्यक्ष निर्वाचित शत्रुधनप्रसाद सिंह, मनोजकुमार सिंह, लखनदास तत्मा, दिपेन्द्रकुमार ठाकुर, सरोजकुमार यादव, मो. जैद आलम, त्रिलोकीप्रसाद, रविन्द्रदास श्रेष्ठ, महम्मद समीर, शारदादेवी थापा, हरिनारायण महतो र समानुपातिक सांसदहरु जयचन्द्रप्रसाद पटेल, पल्टीदेवी यादव, फुलोकुमारी देवी, विनादेवी शर्मा, शिला यादव, पल्टीदेवी महरा, नाजिमा खातुन र मञ्जुकुमारी थापा मगरले नेपाली भाषामा शपथ लिने बताइएको छ।

त्यस्तै, नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित मोहम्मद समीम, संजयकुमार महतो, सुनिलकुमार यादव, श्यामप्रसाद पटेल, जर्नादन सिंह क्षेत्री र शंकरप्रसाद चौधरी तथा समानुपातिक सांसदहरु रेखा ठाकुर, इन्दुकुमारी साह, अञ्जना पण्डित, सकुन्तीदेवी महरा, नीलमकुमारी रजक, नुरुन नेसा एवम् मीनाकुमारी लामाले पनि नेपालीमै शपथ लिने सचिवालयले जनाएको छ।

यता, जसपाका प्रत्यक्ष निर्वाचित संजयकुमार यादव, लालबाबु राउत तथा समानुपातिक तर्फका सांसदहरु विन्दुकुमारी यादव र ललिता दासले पनि नेपाली भाषामा शपथ लिने भएका छन्।

त्यस्तै, लोसपाका प्रत्यक्ष निर्वाचित रामबाबु यादव र जयनुल राइन तथा नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रत्यक्ष निर्वाचित गोवीन्द बहादुर न्यौपाने, प्रमोदकुमार यादव, बेची लुंगेली र कनिश पटेल एवम् समानुपातिक सांसदहरु रत्नेश्वर गोइत यादव, लक्ष्मी देवी र किशोरी देवीले पनि नेपालीमै शपथ लिने भएका छन्।

नेकपा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित फकिरा महतो, युवराज भट्टराई र रहबर अंसारी तथा समानुपातिक सांसदहरु माला कर्ण, सुनिता यादव र मो. रजी हैदरले नेपाली भाषामा शपथ लिने बताइएको छ।

त्यस्तै, सप्तरी–४ (ख) बाट अनिरुद्धकुमार सिंह, सर्लाही–३ (क) बाट जवाहर लाल कुशवाहा, रौतहट–३ (क) बाट केशव राय, पर्सा–३ (क) बाट प्रमोदकुमार जयसवाल र बारा–२ (क) बाट स्वतन्त्र निर्वाचित सांसदहरु शारदा शंकर प्रसाद कलवारले नेपालीमै शपथ लिने भएका छन्।

राप्रपाका समानुपातिक सांसद कञ्चन बिच्छा र नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरीले पनि नेपाली भाषामै शपथ लिने बताइएको छ।
संसद सचिवालयले शपथग्रहण कार्यक्रममा उपस्थित हुनुअघि निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाण पत्र (सक्कल तथा एकप्रति प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि प्रदेशसभा सदस्यहरुलाई अनुरोध गरेको छ।

कम्बोडियाको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु

कम्बोडियाको एक होटल क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । यो होटल-क्यासिनो कम्बोडिया र थाइल्याण्डको सीमावर्ती सहर पोइपेटमा छ।

होटलमा आगलागी बुधबार दिउँसो ४ : ३० बजे भएको हो । प्रहरीका अनुसार त्यसबेला होटलमा करिब चार सय मानिस उपस्थित थिए ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मानिसहरू माथिल्लो तलाबाट हाम फालेको वा खसेको देखिन्छ। स्थानीय मिडियाका अनुसार होटलमा थाइल्याण्डका धेरै मानिसहरु उपस्थित थिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

थाई विदेश मन्त्रालयका एक अधिकारीले केही घाइतेहरूलाई थाइल्याण्डको साओ प्रान्तको अस्पतालमा लगिएको बताए। पोइपेट शहर दुई देशबीचको महत्वपूर्ण सीमा क्षेत्र हो। बीबीसी

ओरालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा पोखरेल महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता दीनमणि पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बुधबार प्रेस विज्ञप्ति जारी गरी नियुक्तिबारे जानकारी दिएका छन् ।

सरकारको मुख्य कानुनी सल्लाहकार रहने महान्यायाधिवक्ता प्रधानमन्त्रीले चाहेको अवधिसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था संविधानमा छ ।

संवैधानिक एवं कानुनी विषयमा नेपाल सरकार र सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु महान्यायाधिवक्ताको कर्तव्य हुन्छ । साथै नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा अदालतमा नेपाल सरकारको प्रतिनिधित्व महान्यायाधिवक्ता वा मातहतका सरकारी वकिलबाट हुन्छ ।

सरकारको मुख्य कानुनी सल्लाहकार रहने महान्यायाधिवक्ता प्रधानमन्त्रीले चाहेको अवधिसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था संविधानमा छ ।

संवैधानिक एवं कानुनी विषयमा नेपाल सरकार र सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु महान्यायाधिवक्ताको कर्तव्य हुन्छ । साथै नेपाल सरकारको हक, हित वा सरोकार निहित रहेको मुद्दामा अदालतमा नेपाल सरकारको प्रतिनिधित्व महान्यायाधिवक्ता वा मातहतका सरकारी वकिलबाट हुन्छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच शक्ति बाँडफाँडबारे प्रारम्भिक समझदारी

काठमाडाै । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच शक्ति बाँडफाँडबारे प्रारम्भिक समझदारी बनेको छ ।

एमालेले प्रदेश १, गण्डकी तथा बागमती, कर्णाली र लुम्बिनीमध्ये दुईवटा प्रदेशको मुख्यमन्त्री लिनेछ । त्यस्तै, माओवादीले सुदूरपश्चिम तथा कर्णाली, बागमती र लुम्बिनीमध्ये एक प्रदेशको नेतृत्व लिने समझदारी भएको स्रोतको भनाइ छ ।

मधेसमा भने जसपा र जनमत पार्टीको दाबी रहेकाले उनीहरूलाई आलोपालो गर्ने गरी समझदारीमा आउन प्रस्ताव गर्ने तयारी दुई नेताको छ । त्यस्तै, संघीय सरकारमा एमालेले नौदेखि १०, माओवादीले पाँचदेखि सात मन्त्रालय लिनेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई बढीमा तीन, राप्रपा र जसपालाई दुई–दुई तथा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई एक–एक मन्त्रालय दिने समझदारी बनेको स्रोतको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरूले भने बढी मन्त्रालयमा दाबी गर्दै आएका हुन् । कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने विषयमा बिहीबार बालुवाटरमा बस्ने सत्तागठबन्धनमा सहभागी दलहरूको बैठकमा विस्तृत छलफल हुने नेताहरूको भनाइ छ ।

एकीकृत समाजवादी, राप्रपा र जसपालाई पनि सरकारमा सहभागी गराउने पहल प्रधानमन्त्री प्रचण्डले गरिरहेका छन् । त्यस्तो अवस्थामा उनी र ओलीबीच भएको समझदारीमा फेरबदल हुनेछ ।

राष्ट्रपति र सभामुख एमालेले पाउने प्रारम्भिक समझदारी भए पनि उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, प्रदेश प्रमुख र प्रदेशका सभामुखको भागबन्डा पनि टुंगो लाग्न बाँकी छ ।

पीएसजीको जितमा एमबाप्पेको निर्णायक गोल

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले टोउलोसेलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

टोउलोसेको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले निर्णायक गोल गरे  । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा एमबाप्पेले निर्णायक गोल गरे।

जितसंगै पीएसजी लिगको उपाधि नजिक पुगेको छ । पीएसजीले लिगमा २० अंकको अग्रता समेत कायम गरेको छ ।

पीएसजीले २९ खेलबाट ८० अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ६० अंक रहेको छ । पराजित टोउलोसे ३२ अंकसहित १४ औं स्थानमा रहेको छ ।

पुस १४ गते बिहिबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आजको दिन सामाजिक र धार्मिक कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन शुरुवात गरेको काम छिटो सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आकस्मिक अर्थलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको धन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम र कुरा गर्न उत्तम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकका लागि यात्राबाट फाइदा पुग्नेछ । सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको मिलन फाइदाजनक हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले बिहीबार सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
यात्राका लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तुला राशिमा जातकका लागि आजको दिन सोचअनुसार काम हुनेछ ।  व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ । कुनै शिवालय र वा देवालयमा गएर अशक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नै वेश हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
परिवार तथा आफन्तजनको साथ सहयोगले कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्म यात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । मनमा निकै हर्ष छाइरहने छ । बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन मनमा अति खुसी छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र खुसीयाली छाउने छ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिनु राम्रो हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । साँझको समयमा शिवालयमा पुगेर आरती दर्शन गर्दा सकारात्मक उर्जा थपिने छ । मीन राशिका व्यक्तिका लागि बिहीबार विशेष दिन हो ।

सत्ता साझेदार दलहरुको बैठक सुरु

काठमाडौँ । सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् ।

मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ ।

प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ ।

आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने नेताहरुले बताएका छन् ।

मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलहरूको बैठक स्थगित

काठमाडौँ । तयारी नपुगेकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

एक नेताका अनुसार मन्त्रालय भागवण्डाको प्रारम्भिक खाका बनेको छ । जसअनुसार गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ९ देखि १० वटा मन्त्रालय पाउन सक्छ । यद्यपि एमालेको दाबी १२ छ । उसले अर्थ मन्त्रालय लिइसकेको छ भने मन्त्रालय नटुङ्गिएका कारण एमालेबाट मन्त्री भएका तीन जनाले मन्त्रालय पाएका छैनन् ।

यस्तै ७ मन्त्रालय दाबी गरेको माओवादीले ५ वटा पाउने सम्भावना छ । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् र रास्वपाको दाबी ५ वटा मन्त्रालयमा छ ।

एकीकृत समाजवादीलाई २ देखि ३ वटा मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयास भइरहेको एक नेताले बताए । त्यसो भएमा जसपा र जनता समाजवादी पार्टीले भने २-२ वटा मत्रालय पाउने सम्भावना छ ।

नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । केहि दिन यता निरन्तर उकालो लागेको शेयर बजार आज भने दोहोरो अंकले घटेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ ।

आज नेप्से ११.८१ अंकले घटेर एक हजार ९ सय ७२ दशमलब १५ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । मंगलबार तीन अर्ब भनदा बढीको कारोबार भएको नेप्सेमा आज दुई अर्ब १५ करोड ३५ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।  

आज कारोबार भएका कम्पनीमध्य ६० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । पाँच वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज तीन वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

आज महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ८ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।                                

आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा तीन जना घाइते

काठमाडौं । आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा घाइतेहरूको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

स्ववियु निर्वाचनका विषयमा छलफल गर्दा विवाद हुँदा खुकुरी प्रहार भएको भन्ने हल्ला बाहिर आएपनि अहिलेसम्म त्यसको पुष्टि नभएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

एसपी मैनालीका अनुसार  खुकुरी प्रहार भएको भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।  केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफलको क्रममा उनीहरुबीच विवाद भएको थियो ।