सन्तानको जन्मदर्ता गर्न बाबु अनिवार्य नहुने, आमा सूचक भई आएमा इन्कार नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बाबुले इन्कार गरेमा वा फेला नपरे पनि आमा सूचक भई जन्म दर्ता गर्न आएमा छोराछोरीको जन्मदर्ता गर्न बाध्य हुने आदेश स्थानीय पञ्जिकाधिकारीहरूलाई गरेको छ ।

महिला,कानून र विकास मञ्चको कानूनी सहयोगमा धादिङ धुनिवेसीका करण केसीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले आमा सूचक भई निवेदकको जन्म दर्ता गर्न आएमा कानून बमोजिम जन्म दर्ता गर्न इन्कार नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले करन केसीको हकमा दिएको यो आदेश बाबु ठेगान नभएको वा बाबुले अस्वीकार गरेका कारण जन्म दर्ताबाट वञ्चित भई नागरिकतासमेत नपाएका छोराछोरीका हकमा पनि लागू हुने बाटो खुलेको छ ।

यसैलाई आधार मानेर त्यस्ता व्यक्तिले रिट दायर गर्न सक्ने र अदालतको पूर्ण पाठ आएमा नजिर बन्ने बरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले बताइन् । अदालतले नागरिकता जस्तो गम्भीर र संवेदनशील विषयसँग सम्बन्धित मुद्दा भएकाले यसलाई छिटो किनारा लगाउन अग्राधिकार समेत दिएको छ । धादिङ धुनीवेसी गाउँपालिका ८ कार्यालयले आमा सूचक भई आएको अवस्थामा जन्म दर्ता प्रमाणित नगरेकाले आमा गङ्गा भण्डारीका छोरा करण केसी अदालतमा गएका थिए ।

ईपीएस आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा, दुई युवकको मृत्यु

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा दुई आन्दोलनकारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षीय सुजन रावत तथा डोटी घर भएका २२ वर्षीय वीरेन्द्र शाह रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जनकारी दिए ।

उनका अनुसार प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी रावतको उपचारको क्रममा किष्ट अस्पतालमा तथा शाहको पाटन अस्पतालमा मृत्यु भएको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।

वीर अस्पतालको लेखा र प्रशासनमा ताला

काठमाडौ । चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रहेको वीर अस्पताल र ट्रमा अस्पताल भित्र भएको बेथितिको सजाय बिरामीले भोग्नुपरेको छ। सर्वसाधारणकोत उपचारका निम्ति संबेदनसिल बन्नुपर्ने ठाउमा विभिन्न नाममा अस्पतालमा हुने आन्दोलन सधैंको निम्ति अन्तिम बनोस् भन्दै अस्पतालको बेडमा उपचाररत बिरामीले जति पुकारे पनि अन्तिम बन्न सकेन। वीर अस्पतालका लेखाप्रमुख थम नारायण शर्माको कमिशन मोहका कारण कर्मचारीहरू आन्दोलनमा उत्रिन बाध्य भएको समाचार जानकारीमा आएको छ।
लेखा प्रमुख र प्रशासन प्रमुखका कारण आज तालाबन्दी


वीर अस्पतालमा बिहान ८:३० बजे देखि कर्मचारीहरू बिरामीको उपचारका प्रक्रियासँग सम्बन्धित काममा खटिनुपर्ने हुन्छ। सामान्यतया सरकारी अफिसको १०ः०० देखि ५ः०० बजे सम्मको समय तोकिएको हुने भएपनि अस्पतालमा बिहान ८ः३० बजे देखि नै बिरामीको सेवामा कर्मचारी खटिनुपर्ने हुन्छ सो बापत दर्जा अनुसारको भत्ता ब्यबस्थापनले दिने सहमति लामो समय देखि भएको र पाउदै आएका पनि थिए। तर बिगत १४ महिना देखि आफुले काम गरेको पारिश्रमिक भत्ता र वार्षिक औषधोपचार खर्च चैत्र मै दिनुपर्ने भएपनि पटकपटक ताकेता गर्दा समेत लेखा प्रमुख शर्माले नियतबस रोके पछि कार्यकक्षमा तालाबन्दी गर्नुपरेको वीर अस्पतालमा कार्यरत एक कर्मचारीले सम्पत्ति न्युजलाइ बताए । लेखा प्रमुख शर्माले प्रशासन शाखाका बाबुराम घिमिरे लाई समेत प्रभावमा पारेका कारण कतिपय गर्नुपर्ने काम हुन नसकेको आम कर्मचारीको बुझाइ छ। आज लेखा र प्रशासन दुबै को कार्यकक्षमा तालाबन्दी भएको बताइएको छ।


लेखा प्रमुख सग कमिशन नमिल्दा सप्लायर्सको झन्डै ३० करोड भुक्तानी हुन बाकी
वीर अस्पतालमा लेखा प्रमुखमा शर्माको प्रवेश सगै बिगत देखी नै कमिसनमा खरिद हुने कतिपय औषधि लगायतका ल्याबका सामाग्री खरिद प्रक्रिया थप झन्झटिलो बन्दै गएको बताइन्छ ।

प्राप्त जानकारी अनुसार गतवर्ष को झन्डै १५ करोड भुक्तानी हुन बाकी रहेको रकम सम्बन्धित निकायलाई भुक्तानी गर्नुपर्नेमा सो को भुक्तानी हुन सकेको छैन भने यस वर्ष पनि १५ करोड भुक्तानी गर्नुपर्नेमा कुनै पनि भुक्तानीको कुरा अगाडी बढायो कि मलाई कति आउँछ भन्ने लेखा प्रमुखका कारण बिरामीलाई अक्सिजन खरिद गर्न कठिनाइ भएको अस्पताल श्रोत बाट बुझिएको छ। जानकारी अनुसार औषधि सप्लाइ गर्ने कस्मिक इन्टरप्राइजेज ४ करोड शंकर अक्सिजन ,बालाजु २ करोड सेरो ल्याब १० करोडको भुक्तानी गर्न अस्पतालले नसकेको समाचार छ। उल्लेखित पार्टीको भुक्तानी गर्दा कति आउँछ भन्ने कर्मचारीको विवादका कारण अस्पतालमा उपचाररत बिरामीले सास्ती खेप्नुपरेको यथार्थ प्रती सम्बन्धित निकायले तत्काल ध्यान पुर्याउन जरुरी छ।

लेखा प्रमुख शर्मा द्वारा समाचारको खण्डन

वीर अस्पतालको समाचारको सन्दर्भमा लेखा प्रमुख थम नारायण शर्माले सम्पत्ति न्युजको समाचारमा कुनै सत्यता नरहेको र बिरामीको सेवा लक्ष्यित कार्यक्रममा आफुहरु समर्पित भएको बताउदै समाचार सम्प्रेषण गर्दा सत्यतथ्य बुझेर अनि पत्रकारिता क्षेत्रको बिश्वास जित्ने गरि भरपर्दो सूचना लिएर मात्रै समाचार लेख्दिन अनुरोध गर्नुभएको छ।
आफू र आफनो टिम वीर अस्पताल भित्र भएका कमि र कमजोरी सुधार्न लागिपरेको समेत बताउनुभयो ।


बालकुमारी प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं। ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी एक पुरुषको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो।

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए । 

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरका एजकना अधिकृतले  जानकारी दिए । 

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ । 

मन्त्रीको गाडीमा आगजनी गर्ने पाँचजना पक्राउ

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।

कोरिया भाषा परीक्षाका लागि सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै आवेदन दिन पाउने बताइएको थियो। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको थियो।​​

सिप बिल्डिङमा करिब ३० हजारको हाराहारीमा युवाहरूले परीक्षा दिएका थिए। त्यसमा करिब ३९ सयको हाराहारीमा मात्र उत्तीर्ण भएका र बाँकी अरू सबैले आवेदन दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए।

अन्यको हकमा भने इपिएस शाखाले पुस ६ मा  खुलाएको आवेदनमा करिब एक लाख ४३ हजार युवाले दरखास्त दिइसकेका छन्। उनीहरूको परीक्षाको मिति भने तोकिन बाँकी छ।

घट्यो सुनको मूल्य गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १३ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन तोलाको एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

धरोटीमा रिहा भएका बालकृष्ण खाँण पहिलो पटक पार्टीको बैठकमा सहभागी

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणबाट धरौटीमा रिहा भए पछि पहिलो पटक पार्टीको बैठकमा सहभागी भएकाे छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब ६ महिना थुनामा बसेर धरौटीमा रिहा भएका खाँण बिहीबारबाट सुरु भएको काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा उनी शुक्रबार गएका हुन्।

बिहीबारको बैठकमा भने उनी उपस्थित भएका थिएनन्। शरणार्थी प्रकरणमा मुछिएपछि गत वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए। यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा खाँण केन्द्रीय कारागार सुन्धारमा थिए।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै मन्त्रीको गाडीमा आगजनी

काठमाडौँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै विरोध प्रदर्शमा उत्रिएका युवाहरूले बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएका छन्। युवाहरूको समूहले ललितपुरको बालकुमारीमा मन्त्री चढ्ने गाडीमा आगजनी गरेको बताइएको  छ।

बा २ झ  ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको ललितपुर प्रहरीले जनाएको छ। उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।  उक्त क्षेत्र अहिले तनावग्रस्त छ ।

युवाहरूले अहिले सडक कब्जा गरेका छन् । गाडीमा आगो लागेपछि अहिले बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ।

तीन वर्षयता प्रिमियममा सेयर जारी गरेका यी ९ कम्पनीको छानबिन गर्न अख्तियारलाई निर्देशन

काठमाडौँ । समितिले पछिल्लो तीन वर्षमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने कम्पनीको प्रिमियम शेयर कति औचित्यपूर्ण थिए, गैरकानूनी थियो कि थिएन भन्ने विषयमा छानबिन गरी निष्कर्षमा पुग्न र छानबिनको क्रममा दोषी देखिएमा सम्बन्धित पदाधिकारीलाई कानूनबमोजिम कारबाहीको प्रक्रियामा लैजान अख्तियारलाई निर्देशन दिएको हो। बिहीबार बसेको समितिको बैठकले यसको प्रगति ३० दिनभित्र समितिमा बुझाउन भनेको छ।

संघीय संसदको सार्वजनिक लेखा समितिले घोराही सिमेन्टसहित तीन वर्षयता प्रिमियममा सेयर जारी गरेका कम्पनीहरूको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

समितिले यो अवधिमा प्रिमियममा सेयर जारी गरेका कम्पनीहरूको यस्तो निर्णय औचित्यपूर्ण नभएको छानबिनबाट देखिए बोर्ड, प्राधिकरणका अधिकारीहरूलाई समेत कारबाहीमा लैजान र यसमा हुने कार्य प्रगतिको जानकारी ३० दिनभित्र गराउन समेत निर्देशन दिएको हो।

पछिल्ला तीन वर्षमा हिमालयन री इन्स्योरेन्स, सोनापुर मिनिरल्स एन्ड आयल, सिटिजन्स लाइफ इन्स्योरेन्स, भगवती हाइड्रोपावर, घोराही सिमेन्ट, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ र रुरु जलविद्युत आयोजनाले प्रिमियम मूल्यमा आइपिओ जारी गरेका थिए। यी कम्पनीले १२० रुपैयाँदेखि चार सय ३५ रुपैयाँसम्ममा सेयर जारी गरेका थिए। 

करिब ६ महिनाअघि धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरेर प्रिमियम मूल्यमा सेयर जारी गर्न कम्तीमा तीन वर्ष नाफामा भएको हुनुपर्ने व्यवस्था घटाएर दुई वर्ष कायम गरेको थियो। कम्पनीहरूको निहित स्वार्थमा बोर्डले यस्तो संशोधन गरेको भन्दै विरोध हुँदै आएको थियो। समितिको बिहीबार बैठकमा सांसद अमरेश कुमार सिंहले हिमालयन री इन्स्योरेन्सका लागि धितोपत्र बोर्डले धितोपत्र ऐन नै संशोधन गरेको दाबी गरे।

प्रिमियममा सेयर जारी गर्ने व्यवस्था अन्तर्राष्ट्रिय बजारमा पनि छ। तर नेपालमा नराम्रा र कागजी मूल्याङ्कनका आधारमा नेटवर्थ (कुल सम्पत्ति) राम्रो देखाएर कम्पनीहरूलाई प्रिमियममा सेयर जारी गर्न दिइएको भन्दै विरोध भएको हो। धितोपत्र बोर्डले भने अन्तर्राष्ट्रिय बजारमा भएका प्रणाली नै यहाँ अवलम्बन गरिएको बताउँदै आएको छ।

गभर्नर अधिकारी विरूद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

बिहीबार गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित चार जनाले रिट दायर गरेका थिए। त्यसको प्रारम्भिक सुनुवाइ शुक्रबार हुन लागेको हो। गभर्नर अधिकारी २०७६ चैत २४ गते नियुक्त भएका थिए।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० सञ्चालकको योग्यता अनुसार नभएको भन्दै रिट निवेदकले दाबी गरेको छ। उक्त दफाअनुसार नेपाली नागरिक भएको, उच्च नैतिक चरित्र भएको हुनुपर्छ। 

आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्‍य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्छ।

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका–८ दर्वेसामा शुक्रबार बिहान ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भित्री सडकखण्ड हुँदै पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ त ५४९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री रंगेली–८ का ६८ वर्षीय नारायण राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टरले बिहान ११:२० बजेतिर राजवंशीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । ट्याक्टर चालक मोरङको धनपालथान गाउँपालिका–४ का अन्दाजी २६ वर्षीय अजय चौधरी फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश सरकारसँग महालेखाले गर्‍यो लेखापरीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

हेटौंडा । लुम्विनी, कर्णाली, सुदूरपश्चिम प्रदेश हुँदै सरोकारवाला संग अन्तरक्रिया गर्दै महालेखापरीक्षकको कार्यालय बागमती प्रदेशकाे हेटाैडा सम्म आइपुगेको छ। नेपालको संविधान बमोजिम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको लेखापरीक्षण गर्ने अधिकार महालेखापरीक्षकलाई रहेको छ । आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षणका लागि स्वीकृत लेखापरीक्षण वार्षिक योजना, २०८० बमोजिम लेखापरीक्षण कार्य भइरहको छ । लेखापरीक्षण कार्यलाई थप गुणस्तरीय तथा विश्वसनीय बनाउने उद्देश्यले वाग्मति प्रदेश सरकारसँग कार्यबाहक महालेखापरीक्षक, उपमहालेखापरीक्षक सहितको टोलीबाट मिति २०८० पौष ११ गते लेखापरीक्षण, बेरुजू तथा सम्परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
माननीय प्रदेश प्रमुखज्यूसँग भेट
बागमती प्रदेश प्रमुख माननीय यादवचन्द्र शर्मासँग कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले उपमहालेखापरीक्षक बामदेब शर्मा अधिकारी, नायव महालेखापरीक्षक ताराप्रसाद पाण्डे, शंकर प्रसाद पन्थी, निर्देशक दिनेश मिश्र, जगनाथ घिमिरे, तोयानाराण पौडेल, रमेश सुवेदी, कमल श्रेष्ठ लगायतको टोलीले भेटघाट गर्नुभएको थियो । उक्त भेटघाट कार्यक्रममा माननीय प्रदेश प्रमुखसमक्ष कार्यवाहक महालेखापरीक्षक काफ्लेले वार्षिक लेखापरीक्षण कार्यतालिकाका, लेखापरीक्षण बिधि पद्धति, तरिका, बागमती ‍प्रदेश मन्त्रालय तथा कार्यालयहरुको लेखापरीक्षण र वार्षिक प्रतिवेदन तयारीका वारेमा जानकारी गराउनु भएको थियो। उपमहालेखापरीक्षक बामदेव अधिकारीले लेखापरीक्षकले लेखापरीक्षणको विषयमा सम्बन्धित सरोकारवालासँगको अन्तरक्रिया गर्ने परम्परा रहेकोले सोही अनुसार माननीय समक्ष जानकारी गराउनु भेटघाटको मुख्य उद्देश्य रहेको जानकारी गराउनु भएको थियो । सो अवसरमा माननीय प्रदेश प्रमुखबाट महालेखापरीक्षकबाट पेश भएका प्रतिवेदनले आर्थिक सुशासनमा टेवा पुगेको र अवको प्रतिवेदनमा समाजिक रुपान्तरणको विषय र असल अभ्यासको समेतलाइ समेत मध्यनजर राखि प्रतिवेदन तयार गर्न आग्रह गर्दै सो प्रतिवेदनको कार्यान्वयन जरूरी रहेको धारणा व्यक्त गर्नु भएको थियो ।
वाग्मति प्रदेश सरकारसँगको छलफल
मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री माननीय बहादुर सिंह लामा, भौतिक पूर्वाधार विकास मन्त्री माननीय युवराज दुलाल, संस्कृति पर्यटन तथा सहकारी मन्त्री माननीय पुकार महर्जन, महालेखापरीक्षक कार्यालयका कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले, उपमहालेखापरीक्षक बामदेश शर्मा अधिकारी पौडेल, वाग्मति प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय नायव महालेखापरीक्षक ताराप्रसाद पाण्डे, शंकरप्रसाद पन्थी को उपस्थितिमा वाग्मति प्रदेश सरकारसँग लेखापरीक्षण, बेरुजू र सम्परीक्षण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो। त्यसैगरी उक्त कार्यक्रममा प्रदेश सचिवहरु, प्रदेश सरकारको केन्द्रीय निकायका प्रमुखहरु, निर्देशनालयका प्रमुखहरू तथा लेखा प्रमुखहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रममा प्रदेशको आर्थिक अवस्थाको बारेमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव प्रकाश दहालले प्रस्तुतिकरण गर्नु भएको थियो भने प्रदेश लेखा नियन्त्रक हरीप्रसाद उपाध्याय ले आन्तरिक लेखापरीक्षणको विषयमा प्रस्तुतीकरण गर्दै NEPSAS Based प्रतिवेदनको तयारी, बजेट वक्तव्य र प्रदेश गौरवको आयोजना, लेखाप्रमुख र कार्यालय प्रमुखबाट आन्तरिक लेखापरीक्षणमा उठान विषय लगायतको प्रस्तुती गर्नु भएको थियो। उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीले महालेखापरीक्षकको साठिऔं वार्षिक प्रतिवेदन एवं वाग्मति प्रदेशको पाँचौ वार्षिक प्रतिवेदनसम्म देखिएका व्यहोरा तथा सोको कार्यान्वयन अवस्था सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो ।कार्यक्रमको संयोजन बागमती प्रदेशका महालेखा प्रमुख शंकरप्रसाद पन्थीले गर्नुभएको थियो।

बागमती प्रदेशका मुख्यमन्त्री सहितको छलफलमा कार्यवाहक महालेखा परिक्षक महेश्वर काफ्ले सहभागीलाई सम्बोधन गर्दै ।साथमा बागमती प्रदेशका प्रमुख सचिब घनश्याम उपाध्याय र उपमहालेखा परिक्षक बामदेब अधिकारी सहित

कार्यक्रममा प्रदेश सचिवहरु तथा लेखाप्रमुखहरुबाट महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लिखित बेरूजुको फर्स्यौट बिधि, विकास निर्माण, खरिद व्यबस्थापन, उपभोक्ता समितिका कार्य, बेरूजुको प्रकृति र नियमितता, लागयतका विषयमा जिज्ञासा राख्नु भएको थियोभने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाइले आर्थिक अनुशासन कायम गर्न प्रचलित कानूनको पालना गरी लेखाराख्नु पर्ने तथा लेखापरीक्षण, बेरूजु फर्स्यौट, सम्परीक्षण लगायतका कार्यमा बिशेष ध्यान दिनुपर्ने धारणा राख्रनु भएको थियो ।
उक्त कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय बजेट तर्जुमा, निकासा, खर्च तथा लेखांकनमा बित्तिय स्रोतको बिनियोजन र कार्यान्वयन दक्षता बढाउदै प्रचलित कानूनले तोकेको जिम्वेवारिता र जवाफदेहिता पुरा गरेमा आर्थिक अनुशासन कायम हुने उल्लेख गर्दै बेरूजु बिहिन संस्कृतिको बिकास गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रमा कार्यवाहक महालेखापरीक्षकले लेखापरीक्षणको विधि, प्रकृया, राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड, असल अभ्यासका बारेमा जानकारी गराउनु हुदै लेखापरीक्षण व्यवस्थापन र विधिमा सुधार कार्य अवलम्वन गरिएको विषयमा जोड दिनु भएको थियो।आर्थिक अनुशासनका माध्यमबाट वित्तीय सुशासन कायम हुने भएकोले समग्र वित्तीय व्यवस्थापनका चरणहरु नीति निर्माण, चक्र बजेट तर्जुमा, स्वीकृति, निकासा तथा खर्च व्यवस्थापन, लेखाङ्कन, प्रतिवेदन तथा लेखापरीक्षण एवं पृष्ठपोषणमा संलग्न सबै पक्षको जिम्मेवारिता र जवाफदेहिता प्रवर्द्धन हुन सकेमा अपेक्षित लक्ष्य हासिल हुनुका साथै प्रचलित ऐन नियमले तोकेको समयावधि भित्र बेरुजु फर्स्यौट गरी वित्तीय स्वच्छता कायम हुने भनी सो अनुरुप सबैपक्षले कार्य गर्नुपर्ने धारणा राख्दै लेखाउत्तरदायी अधिकृतबाट राखिएका जिज्ञासाको जवाफ दिनुभएको थियो।
माननीय आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले बेरूजु हुन सक्ने अवस्थाको चर्चा गर्दै आर्थिक प्रशासनका बिभिन्न चरणामा संलग्न रहेका पदाधिकारीको आचरण, व्यवहारमा सुधार हुनु पर्ने, प्रबिधिको प्रयोगबाट सहजीकरण हुनु पर्ने, योजना कार्यान्वयन, खरिद व्यवस्थापन लगायत पक्षमा बिशेष ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियो ।
माननीय मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आर्थिक अनुशासनका बिभिन्न पक्षको चर्चा गर्दै खर्च प्रणाली, बेरूजु फर्स्यौट तथा सम्परीक्षणमा सार्वजनिक क्षेत्रका जिम्वेवार पदाधिकारीहरूले पारदर्शिता, स्वच्छता कायम गर्नु पर्ने, सरकार र Oversight Agency वीच निरन्तर संवाद, अन्तर्क्रिया भइरहनु पर्ने, बित्तीय सुशासन कायम गर्न बिधिको पालना तथा प्रक्रियामा सुधार रहेको धारणा व्यक्त गर्नु भएको थियो।
महालेखा को वाग्मति प्रदेश सभा र सार्वजनिक लेखासमितिसंगको छलफल भयो के ?
बागमती प्रदेश सभाको उप सभामुख माननीय अप्सरा चापागाइ सार्वजनिक लेखा समितिको संयोजक माननीय ठाकुरप्रसाद ढकाल, सार्वजनिक लेखा समितिका माननीय सदस्यहरु लगायतको उपस्थितिमा कार्यवाहक महालेखापरीक्षक काफ्ले, उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारी, नायव महालेखापरीक्षक ताराप्रसाद पाण्डे, शंकरप्रसाद पन्थी, , निर्देशक दिनेश मिश्र, जगन्नाथ घिमिरे,तोयानारायण पौडेल, कमल श्रेष्ठ, र रमेश सुवेदी सहितको टोलीबाट छलफल तथा अन्तरक्रिया सम्पन भयो। उक्त कार्यक्रममा प्रदेश सभाका सचिव कृष्णहरी खड्का लगायत सचिवालयको कर्मचारीको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमा उपमहालेखापरीक्षक शर्मा अधिकारीले लेखापरीक्षणको प्रकार, विधि, पद्धति, प्रक्रिया, प्रतिवेदन र सोको कार्यान्वयन सम्बन्धमा जानकारी गराउनु भएको थियो भने कार्यवाहक महालेखापरीक्षक काफ्लेले महालेखापरीक्षकको कार्यालय र सार्वजनिक लेखासमितिको सम्बन्ध, सार्वजनिक लेखा समितिको कार्यक्षेत्र, वार्षिक प्रतिवेदन तयार गर्ने प्रकृया, सार्वजनिक लेखा समितिमा हुने छलफलको विधि तथा महालेखापरीक्षकको कार्यालयको उपस्थिति, सार्वजनिक लेखा समितिबाट हुने निर्णयबाट समग्र वित्तीय सुशासनमा पुग्ने सहयोगका सम्बन्धमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा माननीय सदस्यबाट वार्षिक प्रतिवेदनमा उल्लिखित बेरुजू, असुल फस्यौट गर्ने कार्यविधि, सैद्वान्तिक र असुल गर्नु पर्ने बेरूजु, अनुदान रकमको उपयोग, योजना कार्यान्वयन, अनुगमन मुल्यांकन, खर्चको बिश्वसनियता, अनाबश्यक खर्चका कारण हुने बेरूजु लगायतका विषयमा जिज्ञासा राख्नु भएको थियो भने कार्यबाहक महालेखापरीक्षकले सो बिषयमा प्रष्ट पार्नु भएको थियो।

बागमती प्रदेशका प्रदेश प्रमुख संगको छलफलमा कार्यवाहक महालेखा परिक्षक महेश्वर काफ्ले साथमा उपमहालेखा परिक्षक बामदेब अधिकारी नायब महालेखा परिक्षक एवं बागमती प्रदेश प्रमुख शंकरप्रसाद पन्थी कार्यक्रममा ।


उक्त कार्यक्रममा माननीय उप सभामुखबाट आर्थिक अनुशासन पालनामा सम्बन्धित मन्त्रालयहरू ने जिम्वेवार हुनु पर्ने धारणा राख्दै महालेखापरीक्षकको प्रतिवेदनलाई छलफलमा ल्याउन सार्वजनिक लेखा समितिको कार्यप्रभावकारिता बढाउनु पर्ने र यस्ता छलफल अन्तर्क्रिया कार्यक्रमको निरन्तरता दिनुपर्ने बिचार व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सार्वजनिक लेखा समितिका संयोजक माननीय ठाकुरप्रसाद ढकालले आर्थिक अनुशासन कायम गर्न शून्य सहनशिलता अपनाउनु पर्ने चर्चा गर्दै बेरूजु फर्स्यौटका प्रक्रिया, मन्त्रालयको जिम्वेवारी, तथा सार्वजनिक लेखासमितिको वार्षिक प्रतिवेदन उपर हुने छलफलको प्रभावकारिताका बिषयमा धारणा राख्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

विद्युत कटौती नै बक्यौता असुलीको अन्तिम उपाय: कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुल असुल गर्ने अन्तिम उपायको रुपमा उद्योगका विद्युत कटौती गरेको बताएका छन् । 

पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले बाध्य भएर लाइन काट्न सुरु गरेको उनको टिप्पणी छ। ‘विद्युत् प्राधिकरण एउटा जिम्मेवार निकाय भएकोले यो विवादलाई कसरी सहज रूपमा समाधान गर्न सकिन्छ भनेर धेरै प्रयास गरेका छौं,’ उनले भने। घिसिङले अन्तिम चरणमा आएर विद्युत् लाइन काट्नुको विकल्प नभएको स्पष्ट पारे। 

सात वर्षदेखि प्राधिकरण र उद्योगीबीचको यो विवादलाई अब बक्यौता उठाएर नै सल्टाउने दृढता उनको छ। अघिल्लो साता बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले शुक्रबारबाट लाइन काट्न सुरु गरेको हो। यसअघि पनि प्राधिकरणले २०७६ चैत्रमा केही उद्योगको लाइन काटेको थियो। तर, सरकारले कोरोनाको कारण देखाउँदै लाइन जोड्न निर्देशन दिएको थियो भने लाइन काट्नुको स्पष्टीकरण सोधेको अनुभव घिसिङको छ। अघिल्ला वर्षहरूमा जे भए पनि अब भने प्राधिकरण बक्यौता उठाउनेमा नै अघि बढ्ने बताउँदै घिसिङले विभिन्न प्रतिवेदनको सुझावका आधारमा नै लाइन काटिएको स्पष्ट पारे। उद्योगीहरूले प्रमाण मागिरहेको अवस्थामा लोडसेडिङको समयमा विद्युत् खपत गरेको प्रमाण प्राधिकरणसँग भएको घिसिङ बताउँछन्। टाइम अफ डे (टीओडी)को तथ्यांक नभएका उद्योगहरूको प्राधिकरणको बिलिङ सफ्टवेयर एमपावरमा सबै रेकर्ड रहेको बताइएको छ। ‘हाम्रो डाटाले २४ घण्टासम्म बिजुलीको प्रयोग गरेको देखिन्छ। कति इनर्जी कुन उद्योगले खपत गरे भन्ने एमपावरमा सुरक्षित छ,’ घिसिङले बताए। घिसिङका अनुसार प्राधिकरणको तथ्यांकको स्रोत भनेको सबस्टेसनमा डाटा हुन्छ। त्यो लाइन हरेक घण्टामा कति चल्यो र कति बिजुली कहाँ खपत भयो लक इन्मा इन्ट्री गर्नुपर्छ।  

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता भएका कुल ६१ वटा उपभोक्ताहरूको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँबराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठूला उद्योगहरूको रहेको प्राधिकरणको तथ्यांक छ। बक्यौता रहेका अन्य उद्योगहरूको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले बताएका हुन्। 

आम सर्वसाधारणले विगतमा १७-१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेको बेला २ सय ३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत २० घण्टाभन्दा बढी विद्युत् उपभोग गरिरहेका थिए। २ सय ३९ ग्राहकमध्ये १ सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंकलाइनबापतको प्रिमियमसहितको विद्युत् महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन्।

‘प्राधिकरण आर्थिक प्रशासन विनियमावली, २०६८, विद्युत् वितरण विनियमावली, २०६९ को विनियम २० र विद्युत् महसुल संकलन विनियमावली, २०७३ को विनियम ५ (१३) मा प्राधिकरणका उपभोक्ताहरूलाई बिलिङ गर्दा जुनसुकै कारणबाट छुट भएमा सोको जानकारी भएपश्चात जुनसुकै समयमा छुट बिल गर्ने कानुनी व्यवस्था रहेको छ। ६१ वटा उपभोक्ताहरूलाई विभिन्न मितिमा अधिकार प्राप्त अधिकारीबाट छुट बिल जारी गर्ने निर्णय भई विद्युत् वितरण विनियमावली, २०६९ बमोजिम जानकारी गराइएको थियो।’ घिसिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

विद्युत् वितरण विनियमावली, ५५ (१) अनुसार छुट बिलको निर्णयमा चित्त नबुझेको उपभोक्ताले प्राधिकरणको पुनरावलोकन समितिमा उजुर गर्न सक्ने वैकल्पिक कानुनी उपचारको व्यवस्था छ। तर, छुट बिल गरिएका ती ग्राहकहरूबाट कसैले पनि पुनरावलोकन समितिमा छुट बिलको निर्णय बदर गरी पाउँ भनी निवेदन नदिएको घिसिङले बताए। बरु सीधै अदालत गएको उनले बताए।

विभिन्न अदालतमा गएका ४५ मुद्दा प्राधिकरणको पक्षमा फैसला भएका छन्। जसमा विद्युत् महसुल निर्धारण आयोग तथा विद्युत् नियमन आयोगबाट निर्धारित महसुलभन्दा अन्यथा बिलिङ गरेको भन्न सक्ने आधार नरहेको र टं«क लाईन तथा डेडिकेटेड फिडरबाट विद्युत आपूर्ति नलिएको भन्ने अवस्था नदेखिएको र पुनरावलोकन समितिमा नगई रिट दायर गरेको समेतका कारणले रिट निवेदन खारेज भएको अवस्था भएको भनिएको छ। प्राधिकरणका अनुसार ९ उद्योगका मुद्दा अहिले पनि चालू अवस्थामा छन्।

उद्योगीहरूलाई हतोत्साहित गर्ने हेतु नरहेको घिसिङको भनाइ छ। उद्योगीहरूले अहिले पनि किस्तामा बक्यौता रकम बुझाउन सक्ने उनले बताए। ‘सबै बक्यौता एकैपटक बुझाउनुपर्छ भन्ने छैन, कसरी र कति किस्तामा बुझाउने हो त्यो विकल्प अझै पनि खुल्ला छ,’ घिसिङले भने। अझ प्राधिकरणअन्तर्गतको पुनरावलोकन समितिमा निवदेन दिएर पनि यो विवाद सुल्झाउन सकिने बताए। घिसिङका अनुसार संशोधित विनियमावलीमा बक्यौता रकमको २५ प्रतिशत धरौटी राखेर मुद्दाको पुनरावलोकन गर्ने व्यवस्था छ। यसको प्रयोग गरी प्रक्रिया अघि बढ्न सकिने विकल्प प्राधिकरणको छ।

बैंकबाट रकम चोरी गर्ने तीनजना रौतहटबाट पक्राउ

रौतहट १३ पुस। जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गौर नगरपालीका ४ का वर्ष २५ को जितेन्द्र गिरी , वडा ७ वर्ष ३७ को दिपेन्द्र कुमार साह र गुजरा नगरपालीका ६ घर भई हाल चन्द्रपुर नगरपालीका १० बस्ने बर्ष ४२ को राज कुमार साह रहेको एस्पी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्। उनीहरूले छुट्टाछुट्टै चारजना मानिसको बैंक खाता बाट २४ लाख भन्दा बढि रुपैया चोरेको अनुसन्धान बाट खुलेको रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले जानकारी दिएका छन्। उनीहरूमाथि ठगी तथा किर्ते लगायतका मुद्दा दर्तागरी कार्वाही प्रक्रिया अगाडि बढाएको एस्पी श्रेष्ठले बताएका छन्।
गौर ४ बस्ने जयप्रकाश राय चनौको एन आई सी एसिया र माछापुच्छे बैंक लि. को खाताबाट गत असार २९ गते देखी पटक पटक गरी जम्मा १२ लाख,४६, हजार ४४० रुपैया झिकेको छ।
गौर ७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट गत असार २० गते देखी पटक पटक गरी जम्मा पांच लाख रुपैयाँ,गौर २ महादेवपट्टी वस्ने विजय किशोर झाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट गत कार्तिक २९ गते ८० हजार, चन्द्रपुर ९ बस्ने कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरमा रहेको खाताबाट गत कार्तिक ३० गते देखी पटक पटक गरी जम्मा ६ लाख, ११हजार,२०८ रुपैया ५७ पैसा गरी कुल २४लाख,३७ हजार,६८५ रुपैया ५७ पैसा चोरिएको प्रहरीले जनाएको छ।
विभिन्न काल्पनिक व्यक्तीहरुको नामको सीमावर्ती भारत बिहार को घोडासहनमा गई किर्ते नक्कली नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई उक्त कागजातहरुबाट सिमकार्डहरु निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरुमा खाता खोली मोवाईल बैंकिङ्ग मार्फत पीडितहरुको खातामा अनाधिकृत रुपमा पहुच पुन्याई रकम चोरी गरेको घटनाको अनुसन्धान बाट पुष्टि भएको रौतहट प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बिहीवार साँझ सार्वजनिक गरेको छ।
पक्राउ परेका तीनैजनालाई अनुसन्धान पश्चात प्रतिवेदन सहितको मिसिल जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको प्रहरीले जनाएको छ। घटनामा संलग्न थप २ जना मानिस फरार रहेकाले उनीहरूको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ई पाँचजनाको गिरोहले अरु अरूको नक्कली नागरिकता प्रयोग गरेर अरु अरू मानिसको नामको सिमकार्ड झिकेर उनको बैंक खाता, ईसेवा खलती तथा बिभिन्न बैंकको खातामा पहुँच पुर्याउने गरेको छ। एस्पी श्रेष्ठका अनुसार उक्त गिरोहले खास गरेर अवकास प्राप्त कर्मचारी र बुढापाका अशक्त मानिसलाई बिशेष टार्गेट बनाएको छ। यस अघि पनि कैयौं पीडितको लाखौं रुपैया रौतहट प्रहरीले फिर्ता गराउनुका साथै दोषीलाई कारबाहीको दायरामा ल्याई सकेको एस्पी श्रेष्ठले जानकारी दिएका छन्।

कटहरियामा रक्सी ख्वाएर लुटपाट गर्ने दुई जना पक्राउ

रौतहट १२ पुस। रौतहटको कटहरिया नगरपालिका स्थित रुपैयाँ लुटपाटमा संलग्न दुईजना युवक पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई अरुण कुमार सिंहको नेतृत्वमा गएको टोलीले वडा ४ बहादुरपुरका बाबुलाल बैठाको छोरा बर्ष ३१ को नसिब बैठा र वडा ५ पानी ट्याङ्की बस्ने दरोगा साहको छोरा बर्ष ३६ को हरि शंकर साह सोनार लाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवैजना मिलेर स्थानिय बर्ष ७० को आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिएर उनको साथमा रहेको ८२ हजार रुपैयाँ आज बिहान लुटेर भागेका थिए।
घटनाको खबर लगत्तै सई सिंहको टोलीले नगरपालिका ५ गाउँ छेउ बाट सोनार र बैठालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथ बाट प्रहरीले ५९ हजार रुपैयाँ बरामद गरी आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाईएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताए।
पक्राउ परेका दुवैजना नियन्त्रणमा रहेको तथा उनीहरू माथी डाँका तथा लुटपाट सम्बन्धी मुद्दा चलाईने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी ओम प्रकाश खनालले बताएका छन। पक्राउ परेका सोनार र बैठा पछिल्लो लामो समय देखि बिहानै देखि मदिरा सेवन तथा लागुऔषध समेत प्रयोग गर्दैआएको स्थानीयहरूले बताएका छन्।