यस्तो छ तपाईंको १६ माघ २०८०, मंगलवार आजको राशिफल

मेष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव समाजमा पर्ने देखिन्छ। नम्र भएर बोल्दा नाफा हुनेछ। परिवारबाट राम्रो साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। श्रमको फल प्राप्त गर्न मेहनत गर्नुपर्ने देखिन्छ। सञ्चित धनको खर्च हुनेछ। धन खर्च गर्दा सदुपयोग हुने ठाउँमा लगानी गर्नु राम्रो हुन्छ।

मिथुन : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले चिसोबाट बच्नुपर्नै देखिन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट : समय राम्रो छ। रामको स्मरण मात्र गरेमा शिक्षा र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। लगानी गरेका क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रको लगानीबाट उत्कृष्ट नतिजा मिल्नेछ। परिवारमा झमेला हुने भएकाले मौन भएर त्यसलाई जित्नुपर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। उदय भएका चन्द्रमाको साथले हरेक काम सफल हुनेछन्। आफन्तले कुरा काट्ने भएकाले सचेत हुनुपर्छ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ पाइने छ।

तुला : दिन सामान्य राम्रो छ। गुरुबाट असहयोग हुने भएकाले धेरै चुनौती छन्। न्यायपूर्वक गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। आफूभन्दा ठुलाको आज्ञा लिएर काम गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दैनिकी राम्रो छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। काम गर्दै जाँदा विभिन्न खालका चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। परिवारको भने सहयोग प्राप्त हुनेछ।

धनु : दैनिकी राम्रो छ। हरेक क्षेत्रमा सफलता मिल्नेछ। परोपकारको काम गर्नाले मन खुशी हुनेछ। आँखामा समस्या हुने भएकाले समयमै सचेत हुनुपर्ने देखिन्छ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : समय राम्रो छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। खर्च भएको रकमको सदुपयोग हुनेछ। दुःखीलाई आफ्नै हातले वस्त्र र अन्न प्रदान गरेमा राम्रो हुन्छ।

कुम्भ : दिन सामान्य छ। शनिदेवलाई खुशी पार्न शिवको भजन सुन्नु फाइदाजनक हुन्छ। स्वास्थ्य र शिक्षा क्षेत्र सबल छन्। रोजगारीको क्षेत्रमासमेत फाइदा हुनेछ। परिवारको असन्तुष्टि सुन्नुपर्ने छ।

मीन : दिन राम्रो छ। स्वदेशमै रोजगारीको सम्भावना देखिन्छ। आफन्तबाट प्रशंसा हुन्छ। सम्मान प्राप्त हुनसक्छ। दिनमा निन्द्रालाई त्याग गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

६२ औं राष्ट्रिय नर्सिङ्ग दिवस रौतहटमा भब्यताका साथ मनाइयो

रौतहट । ६२ औ राष्ट्रिय नर्सिङ दिवसरौतहटमा धुमधाम साथ मनाइएको जनाइएको छ। प्राप्त जानकारी अनुसार रौतहट जिल्ला स्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आङ्गिक शिक्षालयको रुपमा संचालित गौर बहुप्राविधिक शिक्षालय गौर रौतहटमा प्रवीणता प्रमाणपत्र तह नर्सिङ्ग र मिडवाइफ्री कार्यक्रममा अध्ययनरत रहेको छात्रछात्रा नर्सिङ कर्मचारी स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको कर्मचारीहरुले जिल्लाको सदरमुकामका विभिन्न स्थानमा जुलुस सहितको परिक्रमा गरि सचेतता जगाइएको थियो । त्यसैगरी शिक्षालय देखी बरहवा पुल, ट्रान्सर्फमर चौक, जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय हुँदै प्रादेशिक अस्पताल गौर रौतहटमा एक कार्यक्रम समेत भएको गौर बहुप्राबिधिक शिक्षालयका प्रशासकीय अधिकृत मुकेश कुमार साहले सम्पत्ति न्युजलाई जानकारी गराए।
गौरमा आयोजित कार्यक्रमको गौर बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख टेकराज पौडेलको अध्यक्षता भएको थियो भने सो कार्यक्रममा प्रादेशिक अस्पताल गौरको प्रमुख अनुठाराय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।कार्यक्रममा नर्सिङ्ग इन्चर्ज सबिनाज वेगम गौर बहुप्राविधिक शिक्षालय गौर रौतहटको प्रशासकीय अधिकृत शाह, नर्सिङ्ग कोर्डिनेटर नितालेखी चौधरी, जगत नारायण सिङ्ग, समीक्षा शाही , शशी भूषण मिश्र लेखापाल उमेश कुमार पण्डित, ICU इन्चार्ज दिक्क्षा घिमिरे, अल्का केसरी लगायतको बिशेष उपस्थितिमा ६२ औं राष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ। सो कार्यक्रम पश्चात् प्रादेशिक अस्पताल गौरमा भर्ना भएका बिरामीहरुलाई फलफूल बितरण गरी बिरामीहरूको स्वास्थ अवस्था बुझ्ने काम गरिएको बताइएको छ।

एनसेल को खरिदबिक्री सम्झौता यथास्थितिमा स्विकार गर्न मिल्दैन छानबिन समितिको निष्कर्ष (प्रतिवेदनसहित)

काठमाडौ । यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब छानबिन समितिले सरकारलाई दिएको छ । एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।उक्त प्रतिवेदनको सारमा एनसेलको खरिदबिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न नसकिने भन्ने रहेको अध्ययन समितिका संयोजक टंकमणी शर्माले पत्रकार सम्मेलनमा बताउनुभयो ।

‘खरिद बिक्रीकर्ता दुवै पक्षले निवेदन दिनुपर्नेमा हालसम्म पनि नदिएको, सेयर खरिदबिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको र प्राप्त सेयर खरिद बिक्री सम्झौताका सर्तहरू विश्लेषण गर्दा आम्स लेन्थ प्रिन्सिपलअनुसार नभएको, विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टी हुने कागज पेस नगरेको देखिँदा यो सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।

पूर्वमहालेखापरीक्षक शर्मा संयोजकत्वको ५ सदस्यीय उच्चस्तरीय समितिले सोमबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो । संयोजक टंकमणि शर्माले प्रतिवेदन बुझाएको र त्यो त्रुटिपूर्ण रहेको भन्दै आफनो धारणा पत्रकार बीच राख्नुभयो।
मंसिर तेस्रो साता गठित समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव ह्दयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सहितको छानबिन समिति राखिएको थियो।

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । वीरगन्जमा आयोजित प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताए ।  

प्रधानमन्त्री प्रचण्डले भने, ‘नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।’आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामुखी नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाए । 

नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि राय सुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए । पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही सीमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्ने गरी सरकार अगाडि बढेको बताए । 

सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको भन्दै उहाँले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत समेट्ने महत्त्वपूर्ण कार्य सरकारले गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । विचार निर्माण र संश्लेषण गर्ने कार्यमा प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनले सरकारले गरेका काम र पार्टीको अभियानलाई जनतासमक्ष पुर्‍याउने कार्यमा लाग्न निर्देशन दिए । 

यसबीचमा आफूले विश्वका धेरै नेता र बुद्धिजीवीका माझमा नेपालको पहिचान र गरीमा बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रसंघको महासभा र असंलग्न आन्दोलनसम्म आइपुग्दा नेपालको पहिचान धेरै माथि पुगेको छ भन्ने कुरा विश्वका नेताले महसुस गरेको पाएको छु ।’ 

सूचना प्रविधिको क्षेत्रमा विश्वले राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तर सामाजिक सञ्जालमा भने नकारात्मकताको प्रसार भइरहेको बताए । उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । परिवर्तनलाई बदनाम गर्ने प्रवृत्ति बढिरहेको छ । त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्छ । त्यसका लागि अझै मेहनत गरेर अगाडि बढ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।’ 

भ्रष्टाचारको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारूसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगका अनुसार उनीहरूले छायाँनाथ रारा नगरपालिका, वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको पाइएको छ । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारू, इन्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव–इन्जिनियर हस्त बहादुर मल्लले सडक स्तरोन्नति कार्यमा बढी मूल्याङ्कन गराएका थिए । जसका लागि उनीहरूले २८ लाख ६२ हजार ४५९ रुपैयाँ  बढी भुक्तानी गरेका थिए । उनीहरूसँग सोही रकम बराबरको बिगो माग गरिएको छ ।

 उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) अनुसार कसुरमा अठ्ठाइस लाख बैसठ्ठी हजार चार सय उन्साठी रुपैयाँ पैसा चौरासी बिगो कायम गरिएको छ । 

त्यस्तै, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लले पनि यस कार्यमा संलग्न रहेको पाइएको छ । उनीहरूसँग पनि सोही रकम बराबरको बिगो माग गरिएको छ । गलत अनुगमन प्रतिवेदन सडक निर्माण अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, सदस्य हजर कला कामी र सोही न.पा.का इन्जिनियर महेश सिंह कठायतविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ । उनीहरूसहित वडा नं. ८ का वडाध्यक्ष कर्ण रावल र वडा नं. ७ का तत्कालीन सदस्य पशुपति शाहलाई सजाय तथा जरिवाना गर्नु पर्ने माग गरिएको अख्तियार जनाएको छ ।  

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आइतबार १०.३७ अंकले बढेर २०९४.४६ बिन्दूमा पुगेको नेप्से आज सोमबार १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा पुगेको छ । ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरकाे कारोबार भएको छ ।

आज लघुवित्त, निर्जीवन र ट्रेडिङ बाहेकका उपसमूहमा वृद्धि देखिएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ६५.२८, उत्पादमूलक र प्रशोधनतर्फ ३५.९५, अन्य समूहमा ३४.६८ र होटल तथा पर्यटन उपसमूहको सूचक ३१.५६ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको कारोबार रकम करिब १३ करोड रहेको छ।

युनियन हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता २२ रुपैयाँ १० पैसा बढ्नेगरी सकारात्मक सर्किट लाग्दा गरिमा डिबेञ्चर २०८५ को शेयरमूल्य नकारात्मक सर्किट लाग्दै ९८ रुपैयाँ ५० पैसाले घटेको छ ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको हो।

वीर तिमी अगाडि बढ……

वीर तिमी अगाडि बढ आज नयाँ बिहानी छ     
आज बाटो नयाँ छ नयाँ चाहना छ
देशलाई समृद्ध बनाउनु छ
बाझो जमिनमा अन्न उब्जाउनु छ     
 
मातृभूमिको  रक्षाको लागि तयार हुनु छ
हाम्रो स्वाभिमानको रक्षा गर्नु छ
वीर शहीदको बलिदानको पाठ सिकाउनु छ
यो मेरो प्यारो देश मनै देखि माया छ
 
यसले सबैलाई बाँच्न र बाँच्न दिने सन्देश दिन्छ
हाम्रो मातृभूमिबाट धेरै माया पाइन्छ
यो संसार उसको काखको छाया भन्दा सानो छ
साँच्चै भन्नु पर्दा सारा संसार नै हाम्रो परिवार जस्तै छ
 
वीर तिमी अगाडि बढ आज नयाँ बिहानी छ      
आज बाटो नयाँ छ नयाँ चाहना छ

रौतहटमा १० हजार बढी सवारी कार्वाहीमा ८८ लाख बढी राजश्व संकलन

रौतहट १४ माघ। रौतहट स्थित ट्राफिक प्रहरीले सक्रियता बढाए संगै नियम बिपरित चल्ने सवारीसाधनलाई तिब्ररुपमा कार्वाही सुरु भएको छ।

कार्वाही संगै राजश्व संकलनमा समेत वृद्धि भएको छ। रौतहट स्थित यस आर्थिक बर्षको मात्र ६ महिनाको अवधिमा ट्राफिक नियम बिपरित चलेका १० हजार भन्दा बढी सवारीसाधनलाई कार्वाही गरेर ८८ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरिएको छ। गत साउन देखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा नियम बिपरित चलेका १० हजार ४५९ सवारीसाधन लाई कार्वाहीको दायरामा ल्याईएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।

उक्त कार्वाही बाट कुल ८८ लाख,३३ हजार पाँचसय रुपैया राजश्व संकलन गरिएको ईन्सपेक्टर आचार्यले जानकारी दिएका छन्। सोही अवधिमा जिल्ला भरीमा भएको ३०२ सवारी दुर्घटनामा परेर २६ जना मानिसको ज्यान गएको छ। त्यस्तै उक्त दुर्घटनामा परेर ४७२ जना मानिस घाईते भएको तथ्याङकमा उल्लेख गरिएको छ। दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले जिल्ला स्थित बिभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ।

साउन देखि पुसमसान्तसम्म जिल्लाको बिभिन्न स्थानमा आयोजना गरिएको ८७९ वटा कार्यक्रममा सवारीचालक, यात्रु, सर्वसाधारण गरी कुल ३७ हजार ३९६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनगाहपुरले जनाएको छ। त्यस्तै दुर्घटना न्यूनीकरणको लागि सवारीसाधनहरुमा स्टिकर टाँस देखि पूर्व पश्चिम राजमार्ग छेउछाउमा ठूलो ठूलो हुडिङ बोर्ड राखेको छ।

त्यतिमात्र नभई जिल्लाको १८ वटै स्थानिय तहमा बढदो सवारीसाधनको चाप लाई मध्यनजर गर्दै सुरक्षाको दृष्टीकोणले हाल रौतहटको गौर, बमनहर, चन्द्रनिगाहपुर, बागमती, डुमरिया, गरुडा, शिवनगर, शुकदेव चौक, बन्कुल, मौलापुर, बिजयपुर, लगायतको स्थानमा स्थायी ट्राफिक बिट राखेको जनाएको छ।

करोडौंका सामान बिरगंजमा प्रहरी टोलिले पक्राउ गरि पथलैया राजस्वलाई बुझायो

बिरगंज । बिरगंज भन्सार नाका बाट तस्करको नेटवर्क बिस्तार हुदै गएको समाचार आइरहेको भएपनि सम्बन्धित निकाय मौन देखिएको छ। बिलबिजक भन्दा बढी मात्रामा समान ल्याउदै गर्दा मध्ये बजार बाट प्रहरीले पक्राउ गरेको हो।
प्राप्त जानकारी अनुसार एक करोड भन्दा बढी मूल्यांकन गरिएको बिल बिजक भन्दा बढी लत्ताकपडा तथा हार्डवेयर लगायतका मालवस्तु लोड गरिएको ट्रक नियन्त्रणमा लिइ पछि तस्करहरुको छट्पटी सुरु भएको बताइन्छ।
पर्सा प्रहरीको एक टोलीले वीरगञ्ज महानगरपालिका वडा न. १४ गण्डकचोकमा माघ १० गते राति साढे १० बजेतिर सो ट्रक नियन्त्रणमा लिएर आफनो सकृयता देखाएको छ।
राजस्व छली गरी लान खोजिएको बेला प्रहरीले त्यसलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनेको छ “ मिति २०८०।१०।१० गते अं.राती २२ः३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख ८३०५ नम्बरको मालवाहक ट्रकमा राजस्व छली चोरी गरी बिल बिजक भन्दा बढी मालवस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको छ” भन्ने सूचना आएको आधारमा प्रहरीले सोको जानकारी आएको जनाउँदै भनेको छ “ भन्ने समेत व्यहोराको सूचना प्राप्त भई यस कार्यालयबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई लोड रहेको मालवस्तुहरु अनलाइन भीसीटीएस बिलमा उल्लेखित भन्दा बढी लोड रहेको आशंका रहेको तथा सो बिल बिजक शंकास्पद देखिएको हुँदा ना.६ ख ८३०५ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू (उल्लेखित बिल अनुसार) अ.मु.रू.१,१३,१८,८९०।– ( एक करोड तेह्र लाख अठार हजार आठ सय नब्बे ) बराबरको ट्रकभित्र लोड रहेको मालवस्तुहरू आवश्यक कारवाहीको लागि मिति २०८०।१०।११ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बताइएको छ।पथलैया राजस्व अनुसन्धानका केहि कर्मचारीलाई समेत प्रभावमा पारेर आफनो धन्दा लाई निरन्तरता दिइरहेको यो समुह लाई निरुत्साहित गराउन जरुरी रहेको बताइन्छ।

बिहारमा नवौँ पटक मुख्यमन्त्री बने नीतिश कुमार

एजेन्सी । नवौं पटक भारत बिहारको मुख्यमन्त्रीमा नीतिश कुमार नियुक्त भएका छन् ।आइतबार राजीनामा दिएका उनी ६ घन्टा पनि नबित्दै पुन मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यसअघि आठौं पटक राष्ट्रिय जनता दलको समर्थनमा मुख्यमन्त्री रहेकाे थियाे । उनी अहिले भारतीय जनना पार्टी (बिजेपी)को समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
उनले शपथ पनि लिएका छन् । शपथ ग्रहण समारोहमा बिजेपी अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टीका नेता चिराग पासवान सहित धेरै नेताहरू उपस्थित थिए ।
उनी बिहारको मुख्यमन्त्री बनेको यो नवौं पटक हो । नीतिश कुमारले सन् २०२२ को अगष्टमा भाजपाबाट गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग मिलेका थिए ।
तर त्यो गठबन्धन तोड्दै नितिश कुमारको जनता दल युनाइटेड फेरि बिजेपीसँग मिलेको हो ।
राजनीतिमा करिब पाँच दशक वितासकेका नीतिश कुमारले आफ्नो सहुलियतका लागि दल र गठबन्धन फेर्दै आएका छन् ।

त्रिविले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरू (सूचनासहित)

काठमाडौं।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ।

त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने निर्णय गरेको थियो ।

काठमाडौंका विभिन्न स्थानमा भोलि बिजुली काटिने

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले मंगलवार (भोलि) बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणका अनुसार नयाँ निर्माण गरिएका फिडरमा लोड स्थानान्तरण गर्ने कार्यको लागि विभिन्न स्थानमा मर्मत कार्य गर्न लागिएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

लगनखेल वितरण केन्द्रबाट विद्युत् सेवा आपूर्ति हुने सातदोबाटो, हात्तिवन,रिङरोड,सेतिपाखा, खुमलटार,जेम्स स्कुल लगायतका एरियाहरूमा विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ।

मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ।

बालविवाह रोक्न विवाहका लागि वडाको सिफारिस अनिवार्य

जुम्ला । बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ।

वडाध्यक्ष जङ्गबहादुर रोकायाले उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको जानकारी दिए ।

वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने वडाध्यक्ष रोकायाले बताए । कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो ।

तिला–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा एक सय १० गरी जम्मा दुई सय १३ घरधुरी रहेका छन् । कानुनीरूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । अहिले वडाको सिफारिस अनिवार्य गरेपछि वैशाखयता पाँच जना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् ।

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादन गर्न दिए निर्देशन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन्। प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका हुन्।

प्रचण्डले भने,‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत छन्, र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ। तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ। यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो। ”उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए।

आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए। उनले भने, “प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ।”

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे। उनले भने, ‘बाटोघाटोको असुविधा, दक्ष चिकित्सकहरू र प्राविधिकहरूको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्याहरू छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ। आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ।’

चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्ति विकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उनको भनाई छ। प्रचण्डले भने, ‘तपाईंहरूका  मागहरू क्रमशः सम्बोधन गर्दै जाने विश्वाससमेत दिलाउँछु।’