२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध प्रदर्शन

काठमाडौँ । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी,टेम्पो,निलो माइक्रो, ट्रक र ट्यांकर चालकहरू आन्दोलित भएका छन्। सो निर्णय खारेज हुनुपर्ने माग गर्दै उनीहरू आज काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन्।

उनीहरूले कलङ्की-बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी सङ्घको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूले आफूहरूका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, लगायत माग राखेका छन् ।

सरकारका नीति र निर्णय आफूहरूको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरूले नाराबाजी गरेका छन् ।

नारायणगढ–मुग्लिन सडकमा ढुंगा खस्दा बाटो अवरूद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक पहाड माथिबाट बुधबार रातिदेखि ढुंगा खस्दा पटक पटक बाटो अवरूद्ध भएको छ । बिहीबार दिउँसो १ बजेर ५ मिनेट जाँदा पहाड माथिबाट ढुंगा खस्न सुरू भएपछि दुवै तर्फबाट बन्द छ ।

यसअघि ढुंगा सडकमा आएर बजारिन थालेपछि बिहानपख एक घन्टाजति बाटो अवरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एडीबीद्वारा नेपालका लागि करिब ६ अर्ब ६० करोड ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सुधारमा नेपालका लागि ५ करोड डलर (६ अर्ब ५९ करोड रुपैयाँ) ऋण स्वीकृत गरेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारका नीतिगत समस्या सुधारलाई कार्यान्वयन गर्न ५ करोड डलर ऋण स्वीकृत गरेको हो ।

आर्थिक वर्ष २०२२ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत रहेको एडिबीको तथ्याङ्क रहेको छ ।

सरकारले व्यापार र निकासी प्रवर्द्धनको वातावरणमा सुधार र प्राथमिक वस्तुको आपूर्तिलाई सुदृढ गरी कुल गार्हस्थ्य उत्पादनमा व्यापारको योगदान बढाउन जोड दिएको र भन्सार प्रणाली, सेवा तथा सीमा प्रक्रियाको सुधार आवश्यक रहेको एडीबीले जनाएको छ ।

कार्यक्रमले भन्सार महसुल तथा शुल्कको विद्युतीय भुक्तानी गर्न, निर्यात कागजात पनि विद्युतीय रूपमै पेस गर्नेगरी डिजिटल प्रविधि मार्फत भन्सार प्रक्रियामा सुधार र आधुनिकीकरण योजना कार्यान्वयन गर्न मद्दत गर्ने जनाइएको छ । 

यसले भन्सार क्लियरेन्सलाई सहज बनाउन अनलाइन भन्सार मूल्याङ्कन डाटाबेस स्थापना हुनेछ र कागजात घटाउनेछ । कार्यक्रमले भारत र बङ्गलादेश जस्ता देशका प्रमुख आर्थिक साझेदारसँग व्यापार सहज बनाउन पूर्वाधार र उपकरणहरूको प्राविधिक मापदण्ड पुरा हुने जनाइएको छ ।

फ्रान्समा प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि १५० जना पक्राउ

एजनेसी। फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ। आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ।

गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार प्रहरीले सुरुमा युवकले प्रहरीलाई चोट पुर्याउने उद्देश्यले प्रहरीतर्फ कार चलाएको बताएको थियो । तर उक्त दुर्घटनाको फुटेजमा एक प्रहरी अधिकारीले कारको झ्यालबाट युवकलाई पेस्तोल तानेर नजिकबाट गोली हानेको देखिएको बीबीसी समाचारमा उल्लेख छ ।
 
फ्रान्सेली राष्ट्रपतिले गोलीबारी ‘अक्षम्य’ भएको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘युवाको मृत्युलाई कुनै पनि कुराले न्याय दिन सक्दैन ।’

यसै क्रममा समाचार एजेन्सी रोयटर्सले सन् २०१७ यता फ्रान्सेली प्रहरीको गोलीबाट ज्यान गुमाउने अधिकांश अश्वेत वा अरब मूलका रहेको पत्ता लगाएको छ । गत वर्ष ट्राफिक नियम नमान्दा १३ जनाको ज्यान गएको थियो ।

रोयटर्सले मृतकका छिमेकीहरूलाई उद्धृत गर्दै नाहेल पनि फ्रान्सेली-अल्जेरियन मूलको परिवारबाट भएको बताएको छ।

यस्तो छ १४ असार २०८०, बिहीबार  आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विश्वास र आस्था बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कहीँ कतै भ्रमण गर्ने योजना पनि बन्न सक्छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । सोच्दै नसोचेको धन हात लाग्न सक्छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक कार्यमा मन जानेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट लाभ नै मिल्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा दुबिधा उत्पन्न होला । स्वास्थ्य तथा शृङ्गारमा धन खर्च हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ, साँझमा भने धन हात पर्नसक्छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सुखद् यात्राको योग छ । स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पनि पाइने र दिन सुखद् रहनेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पढाई लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन त्यति भरपर्दो रहनेछैन । अप्रिय समाचारले दुखी बनाउनसक्छ । दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला ।

ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ पक्राउ गरेका छन् । उनीसहित पाँच जनालाई नेपाल प्रहरी केन्द्रीय अनुुसन्धान ब्यूरो (सीईबी) ले उनलाई पक्राउ गरेको हो ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो । न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अख्तियारले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए । प्रहरीले मंगलबार गुरुङलाई उनको निवासबाटै पक्राउ गरेको हो ।

यस्तै, मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई सीआइबीले पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई सरकारी कागज किर्ते गरेर सरकारी जग्गा हडपिएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । उनीहरुलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो ।

जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक (अधिकृत छैठौं) हाल जनस्वास्थ्य निरीक्षक (अधिकृत सातौं) तहका कौशलेन्द्र मिश्रविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मिश्रको १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

८ असार २०५७ मा सेवा प्रवेश गरेका उनले २६ कात्तिक २०७८ सम्म पारिश्रमिक बचत, अन्य भत्ता, छोरीको पारिश्रमिक, कृषि आय लगायतबाट १ करोड १३ लाख ४५ हजार ८०५ रुपयाँ ४३ पैसा आय गरेको अख्तियारको ठहर छ ।

तर यही अवधिमा जग्गा खरिद, घर निर्माण खर्च, शैक्षिक खर्च, सवारी साधन खरिद, उद्योग व्यवसायमा लगानी लगायत गरी २ करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले बताएको छ । यो रकम उनको वैध आम्दानी भन्दा १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बढी भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमतीहरु सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेकाले अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएर मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिमरीमा मंगलबार टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  टिप्परको ठक्करबाट घाइते भएका स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

पुनर्वासबाट धनगढीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश-०१-००१ क २२०० नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको से ४ प २२७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारीसाधन र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

काठमाडाैं । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको छ ।

सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए । अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट लुकीछिपी बसिरहेका थिए ।

शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको भेटिएको प्रहरीले जनाएको छ ।

बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सिआइवीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए ।

एक सूचना जारी गरी सिआइवीले भक्तपुरमा कार्यालय भई काठमाडौँ, ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्यूरोमा सम्पर्कमा आउन बचतकर्तालाई अनुरोध गरेको छ ।

अलिबाबाका संस्थापक ज्याक मा काठमाडौंमा

चिनियाँ अर्बपति व्यापारी ज्याक मा काठमाडौं आएका छन् । उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

हङकङ बिजनेस एभिएसनको जहाज चार्टर्ड गरी ज्याक मा काठमाडौं आएका हुन् । ज्याक मासँग उनीसहित सात जनाको टोली रहेको बताइएको छ । काठमाडौं आएपछि उनी नक्सालस्थित मेरियट होटलमा पुगेका छन् ।

ज्याक मा अलिबाबा ग्रुपका संस्थापक हुन् । चीनबाट बंगलादेश हुँदै उनी नेपाल आएका हुन् ।

उनी सेप्टेम्बर १०, १९६४ मा झेजियांग प्रान्तको हांग्जोमा जन्मिएका हुन् । व्यावसायिक रूपमा उनी ज्याक मा को नामबाट प्रसिद्ध छन् । उनी अलिबाबा समूहका संस्थापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन् ।

साढे ४ महिना यताकै उच्च विन्दुमा नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेर बन्द भएको हो ।  

आज नेप्से ५६.९४ अंकले बढेर दुई हजार एक सय ८६ दशमलब ३१ विन्दुमा बन्द भएको छ । आज ५ अर्ब ४७ करोड ६२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३४ कम्पनीकोे शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

आज २५ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । यसका साथै आज सात वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज सबैभन्दा बढी सिक्लेस हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ३ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्रीय संस्थाको भएको छ । यस कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स र सोल्टी होटलको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ८.९६ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ४.४४ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक ३.९३ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन घटेका छन्।

ललिता निवास प्रकरणः पक्राउ पर्नेको संख्या सात पुग्यो

काठमाडौं । राजनीतिक हस्तक्षेपपछि रोकिएको ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पुन अनुसन्धान गर्दै यस मुद्दाका मुख्य योजनाकार भाटभटेनीको सञ्चालक मिनबहादुर गुरुङसहित सात जनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुद्दा परेकाहरूको खोजी कार्य थालेको छ ।

२२ माघ २०७६ मा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहितका १ सय ७५ जनाको भूमिका देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिगोसहितको मुद्दा दर्ता गराएको थियो । 

यसरी मुद्दा परेका व्यक्तिहरूका बारेमा अनुसन्धान गर्न सीआईबीले डीएसपीको कमाण्डमा उनीहरूको खोजी कार्य थालेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ रहेका छन् । यसका साथै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की र भुपेन्द्रमणि केसी पक्राउ परेको प्रहरीले जनाएको छ । 

ललिता निवास जग्गा अनियमितता प्रकरणमा वर्तमान न्यायाधिश कुमार रेग्मी, पूर्वमन्त्रीहरु विजयकुमार गच्छदारदेखि डम्बरबहादुर श्रेष्ठ, पूर्वअर्थमन्त्री विष्णु पौडेल  र चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ । त्यस्तै, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात, पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारीलाई पनि यो मुद्दामा भ्रष्टाचार गरेको आरोप लागेको छ ।  

बिभीन्न निर्णय सहीत आम मुस्लिम मोर्चाको बैठक सम्पन्न

रौतहट १२ असार। प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आम मुस्लिम मोर्चाको बैठक सोमबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ।

पुर्व मन्त्री तथा पार्टी अध्यक्ष प्रभू साह को प्रमुख आतिथ्तामा बैठक सम्पन्न भएको हो। बैठकमा  ईस्लामिक शिक्षा ऐन सहित मदर्सा बोर्ड गठन तथा मुस्लिम यूनिवर्सिटीको लागि संघर्ष गर्ने निर्णय सहित आम मुस्लिम मोर्चाको ऐतिहासिक केन्द्रीय कमिटिको बैठक  सम्पन्न भएको छ । सोमवार चन्द्रपुरमा बसेको  बैठकले देशमा बढ़दो लुट भ्रष्टाचारको विरुद्ध सशक्त ढंगले लाग्नुको साथै मुस्लिमको हक हितको लागि संघर्ष गर्न प्रत्येक जिल्ला र पालिकामा “संघर्ष समिति” गठन गर्दै संगठनमा महत्वपूर्ण कार्यविभाजन सहित संगठन विस्तारलाई तिव्रता दिने निर्णय भएको मुस्लिम मोर्चाको केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरले वताएका छन। बैठकमा मोर्चा संग आवद्ध दर्जनौं मुस्लिम नेता तथा अगुवा कार्यकर्ताहरूको सहभागीता रहेको थियो। पछिल्लो समय आमजनता पार्टी पूर्ण रूपमा सक्रिय भएर संगठन विस्तारमा लागेको देखिएकाे छ।

कटहरिया नगरसभा द्वारा झन्डै ४२ करोडको बजेट विनियोजन

रौतहट १२ असार। रौतहटको कटहरिया नगरपालिकाको आठौं नगरसभाले झन्डै ४१ करोडको बजेट विनियोजन गरेको छ। उपमेयर रीता देवी यादव, सबै ९वटै वडा अध्यक्ष लगायत अधिकांस जनप्रतिनिधि द्वारा बिरोध जनाएको कारण स्थगित भएकाे नगरसभा सोमवार सहमतिकै आधारमा सम्पन्न भएको हो । नगरप्रमुख अजयप्रकाश जयसवालको  अध्यक्षतामा सम्पन्न भएको नगरसभाले आर्थिक वर्ष २०८०÷०८१को लागि कुल ४१ करोड,९६ लाख,१६ हजार तीनसय रुपैयाको बजेट विनियोजन गरेको छ।  नगरासभाले स्वास्थ्य, शिक्षा,कृषि लगायत लाई बिशेष प्राथमिकतामा राखेको मेयर जैसवालले बताएका थिए।

 तर उपमेयर रीता देवी यादव, वडा ३ का अध्यक्ष श्यामाकान्त यादव,४ का अध्यक्ष चन्दन कुशवाहा लगायत कैयौं जनप्रतिनिधी ले असन्तुष्टि जनाएका थिए। नगरसभामा मेयर जयप्रकाश जैसवालले बन्दसत्रमा असन्तुष्ट सम्पूर्ण जनप्रतिनिधीको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए पछी सहमति भएकाे कार्यपालिका सदस्य मनोज जैसवालले बताएका छन। नगरसभामा जिल्ला समन्वय समिति रौतहटका सभापती राम अयोध्या यादव, लगायत बक्ताहरुले कटहरिया नगरेको विकास प्रति जोरदिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले जानकारी दिएका छन। 

यस्तो छ १२ असार २०८०, मंगलवार आजको राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमा प्रगति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विवाद भाग नलिनुहोला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला, तर तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वित्तिय संस्थाबाट सहयोग पाइनसक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । समाजिक कार्यमा मन जानेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बन्न लागेको काम बिग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय पनि उत्तिकै रहनेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।