आज पानी पर्ला ? यस्तो छ पूर्वानुमान

काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

समाचार हुबहु सार्ने १८३ अनलाइनलाई प्रेस काउन्सिलको कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा एक सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गरी समाचार हुबहु चोरी गरी सार्ने (कपी एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो ।

कारबाहीमा परेकामध्ये १४३ सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रुपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बुधबार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ । आगामी दिनमा बिनाअनुमति हुबहु प्रकाशन नगर्न नगराउन ध्यानाकर्षण गराउने र पुनःत्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो ।

‘एकलाई भुलसुधार गर्न र एकलाई खण्डन प्रकाशन गर्न निर्देशन दिने र एक सञ्चारमाध्यमको जवाफ चित्तबुझ्दो नदेखिएकोप्रति सम्पादकलाई छलफलमा बोलाउने निर्णय गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्षसमेत रहेका काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा बार एशोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।

अध्यक्ष बस्नेतले अनलाइनको सङ्ख्यात्मक मात्र नभई गुणात्मक वृद्धि गराउन र समाचार चोरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा काउन्सिलले झन कडाइ गर्ने बताए ।

'सञ्चारमाध्यमले आफ्नो मौलिक र खोजमूलक प्रस्तुति नदिने हो भने पत्रकारिता फस्टाउन सक्दैन । विश्वसनीयता पनि घट्छ । यसतर्फ गम्भीर भई काउन्सिलले अनुगमन, सहजीकरण र कारबाही गर्दै आएको छ,' उनले भने । काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न मिडियाविरुद्ध २२० वटा उजुरी, १२ जनगुनासा दर्ता भएका छन् । पछिल्लो तीन महिनामा ५१ उजुरी, २ जनगुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आव समेतको गरी १६० वटा उजुरी फछ्र्योट भएका छन् ।  

काउन्सिलले मूल स्रोतको अनुमतिबिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न÷नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

काठमाडौं महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौं । काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ ।

लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसङ्गतरुपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब एक लाख करदाता रहेको छन् । त्यस्तै व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउनका लागि यसै महिनादेखि कामपाको ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने तयारी कामपाको रहेको छ ।

कामपामा कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट पनि रु दुई अर्ब बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेले जानकारी दिनुभयो । उक्त रकम विगत १२ वर्षदेखिको रहेको कामपाको भनाइ छ । दर्ता गरेर पनि नियमअनुसार कर नतिरेका करदाताका लागि कामपाले चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म तिर्नुपर्ने रकममा केही छुट दिएको थियो ।

सोही अवधिमा दर्ता प्रक्रियामा रहेको केही करदाताले कर तिरेका भए पनि अझै धेरै करदाताले तिर्नका लागि आलटाल गरिरहेका छन् । दुई वर्षअघि पनि कामपाले २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो । उक्त समयमा घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तीर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ ।

चालु आवका लागि जम्मा रु दश अर्ब ८० करोड वार्षिक लक्ष्य लिएको कामपाले चालु आर्थिक महिनाको अवधि पार गरिसक्दा रु पाँच अर्ब ८० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । चालु आवको अर्ध वार्षिक अवधिसम्म कामपाको राजस्व सङ्कलनको अवस्था राम्रो रहे पनि पछिल्लो माघ महिनामा कामपाको आम्दानी अन्य महिनाको तुलनामा घटेको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. महतको आग्रह

नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न अनुरोध गरेका छन् । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ, अहिलेको जस्तो अवस्थामा रहँदैन । विस्तारै निर्माण क्षेत्रमा माग बढेको छ, सिमेन्ट, रडको माग बढेको छ, नीतिगत सुधारका धेरै काम भएकाले व्यवसायीहरु ढुक्क भएर लगानी गर्नुहोस् ।’

उद्घाटन कार्यक्रममा मन्त्री डा. महतले ब्याजदर घटेकाले विचार पुर्याएर ऋण लिने र लगानी गर्ने वातावरण बनेको बताउँदै उहाँले एउटाले फाइदा गरेको व्यवसायतिर सबै नलागी, नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ’ मन्त्री डा. महतले भने, ‘आत्मविश्वास जगाऔं, विचार पु¥याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ । राजश्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’

उनले मूल्यवृद्धि पनि नियन्त्रणमा रहेको स्पष्ट पारे । मन्त्री डा. महतले भने, ‘म अर्थमन्त्री भएका बेला मूल्यवृद्धि सालाखाला ८ प्रतिशतभन्दा माथि थियो, अहिले साढे ६ प्रतिशतभन्दा तल झरेको छ । यसले उपभोक्तालाई राहत दिन्छ ।’

उनले भने, ‘भारतको आर्थिक वृद्धि दर अहिले संसारमै अगाडि छ । सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ । यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ । नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं ।’

उनले भने, ‘तमाम कारणले गर्दा अर्थतन्त्रमा समस्या थियो, हामी सुधारको बाटोमा छौं । ब्याजदर छिट्टै एकलविन्दुमा झर्छ । अन्तर्राष्ट्रिय समस्या चर्केका बेला घरजग्गा र सेयर बजारमा अत्याधिक लगानी भयो । समस्या आएपछि नेपाल राष्ट्र बैंकले ऋण प्रवाह घटायो, ब्याज बढायो ।’

‘एकथरिले सहकारी र लघु वित्त पीडितलाई उपयोग गरेर राजनीतिकको रोटी सेकाउन थालेका छन् । मेरो पछि लाग्यो भने ऋण तिर्नुपर्दैन, माफी पाइन्छ भनेर एकथरिले लघु वित्त पीडितलाई बोकेर हिडेका छन् । साँच्चै तिर्नुपर्दैन भनेर पीडित पनि पछि लागेर हिडेका छन्’ मन्त्री डा। महतले भने, ‘स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन । ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन । ऋण लिनेको मात्र होइन दिनेको पनि गल्ती छ । त्यसकारण ब्याजदर घटाइएको हो, पछिल्लो समय ब्याजदर घट्नेक्रममा छ ।’

‘जसले ऋण लिएको छ, उनीहरुलाई ब्याजदरमा राहत दिन सकिन्छ । ऋण तिर्नेलाई समय दिन सकिन्छ, त्यो राहत हो । ऋण लिएर तिर्दैतिर्दिन भन्न पाइँदैन । ऋण तिर्नलाई राहत दिन सकिन्छ, ऋण माफी गर्न सकिँदैन’ मन्त्री डा। महतले भन्नुभयो, ‘पहिलो धेरै ऋण लिनेहरु समस्यामा परेको हुनाले ब्याजदर घटेको छ । हिजो ऋण लिएकाहरुले अहिले ऋण लिन सक्ने स्थिति भएनन, नयाँ ऋण लिन चाहनेहरुलाई पहिलाको समस्या देखेर तर्सिरहेका छन् । यही कारण बैंकमा तरलता भए पनि ऋण प्रवाह हुन सकेको छैन । तर विस्तारै यसमा सुधार आउँछ ।’

गाउँपालिकाकी तत्कालीन उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाकी तत्कालीन उप-प्रमुख सौमति रावल ऐडी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसार प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै अदानचुली गाउँपालिका वडा-३ का वडाध्यक्ष दत्त विष्ट, उपप्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । यसैगरी ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरूद्ध पनि मुना दायर गरेको अख्तियारले जनाएको छ ।

उनीहरूले गाउँपालिकासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्यांकन गराएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सहित ११ जनाविरुद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद गरी बिगो मागदाबी माग दाबी गरेको छ ।

विद्युत् प्राधिकरणले ६ महिनामा कमायो १५ अर्ब ३६ करोड

काठमाडौं । सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ ।

प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको हो ।

विद्युत् खरिद, प्रशासनिक, आयोजना लगायतमा जम्मा रु ५१ अर्ब ९२ करोड ७१ लाख खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले समीक्षा अवधिमा रु १५ अर्ब ३६ करोड ६ लाख नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु १० अर्ब ९१ करोड ६० लाख थियो । गत आवको पहिलो छ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा रु चार अर्ब ४४ करोड ४६ लाखले बढी हो । गत आवको नाफा रु १२ अर्ब ३३ करोड थियो । आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको भन्दै खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो छ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ । यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा हरेक वर्ष अर्बौ रुपैयाँ लगानी गरिरहेका छौँ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

विद्युत्मा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनामा आगामी वर्षमा रु १२ खर्बभन्दा बढीको लगानी आवश्यक पर्ने भन्दै नगद प्रवाहका लागि संस्थाको नाफाले नपुग्ने प्राधिकरणको बुझाइ छ ।

प्राधिकरणले चालु आवको छ महिनामा विद्युत् बिक्रीबाट रु ४५ अर्ब ४९ करोड ३८ लाख सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकबाट र भारतबाट आयात गरी रु ३० अर्ब ४८ करोड ५८ लाखको विद्युत् खरिद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीबाट रु २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट रु एक अर्ब ९८ करोड ६२ लाखको विद्युत् आयात गरिएको हो ।

समीक्षा अवधिमा सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ रु नौ अर्ब तीन करोड ८४ लाख खर्च भएको छ । १३ अर्बको विद्युत् निर्यात, दुई अर्बको आयात गरिएको जनाइएको छ । विद्युत् प्राधिकरणको चालु आवको पहिलो छ महिनामा रु १३ अर्ब ३८ करोड ५६ लाखको विद्युत् भारततर्फ निर्यात गरेको छ । सोही अवधिमा रु एक अर्ब ९८ करोड ६२ लाखको विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

समीक्षा अवधिमा रु एक अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत् निर्यात गरिएको छ । सुख्खायाम सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ । समीक्षा अवधिमा २२ करोड पाँच लाख युनिट विद्युत् आयात गरिएको छ । वर्षायाम सुरुभएसँग फेरि विद्युत् निर्यात सुरु हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

युवतीलाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

धनगढी ।  कैलालीमा एक नाबालक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय गिरी थरका एक नाबालकले युवतीमाथि जबर्जस्तिकरणी गरेका हुन्।

प्रहरी स्रोतका अनुसार २५ वर्षीया स्थानीय युवतीमाथि ती नाबालकले ३ मिनेट करणी गरेको स्वीकार गरेका छन्। उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ। करणी गरेको युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो।

करणी गर्ने नाबालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा पठाइएको छ। यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

काठमाडौं ।बुधबार नेप्से परिसूचक ०.८७ अंक घटेर २०००.७७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ। ७१ कम्पनीको शेयरमूल्य बढ्दा १७० कम्पनीका शेयरधनीले चाहिँ गुमाएका छन्‌ । ७ कम्पनीको शेयरमूल्य स्थिर छ ।

कूल ५१ लाख १५ हजार ६८५ कित्ता शेयर २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँमा कारोबार भएको छ । विशाल बजार, बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई कम्पनीको शेयरमूल्यमा सर्किट लाग्दा प्रतिकित्ता क्रमशः ३६६, १ हजार ७८५.५० र १ हजार ४६७.७० रुपैयाँ बढेको छ ।

आज शेयरबजारमा साम्लिङ पावरका शेयरधनीले सर्वाधिक ६.६६ प्रतिशत गुमाएका छन्‌ । गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरका शेयरधनीले पनि क्रमशः ५.९७ र ५.२३ प्रतिशत गुमाएका छन्‌ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। आज सोनापुर मिनरल्सको सर्वाधिक १२ करोड ६९ लाख ६५ हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.९६ प्रतिशत र लगानी उपसमूहको परिसूचक १.०५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.११ प्रतिशत घटेको छ।

सर्वोत्तम सिमेन्टको आइपीओ भर्नुभयो ? छुट्ला है आज अन्तिम दिन

काठमाडाैं । सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले फागुन १३ गतेबाट सर्वोत्तम सिमेन्ट उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको हो ।

कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत् ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। लगानीकर्ताले उक्त आइपिओमा प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाको दरले आवेदन दिनु पर्नेछ । सर्वसाधारणले आइपिओमा न्युनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रूपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ।

पश्चगामी शक्ति हाबी हुँदैछन्, जनभावना बुझेर काम गरौँ : सांसद हरिराम चौधरी

काठमाडौं । राष्ट्रियसभामा छवर्षे कार्यकाल मेरो पहिलो हो । पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस भइरहेका छन् । कतिपय जानकारले संसदीय व्यवस्थामा राष्ट्रियसभा जनप्रतिनिधिको एक अविच्छिन्न सर्वोच्च संस्थाको रूपमा महत्त्वपूर्ण हुन्छ भनेर व्याख्या गरेका छन् । मेरो आफ्नो बुझाइमा राष्ट्रियसभाले विशेष गरेर देशको हरेक नीति, नियम, कानुनलाई परिपक्व र समृद्ध बनाउनेगरी काम गरिरहेको छ । कैयौँ कानुन राष्ट्रियसभाबाट सिर्जित भएर प्रतिनिधिसभामा गएका छन् । कैयौँ फिर्ता गरिएको छ ।

छ वर्षको अवधिमा मैले राष्ट्रियसभामा एउटै समितिमा रहेर काम गरेँ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सक्रिय रहेँ । समितिमा रहँदा प्रत्यायोजित कानुन, राष्ट्रिय सरोकारका महत्त्वपूर्ण विषयदेखि सरकारी आश्वासनका क्षेत्रमा काम गरियो । एउटै समितिमा काम गरेका कारणले देशका बारेमा धेरै कुरा बुझ्ने अवसर पनि पाइयो । समितिबाट सरकारलाई निर्देशन दिने काम पनि भयो । प्रत्यायोजित कानुनहरूलाई सरकारले कसरी प्रयोग गर्ने, कसरी लागू गर्ने भन्ने कुरामा महत्त्वपूर्ण बुझाइ र सिकाइ भएका छन् ।

अहिले संविधानमा भएका व्यवस्थाबमोजिम सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन नबन्दा प्रदेश सरकार र स्थानीय तहले राम्रोसँग काम गर्न सकेका छैनन् । प्रहरी समायोजन, कर्मचारी समायोजनलगायत महत्त्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन । शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि उस्तै अवस्था देखापरेको छ । अन्य कानुन पनि आवश्यक छ, तर सङ्घीयता कार्यान्वयन गर्न यी कानुन अत्यन्त महत्त्वपूर्ण छन् । यो काम धेरै अगाडि गरिसक्नुपर्ने थियो । भर्खरै मात्र प्रधानमन्त्रीले राजनीतिक सहमति जुटाएर सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुनहरू जतिसक्दो चाँडो बनाउनेगरी छलफल गर्नुभएको छ । सङ्घीयतालाई कार्यान्वयन हुन नदिने तप्का, विचार, दृष्टिकोण र समूहले सङ्गठितरूपमा षड्यन्त्र गरिरहेको आभास पनि हुन थालेको छ । विशेष गरेर सङ्घीय शासन प्रणालीलाई दिगोरूपमा कार्यान्वयन गर्नका लागि सङ्घीयता पक्षधरहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली कांग्रेस एक हुनुपर्छ । यी दलहरूले राष्ट्रिय सहमतिका आधारमा कार्यान्वयन गरेर जाँदा राम्रो हुन्छ ।

राष्ट्रियसभालाई प्रतिनिधिसभाको छायाँका रूपमा बुझ्ने गरिन्छ । वास्तवमा त्यस्तो होइन । प्रतिनिधिसभाका बैठक स्थगित हुँदा पनि राष्ट्रियसभा नियमित सञ्चालनमा आएको उदाहरण छ । हाम्रो बीचमा छलफल पनि चल्थ्यो, राष्ट्रियसभा विशिष्ट सभा हो, यसमा दलीय गन्ध दिन हुँदैन । तर दलीय व्यवस्था भएका हुनाले त्यसको प्रभाव पनि देखिने भयो । संविधान जारी भइसकेपछि गठन भएको पहिलो राष्ट्रियसभामा प्रवेश गर्दा यसलाई जति परिपक्व बनाउनुपर्ने थियो, दलको छायाँका रूपमा नभएर राष्ट्रिय महत्वको विशेषज्ञका आधारमा यसलाई प्रयोग गर्नुपर्नेमा कमी रहेको महसुस भइरहेको छ । यसमा नागरिक समाज, बुद्धिजीवी, सञ्चारजगत्लगायत सबै क्षेत्रबाट बहस त हुनैपर्छ । दलीय व्यवस्थाभित्र पनि स्वतन्त्र प्रकृतिका व्यक्तिहरूलाई राष्ट्रियसभामा लैजान सकियो भने यसको गरिमा, ओज र महत्व अझ बढेर जान्छ । राष्ट्रियसभाको पहिलो कार्यकालको उपस्थितिलाई हेर्दा प्रतिनिधिसभामा समेटिन नसकेका तथा पार्टीभित्रको सन्तुलन मिलाउन आवश्यक व्यक्तिलाई समेटिएको देखिन्छ । दलभित्रको विवादलाई समाधानका रूपमा प्रयोग गर्ने थलोका रूपमा भन्दा पनि राष्ट्रलाई समस्या परेका बखत सम्हाल्न सक्ने केन्द्रका रूपमा राष्ट्रियसभालाई बनाउन सकियो भने राष्ट्रियसभा र राजनीतिक दलको महत्व बढेर जान्छ ।

राष्ट्रियसभालाई राष्ट्रलाई महत्त्वपूर्ण घडीमा सम्हाल्न सक्ने व्यक्तित्व र विशेषज्ञको बहस गर्ने थलोका विकास गर्नुपर्छ । प्रतिनिधिसभाबाट आएको हरेक विधेयकलाई मसिनो गरी केलाएर सुझाव दिन सक्ने विशिष्टिकृत संस्थाका रूपमा राष्ट्रियसभालाई बनाउनुपर्छ ।

सङ्घीयता कार्यान्वयनलाई संसद्ले मुख्य प्राथमिकतामा राख्नुपर्छ । भूगोलका हिसाबले सङ्घीयताको खाका प्रष्ट छ । सात प्रदेश र सात सय ५३ स्थानीय तह कार्यान्वयनमा गइसकेका छन् । अब कानुन निर्माण गरेर तिनलाई सबल बनाउनुपर्छ । सङ्घीयता र परिवर्तनको पक्षधरलाई अहिले पनि एउटा प्रश्न टड्कारोरूपमा आइरहेको छ, त्यो हो– गणतन्त्र आएर नेपाली जनताले के पाए ? देशमा बेरोजगारी, आर्थिक सङ्कटलगायत समस्या छन्, युवा विदेश जान बाध्य छन् । सङ्घीयताको कार्यावयन र सुशासनलाई प्रत्याभूत गराउन सकियो भनेमात्रै नेपालमा युवा रोकिने आधार बन्छ ।

गणतन्त्र प्राप्तिका लागि सङ्घर्ष गर्दैगर्दा राज्यपक्ष र विद्रोही पक्ष दुवैले ठूलो क्षति भोगेका छन् । भूमिगत अवस्थामा युद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) र नेपाली कांग्रेस तथा नेकपा (एमाले)बीचको राजनीतिक सहमतिका आधारमा मुलुकमा गणतन्त्र आयो । ती राजनीतिक दलहरुबीच विगतमा भएका सहमति अहिले मुलुकलाई समृद्ध बनाउन पनि आवश्यक छ । मुलुकको समृद्धिका लागि पनि यी दलहरू एक ठाउँमा उभिन जरुरी छ । राजनीतिक दलहरू मिलेर अगाडि बढ्न नसक्ने हो भने पश्चगमन चाहने शक्तिले प्रतिक्रान्ति गर्न नसक्ला भन्न सकिँदैन । पहिलो संविधानसभामा राजतन्त्र पक्षधरको उपस्थिति नगण्य थियो, तर अहिले त्यो उपस्थिति सदनमा बढ्दै गएको छ । यो परिवर्तन पक्षधर सम्पूर्ण पार्टी र नेता कार्यकर्ताले बुझ्न जरुरी छ । सङ्घीयता र गणतन्त्र कार्यान्वयन गरेर प्राप्त उपलब्धिलाई जनताले अपनत्व गर्ने अवस्था सिर्जना गर्न जनताको मनोभावना र मनोविज्ञान बुझेर सुशासन, विकास निर्माणलगायत जनजीविकाका सवालमा ध्यान दिनुपर्छ । 

अहिले गाउँघर रित्तिन थालेका छन् । युवा पलायन बढ्दो छ । यसलाई रोक्न सरकारले विशेष ध्यान दिनुपर्छ । सरकारले विकास निर्माणलाई ध्यान दिने, उद्योग कलकारखानाको विकास गर्ने, रोजगारी सिर्जना गर्ने, स्वरोजगारी अभियान सञ्चालन गर्नुपर्छ । निजी क्षेत्रको सहभागिता बढाएर रोजगारी सिर्जना गर्नुपर्छ । तर निजी क्षेत्रलाई प्रोत्साहित गर्ने काम कम भइरहेको छ । देशमा लगानीमैत्री वातावरण बनाउनुपर्छ । लगानीको सुरक्षा राज्यले गरिदिनुपर्छ । राज्यले निजी क्षेत्रलाई सुरक्षा दिन नसक्दा अहिले उद्योगी, व्यवसायी सशङ्कित छन् । कुनै पनि नागरिकलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न सक्याँै भने यो समस्या धेरै हदसम्म कम हुन्छ । किसानका उत्पादनले बजार पाएको छैन । विश्वव्यापीकरणको अवस्थामा नेपालमा मात्रै व्यापार गरेर व्यवसायी टिक्ने अवस्था छैन । सरकारले नेपाली उत्पादनको बिक्रीका लागि विश्व बजारसम्मको पहुँच सुनिश्चित गरिदिनुपर्छ ।

शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन निकै ढिला भइसकेको छ । माओवादी चौथोपटक सरकारको नेतृत्वमा छ । यसमा को जिम्मेवार, को दोषीभन्दा पनि सबै जिम्मेवार बन्नुपर्छ । तत्कालीन विद्रोही माओवादी र सरकारका तर्फबाट नेपाली कांग्रेसबीच विस्तृत शान्ति सम्झौता भएर नेपाल दिगो शान्तिको बाटोमा नेपाल अघि बढेको हो । राजनीतिक सन्तुलन मिल्न नसक्दा नै सङ्क्रमणकालीन न्याय टुङ्गिन ढिलाइ भएको छ । अहिले चर्चाको विषय बनेको छ, दिनहुँजसो शीर्षनेताको बीचमा यसबारेमा छलफल भइरहेको छ । सङ्क्रमणकालीन न्यायलाई पूर्णता दिनेतर्फ अब ढिला गर्नु हुँदैन ।

सांसद चौधरीको परिचय

विसं २०३५ मङ्सिर २५ गते जन्मिएका सांसद हरिराम चौधरी कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ४ निवासी हुनुहुन्छ । उहाँले व्यवस्थापन विषयमा प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । राष्ट्रियसभामा अन्य समूहबाट निर्वाचित भएका उनि २०५१ सालदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग आबद्ध छन् ।

विसं २०५३ मा विद्यार्थी सङ्गठनमा क्रियाशील हुनुभएका उहाँ २०६५ साल फागुन १ गतेदेखि भूमिगत भएका थिए । विसं २०७५ मा जिल्ला सदस्य, २०५८ सालमा विद्यार्थी सङ्गठनको जिल्ला अध्यक्ष, २०५९ सालमा माओवादीको जिल्ला सेक्रेटरी, २०६१ सालमा जनमुक्ति सेना सैन्य हेडक्वार्टर सदस्य, २०६३ सालमा जिल्ला सचिव, २०७० सालमा जिल्ला इन्चार्ज, २०७३ सालमा पोलिटब्यूरो सदस्य र माओवादीको थारू मोर्चाको महासचिव रहनुभयो । उहाँ हाल नेकपा (माओवादी)को सुदूरपश्चिम प्रदेश अध्यक्ष छन् ।
(सांसदसँग रासस संवादका लागि राष्ट्रियसभा सदस्य हरिराम चौधरीसँग राससका समाचारदाता अशोक घिमिरेले गरेको कुराकानीमा आधारित)

नेपालमा कर्मचारीलाई कामप्रति जिम्मेवार बनाउने प्रणाली नै छैन : अख्तियार प्रमुख राई

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालमा निजामति कर्मचारीलाई कामप्रति जिम्मेवार बनाउने प्रणाली नै नभएका बताएका छन् । कामप्रति जिम्वेवार बनाउने प्रणााली नबन्दा निजामती कर्मचारीलाई काम नगर्न पनि छुट रहेको उनले बताए ।

मंगलबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सांसदहरुले कर्मचारीहरूमा काम गर्न अग्रसर नहुने प्रवृत्ति देखा परेको भन्दै अख्तियार प्रमुखको धारणा मागेका थिए । जवाफमा उनले सो कुरा बताएका हुन् । आयुक्त राईले कर्मचारी नियुक्ति प्रक्रिया, प्रचलित ऐन कानुन, दण्ड सजायको व्यवस्था र ट्रेड युनियन लगायतका विषय उठाउँदै कर्मचारीलाई कामप्रति जिम्मेवार बनाउने प्रणाली नै नरहेको जनाए ।

उनले कर्मचारीले काम नगरे पनि कारबाही भोग्नुपर्ने व्यवस्था नरहेको उल्लेख गर् । ‘कामै नगरे पनि त्यो मान्छेलाई केही हुँदैन, कुनै कारबाही नै हुँदैन त किन काम गर्ने ?’ उनी प्रश्न गर्छन्, ‘यस्तो किन भयो, किनकि हामीले निजामती सेवा ऐनदेखि नियम कानुनहरूमा छुट दियौँ ।’

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम । सन्दकपुर गाउँपालिका–५, कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छिन् । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उनले भनिन् ।

विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।

पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए ।

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा ०७२ सालमा बन्द भएको थियो ।

“सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन,” उनले भने ।

अहिले यस क्षेत्रबाट मात्रै करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको भारु १५ देखि १८ हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बसेकी डोमा शेर्पाले बताइन् । उनले भनिन्, “आफ्नै देशमा बच्चा पढाउन पाएको भए सहज हुन्थ्यो, विद्यालय छैन, कामकुरो सबै बर्बाद भएको छ ।”

जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५, कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङ छिरिङ शेर्पाले जानकारी दिए । जसका कारण उक्त क्षेत्रका बालबालिकालाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानुपरेको उनले बताए ।

लेकाली क्षेत्रमा विद्यालय नहुँदा जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायतका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ ।

सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका हुन् । कतिपयको भने पढ्नका लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बास हुने गरेको छ । यहाँ लेकाली क्षेत्र भएका कारण पातलो बस्ती र जनघनत्व पनि कम छ । इलामको जौबारी, मेग्मा, कालपोखरीलगायत धेरै स्थानका सामुदायिक विद्यालय विद्यार्थी अभावमा बन्द भइसकेका छन् ।

भारतीय विद्यालयमा आफ्ना छोराछोरी भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिए ।

सीमा क्षेत्रका नेपाली विद्यार्थी भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा पढ्न जाने गरेको लामाले जानकारी दिए । लामाले भने, “नेपालतर्फ विद्यालय छैन, बालबालिकाहरूलाई जति महँगो भए पनि पढाउनु त पर्छ नि, यो सीमावासीको रहरभन्दा पनि बाध्यता हो ।”

यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषयसमेत नेपाली बालबालिकाले थाहा नपाउने गरेको शेर्पाको भनाइ छ ।

बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् । जौबारीको राष्ट्रिय प्राविमा भने केही समयअघि सशस्त्र प्रहरी बसेको थियो । उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ । सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकारवाला निकायले चासो देखाएका छैनन् ।

आजदेखि काठमाडौंका यी स्थानमा एक सातासम्म विद्युत् अवरुद्ध हुने

काठमाडाैं । आजदेखि एक साता (फागुन २२) गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै विद्युत अवरूद्ध हुनेबारे जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार पहिलो दिनफिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । दोस्रो दिन गोंगबु सामाखुसी टाउन प्लानिङ क्षेत्रमा, तेस्रो दिन शिवपुरी फिडरबाट वितरण भएको सेवा अवरूद्ध हुनेछ ।

हेनुहोस् द्युत् सेवा अवरुद्ध हुने तालिका :

राष्ट्र बैंकका गभर्नर अधिकारी सेटिङ अनुसारकै रफतारमा

काठमाडौ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि डेपुटी गभर्नर डा. निलम ढुंगानाअन्तर्गत रहेको सुपरिवेक्षण विभाग आफू मातहत ल्याएर निलमलाई आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिएका छन् भने देबकुमार ढकाललाई सुपरिवेक्षण विभागअन्तर्गत जिम्मेवारी दिएका छ्न्। वित्तीय माफियाको सेटिङमा चल्दै आएका गभर्नर अधिकारीको कार्यशैलीलाई अख्तियारले निसाना लगाउनुपर्ने आवाज उठिरहेको बेला उनी बैंकभित्र काखा र पाखाको नीतिमा चलेको आरोपप्रत्यारोपमा परेका छ्न्।

यसअघि गभर्नर अधिकारीले नै बमबहादुर मिश्रअन्तर्गत रहेको सुपरिवेक्षण विभाग बमबहादुरबाट खोसेर निलमलाई दिएका थिए। डेपुटी गभर्नर बमबहादुर र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार घनिष्ट मित्र हुन‍्। उनीहरूबीच रहेको घनिष्टताका कारण बमबहादुरलाई रिपोर्टिङ गर्न देवकुमारलाई सहजै थियो।

सुपरिवेक्षण विभाग निलमअन्तर्गत लगिएपछि आफूलाई रिपोर्टिङमा समस्या भएको देवकुमारले गभर्नर अधिकारीसमक्ष बताउने गरेका थिए। देवकुमार र निलमबीच व्यक्तित्व टकरावका विभिन्न समस्या देखिँदै आएको छ।

आफूभन्दा वरिष्ठ भएपनि निलमलाई स्वीकार नगर्ने देवकुमारको प्रवृत्तिलाई संरक्षण गर्न गभर्नर अधिकारीले डेस्क नै परिवर्तन गरिदिएका छन्। महाप्रसाद अधिकारी गभर्नर भएदेखि नै देवकुमार राष्ट्र बैंकको मुख्य दुई विभागहरू बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरिवेक्षण विभागमा छन्।

राष्ट्र बैंकको नियमनका मुख्य विभागमा देवकुमार ढकालमात्रै घुमिरहेका छन्। गभर्नर अधिकारीले ढकाललाई छाड्न सकेका छैनन्। देवकुमार ढकाल वाणिज्य बैंकहरूको प्रत्यक्ष सुपरीवेक्षणको प्रमुख हुँदा आफ्नै भाइलाई निजी बैंककै सल्लाहकार बनाएका थिए। दाजु राष्ट्र बैंकको प्रमुख जिम्मेवारीमा रहँदा भाइ निजी बैंकको कानूनी सल्लाहकार हुँदा स्वार्थ बाझिने भएपनि गभर्नर अधिकारीले ढकाललाई नियमन तथा सुपरिवेक्षण विभागबाहेकका अन्य विभागमा सरुवा गर्न आवश्यक देखेनन्।

दाजु भाइबीचको पदका कारण देखिने स्वार्थको द्वन्द्वबारे राष्ट्र बैंकले ध्यान दिएन। अन्तर्राष्ट्रिय मुद्राकोषको कोड अफ कन्डक्टअनुसार तटस्थता तथा जवाफदेयिताको भावनाविपरीतको काम भएको भएपनि गभर्नर अधिकारीले त्यसलाई नजरअन्दाज गरिदिएका थिए। गत पुस ५ गते ढकालका भाइ बालकृष्ण ढकाल भागबन्डा कै आधारमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भए सगै बैक भित्र एउटा चलखेल सुरु भएको छ।

देवकुमार ढकाल राष्ट्र बैंकको दोस्रो नम्बरका कार्यकारी निर्देशक हुन्। नेफिल मताङ्गि मास्केपछि राष्ट्र बैंकको विशिष्ट श्रेणीको वरियतामा उनी दोस्रो नम्बरमा पर्छन्। उनै ढकालको सल्लाह सुझावमा गभर्नर अधिकारी चल्ने गरेका छन्। राष्ट्र बैंकमा गभर्नर अधिकारीपछि सबैभन्दा बढी लाभ तथा सुविधा प्राप्त गर्नेमा ढकाल नै रहेको विषयमा राष्ट्र बैंकमा चर्चा हुने गरेको छ। यसैले पनि अब देवकुमार ढकालले गभर्नर अधिकारीलाई सिधै रिपोर्टिङ गर्ने सुविधा पाएका छन्।

गभर्नर अधिकारीले २०७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत जोखिमभार घटाउने, एलसीमा मार्जिनको व्यवस्था र निक्षेपको ब्याजदरमा क्याप तोक्ने व्यवस्था कार्यान्वयनमा ल्याएका थिए। देवकुमारकै सुझावका कारण करिब ३० वर्षपछि राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेको थियो। ब्याजदर बढ्नबाट रोक्दा आयात बढ्न गइ त्यसले विदेशी मुद्रा सञ्चितिमाथि दबाब बढाएको थियो।

विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम गर्न भन्दै राष्ट्र बैंकले वासेल मापदण्डविपरीत गएर विभिन्न कर्जाको जोखिमभार घटाउँदा त्यसले अर्थतन्त्र संकुचित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ। उक्त समीक्षामार्फत रियल स्टेट, मार्जिन ल्याण्डिङ, ओभरड्राफ्ट, ट्रस्ट रिसिप्टलगायतका कर्जाको जोखिमभार बढाएकाले नै पछिल्लो समय बैंकहरूको पुँजीकोषमा दबाब परेको हो।

ढकालकै सल्लाहमा गभर्नर अधिकारीले बैंक स्प्रेडदर जथभाबी चलाएका थिए। जसले बैंकको नाफा थप संकुचित बनाउनुका साथै बैंक वित्तीय संस्थाहरू समस्यामा परे। लामो समयसम्म लगानीकर्तालाई लाभांश दिन नसक्ने अवस्थामा कतिपय बैंकहरू पुगेका छन्।

कोभिड १९ महामारीको समयमा गभर्नर अधिकारीले मौद्रिक नीतिमार्फत पुनर्कर्जाको सुविधा दिएर अर्थतन्त्र समस्यामा पुर्‍याएका थिए। पुनर्कर्जा सुविधा राष्ट्र बैंकले नोट छापेर पैसा पठाउने नीति हो। यस नीतिका कारण घरजग्गा तथा सेयर बजार लगायतको सम्पत्तिको मूल्य बढ्न गएको थियो।

घरजग्गा तथा सेयर बजारबाट प्राप्त लाभ विलासी वस्तुको आयातमा प्रयोग भएको बताइन्छ। यही समयमा आयातका नाममा नेपालबाट ठूलो मात्रामा पुँजी पलायनसमेत भएको बताइन्छ।

गभर्नर अधिकारीले यसलाई रोक्न भन्दै गत आर्थिक वर्ष संकुचित मौद्रिक नीति ल्याए। जसले कर्जा विस्तार निकै सुस्त बनाइदियो। कर्जा विस्तार सुस्त हुँदा आर्थिक गतिविधि संकुचित भइ समग्र अर्थतन्त्रको गति नै धिमा भएको छ। आर्थिक क्रियाकलाप कम हुँदा गत आर्थिक वर्ष सरकारको राजस्व संकलनको बृद्धिदर करिब १० प्रतिशतले ऋणात्मक भएको थियो।

जसको प्रभाव चालु आर्थिक वर्ष पनि अर्थतन्त्रमा देखिएकै छ। ब्याजदर घटेपनि कर्जा प्रवाह बढ्न सकेको छैन। बैंकिङ प्रणालीमा करिब ६ खर्ब तरलता भएपनि कर्जाको माग छैन। अर्कोतर्फ कर्जाको माग भएपनि पुँजीकोषका कारण बैंक वित्तीय संस्थाहरू कर्जा प्रवाह गर्ने अवस्थामा छैनन्।

अर्थतन्त्रमा संकुचन आउनुमा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देबकुमार ढकाल र गभर्नर महाप्रसाद अधिकारीको गलत नीतिलाई मान्ने गरिएको छ। त्यसैले गभर्नर अधिकारीले ढकाललाई संरक्षण गर्ने नीति लिएको राष्ट्र बैंकका अधिकारीहरू नै बताउने गर्छन्।

वित्तीय क्षेत्रको मारमा परेका जनता सडकमा उत्रिए पनि राष्ट्र बैकको बागडोर समालेका गभर्नरको मति नफेरिनुले वित्तीय क्षेत्रमा थप अन्योल सिर्जना गराएको विष्लेशकहरुको धारणा छ।

त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल तालिकाअनुसार आज बिहान साढे ११ बजेबाट टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो । पहिलो खेलमा नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।