होटल सब्रिनाले पायो बेष्ट नेपाल होटल अवार्ड

होटल सब्रिनाले पायो बेष्ट नेपाल होटल अवार्ड

काठमाडौं-काठमाडौंको हात्तिगौडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो ।

आथित्यता सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटल सब्रिनालाई यो अवार्ड प्रदान गरेको जनाएको छ ।

होटल सब्रिना थ्रि स्टार होटल हो । यस होटलले सञ्चालन भएकोे तीन वर्षको अवधिमै यस्तो अवार्ड पाउन सफल भएको छ ।

उक्त अवार्ड एसोसिएसनका संस्थापक अध्यक्ष टिपिएस ग्रोभरले होटलका एमडी निरञ्जन थापा र म्यानेजर उपेन्द्र भारतिलाई प्रदान गरेका हुन् ।

अवार्ड दिदैँ ग्रोभरले होटल पारिवारिक र आतिथ्यता सत्कारमा अब्बल रहेको बताए ।

यसअघि यस्तो अवार्ड २०१९ मा होटल ओरिन्टल(र्याडिसन)ले पाएको थियो ।

सन् २०२० मा भने कोरोनाका कारण यस्तो अवार्ड वितरण कार्य रोकिएको थियो ।

यो अवार्ड प्रदान गर्नका लागि स्वदेशी लगानी र व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने गरेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले यस्तो अवार्ड नेपालमा मात्रै नभई दुबई, कतार, भारत, थाइल्याण्ड, अर्मेनिया लगायत युरोपियन देशहरुमा पनि प्रदान गर्दै आएको छ ।

विश्वभर कोरोना भाइरस फैलिरहेको बेला प्रायजसो सबै क्षेत्र ठप्प रहेका थिए ।

त्यस्तो बेला पनि होटल सब्रिनाले आफ्नो सेवा भने निरन्तर दिइरहेको होटलका प्रबन्धक निर्देशक निरञ्जन थापाले बताए ।

उनले भने, ‘कोरोनाका बेला पनि हामीले होटल बन्द नगरि निरन्तर सेवा दियौँ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर हामी होटलको सेवा दिन पछि परेनौँ ।’

साथै उनले नेपाली होटललाई विदेशीहरुले आएर प्रोत्साहन गरिरहेको अवस्थामा नेपाल सरकारले पनि यस्तो कार्य गरे होटल सञ्चालनमा थप हौसला हुने समेत बताए ।

होटल सब्रिनाले पायो बेष्ट नेपाल होटल अवार्ड

सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा

सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ ।

ईश्वरपुर नगरपालिकाका वडा नं ४, ५, ६, ८ र ९ लाई घेराहाली निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एकजनाको ज्यान गएपछि उत्पन्न विवादले उग्ररुप लिएपछि द्वन्द्व नियन्त्रण गर्न भन्दै आज दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

आइतबार साँझ करिब ९ बजे सवारी दुर्घटनामा परेर स्थानीय रामकुमार महतोको ज्यान गएको थियो ।

ट्रकलाई उछिन्ने क्रममा मोटरसाइकलमा सवार महतो गस्तीमा रहेको प्रहरी भ्यानसँग ठोक्किन पुगेका थिए ।

त्यसलगत्तै महतोको ज्यान गएको थियो ।

सोही विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडालाई गृहमन्त्रालयमा फिर्ता बोलाएर गौतमलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी पठाइएको थियो ।

आन्दोलनकारीले प्रहरीको भ्यानमा आगजनी गरेका र त्यस क्रममा भएका झडपमा परेर करिब १५ जना सुरक्षाकर्मी घाइते भएका थिए ।

निषेधाज्ञा जारी गरी सर्वपक्षीय सर्वदलीय छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रदर्शनस्थालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा

प्रावि तहका १३ हजार ९३ शिक्षकको विज्ञापन खुल्दै

प्रावि तहका १३ हजार ९३ शिक्षकको विज्ञापन खुल्दै

काठमाडौँ-देसभरका प्राथमिक विद्यालय तहकालागी शिक्षक सेवा आयोगले १३ हजार ९३ स्थायी शिक्षकको विज्ञापन प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।

हालै माध्यमिक तहका लागि १५ सय ४७ र निमावि तहका लागि २५ सय ९८ शिक्षक माग गरेको आयोगले प्राथमिक तहका लागि पनि ठूलो संख्यामा शिक्षक माग्न लागेको हो ।

आयोगका उप सचिव एवं सूचना अधिकारी सुरेश मरहठ्ठाका अनुसार आयोग प्राथमिक तहका लागि आवश्यक शिक्षकको विज्ञापन प्रकाशन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमति पर्खेर बसेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमति प्राप्तहुना साथ एक दुईदिन भित्रै प्रावि शिक्षकको विज्ञापन प्रकाशन हुने आयोगले बताएको छ ।

विद्यालयमा हाल रिक्त रहेको स्थान र आगामी चैत मसान्तसम्म विद्यालयमा रिक्त हुने स्थानमा खुला प्रतियोगिताबाट पदपूर्ति हुनेगरी प्रावि स्थायी शिक्षकका लागि विज्ञापन खुल्न लागेको हो ।

प्रावि तहका १३ हजार ९३ शिक्षकको विज्ञापन खुल्दै

अहिले व्यक्तिको निरंकुशताको खतरा: माधवकुमार नेपाल

अहिले व्यक्तिको निरंकुशताको खतरा: माधवकुमार नेपाल

काठमाडौँ-पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले व्यक्तिको निरंकुशताको खतरा रहेको बताएका छन् ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी(जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

सम्बोधनको क्रममा उनले जनतालाई अधिकार दिने सवालमा राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम गर्न बाँकी रहेको बताएका छन् ।

उनले भने “वंश विशेषको निरंकुशतालाई राजतन्त्र अन्त्यसँगै समाप्त पारियो, तर अहिलेको व्यवस्थामा व्यक्ति विशेषको निरंकुशता देखिएको छ अब यसका विरुद्ध संघर्षको खाँचो छ ।”

व्यक्तिको निरंकुशता विचार र पार्टीको भ-याङ चढेर माथि चढ्ने र स्वार्थको सागर बनाउने रहेछ, उनले भने, ‘जनतमतबाट हिटलर आएका होइनन् ? समाजवादकै झण्डा बोकेका थिए त उनले । उनको पतन भयो । अरुको त के हैसियत छ र ?’

उनले मान्छेको विचारमा परिवर्तन ल्याउन सकेमात्र समाज परिवर्तन हुने बताए ।

आफूहरुले कम्युनिस्ट विचारलाई देशव्यापी बनाउँदै ३२ सालमा कोअर्डिनेशन केन्द्र बनाएको स्मरण गराउँदै उनले त्यतिबेला जम्मा ८ जना नेताबाट त्यो अभियान सुरु गरिएको बताए ।

उनले भने, ‘त्यसमा पनि चार जना त हराए, अहिले तीन जनामात्र छौं– म, झलनाथ खनाल र मुकुन्द न्यौपाने ।

संगठनमा मानिसलाई गोलबद्ध बनाउँदा बनाउँदा विशाल पार्टी बनायौं ।’

यसरी विभिन्न खुड्किलो पार गर्दै बनेको नेकपा एमालेलाई केपी शर्मा ओलीले कब्जा गरेपछि आफूहरुले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको उनको भनाइ छ ।

आफूहरुसँग विचार रहेको भन्दै उनले विचारकै आधारमा नेकपा एकीकृत समाजवादी पार्टी अग्रणी बन्न सक्ने दाबीसमेत गरे ।

नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीले आफ्नो हैसियत देखाइसकेको उनले बताए ।

उनले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीलाई कसैले बेवास्ता गर्न सक्दैन ।’

अहिले व्यक्तिको निरंकुशताको खतरा: माधवकुमार नेपाल

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच आज भेटवार्ता भएको छ ।

स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहनुभएका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको नेता पुनको सचिवालयले जनाएको छ ।

उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्वसभामुख ओनसरी घर्ती पनि सहभागी हुनुहुन्थ्यो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तारलगायतका विषयमा विस्तृत छलफल गर्नुभएको हो ।

“उहाँहरुले माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र सबैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो”, नेता पुनको सचिवालयले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सो क्रममा नेपालको समसामयिक राजनीति, वामपन्थीबीचको सहकार्य र एकताका विषयमा कुराकानी भएको थियो ।

चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टका बीचमा पार्टी एकता गर्ने, त्यो सम्भव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताउनुभएको थियो ।

नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार

थप उपचारका लागि चीन पुग्नुभएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उहाँ द्विपक्षीय भेटवार्तामा जुट्नुभएको हो ।

वंशाणुगत तथा विश्वमा वीरलै देखिने जण्डिस रोगका कारण झण्डै तीन महिनादेखि उपचार गराइरहनुभएका नेता पुन माओवादीको आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचारारत हुनुहुन्छ ।

उपचारका लागि केही परिक्षण थाती राखेर अधिवेशन उद्घाटन अघि नै नेपाल आउन चाहनुभएका नेता पुन अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँगको भेटवार्ताको समयसमेत तय भएकाले अनुपस्थित हुनु भएको हो ।

चिकित्सकको सल्लाह पछि अब छिट्टै नेपाल फर्कने उहाँको सचिवालयले जनाएको छ ।

जण्डिस दोहोरिएपछि नेता पुन गत असोज १३ गते बैंकक जानुभएको थियो ।

उहाँको गत मङ्सिर १० गतेदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।

नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परिक्षण गराउनुभएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

नेकपा एस र नेकपा जनवादीबीच एकताको घोषणा सम्पन्न

नेकपा एस र नेकपा जनवादीबीच एकताको घोषणा सम्पन्न

काठमाडौं-नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकताको घोषणा सम्पन्न भएको छ ।

आज (मंगलबार) राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा दुई पार्टीबीच एकताको घोषणा सम्पन्न भएको हो ।

एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित दुवै पार्टीका शीर्ष नेताहरू उपस्थिती रहेको थियो ।

नेकपा जनवादी २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो । यसको नेतृत्वमा देवेन्द्रसिंह महता थिए ।

साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए ।

आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा ९एकीकृत समाजवादी० पार्टी गठन गरेका थिए ।

एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो ।

नयाँ दल दर्ता गरेको पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन् ।

केही दिनअघि उनले १३ पुसमा विभिन्न दलबीच एकता हुने घाेषणा गरेका थिए ।

नेकपा एस र नेकपा जनवादीबीच एकताको घोषणा सम्पन्न

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका दासानायके नेपाल आइपुगे

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका दासानायके नेपाल आइपुगे

काठमाडौं-नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके आज नेपाल आइपुगेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक पुबुदु दासानायकेलाई मंसिर १५ गते नेपाली क्रिकेटका मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका छन् ।

प्रशिक्षक पुबुदुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरेका छन् ।

मंगलबार विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै उनले खुसी ब्यक्त गर्दै नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए का छन्।

पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेट नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी थपिएको बताए।

पूर्व मुख्य प्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको थियो ।

त्यसपछि क्यानले खुला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षक नियुक्त गरेको हो।

प्रशिक्षक पुबुदुले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबैजसो देशमा हुने गरेको र नेपालको समस्या समान्य भएको भन्दै बन्द कोठाभित्र छलफल गरे समाधान हुने विश्वास व्यक्त गरे।

प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रशिक्षक दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीलाई प्रशिक्षण दिइसकेका छन् ।

उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक सन २०१४ मा आइसिसी ट्‌वान्टी–२० विश्वकप खेलेको थियो।

सोही हिसाबले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षकका रूपमा लिइन्छ ।

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका दासानायके नेपाल आइपुगे

निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

काठमाडौँ-सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति आज गठन गरेको हो ।

समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाप्रति चासो व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको थियो ।

सरकारले निधन भएका प्राविधिक कर्मचारीप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

दुर्घटनामा थप एक कर्मचारी घाइते हुनुभएको छ ।

साहस ऊर्जाले प्रवद्र्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो ।

पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो ।

प्रवद्र्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्दा दुर्घटना भएको हो ।

आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा दुर्घटनाले प्रश्न खडा गरेको छ ।

ऊर्जामन्त्री भुसालले दुई युवा तथा प्रतिभाशाली प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको थियो ।

मन्त्री भुसालले उहाँहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गर्नुभएको छ ।

साहस ऊर्जाका प्रमुख हिमप्रसाद पाठकले दुर्घटनाको बारेमा आन्तरिकरुपमा नै छानबिन भइरहेको र घाइतेको उपचार भइरहेको जानकारी दिनुभयो ।

निर्माणाधीन आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

नेकपा एस र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै

नेकपा एस र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै

काठमाडौं-नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै छ ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र देवेन्द्रसिंह महता नेतृत्वको जनवादी पार्टीबिच एकता तय भएको हो ।

प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा अहिले १२ बजे दुई पार्टी एकता घोषणा कार्यक्रम जारी रहेको छ ।

एकता कार्यक्रममा जनवादी पार्टी नेतृत्व गरिरहेका देवेन्द्रसिंह महता र समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एस र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै

सप्तकोशी बैंक प्रकरण: सिइओले भट्टराईलाई फसाएको आरोप

सप्तकोशी बैंक प्रकरण: सिइओले भट्टराईलाई फसाएको आरोप

विराटनगर-विराटनगरस्थित सप्तकोशी बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराई निर्दोश रहेको आफन्तले दावी गरेका छन् ।

आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीले हिमाल भट्टराईलाई फसाएको आरोप लगाउदै सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् ।

हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले सोमबार पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको बताएका छन्।

बैंकमा करिब रु १६ करोड हिनामिना भएको र सो रकम प्रमुख कार्यकारी सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब रु १४ करोडभन्दा बढी रकमको कारोबार देखिएकाले सुनियोजित तरिकाले भट्टराई फँसेको बताइएको छ ।

रकमको कारोबार हुने शाखामा नरहेका भट्टराईलाई प्रमुख कार्यकारी सुवेदीले नै पटकपटक रकम झिक्न लगाई सो रकम लिने गरेको हिरासतमा रहेका हिमालले आफ्ना बुबालाई भनेका छन् ।

“मेरो छोरा निर्दोष छ । परिबन्दमा परेर फसेको हो”, अमृतप्रसादले भनेका छन् ।

सप्तकोशी बैंक प्रकरण: सिइओले भट्टराईलाई फसाएको आरोप

सरुवाविरुद्ध श्रमका कर्मचारीद्वारा उच्च अदालतमामा मुद्दा दायर

सरुवाविरुद्ध श्रमका कर्मचारीद्वारा उच्च अदालतमामा मुद्दा दायर

काठमाडौँ-उपसचिवसहित चार अधिकृतले सरुवा बदरको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।

श्रम मन्त्रालयका उपसचिव भोलानाथ गुरागाईँ र शाखा अधिकृतत्रय ताम्रराज काफ्ले, मातृका सापकोटा र हरिकृष्ण बुढाथोकीले सरुवाविरुद्ध मुद्दा दायर गरेका हुन् ।

आफूहरूको श्रम सहचारीमा पठाउने सूचना प्रकाशित हुनै लाग्दा सरुवा भएकोले सो चित्त नबुझेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवाविरुद्ध अदालत गएको उनिहरुले बताएका छन् ।

तोकिएको कार्यालयमा एक वर्षदेखि कार्यरत रहेको हुनुपर्ने काउन्सेलर(श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड-२०७३ मा उल्लेख छ ।

उपसचिव भोलानाथ गुरागाईँ २०७५ भदौ २७ गतेदेखि र अधिकृतत्रय काफ्ले २०७६ साउन १३, सापकोटा २०७६ साउन २२ र बुढाथोकी २०७५ साउन ११ गतेदेखि श्रम मन्त्रालय तथा अन्तर्गतको कार्यालयमा कार्यरत छन् ।

सरुवा नियमित प्रक्रिया भएको र ती कर्मचारीहरूको दुई वर्ष भन्दा बढी अवधि नै भइसकेकाले सरुवा भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

घिमिरेले दुई वर्ष पुगेको कर्मचारीलाई सरकारले सरुवा गर्न सक्ने व्यवस्था निजामती सेवा ऐन तथा नियमावलीले गरेको बताएका छन् ।

सरकारी अड्डाहरूमा लामो समयसम्म एउटै कर्मचारी राखिराख्दा सेटिङ मिलाउने र जति सुधार गर्न खोज्दा पनि परिणाम नदेखिने समस्या आउने हुन्छ ।

अवधि पुगेको कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको आवश्यकता तथा मागअनुसार सरुवा गर्ने गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भनाई रहदै आएको छ ।

सरुवाविरुद्ध श्रमका कर्मचारीद्वारा उच्च अदालतमामा मुद्दा दायर

अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी

अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन् ।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर रु पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन् ।

पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो ।

आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भई लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ ।

धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ ।

पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ ।

धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण डङ्गोलले जानकारी दिनुभयो ।

पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुईवटा खँडकुलामा खिचडी बनाउँछन् ।

एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ ।

अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ ।

आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिका बारेमा विशेष खोज गरिरहनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिनुभयो ।

पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुन्छन् ।

प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।

चान्द्रमास र सौरमास दुवै पुस महिनामा पारेर धनुर्मास पूजाको साइत निकालिन्छ ।

नौपटकसम्म धनुर्मास पूजा गर्ने परम्परा अहिले लोप

पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा अहिले लोप भइसकेको छ ।

त्यसबेला भक्तजनले पनि आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउँथे । यो परम्परा पनि अहिले लोप भइसकेको छ ।

धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ ।

पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

सोमबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ ।

आज बिहानैदेखि बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिन्छ । बिहान १२ बजेसम्म एउटा ढोका भने खोलिन्छ ।

उपवासका दिन बिहानै महादेव कैलाश एवं शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत परम्परादेखि रहेको छ ।

यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाउने परम्परा सुरु भएको हो ।

महादेवडाँडामा घाम तापेर बस्ने विश्वासमा कैलाशमा दिनभर खिचडी बनाएर खाने परम्परा भने विगत १६ वर्षदेखि लोप भएको खोजकर्ता खतिवडा बताउनुहुन्छ ।

बेलुकी भने महादेव कैलाश, शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा नियमित आरती गरिन्छ ।

बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

सामान्य प्रशासन कर्मचारी महाशाखामा आजबाट सह-सचिब बिष्ट

सामान्य प्रसाशन कर्मचारी महाशाखामा आजबाट सह-सचिब बिष्ट

काठमाडौँ-संघिय तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी महाशाखामा रघुराम बिष्टले आजबाट जिम्मेवारी सम्हाल्नु भएको छ ।

सो महाशाखामा कार्यरत रहनु भएको राजिव पोखरेल श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएसँगै सह सचिब बिष्ट सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर आउनुभएको हो ।

केही दिन अघि सामान्य प्रशासन मन्त्रालयमा सरुवा हुनुभएका बिष्टले आजबाट जिम्मेवारी सम्हाल्नु भएको हो ।

सहसचिव रघुराम बिष्ट लामो समय प्रशासन क्षेत्रमा कार्यरत प्रशासक हुनुहुन्छ ।

उहाँले आफ्नो अहिले सम्मको कार्यकालमा स्वास्थ्य मन्त्रालय, सुचना तथा प्रशारण बिभाग, सुदुर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय, सहरी तथा गरिबी निवारण मन्त्रालय, कृषि मन्त्रालय लगायतमा कर्मचारी शाखा प्रमुख भएर कुसल प्रशासकको भुमिका निर्वाह गरिसक्नु भएको छ ।

दुरदर्शी, छिटो निर्णय दिन सक्ने प्रशासकको रुपमा उहाँ प्रशासन वृतमा परिचित रहदै आउनु भएको छ ।

सरल र सहज स्वभावका धनी सहसचिव बिष्टले जनताका पिरमर्का चाडो बुझने प्रशासकको रुपमा आफ्नो परिचय बनाउनुभएको छ ।

सामान्य प्रशासन मन्त्रालयको कर्मचारी महाशाखा देशभरका निजामती कर्मचारी परिचालन गर्ने महाशाखा हो ।

सामान्य प्रशासन मन्त्रालयको कर्मचारी महाशाखामा उहाँको आगमनसँगै महाशाखाको कार्यशैली तथा सरुवा पदस्थापना लगायत महाशाखाको कार्यमा नजिर स्थापना हुनेगरी प्रभाबकारी कार्य सञ्चालन हुने आम निजामती प्रशासकको अपेक्षा गरेको देखिन्छ ।

हाल उक्त मन्त्रालयको सचिवमा सुरेश अधिकारी हुनुहुन्छ । सचिव अधिकारी निजामती क्षेत्रमा सरल र भद्र मिजास स्वभाबका प्राज्ञिक ब्यक्तित्वको रुपमा समेत परिचित हुनुहुन्छ ।

सामान्य प्रसाशन कर्मचारी महाशाखामा आजबाट सह-सचिब बिष्ट

माओवादी पदाधिकारी १५ सदस्यीय

माओवादी पदाधिकारी १५ सदस्यीय

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नु भएलगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको हो ।

उहाँले प्रस्तुत गर्नुभएको विधानको मस्यौदाअनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ ।

यस्तै एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ ।

पदाधिकारीलाई पनि समावेशी बनाइने गुरुङले जानकारी दिनुभयो ।

यस्तै केन्द्रीय समितिमा १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ ।

विधान मस्यौदा प्रस्तुत भएलगत्तै जनगायक शम्भु राईले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।

बन्दसत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

यस्तै, नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।

बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहनुभएको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।

सुरुमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।

सम्मेलनमा एक हजार ७०० को हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ ।

माओवादी पदाधिकारी १५ सदस्यीय हुने